यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, September 5, 2010

एउटा कथा-डरको

म अहिले सम्झन्छु त्यो बेला जनआन्दोलन चलिरहेको रहेछ। २०३६ साल तिरको कुरा, म चार वर्षको थिए। त्यो बेला देशमा ठूलै आन्दोलन चलिरहेको थियो सायद। मेरो मनस्पटलमा त्यस बखतको एउटा धमिलो छाप अझै पनि छ । सायद लगातार एउटै कुराले पटक पटक झस्काउने हो भने धेरै पहिलेको कुरा पनि ताजै भइरहने रहेछ। धमिला यादहरू नै सहि, मस्तिष्कमा एउटा पुरानो फिल्मको रोल झैँ कता कता चित्रहरू चलिरहेका हुन्छन् नै। बिहान के भयो, दिउसो के भयो मलाई केही याद छैन, तर एकाएक मेरो घरसँगै जोडिएको घरको अगाडि, अलिक खुला आँगनमा बेलुका घाम अस्ताउने बेलासँगै, प्रहरीहरूले बेस्करी दुई जना मान्छेलाई मर्ने गरि कुटिरहेको कुरा अझै याद छ। बजारका सबै घरहरु बन्द भईसकेका थिए र मेरो घरको ठोका पनि बन्द भइसकेको थियो। आमाले भर्खरकै पधेरोबाट गाग्रीमा पानी ओसार्ने बेलाको पहिलो खेप चल्दै थियो त्यसैमा हामी सबै घर भित्रै बस्यौ । मलाई घरको ढोका बन्द गरेको, पल्लो घरको आँगनमा प्रहरीले दुईजना मानिसलाई बेस्करी कुटेको भन्दा  बाहेक मैले आमा सँग सोधेको एउटै प्रश्न भने याद रहेको छ। मैले सोधेको थिए: किन कुटेको त्यी मान्छेलाई पुलिस अंकलहरुले? चोरहरु हुन आमा? आमाले भन्नु भा थियो, “हैन”। बदमास वा खराब मान्छेहरु हुन आमा? “हैनन्”। अनि आमाले भनेको नमान्ने मान्छे हुन? “हैन”। फेरि मैले सोधेको थिए, अनि किन त कुटेको? उनीहरू काँग्रेस हुन् रे। आमाको अन्तिम उत्तर थियो यो। बुबा गाउँको घर जानु भएको थियो, आमा, दीदी र म मात्र थियौ त्यस बेला। तत्काल मेलै के बुझ्नु यो काँग्रेस भन्ने कुरा तर काँग्रेस बन्यो भने पुलिसले कुट्छ भन्ने कुरा मेरो दिमागमा लामो समय सम्म चलिनै रहेको थियो।

समय सँगै कक्षा ८ मा पढ्दा देशमा फेरि ठूलो आन्दोलन भएको थियो, यस बेलाको भने निकै कुराहरु अझै मेरो दिमाखमा ताजै छ। आन्दोलनको चर्काचर्की चलेकै बेला, डाडाहरूमा शंख फुकेको, राँके जुलुस निकालेको र मेरा केही शिक्षकहरू स्कूलमा नआएको कुराहरू प्रस्ट याद छ। त्यस बेला हामीले देशको पूर्वी भाग र दार्जिलिङको शैक्षिक भ्रमण गर्ने मनस्थिति बनाई रहेका थियो। स्कूलमा बेस्करी कुराहरू उठाइरहेका पनि थियौ, तर स्कूलले मानिरहेको थिएन। हामी साथीहरू सँग मिलेर हेडमास्टरकोमा गएर कुरा राख्‍ने बिचार गर्‍यौ र म लगायत हामी तीन जना साथीहरू मिलेर प्रिन्सिपलको गयौ। त्यो भन्दा पहिले कक्षा पाँचमा पच्चीस रुपैयाँ उठाएर पोखरा भ्रमण गएको याद थियो र निकै रमाइलो भएको पनि थियो त्यस बखत। बस चढ्दा, लक्ष्मी पीस पाउरोटी खादा, फेवा तालमा डुगाँ चढ्दा, महेन्द्र गुफा पस्दा र पातले छागो हेर्दाका रमाइला किस्साहरू कक्षा आठ पढ्दा खेरी सम्म पनि सकिएको थिएन। हामीले प्रस्टसँग भन्यौ कि हामीलाई शैक्षिक भ्रमण जान साहै ठूलो इच्छा छ।

यसै बीचमा मेरा एक जना साथी बाहिर निस्किए, किन हो थाह भएन। हामी दुईजना मात्र भयौ हेड मास्टरको अगाडि। प्रिन्सिपल सरले सम्झाउन थाल्नु भो; हेर, देशमा नयाँ संविधान बन्दै छ र कही दिनमा सरकारले घोषणा पनि गर्दैछ, हुन सक्छ कुनै समुहले फेरि आन्दोलन गर्लान्। सुरक्षाको हिसाबले पनि ठीक हुँदैन। पहिले देशको स्थिति शान्त हुन दिनु पर्छ र मात्रा हामीले शैक्षिक भ्रमण बारेमा सोच्नु पर्छ। उहाँले यसो भन्दै गर्दा कता कता मेरो चित्त बुझेको थियो। मलाई पनि त्यस बखत ठीक लाग्दै थियो तर मेरो अर्को साथीलाई के भयो वा के सोच्यो उसले थाह भएन र बेस्करी त्यो कुरोको प्रतिवाद गर्यो र हामी जानै पर्छ भन्न थाल्यो। उसले नगई नहुने कुरा गर्दै गर्दा अर्को कुनाबाट एक जना शिक्षक बेस्करी कराए.. बडो आन्दोलनकारी भएका छौं तिमीहरू। उहाले हामीलाई देखाउदै भन्नु भएको थियो, यीनीहरु त काँग्रेस र कम्युनिष्ट नै भएछन् अब...

हामीलाई सरले काँग्रेस र कम्युनिष्ट भन्दै गर्दा मेरो मनमा पुरानो कुरा याद आयो र बेस्करी डराएँ। हामी बाहिर निस्कियौ, मैले उसलाई सुनाए.. हामीलाई त काँग्रेस र कम्युनिष्ट भन्नु भो सरले. काँग्रेसलाई त पुलिसले मर्ने गरि कुट्छन् यार। मेरो साथी निकै बेर सम्म केही बोलेनन्। यसै बीचमा हाम्रो शैक्षिक भ्रमणको मागको बारेको कुरा हाम्रो घर सम्म पनि पुगिसकेको थियो। प्रिन्सिपल सरले भने अनुसारकै कुरा घरबाट सुन्नमा आए पछि, यो कुराको स्रोत थाह पाउन हामीलाई गाह्रो भएन र यो माग त्यसै सेलाएर गयो वा भनौं काँग्रेस बनेकै डरले प्रिन्सिपल सर सँग सम्झौता गरियो भन्दा पनि फरक नपर्ला।

त्यस बखत स्कूलको हाप छुट्टीमा आँधी खोलामा गएर पौडी खेल्न खुब गइन्थ्यो । स्कूलबाट ठीक तल जिल्ला कारागारको अगाडिको बाटो हुदै झर्नु पर्ने हुन्थ्यो खोलामा पौडी खेल्न। पाचँ मिनेटको त्यो बाटो त्यस दिनबाट हामीले कहिले पनि हिँडेनौं। सधैँ बन्दुक बोकेर बस्ने पुलिसलाई देखेर हामी १५ मिनेटको बाटोबाट तल झर्थ्यौ र सधैँ पौडी खेल्न ढिलो हुने गर्थ्यो।

केही समय सम्म यस्तै चल्यो तर यो मनोदशा लामो समय टिक्न पाएन किनकी देशमा त्यस अन्तरालमा निकै परिवर्तन भइसकेको थियो। त्यस पछि देशमा ठूलै परिवर्तन भईरहको आवाज खुब सुनियो भाषणहरूमा र राजनीतिको बारेमा चासो राख्दैं गर्दा कयौ पटक पुलिसहरूले कुटाइ खाएको समाचारहरू पनि आउन थालिसकेको थिए । मेरो मनमा कुटाई खाने उपमाको साथमा सोच्दा, पुलिसहरू नै काँग्रेस र कम्युनिष्ट बनेका रहेछन् र यही रहेछ परिवर्तन जस्तो पनि लाग्थ्यो। तर केही समय पछि रमाइलो त हामीलाई काँग्रेस र कम्युनिष्ट बनाएर हाम्रो शैक्षिक भ्रमण तुहाउने शिक्षकहरू केही हप्ता भरमै कक्षा कक्षामा बिधार्थी सँगठनको सदस्य बनाउन आइरहेका थिए। हामीले सोच्यौ अब कारागारको अगाडिबाट पौडी खेल्न जान डराउनु पर्दैन। वास्तवमा हाम्रो लागि यो अर्को परिवर्तन थियो।

देशमा फेरि बिद्रोह सुरु भयो, कुट्ने र कुटाई खाने खेलहरुको बीचमा, मान्छे मार्ने खेल गोप्यता भंग गर्दै खुला रुपमा देखा पर्न थाल्यो। आफ्नो कुरा नमान्ने र आफू जस्ते नहुने हुरूलाई सबैले मार्ने संकारको बिकास हुदै गयो। त्यस पछि न पुलिस, न काँग्रेस, न कम्निष्ट जे हुदा पनि डराउनु पर्ने भयो। सबै भन्दा दु:ख, केही नभएर आम नागरिक रहन खोज्दा पनि डर मै बस्न पर्ने भयो। सबै जना फेरि सम्झौताहरुमा गएर अडिए, केही परिबर्तन भयो, मनमा एकाददिन राहत मिले जस्तो भयो तर  फेरि नयाँ गुट र नयाँ  मान्छे मार्ने आन्दोलनको सुरुवात भईरहेको छ।

निकै अगाडिको त्यो घटना क्रमलाई आज फर्केर हेर्दा अहिले सम्म देशमा निकै पटक परिवर्तन भएकै छ। हामी आन्दोलनको रूप र रँगमा परिवर्तन ल्याउन खप्पिस भएकै हो। दुःखद तर सत्य, हाम्रो परिवर्तन, मात्र कुट्ने र कुटाई खानेहरूको अनुहार मात्र फेरिएको छ। चाकडी र दलाली गरिने मान्छेहरू र ठाउँहरु परिवर्तन भएको छ। सानो भुँडी, ठूलो भएको छ। टेम्पो र झुपडी, कार र दरबारमा परिवर्तन भएका छन्।

जसले जे भनोस् हामी टुँडिखेलमा राखेका दशैका खसी भएका छौ। एउटा मालिक सँग बस्दा भोक र प्यासको डर, अर्को मालिक पाउदा तरवारको डर।  हिजो कुरा नबुझ्दा पनि डरनै थियो र आज बुझ्ने हुँदा पनि डरनै छ र यो सधै यथार्थ एउटा कथानै बनेर मनमा अल्झिरहेको छ  तर पनि जे होस हामी अझै भन्छौ...आन्दोलन जारी छ ........सबैलाई चेतना भया

Comments :

4 comments to “एउटा कथा-डरको”

एकदमै सरल शब्दमा गहिरो कुरा लेख्नु भएछ । हो, हामीकहाँ परिवर्तनहरु आए तर ती सबै परिवर्तनहरु तपाईँले भन्नुभए जस्तै वीभिन्न वाद वा आन्दोलनको नाममा कुटाइ खानेका रुपमा मात्रै भए ।

कुटाइखानेहरु फेरिइरहे तर कुटने र कुटाइ खानेलाई भिडाएर लुटनेहरु पहिले पनि लुटथे, अहिले पनि लुटिरहेका छन् । अनि यो डरको कथा पनि निरन्तर चलिरहेकै छ । पहिला नबुझैर डराउँथ्यौ, अहिले बुझेर पनि झन त्रस्त हुनुपर्ने बेला छ ।

सधैँ झै विचारोत्तेजक लेख ।

Dilip Acharya said...
on 

देशमा कयौँ आन्दोलन भए र परिवर्तनहरू आएपनि ती सबै कुटिनेहरूसम्म कहिले पुग्न सकेको छैन । बरू पहिला कुटिनेहरू अचेल अंगभंग हुन थालेका छन् ।
समयसापेक्ष लेख।।

सिर्जनाहरू said...
on 

हो कुरा सोह्रै आना ठिक - "हिजो कुरा नबुझ्दा पनि डरनै थियो र आज बुझ्ने हुँदा पनि डरनै छ !"
अनि खै यस्तो नि परिवर्तन हो र ? तपाइले भन्नु भए जस्तै -"मात्र कुट्ने र कुटाई खानेहरूको अनुहार मात्र फेरिएको छ। चाकडी र दलाली गरिने मान्छेहरू र ठाउँहरु परिवर्तन भएको छ। सानो भुँडी, ठूलो भएको छ। टेम्पो र झुपडी, कार र दरबारमा परिवर्तन भएका छन्।"

वेदनाथ पुलामी ( उमेश ) said...
on 

डरको इतिवृतान्त निकै रमाइलो लाग्यो | यहाँले भनेजस्तै डरको सिलसिला अझै जारी छ | देशमा डर भर नभएका मान्छे हाबी हुन थाले पछि प्रजा आफैं डराउन पर्दो रहेछ |

Chaitanya said...
on 

Post a Comment