कुरा हिजोको; उनी सानैमा पोइल गईन। पोइलनै जान सक्ने र निर्णय गर्न सक्ने त्यस अवस्थामा सानो भनेर भन्न र सुझाउन पनि गाह्रो कुरा हो। सानो भनेर स्कूलको अन्तिम परीक्षा सकेर कुन क्याम्पस पढ्ने हो भन्ने बारेमा निकै चर्चा चलिरहेको बेला थियो त्यो। राम्रै बिचार्थी थिइन उनी र स्कूलको त्यो परीक्षा पास नगर्ने भन्ने कुरै भएन। कक्षा १० को सुरुवातमा आफ्नो बाबुको सरुवा सँगै आएकी उनलाई पहिलो पटक देख्दा नै मन पराएको थिए । तर त्यस बेला पढ्ने उमेर र मेहनत गर्ने उमेर भनेर घरका सबैले भन्दा भन्दै मेरो मानसिकता पनि त्यस्तै भएको थियो। एक बर्ष सम्म पनि मैले केही भन्न सकिन। लेखेका कत्ती चिठ्ठीहरू त्यसै भालिदिन्थे। अमर प्रेम गर्छु भन्ने लागेर हो कि खै.. त्यस बेला उनलाई सुनाउने आटै भएन मनका कुरा।
स्कूलको परीक्षा दिएर हामी भविष्यको योजना बनाउँदै थियौँ। कुन कलेज पढ्ने, कुन विषय पढ्ने र कसरी आफूलाई सक्षम नागरिक बनाउने दौडमा निकै योजनाहरू बनाउदै थियौ। कानुन पेसा भएकोले मेरो बुबा मलाई कानुनकै विषय लिएर पढे हुन्थ्यो भन्ने चाहनु हुन्थ्यो। परीक्षा दिएर बसेरको बेला बुबाको पछि लागेर भए पनि अड्डा अदालत जाने गर्थे । त्यसै बखत पहिलो पटक एउटा अश मुद्दाको फैसला सारेर पाँच सय कमाएको थिए। त्यस बेला पाँच सय रुपैयाँ निकै ठूलो हुन्थ्यो। कसरी र के के मा खर्च भयो मैले याद गरिन र मैले कमाएको पहिलो पैसा भएर पनि होला, त्यो रुपैयाँमा कसैको खोजीनिती भएन। नत्र धेरै पैसा खर्च गर्न प्राय राम्रो नमानिने अवस्थामा पक्कै पनि परिवारबाट खोजी हुने गर्थो। मलाई केही पेजको मुद्दाको फैसला नक्कल गरे बापत सजिलै सँग झगडियाले दिएको पाँच सय रुपैयाँले, जीवन बाच्न गाह्रो छ भन्ने कुरा गलतनै हो भन्ने लागेको थियो अर्थात् जीवन चलाउन गाह्रो रहेन छ भन्ने पनि लागेको थियो । थोरै मेहनतबाट पनि पैसा त आउँदो रहेछ जस्तो लागेको थियो। म परिपक्व थिइन वा मैले जीवनको परिभाषालाई राम्रो सँग बुझेको थिइन र नै होला मैले सानो परिधिमा जीवनलाई सहज बनाउन खोजेँ र त्यस्तै सोचेँ।
कानुनको विषय पढ्न मन थिएन, मैले घरमा म विज्ञान पढ्छु भने र कसैले पनि मेरो इच्छालाई अस्वीकृत गरेनन्। म रिजल्ट सँगै नयाँ जीवन र जीवन सहज बनाउने अनेकौँ आशाहरूको बीचमा पहिलो दौड सुरु गरे। मेरो कलेज जाने तयारी हुँदै गर्दा, लगाउने कपडा, केही सामल र केही पैसा जोडजाड गर्दै गर्दा बजारमा बेस्करी हल्ला मच्चियो, उनी पोइल गईछन्। उनी पोइल जानु एक हप्ता पहिले मैले बाटोमा उनलाई भेटेको पनि थिए। भनिदिउ जस्तो पनि लागेको थियो मलाई एक मनले तर भन्नै सकिन। साधारण कुरा गरेर बिदा हुने बेला मैले उनलाई कलेज भर्नाको बारेमा सोधेको थिए। उनी खिस्स हाँसिन् केही बोल्न खोजे जस्तो भए पनि बाहिर निस्केन उनको आवाज। त्यसै बिदा भएर हिँडेका थियौ हामी। राम्री छ है मोरी.. मेरो मनले यस्तै कल्पियो र आफ्नो बाटो लागेँ।
मलाई त्यो खबरले निकै दुःखित बनायो। उनी मेरी हुन सकिनन् वा मैले बनाउन सकिन भन्ने विषय भन्दा पनि पढेर सुन्दर भविष्यको बारेमा सोच्न पर्ने बेला किन यसरी हतार गरेकी होली भन्ने लाग्यो। जीवन लामो छ र यसरी कुनै अर्थमा जीवनलाई पाखा लगाउनु राम्रो हैन भन्ने मलाई लाग्यो र उनको निर्णय गलत रहयो भन्ने लागेको थियो। हेर्दा सहज र राम्रो हुँदा हुँदै पनि मान्छेले बाच्नका लागि कत्ती दु: ख गर्नु पर्छ, र एउटा नजानीदो सुखको आभासकै लागि मान्छेले कत्ती दुख सहनु पर्छ। मैले यस्तै सोच्थे अर्थात् म पूर्णरुपमा जीवनको त्यो दर्शनको लागि तयार थिए वा बनाइएको थिए।
निकै लामो समय पछि जीवन भर अनेकौँ दुख र कष्टका साथ यहाँ सम्म आई पुग्दा समेत त्यसका केही अंशले अझै छोडेको छैन। आवश्यकता र अभावले कतै छोडेको छैन। जीवनको यही परिभाषामा म अव्यस्त हुँदै छु।
कुरा आजको; बिदाको समय सुरु भयो, केटाकेटीको स्कूल र आफ्नो कामबाट पनि फुर्सद मिलाएर परिवार सँगै काठमान्डूबाट घर जाने तयारी गर्दै गर्दा दिवा बसको दुईवटा सीटको टिकटमा हामी चारजना कोचलिएर जाने निर्णय र योजना बन्यो। बिदाको समय सबै घर जाने लाइन र भनेको समयमा बसको टिकट पनि पाउन गाह्रो भएकोले बल्ल बल्ल बसको अन्तिम छेउको दुईवटा टिकट मिलाएर घर फर्किए। भोलि जाने तयारी भयो, मेरी बुढी सामल र सामान दुवै पोको पार्न थालिन। म घडीमा आलरम लगाउन तिर लागे।
गर्मी पनि बेस्करी छ। बसको गन्धले बस चढे बाटै वाक वाक गर्न थालेका केटाकेटीहरूलाई बान्ता रोक्ने औषधीले पनि काम गरेन भन्ने लागिरहेको थियो। अगाडिको सीट भाँचिएकोले हामीलाई उकुसमुकुस भइरहेको थियो तर पनि चुपचाप बस चलिरह्यो र हामी पनि गुड्दै रह्यौ। ड्राइभर साहेबले चिनेको ठाउँमा खाना खाएर बसमा पुन चडियो र हामी अगाडी बढ्यौ। केही समय पछि बस रोकियो, ड्राइभर साहेबले बस अगाडी जान नसक्ने कुरा सुनाए। बसको इन्जिन तातेर धुवा निस्किएको थियो र जाओस् पनि कसरी? बीच बाटोमा हामी रोकियौ। सबै झोला र पोकोपन्तरो झारेर बाटोको कलभटमा बस्यौ र अब अर्को बसमा जानु को विकल्प थिएन। कन्डक्टरले पैसा फिर्ता गर्यौ। ड्राइभर सगँ कोही कराउँदै थिए बीच बाटोमा ल्याएर यसरी अलपत्र पार्न मिल्छ ? भन्दै। म केही बोलिन र बोल्न पनि आवश्यक ठानिन। बस बिग्रियो त के गरोस् ड्राइभरले पनि।
गरिबी, आवश्यकता र अभावको जीवन बाच्न अव्यस्त हामीलाई यस्ता साधारण दुखका घटनाले खाँसै असर गर्दैन। नत्र धेरै पैसा कमाएर, चिल्लो गाडीमा छोरा छोरी र श्रीमतीलाई राखेर बिदामा बिदा मनाउन घर जाने रहर कसलाई हुँदैन र? मलाइ पनि पक्कै छ। जीवन बाच्न खोज्छु भन्दा भन्दै, पेटकै लागि बाच्नु पर्ने भएको पीडा म मा पनि छ। सार्है कठिन अनुशासन र निकै लामो योजनाले बनाएको मेरो यो जीवन र यो स्थितिमा आफैलाई कुनै पछुतो छैन भनेर भन्न बाध्य छु।
यो गर्मीमा लामो समय बस्न सकिँदैन थियो। खचाखच भरिएर आएका बसहरूमा एक्लै हुनेहरू कोचिएर भए पनि आ-आफ्नो बाटो लागिरहेका थिए। केटाकेटी सँग बसमा सीट नभईकन जान नमिल्ने हुँदा १०-१५ वटा बस वा ट्रकहरू छुटिसकेको थियो। हामी केही मान्छे मात्र बाकी थियौ अब। केही त उपाय होला नि भन्दै बस आउने बाटो तिर हेर्दै थियौ।
अगाडी एउटा सेतो कार आएर रोकियो। लौ है म पोखरा सम्म जाने हो, कोही जानु हुन्छ भने भन्नुस् तपाईहरूको गाडी बिग्रिए जस्तो छ भनेर सुन्ना साथ मैले गुहारे। वरिपरिका मान्छेले पनि मलाइ नै कारमा चढ्ने सल्लाह दिए। अनुमति लिएर हामी पनि चढ्यौ। कस्तो सितलको कार भित्र। गाडीको गन्धै छैन। हामी पछाडिको सिटमा बस्यौ र हाम्रो सामानहरू पछाडि राखियो। साथमा सानी छोरीको थाङ्नो राखेको झोला सहित म, मेरी श्रीमती र दुईजना छोरीहरू थियौ। कार चलाउने मान्छे निकै भद्र रहेछन् र नै हामीलाई सहयोग गरे। मेरो मनले उनलाई निकै धन्यवाद दिइरहेको थियो। मेरा केटाकेटीहरूको अनुहारमा मन्द मुस्कान देखेँ मैले। सोचेँ सायद सबैलाई आराम भयो अब। गाडी चलाएका त्यी भद्र मान्छे बीच बाटोमा केही पनि बोलेनन्। मात्र गाडी चलाईरहेँ। गाडीको अगाडी दाहिने सीटमा चाहिँ एक जना आईमाई सुतिरहेकी थिइन्। हामी कारमा चढे पछि उनी एक पटक चले जस्तो लागेको थियो। त्यस बीचमा पोखरा आई पुग्दा समेत निदाई मात्र रहिन्। पछाडि भएकोले मैले उनको अनुहार प्रस्ट देखिन । पोखरा आई पुग्दा त्यी भद्र मान्छेले उनलाई उठाए। “उठ पोखरा आयो”, अनि तपाईहरू पनि यही झर्नु पर्ला हाम्रो घर यही हो र हामी यो भन्दा अगाडि जाँदैनौ। हामी कारबाट झर्यौ, सामान झार्यौ र त्यी भद्र मान्छेलाई धन्यवाद दिन उनको झ्यालमा टाउको निहुराएँ। धन्यवाद दिदै गर्दा, मैले पहिलो पटक छेउमा बस्ने आईमाईको अनुहार देखेँ.. उनी अझै निदाएकी नै थिइन।
मलाइ उनीनै हुन भनेर ठम्याउन गाह्रो भएन तर बोलाउन सकिन। बोलेर र परिचय गरेर के भन्ने ? मनमा अनेकौँ कुराहरू आइरहेका थिए। हेर्दा हेर्दै कार पर पुग्यो। यदि उनी उनीनै हुन् र सफल सुखमय जीवन यसरी बाचेकी हुन् भने, जीवनको यो परिभाषामा कसको निर्णय गलत र कसको सही ठम्याउन मुस्किल हुने छ। बाँकी मैले उनलाई बुझ्न सकिन भने, दु:ख सबैको जीवनमा हुदाहुदै यथास्थितिमा म दुखी जीवन बाचेँ जस्तो हुने छु। फगत मेरो आफ्नै रोजाई र भोगाइको जीवन शैली गलत र असफल नै हुने छ वा ठहरिने छ। भीत जीवन भीम भएर जाने हो कि भन्ने पीर मनमा रहिरहने छ अनि मन र आत्माको रवले सधै धिकार्ने छ। सबै भएर पनि छिन्नमस्तक शरीर जस्तो, सापे वा बिकलाङ्ग जीवन बाच्ने नयाँ शैली भोग्नु र रोज्नु पर्नै छ।
भोलिका कुरा; मेरो अनुशासन र योजनाको जीवन गलत नहोस् र उनी पनि सधैँ सुखी रहिरहुन्। सबैले निर्णय आफ्नो अनुरूप गर्ने र आफैले भोग्ने कुरानै हो। यथार्थ कुरा मानव शरीर क्षणभङ्गुर छ तर पनि आशा स्थायी छ। जीवन त्यस्तै आशा र सपनाले नै चलिरहेको छ। भोलि यथास्थितिको यो जीवनलाई नयाँ मोडमा कर्काउन सकिन्छ वा सकिँदैन उद्बोध हुन बाँकी नै छ।।। सबैलाई चेतना भया...
सबै लाई चेतना हुन पर्ने कुरा पो रै;छ!!!
कथा सरल छ, कथाबस्तु जटिल छ| संसार सोचेजस्तै कहाँ हुन्छ र?
hajur le to nai pahila ki keti ho vannu vayo ,car chadai ma to sukhi ho vannu ta vayan ni tapai pani ramro jiban bitaudai hunuhu6 ni hoin ra ,gadi bigeko vayar ta ho ni tapaile thha payako ,yadi tapaiko gadi nabigeko huntho vane k socnu huntho ta ????????????
ज्वती जी। मैले यसै कुरालाई ध्यानमा राखेर सानो बाक्य यहाँ राखेको थिए "दु:ख सबैको जीवनमा हुदाहुदै" यथास्थितिमा म दुखी जीवन बाचेँ जस्तो हुने छु। हजुरले उठाएको कुरा निकै सही हो।