“नामको पछाडि @hotmail.com देख्दा निकै अचम्म परेका थियौ”
विगत केही समय यता दुई वटै काखे बिग्रियो। भनेको बेला लेख्न सकिएन। लेख्न खोज्दा विषय मिल्दैन वा मनबाट फुर्देन। ढिलाइ भयो भन्ने लागकै हो तर पनि लेख्ने समय र प्राविधिक गडबढीको बेस्करी निहुँ पाएँ।
लेख्ने विषय कत्ती धेरै छन्। नेपाली समाचारका पानाहरू र फेसबुकका स्टाटसहरु हेर्ने हो भने सयौं सहमति विमतिहरू, र तर्कहरू छन्। कुन कुन विषयमा लेखुँ र कुन कुन विषयमा आफ्ना मनका कुराहरू पोखुँ त्यो चाहिँ गनेर साध्यै छैन। हरेक बिहान, दिउसो र साँझ नयाँ विषय नपाउने पनि हैन तर पनि चाँजोपाँजो मिल्दैन। चुनावी रौनक बढिरहेको बेला, बेरोजगारी १% घटेको उत्सव मनाउने र चुनावी एजेन्डा बनाउन खोजिरहेको नौलो रौनक त छदै छ। यता नेपाल तिर शान्ति र सेना समायोजनका कुराहरू चर्चामा रहिरहेका छन्। फेसबुक स्टाटसहरु हेर्यो, आजकल कुनै साथीले वा मान्छेले आफैले लेखेको भन्दा कृतिम र अनावश्यक आफै अपलोड हुने राशीफल जस्ता स्टाटसले पाना भरिएको छ। एकाध दुई कविता र विचारहरू ले चित्त बुझाउनु पर्ने भएको छ। मैले अनुभव गरेको छु आजकल मान्छेहरू रमाइलो गरिरहेका छन् उता तिर। रमाइलोको लागि नै त हो यो सबै बखेडाहरू हामी आफैले निम्ताएको। समाचारहरू हेर्न समाचारकै पेजमा जान पर्दैन आजकल। कुनै न कुनै साथीले भए भरका सबै समाचारहरू आफूले मात्र पढेको झै गरेर पाना भरिदिन्छन्। टाउको नभएको मान्छेको फोटोमा ट्याग गरिदिन्छन्, यता मोवाईलमा घण्टी बज्छ अनि घण्टी नै बझिसके पछि के के नै रहेछ भनेर हेर्यो, दिनको सुरुवातै खराव। यस्तै छ साथी यहाँको चलन र हाम्रो दैनिकको सुरुवात। जे भए पनि भैरेले फेसबुक छोडेको छैन ।
सुरुवातमा कम्प्युटर सिक्न जाँदा, इन्स्टिच्युटका प्रिन्सिपलले एउटा प्रस्ताव राखेको मलाइ याद छ। “कम्प्युटरमात्र सिक्ने कि हटमेल (ई-मेल हैन है) र इन्टरनेट पनि सिक्ने हो?” त्यस बेला ई-मेल भनेकै हटमेल थियो। इन्टरनेट भर्खरकै प्रवेश गरेको तियो त्यसताका। कृतिपुरको केन्द्रीय पुस्तकालयको ई-मेल दिने गर्थ्यौ हामी बाहिर कसै सँग सम्पर्क गर्नु पर्यो भने। पुस्तकालयका कारिन्दा, जसले त्यो ई-मेल हेर्थ्यो उनलाई रिझाउन अनेकौँ गर्नु पर्दथ्यो। जब हाम्रो नाममा ई-मेल आउथ्यो, उनले त्यसलाई प्रिन्ट गरेर राखिँदिनथें अनि हामी बिहान बेलुका त्यहाँ पस्थ्यौ र आफ्नो ई-मेल लिएर जान्थ्यो। दिनु पर्ने उत्तर हामी घरबाटै लेखेर ल्याउनु पर्थ्यो। उनले आफ्नो समय अनुकूल त्यसलाई टाइप गरेर पढाइदिन्थे। केन्द्रीय पुस्तकालयको त्यो सुविधा हाम्रो लागि निकै राम्रो र सहयोगी रह्यो केही समय पछि कारिन्दाले कृतिपुरकै नयाँबजारको पसलमा कम्प्युटर राखेर त्यो सुविधा दिन लागे। डायलअप इन्टरनेट, निकै बेर कम्प्युटर क्यार-क्यार गरेर कराउथ्यो इन्टरनेटसँग जोडिने बेला। निकै ढिलो चल्ने। मोबाईलको सुविधा थिएन त्यस बेला। मोबाईलको लाइन लीन पचास हजार धरौटी राख्नु पर्थ्यो रे। मिनेटको १० रुपैयाँ तिर्नु पर्ने कुरा भर्खरकै बजारमा आएको थियो। तर कृतिपुरमै आफ्नो डेरा नजिकै इन्टरनेटबाट विदेशमा ई-मेल गर्ने सुविधा हामीलाई दिने साथीको त्यो सेवा निकै राम्रो रहयो। एउटा ई मेल आएको र बुझेको तीन रुपैयाँ र गरेको पाँच रुपैयाँ दिनु पर्थ्यो।
एक दिन मेरो एक जना गुरु जापानमा डाक्टर डिग्री गर्दै हुनु हुन्थ्यो। मेरो पढाईको सिलसिलामा उहाँसँग सम्पर्क गरेको थिए। मेरो ई-मेलको जबाफ आउँदा एउटा कुराले म र मेरो साथी विज्ञान आचार्य( हाल जापान) तीन छक्क पर्यौ। हामीले ई-मेल पढ्यौ तर उहाको ई-मेल ठेगानले चाहिँ हामी अचम्मित बनायो। उहाको ई-मेल ठेगानामा चाहिँ उहाकै नामको पछाडि @hotmail.com रहेछ। हामीलाई लागेको थियो जापानमा जाने सबैले त आफ्नो व्यक्तिगत र आफ्नै नाम भएको hotmail पाउदो रहेछ। केही समय पछि ति साथीले हामीलाई हाम्रो आफ्नो नाममा hotmail खोलेर आफ्नै ठेगानाबाट ई- मेल गर्न सक्छौ भनेर सुनाए पछि खुसीको सीमानै थिएन। हाम्रो ई-मेल उनै साथीले खोली दिन्थे र उनी कसरी यो सब गरिरहेका छन् भनेर हामी ट्वाल्ल परेर हेर्यो मात्र।
एक वर्षको बीचमा, आफ्नै डेराको वरिपरि थुप्रै इन्टरनेट साईबरहरु खुले। त्यसपछि nepalnews.com को च्याट बक्समा च्याट गर्न जान्ने भए पछि चाहिँ बेलुकाको समय काट्न गाह्रो भएन। साईबरमै कहयौ प्रेम पनि बस्यो र छुट्यो हिसाब किताबै रहेन। पछि yahoo को ई-मेल र yahoo chat box मा विदेशी नयाँ साथीहरू सँग पनि च्याट हुन थाले पछि र झन् के कुरा। मोज नै मोज। तर भाग्यले मेरा विदेशी साथीहरू राम्रा परेका छन् दुई तीन जना साथीहरूसँग अझै पनि गफ हुन्छ। हामी सबै बिहे गरेर घरजममा लागेका छौं तर पनि हाम्रो मित्रता कायमै छ। पारिवारि मित्रको रूपमा केही साथीहरूसँग नाता गाँस्दा त्यस बेला yahoo को च्याट बक्समा बिताएको समय खेर गए जस्तो लाग्दैन।
समयले कोल्टो फेरको हैन। वास्तवमा प्रविधिले फड्को मारेको हो। हामी समयलाई प्रविधिको छलाङ्ग मार्ने तरिकालाई समयसँग तुलना गर्न जानेका छौ। मेरो आफ्नै hotmail, जब आफैले खोल्न र चलाउन सिकेँ त्यसपछि चाही निकै सजिलो भयो बाहिर सम्पर्क गर्न। मास्टर डिग्री गर्ने ताका एक जना जापानी प्रोफेसरसँग ( काजुवो मासुदा) सम्पर्क गर्ने मौका मिलेको थियो। मेरो डिग्रीको थेसिसमा उहाको निकै ठूलो योगदान रहयो र त्यस बीच उहाँ र मेरो बीचमा निकै राम्रो सम्पर्क भइनै रह्यो त्यही हटमेलबाट। उहाँको हरेको नेपाल भ्रमणमा म सँगै र साथमै हुन्थे। बीचमा मेरो पहिलो जापान भ्रमणको (सन २००४) बेला टोक्योमा भेटेर उहाँ सँग २,३ दिन सँगै बिताउने मौका मिलेको थियो। एक दिन टोक्योमै नेपाली रेस्टुरेन्टमा खाना खान जाँदा त्यहाँ आएका अरू जापानी प्रोफेसरहरूसँग परिचय भयो। ठेगाना लिने र दिने क्रममा मैले आफ्नो नाम, ठेगाना र ई-मेल ठेगाना दिँदै गर्दा त्यहाँ रहेका कुनै पनि प्रोफेसरको hotmail ठेगाना दखिन। यसै बीचमा प्रोफेसर मासुदाले आफ्ना साथीहरू र प्रोफेसरलाई भनेका थिए “उनको बिजनेश ई-मेल छैन, हटोमेल(जापानी लबजमै) प्रयोग गर्छन्”। साँचो अर्थमा मलाइ बिजनेश ई-मेल के हो थाह थिएन। म यो विकाशक्रमका सुरुवातका समयहरू भोग्दा र हेर्दा, प्रविधिको हरेक फड्कोमा अचम्मित भएको छु। अजकल नयाँ पुस्ता प्रविधिमै पौडी खेलेर जन्मन्छन्।
प्रविधिले हामी निकै पछि थियौ तर आज हामी सञ्चार प्रविधिमा निकै अगाडि नभए पनि कम चाहिँ छैनौँ। सामाजिक संजालमा हाम्रो उपस्थितिले पनि प्रविधिसँग समानान्तर कदम राख्न सहयोग गरिरहेको छ र आज हामी कहयौ कुरामा पनि अगाडि छौ। नयाँ पुस्ता निकै अगाडि बढेको छ। आजकल कम्प्युटर, इन्टरनेट, ई-मेलमात्र हैन, इन्स्टिच्युटहरूमा फेसबुक चलाउन सिक्नेहरुको पनि राम्रै लाइन छन्। तर यो अझै पनि पुरानै पुस्ताका अवशेष मात्र हुन्, नयाँ पुस्ता त आजकल जन्मँदै........ सबैलाई चेतना भया..
ईमेल को रमाईलो स्मरण रहेछ, हटमेलबारे !
आफूले भने हटमेल अहिलेसम्म प्रयोग गरेको छैन, याहु, एओएल हुँदै जिमेल चलाउन थालिएको छ ।
आकार जी नयाँ पुस्ता क्या , नयाँ पुस्ता..
प्रविधिका पुराना कुरा सुन्दा त हाँसो उठ्ने रहेछ भन्या!!!! मैले ईन्टरनेट चलाउन सिक्दा चाहिँ याहु च्याट एकदमै फेमस थियो ।
यसै त समय चाँडै वितेको झैँ लाग्ने....त्यसमाथि यो सुचना प्रविधि अनि सामाजिक संजालको त झन् के कुरा गरी साध्दे छ र!!!!!
रमाईलो लाग्यो पढ्न ।
Ashesh जी यो कुन मैल प्रयोग गरेर ईन्टरनेट चलाउन जानियो भन्ने क्रममा मान्छे कुन पुस्ताको हो भन्ने जान्न सजिलो होला जस्तो लाग्यो है मलाई हाहाहा।।
रमाइलो सम्झना रहेछ । मेरो पनि सुरुवाती दिनमा यस्तै यस्तै कथा थिए । सुरु-सुरुमा हटमेल, याहूमेल र अन्य केही मेल एकै चोटि बनाएको थिएँ ....पछि ती मध्य धेरैको त पासवर्ड बिर्सेर खुल्दा पनि खुलेनन् ।
सुरुमा 'पेड-इमेल' लिनेहरू अलि 'विशेष' हुन कि जस्तो लाग्थ्यो । आजकल भने त्यो बेकार जस्तो लाग्छ । नि:शुल्क र विविध सुविधा सहितका इमेल प्रदायक हुँदा-हुँदै त्यो भन्दा कम सुबिधा र सुरक्षा हुने इमेल लिनु कुनै बुद्धिमानी हैन जस्तो लाग्छ ।
तपाईँको पोस्ट पढिरहँदा धेरै पुराना कुराहरूको सम्झना भयो , रमाइलो लाग्यो :)
मेरो लागि चाहिँ एकै साथ सबै ईमेल जानकारीमा आएन। पहिले हटमेल आयो। हटमेलमा निकै जान्ने भईटोपलेकै बेला, याहु आयो। याहूमा च्याट गर्ने र ईमेल सिक्दा सिक्दै एक जना साथीले जीमेलको लिंक पठाईदिनु भो। त्यस पछि ईमेलका लागि हटमेल प्रयोग हुन छोड्यो, जीमेलनै बढी। अनि याहु मात्र च्याट गर्न प्रयोग हुदैछ। अझ अब त स्काईप अनी अझै iphone मा भाईबर आए पछि कुरा गर्न र सम्पर्क गर्न सजिलो भाको छ।
एकदमै रमाइलो संस्मरण सुनाउनुभयो । मैले पनि सुरूवात त hotmail बाटै गरेको थिएँ तर अहिले चलाउन छोडीएकोले पासवर्ड नै बिर्सियो । आखिर प्रयोगमा त एउटै मात्र भइरहेको छ yahoo
रमाइलो संस्मरण .....आफ्नै याद आयो सर
खुब रमाइलो पोष्ट रहेछ ।
मेरो चैं हटमेलको एकाउण्ट खोल्नुभन्दा अगाडि नै .....@हटमेलडटकम हो मेरो हटमेल भनेर विदेशतिर हुने साथीहरुलाई धक्कु लागाएको थिएँ । ठुलै धक्कु लगाएँ जस्तो लागेको पनि थियो । केहिदिनमा त्यहि ईमेल एकाउण्ट बनाउन खोज्दा नाम उपलब्ध नभएर फसाद परेको थियो । तर त्यस्तै अर्को बनाएर फेरि अपडेट गराएको थिएँ साथीहरुलाई तर हटमेल उस्तो प्रयोग गर्न नपाई याहूमा प्रवेश गरियो र अहिले त जीमेलदेखि लिएर के के के के ।
Arjun, lagvag 12 barsha agadi ko kura remembrance garaunu vayo, Sarai khushi lagyo. yak dasak ma sanchar jagat ma yati rapid change aayo,yo hamelai patauna gahro jasto lagchha.