यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, July 11, 2010

लघुकथा: राहत

बज्र नारायणको सबै भन्दा पहिले पालो आयो यस पटक। उसलाई एकाउन्टेन्ट रामदासले बोलाए यो महिनाको तलब बुझ्न। केही हात्ती र बाघका पत्ताहरू सहित, उसले राहत महसुस गर्ने भयो। हतार हतार एकाउन्टेन्ट कहाँ पुग्यो, पैसा बुझ्यो। रामदासले टाउको कन्याउँदै महिनाको पहिलो हप्ताको शुक्रबार क्यान्टिनमा चिया खादै गर्दाको कुरा सम्झायो, बज्र नारायण केही बोलेन, खुरुक्क दुईवटा हात्ती उसैलाई थमायो र साथमा धन्यवाद लियो र फर्कियो।

 

रामदासको कोठाबाट निस्कने बित्तिकै, उसलाई बुझाएको सापटी सँगै मनमा अनेकौं रामदासहरुको याद आयो । पालै पालो अफिसका सबै रामदाहरुलाई सापटी बुझाउँदै गयो र साथमा धन्यवादको पोको लिएर फर्कियो । बेलुका घर जाने बेला बाटोमा मझुवा कान्छोको रासनको दोकान हुँदै, अन्सारी कसाईको पसलमा पुग्यो। पुग्दा नपुग्दै, अन्सारीले भन्यो, “नमस्ते सर आज त ३० गते हो क्यारे है ? महिनाको अन्तिम दिन” उसले पनि सम्झेकै रहेछ । बज्र नारायणले अनुमान गरे जस्तै भयो । त्यहाँ पनि उसले बाँकी तिर्‍यो । विचार गर्‍यो आज त मासु लैजाउ क्यार । “अन्सारी भाइ खसीको मासु कसरी गएको छ अहिले?” उसले सोध्यो । “हजुर, तपाई मात्र हो भाउ सोध्ने, भाउजूले अगाडि नै लैजानु भो मासु त, तपाइले लानु पर्दैन” अन्सारीले भन्यो । लौ ठिक्कै भए छ, फेरि मुख फोरेर उधारो माग्न त परेन । उसले पहिलो पटक राहत महसुस गर्‍यो ।

 

तिर्दै जाँदा उ सँग कति बाँकी बच्यो, उसले पैसा गन्ने आटै गरेन फेरि । घर पुग्यो, मन मनै सोच्यो कसैलाई छुट्यो कि तिर्न; कसैलाई छुट्यो भने त फेरि अर्को महिना चलाउन गाह्रो हुन्छ। यसै बीचमा भान्साबाट भाउजू कराइन “सुन्नु भो, मासु ल्याएकी छु अन्सारी कहाँबाट तर प्याज सकिएको रहेछ, ल्याउनु पर्ने” । प्याज सँगै उसको मनमा लसुन, अदुवा, जीरा, धनियाँ सबै एक साथ आयो । उसलाई डर लाग्यो के के कुरा सकिएका छन् आजै । “ह्‍या छाडिदेउ प्याज हालेको मासु खल्लो हुन्छ” बज्र नारायणले जबाफ दियो । “हो हुन त, प्याज हालेको मासु खल्लो नै हुन्छ” भाउजूले जबाफ दिइन् । केही बेरमै प्रेसर कुकरको सिट्ठी बज्यो । एकै साथ सबै मसलाहरूको बोझ टर्यो र फेरि बज्र नारायणले राहत महसुस गर्‍यो.. ……सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Thursday, July 1, 2010

अनि प्रश्न उठ्छ!!!

कविता पढियो यस पटकको ? मैले प्रश्न गरे उनलाई। कति पढ्ने खै; अरूका कथा पनि, जीवनै धारावाहिक भइसक्यो, आफ्नै कथा बनाउँदै ठिक्कै भइरहेछ। सीधा तर कतै कतै नमिलेको उत्तरले मलाई के भनुँ के भनुँ भो। मैले भने, हैन हैन उनको कथा क्या, मैले उनको कुरा बुझ्न भन्दा पनि आफ्नो उत्तरै खोजेँ पहिले। आफ्नो कामै यस्तै छ, जति जले पनि, पेलिए पनि काम गर्ने पर्ने, हाकिमको गाली खानै पर्ने, के कथा पढ्नु। आफै कथा भइयो अब,भो अरूको कथा नपढ्ने। मैले फेरि पनि बुझिन, उनले मेरो कुरा नबुझेको हो वा मैले बुझाउन नसकेको निकै अलमलमा परेँ। कस्तो आपत् भो मलाई। हैन के भो उनलाई, खुस्कियो कि क्या हो ? मन मनै सोचेँ। मान्छे किन सुखमा कविता लेख्दैनन् हजुर? उल्टो मलाई प्रश्न गरिन् उनले। हैन होला, लेख्छन्, किन नलेख्‍नु, मैले भने। सुखका कविता, कथाहरू मैले नपढेरै हो त? उनले फेरि सोधिन्। पक्कै पनि हो नि। तर किन त त्यस्तै मात्र मेरो पोल्टोमा पर्छ ? मैले हाँस्दै भने “तिम्रो ब्याड लक होला”। पक्कै पनि हुनु पर्छ, यस्तो ठूलो जीवन, यस्तो ठूलो संसारमा मलाई मात्र यस्तै हुनु पर्छ त है? उनले मलाई सोधिन्। उनी पनि जोडले हाँसिन र म पनि हाँसेँ। फेरि तिमीलाई यस्तै पढ्नु छ आज.. लौ मेरो बल्ग हेर है त। मैले उनलाई मेरो बल्गमा आउन भने।


बिहान उठ्दा न उनी थिइन् न मेरो बल्गमा उनको लागि कविता। फेरि मनमा डर लाग्यो, कतै उनी मलाई खोज्दै आउने त हैन ? निराश भएर पो फर्कने त हैन? निबन्ध लेखेँ, उनलाई कुरे, साथीहरूलाई देखाए, तर न उनी आएको थाह भो न साथीहरूले नै केही सुझाए। तर चाहेर पनि फेरि दु:खको कविता दिन सकिन उनलाई। मात्रै प्रश्नहरू माथि धेरै प्रश्नहरू जोडेँ, जीवनको दु:ख र सुखलाई बाँधेर निबन्ध लेख्‍न बसेँ, पहिले केही लाइनमै लेख्‍न मन लागेन अल्छि लाग्यो, अनि त्यही लाइनहरूलाई भाँच्दै गए.....


जब जल्छ अनि खरानी हुन्छ

पराल र खरको छाना

जब जल्छ र खरानी हुन्छ

घर र सहरको रूप !!!

तर

खै खरानी यहाँ,

खै अवशेष यहाँ

जलेर पनि खरानी नहुने

पोलेर पनि डाम छैन,

खरानी कसरी बनोस् !!!

तर पनि

जल्छ र खरानी बन्छ

यही सत्य हो

कसरी मान्ने यो सत्य, जब खरानी छैन

हरायो वा उडायो के भनौं

न त हावा चलेको छ

न त पानी परेको छ ।

हराउँदै उडाउँदै गर्दा पनि

न देखिएको खरानी !!!

उफ!!

डढेर पनि नबनेको खरानी

कसरी बनोस् र हराओस्

भौतिक केही अवशेष

तर पनि डढेर जाने रहेछ

खरानी छैन तर पनि जलेको छ

ताप छैन आगो बलेकै छ !!!

तथापि

मन, मन नै हो जो जल्छ

सान्त हुन्छ, बिना वारुणयत्र

बिना पानी र बिना स्वाउला

आफै रोकिदो रहेछ जल्न,

समय!! ठूलो पानी र स्वाउला

जब मन जल्छ सबै जल्छ

तन जल्छ र संसारै जल्छ !!!

त्यसैले

साँचो, जब मन जल्छ

पीडा पनि जल्छ

सत्य, जब मन जल्छ

माया पनि जल्छ

आशा र भ्रम सबै जल्छ

जब मन जल्छ

तब विश्वास पनि जल्छ

खरानी किन बन्नु पर्यो

जल्नुको रूप हराउनु हो भने,

अवशेष किन देखिनु पर्‍यो

जल्नुको रूप उडाउनु नै हो भने !!!

किनकी

पराल, परालै हो

मन मनै हो, जो जल्छ

तर खरानी दिँदैन, अवशेष छोड्दैन

जो नयाँ आशा उमारेर जान्छ

जब आशाहरू पनि मर्छन्

तब मन र आशा सँगै

मान्छेहरू आफै मर्छन्

चिता सँगै मान्छे जल्छ

आशातीत मन पनि जल्छ

फेरि मनले मान्छे जन्माउछ,

अनि प्रश्न उठ्छ

पहिले को ? मन वा मान्छे !!!

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला