यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन….

Showing posts with label मनको कुरा. Show all posts
Showing posts with label मनको कुरा. Show all posts

Friday, April 3, 2015

मृत्यु हाम्रो हातमा छैन तर पनि उत्सवमय छ!!!!!!!

मान्छेहरू जीवन बाचेर मरिन्छ भन्छन् तर मरेर बाचेको पत्तै छैन। बाँचेको छु भन्दा भन्दै हजारौं पटक मरेको थाह नपाउने मान्छे, अन्तिम मृत्युलाई जीवनको अन्तिम बिन्दु मानेर दौडिएको छ। कसरी बाँचेको छ र कसरी बाँच्ने भन्दा पनि मरेको थाहै नपाउने एनेस्थेसियाको भरमा बाँचेको भ्रम पालिरहेको छ। आफ्नो वर्तमानलाई वास्तै नगरी भविष्यको आशामा कुद्दै योजना बनाउने गर्छ र जीवनको अन्तिम अवस्थामा सबै सपना अधुरो बुझेर मर्छ। सपना वर्तमानका लागि देख्‍नेहरु हर दिन बाच्न र मर्न तयार हुन्छन्। जीवनको अन्तिममा पछाडि फर्केर हेर्दा मानसपटलमा बाँकी रहेका केही धमिलो संझनाका भरमा आफ्नो जीवनको मूल्याङ्कन गर्ने गर्दछ। यो त दैनिक डायरी लेखे जस्तो पो हो त। डायरी दैनिक लेख्दै गयो भने सबै अवस्था र क्षणको यथार्थ विवरण लेख्‍न र उतार्न सकिन्छ।

 

वर्तमानमा बाचेको जीवनमा कहिलै पछुतो र पश्चताप गर्न पर्दैन। जो वर्तमानमा बाच्ने गर्दछ उसले मर्नु पर्दैन। भविष्यका लागि बाँच्नेहरु विगतका क्षणहरू सँग वर्तमानलाई तुलना गरेर खुसी खोज्ने प्रयास गर्छन् । आफू कति सफल भए वा भइन भनेर बुझ्न र तुलना गर्न अरूको बारेमा चासो र जिज्ञासा राख्‍ने गर्छन्। जो अरूको बारेमा चासो राख्‍छ र आवश्यकता भन्दा बढी अरूको बारेमा कुरा गर्छ उसको वर्तमान सहजै बुझ्न सकिन्छ। अर्थात् वर्तमानमा उ खुसी छैन। 

 

चलिरहेको घडीको विपरीत तर्फ प्रकाशको गति भन्दा चाँडो दौडिन सकियो भने त्यो घडीको समय जहाँ को त्यही रोकिन्छ अर्थात् समय रोकिन्छ्। समय रोकिनैको लागि आफ्नो निश्चित गति कायम राख्‍नु पर्ने हुन्छ्। जुन बेला आफ्नो गति रोकिन्छ वा सुस्त हुन्छ त्यस बेला देखि घडी चल्न थाल्छ। त्यसैले रिलेटिभिटीको सामान्य यो सिद्धान्त मूलभूत रूपमा ब्रमाण्डकै परिभाषालाई समेट्ने प्रयास गरेको छ र हामी त्यसै परिभाषा भित्रका पात्र मात्रै हौ। समय रोकिनैको लागि आफ्नो गतिलाई कायम राख्‍नु पर्ने बाध्यताको बीचमा बाचेका हामीले कहिलै समयलाई रोक्न सकेका छैनौ। अर्थात् हामीले त्यो न्यूनतम गतिलाई कायम गर्न सकेका छैनौं।

 

विज्ञानको अर्को आधारभूत मान्यता छ, शक्तिहरूलाई परिवर्तन गर्न सकिन्छ। शक्तिहरूको आफैमा परिवर्तनशील क्षमतालाई मानेर जाने हो भने त्यसरी चलेको घडीको स्थिति त्यो माथि परिरहेको प्रकासमा भर पर्छ अर्थात् प्रकास छ भने मात्रै समयको अस्तित्व बोध गर्न सकिन्छ। जब प्रकासलाई जित्ने गतिमा कसैले गति लिन्छ तब उसलाई समयको बोध हुदैन। महत्वपूर्ण कुरा त यो हो कि यथार्थमा समय रोकिएको छैन। त्यो त आफैमा चलिरहेको छ मात्रै गतिलिनेले बोध गर्न सक्दैन। भौतिकरुप[ File # csp0828256, License # 1183590 ]
Licensed through http://www.canstockphoto.com in accordance with the End User License Agreement (http://www.canstockphoto.com/legal.php)
(c) Can Stock Photo Inc. / drizzdमा यो गति असम्भव भएर पनि हामी बुझिरहेका छैनौ र दौडिने प्रयास गरिरहेका छौ र दौडिरहन्छौ जीवन बाच्ने परिभाषामा। हरेक मान्छेको जीवनको अन्तिम अवस्था समय रोकिने उत्सव हुन्छ। बाँचुन्जेल रोक्न प्रयास गरेको समयलाई रोक्न सफल क्षणलाई मैले मृत्यु भनेर बुझेको छु। आफूमा अन्तर्निहित शक्तिले जब शरीर छोडेर जान्छ तब त्यस शक्तिले समय रोकेर हेर्ने गति लिन सक्छ र समय रोकिदिने गर्दछ अनि ब्रमाण्डको कुनै परिधिमा उसलाई रहनु पर्दैन। वास्तवमा जुन बेला त्यो क्षण आउछ त्यो दिन जीवन भर गर्न नसकेको यथार्थता माथि विजय हासिल गर्ने क्षण हुने छ र जीवनमा विजय बोध हुने छ। त्यसैले मृत्यु उत्सव हो, विजय हो र त्यो अवश्यम्भावी छ। जब प्राकृतिकरुपमा जीवनको अन्तिम क्षण उत्सवै हो भने बाचिरहेको जीवनलाई किन नरक बनाउँछौ? ‍भविष्यको चिन्ता र योजनामा वर्तमानलाई विगतसँग तुलना गरेर अनि बिगारेर बाँच्न अभ्यस्त हामीले बाँच्न जान्नु पर्छ। कुनै कुरा पनि स्थायी छैन र यो अस्थायी जीवन र शरीरलाई स्थायी बनाउने होडबाजीमा हामी हरेक दिन मरिरहेका छौं अनि बाचेर पनि बाचेको बोध गर्न सकेका छैनौं। मृत्यु हाम्रो हातमा छैन तर पनि उत्सवमय छ तर जीवन माथि हाम्रो नियन्त्रण छ। जीवनलाई उत्सव बनाउन जान्नेहरू नै सफल र सुखी रहन्छ.... चेतना भया....

चलिरहेको घडीको विपरीत तर्फ प्रकाशको गति भन्दा चाँडो दौडिन सकियो भने त्यो घडी जहाँको त्यहीँ रोकिन्छ अर्थात् समय रोकिन्छ्। समय रोकिनैको लागि आफ्नो निश्चित गति कायम राख्‍नु पर्ने हुन्छ्। जुन बेला आफ्नो गति रोकिन्छ वा सुस्त हुन्छ त्यस बेला देखि घडी फेरि चल्न थाल्छ। भौतिकरुपमा यो गति असम्भव भएर पनि हामी बुझिरहेका छैनौ र दौडिने प्रयास गरिरहेका छौ र दौडिरहन्छौ जीवन बाच्ने परिभाषामा। हरेक मान्छेको जीवनको अन्तिम अवस्था समय रोकिने उत्सव हुन्छ। बाँचुन्जेल रोक्न प्रयास गरेको समयलाई रोक्न सफल क्षणलाई मैले मृत्यु भनेर बुझेको छु। त्यसैले मृत्यु उत्सव हो, विजय हो र त्यो अवश्यम्भावी छ। जब प्राकृतिकरुपमा जीवनको अन्तिम क्षण उत्सवै हो भने बाचिरहेको जीवनलाई किन नरक बनाउँछौ?

»»  पुरै पढ्नुहोस

Wednesday, November 25, 2009

एउटै रेखाका हजारौं बिन्दुहरु

भावनात्मक परिवेश!!!!!! कस्तो निस्तब्धता छाएर यी दिन र रातहरु बित्दै छन्। वास्तबमा नमानेरै भए पनि हरेकले आफ्नै पक्षमा गन्तब्य र झुप्रोको खोजी लगातार गरिरहेको छ। नौलो अयाम र नैराष्यको पराकाष्ठामा समेत कषाय रातको अनुभूति औशीको रातमा पनि हुन पाईराखेको छैन। हुन सक्छ आंशिक सुखमै कालो रातमा पनि कता कता ताराको प्रकाश खोजिरहेको होस। आफ्नै परिबेशमा, संसारको यावत मानबिय कर्मका उदाहरणहरुका रेखा-रेखामा कतै न कतै आशाका बिन्दुहरुको समावेश नभएको हैन। वास्तवमा समयलाई निस्पट्ट, कहालीलाग्दो रात सगै लैजाने र डोराउने काममा अभ्यस्त भएर बितिरहेछ दिनचर्या।


सन्नाटामा कोही रोहेको र कराएको आवाज, कसैले ऐया र आत्था गरेको आवाज, नेपथ्यबाट कोही सल्लाह गरेको आवाज साथै कोही मस्त निन्द्रामा सुतिरहेको आवाज कानमा एकपछि अर्को क्रमश: र एकै साथ मिश्रण भएर तरङ्गित भएर आईरहेको छ। यहाँ वास्तवमा हरेक पक्षमा शान्तिको रेखा कोर्ने प्रयास भईरहेको छ। हरेकले शान्तिको आभास पाउने आशामा सजीव शरिरलाई निर्जीव यन्त्रको माझमा खडा गरिएको छ। वास्तवमा भ्रामक अथवा सन्दिग्ध सद्‍वृत्ति थियो यो। चाहेर पनि मानिसहरु नआउन खोज्ने, जिवनको कुनै पनि क्षणमा आफ्नो उपस्थिति नहोस भनेर चाहने, यस स्थानमा मानिसहरु विवशै भएर धकेलिन्छन्। जोड जोडले हरेक पक्षमा रातहरु काट्ने तयारिमा वारपार गर्दै छन्। मानिसहरु यहाँ आउन चाहदैनन्, तैपनि बाच्नको लागि एक अर्को आयाम: आफ्नो पुर्जाहरुमा ईन्धनले मात्र नपुगि त्यसको सुरक्षा र एकै साथ थाहनै नपाई संहारका लागि यहाँ आऊछन्। त्यसो त क्रियामा प्रतिक्रिया जीवित हुदा हुदै, स्वस्थ ब्यक्ति आफ्नो हरेक चाहतमा यहाँ नआउने हैन। शान्तिका लागि कुद्‍ने मानिस यहाँ आफैमा अशान्त छ। त्यसकै पछि लागेर होला कृतिम शान्त-ब्यक्ति यहाँ नदौडिएको हैन। दौडदै, तात्दै र साधिँदै मानिस आफैमा सर्वाङ्ग नाङ्गो भएर निर्जिव यन्त्रहरुको अगाडि प्रश्तुत गराउन मानिसहरुको घुईचो यहाँ नभएको हैन्। आफैमा निष्काम कोही छैन, तैपनि सामाजिक, आर्थिक परिस्थितिको अल्झ्याईलाई सम्हाल्दै सबैको घुइँचो यहाँ लाग्छ। त्यस्तै निश्चित पराकाष्ठामा ब्यक्ति सर्वाधिक उचाईबाट पछारिन्छ र जब धाईते बन्छ, तब फेरि उ यही धकेलिन्छ। सडकको माझबाट एम्बुलेन्सको धुन सगै, स्टेचर र ह्युईलचियर सगै फेरि पुन नाङ्गो बनाईन्छ। निर्जिव यन्त्रहरुको माझमा उसको शरिरको हरेक चालको लेखाजोखा गरिन्छ त्यो पनि कानमा स्टेथेस्कोप भिरेका सजीव भनाउदा निर्जिवहरुद्वारा। उसको आमपरिक्षण हुन्छ र हेरक चालहरु माथि सर्वाधिक नियन्त्रण गर्न खोजिन्छ र गरिन्छ पनि। फेरि क्रम सुरु हुन्छ; स्टेचरमा त्यही ब्यक्ति कसैको नियन्त्रणमा नै दौडन पुग्छ, दौडाईन्छ र निश्चित स्थानमा पुराईन्छ। भाव बिभोर भएर आफूलाई भाग्यमानि ठान्छ र नजिकैको अङ्‍कुशबाट आएको बिभिन्न ट्रेडमार्कको स्लाईन पानिको बोतल देख्छ तैपनि खिस्स हास्छ। समस्या अनुसार हरेकको विभिन्न फाईलहरु तयार हुन्छन् र सुरु हुन्छ फेरि ऐया र आत्था। हरेक दिन र रात जब सम्म उ यहाँ रहन्छ तब सम्म घोच्ने, थिच्ने र दवाउने कामको क्रम भईनै रहन्छ; बि.पी सेट, थर्मोमिटर र सुईहरुको चिसो र तीखो सियो सगै।


यो घोचाइ, थिचाइ र निलाइ सगै केही क्षण शान्ति पाएको अनुभूति गर्छन, वास्तबमा भौतिक अशान्तिमा बाच्नेहरु। शान्त पार्ने योगफल सगै यहाँ सधै घोचेर थिचेर शान्त सगं गुणा गराईन्छ। घोचाइ र थिचाइको प्रयास र त्यसको बराबर उसले पाएको शान्तको अनुभूतिहरुको दिनहुँ जसो मुल्याङ्कन गर्छन त्यही चुच्चा सुईहरुवाट। समय बित्छ; उ मानिरहेको हुदैन जान तर पनि उसलाई कुम्लो पोको पार्न लगाईन्छ। उ कुम्लो पोको पार्छ र कृत्रिम हासोँ सगै बिदा हुन्छ। साथमा पीडा नभएको अनुभव गर्छ तर हजारौ नियम र बन्धन बोकेर फर्किरहेको थाहनै पाउदैन। विचरा मानिस !! आफैले आफ्नो घरलाई अस्पताल बनाए पछि कहाँनै जानु छ र। गएको नाटकमात्र गरेर जस्तो भौतारिन्छ फेरि कुनै न कुनै निहुँमा फेरि त्यही आईपुग्छ । मानौ कुनै विकल्प छाडेको छैन उसले यो परिस्थिति श्रृजना गर्न। आफू दिनहुँ सुईको घोचाइ सहन्छ तर पनि कुनै विकल्प देख्दैन। विचरा मानिस। बास्तबमा अन्धो मानब जाति र यो मानव सृष्टि । सबै अगँहरु हुदाहुदै सापे जीवन बाँच्न अभ्यस्त मानिस।


त्यसो त कर्म क्षेत्रको यावत कठिन जीवन सगै कसैले यस्ता शय्याहरुमा आरामको महसुस नगर्ने हैन। तैपनि पहिलेको भन्दा पृथक शान्ति र चैन बोकिरहेको देखिन्छ र जान्छ, फेरि कहिलै नआउने सर्तमा। नवीनतम सद्प्रयासको जोड सगै यहाँ कयौं रेखाहरु कोरिएका छन्। मानिस आफ्नो घरलाई कहिले घर बनाउछ, कहिले अस्पताल त कहिले जेल। प्रचलित मान्यतालाई नभत्काईकन कुनै पनि काम नहुने ठान्ने उ किन निर्जीवहरुको बीचमा सजीवताको आनुभूति लिएर बाँच्न खोजिरहेको छ। हरेक कामलाई अधोरेखा राख्न मनपराउने उ अधोरेखाङ्कित बन्न भने मन नपराउने बनेको छ। वास्तवमै उ बाँच्न, चलाउन र हाक्नको अनभ्यासले गर्दा आफै सङ्कीर्णताले ग्रसित छ। हुन सक्छ उसले आफ्नो जीवनलाई एकाङ्की बनाएको छ। गलत हैन होला तर पनि यहाँ हजारौले खेल्नु, भोग्नु र चलाउनु छ एकाङ्की। आफैमा स्वार्थी बनिरहेको उ किन आफूमात्र नाटक मञ्चन गर्न खोजिरहेको छ। सघै बिर्सिएको छ; उसको जीवन एक्लो मात्र हैन बरु यहाँ त थुप्रै कबिला(हरु) छन् जो सबै बाँच्न चान्छन्। कूपमष्डूक भएको थाहनै नपाउने मान्छे बाहिर हेर्दैन, बुझ्दैन र थाहपाउन पनि चाहदैन तर मात्र आफ्नो लागि आउछ यहाँ। बेजोड संग घोचाइ र थिचाइमा आनन्द मानेर फर्किन्छ र त्यसै गरि फर्केने क्रम चलिरहन्छ। मायायुद्धमा खप्पिस मानिस आफ्नै मायाबी जालोमा बेस्करी जकडिदै जान्छ । समस्या र मात्र समस्याको थुप्रोहरुले बनाएका हजारौ बिन्दुको लेखा जोखामा जीवन खोज्ने प्रयास गरको छ र त्यही एउटै रेखाका हजारौ बिन्दुहरुको माझमा अल्झिएको छ यो मान्छे। उ कहाँ र कता अल्झिएको छ थाह छैन तर पनि रेखा थाहनै नपाई हजारौ बिन्दुहरुलाई समाहित गर्दै लम्बिदै छ एक अनन्त यात्रामा। सबैलाई चेतना भया।।।।।।।।।।।।।।।।।।।।।।

»»  पुरै पढ्नुहोस

Sunday, July 19, 2009

कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ।

पार्दापार्दैको तातो-तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को। सन्झना मात्रै रह्यो के गर्नु? रमेश हिजो दुःखेसो पोख्दै थिए। हैन के भयो रमेश दाई आज अचानक सबै कुराको याद किन आयो? मैले सोधे।


के गर्नु? हामीले याद मात्र गर्ने त हो नि, समयले कस्तो कोल्टे फेर्‍यो है? जन्मे हुर्केको ठाँउको याद त सधै आउछनै, कुनै बिशेष समय र परिस्थितिको आगमननै हुनै नपर्ने रहेछ, हैन र? मेलै सहमत जनाए। त्यसो त यादनै गर्नु पर्ने केही त होलानि? मैले सोधे।


के छैन भन्नु खै। कति दिन भयो मेरो मनमा एउटै कुराले जरा गाडेर बसेको छ। दिनमा नै किन? आफ्नो ठाँउको त हरेक समय याद आउदो रहेछ। हिजो मुस्किलले आमासंग कुरा गरेको थिए फोनमा। कैली गाई र काली भैँसी बेचिदिनु भएछ आमाले। कस्ले हेर्ने? कस्ले घस्याउने? “हैन यसो एक मुठ्ठी दूध खान हुन्थ्योनि आमा” मैले सोधे। “बूढी भए अब म; घासकाट्ने त कुरै नगर बाबु, भकारो सफा गर्न पनि नसक्ने भए। तेरो बाबुको त झन कुरै नगर। उहाँ हिजो देबीथान सम्म पनि जान सक्नु भएन। एउटा खुड्किलो चड्योकी स्याँ स्याँ भएर कस्तो गाह्रो, बीच बाटै फर्कनु भयो।“आमाले थप्नु भयो।


अनि के गरेर खाने दूध? फेरि बुबालाई दूध नभई भागै नबस्ने बानी छ। तपाईलाई पनि हर्पेमा टन्न ध्यू नदेखे सम्न निद्रानै आउदैन। हैन र? मैले जान्न खोजे।


“समय रहेछ बाबु, अब बूढाबूढी भइयो, काम गर्नै नसक्ने, गर्न पनि जागर नै नहुने। साह्रै गाह्रो हुदो रहेछ बाबु यो बुढेसकाल त। हामीले दूध त खान्छौ पीर नगर, घर नजिकैबाट अहिले मोटर बाटो खनेका छन्। हिउँद भरि जिप चल्छ। अबको बर्खा सम्म त ढुङगा पनि ओच्छ्याउछन् होला। माथि ठूल्कान्छाले डेरीको दूध राख्छ बेच्नलाई, यसो एउटा रातो पोका ल्यायो, बूढाबूढीलाई दुई छाक पुगिहाल्छनी। ध्यू पनि त्यही पाईन्छनि, नराम्रो चाँही छैन है त्यो ध्यू”, आमाले एकै सासमा भन्नु भयो।


“हुन त हो आमा, तपाईहरुले कति कष्ट गर्नु हुन्छ, जति गर्नुपर्ने हो गरिसक्नु भयो। अब मेरो पालो हो,” मैले सान्त्वना दिन खोजे।


अनि भाई खै त? मैले सोधे।


“भाईले पनि तल बजारमा बिजुलीको काम गर्‍थ्यो, अहिले घरमै छ। काम राम्रो भएन भनेर चिन्ता गरिराखेको छ। बरू मिल्छ भने त्यतै बोलाएर हेर्ने।”


“काम त यहाँ पनि गाह्रो छ तर पनि त्यसो भन्छ भने बिचार गर्नु पर्ला। फेरी तपाईहरू बिरामी हुनु भयो, यसो केही भए त हेर्ने मान्छे पनि त चाहियो नि।” मैले सोधे।


“हेर्न त बुहारी छ नि, यसो बेलामै कमाउन सक्यो भने त्यसलाई पनि काम लाग्ला नि त।” आमाले थप्नु भयो। मैले हस भने।


खेतीपाती के गर्नु भो यसपाली?


कस्ले हेर्ने? कान्छो विदेश जान्छु मात्र भन्छ। त्यती मेसो पाउदैन त्यसले, केटाकेटीनै छ अझै। काम गर्ने कोही नभए पछी के गर्ने, यसपाला देखि अधीमा दिए। गोडा १,२ मुरी आउला, एक दुई महिनालाई पुगिहाल्छ, बाँकी बेसाउनु पर्ला, के गर्ने त? बाटोखुलिहाल्यो, नुनतेल, चामल सबै किन्न पाईन्छ, के का लागि दु:ख गर्नु खै? भाईले पनि सक्दिन भन्यो। कमाउने तँ मात्र हो, कति पुर्‍याउछस् खै? यसो भाईलाई पनि त्यतै बोलाएर काम लगाईस भने, तलाई पनि सजिलो, हामीलाई पनि ढुक्क हुन्थ्यो।" मैले हुन्छ आमा म काम खोज्छु अनि खबर गरुला है त" भने। बिदा भए म त्यस पछि।

“मैले यहाँ काम राम्रो भएन, जतिसुकै मरिमेटेर काम गरे पनि आफूलाई ठिक्कै छ। सबै परिवारसंग सल्लाह मिल्यो भने घर फर्कन्छु। यहाँ गरेको जतिसुकै काम र दुःख गरे भने, गाँउमै पनि यति कमाउन सकिन्छ। खेत छ, बारी छ, खरबारी छ, टन्नै रुखबुट्यान छन्, जे गरे पनि हुन्छ। भैसी पालेर, बाख्रा पालेर, तरकारी लगाएर पनि त हुन्छ नि यहाँ जत्तिको त। मैले सल्लाह गर्न नै फोन गरेको थिए आमालाई। तर भन्नै सकीन।”


“आमाको कुरा पनि ठिकै हो, अब बुढेसकालमा कस्ले गर्छ त?” मैले भने।


“हैन म छु, मेरी श्रीमती छिन्, भाई, बुहारी छिन्। हामी चार जना काम गर्न सक्छौ नि त। भएका बच्चा बच्चीलाई आमाले र बुबाले घरमै बसेर हेर्न सक्नु हुन्छ। हामी चार जनाले एउटा एउटा काम हेर्यो भने पनि त राम्रै हुन्छ नि। फेरि बाटो खुलेको छ। बजार लान सकिन्छ उत्पादन भएका कुराहरु। बाटो खुल्यो भनेर सबै काम छोड्न त भएन नि। घर नजिकैको पसलमा हाम्रो सामान नै बेच्न पनि त सकिन्छ हैन र? हामी कहाँ भएको बस्तु घर नजिकै बेच्दा, ताजा पनि सस्तो पनि हुन्छ नि त। बिकासको त राम्रो फाईदा उठाउनु पर्यो नि।” रमेश भन्दै थियो। मलाई चित्त बुझ्यो उसको कुरा।


“हैन यहाँ, पाउरोटी र बासी तरकारीको के कुरा गर्नु र फेरि पार्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुननै राखेको किन नहोस; कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को हैन र?” मैले टाउको हल्लाए र सहमत जनाए। तर रमेश रोकिएको थिएन।


“हेर साथी म अब घर जान्छु, जसले जे सुकै भनोस। यहाँको बासी पाउरोटी भन्दा त मेरो तिक्ले खोल्साको मूलको पानी नै तागतिलो लाग्छ मलाई। यहाँको शहरी झ्याँउ झ्याँउ भन्दा, बासधारीकै झ्याँउकिरीको आवाज राम्रो। मैले जे गरे पनि मेरै गाँउ ठाँउको लागि गर्नु पर्छ। यत्रो समय परदेश बसेर के गरिस भनेर सोधे भने मैले परदेश बसेर गुन्द्रुक र कोदोको पिठोको मुल्य र महत्व जान्ने काम गरेँ भन्छु। गुन्द्रुक र फापरको मूल्य जाने भनेर भन्छु। मैले यत्रो दिन परदेश बसे तर मेरो सपनामा यो शहरी रमझम कहिल्यै आएन, सपना देख्छु मात्र घरको, त्यही पाखा र खरबारीको।“ रमेशको अनुहारमा चमक आएको थियो।


“बरु त पनि हिड”। रमेशले थप्यो।


“हैन रमेश, तेरो र मेरो परिस्थिति फरक छ। तेरो त नेपाल गए पनि दशनङ्ग्रा खिआएर खाने जमिन छ। पाखा छ, बन छ, खेत र बारी छन्। मेरो त केही पनि छैन। एक प्रकारले मेरो परिवारको एउटा मात्र कमाउने नै म हूँ। मेरो त केही पनि छैन। बूढाबूढी भएका बा आमा, बिबाह गर्ने बेला भएकी बहिनी, आफ्नै पनि त २ वटा छोरीहरु छन्। राम्रो खानेको त कुरै नगर रमेश,बेस्करी हुरी बतास आयो भने की त खाट मुनि पस्नु पर्छ की त नजिकैको स्कूलमा जानु पर्छ। मेरो यहाँ बस्नुको कुनै बिकल्प छैन।“ मैले जे हो त्यही भनिदिए। रमेशलाई नराम्रो लागेछ सायद मेरो नजिकै आयो र अनुहारमा हेरेर भन्यो, “सरी यार। तलाई मैले............................।“ रमेश बोल्नै सकेन


“हेर रमेश तिम्रो त गरेर खाने ठाँउ छ, आफ्नो भन्ने राम्रो घर छ। गर्ने हो भने तिमीले घरमै बसेर धेरै राम्रो गर्न सक्छौ तर मेरो केहि छैन। मैले यहाँ बसिन भने, साहूँको पैसा तिर्ने त कुरै छोड, बिहान बेलुका हात मुख जोड्ने उपाए पनि छैन। देशमै काम खोज्न गाह्रो छ। त्यसैले म अहिल्यै जान्न। तर तिमी जस्ता हुने र केही थलो भएकाहरू यहाँ बसेर हुदैन्, तिमीहरु फर्किएर केही गर। थलो हुनेले र एक छाक खान पुग्ने पनि यसरी यहाँ बसेर कसरी बिकास होला र गाँउ ठाँउको? बरु जाउ राम्रो गर र हामी जस्ता केही नहुनेलाई काममा लगाउन सक्ने बन्यौ भने मलाई पनि त बासी पाउरोटीमा बाच्न मन छैन। पर्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यूको स्बाद मलाई पनि त थाह पाउनु मन छ।" त्यस पछि मैले केही बोल्नै सकिन....। रमेश मेरो काधमा हात राखेर मलाईनै हेर्दै, मेरै अनुहार पढ्दै थियो र भन्दै थियो हुनत हो है कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ र।।।।।।।।

Picture 006

(यो एक सत्य घटना थियो, सात बर्ष पहिले दोहामा काम गरेका मेरा साथिहरुको बीचको बार्तलापको आधारमा लेखिदिए ,रमेश घर फर्किएर निकै राम्रो काम गरेको छ , उसले भने जस्तो गाई, भैसी त पालेन तर पाखा भरि सुन्तला,बास(तामाको लागि) र घर वरिपरी बारीमा तरकारी लगाएर निकै कमाउन थालेको रहेछ। मैले उनको दोहा बसाई र नेपाल फर्किनुको कारण सोधेको थिए धेरै पहिलै, त्यसै बेला उनले भनेको कुराहरूलाई फूलबुट्टा भरेर मैले राखेको हुँ, उनको साथी (म )फर्के वा फर्केनन् थाह भएन , उनको घरको र सुन्तला बारीको फोटो थिएन म संग तर मेरै मावली गाउँमा खुलेको नयाँ बाटोको नै भए पनि फोटो राखैको छु हैँ। यो लेख सबैको लागि लागू नहोला है)

»»  पुरै पढ्नुहोस

Thursday, June 18, 2009

मन र निदाएका बुध्द

जब मनहरु आतड.कित हुन्छन तब हरेक पटक नजानिदो तान्द्राको भरमा आफूलाई उभ्याउन र शान्त पार्न खोज्छ। अनेकौ पिडा र खुशीहरु फुकाउनै नमिल्नेगरी अल्झिएको गाठो होला सायद यो मन। जति तन्काए पनि तन्किन्छ, जति छोट्याए पनि छोट्टिन्छ तर फुकाउन खोज्यो मात्र निरर्थक।

कसरी हुन्छ शान्त?, के ले होला आफ्नो उद्धार? स्बयमको उद्धारमा लाग्ने बानि मै समय खेर गईरहेछ। सोच्ने बानि मै र आफै भित्रको द्धन्दले कता कता मन प्लवन हुन्छ अनि नजानिदो पाराले पलायन। जति तरल भएपनि आशाहरु र जिज्ञाशाहरु बग्नै मान्दैनन्, मानौ न्यून तापमानमा जमेको छ मन्। आगो लागेको छ, धुँवा निस्केको छ र मनको राप बाहिर सम्म निस्केको छ, त्यै पनि किन मन अनि आशाहरु जमिरहेका छन् ? सोच्न बाध्य भएर कयौ चोटी आफैलाई सोधेको छु वा भनु झड्कारेको पनि छु तर फगत अनुत्तरीत मनहरु।बिना सिमाना, बिना परिधि, त्यसै त्यसै निश्चित दाएरामा बाधेर मनहरुलाई घस्याउन खोज्छु ताकि शान्त होस र मनग्यै अघाएर बसिरहोस् । तर पनि ईच्छाहरु निश्चित आकारमा बस्नै मान्दैनन् । मन अब मनहरु भईसके सायद ‍भिन्न भिन्न परिधिमा छन् अब तै पनि निदाएका छैनन् ।

एकमात्र हैन, अनेकन रुपमा मनहरु रोएका छन् । अभाबले, अज्ञानताले, बन्दूकले, तातो गोलीले, दबाबले, मजबुरीले, पिडाले, बिछोडले, गुलामीले, बन्दले, हड्तालले, भ्रष्टचारले, अपराधले,हत्याले, बलत्कारले,।।।उफ!! कति हो कति। कयौ पटक मनहरु उत्तर पाउने आशामा यिनै बीच रुमलियो। तर अभाब देखी, गुलामी हुदै बलत्कार सम्म कतै छैन उत्तर। जिज्ञाशामै आफै रुमलिएर बसेको मन र नजानिदो पिडाहरुले कतै पाएको छैन यसको उत्तर तर पनि खोजिरहेको छ र बस् खोज्दै छ।

पिडा पछिको पिडा, रोग पछिको रोग, समस्या पछिको समस्या कत्तिको दर्दनाक हुन्छ सोच्नै सक्दिन तर पनि आशाहरु छन् मेरो मन भित्र। आशा र निराशा सगै यी मनहरु सोच्न थाल्छन र टोलाउछन्। कतिखेर निदाउछ थाहै पाउदैन र सपनाको रँगमञ्चमा आफूलाई दर्शक बनाएर हेर्न पुग्छ्। रँगमञ्चमा कलाकारहरु कथासगै अगाडि बढेका हुन्छन् र अन्तिममा बुध्द निदाएको दृष्य सगै रँगमञ्चको पर्दा बन्द हुन्छ। पर्दा बन्द हुदा नहुदै आँखाहरु खुल्छन फेरि उहि कथा !! उहि परिदृष्य !! उहि घटनाक्रम। सायद हामिले रोजेको र अन्त गर्न नचाहेको कथा हो यो।

तस्बिर श्रोत:www.flickr.com

»»  पुरै पढ्नुहोस

Monday, May 18, 2009

श्रीमती लुना र उनको लोग्ने पाउल

नयाँ ठाउँको परिबेश हरेक पक्षले सोचनिय हुन्छ। संसारको हरेकमुलुकसँग आफ्नै खालको चलन र संस्कार हुन्छ। त्यही संस्कारले मनिसलाई हरेक कुरामा अव्यस्त गराउदो रहेछ। त्यसैले होला हरेक समाज आफ्नै संस्कारले पोशित हुन्छ र आफ्नो संस्कारलाई प्राण भन्दा पनि ठूलो मान्ने कारण। मानिसको जन्म भएदेखि उसको संस्कार सुरु हुन्छ र आफुले जान्ने नहुँदा परिवारले र आफु जान्ने भए पछी आँफैले आफ्नो संस्कारलाई मान्दै अगाडि बढ्छ।
म अमेरिकाको भर्जिनिया स्टेटको फल्स चर्चको एउटा सानो बस्तीमा आफुलाई नौलो ठाउँको पारीबेशमा अव्यस्त गराउदै थिए। अमेरिका जानु अगाडि मेरो थुप्रै जिज्ञासाहरुको उतर बाँकी थियो। आफुलाई नौलो सामाजिक पारीबेशमा ढाल्न कत्तीको सक्छु, म त्यसको प्रयोगमै थिए। म जुन घरमा बस्थे त्यसैको छेउमा अर्को घर थियो। मेरो नयाँ ठाउँको, नयाँ समाजको बिल्कुल नयाँ छिमेकी। गएको पर्सी पल्ट मात्र मलाई थाह भयोकी त्यो घरमा पनि कोही बस्दो रहेछ। नत्र प्राय सुन्सान सडक,शान्त र बिना होहल्लाको बस्ती त्यो, रातको बेला झ्याउकिरीको आवाजले कता कता म अमेरिकामा हैन, नेपालको चारकोशे झाडीमा हराएको त छैन जस्तो हुन्थ्यो। केही समय निकै अत्यास लाग्यो मलाई त्यो बिना हल्लाको, बिना कोलाहलको बस्ती। शायद बिना हल्ला र बिना कोलाहाल मेरो संस्कार थिएन, निकै गाह्रो होला जस्तो भयो मलाई केही समय। तर नयाँ परेबेशमा आफुलाई ढाल्नै पर्ने थियो र केही समयमा त्यो नयाँ बातावरणपनि मेरो बानी पर्ला भनेर चित्त बुझाउनु बाहेक मेरो लागि कुनै उपाए सुझाएको थिइन।
म मेरी श्रीमती र छोरी घरमै बसेर दिनभरी जस्तो कोठाहरु मिलाउदैमा फुर्सद थिएन। न त कुनै छिमेकिसँग परिचयनै भएको थियो। के गर्नु, घरमै बसेर नयाँ नयाँ कुराहरुको बारेमा परिवारसँग छलफल गरेरै गयो २, ३ दिन त। कुनै नौलो मानिस घरको बहिरबाट हिंडेको देख्दा,हामी झ्यालबाट उस्लाई हेरेर बसिन्थ्यो।
हामी घरको काममा त्यो दिनपनि बिहानै लागेका थियौ, हाम्रो घरको ढोकाको बेल बज्यो। म त कल्लिङ बेलको आवाजले एक पटक अलमल्ल परे, के गरुम के गरुम जस्तो भयो। हामी तीन जनानै ढोका खोल्न गयौ। करण हामीलाई कस्ले चिन्छ र यहाँ? अनी को हुन सक्छ? यस्तै सोचेको थिए मैले। फेरी नयाँ मानिससँग बोल्न र उसको बारेमा जान्न हामीलाई निन्तान्तै नौलो थियो। मैले ढोका खोले।
"I think you guys are new here " एक जना बुढी, लगभग ८० बर्षकी सफा र हसिली आईमाई हामीलाई सोध्दै थिएन। मैले हो भने। उनीलाई भित्र आउन भने तर आउन मानिनन् । तिनीले आफू पल्लो घरमा बस्ने कुरा बताइन। हामीलाई खुशी लाग्यो तपाईंसँग भेट भएर भने मैले। धरै बेर कुरा गरिन त्यी बुदी आमाले। कुरै कुरामा थाह भयो, उनी लुना रहेछिन र उनी आफ्नो लोग्ने पाउलसंग पल्लो घरमा बस्दिरहेछिन। पाउल अमेरिकन कम्पनीका अबकाश प्राप्त कल्र्क रहेछन। श्रीमती लुना ८२ बर्ष र उनको पाउल उनी भन्दा ८ बर्ष जेठो रहेछन्। कुरै कुरामा थाह भयो उनी दमको रोगी र पाउल मुटुको रोगी रहेछन। पाउलको मुटुमा pacemaker राखेको पनि १४ बर्ष भएछ र हिजो आज उनी बाथको रोगले ग्रस्त रहेछन्। यही बिचमा मैले उनलाई धेरै पटक भित्र आउन आग्रह गरे तर उनले मानिनन् । उनले हामी नयाँ भएकोले, आफ्नो घरमा आउन र उनी सँग बोल्न कुनै आपत्ती नहुने र यसो गरेमा उनी र उनको लोग्ने पाउल समेत खुशी हुने कुरा बाताइन र बिदा भईन।
त्यो समय यता हामी काममा व्यथ रहयौ। छोरीको स्कूल, मेरो र श्रीमतीको जागिर निकै कुदाकुद भयो। हामी काममा जादा र कामबाट फर्किदा श्रीमती लुना र पाउलसँग उसको घर अगाडि भेट हुन्थ्यो र हामी उनीहरुसँग झ्याम्मिएका थियौ। मेरो छोरीलाई उनीहरु एकदमै माया गर्थे र छोरीपनि उनीहरुसँग खुब रमाउथिन। हरेक पटक भेटहुँदा छोरीलाई चक्लेट वा केही कुरा दिने भएर पनि होला, मेरो छोरी अनेक बहानामा उनको घरमा जान हुरुक्कै गर्थी। यही बिचमा हामीले त्यी जोडीलाई खाना खान बोलायौ र हामीपनि उनीहरुकोमा गयौ। राम्रो सम्बन्ध भयो उनको र हाम्रो परिवारको बिचमा। श्रीमती लुना अली बढी बोल्ने र बढी फरासिली लाग्थ्यो मलाई किनकी पाउल त्यती बढी नबोल्ने र धेरै जस्तो आफ्नो दुखेको धोडा थिचेर बस्ने गर्थे। जे होस उनीहरु यो समय काट्नलाई अनेकन उपाए गर्थे, बुढा बुढी बाहिर बसेर खुब गन्थन गरीरहेका हुन्थे।
एकदिन म बेलुका चाडै घर आएर घर अगाडिको लामो भएको घाँस काट्ने तर्खरमा थिए, श्रीमती लुना र पाउलको गाडी आयो। उनको घरको पार्ककिङमा गाडी रोकेर दुबै जना गाडीबाट ओर्लिए। श्रीमती लुना र पाउलको अनुहारमा नजानिदो मुस्कान थियो त्यो दिन। मलाई जिज्ञाशा लाग्यो त्यो खुशीको बारेमा बुझ्न तर सोध्न सकिन। श्रीमती लुना मेरो नजिकै आईन र भनिन्:
"You know!! we have good news today!!" मैले सुन्नमन लगेको कुरा बाताए।
"Today we bought cemetery land for us, it expansive but very nice" म त एकछिन अकमक्क परे। महंगो तर राम्रो चिहान किनेको कुरा? कता मैले श्रीमती लुनाको ईंग्लिश त बुझिन? आँफैलाई प्रश्न गरे। श्रीमती लुना भन्दै थिईन, उनीहरुलाई जिबन भरी सगै दु:ख सुख बाडेर, हासेर बिताएको समय, मरे पछी छुट्टीनु पर्ने पो होकी भने ठुलो पिर रहेछ। आजै उनीहरु आफु मरे पछी आफ्नो स्थान पक्का गरेर आफुलाई राख्ने चिहानको [cemetery (from Greek κοιμητήριον: sleeping place)]लागि जग्गा किनेर आएका रहेछन। श्रीमती लुना भन्दै थीइन अब भोली उनीहरु मरेपछी लगाउने नयाँ कपडा किन्न जाने रे। म केही पनि बोल्न सकिन। बिगत कयौ दिनबाट यि जोडी केही कुरामा हतार भए जस्तो, अझै केही गर्न बाँकी भए जस्तो लग्थ्यो। म चुपचाप उनको कुरालाई सुन्दै गए, हो मा हो मात्र मिलाउदै गए। श्रीमती लुनाको कुरा सुन्दै पाउल गाडीको ढोकामा बसेर मन्द मुस्कानको साथ टाउको हल्लाउदै थिए। मैले यो भन्दा अगाडि पाउलको अनुहारमा यस्तो मुस्कान कहिल्यैपनि देखेको थिएन।
मैले त्यो बेलुका खानापनि खान सकिन, धेरै बेर श्रीमती लुना र पाउलको अनुहार मेरो अगाडि आयो, उनीहरुको अनुहारको मुस्कानले कता कता मलाई पिडा भयो। कस्तो सहजसँग मृत्‍युलाई लिएका छन् यिनीहरु, कस्तो मृत्‍युको पूर्व तयारी। सायद संस्कार। सहज जिबन र सहज मृत्‍युको कारण हुनसन्छ यिनीहरु मृत्‍युको यो तयारीमा अव्यस्त । बेलुका मेरी श्रीमतीलाई यो कुरा भने , निकै बेर उनी पनि केही बोल्न सकिनन्। हामी चुपचाप सोच्दै थियौ मृत्‍युलाई स्वीकार गर्न कती गाह्रो काम हो तर श्रीमती लुना र पाउल............छोरी भोली आइतबार श्रीमती लुनाकोमा जान्छु है भन्दै थीईन ...............
»»  पुरै पढ्नुहोस

Thursday, April 2, 2009

यो स्वर्ग वा त्यो स्वर्ग

जापान बसाइको बेलामेरो आफ्नै अनुभवहरु रहेका छन। नेपाल रहदा जापान भनेपछी के के नै लग्थ्यो। जती सुकै बिकशित होस् , जती सुकै सम्पन्न होस पल्लो घरको ठुले, मेरो घरमा एक मानो गतिलो पाक्न आफ्नै घर सम्पन्न हुनु पर्छ वा म आँफै सम्पन्न हुनु पर्छ। तस्तै लाग्छ आजकल मेरो देश सम्झँदा । मेरै देश सम्पन्न भए , यसैलाई राम्रो बनाउन पाए,सधै अर्काको घरमा कान्छा भएर बस्ने नै थिइन। मन वास्तवमा खुशी छैन बेदेशमा बस्दा। खैर यसको बारेमामा पछी लेखुला।
आज प्रसँग अर्कै छ है फेरी। प्रसँग हो जापानी हानामिको। जापान संसारको कती नम्बरमा पर्छ थाहा छैन तर स्वर्ग मध्यको चाँही हो जस्तो भान हुन्छ यो समयमा ।
जापानमा रहदाको समय बर्ष भरी कामनै काम। लगातारको काम र आतिनै परिबर्तित हावापनी जापानको गुणनै हो। भर्खरै घाम छ , भर्खरै पानी , भर्खरै चिसो हावा। गर्मीको बेलामा त कुरै नगरुम। गर्मीमात्रै होर ? फेरी आद्रताले पो बेजोग बनाउने त। तर यो समय, मार्चबाट लगभग अप्रिलको बिच सम्म जापान वास्तवमै स्वर्गको भान हुन्छ, बिशेष रुपमा चेरीको फूलले गर्दा । यो फूलको रुखमुनी बसेर हानामी मनाउने चलनले त बर्षभरिको लगातर कामको थाकानलाई पल भरी मै बिर्साउछ। जापानमा बिभिन्न ४०० जातीका चेरीका प्रकार भएको बाताइएको भए पनि {somei-yoshino (Yedoensis} नामको साकुरा बिशेष प्रखयात छ । यो समयमा यहाँका मानिस आफ्नो कामबाट समय निकालेर , यही साकुराको रुखमुनी भोज (हानामी) खान्छन। पहारिलो घाममा दिन भरी जसो मस्त रमाइलो गर्नमा रमछन। यही समयमा म पनिके को कम , म पनि आजै लागे यो फूलहरुको माजमा हानामी मनाउन। त्यही बेलामा मैले लिएको फोटोहरु तपाईंहरु लाई देखाउछु है त। (हनामीको बारेमा अझ बढी यहाँ पनि छ है www.carbontube.bolgspot.com हेर्नुहोला) बर्ष भरी न कुनै पात न कुनै सुन्दरता हुन्छ यो रुखमा । बर्षको मुस्किलले ७ दिन फूल फूल्छ अनी फेरी केही समय पात रहे पछी फेरी बर्ष भरी नांगै।
जती भने पनि सधैं हरियो र सुन्दर रहने मेरो देश सँग कुनै तुलनानै छैन। मैले मात्रा भनेको हैन, स्यम नेपाल गएर आएका जापानीबाट पनि सुनेको छु मैले। हामीलाई भने कुनै रितु वा समय कुर्नु पर्दैन है न त ? वा मेरो देश । मेरो देश कती सुन्दर छ भन्ने कुरा बाहेर आए पछी थाह भयो। नेपाल फर्केए पछी, जहाजबाट झर्ने बित्तिकै माटोमा पल्टिएर, बेस्करी रुनमा लगेको छ र जहाँ बेस्करी रुदा पनि आनन्द आउछ। शायद आमाको काख भएर होकी है ? । जसले जे भने पनि .....मेरो देश नै पहिलो स्वर्ग हो ।

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला