आज भन्दा १५० बर्ष पहिले जातीय राज्य बनाउन सम्भावना थियो तर त्यसो गरिएन। यदी त्यस बेला जातीय राज्य बनाएको भए, जातीय राज्यबाट वाक्क भएर अहिलेको आन्दोलन जातीय राज्य विरुद्ध छेडिने थियो होला। किनकी हामी हाम्रा सामाजिक सार, एकता र संरचनालाई भत्काउनु नै आन्दोलन वा क्रान्ति भनिरहेका छौ। भइरहेको र चलिरहेको संरचना भत्काएर समाजमा परिवर्तन हुँदैन। समाजको संरचना भत्काउन सजिलो छ तर बनाउन एउटा युग कुर्नु पर्छ। सामाजिक संरचना भत्काएर नयाँ बनाउने नाममा हामीले धेरै युद्धहरू, विवादहरू र आन्दोलनहरू बेहोर्दै आयौं । त्यी युद्धहरू, विवादहरू र आन्दोलनहरू आबस्यक थियो वा थिएन त्यो छुट्टै बहसको विषय बन्ला कुनै बेला तर त्यो बीचमा हामी भित्र निहित सामाजिक चेतनामा ठूलो र अनौठो परिवर्तन भने आएको छ। यो दौरान र समयहरूमा, यीनै कामसँगै त्यसले निम्ताउन सक्ने सामाजिक खलबल र बिरक्ताको बारेमा कहिलै बहस र छलफल भएन। त्यसैले आज हामी एउटा निन्तान्त अराजक स्थितिमा आएर उभिएका छौ।
यति खेर हामी हाम्रो गरिबीसँग जुटेर लड्नु पर्थ्यो। हाम्रो खेत र फाँटहरूमा कुलो र कुलेसो बनाउने श्रमका लागी जुट्नु पर्थ्यो। हामी राज्य संरचनाको आन्दोलन गरिरहेका छौ। देशलाई विभिन्न भागमा विभाजनको राजनीतिमा अल्झिएका छौ। कुनै पनि देशको विकासको लागि प्रशासनिक ईकाईहरुको खाँचो पर्दछ। पहिले विकास क्षेत्र, अञ्चल, जिल्ला र गाविसहरू थिए, अहिले प्रदेश, क्षेत्र र अन्य केही बनाउने तयारीमा छौं। त्यो नबनाइ पनि हुँदैन त्यसैले संधियता नबनीकन छोड्दैन र बन्न पनि पर्छ तर हामीले एकता बनाउने नाममा मान्छे र मन विभाजन गरेर पक्कै हुदैन। अनेकौँ सिमानाहरू बनाउ, हिँड्न, व्यवहार गर्न, राज गर्न, कानुनी व्यवस्था कायम गर्न कसरी सजिलो हुन्छ त्यसैगरी प्रशासनिक ईकाईहरु (प्रान्तहरू) बनाउ त्यसले देशलाई राम्रै हुन्छ केही फरक पर्दैन। तर मन र समाज बाँड्ने प्रयास नगर। हामी विदेशमा छौं तर हाम्रो मन नेपालमै छ, हामीलाई भूगोलले छेकेको छैन नेपाली हुन। विदेशमा हुँदा कहिलै बाहुन, क्षेत्री, दमाई, कामी नहुने हामी देशमै किन यसरी विभाजित भइरहेका छौं? पसलहरूमा नेपाली बोलेको मान्छे देख्यो भने मेरी ८ बर्षकी छोरीले तपाई नेपाली हो भनेर सोध्छे न कि कामी दमाई, बाहुन वा मगर भनेर। हिजो बाहुन क्षेत्रीले वा हुने खानेले राज्य गरे अब हाम्रो पालो भनेर पालो पर्खिएर देश चल्दैन। आजका बाहुन क्षेत्रीहरू कालान्तरमा फेरि जनजातिमा परिवर्तन भएर अर्को संरचनाको मागको लागि आन्दोलन गर्ने नपरोस्।
त्यो जमाना थियो जहाँ मान्छे शिक्षित थिएनन्।, चेतनाको तह ज्यादै न्यून थियो। देश-विदेश मान्छेले बुझेका थिएनन्। त्यसैले सयौं बर्ष हामी जातीय आधारमा, घर्मको आधारमा थिचो मिचो सहेर, लादेर बाच्न अभ्यस्त भयौ। तर हामीले चलाएका अनेकौँ आन्दोलनहरूले र बर्तमनमा भइरहेको खुल्ला विश्व चेतनाको प्रभावले गर्दा हामी बुझ्ने भएका छौ। हामीले अहिले राम्रो के हो र नराम्रो के हो भनेर ठम्याउन सक्ने चेतना पाएका छौ तर जान्ने भए, बुझ्ने भए भनेर फेरि एकले अर्कालाई थिचोमिचोको राजनीति गर्न हुँदैन। सबै मिलेर बस्नु पर्छ र सबैले मिलेर हाम्रो चेतना, सामाजिक संरचना र देशमा परिवर्तनको अनुभूति बाँड्नु पदर्छ।
हामी सपना बाँड्ने चटकेहरुको चटक हेरिरहेका छौं र त्यसैमा मख्ख छौ। चटकेको इसारामा बाँदरले हात हल्लाएको, बाँदरले सुतेको र नाचेको सामान्य नाटक हेर्दै यीनै चटकेहरुको विश्वास गर्यौ र यो भन्दा ठूलो जादुगर, चटके र मनोरञ्जन दिने माध्यम अरू केही र कोही छैन भनेर बस्यौ। हामी आज पनि यीनै चटकेहरुको भूलभूलैयामा रमाइरहेका र यीनैलाई पच्छाइरहेका छौं।
हाम्रा नेताहरू बा प्रतिनिधिहरू हाम्रै समाज सापेक्ष हुन्छन्। हाम्रो समाजको माग, त्यसको इच्छा, संवेदनशीलता, बिचार र परिवेशमा प्रहार नगर्ने मान्छे नेता हुदैन। आम समाजका संरचनाहरूमा दख्खल राखेर, त्यसको संरचना भन्दा माथि उठेर, हामीलाई र त्यही संरचनामा नै प्रहार गर्ने सक्ने मान्छेहरूलाई हामी नेता भन्छौ। नजानेर पनि जानेको नाटक गर्ने चटके भन्दा फरक हैनन् यी नेताहरु। हाम्रै समाजले, हामीले र हाम्रै बीचमा एउटा पेसाको लागि उभिएको मान्छे, जमात वा पक्ष भन्दा केही हैनन् उनीहरू। हामीलाई यो सबै थाह छ तर पनि हामी यीनै चटकेको भूलभूलैयामा मस्त छौं। उसैको इसारामा समाज बिगार्न, बिथोल्न र फुट गराएर र भुटेर उसैको बाटो सहज बनाइरहेका छौं।
दश रुपैयाँ देउ म तिमीलाई आशीर्वाद दिन्छु। म तिमीलाई एउटा पत्थर दिने छु, त्यसको प्रभावले तिम्रो कल्याण हुन्छ अनि तिमी आजको एक महिना भित्र करोडौँको मालिक बन्छौ र तिमीलाई राम्री श्रीमती वा लोग्ने मिल्ने छ, तिम्रो विदेश यात्रा हुने छ भनेर घर घरमा आउने जोगी साधुहरूको कुरामा मन्त्रमुग्ध भएर उसैको कुरा सुनेर खुरुक्ककै पैसा दिन्छौ। हामीले भुलेका छौ, यो सबै दिने क्षमता भएको भए र एकै महिनामा करोडपति, राम्री श्रीमतीको पति, भूपति हुने भए महाशय आफै सबैका पति हुने थिए। किन जोगी भएर हिँड्नु पर्थ्यो । तर पनि हामीले गुरु मानेकै छौं, पुजेकै छौं उनीहरूलाई। यसरी राम्रा सपना बाँड्ने नेताहरू हामीमा मात्रै हैन, स्वास्थ्य बिमाको नाममा अमेरिकाले बाँडिएको सपना, जापानी प्रधान मन्त्रीले अमेरिकी सेनालाई जापानबाट हटाउँछु बा अन्तै सार्छु भन्ने सपना, सामाजिक संरचनामा यस्तै आमूल परिवर्तनको लागि लडेर गरिबी हटाउँछु भनेर क्युवामा बाँडिएको सपना, कोरिया प्राय-दिपमा दशकौ देखि बाँडिएको सपना नेताहरुको एउटा पेसा पर्यन्त मात्र हुन्। नेताहरूको पेसा हो सपना बाँड्ने, फुट गरेर आफूले राज गर्ने। असल नेताले चमत्कारीक तवरले विकास गर्ने हैन। असल नेताले मात्र बाटो र योजना दिने हो। हामी किन बुझिरहेका छैनौ हाम्रो समाज हामीले परिवर्तन गर्ने हो। हाम्रो घरबाट सुरु गर्ने हो परिवर्तन। हामीले हाम्रो शान्तिको लागि तयार रेडिमेट बुद्ध खोजेर हिँडिरहेका छौं। बुद्ध आफैले, तिमी आफै बुद्ध बन्ने प्रयास गर अन्त बुद्ध खोजेर नहिँड भनेको कुरालाई कसैले सम्झिएकै छैन। हामी अल्छी भएर सबै अरुलेनै वा रेडिमेट बुद्धले हामीलाई तथास्तु भनिदियोस भन्ने सोचेर बसेका छौं। यहाँ त बुद्ध आफै आफ्नो प्रचारमा हिँडेका छन्, उनलाई मानिदिउन् भनेर गाउँ गाउँ डुलिरहेका छन्। आफ्नै कल्याण र आफ्नै उन्नति खोजेर भौँतारिए हिँडिरहेका बुद्धको पछि लागेर हामी आफूमा निहित बुद्धत्वलाई किन बुझिरहेका छैनौ।
हामीले परिवर्तनलाई अनेकौँ रूपमा हेरेका छौं, प्रयोग गरेका छौं। राजनैतिक रूपमा हामीले २००७ साल देखि अहिले सम्ममा निकै प्रयास गरेका छौ। राजनीतिलाई आफ्नो सापेक्ष व्याख्या गर्ने र सपना बाँड्ने नेताहरूको पछि उनले तथास्तु गरिदेलान् भनेर बाचिरहेका छौ नि त। हामी परिवर्तन भयौँ भने, हाम्रो समाज राम्रो र सुन्दर भयो भने यी नेताहरूले सपना बाँड्न छोड्ने छन् किन कि जब जनताहरू सपनामा विश्वास गर्दैनन् तव नेताहरूले पनि सपना बाँड्न छाड्ने छन्। राजनीतिलाई हेर्ने हो भने उत्तर कोरिया र चीन स्बतन्त्र देश हुन् कि हैनन्? स्वन्त्रताको नाममा त्यहाँ पार्टीहरू खोल्न पाइन्छ कि पाइँदैन? देशको राज्यको विरुद्धमा बोल्न पाइन्छ कि पाइँदैन? उत्तर कोरिया राजतन्त्र भएको देश हो की हैन? त्रिभुवन पछि महेन्द्र र उनी पछि विरेन्द्रकै शैली, किम् परिवारले सत्ता बाँडेर भोग गरेको छ कि छैन? नेताको महत्काक्षाले र आफू राज्यको केन्द्रमा रहन त्यहाँ पनि त नेताहरूले अनेकौँ सपना र भ्रम बाडेका छन्। अमेरिका प्रजातान्त्रिक देश, के यहाँ सबै स्वर्ग जस्तो छ र? सबै भन्दा बढी बिकसित भनिएको यहा पनि नेताहरूले सपना बाडेका छैनन् र? इराकमा जैविक र आणविक हतियार छ भन्ने भ्रममा कति मान्छेको ज्यान गयो? यहाँ १ करोड भन्दा पनि बढी मान्छेहरू जेलमा छन्। विभाजनको खेल गान्धीले भारतमा गरेकी गरेनन् ? राम राज्य कहाँ छ र? जातीय आधारमा आफ्ना कुरा माग्दा र त्यसका लागि लड्दा, इराक, अफगानिस्तान, पाकिस्तान, सुडान जस्ता देशहरूमा करोडौँ मान्छेहरू मरेको यथार्थ किन बिर्सिरहेका छौं हामी ? सबैको पहिचान र अधिकार अनिवार्य छ। सबैले आफ्नो संकार र परम्परालाई लिएर बाच्न र चल्न पाउनु पर्छ। त्यसैले कसैले पहिचान माग्दैमा डराइहाल्ने र पहाडै खस्ने जस्तो डर मान्नु पर्ने स्थिति पनि त छैन। तर पहिचानकै भरमा अरू कसैको पहिचानलाई सम्मान गर्न नसक्नु पनि त गलत हो नि।
एकातिर यथास्थिति मनसायले एउटा अराजक रूप लिने लक्षण देखा परिरहेको छ भने अर्को तिर बाँडिएर फुटेर र टुक्राएर राज गर्ने भ्रममा, एक भएको देशलाई फेरि दुई सय बर्ष पुरानै शैलीमा लैजाने तयारीमा जुटिरहेका छौं। आज पनि विभिन्न जाती, धर्म र समुदाय बीच मिलेर बस्ने वातावरण बनाउनु जरुरी छ। हामीले मिलेर नै राज गर्न जरुरी छ। यहाँ त जबरजस्ती अल्पमतले बहुमतलाई पेलेर राज्य गर्ने मनसायले कुरा बिग्रिएको छ। अहिले सम्म बहुमतले अल्पमतलाई पेलेर काम बिग्रिएको नै हो तर अहिले आफूले चाहेको नाम राख्दैमा अधिकार पाइन्छ भन्ने भ्रममा नपरे पनि हुन्छ किनिकी अन्त्यमा मिलेर समाज बनाउनको कुनै विकल्प छैन।
२०४६ सालमा प्रजातन्त्र आए यता हामीले पनि हाम्रो गाउँ ठाउँको चोक, टोल र बाटोहरूको नाम नेता, शहीद र जातिको आधारमा राख्दै आएका छौं, त्यसले केही फरक पर्दैन। देशको विकास र उन्नति गर्नु छ बने सबै मिलेर गर्नु पर्छ। अग्राधिकारको नाममा अझ यसरी बन्ने जातीय राज्यमा त्यही जातीको मात्रै प्रदेश प्रमुख बन्न पाउनु पर्ने जस्ता कुराहरूको माग त झन् लज्जास्पद छ।
आफूले गरेको आन्दोलन सत्य र अरूले गरेको आन्दोलन भ्रम पुर्ण र असत्य भन्ने पनि हुन्छ? आन्दोलन एक जनाले गरेर हुने कुरा हैन भन्ने बुझेर पनि सबैलाई र सबै आन्दोलनलाई सम्मान गर्न नजान्नू पनि त दुःख लाग्ने कुरा हो। त्यसैले नपुग्ने र पुरै हुन नसक्ने सपना बाँड्ने भँडुवाहरूको कुरा सुनेर हैन, अब हामी सबै मिलेर जाउँ। हामी आफैलाई नेता र नेताहरूले बाँड्ने गरेको सपनाहरूको पिछलग्गू बनाएर हैन, नेपाली भएर सोच्ने बानी बसालौ। अगुवाहरूलाई समाजले निर्देशित गर्ने बनाउन सकियो भने हाम्रो एकता बलियो हुने छ। यसको मतलब समाजमा नेता वा अगुवाहरू नचाहिने भन्ने हैन। वर्तमान विश्व परिपेक्षमा नेताहरू र अगुवाहरू नभईकन पनि समाज चल्दैन। यो मानव सभ्यताको सुरु देखिन चल्दै आएको सामाजिक संरचना हो। तर पनि असल नेता र असल अगुवाहरू चिन्ने, छान्ने काम हाम्रै हो।
हामीले हाम्रै शैलीमा देशमा परिवर्तन गर्न जरुरी छ न कि पर मुलुक को वाद वा सिद्धान्तका लागि मरेर। हरेक जातिले गर्ने काम र उसको सीपलाई व्यावसायिक गर्न सकियो भने त्यो उसको राम्रो पेसा हुने छ र उ त्यसैमा खुसी हुने पनि छ। कपडा सिउने दमाई दमाईलाई शहरमा सुट सिउने मौका दिइयो भने, उ त्यसमा जति खुसी र आत्मसन्तुष्ट अरू कुनै कुरामा हुदैन। पहाडी ढिस्कोबाट मोटो बोकेर ल्याएर तामाको थाली र गाग्रो बनाउन सक्ने कामी दाईलाई रसायन शास्त्रको मेटोलोर्जीको परंपरागत ज्ञान छ। कुनै पनि धातु उधोगमा उ जस्तो व्यावसायिक रसायनशास्त्री अरू कुनै नहोला। जापानको चामलको रक्सी (साक्य) विश्व प्रख्यात छ। हाम्री गुरुङ्सेनी भाउजूले गन्धकै भरमा बनिरहेको रक्सी कति शुद्ध छ त्यसै थाह पाउँछिन्। उनले जानेको सीप डिस्टिलरी उघोगमा कम मूल्यवान् छैन। विदेशमा आफ्नो आँगनको घाँस काट्न अरूलाई पैसा दिएर गर्न हुन्छ भने, खेत जोत् दिने, घाँस काटी दिने र भारी बोकी दिने कम्पनी खोलेर गाउँ गाउँमा मजदुरहरूलाई व्यावसायिक बनाउन सकिन्न र? अरूको घरमा मानोको भरमा हली भएर काम गर्ने शैली परिवर्तन गर्नु छ र जानेको ज्ञानलाई सीप र कामको ब्यवसायिकतामा परिवर्तन गर्नु छ। छालामा कति नुन राख्यो भने ठीक हुन्छ र कुन छालाको कति मूल्य छ मलाई भन्दा मेरो गाउँको सार्की दाजुलाई थाह छ। छाला उधोग र त्यससँग सम्बन्धित व्यवसायमा उनी जत्तिको जान्ने र बुझ्ने अरू हुने छैन। विदेशी भूमिमा फोहर फाल्ने उधोग राम्रोसँग फस्टाएको छ। घर घरका सेप्टी टैकीहरु सफा गर्ने ठूला ठूला विदेशी उधोगहरुमा हाम्रा कत्ती बाहुनका छोराहरू काम गरिरहेका छन्। हामीले हाम्रै परम्परागत रूपमा काम गर्दै आएका च्यामे पोडे जातीहरू त्यो काम गर्न सिपालु छन् भने उनीहरूलाई उक्त काममा व्यावसायिकता दिलाउन किन प्रयास नगर्ने? ठूला र पैसावालले गरे भने व्यवसाय हुने, कम्पनी हुने तर गरिबले गर्यो भने सानो जातीको च्यामे पोडे हुने भन्ने सोच, बिचारको गरिबीपनि भन्दा केही हैन। शारीरिक तन्दुरुस्त रहेका युवाहरू स्वदेशी तथा विदेशी भूमिमा सेनमा काम गरिरहेका छन्, के बिग्रिएको छ त्यसले? काम गैरेकै छन्, आफ्नो परिवार र देशलाई कम फाइदा गराएका छन् र? विदेशी भूमिमा र स्वदेशी भूमिमा काम गरिरहेका वैज्ञानिकहरूलाई अनुसन्धानको वातावरण बनाएर स्वदेश फिर्ता गर्न सक्नु नै वास्तविक राज्य पुनर्सरचना हैन र? तह, जात र यसले निम्ताउने सबै खाले विकृतिहरू अशिक्षाले गर्दा भइरहेका छन्। मेरा कहयौ साथीहरू कुन जातका र घर्मका हुन मलाइ हेक्का नै हुँदैन। हामी जानेका बुझेका भनि टोपलेकाहरुले समाजमा परिवर्तनको लागि १० जनालाई साक्षर बनाउन सक्यौ भने पनि जीवन धन्य हुने थियो र समाज परिवर्तन हुने थियो।
हाम्रो समाज सबै जाति धर्म र संकृतीले गर्दा नै पुर्ण समाज बनेर बसेको छ। एकले अर्काको पेसा जानेको छ र बुझेको छ। यिनीहरुले जानेको ज्ञान र सीपलाई व्यावसायिकता र सामाजिक उन्नतिमा प्रयोग गर्न बाकी छ। हाम्रो जस्तो सामाजिक संरचना अमेरिका, युरोप कतै छैन। हाम्रो जस्तो सामाजिक संरचनामा आई पुग्न यिनीहरुले सयौं बर्ष बिताउँदा पनि अझै आउन सकेका छैनन् अनि बन्दुक र कानुनकै भरमा जबरजस्ती संरचनाहरू बनाउने क्रममा लागि परेका छन्। हामीले हाम्रै स्रोत र साधनको उपयोग गरेर यहीको सामाजिक संरचनालाई ब्यवसायिकतामा ढालेर निकै ठूलो क्रान्ति गर्न सक्छौ। त्यसको लागि हामी मिलेर, एकले अर्कालाई सम्मान गरेर र इमानदारीका साथ चल्नु पदर्छ। यसको लागि एउटा ब्यवसायिक क्रान्तिको खाँचो छ र त्यो नै सर्वमान्य र हाम्रो हितमा हुने छ। हाम्रो देश सानो छ तर हाम्रो स्रोत र साधन संसारमै सबै भन्दा बढी छ। देशको भूगोलले देशबासीलाई सानो बनाउने हैन। देशबासीको साहस, इमान्दारिता र देश बासीको जीवन शैलीले देश ठूलो हुने हो। बुद्ध जन्मेर मात्र शान्ति र सगरमाथा हुँदैमा हामी ठूला हुँदैनौ भन्ने कुरा हामीले अब बुझ्न जरुरी छ।
सबै सुखी हुन्, सबै रोग मुक्त हुन्, सबै सुखद र मङ्गलमय घटनाको साक्षी बन्न सकौं, कसैलाई पनि दुःखको भागी बन्न नपरोस् अर्थात्
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत।
ऊँ शांतिः शांतिः शांतिः..
यही नै मङ्गलमय शुभकामना...................सबैलाई चेतना भया
१. हाम्रो समाजको माग, त्यसको इच्छा, संवेदनशीलता, बिचार र परिवेशमा प्रहार नगर्ने मान्छे नेता हुदैन
२. आम समाजका संरचनाहरूमा दख्खल राखेर, त्यसको संरचना भन्दा माथि उठेर, हामीलाई र त्यही संरचनामा नै प्रहार गर्ने सक्ने मान्छेहरूलाई हामी नेता भन्छौ
३. आफ्नै कल्याण र आफ्नै उन्नति खोजेर भौँतारिए हिँडिरहेका बुद्धको पछि लागेर हामी आफूमा निहित बुद्धत्वलाई किन बुझिरहेका छैनौ
४. अरूको घरमा मानोको भरमा हली भएर काम गर्ने शैली परिवर्तन गर्नु छ र जानेको ज्ञानलाई सीप र कामको ब्यवसायिकतामा परिवर्तन गर्नु छ
५. बुद्ध जन्मेर मात्र शान्ति र सगरमाथा हुँदैमा हामी ठूला हुँदैनौ भन्ने कुरा हामीले अब बुझ्न जरुरी छ.