यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, April 11, 2011

NO SHIRT, NO SHOES, NO SERVICE

आज केही तस्विरहरू राख्‍न मन लाग्यो। बाँकी सबै फोटोकै क्याप्सनबाट..

यो तस्विर साँझ सूर्य अस्त भई सकेर लिंकन शहर जाग्नै लागेको बेलाको हो। मेरो अफिसको झ्यालबाट( नवौ तला)लिएको तस्विरमा देखिएको सूर्यको भान दिने त्यो चम्किलो बिन्दु वास्तवमा अगाडिको झ्यालको सिसामा टल्किएको क्यामेराको फ्यास् मात्र हो।

 

IMG_0096

 

सुविधा दिन व्यस्त शहरका मान्छेहरू वा व्यापारीहरू कहिलेकाहीँ कुनै न कुनै कुराबाट दिक्क हुँदा हुन्। एउटा प्रेट्रोल पम्पको अगाडि ढोकामा यस्तो लेखिएको रहेछ। ( NO SHIRT, NO SHOES, NO SERVICE) मैले क्यामेराले फोटो खिच्दै थिए, भित्रबाट कोही कराउँदै आयो: “यहाँ फोटो खिच्न पाईदैन”। मैले वरिपरि हेरेँ तर त्यस्तो साइनबोर्ड मैले कतै देखिन। केही समय फोटो मेटाउ भनेर निकै झर्कियो साहूँजी। जे होस नियमित ग्राहक भएकै कारण फुत्किए... कत्ति साह्रो डर छ यहाँ मान्छेहरुलाई....

 

IMG_0334

 

प्रयोगशालामा जोख्‍ने र नाप्ने काम निकै हुन्छ। पल पलमा हरेक कुराको नाप तौल लिनु पर्ने कुरा साधारण नै हो। यो सानो बोतलको नाप लिदै थिए, राम्रो संयोग परेछ 4,5,6,7,8 को। सयौको सख्यामा प्याकेटमा आउने यो साइजको सानो बोतलको तौल प्राय ४ ग्राम हुन्छ तर बाकीँ पछाडिका कुनै पनि अंकहरु यसरी कुनै तवरले मिल्नु गजबकै संयोगै होला...

 

IMG_0338

 

आज भर्खर बजार गएर तिर घर फर्कदै थिए। हरियो बत्तीमा अगाडिबाट आइरहेको गाडीहरूलाई जान दिएर, देब्रे मोडिनु पर्ने थियो। मैले यो अगाडिको सूर्यको प्रकाशले गर्दा केही पनि देख्न सकिन। न रातो बत्ति देखिन्छ न त हरियो नै। अब अगाडि बढ्नु भनेको खतरा मोल्नु बाहेकको केही पनि ठानिन र गाडीको फ्यास्‍लाईट बालेर बसिरहेँ। त्यही बीचमा मोवाइलले एउटा फोटो लिईहालेँ। पहिले त पछाडिको गाडीले हर्न बजाउँदै थियो तर मेरो आपत्कालिन बत्ती पछि उसको हर्न पनि रोकियो। करिव १० मिनेट पछाडि प्रहरीको सहायताले बाटो पार लगाईयो। यो घटना मेरो लागी नौलो अनुभव हुन पुग्यो।

 

IMG_0353

 

गत केही महिना अगाडि नेपालमा थिए। काठ्मान्डौको आन्तरिक विमान स्थलमा, अनेकौँ सुविधा र सेवा दिने गफ गर्दै राम्रा राम्रा तस्विर सहितको साइनबोर्ड तल राखिएको नेपाल टेलिकमको टेलिफोनमा त तारनै रहेनछ। हाँसो पनि लाग्यो तर आउँदै गरेको पर्यटन वर्षलाई सम्झेर दिक्क पनि...

 IMG_0234

 

लौ है म आईपुगे भनेर खबर गरौ क्या हो भनेर फोन खोज्दै थिए, अन्तरराष्ट्रिय विमान स्थलमा चाहिँ त फोन नै रहेन छ। तर यो ठाउँबाट हटाएर अर्को भित्तामा चाहिँ फोन सेट राखेको रहेछ नेपाल टेलिकमले खुसी लाग्यो......

 

IMG_0231

 

म सँग अरू सुन्दर फोटोहरू पनि छन् है.. लौ हेर्नुस -३० डिग्रीको लामो जाडो पछि, न्यानो घाम पाउँदै गर्दा यो पनि मज्जाले हाँसेको छ।

 

IMG_0349 

मैले काम गर्ने कलेजको बगैचामा फुल्दै गरेको यो... न्यानो, घमाइलो शान्त र वातावरण भए, हामी पनि फुल्ने थियौ की हाम्रै माटोमा.... चेतना भया..

»»  पुरै पढ्नुहोस

Saturday, March 5, 2011

२०११: यो साललाई जीवनभर याद गर्ने छु

मैले बल्ग छोडेको हैन। समयले कहिले काहीँ निकै असहज बाटोबाट मान्छेलाई लैजादो रहेछ। सन २०१० को सुरुवातसँगै मेरो जीवनले निकै नयाँ मोड लियो। यसै साल डाक्टर डिग्री लिए, नयाँ जागिर पाएँ। म, मेरो परिवार र सबै साथी भाहरूले यसमा खुसी बाँड्यौ। बल्ग लेखन काममा मैले हात हालेको मेरो डाक्टर डिग्रीको दोस्रो वर्षबाट थियो। सही मानेमा पहिलो वर्ष र केही महिना बीचमै मैले विश्वविद्यालयले तोकेको प्राय सबै मापदण्डहरू सकेको थिए। चाहिने पब्लिकेसन, लिनु पर्न कक्षाहरु र सेमिनारहरू सबै यसै बीचमा सकिसकेकोले बाँकी समय मेरा लागि त्यस्तो हताश रहेन। समय निकाल्न सकेको थिए। बीच बीचमा निकै समय मनमा लागेको जे पायो त्यही लेखेर रमाउथें र यसै बीचमा नेपाली बल्गको दुनियाँका पारखीहरुसग भेट र चिनजान भयो। नयाँ संसार र त्यस बीच पाईने ज्ञानको त कुरै भएन। अझै पनि समय मलाएर पढिरहेको छु।

 

त्यस बीच म निकै लामो समय हराएको छु। वास्तवमा जीवन बाच्ने र कैरियरको पछि लाग्दा लाग्दै मान्छे हराउँदै जादो रहेछ। समय वास्तवमा ठूलो र भयानक घोलक पदार्थ ( Solvent) रहेछ। मान्छे समयसँगै घुल्दै जाने रहेछ। नुनलाई पानीमा धुलाउँदै गर्दा, अति-संतृप्‍त अवस्था पछि सुन्दर र सुद्ध मणिभहरू निस्कने कुरा हामीले विज्ञानको पुस्तकहरूबाट जानेकै हो। सायद यसैले समयसँगै घुल्दै जाँदा मान्छे पनि हराउँदै जादो रहेछ। कुन हद र तह सम्म आफूलाई हराउन सकिने हो र समयले कति हद सम्म घुलाउन सक्छ त्यसको नाप तौल केजीमा वा ग्राममा हुँदो रहेन छ। हरेकको परिवेश र समय अनुसार यसको समय तालिका र तौल तालिका फरक फरक हुँदो रहेछ। आफूलाई सुद्ध र निखारिएको मणिभको रूपमा समयसँगको यो घुलाईवाट आफूलाई निकाल्न सकिने हो वा हैन, थाह छैन तर पनि लागिरहनु बाहेकको कुनै विकल्प छैन। त्यसैले हामी सबै घुल्दै छौ.. फगत धमिलोपनको पर्खाइमा ।( धमिलोपन: मणिभहरू आउने संकेत)

 

तर सन २०११ मेरा लागि कतै शुभ र राम्रो रहेन। म यो साललाई जीवनभर याद गर्ने छु............

 

यसै बीचमा हाम्रा पिताजीको असामयिक निधनले हामीलाई निकै दुखी बनायो। जीवन दर्शनको अनेकौँ पाटाहरूमा म आफूलाई राखेर हेर्दा र मृत्यु चराचर जगतको अकाटय नियमको बोध हुँदा दुदै पनि केही समय मेरा लागि “समय” र “जगतै” रोकियो। चल्न बाध्य हामीहरू, चलाउनै पर्ने नियम मुताबिक फेरि नयाँ रूपमा नयाँ नाममा र नया सोचले अगाडि बढ्ने प्रयास गर्दै छौ। समय बलवान् छ भन्ने कुराको बोध हामी सबैमा छ। उहाँ सँग मैले अन्तिम अवस्थामा केही कुराहरू गर्न पाए। मैले जीवन दर्शनको अनेकौँ पाटाहरूलाई बुबाकै मुखबाट सुन्न पाएको थिए। मेरा लागि मेरा पिता एउटा पिता, गुरु र सबै भन्दा ठूलो साथी हुनुहुन्थ्यो। जीवनको अन्तिम समय सम्म उहाँले मलाई कहिलै कुनै पनि काममा रोक्नु भएन। हामीलाई छोड्नु भन्दा केही दिन अगाडि बुबासँग मैले फोनबाट कुरा गरेको थिए। उहाँले अन्तिम अबस्था सम्म पनि मेरो कैरियर र पेशामा इमानदार भएर काम गर्नु भन्ने उपदेश लिएको थिए। बुबाले यसो भन्दै गर्दा मलाई थाह थिएन कि उहाँको यीनै शब्दहरू मेरा लागि अन्तिम हुने छन्।

 

बिरामी भएर बिस्तरामा बसिरहेकै बेला मैले फोन गरे, बुबाले नै फोन उठाउनु भो। मैले भने बुबालाई गाह्रो भयो हो? उहाले भन्नु भो “ यो ईश्वरको लिला हो, दुई दिनको यो नाटकको म पनि बूढो पात्र हुँ, जो नाटकको सुरु देखि देखा परे, मेरो नाटकबाट बाहिरिने बेला भएको होला, तिमीहरूले पीर नगर्नू र आफ्नो काम र पेशा प्रति इमानदार भएर काम गर्नु। तिमी आएर, हुने टर्दैन, भई सके पछि तिमी आफैले बुझेका छौ”

 

मन भारी हुँदा हुँदै आफू र आफ्ना सबैलाई सँभाल्दै लैजानु पर्ने अर्को नियतिसँग म जुध्न बाध्य भए। अनि यसले थप हराउन सहयोग गर्यो र फेरि एक पटक टाढा जस्तो भयो। कामको, दामको र मामको चापसँगै मान्छे हराउने नै हो त? हामी मेसिन बनाइरहेका छौं आफै मेसिन बनेर। हामीलाई सुविधा होस भनेर बनाइरहेको मेसिनले हामीलाई नै मेसिन बनाएको पत्तो पाइरहेका छैनौ। तर पनि मणिभसँगै रहने पानी जस्तै समयले हामीलाई त्यस पछि पनि छोड्ने छैन र समय हामी सँगै रहने छ। जब हामी वास्तवमा समयसँग छुट्छौ, लाग्छ हामी मरिसकेको हुनेछौ.... समय बलवान् छ र मरिसके पछिको समय पुराणका कथाहरूमा बाहेक जीउदो  कसैले  भोगेको छैन। मणिभहरुसगै रहने पानी (water of crystallization), मणिभबाट छुट्छ तब मणिभले नयाँ आकार र रूप लिन्छ... समयले हामीलाई छोड्नुको अर्थ त्यसैले सहज र प्रस्ट छ....सबैलाई चेतना भया..

»»  पुरै पढ्नुहोस

Monday, November 8, 2010

तिहार आयो, मेरी दिदीलाई फेरि सम्झाएर गयो

आमाले सुनाउनु हुन्थ्यो सधैँ एउटा कुरा। जहिले पनि हामी बीच कुनै कुरा भो वा हाम्रो बीचमा कुनै कुरा भयो भने एउटै कुरा सुनाउनु हुन्थ्यो। सानोका कुरा के नै थाह हुन्छ र सबैलाई। अझै सबै भन्दा सानो बेलाका कुरा, जो हामीलाई याद नै हुदैन, त्यसता कुरा सुन्दा निकै रमाइलो हुन्छ। तर कहिलेकाहीँ चाही लाजै लाग्ने रमाइला किस्साहरूले चाहिँ च्वास्स पार्न चाहिँ छोड्दैनन्। मेरो आफ्नै कथा र रमाइला प्रशंगहरु जो म अझै पनि कुनै हद सम्म सबैलाई बाँड्न सक्दिन त्यसलाई bhai tika फेरि रमाइलो प्रशंगहरु मिलाएर भन्दा राम्रो होला।

सानो छदा, मेरी दिदी घर नजिकैको पीपलको रुखमा खेल्न जान्थिन् रे, आमाले भनेको। घरबाट निजिकै छ अझै पनि त्यो रुख, जो म कहिलेकाहीँ गाउँ गए भने देख्छु र नौलो अनुभव गर्छु, मेरो घरको नजिकैको मन्दिर न किन नहोस, त्यी सबै सँग मेरो दिदी र मेरा रमाइला प्रशंगहरु जोडिएका छन। यो सबैले मनमा नौलो अनुभव हुन्छ। म ३ वर्षले सानो थिए दिदी भन्दा र यो सानो उमेरको फरकले पनि मैले सानो हुदैकी मेरी दिदी र मेरो बीचका निकै रमाइलो र अनौठो घटना क्रमलाई सम्झन मद्दत गरिरहेको छ। म अझै सम्झन्छु तर कुरा त्यहाँबाट सुरु भएको हैन। आमाले सुनाउने रमाइला प्रशंगहरुबाटै जोड्दा निकै रमाइलो लाग्छ।

म जन्मिएको थिइन, सबैका भाईहरु भएका ले मेरी दिदीलाई पनि भाई भई दिए हुन्थ्यो भन्ने लाग्दो हो, बिहानै सधैँ पीपलको रुखमा गएर नमस्ते गर्ने, कुनै मन्दिर वा पूजामा गएका बेला बेस्करी हात जोडेर केही माग्ने मेरो दिदीको बानी। उहाँ जहाँ जानु भो, मन्दिर वा पूजामा आमाको हात समात्दै एउटै कुरा माग्नु हुन्थ्यो रे, “भाई” । जहिले पनि भाईनै माग्ने मेरी दिदीलाई त्यस बेला कुनै तिहारको सम्झना थियो होला न कुनै तीजका कुरा मनमा थिए तर पनि उहाले लगातार मेरो जन्मको लागी प्रथना गर्नु भयो। बच्चाहरू ईश्वर हुन्छन् र त्यसै भयो म मेरै दिदीको तपस्याले जन्मिए भनिरहँदा मलाइ कुनै नौलो वा अचम्म लाग्दैन। किनकी अझै पनि चिनेर जानेका मान्छेहरू यो कुरा सुनाउँछन्।

जहिले पनि दिदीले नै बोकेर हिँड्नु हुन्थ्यो रे। बोक्न सक्ने भए पछि, आमाको पछ्यौराले आफ्नो ढाडमा बोकेर गाउँ र पल्ला घरको पीढी सम्म खेल्न पुराउने मेरी दिदी सँगका यस्ता धेरै कुराहरू मलाइ याद छैन। पहिलो पटक दिदीको हात समातेर शिशु कक्षा पढ्न जादाका घटनाहरू निकै याद छन्। बाल मन्दिरमा दिदीहरू पढ्दा, म पनि दिदी सँगै हुन्थे। सबै कुरा छोडेर सबै भन्दा मेरो ख्याल गर्ने दिदी सँगका त्यस बेलाका निकै घटनाहरूले मनलाइ नै कस्तो कस्तो बनाएर ल्याउँछ। अहिले हामी हाम्रो बच्चाहरूलाई टाइम-आउट गरे जस्तै सानोमा मेरो आमाले हामीले निकै कुरामा सजाय र पुरस्कार दिनु हुन्थ्यो। कहिलेकाहीँ बेस्करी थप्पड पनि खान्थ्यौ। एउटा छोरा र छोरी, जसलाई आफ्नो जीवनको अन्तिम सहारा मान्नु पर्ने परिवेशमा आफ्ना बच्चाहरू बिग्रेलानकी भन्ने पीर सबै भन्दा बढी बाबु आमालाई हुनु स्वाभाविक नै हो। बदमासी गरियो भने कहिलेकाहीँ आमाले खाना दिनु हुन्थेन। केही समय, हामीले आज टाईम आउट गरेर। दिदीले भने आफूले नखाएर भए पनि केही न केही किनेर बा चोरेर खुस्स दिनु हुन्थ्यो। मेरो त्यस बेला पनि मनमा दिदीनै मेरो लागि सहारा र सबै भन्दा ज्ञानी लाग्थ्यो।

समय निकै परिबर्तन भयो, ठूलो हुँदै गर्दा, सँगै बसेर तीज मनाउन नपाएको बर्षौ भएको थियो तर यस पाली तीज सबै भन्दा रमाइलो भयो। हामी दुबै सँगै थियो तर फेरि तिहार पो हो त है ? भने जस्तै गरि गयो। एकै छिन नभई नहुने दिदी भाई, भेट भयो भने सबै भन्दा बढी झगडा हुन्छ अहिले पनि। कुनै न कुनै कुरामा मलाइ सानै देख्नु हुन्छ सायद। म पनि उनै हात समातेर, म भन्दा अलिक अग्ली त हो नि भने जस्तै गरेर व्यवहार गरेको हूँला, बिना कारण झगडा वा भनौ ठ्याक ठुक्क पर्छ छोड्दैन। तर मलाइ सबै भन्दा बढी माया गर्ने उनै मेरी दिदीलाई बेस्करी सम्झिएको छु। तिमीले भाईको आ.. त गुलियो हुन्छ भनेर भनेका त्यो सानोका घटनाहरू निकै सम्झिन्छु। म बिरामी हुँदा हप्तौ सगै बसेर मेरो दिशा पिसाब, घाउका पट्टीहरू समेत स्याहारेर बस्ने तिमीलाई मैले नसम्झेको हु र? फोनमा कुरा गर्दा पनि कता भक्कानो छुट्छ की जस्तो गरेर थाम्न नै गाह्रो भो। कुरा गर्न मन नलागेर हो र? कतै न कतै दिदीलाई सम्झेको पिडा फुत्कन्छ कि भन्ने पिरले बढी बोल्नै मन लागेन। बोल्दा पनि बाहिरी प्रशंग, मेरो नया जागिर र नया ठाउँकै बारेमा कुरा लगेर टारेँ.. तिमीलाई धेरै धेरै सम्झिएको छु। यो तिहारमा न सही भेट भएकै बेला सधै तिहार हुने गरि मनाउला। तिम्रो आशीर्वाद सधैँ म सँगै छ। म जहाँ छु, त्यो सबै तिम्रो आशीर्वाद र कृपाले हो। तिमी मेरो लागि आमा हौ, बाबु दिदी हौ, मेरो दाजु अनि भाई हौ साथि हौ र सबै भन्दा पनि ठूलो मेरो सहारा हौ। तिमीलाई मेरो धेरै धेरै सम्झना र माया छ। सधै सम्झिने नै छु... तर सही मानेमा मेरो आँखालाई भने आज पनि रोक्न सकिन। तिमीलाई पुज्न र सम्झन तिहार आउन पर्दैन तर पनि यो तिहार आयो, मेरी दिदीलाई फेरि सम्झाएर गयो, मैले मेरी दिदीलाई फेरि बेस्करी सम्झिए... सबैलाई चेतना भया

. . . TO MY SISTER . . .
I'm blessed to call you sister,
I also call you friend;
You've loved me unconditionally,
And stood through thick and thin.
You've shared my joys and sorrows,
My laughter and my tears.
You've been my inspiration,
As we grew up through the years.
When we were little children
We laughed and played together;
Then growing up you stood by me,
Through good and stormy weather.
There's something God has given us,
That's more than family;
He's placed a love for you, my Sister,
Deep down in the heart of me.

Allison Chambers Coxsey

http://www.allisonsheart.com/sister/sister.html

»»  पुरै पढ्नुहोस

Sunday, October 24, 2010

म निरपेक्ष दु: ख वा सुखको पछाडि छैन

धेरै दिन देखि लेख्ने मुड चलिरहेको छ। वास्तवमा मैले यो लामो अन्तरालमै धेरै लेखहरू लेखेको छु तर साफी गर्ने मुड चलेको छैन। मेरो पढाई सकिएको अवस्था र फेरि जीवनले एक पटक कोल्टे फेरेको अवस्थाले गर्दा निकै चटारो चलिरहेकै हो। नयाँ ठाउँ र नया परिवेशमा अनौठो तरिकाले रमाउने प्रयास गर्दैछु। सधैँ आफू बसिरहेको ठाउँ छोड्न पर्दा मनमा कता कता दु: ख लाग्ने रहेछ। तर यो पनि अब त आदतै भइसक्यो।

स्कूले जीवन पछि कलेज पढ्न घर छोडेर बसेबाट अहिले सम्म अनेकौँ नाममा घर छोडी राखिएकै हो। घर छोड्ने पीडा कस्तो रह्‍यो भन्ने ट्याक्कै याद छैन। तर मलाई लाग्छ, स्कूल पछि घर छोडिरहँदा, मनमा दु: ख भन्दा पनि कौतूहलता, र जीवनमा केही गर्न पर्छ है भन्ने जोस थियो। समयको अन्तरालमा जीवनको कठिनपनहरुको अनुभव गर्दै गर्दा मात्र घर छोडेको पीडबोध हुँदो रहेछ।

सानो बच्चाहरूलाई हेरौन, कस्तो माया लाग्ने, सानो र अनौठो मुखाकृतिले जुन रमाईलोपनको अनुभव हुन्छ त्यस्तै बीचमा माया लागेर पनि आउँछ। कठै, न बोल्न सक्छ, न भोक लाग्यो भन्न सक्छ, न दिसा पिसाप लाग्यो भनेर गुनासो नै गर्न सक्छ। राती सुत्छ, ओड्ने आफ्नै खुट्टाले मिल्काउँछ अनि जाडो हुन्छ। चिसो भयो निद्रा लाग्दैन अनि रुनु बाहेक कुनै उपायै छैन। हेर्ने मान्छेले सम्पूर्ण मानसिकता बुझेर उसलाई हेर्नु पर्ने र उसलाई स्हार गर्नु पर्ने। वास्तवमा जीवन निकै कष्टकर छ। पेट दुखिरहेको छ, दुखाइको अनुभव रुहाइमा आउँछ। बुझ्ने ले कसरी बुझ्छ, यहाँ भर पर्छ। आफ्नो जीवन र आफ्नो दैनिकी आफ्नो हातमा छैन, त्यसैले मुखमा निप्पल छिर्छ, उ बाध्य भएर चुस्छ अनि दुखाई पनि बिर्सन्छ र त्यसै सुत्छ। ल त भोक लागेर पो त रोएको, यस्तै बुझिन्छ अनि पटक पटकको दुखाइलाई एउटै अर्थमा बुझिन्छ तर उसले भन्न सक्दैन।

हामी उनै बच्चाहरूलाई हेरेर भन्छौ, “वास्तवमा यस्तो पो जीवनको हो त” सुत्यो, उठ्यो, खायो फेरि सुत्यो। हामी कतिले यो भनेका पनि छौ “केटाकेटीहरूलाई कस्तो आनन्द, जे माग्यो भने पनि पाईने, खान पाईने, समयमा सुत्न पाईने”। छुस्स केही भयो कि घन्टौ चाटेर बस्ने बा आमा.. के भन्ने खै...

मलाइ लाग्छ यो सबै कुराहरू सापेक्षरुपमा यसरी व्यक्त भएका हुन। केटाकेटी हुन सजिलो छ र? सजिलो त्यतिखेरबाट लाग्छ जतिखेरवाट उसले केटाकेटीकै लागि हन्डर खाएर जीवन चलाउनु पर्छ। आफ्नो दैनिकी, आफ्नै नभइ रहेको अनुभव लिएर दश दिशामा कामकै लागि, आवश्यकता पूर्तिका लागि कुद्छ अनि बेलुका आएर केही नगरी खाली खाएर मात्र सुतेको आफ्नो बच्चा देख्छ अनि भन्छ फेरि “यीनीहरुको जीवनको पो जीवन है”।

हामीले सोच्दै गरेको जीवनको बाल्य, यौवन र वृद्ध अवस्था मध्य सबै भन्दा दुख दायी समय कुन हुन्छ भनेर सोध्यो भने जो कोहीले एउटै उत्तर दिन्छन्, त्यो हो बृद्धा अवस्था। कसरी हुन्छ बृद्धा अवस्था दुःखमय? हाम्रो देशमा मात्र हैन, विदेशमा समेत, अनेकौँ रूपमा हामीले बृद्धा अवस्थालाई दुःखदायी भनेर परिभाषित गर्छौ र यसै कुरामा विश्वास पनि । म कहयौ पटक प्रश्न गर्छु आफैलाई, किन दुःखदायी हुने गर्छ जीवनको यो क्षण? केही गर्न सकिँदैन, सबै अर्काले गरिदिनु पर्ने भन्दै, बाल्य कालको समय सुखमय र आनन्दको देख्ने हामी जीवनको अन्तिम त्यस्तै क्षणलाई किन आनन्दको जीवन समय भनेर बुझ्दैनौ?

पैसा हुनेहरू आनन्दित मान्ने हुन भने पनि, कहयौ पैसावालहरूका श्रीमती पोईला दौडेका छन्, त कहयौ लोग्ने मान्छेहरू जोईला कुदेका छन्। फेरि प्रश्न गर्छु, एउटा निर्दयी आमाले सामाजिक संजालको डरले, सिस्नोघारीमा फालेको बच्चालाई हेरेर कसैले भन्छ यो बच्चाको जीवन आनन्दको छ भनेर?

जीवनको यो पाटोलाई नियाल्दा, हामी कति खेर सुखी हुन्छौ त? हामीले कति खेर, केटाकेटीको अनुहारमा ईश्वरत्व देख्छौ, कतिखेर जीवन सफल भएको अनुभव गर्छौ? र कतिखेर बुढेसकालको जीवनलाई छुट्टी मनाइरहेको मान्छेको रूपमा आनन्दित समयको रूपमा लिन्छौ?

जीवनको कुन पाटो सुखमय छ र? दुःखमय जीवनकै कुनै दुःखित क्षणलाई सुखको रूपमा लिनमै हामी अभ्यस्त छौ र कहिलेकाहीँ दुखी भएको अनुभव गर्छौ। child and oldजीवन दर्शनमा मेरो बिचार फरक हुन सक्छ म निरपेक्ष दु: ख वा सुखको पछाडि भन्दा पनि आत्म सन्तुष्टलाई सन्तुलित भूमिकामा राख्‍नुनै जीवन बाच्नु र जीवन सार्थक भयो भन्ने ठान्छु अनि जीवनको सुरुवात सँगै अन्तिम अवस्थासम्म आफ्नाहरूले कतिको साथ दिए भन्ने कुरामा बुझ्छु। सानोमा आफ्नो न्यानो साथ देखेर आफ्नै बच्चा भाग्यमानी र आफ्नै बच्चाको अनुहारमा ईश्वर देख्नेहरु, जब समय र कानुनले एक्लो बनाउँदै जान्छ तब हामी आफैले आफ्नै बच्चाले दुख पाएको देख्छौं। त्यसैले साथीभाई, इष्टमित्र, नातागोता भन्ने कुरा मानव जीवनलाई कतै न कतै सुखमय बनाउने माध्यमहरू हुन्। आफ्नाहरूको साथ अन्तिम अवस्था सम्म रहयो भने त्यो नै सबै भन्दा ठूलो सुख हुनेछ। केटाकेटी रहदा, बा आमाको, ठूलो हुँदा घर परिवार, साथीभाई र इष्टमित्रको र बुढेसकालमा पनि यसरी नै आफन्तहरूको साथ रहयो भने जीवन सुखमय हुनेछ। त्यसैले मानव चेतनाको सुन्दर र हरित पक्ष भनेकै एक अर्काको साथ र सम्बन्ध हो। त्यसैले म त भन्छु जीवन बाच्नु र चलाउनु नै एउटा कर्पोरेट बिजनेस(संजालहेतु ) हो जो एउटा निरन्तर आन्तिरक संजालमा बाँधिएको छ। जसले यो संजाल तोड्छ वा जसको तोडिन्छ उसैको जीवन कतै न कतै दुखी रहन्छ..... सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Sunday, September 5, 2010

एउटा कथा-डरको

म अहिले सम्झन्छु त्यो बेला जनआन्दोलन चलिरहेको रहेछ। २०३६ साल तिरको कुरा, म चार वर्षको थिए। त्यो बेला देशमा ठूलै आन्दोलन चलिरहेको थियो सायद। मेरो मनस्पटलमा त्यस बखतको एउटा धमिलो छाप अझै पनि छ । सायद लगातार एउटै कुराले पटक पटक झस्काउने हो भने धेरै पहिलेको कुरा पनि ताजै भइरहने रहेछ। धमिला यादहरू नै सहि, मस्तिष्कमा एउटा पुरानो फिल्मको रोल झैँ कता कता चित्रहरू चलिरहेका हुन्छन् नै। बिहान के भयो, दिउसो के भयो मलाई केही याद छैन, तर एकाएक मेरो घरसँगै जोडिएको घरको अगाडि, अलिक खुला आँगनमा बेलुका घाम अस्ताउने बेलासँगै, प्रहरीहरूले बेस्करी दुई जना मान्छेलाई मर्ने गरि कुटिरहेको कुरा अझै याद छ। बजारका सबै घरहरु बन्द भईसकेका थिए र मेरो घरको ठोका पनि बन्द भइसकेको थियो। आमाले भर्खरकै पधेरोबाट गाग्रीमा पानी ओसार्ने बेलाको पहिलो खेप चल्दै थियो त्यसैमा हामी सबै घर भित्रै बस्यौ । मलाई घरको ढोका बन्द गरेको, पल्लो घरको आँगनमा प्रहरीले दुईजना मानिसलाई बेस्करी कुटेको भन्दा  बाहेक मैले आमा सँग सोधेको एउटै प्रश्न भने याद रहेको छ। मैले सोधेको थिए: किन कुटेको त्यी मान्छेलाई पुलिस अंकलहरुले? चोरहरु हुन आमा? आमाले भन्नु भा थियो, “हैन”। बदमास वा खराब मान्छेहरु हुन आमा? “हैनन्”। अनि आमाले भनेको नमान्ने मान्छे हुन? “हैन”। फेरि मैले सोधेको थिए, अनि किन त कुटेको? उनीहरू काँग्रेस हुन् रे। आमाको अन्तिम उत्तर थियो यो। बुबा गाउँको घर जानु भएको थियो, आमा, दीदी र म मात्र थियौ त्यस बेला। तत्काल मेलै के बुझ्नु यो काँग्रेस भन्ने कुरा तर काँग्रेस बन्यो भने पुलिसले कुट्छ भन्ने कुरा मेरो दिमागमा लामो समय सम्म चलिनै रहेको थियो।

समय सँगै कक्षा ८ मा पढ्दा देशमा फेरि ठूलो आन्दोलन भएको थियो, यस बेलाको भने निकै कुराहरु अझै मेरो दिमाखमा ताजै छ। आन्दोलनको चर्काचर्की चलेकै बेला, डाडाहरूमा शंख फुकेको, राँके जुलुस निकालेको र मेरा केही शिक्षकहरू स्कूलमा नआएको कुराहरू प्रस्ट याद छ। त्यस बेला हामीले देशको पूर्वी भाग र दार्जिलिङको शैक्षिक भ्रमण गर्ने मनस्थिति बनाई रहेका थियो। स्कूलमा बेस्करी कुराहरू उठाइरहेका पनि थियौ, तर स्कूलले मानिरहेको थिएन। हामी साथीहरू सँग मिलेर हेडमास्टरकोमा गएर कुरा राख्‍ने बिचार गर्‍यौ र म लगायत हामी तीन जना साथीहरू मिलेर प्रिन्सिपलको गयौ। त्यो भन्दा पहिले कक्षा पाँचमा पच्चीस रुपैयाँ उठाएर पोखरा भ्रमण गएको याद थियो र निकै रमाइलो भएको पनि थियो त्यस बखत। बस चढ्दा, लक्ष्मी पीस पाउरोटी खादा, फेवा तालमा डुगाँ चढ्दा, महेन्द्र गुफा पस्दा र पातले छागो हेर्दाका रमाइला किस्साहरू कक्षा आठ पढ्दा खेरी सम्म पनि सकिएको थिएन। हामीले प्रस्टसँग भन्यौ कि हामीलाई शैक्षिक भ्रमण जान साहै ठूलो इच्छा छ।

यसै बीचमा मेरा एक जना साथी बाहिर निस्किए, किन हो थाह भएन। हामी दुईजना मात्र भयौ हेड मास्टरको अगाडि। प्रिन्सिपल सरले सम्झाउन थाल्नु भो; हेर, देशमा नयाँ संविधान बन्दै छ र कही दिनमा सरकारले घोषणा पनि गर्दैछ, हुन सक्छ कुनै समुहले फेरि आन्दोलन गर्लान्। सुरक्षाको हिसाबले पनि ठीक हुँदैन। पहिले देशको स्थिति शान्त हुन दिनु पर्छ र मात्रा हामीले शैक्षिक भ्रमण बारेमा सोच्नु पर्छ। उहाँले यसो भन्दै गर्दा कता कता मेरो चित्त बुझेको थियो। मलाई पनि त्यस बखत ठीक लाग्दै थियो तर मेरो अर्को साथीलाई के भयो वा के सोच्यो उसले थाह भएन र बेस्करी त्यो कुरोको प्रतिवाद गर्यो र हामी जानै पर्छ भन्न थाल्यो। उसले नगई नहुने कुरा गर्दै गर्दा अर्को कुनाबाट एक जना शिक्षक बेस्करी कराए.. बडो आन्दोलनकारी भएका छौं तिमीहरू। उहाले हामीलाई देखाउदै भन्नु भएको थियो, यीनीहरु त काँग्रेस र कम्युनिष्ट नै भएछन् अब...

हामीलाई सरले काँग्रेस र कम्युनिष्ट भन्दै गर्दा मेरो मनमा पुरानो कुरा याद आयो र बेस्करी डराएँ। हामी बाहिर निस्कियौ, मैले उसलाई सुनाए.. हामीलाई त काँग्रेस र कम्युनिष्ट भन्नु भो सरले. काँग्रेसलाई त पुलिसले मर्ने गरि कुट्छन् यार। मेरो साथी निकै बेर सम्म केही बोलेनन्। यसै बीचमा हाम्रो शैक्षिक भ्रमणको मागको बारेको कुरा हाम्रो घर सम्म पनि पुगिसकेको थियो। प्रिन्सिपल सरले भने अनुसारकै कुरा घरबाट सुन्नमा आए पछि, यो कुराको स्रोत थाह पाउन हामीलाई गाह्रो भएन र यो माग त्यसै सेलाएर गयो वा भनौं काँग्रेस बनेकै डरले प्रिन्सिपल सर सँग सम्झौता गरियो भन्दा पनि फरक नपर्ला।

त्यस बखत स्कूलको हाप छुट्टीमा आँधी खोलामा गएर पौडी खेल्न खुब गइन्थ्यो । स्कूलबाट ठीक तल जिल्ला कारागारको अगाडिको बाटो हुदै झर्नु पर्ने हुन्थ्यो खोलामा पौडी खेल्न। पाचँ मिनेटको त्यो बाटो त्यस दिनबाट हामीले कहिले पनि हिँडेनौं। सधैँ बन्दुक बोकेर बस्ने पुलिसलाई देखेर हामी १५ मिनेटको बाटोबाट तल झर्थ्यौ र सधैँ पौडी खेल्न ढिलो हुने गर्थ्यो।

केही समय सम्म यस्तै चल्यो तर यो मनोदशा लामो समय टिक्न पाएन किनकी देशमा त्यस अन्तरालमा निकै परिवर्तन भइसकेको थियो। त्यस पछि देशमा ठूलै परिवर्तन भईरहको आवाज खुब सुनियो भाषणहरूमा र राजनीतिको बारेमा चासो राख्दैं गर्दा कयौ पटक पुलिसहरूले कुटाइ खाएको समाचारहरू पनि आउन थालिसकेको थिए । मेरो मनमा कुटाई खाने उपमाको साथमा सोच्दा, पुलिसहरू नै काँग्रेस र कम्युनिष्ट बनेका रहेछन् र यही रहेछ परिवर्तन जस्तो पनि लाग्थ्यो। तर केही समय पछि रमाइलो त हामीलाई काँग्रेस र कम्युनिष्ट बनाएर हाम्रो शैक्षिक भ्रमण तुहाउने शिक्षकहरू केही हप्ता भरमै कक्षा कक्षामा बिधार्थी सँगठनको सदस्य बनाउन आइरहेका थिए। हामीले सोच्यौ अब कारागारको अगाडिबाट पौडी खेल्न जान डराउनु पर्दैन। वास्तवमा हाम्रो लागि यो अर्को परिवर्तन थियो।

देशमा फेरि बिद्रोह सुरु भयो, कुट्ने र कुटाई खाने खेलहरुको बीचमा, मान्छे मार्ने खेल गोप्यता भंग गर्दै खुला रुपमा देखा पर्न थाल्यो। आफ्नो कुरा नमान्ने र आफू जस्ते नहुने हुरूलाई सबैले मार्ने संकारको बिकास हुदै गयो। त्यस पछि न पुलिस, न काँग्रेस, न कम्निष्ट जे हुदा पनि डराउनु पर्ने भयो। सबै भन्दा दु:ख, केही नभएर आम नागरिक रहन खोज्दा पनि डर मै बस्न पर्ने भयो। सबै जना फेरि सम्झौताहरुमा गएर अडिए, केही परिबर्तन भयो, मनमा एकाददिन राहत मिले जस्तो भयो तर  फेरि नयाँ गुट र नयाँ  मान्छे मार्ने आन्दोलनको सुरुवात भईरहेको छ।

निकै अगाडिको त्यो घटना क्रमलाई आज फर्केर हेर्दा अहिले सम्म देशमा निकै पटक परिवर्तन भएकै छ। हामी आन्दोलनको रूप र रँगमा परिवर्तन ल्याउन खप्पिस भएकै हो। दुःखद तर सत्य, हाम्रो परिवर्तन, मात्र कुट्ने र कुटाई खानेहरूको अनुहार मात्र फेरिएको छ। चाकडी र दलाली गरिने मान्छेहरू र ठाउँहरु परिवर्तन भएको छ। सानो भुँडी, ठूलो भएको छ। टेम्पो र झुपडी, कार र दरबारमा परिवर्तन भएका छन्।

जसले जे भनोस् हामी टुँडिखेलमा राखेका दशैका खसी भएका छौ। एउटा मालिक सँग बस्दा भोक र प्यासको डर, अर्को मालिक पाउदा तरवारको डर।  हिजो कुरा नबुझ्दा पनि डरनै थियो र आज बुझ्ने हुँदा पनि डरनै छ र यो सधै यथार्थ एउटा कथानै बनेर मनमा अल्झिरहेको छ  तर पनि जे होस हामी अझै भन्छौ...आन्दोलन जारी छ ........सबैलाई चेतना भया

»»  पुरै पढ्नुहोस

Sunday, August 22, 2010

कथा: महान लेखक बज्र नारायण

पहिले पहिले खुब पढ्थ्यो, आजकल लेख्‍ने टोपलिएर हैरान  बज्र नारायण । कति लेखहरू पढ्दा पढ्दै आजकल त दिमागनै लेखहरूको संग्रह बन्यो होला उसको तर पनि पढ्ने काम गरिनै रहन्छ। अखबारहरू पढ्नु उसको सोख र नियति । नियति किन भने उसको र हाम्रो पालोमा कुनै अनलाइन सुविधा थिएन त्यसैले उसको लागि छापामा आउने दैनिकी र सबै खालको छापिएका पत्रपत्रिका भन्दा बाहेक कुनै विकल्प थिएन।

 

तर आजकल बज्र नारायण बल्गर बनेको रहेछ, हिजो मेरो ई-मेलमा सुट्ट एउटा संदेश पठायो उसले। , मैले उसको ई-मेलको टुप्पो समातेर बल्ग सम्म पुगेँ। खुब रमझमका साथ बनाएको बल्ग र साथमा कथा कविता, समसामयिक लेख र रचनाहरू, मलाई विश्वासै लागेन यो कुराको । सानो छँदा पढ्नु पर्छ भन्ने मात्रै गर्थ्यो। कहिलेकाहीँ हामी भन्दा अलिक बढी नम्बर ल्याएर गणितको शिक्षकको खुब बधाई पनि पाउने गर्थ्यो। हाम्रा गणितका मास्टर खुब कडा थिए र भन्थे “देख्यौ केटाकेटी हो बज्र नारायण खुब जेहनदार छ, उनको गणित राम्रो छ, गणित राम्रो हुने मान्छे टाठो र बाठो हुन्छ र गणित सबै विज्ञानको जड हो र यो नै सबै भन्दा उत्कृष्ट देखाउने मूल मन्त्र हो”। वाह!! वाह!! खुब प्रशंसाहरू पाउने गर्थ्यो उसले कहिलेकाहीँ त रिसले हप्ता भरिनै नबोलीकन बसिन्थ्यो, एक प्रकारले डाहा लाग्थ्यो उसगँ।कसरी बन्ने होला बज्र नारायण जस्तै? कस्तो राम्रो दिमाग होला उसको, मन मनै सोचिन्थ्यो र कयौ पटक साथीहरू बीच पनि कुरा हुन्थ्यो।

 

बज्र नारायण वास्तवमै निकै चलाख थियो। गृहकार्य खुब राम्रो सँग गर्थ्यो, परीक्षामा प्रथम त कहिले पनि भएन तर पनि उसको टाठो पन पनि निकै प्रशंसनीय थियो सबैका बीच। समय सँगै स्कूल छोडेर कलेज पढ्न जाँदै गर्दा खुब सुन्नमा आई रहन्थ्यो कि आजकल पनि खुब पढ्छ रे बज्र नारायण। कुनै पुस्तक लेख्‍दै छ रे, त्यसैले पनि निकै समय अरूका किताब, पत्र पत्रिकाहरू पढ्ने गरेको छ रे। हामीले ठिकै हो भन्ठान्यौ र अझै पनि उसको प्रशंसा गर्ने गर्‍थ्यौ। वास्तवमा उ निकै पढन्ते मानिस थियो।

 

कहिलेकाहीँ राष्ट्रिय पत्रिकाहरूमा उसको नाम देखिन्थ्यो कथा, रचना र विवेचनामा। पत्रिकामा उसको नाम आएको छ भन्ने कसैले भन्यो भने, हिँडेरै महेन्द्र पुल गइन्थ्यो पत्रिका खोज्दै। किनेर पनि ल्याइयो कयौँ पटक अनि साथीहरूलाई पनि देखाइन्थ्यो र सुनाइन्थ्यो “लौ हेर साथीहरू यो मेरो साथी हो, बज्र नारायण; उसले निकै राम्रो लेख्छ र तिमीहरूले पनि पढ्नु पर्छ आदि आदि”।

 

अन्तिम पटक उसलाई पृथ्वी चोक पोखरामा भेटेको याद छ। कतै छापाखाना तिर जाँदै रहेछ। उसले भनेको थियो: साथी हुन त मलाइ नियमित लेखहरू लेख्‍न भनिरहेका छन् पत्रिकाहरूले तर पनि लेख्‍ने काम निकै गाह्रो छ। त्यो पनि नियमित त झनै गाह्रो काम। एउटा कुरा लेख्‍न कयौँ कुराहरू हेर्नु पर्छ, निकै समय बिचार गर्नु पर्छ र विचारहरूलाई मिश्रण गर्नु पर्छ र निर्क्यौल निकाल्नु पर्छ। मैले हो मा हो मिलाएँ। एउटा असल लेखकको कुरा म कसरी बुझुँ र नबुझेर पनि कसरी हैन भनुँ? मैले भनेको थिए “ल है साथी निकै राम्रो लेख्छौ र निरन्तर लेख्‍ने प्रयास गर मेरो शुभकामना। यही सल्लाह दिएर बिदा भएको थिए।

 

आज निकै समय पछि उसको यो ई-मेलले मलाइ जति खुसी बनायो, उति अचम्म पनि। उसले लेखेको थियो; मेरो मित्र, लामो समय पछि तिमीलाई ई-मेल मार्फत छोप्ने मौका मिलेको छ। निकै खुसी छु। यस बीचमा मैले निकै लेखहरू लेखे, तिमीले पढ्यौ वा पढेनौ थाह भएन तर समयको चालसँगै आजकल लेख्‍ने र लेख छाप्ने काम निकै सजिलो भएको छ। ईन्टरनेट र बल्गिङ्गको समय हो यो। संसार भरका सबै लेख र रचना आजकल घरमै पढ्न पाईने भएको छ। निकै खुसी छु। राम्रो नाम पनि चलेको छ मेरो आजकल। सबैले वाह! वाह! पनि भनिरहेका छन्। तिमी मेरो लेखको पुरानो प्रशंसक त्यसैले मैले तिमीलाई मेरो बल्गको यो लिंक पठाएको छु; राम्रो सँग हेर सुझावहरू देउ र आफ्नो पनि केही छन् भने मलाइ पढाउ म यसमा राख्‍ने छु।

 

उसको यत्रो ठूलो निमन्त्रणा म कसरी नमानुँ, मैले पनि उसको बल्ग पछ्याए, उसले दिएको बाटो बाटै। निकै तामझामका साथ मिलाएको बल्ग, निकै राम्रा लेखहरू रहेछन्। सबै हेरेँ, राम्रो सँग हेरेँ र राम्रो प्रशंसा पाइरहेको पनि देखेँ। वाह बज्र नारायण वाह!! मन मनले सोचेँ, वास्तवमा निकै लेखहरूको र विचारहरूको मिश्रण गर्नु पर्छ लेख लेख्दा भन्थ्यौ तर यहाँ त केही पनि देखिन मिश्रणहरूको सट्टा सरल, निकै सरल र सहज पाराले लेखेका छौं तिमीले। कुनै दु:खनै नगरीकन कस्तो बिचारहरू दिएका छौ। वाह!! वाह!!

 

मैले सबै हेरेँ र उसको बल्ग बन्द गरे। सोचेँ वास्तवमै इन्टरनेटले निकै सुविधा भएको रहेछ आजकल र केही पनि गर्न नपर्ने भएको छ। सबै कामहरू सहज र कोठा वाटै हुने जमना हो यो। पत्रिका बनाउ कोठाबाटै..... पैसा बनाउ कोठाबाटै.. लेखहरू छाप कोठाबाटै.... फेरि सोचेँ, बज्र नारायणलाई अब त लेखहरू लेख्‍न कागज, कलम र मसी  केही पनि नचाहिने भएको रहेछ। मात्र कम्प्युटरको दुइटा की जानेछ उसले यो बीचमा मात्र copy and paste ...सबैलाई चेतना भया।।।।

»»  पुरै पढ्नुहोस

Thursday, August 19, 2010

अब आफै सोच्नु पर्छ

देशको सम्पूर्ण परिवेश हेर्ने हो भने हामी कति कुरामा आशावादी हुन सक्छौ त्यो छलफल वा विवादको विषय पक्कै हुन्छ। हामीले गरिरहेका उपलब्धिहरूलाई कुन दृष्टिले हेर्ने भन्ने मात्र पृथक् कुरा हो। हामीमा एउटा भिन्न किसिमको गरिबी छ, हामीमा एउटा भिन्नै किसिमको अभाव र भोक छ। त्यो हाम्रो आफ्नै यथार्थता हो। एकाध दुई मान्छेहरू बाहेक अधिकांश समाजको आफ्नै पीडा छ। न्युयोर्क, टोकियो, पेरिसमा रहिरहेका हाम्रा आफन्तहरूको जीवन र उनै आफन्तहरूको आफन्ती नेपाली जीवनमा आकाश र जमिनको फरक छ। बरु कुनै समानता हुन सक्ला आकाश र जमिनको बीचमा तर त्यो जीवन पद्धतिहरूको बीचमा कल्पनै गर्न नसकिने विविधता रहिरहेको छ। हामी विदेशी कुरा गर्छौ तर हाम्रै काठमान्डू र रोल्पा रुकुमको जीवन शैलीमा यस्तै भिन्नता छ। भिन्नताकै बीचमा, पृथक्ताकै बीचमा, विविधताकै बीचमा, दूरदराजका गाउँ जानैं पर्दैन, राजमार्गबाट केही घण्टाको पैदल उत्तर वा दक्षिण, पूर्व वा पश्चिम जहाँ गए पनि त्यो जीवन शैलीको फरक र असमानता प्रस्ट देख्न पाइन्छ, यही नै हाम्रो यथार्थ पहिचान हो बर्तमानको।

 

भू-राजनैतिक परिस्थिति आफ्नो ठाउँमा छ तर पनि जन-मानस, मानसिकता र जीवन शैली मानव सभ्यताकै लागि एउटा वर्तमानको इतिहास र एउटा अनौठो उदाहरण भएर बाचिरहेका छौं हामी। अब प्रश्न उठ्न सक्छ दोष कसको हो? को दोषी छ यो सबै हुनु मा? एउटा आम नागरिकको बारेमा र साधारण जीवन धान्ने निहुँमा विदेसिएका अनेकौँ व्यक्ति वा नागरिकको कुरा कुनै बेला उठाउला, तर आज मैले उठाउन खोजेको कुरा त्यो विद्वान वर्गको हो जो विदेशमा ठूला वैज्ञानिक वा विद्वानको रूपमा चिरपरिचित नामको पछाडि दौडिएका जमात विद्यमान छ।

 

विदेशी भूमिमा ठूलो विश्वविद्यालयमा पढिरहेका वा पढेर अनेकौँ पेसामा लागिरहेका मान्छेहरूलाई सोधौं नेपालको बारेमा नेपाल बारे उनीहरूको धारणा बुझौं र नेपाली परिवेशको बारेमा उनीहरूको मत सर्वेक्षण गरौं। नेपाल गरिब छ, नेपालमा केही गर्न सकिँदैन, मैले पढेको कुनै काम छैन यो देशलाई, मेरो ज्ञानको कुनै कदर छैन, मैले यत्रो ज्ञान हासिल गरे तर खै नेपालले मलाई कहिले चिन्ने हो? यस्तै यस्तै निराशावादी उत्तरहरूको थुप्रो नै लाग्छ वा यस्तै जबाफ पाउँछौ हामी।

 

तर गहन अध्ययन र बिचार गर्ने हो भने, यसो भन्दै गर्ने कोही पनि वैज्ञानिक वा विद्वानहरुले गलत भनिरहेका छैनन्। उनीहरूको मत र बिचार बिलकुल ठीक छ। उनीहरूले सोचेका कुरामा सत्यता छ। उनीहरूले हासिल गरेको ज्ञान र सीपको कदर यहाँ हुदैन। सबै तिर निराशा मात्रै देखिन्छ। राजनीति, जीवनशैली, मानसिकता सबै गरिब छ हाम्रो। हामी मानव सभ्यताको ढुँङ्गे युगमा बाचिरहेका छौ। देश विकाश, सभ्यता, शिक्षा र अनुशासनको त्यो चरणमा छौं जो शताब्दी पहिले हुनु पर्ने थियो। यस्तो अवस्थामा बिकसित राष्ट्रहरू जो खगोलिय जीवन खोजिरहेका छन्, जो सभ्यताको चरम चुलीमा छन् त्यस क्षेत्रबाट ल्याएको ज्ञान र सीप वास्तवमै हाम्रा लागी अनुत्पादक नै हुन्। हामी जीवनजलको विकल्प नुन चिनी र पानीको प्रचारमा छौ, सिप्रो वा चारौ पाचौ पुस्ते चरणका औषधी विज्ञानको विकल्पमा घोलटाप्रे र काली सिन्कीको प्रयोगमा छौ। कसरी काम लाग्छ तिमिले हामीले पढेका र जानेका कुरा यो देशका लागी? खगोलिय यात्रा तय गरिरहेका संसारका बिकसित राष्ट्र र प्रयोगशालामा लिएको ज्ञानले गाउँको घट्ट चल्दैन। त्यो ज्ञानले डोको वा नाम्लो बुन्न सिकाउने सीप दिदैन। आधारभूत आवश्यकताका न्यूनतम आपूर्तिको आभास, त्यो ज्ञानले अवश्य पनि दिँदैन।

 

देशको परिवेश र आवश्यकता हेरेर, बुझेर र न्यूनतम जीवन शैलीको पक्षमा त्यो बिकसित राष्ट्रमा काम गरिरहेका कुनै पनि वैज्ञानिक हाम्रा लागि काम नलाग्ने मान्छे भन्दा केही पनि हुने छैनन्। जुन जुन देशमा हामी काम गरिरहेका छौ, त्यही त्यही देशको आवश्यकता पूर्तिका लागि हामी शैक्षिक लाहुरे भन्दा केही पनि हैनौ। अरबी मरुभूमिमा दुःखका पसिना बगाएर काम गरिरहेको एउटा साधारण नागरिक र संसारकै ठूला प्रयोगशालाको चिसो हावा खादै काम गरिरहेका हामीमा कुनै फरक छैन किनकी हामी विदेशी कठपुतली हौं र भइरहेका छौं।

 

देशले खर्चेर विदेश पढ्न पठाएका वैज्ञानिकहरू पढि सकेर देश नफर्की उतै पलायन भएका अनेकौँ उदाहरणहरू मध्य, रोग भोक, शोकसँग जुधेर, आफ्नै परिश्रम र जोडमा विदेश पुगेका कुनै वैज्ञानिक देश फर्कलान् र देशले काँचुली फेर्ला भन्ने सोच्नु ठूलो भुल भन्दा केही हुदैन। त्यसैले राज्यले शिक्षा ज्ञान र जीवन शैली स्थानीय रूपमै योजना बद्ध तवरले सुरु गर्नु पर्छ। जे आवश्यकता हुन्छ आधारभूत विकासका लागि त्यसैका लागी चाहिने जनशक्ति र वैज्ञानिकहरूको उत्पादन स्थानीय स्तरमै बनाउने योजना र कार्य विधि लागू गर्नु पर्छ। देशमै पढेका र देशकै परिवेशमा बिद्धत्व हासिल गरेका जनशक्तिले कोदो, मकै खाएर स्थानीय समस्यामा आफ्नो योगदान दिन सके भने त्यो राष्ट्रका लागी निकै फलदाही र उपलब्धि मूलक हुने छ। छातीमा हात राखेर भन्नु पर्दा र सोच्दा हामी जो विदेशी भूमिमा वैज्ञानिक बन्ने दौडमा छौं, जो मान सम्मान कमाइरहेका छौ, कसैले पनि पढेर स्वदेश फर्कौला देशको विकाश गरौला भनेर सोचेका धेरै थोरै र नगण्य सख्यामा हौला। आदर्शका कुरा गर्दा, देशलाई कति माया गर्छस् भनेर सोध्दा हामी देशको गरिबी, राजनैतिक अस्थिरता र अभावलाई अगाडि तर्साएर उम्कने गरेका छौं।

 

त्यसैले मेरो देशले आफै सोच्नु पर्छ। विदेशी पैसा, विदेशी जीवन शैली र विदेशी परिवेशमा रमाउने वैज्ञानिक वा भनौं एक्याडेमीक लाहुरेको आशामा बस्नु हुदैन। नितान्त फरक र आफ्नै परिवेशको विकाशको सुरुवात गर्नु पर्छ। मलाइ लाग्छ मैले ठूलो टेक्निकल फड्को मारेको छु अनुसन्धानको क्रममा तर पनि मेरो देशको घट्टलाई न्यूनतम घर्षणमा कसरी घुमाउन सकिन्छ भन्ने कुराको अनुसन्धान गरेको भए त्यसले मेरो देशको एउटा गाउँको जीवन शैलीमा सहजता दिन सक्थ्यो होला। कुनै गरिबको अनुहारमा सानो मुस्कान दिन सक्थे होला। मेरा ठूला ठूला अनुसन्धान र त्यसको शोधपत्रले एउटा विदेशी कम्पनी वा विदेशी भूमिलाई केही कमाउने सहज उपाय सुल्झाए हुलाँ, मानव सभ्यताको विकाशमा मेरो पनि योगदान छ भनेर भनौला वा मन बुझाउला तर हाम्रा आफ्नोका लागि के त? म आफै म भएर कुरा गरे पनि यो आम समस्या पक्कै हो र यो नै एउटा यथार्थता पनि ।

 

त्यसैले ठूला ठूला आदर्शका कुरा गरेर वा आफूले ठूला ठूला काम गरेको नामको भरमा हामीले पढेका कुराहरू हाम्रो समाज र देशलाई कति धेरै काम लाग्छ, कति मात्रामा हाम्रो परिवेशमा उपयोग गर्न सकिएका वास्तवमै सोच्नु पर्ने कुरा हो। चन्द्रमाको यात्रा तय गर्ने रकेटको बारेमा पढेका जानेका हाम्रा वैज्ञानिकहरू, देशका अनेकौँ खण्डहरहरूमा झोलुङ्गे पुल बनाउने र चलाउने काम गर्न सक्लान् वा इच्छुक होलान्?, क्लौन पद्धतिमा दक्षता हासिल गरेका डाक्टरहरू रुकुम रोल्पा वा कुनै बिकट गाउँमा गएर जीवनजल नभए नुन चिनी पानी खानु भनेर सिकाउन सक्छन् वा इच्छुक हुन्छन्? कुनै टेक्निकल संस्थाबाट मोटरकार, बस वा हवाईजहाज बनाउने वैज्ञानिकहरू, गाउँका न्यून आए भएका गरिब किसानलाई डोको नाम्लो बुन्न सिकाउन सक्लान् वा इच्छा गर्लान्? विदेशी विश्वविद्यालयमा पढाइरहेका कुनै बिद्धान प्रोफेसर के हाम्रो गाउँमा गएर भोका नङ्गा गरिब जनताका छोरा छोरीलाई क ख ग सिकाएर बस्न सक्लान् वा इच्छुक होलान्? हामी सधैँ विदेशी र बिदेसिएकाहरु प्रति आशा गरिरहेका छौ।

 

त्यसैले अब ढिलो नगरी देशमै एउटा राष्ट्रिय अभियान चलाउनु पर्छ गाउँ गाउँमा, सभ्यताको नयाँ सुरुवात गर्नु पर्छ स्थानीय स्तरबाटै । देशमै बसेर केही गर्छौ भन्नेहरूको पहिचान हुनु पर्छ पहिले अनि परिचालन। यो अभियानमा नयाँ स्कूल, स्थानीय सीप र साधनको अधिकतम उपयोग गराउन सकिने र सिकाउने शिक्षालयहरूको सुरुवात गर्नु पर्छ। आर्थिक स्तर के हो? सभ्यता के हो? मानवता के हो? हामी को हौ? हाम्रो अवस्था कस्तो छ? आदि आफैलाई चिन्ने, समाजलाई चिन्ने र आफ्नो आवश्यकतालाई पहिचान गर्न सक्ने मानिसको, समाजको विकाश गर्नु पर्छ। हामी आज समाजलाई आर्थिक, शैक्षिक र राजनैतिक फड्को मार्ने झूटा कुराहरू गरेर बसिरहेका छौ तर विकास फड्को मारेर हैन, बिन्दु बिन्दुबाट हुन्छ र त्यही बिन्दु बिन्दु जोडेर रेखा हुन्छ र सभ्य समाजको सुरुवात हुन्छ। यसो भनिरहँदा विदेशमा कार्यरत वैज्ञानिकहरू बा सीपको काम पटक्कै छैन भन्ने हैन। पहिले आधारभूत जग बसाल्दै जाँदा बिस्तारै उनै उच्च ज्ञान हासिल गरेका वैज्ञानिक वा सीपको आवश्यकता कुनै कालखण्डमा अवश्य पनि पर्ने छ र देशले अहिले विदेशमा रहिरहेको यो संचित जनशक्तिको अधिकतम उपयोग गर्ने छ।. त्यसैले पहिले जग बसाल्न आबश्यक छ, आधारभुत जगको सुरूवात सगै त्यस पछि मात्र  बिदेशमा रहेको हाम्रो सन्चित जनशक्तीको निकै ठूलो भुमिका रहने छ…सबैलाई चेतना  भया.

 

यो लेख पहिले e-syangja का लागि लेखिएको थियो, फेरि यहाँ  पनि राखेँ ।

»»  पुरै पढ्नुहोस

Sunday, August 8, 2010

भ्रान्तिवाद: हाम्रो पटबाँझो जमिन

मैले सोचेँ, भने वा गरे भने त्यो मेरो लागि कर्म, दिनचर्या वा कसैको पृष्ठपोषण के हो निकै गाह्रो हुन्छ बुझ्न तपाइलाई, तर तपाइले गर्नु भो भने मेरो लागि, उदाहरण, प्रेरणा र अन्त्यमा एउटा ईतिहास बन्न सक्छ। जस्तो सुकै होस, बिचार र आदतले माने सम्म र सोच्ने हो आफ्नो काम र बिचार। निकै सोच्न बाध्य भएर एउटा असन्तुलित भावावेगमा कलम चलाउने मात्र हैन, जीर्ण सोच र स्वतः स्फूर्त नियममा बाँधिएर पनि असरल्ल कर्मका भोगी हामी आफैमा नितान्तै पलायन तर्फ गइरहेका हुन्छौ। के का लागि र कसको लागि बिचार प्रधान हुने हो, त्यो पृथक् पृथक् बिचार र मान्छेमा भर पर्ने गर्छ। आ-आफ्नै परिभाषामा रमाउनेहरु पनि कसैका लागि आफैलाई उम्दा साबित गर्ने काममा तल्लीन छन्। म तपाई र जो कोही पनि बिचारमा कटिबद्ध तर गतिगरास मनस्थितिले बाँचेका छौ।

 

एकाम्य बिचार त जीवन भर सायद कसैको पनि हुँदैन होला। सायद यही परिवेश भित्र आज हामी लड्दै, मर्दै, मार्दै र मार्ने योजनामा छौं। आफ्नै जीवनमा समेत सहजता, एउटै परिवेश खोज्न कठिन अवस्थामा कसरी समाज र बिचारमा एकाम्य बोध हुन सक्छ र ? फगत एउटा केस्रो जीवनको लागि बाचिरहेका हामी, कसरी र के गर्दा पूर्णता प्राप्‍त हुन्छ? म सोच्दिन, कम सोच्छु र कम बिचार गर्छु तर पनि केही न केही बिचारमा कैँडा परिनै हाल्छ, पीडा बोध भईनै हाल्छ। सायद जीवनको सबै भन्दा सजिलो परिभाषा, नियम वा मेरो जिउपालो गर्ने तरिका हो यो। बाँचेकै र रमाएकै छु आफ्नै जीवन परिभाषामा । सबै यस्तै सोच्दा हुन्; म नै जीवन हो, म नै संसार हो र मेरो परिवेश नै मेरो लागि सबै कुरा हो।

 

 

कसैले सोचेको छ, एउटा जीवन र पुरै सभ्यता भित्र कति जिन्दाबाद र मुर्दावादहरू आए? वाद र सिद्धान्तकै पछि लागेर कति मान्छेहरू मरे, कति मर्दै छन् र कति मार्ने योजनामा छन्। के को लागि? मार्ने सभ्यता र अस्तित्व नै सिद्धाउने खेलकै परिवेशमा कति सभ्यताहरू गुमेको छन् र कति तुहेका छन्। कसैले हिसाब गरेको छ? कसैले सोचेको छैन, मात्र आफ्नो लागि बाच्दा बाच्दै, कहिले पनि यहाँ अरू पनि छन् र बाच्न चाहन्छन् भन्ने कुरा बिर्सिएका छौं हामी। सहअस्तित्वको बोध हामीले अहिले हैन, यीनै पेसुवा वाद भित्रकै जिन्दाबाद र मुर्दावादहरू भित्र सभ्यताको विकासको नाममा कयौं पटक गुमाई सकेका छौ। पोखरीमा अर्को सिंह छ भन्ने भ्रान्तिमै बाचेका छौं र आफैलाई शत्रु देख्छौ। जान्ने बुझ्ने र टाठो बाठो खरायोहरूले चलाएको संसार, जहाँ आफू बाच्न कै लागि, पोखरी भित्र अर्को सिंह भएकै भ्रान्ति दिएर आफू बाचेको र मुर्दाहरू बचाएको नाटक गर्दै छन् । त्यसैले राम्रो सगँ सोचौं, हाम्रो समाज र देशमा लादिदैं गएको राजनैतिक, सामाजिक र आर्थिक भ्रान्तिवाद हाम्रा लागि पटबाँझो जमिन भन्दा केही हुने छैन ....सबैलाई चेतना भया..

»»  पुरै पढ्नुहोस

Sunday, July 11, 2010

लघुकथा: राहत

बज्र नारायणको सबै भन्दा पहिले पालो आयो यस पटक। उसलाई एकाउन्टेन्ट रामदासले बोलाए यो महिनाको तलब बुझ्न। केही हात्ती र बाघका पत्ताहरू सहित, उसले राहत महसुस गर्ने भयो। हतार हतार एकाउन्टेन्ट कहाँ पुग्यो, पैसा बुझ्यो। रामदासले टाउको कन्याउँदै महिनाको पहिलो हप्ताको शुक्रबार क्यान्टिनमा चिया खादै गर्दाको कुरा सम्झायो, बज्र नारायण केही बोलेन, खुरुक्क दुईवटा हात्ती उसैलाई थमायो र साथमा धन्यवाद लियो र फर्कियो।

 

रामदासको कोठाबाट निस्कने बित्तिकै, उसलाई बुझाएको सापटी सँगै मनमा अनेकौं रामदासहरुको याद आयो । पालै पालो अफिसका सबै रामदाहरुलाई सापटी बुझाउँदै गयो र साथमा धन्यवादको पोको लिएर फर्कियो । बेलुका घर जाने बेला बाटोमा मझुवा कान्छोको रासनको दोकान हुँदै, अन्सारी कसाईको पसलमा पुग्यो। पुग्दा नपुग्दै, अन्सारीले भन्यो, “नमस्ते सर आज त ३० गते हो क्यारे है ? महिनाको अन्तिम दिन” उसले पनि सम्झेकै रहेछ । बज्र नारायणले अनुमान गरे जस्तै भयो । त्यहाँ पनि उसले बाँकी तिर्‍यो । विचार गर्‍यो आज त मासु लैजाउ क्यार । “अन्सारी भाइ खसीको मासु कसरी गएको छ अहिले?” उसले सोध्यो । “हजुर, तपाई मात्र हो भाउ सोध्ने, भाउजूले अगाडि नै लैजानु भो मासु त, तपाइले लानु पर्दैन” अन्सारीले भन्यो । लौ ठिक्कै भए छ, फेरि मुख फोरेर उधारो माग्न त परेन । उसले पहिलो पटक राहत महसुस गर्‍यो ।

 

तिर्दै जाँदा उ सँग कति बाँकी बच्यो, उसले पैसा गन्ने आटै गरेन फेरि । घर पुग्यो, मन मनै सोच्यो कसैलाई छुट्यो कि तिर्न; कसैलाई छुट्यो भने त फेरि अर्को महिना चलाउन गाह्रो हुन्छ। यसै बीचमा भान्साबाट भाउजू कराइन “सुन्नु भो, मासु ल्याएकी छु अन्सारी कहाँबाट तर प्याज सकिएको रहेछ, ल्याउनु पर्ने” । प्याज सँगै उसको मनमा लसुन, अदुवा, जीरा, धनियाँ सबै एक साथ आयो । उसलाई डर लाग्यो के के कुरा सकिएका छन् आजै । “ह्‍या छाडिदेउ प्याज हालेको मासु खल्लो हुन्छ” बज्र नारायणले जबाफ दियो । “हो हुन त, प्याज हालेको मासु खल्लो नै हुन्छ” भाउजूले जबाफ दिइन् । केही बेरमै प्रेसर कुकरको सिट्ठी बज्यो । एकै साथ सबै मसलाहरूको बोझ टर्यो र फेरि बज्र नारायणले राहत महसुस गर्‍यो.. ……सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Thursday, July 1, 2010

अनि प्रश्न उठ्छ!!!

कविता पढियो यस पटकको ? मैले प्रश्न गरे उनलाई। कति पढ्ने खै; अरूका कथा पनि, जीवनै धारावाहिक भइसक्यो, आफ्नै कथा बनाउँदै ठिक्कै भइरहेछ। सीधा तर कतै कतै नमिलेको उत्तरले मलाई के भनुँ के भनुँ भो। मैले भने, हैन हैन उनको कथा क्या, मैले उनको कुरा बुझ्न भन्दा पनि आफ्नो उत्तरै खोजेँ पहिले। आफ्नो कामै यस्तै छ, जति जले पनि, पेलिए पनि काम गर्ने पर्ने, हाकिमको गाली खानै पर्ने, के कथा पढ्नु। आफै कथा भइयो अब,भो अरूको कथा नपढ्ने। मैले फेरि पनि बुझिन, उनले मेरो कुरा नबुझेको हो वा मैले बुझाउन नसकेको निकै अलमलमा परेँ। कस्तो आपत् भो मलाई। हैन के भो उनलाई, खुस्कियो कि क्या हो ? मन मनै सोचेँ। मान्छे किन सुखमा कविता लेख्दैनन् हजुर? उल्टो मलाई प्रश्न गरिन् उनले। हैन होला, लेख्छन्, किन नलेख्‍नु, मैले भने। सुखका कविता, कथाहरू मैले नपढेरै हो त? उनले फेरि सोधिन्। पक्कै पनि हो नि। तर किन त त्यस्तै मात्र मेरो पोल्टोमा पर्छ ? मैले हाँस्दै भने “तिम्रो ब्याड लक होला”। पक्कै पनि हुनु पर्छ, यस्तो ठूलो जीवन, यस्तो ठूलो संसारमा मलाई मात्र यस्तै हुनु पर्छ त है? उनले मलाई सोधिन्। उनी पनि जोडले हाँसिन र म पनि हाँसेँ। फेरि तिमीलाई यस्तै पढ्नु छ आज.. लौ मेरो बल्ग हेर है त। मैले उनलाई मेरो बल्गमा आउन भने।


बिहान उठ्दा न उनी थिइन् न मेरो बल्गमा उनको लागि कविता। फेरि मनमा डर लाग्यो, कतै उनी मलाई खोज्दै आउने त हैन ? निराश भएर पो फर्कने त हैन? निबन्ध लेखेँ, उनलाई कुरे, साथीहरूलाई देखाए, तर न उनी आएको थाह भो न साथीहरूले नै केही सुझाए। तर चाहेर पनि फेरि दु:खको कविता दिन सकिन उनलाई। मात्रै प्रश्नहरू माथि धेरै प्रश्नहरू जोडेँ, जीवनको दु:ख र सुखलाई बाँधेर निबन्ध लेख्‍न बसेँ, पहिले केही लाइनमै लेख्‍न मन लागेन अल्छि लाग्यो, अनि त्यही लाइनहरूलाई भाँच्दै गए.....


जब जल्छ अनि खरानी हुन्छ

पराल र खरको छाना

जब जल्छ र खरानी हुन्छ

घर र सहरको रूप !!!

तर

खै खरानी यहाँ,

खै अवशेष यहाँ

जलेर पनि खरानी नहुने

पोलेर पनि डाम छैन,

खरानी कसरी बनोस् !!!

तर पनि

जल्छ र खरानी बन्छ

यही सत्य हो

कसरी मान्ने यो सत्य, जब खरानी छैन

हरायो वा उडायो के भनौं

न त हावा चलेको छ

न त पानी परेको छ ।

हराउँदै उडाउँदै गर्दा पनि

न देखिएको खरानी !!!

उफ!!

डढेर पनि नबनेको खरानी

कसरी बनोस् र हराओस्

भौतिक केही अवशेष

तर पनि डढेर जाने रहेछ

खरानी छैन तर पनि जलेको छ

ताप छैन आगो बलेकै छ !!!

तथापि

मन, मन नै हो जो जल्छ

सान्त हुन्छ, बिना वारुणयत्र

बिना पानी र बिना स्वाउला

आफै रोकिदो रहेछ जल्न,

समय!! ठूलो पानी र स्वाउला

जब मन जल्छ सबै जल्छ

तन जल्छ र संसारै जल्छ !!!

त्यसैले

साँचो, जब मन जल्छ

पीडा पनि जल्छ

सत्य, जब मन जल्छ

माया पनि जल्छ

आशा र भ्रम सबै जल्छ

जब मन जल्छ

तब विश्वास पनि जल्छ

खरानी किन बन्नु पर्यो

जल्नुको रूप हराउनु हो भने,

अवशेष किन देखिनु पर्‍यो

जल्नुको रूप उडाउनु नै हो भने !!!

किनकी

पराल, परालै हो

मन मनै हो, जो जल्छ

तर खरानी दिँदैन, अवशेष छोड्दैन

जो नयाँ आशा उमारेर जान्छ

जब आशाहरू पनि मर्छन्

तब मन र आशा सँगै

मान्छेहरू आफै मर्छन्

चिता सँगै मान्छे जल्छ

आशातीत मन पनि जल्छ

फेरि मनले मान्छे जन्माउछ,

अनि प्रश्न उठ्छ

पहिले को ? मन वा मान्छे !!!

»»  पुरै पढ्नुहोस

Friday, June 18, 2010

गरी खान देऊ:.. कर्म सर्वः प्रकृतिजैर्गुणैः

सिलसिलालाई केही हप्ता अगाडिबाट जोड्न खोजेँ मैले जब साथीहरुले हिमाल खबर पत्रिकाको एउटा समाचारसगैको फोटोलाई फेसबुकमा घकेल्नु भयो। कुरा ठीकै थियो, मेरो पनि साह्रै चित्त बुझ्यो र यसै क्रममा फेसबुकमै निकै साथीहरुको बिचार पनि पठ्न पाइयो। कुरा फोटोहरुकै हो फेरि पनि, फोटो सगै जीवन बोल्छ र केही भनी रहनु पर्दैन। हजारौ अवसरहरुको खोजीमा, कहिले आउने हो हाम्रो पालो भनेरे कुर्दा कुर्दै कहिले होला अवसरले हामीलाई खोज्ने? अझ भनौ कहिले होला हामीले अबसरको निर्माण गर्ने ? भन्ने जस्ता प्रश्नहरुको उत्तर निकै कठिन छ र यस्तो यथार्थ नियतिका बीच, हामी कहिलेसम्म अल्झने हो ? फरक फरक देखिने यी फोटोहरुलाई एकमुष्ट रुपमा हेर्दा कहिले होला हाम्रा भन्नेहरुलाई चेतना पलाउने जस्तो लाग्छ। दोष र गुन अनि दोषी र गुनीको बारेमा बहस गाह्रो होला किनकी यसमा मेरो पनि हात छ। जे होस यी तस्बिरहरुको प्रसङ्ग फरक छन् तर मूल मर्मले केही त पक्कै भन्छ.............

 

रोजगारीका लागि पालो कुरेर बस्दै गर्दा: राती १ बजे देशका महान मान्छेहरु न्यानो बिस्तरामा सुतेकै होलान् वा बियरसगै बिश्वकपको मज्जा लिदै होलान् तर रंगशाला बाहिर  मेरो  देश यसरी सुतिरहेको छ.....

mid 

आफू सगै हजारौ सपना भाच्यिएको मेरो देश.(यस फोटोको बारेमा अझै केही लेख्‍ने आटनै गर्दिन म)।।।

nepalese

 

हजारौ सपनाहरु भाचिदै गर्दा पनि अझ केही गर्न सक्छौँ हामी, हामीलाई हाम्रै ठाँउमा “गरी खान देऊ”।

गरी खान देऊ

 

यस अन्तिम तस्बिरले अनेकौ प्रसङ्गसग अनेकौ अर्थ राख्छ र निकै सम्भावनाका साथ जोडेर हेर्न पक्कै सकिन्छ। यहाँ देश सुतेको छ भनौ भने, यहाँ जस्तो होहल्ला सायदै कहीँ कतै होला र यहाँ देश जाग्राम छ भनौ भने यहाँ जस्तो सन्नाटा कहीँ कतै सायदै  होला। म पनि फेरि भन्छु, कर्म त प्रकृतिकै गुण हो.....मलाई पनि मेरै ठाउँमा........ गरी खान देऊ।

 

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्‌ ।

कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥ ............सबैलाई चेतना भया।

 

तस्बिर स्रोतहरु:

http://www.nagariknews.com/

http://himalkhabar.com

»»  पुरै पढ्नुहोस

Sunday, June 6, 2010

म! मात्र म एक प्रणीत प्रतिनिधि पात्र

म र Big-Bang-Theoryमेरो वरिपरी चलिरहेको समयको कुरा, स्टीफन हॉकिंगले सोचेंका र व्याख्या गरेको समय भन्दा पृथक!! मेरो लागि बिग बैंग सिन्द्दान्त त्यही दिनबाट सुरु भयो जब मैले यहा पाईला टेकेँ। सुन्यबादको कुरा हैन, यथार्थमा समयसँग जोडिएको म र मेरो समयको कुरा सायद कुनै खगोलिय संरचनासँग तुलना नगरेरै हेरेको राम्रो। जीवन बाच्नकै लागि र बचाउनकै लागि मेरो समय सुरु भयो जहाँ भोग्न र भोगाईनकै लागि मार्ग प्रशस्त गरिएको थियो। सबैको लागि यस्तै जीवन-दर्शनपरक समयको सुरुवाती पलहरुको खोजीमा कयौं मान्छेहरुले आफूलाई युगीन बनाएँ वा कति बन्नेक्रममा पनि होलान। म आफैमा मेरा लागि युगपुरुष बन्न खोजेँ, बनेँ र रहेँ। मेरो चौधेरा भित्रको संसारमै बिग बैंग सिन्द्दान्तको सुरुवात भयो। सीमान्त समय र यसको परिधि भित्रै मैले समयको सुरुवात खोजेँ। सायद हॉकिंगले एकनास सबै खाले समयको ब्याख्या गरे होलान्, सबै समयलाई एक नजरले हेरेका होलान। कति मान्छेहरु यसमा सहमत होलान, कत्तीले यो सोच्न पनि सकेका छैनन्। मैले यो एकमुष्ट समयलाई निहाल्ने प्रयासनै गरिन तर यस उपर एकनासको नजर भने राख्दै आएँ। केही सिकेँ, केही सिक्ने प्रयास गरे र सबै एकमुष्ट समयलाई मेरो अनुकुल बनाउने प्रयास गरे। जीवन बाच्नु र चलाउनुको एउटा अटुट सम्बन्धलाई हॉकिंगको समयको ब्याख्याले एकमुष्ट ब्याख्या दिन्छ वा दिदैन त्यो बहसको बिषय हुन सक्छ तर मैले मेरो जीवन चालसगै लिनुपर्ने र काट्नुपर्ने समयलाई उनको नजरबाट हेर्ने प्रयासनै गरिन। पृथक पृथक समय र त्यस बीचको अनेकौ खण्डहरुलाई मैले त्यो ठूलो एकमुष्ट समयसगँ दाज्ने गरेको छैन। मात्र मेरो समयको सुरुवात सगै अनेकौ तयारीमा हिड्नु र योजनाकै सेरोफेरोमा नै केही समय गएको अनुभब भन्दा केही पनि गरिन।


“हेर न समय कस्तो चाडो गयो, हिजो मात्र लाग्छ बिहे गरेको है” मेरी श्रीमतीलाइ यसो भन्दैगर्दा समयले कोल्टे फेरेको अनुभव गरेकै हुँ। एक अर्थमा समयसँग उमेर, जोस, जाँगर, पाणीग्रहण र त्यस बीच उत्पन्न प्रणयभावको मिठो अनुभवसँग जोडेर हेरेकै पनि थिए। ओहो तपाईकी छोरी ठूली भईछन् भन्दा , प्रसवनमा छट्पटिरहेकी मेरी श्रीमतीको अनुहार, अहिले त्यही रुपमा याद नै छैन, भए पनि त्यो पिडाको समयलाई अहिलेको समयको कुनै कुरा सगँ दाजेँर हेर्नै मिल्दैन तर पनि बिल्कुल निरपेक्षय रुपमा अनुभवलाई एउटै समयको कालखण्डबाट अनुभव गर्न नसकेको अबस्थामा र त्यही घटनाक्रम दोहोर्‍याइ अनुभव गर्नु बाहेक समयले केही पनि याद गराउदो रहेनछ किनकी समय चलयमान छ र यसको अनेकौ भुमरीमा हरेकलाई धुम्नु नै छ।


त्यसैले जीवन अनकौ योजना र एउटा तयारीमात्र हो। बाबु आमाले गरेको जन्मको तयारी वा भनौ आमाको पेटमा जाईगोट बनाईए पछि सुरु भएको समय सगैं हामी यहाँ अनेकौ तयारीका साथ, एउटा कालखष्डमा गएर रोकिने तयारी गरिरहेका छौ तरपनि हॉकिंगको भीष्म समयको व्याख्याबाट चोईटाएर,चोरिरहेको वा अनुभब गरिरहेको समय हाम्रा लागि बास्तबिक उपाहारनै होला, किनकी समय फेरि पनि बिना योजना र तयारीका साथ चलिरहेकै छ। भौतिक तयारीहरु !! जो मेरो जीवनको योजनाबद्ध तयारी भित्र समयले व्याख्या नगर्ने सीमा भित्र पर्छन् तर पनि समयलाई सुरु गर्ने समयको परिभाषा कुन समयले दिन सक्छ र? मात्र एकसाथ हजारौ अवसरहरुको खोजीमा एकैनास समयलाई घोच्ने (क्लिक गर्ने)हरुको मात्र, म एक प्रणीत प्रतिनिधि पात्र हु,. सबैलाई चेतना भया............

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला