मन मात्र हैन; मनहरुनै भाचिँएका छन् । लेख्न वा कराउन छाडेको निकै भयो। त्यति मन छैन आजकल। समय उही छ। परिवेश उही छ। समयले कोल्टो फेर्ने आशामा निकै लेखियो र बोलियो सायद। तर कतै कसै पात हल्लिएको सुनिएको छैन, देखिएको छैन। मानौ यस्तै भईरहेको छ” काग कराउदै जान्छ पिना सुक्दै....
पल्लो घरबाट पनि निकै पल्ट कराएको सुनेकै हो, यहाँबाट, त्यहाँबाट पनि निकै आवाजहरु निकालिएकै हुन्। तथापि सुन्नेले सुन्दैन र देख्नेले देख्दैन तर लेख्नेले लेखिरहेको छ। लेखहरु छापिन, टाँसिन र सारिन छोडिएको छैन। छापिदै छन्, टासिदै छन् र सारिदै पनि छन्। समय यसरी नै चलिरहने हो भने लेख्नु अनि छापिनु, टासिनु र सारिनुको कुनै असर छैन र बन्द गर्नु पर्ने हुन सक्छ। तर तिमी किन बन्द गर्थौ र तिमी त चेतनशील अनि जान्ने र बुझ्ने नै पर्यौ। जतिसुकै लेख, छाप र टाँस तिम्रो झुरा कथन, कुनै असर छैन तिम्रो विचारको। बास्तवमा त्यो तिम्रो विचारनै हैन। विचारले त परिवर्तन ल्याउछ, तर खै तिम्रो विचारले के गर्यौ? तिमी आफै समादृत छैनौ तिम्रो विचारमा यहाँ , किन बित्थामा अरुको बोझ हुन खोज्छौ? चुपलागेर बसेकाहरुलाई तिमीले उचाल्यौ, स्कूल गईरहेकाहरुलाई तिमीले गोठालो बनायौँ, कोदालो र हलो समातेको हातलाई नोकर बनायौँ। खै के गर्यौ तिमीले जानेर? तिमीले बुझेर र तिमीले लेखेर। मात्र गणिका बनायौ लेखलाई, लेख्नेलाई र पठ्नेलाई.. उफ!!!!
बनाईएका र सजिएकालाई भत्कायो तिम्रो विचारले। के गर्यौ, फगत लेख्ने, छापिने वा टाँसिने काम बाहेक? सक्ने थियौँ भने स्कूल नजानेलाई कापी र कलमको जोहो गर्नु पर्थ्यौ, भईरहेकोलाई स्याहार गर्नु पर्थ्यौ र सुतेकालाई उठाउनु पर्थ्यौ कामको लागि, कर्मको लागि र सही विचारको लागि। के नै गर्यौ तिम्रो विचारले? आफूले जानेर अरुलाई नजान्ने बनाउने पनि लेख, विचार अनि त्यसको छपाई हुन्छ र? के छाप्छौ तिमी; जो कसैले पनि पठ्न र बुझ्न सक्दैन। म त नबुझ्ने मान्छे, सारेरै टास्न पनि सक्दिन किनकी सार्न र टास्न पनि त केही आकार हुनु पर्यौ नि विचारको। यो त बिना आकारको विचार, बिना उद्देश्यको विचार। मात्र आफैले बुझ्ने, आफैले आकार दिने र आफैले बिश्फोट गराउने र जरैबाट नश्ट गराउने दुर्बोध्य विचार र तिमीले सधै दिने गरेको निश्चेष्ट विचारको के अर्थ हुन्छ र? यो त पल्लवग्राहिताको नमुना मात्र हो र म आफै पनि पल्लवग्राही हुँ सायद; त्यसैले त कुनै असर गर्दैन मेरो विचारले र त म बिदूषक बनेको छु कयौँ पटक यही लेख र विचारहरुकै सबारमा।
भो म लेख्दिन, भो म जान्ने बन्दिन र म कसैको नारकीय जीवनको कारक बन्दिन; यस्तो भन्दै गरेको सुनेको छैन, तर सबैले लेखेकै छन्, चोरेरै भए पनि विचार दिएकै छन्। किनकी राम्रो लेख्नु , सकरात्मक लेख्नु र पठ्नु मात्र एकपलको लागि सहज र राम्रो मान्दै आईरहेका छन् सबैले। सक्छौ केही पनि नदेउ किनकी यहाँ मात्र नोकर, गुलामी र आत्मसमर्पण. बाहेक केही दिन सकेको छैन तिम्रो भावले। कसैले बुझ्दैन, यसको मतलव बुझ्ने बनेर कसैलाई झन नबुझ्ने बनाउनु कस्तो न्याय हो यो? कोही सुतेको छ, यसको मतलव बुझ्ने बनेर कसैलाई झन सुत्ने बनाउनु कस्तो न्याय हो यो? प्रश्न गर्नु सजिलो छ।. म पनि लेख्छु.. तिमी पनि लेख र उहाँ पनि लेख्नु हुन्छ..किनकी लेखेरै मात्र यहाँ केही हुदैन, तर पनि लेख्न छाड्नु हुदैन एउटा सकरात्मक आशाको लागि र सकरात्मक विचारको लागि.. .. सबैलाई चेतना भया........
दूर्जेय चेतनाको यो हलसारोको दिन र एक बर्षे यात्रा यहाँ नेर आएर सकिएको छ। मेरो यो सानो यात्रा समीक्ष्य छ वा छैन आफ्नो ठाउँमा छ। कुनै असर परोस वा नपरोस, मेरो लेख र विचारले कुनै सकरात्मक सोचको बिकास गरोस वा नगरोस तर पनि अझै लेख्दै जाने नै छु, मेरो अनिमेष दृष्टि सधै रहने छ समाज र चेतनाको खातिर। जे होस, जस्ले जे भनोस, विचार विचारनै हो। कसैलाई राम्रो असर नगर्ला तर नकरात्मक असर पनि नगरोस मेरो लेखले, विचारले र मेरो अनुभवले। यही मेरो प्रयास हुने छ र यस बीचमा मेरो उपार्जित धन भनेको मेरा पाठक, शुभचिन्तक र मेरो गल्ती औलाईदिने मेरा असल मित्रहरुनै हुन् भन्ने कुरा बिर्सिएको छैन।
यो बीचमा मलाई सहयोग गर्नु हुने सबै मित्र, मेरा पाठक र शुभचिन्तकहरुलाई मुरीमुरी धन्यवाद।

