यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, December 3, 2009

यसरी आरम्भ हुदो रहेछ समय !!१!!

बिहानको चार वा साढे चार बज्दै थियो, निन्द्रा राम्रो संग लागेन। अनेकौ कुराहरु मनमा एकनासले आईरहेको थियो सायद तन्द्रामा थिए म, त्यसै आखाँ खुल्यो। सपना पनि त्यस्तो केही थिएन बिउँझाईदिने र बिपनामा पनि कोही थिएन बिउँझाईदिने, तर पनि बिउँझिँए। जाडो त्यति बढेको पनि हैन तर सिरक चाहिँ ओड्नु पर्ने भईसकेको थियो।

लामो समय पछि नेपाल गएकोले पनि होला, वास्तवमा घर आएको दिन देखि निन्द्रा परिराखेको थिएन। बिस्तरा नै परिवर्तन भएर चाहिँ नभनु होला। समय थोरै थियो। जीवनको लगभग पच्चीस वसन्त पार गरिसकेको ठाउँ भएर पनि किन हो किन एकदमै नौलो लागि रहेको थियो। साह्रै मन आत्तिएको रहेछ बाहिर बस्दा बस्दै। त्यसै बीचमा समय थोरै थियो र अनेकौ कामहरु पनि सक्नु थियो। काम भनिहाल्नु भन्दा पनि भेटघाटनै बाँकी थियो। समयलाई जसरी सकिन्छ त्यसरीनै बिभाजन गर्दै थिए।


बिहानको खान खाए पछि जानु थियो कतै र सायद निन्द्रा लागिरहेको थिएन। टेलिभिजन पनि खोलेर हेरेँ तर खासै केही लागेन। कम्प्युटरको ब्याट्री सकिएकोले खोल्ने कुरै भएन। बेलुका हेर्दै थिए ब्याट्री पनि सकिने र लोडसेडिङ पनि। हुन त कुनै निर्धारित समय हैन रे तैपनि गईरहेन बिजुलीले धोका दियो। पर कतै कुखुरा बासेको पनि सुनियो। म लागे त्यही घरको छत तिर। पूर्व फर्किएको घर। सूर्यको पहिलो दर्शन गर्न पाईने ठाउँ, सधै जिज्ञासा भइरहने रहेछ कि आज बादल छ कि छैन, पानी परिरह्यो भने देख्न्न नपाईने हो कि यस्तै यस्तै। कोठाबाट कुर्सी बोकेर छतमा लागेँ। पूर्व तिर फर्किएर सुनसान पहाडहरुलाई हेरिरहेँ। कस्तो सुन्दर सुनसान र शान्त पहाड अनि पहाडले चुमिरहेका धमिलो, निलो र सुनौलो आकाश। निकै बेर टोलाएर बसे र हेरिरहेँ।


भोलि जानु छ कतै र केही समय पछि फेरि बिदेश फर्कनु छ। मनमा कता कता पीडा थियो। यसै बिच मेरो मनमा लाग्यो किन नहोसकी यो सुनसान पहाड र यसै बीच मैले लिईरहेको आन्नद कैद गरुँ क्यामरामा। सानो आठ मेघा- पिक्सलको क्यामरा थियो साथमा। मैले जोड लागाएर वा भनु अनेकौ पोजमा यो ठाउँको फोटोहरु लिएँ। कहिले नजिकबाट त कहिले टाडा बनाएर। केही राम्रा पनि आएका छन् त केही धमिला। रातीको समय, कमसल क्यामरा र अव्यवसायिक कार्य क्षमताको बीचमा केही प्रयास गरे आफै भित्र रमाउन।


बिदेश रहदा बिहानै काममा जान हतार; फेरि सबै सहरहरु समतल भूभागमा बसेकोले पनि पहाड हेर्न र पहाडबाट लुकामारी खेल्दै आउने र जाने सूर्य, तारा र जुनहरुको दर्शन गर्न पनि हजारौ रुपैया खर्च गर्न पर्ने भएर पनि होला यस्तो दर्शन गरिएन भन्दा पनि हुन्छ। हेर्नै गईहालियो भने पनि कता कता आफ्नो नलाग्ने। पहाडहरुले नै ब्यापार गरे जस्तो, पराई ठानेर जिस्काए जस्तो, समयको बन्धन, पैसाको बन्धन। यस्तै यस्तै कारणले कहिलै पनि मन शान्त हुन र रमाउन सकेन। तर मेरो देशको यो पहाड र यो आकाशले म संग कुनै कुरा मागेको छैन। जति हेर्नु छ हेर, जति मन शान्त पर्नु छ पार भने जस्तो लागि रहने। किनकि यो मेरो हो। बिलकुल मेरो। कसैको रोक छैन यसलाई मैले मेरो भन्न।



आफ्नो मानेर पनि होला निकै बेर बसे। सूर्य नउदाउन्जेलसम्म बसिरहे र भित्र भित्रै अनुभव गरे..... हरेक दिन यसरी आरम्भ हुदो रहेछ समय!!!....... सबेलाई चेतना भया।।।।।।।।।।।।।।

Comments :

17 comments to “यसरी आरम्भ हुदो रहेछ समय !!१!!”

नेपाल आउनुभएको रहेछ । पहिले शिर्षक अनि फोटो हेरेर पढ्न सुरु गर्ने बानि छ । फोटो हेर्दा उतै को राख्नुभा'को होला सोच्दै थिँए ।

देख्नुभो त कहिलेकाँहि चाँडो उठ्दा पनि कस्तो रमाइलो हुँदोरहेछ । हा हा हा
सुन्दर फोटोहरु अनि लयात्मक र कलात्मक शब्दहरु का लागि धन्यवाद !

Aakar said...
on 

Its nice to be in Nepal always. I wish you have a great time there.

Milan said...
on 

मातृभूमिको बिहानीमा सबैले रम्न पाउन् , शुभकामना । मलाइ एउटा गित पो याद आयो - बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस् , यि हातले सँधै सँधै नेपाल लेख्न पाइयोस् ।
दूर्जेय सर,शिर्षकमा अंक १ देखेकोले ,पाहुना बनि नेपाल बस्दाको तपाइँको निजी अनुभवलाइ पढ्न प्रतिक्षा गर्नेछु अंक २ , ३ को लागि ।

वसन्त बलामी said...
on 

एकदमै भावनाप्रधान र मनछुने लाग्यो यो पोष्ट।
तस्विरले देखाउन नसकेको केही कुरा तपाईको शब्दहरुले बोलेका छन भने, शब्दले वयान गर्न नसकिने धेरै कुरा तस्विरमा देखीन्छ ।

समय सायद सबैतिर यसरी नै आरम्भ हुन्छ होला, तर समयमा कहिल्यै नउठ्ने भएकोले यो शुन्दरताबाट सधैं बन्चीत छु म पनि ।

लेखाई र तस्विर दुबै सुन्दर छन। तपाईले देखाउन खोज्नु भएको सबै कुराहरु तस्विरमा देखिन्छन । एकदमै रोचक पोष्ट !

Dilip Acharya said...
on 

अहिलै रातिको १२ वज्न लागि सक्यो खै ८ नबजी त कुनै हालतले उठिदैन विहान । तर तपाईँको लेखाई र यि सुन्दर तस्विरहरूले जिस्काउँदैछन् मलाई..मेरो अल्छीपनलाई । म कल्पना गर्दैछु..यसरीनै सधैँ समय आरम्भ भएको हेर्न पाए कति शुभ हुन्छ होला त्यो पुरा दिन!!! भावप्रदान लेखको लागि धेरै धेरै धन्यवाद!!

Ashesh said...
on 

सुन्दर तस्वीर र बान्की मिलेका मिठा शव्दहरु पढिरहुँ झैं लाग्ने , घरको सम्झना र माया मिसिएकोले हो कि के हो, मलाइ त भावुक बनायो यो लेखले ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

एकदमै मन छुने पोष्ट अनि प्रस्तुती पनि । सानो भन्दा सानो कुरामा पनि रमाउन सिक्नुभएको रहेछ तपाई । यहाँ मान्छेहरु यति साह्रो यन्त्रवत् भै सके की आफैलाई चिन्दैनन् ।

राजेश बुढाथोकी 'नताम्स' said...
on 

निकै भावनात्मक लेख रहेछ । हिजो- अस्ती एक पटक फोटो मात्रै हेरेकी थिएँ, आज पुरै पोस्ट पढेपछी भने निकै रमाईलो लाग्यो र भावुक पनि बनायो तपाईको पोस्टले ।

एकदिनको निन्द्रा बिग्रदाँ यस्तो रोमान्चक पोस्ट बन्दो रहेछ ...तपाईलाई त सधैं आधा रातमै निन्द्रा टुटोस भनेर सराप्नु पर्ला जस्तो लाग्यो :)। (जोक मात्रै है, तर पोस्ट भने साँच्चै नै पठनिय छ ।

Sujan Sharma said...
on 

एकदमनै मन हर्ने तस्वीरहरु ,घर छोडेर ब्यस्तताको बहानामा सुर्योदयको अवलोकन नगरेको पनि निकै भए । केटाकेटी छँदा बिहान उठ्न बाध्य पार्नु हुन्थ्यो तर अहिले याद आइरहेछ बिहानी सुन्दरताको त्यो मज्जा लुट्ने दिन पछि नआउने रहेछ सितिमिति । त्यो दिन शायद बिहान निद्रा नपर्नुको कारण हामीलाई यो टाँसो सँगै हामीलाई पनि एकछिन पुराना दिनमा बहलाउनु थियो यो ठोकुवा गरें है मैले ।

दिनेश राज said...
on 

nice article.

Anonymous said...
on 

nice article. I like it.

Anonymous said...
on 

हैन दूर्जेय जी, येस्तई कुरा गरेर हाम्लाई पनि जापान आउन बाट कहिलेसम्म रोक्न सक्नुहोला ?

HAWA said...
on 

bilkul afnai kura! aafnai anubhav ani afnai aananda! kati maja le lekhnu bahyeko dai! ramilo bahyo ta padhna lai!ani tasbir haru ni kaati ramra rechan

archana paudel said...
on 

मायाप्रिती जसरी लाए पनि राम्रो,
घरको गीत जुन भाकामा गाए पनि राम्रो
भने जस्तो भयो मलाई ।
मनै उप्काएर टाँसे जस्ता छन् भावना ।
हामीलाई चाही यही द्र्श्य बिहान-बेलुकीको आम मोहनी बन्न पुगेका छन् ।
तस्बिर लोभलाग्दा समात्नुभएको छ, अभिव्यक्ती पनि चखिलो !

Jotare Dhaiba said...
on 

अरुलाई जस्तै मलाई पनि तस्विरहरुले र तपाईंको भावनाले मुहुनी लगाए । कल्पना गर्दैछु म घर पुगेको बेला मेरो घरबाट बिहानै उठेर हेर्नलाई के होला ?

दीपक जडित said...
on 

सम्झनाले बहकाउने लेख ! साह्रै राम्रो लाग्यो है | देश छोड्नु जति गाह्रो कुरा के छ ?

Chaitanya said...
on 

कबिता फुर्ने फोटोग्राफी गर्नु भएको रहेछ । आफु परियो साहित्यमा लम्फु गर्नु कसो? आफ्नै माटोको, आफ्नै मातृभूमीको सुन्दर कुरालाई आँफैले अनुभब गरेर बाँड्नु भएकोमा दुर्जेय जीलाई सलाम।

लेकाली said...
on 

Post a Comment