यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Wednesday, November 25, 2009

एउटै रेखाका हजारौं बिन्दुहरु

भावनात्मक परिवेश!!!!!! कस्तो निस्तब्धता छाएर यी दिन र रातहरु बित्दै छन्। वास्तबमा नमानेरै भए पनि हरेकले आफ्नै पक्षमा गन्तब्य र झुप्रोको खोजी लगातार गरिरहेको छ। नौलो अयाम र नैराष्यको पराकाष्ठामा समेत कषाय रातको अनुभूति औशीको रातमा पनि हुन पाईराखेको छैन। हुन सक्छ आंशिक सुखमै कालो रातमा पनि कता कता ताराको प्रकाश खोजिरहेको होस। आफ्नै परिबेशमा, संसारको यावत मानबिय कर्मका उदाहरणहरुका रेखा-रेखामा कतै न कतै आशाका बिन्दुहरुको समावेश नभएको हैन। वास्तवमा समयलाई निस्पट्ट, कहालीलाग्दो रात सगै लैजाने र डोराउने काममा अभ्यस्त भएर बितिरहेछ दिनचर्या।


सन्नाटामा कोही रोहेको र कराएको आवाज, कसैले ऐया र आत्था गरेको आवाज, नेपथ्यबाट कोही सल्लाह गरेको आवाज साथै कोही मस्त निन्द्रामा सुतिरहेको आवाज कानमा एकपछि अर्को क्रमश: र एकै साथ मिश्रण भएर तरङ्गित भएर आईरहेको छ। यहाँ वास्तवमा हरेक पक्षमा शान्तिको रेखा कोर्ने प्रयास भईरहेको छ। हरेकले शान्तिको आभास पाउने आशामा सजीव शरिरलाई निर्जीव यन्त्रको माझमा खडा गरिएको छ। वास्तवमा भ्रामक अथवा सन्दिग्ध सद्‍वृत्ति थियो यो। चाहेर पनि मानिसहरु नआउन खोज्ने, जिवनको कुनै पनि क्षणमा आफ्नो उपस्थिति नहोस भनेर चाहने, यस स्थानमा मानिसहरु विवशै भएर धकेलिन्छन्। जोड जोडले हरेक पक्षमा रातहरु काट्ने तयारिमा वारपार गर्दै छन्। मानिसहरु यहाँ आउन चाहदैनन्, तैपनि बाच्नको लागि एक अर्को आयाम: आफ्नो पुर्जाहरुमा ईन्धनले मात्र नपुगि त्यसको सुरक्षा र एकै साथ थाहनै नपाई संहारका लागि यहाँ आऊछन्। त्यसो त क्रियामा प्रतिक्रिया जीवित हुदा हुदै, स्वस्थ ब्यक्ति आफ्नो हरेक चाहतमा यहाँ नआउने हैन। शान्तिका लागि कुद्‍ने मानिस यहाँ आफैमा अशान्त छ। त्यसकै पछि लागेर होला कृतिम शान्त-ब्यक्ति यहाँ नदौडिएको हैन। दौडदै, तात्दै र साधिँदै मानिस आफैमा सर्वाङ्ग नाङ्गो भएर निर्जिव यन्त्रहरुको अगाडि प्रश्तुत गराउन मानिसहरुको घुईचो यहाँ नभएको हैन्। आफैमा निष्काम कोही छैन, तैपनि सामाजिक, आर्थिक परिस्थितिको अल्झ्याईलाई सम्हाल्दै सबैको घुइँचो यहाँ लाग्छ। त्यस्तै निश्चित पराकाष्ठामा ब्यक्ति सर्वाधिक उचाईबाट पछारिन्छ र जब धाईते बन्छ, तब फेरि उ यही धकेलिन्छ। सडकको माझबाट एम्बुलेन्सको धुन सगै, स्टेचर र ह्युईलचियर सगै फेरि पुन नाङ्गो बनाईन्छ। निर्जिव यन्त्रहरुको माझमा उसको शरिरको हरेक चालको लेखाजोखा गरिन्छ त्यो पनि कानमा स्टेथेस्कोप भिरेका सजीव भनाउदा निर्जिवहरुद्वारा। उसको आमपरिक्षण हुन्छ र हेरक चालहरु माथि सर्वाधिक नियन्त्रण गर्न खोजिन्छ र गरिन्छ पनि। फेरि क्रम सुरु हुन्छ; स्टेचरमा त्यही ब्यक्ति कसैको नियन्त्रणमा नै दौडन पुग्छ, दौडाईन्छ र निश्चित स्थानमा पुराईन्छ। भाव बिभोर भएर आफूलाई भाग्यमानि ठान्छ र नजिकैको अङ्‍कुशबाट आएको बिभिन्न ट्रेडमार्कको स्लाईन पानिको बोतल देख्छ तैपनि खिस्स हास्छ। समस्या अनुसार हरेकको विभिन्न फाईलहरु तयार हुन्छन् र सुरु हुन्छ फेरि ऐया र आत्था। हरेक दिन र रात जब सम्म उ यहाँ रहन्छ तब सम्म घोच्ने, थिच्ने र दवाउने कामको क्रम भईनै रहन्छ; बि.पी सेट, थर्मोमिटर र सुईहरुको चिसो र तीखो सियो सगै।


यो घोचाइ, थिचाइ र निलाइ सगै केही क्षण शान्ति पाएको अनुभूति गर्छन, वास्तबमा भौतिक अशान्तिमा बाच्नेहरु। शान्त पार्ने योगफल सगै यहाँ सधै घोचेर थिचेर शान्त सगं गुणा गराईन्छ। घोचाइ र थिचाइको प्रयास र त्यसको बराबर उसले पाएको शान्तको अनुभूतिहरुको दिनहुँ जसो मुल्याङ्कन गर्छन त्यही चुच्चा सुईहरुवाट। समय बित्छ; उ मानिरहेको हुदैन जान तर पनि उसलाई कुम्लो पोको पार्न लगाईन्छ। उ कुम्लो पोको पार्छ र कृत्रिम हासोँ सगै बिदा हुन्छ। साथमा पीडा नभएको अनुभव गर्छ तर हजारौ नियम र बन्धन बोकेर फर्किरहेको थाहनै पाउदैन। विचरा मानिस !! आफैले आफ्नो घरलाई अस्पताल बनाए पछि कहाँनै जानु छ र। गएको नाटकमात्र गरेर जस्तो भौतारिन्छ फेरि कुनै न कुनै निहुँमा फेरि त्यही आईपुग्छ । मानौ कुनै विकल्प छाडेको छैन उसले यो परिस्थिति श्रृजना गर्न। आफू दिनहुँ सुईको घोचाइ सहन्छ तर पनि कुनै विकल्प देख्दैन। विचरा मानिस। बास्तबमा अन्धो मानब जाति र यो मानव सृष्टि । सबै अगँहरु हुदाहुदै सापे जीवन बाँच्न अभ्यस्त मानिस।


त्यसो त कर्म क्षेत्रको यावत कठिन जीवन सगै कसैले यस्ता शय्याहरुमा आरामको महसुस नगर्ने हैन। तैपनि पहिलेको भन्दा पृथक शान्ति र चैन बोकिरहेको देखिन्छ र जान्छ, फेरि कहिलै नआउने सर्तमा। नवीनतम सद्प्रयासको जोड सगै यहाँ कयौं रेखाहरु कोरिएका छन्। मानिस आफ्नो घरलाई कहिले घर बनाउछ, कहिले अस्पताल त कहिले जेल। प्रचलित मान्यतालाई नभत्काईकन कुनै पनि काम नहुने ठान्ने उ किन निर्जीवहरुको बीचमा सजीवताको आनुभूति लिएर बाँच्न खोजिरहेको छ। हरेक कामलाई अधोरेखा राख्न मनपराउने उ अधोरेखाङ्कित बन्न भने मन नपराउने बनेको छ। वास्तवमै उ बाँच्न, चलाउन र हाक्नको अनभ्यासले गर्दा आफै सङ्कीर्णताले ग्रसित छ। हुन सक्छ उसले आफ्नो जीवनलाई एकाङ्की बनाएको छ। गलत हैन होला तर पनि यहाँ हजारौले खेल्नु, भोग्नु र चलाउनु छ एकाङ्की। आफैमा स्वार्थी बनिरहेको उ किन आफूमात्र नाटक मञ्चन गर्न खोजिरहेको छ। सघै बिर्सिएको छ; उसको जीवन एक्लो मात्र हैन बरु यहाँ त थुप्रै कबिला(हरु) छन् जो सबै बाँच्न चान्छन्। कूपमष्डूक भएको थाहनै नपाउने मान्छे बाहिर हेर्दैन, बुझ्दैन र थाहपाउन पनि चाहदैन तर मात्र आफ्नो लागि आउछ यहाँ। बेजोड संग घोचाइ र थिचाइमा आनन्द मानेर फर्किन्छ र त्यसै गरि फर्केने क्रम चलिरहन्छ। मायायुद्धमा खप्पिस मानिस आफ्नै मायाबी जालोमा बेस्करी जकडिदै जान्छ । समस्या र मात्र समस्याको थुप्रोहरुले बनाएका हजारौ बिन्दुको लेखा जोखामा जीवन खोज्ने प्रयास गरको छ र त्यही एउटै रेखाका हजारौ बिन्दुहरुको माझमा अल्झिएको छ यो मान्छे। उ कहाँ र कता अल्झिएको छ थाह छैन तर पनि रेखा थाहनै नपाई हजारौ बिन्दुहरुलाई समाहित गर्दै लम्बिदै छ एक अनन्त यात्रामा। सबैलाई चेतना भया।।।।।।।।।।।।।।।।।।।।।।

Comments :

10 comments to “एउटै रेखाका हजारौं बिन्दुहरु”

मान्छे आफैले गौरब गर्दै आएको चेतनाको शिकार भएर नै यो सब भएको हो | यसैले गर्दा पनि मान्छे मान्छे जस्तो भएको हो | यो मान्छे बिचरा नै छ अझै ! तर अरू पशुहरूका दाँजोमा भने मान्छेले आफू सन्तुष्टि लिने गर्छ | यीं
एउटै रेखाका हजारौं बिन्दुहरु त कसले पो बुझेर सक्ला र ? दुर्जेयजी यो लेखले फेरी एकपटक राम्ररी जीवनबोध गराई दियो | शैली राम्रो छ | धन्यबाद |

चूडामणि/मणि said...
on 

दूर्जेयजी,
यसलाइ म लेख भन्छु । तपाइँले निवन्ध लेखेको हुन सक्छ...... जे होस्, शिर्षक नै अाकर्षक छ । म पनि पहिलो पटक यहाँको ब्लगमा कमेन्ट लेख्दै छु ।
धन्यवाद ।
शिव प्रकाश

Shiva Prakash said...
on 

लेख एक पटक पढें । केही कुरा बुझे र केही नबुझे जस्तो भए पनि बीचका धेरै वाक्यहरु मननीय लागे ।

"मानिस आफ्नो घरलाई कहिले घर बनाउछ, कहिले अस्पताल त कहिले जेल।" यो वाक्य पनि एकदमै घत पर्‍यो मलाई । यो लेख फुर्सदमा फेरि एकचोटी पढ्छु है !

Dilip Acharya said...
on 

जीवनमा घट्ने घटनाहरुलाई शुन्यवादी दृष्टिकोणबाट नियालेर लेख्नुभएको जस्तो लाग्यो, जीवनलाई हजारौं असहज बिन्दुहरुको लम्बेतान रेखाको रुपमा बुझेर आफ्नो अनौठो दर्शन अनुभूति ब्यक्त गर्नुभएको यो लेख पढ्दा रमाइलो लाग्यो|

Chaitanya said...
on 

मानवीय स्वभावलाई साह्रै मिहिन ढंगले केलाउनुभएको छ दूर्जेयजीले यो टाँसोमा। जीवन-जगतप्रतिको वहाँको दर्शन/धारणा बुझ्ने मौका मिल्यो।

Basanta said...
on 

वास्तव मा लेख निकै सोचनिय छ म त् एक्छिन निकै सोछे पनि । सलाम छ चेतना जि हजुर को कलम लाई आगामी लेख को प्रतिक्षामा

प्रदिप said...
on 

एउटै रेखाका हजारौं बिन्दुहरु झैँ एउटै जिवन का धेरै पाटाहरु हुन्छन् । कहिले खुशि कहिले दुखी हुनु सामान्य नै रहेछ । मानविय स्वभाव, मानविय संवेदनालाई केलाउँदै घर र अस्पताल को चर्चा गर्दा कतै बिरामी त पर्नु भएको हैन भन्ने शंका प्रबल भएर आयो ।

आफ्ना दु:ख आफैँसँग हुन्छन्, अनि समस्या आफू मा सँधै ठूलो नै हुन्छन् । हामीले प्राय: कुराहरुलाई श्रृंखलाबद्ध गरेर हेर्दा रहेछौँ तर सबै कुरा एउटै शिलशिला या भनौँ श्रृंखला मा हेर्न प्राय: असम्भव छ । अत: यो समस्या ठूलो र त्यो सानो मान्न सकिँदैन । कसैलाई खाने अन्न छैन, कोही जहाज मा सरर हिँड्छन् भन्ने जस्तो कुरा गर्नु आफैँमा विरोधाभाषपुर्ण हुन्छ ।

जे छ, जस्तो छ, जे हौँ, जस्तो छौँ, हामी मान्छे हौँ । यसैमा गर्व गर्दै हामी ले पल पल जोडेर एउटा जिन्दगी को एउटै गोरेटो कोर्नुछ ।

जति पढ्यो त्यती पढुँ, पढुँ लाग्ने तपाई को मनोवाद साँच्चै झोक्की को छ है !

Aakar said...
on 

दुर्जेय चेतनाजीको यो गहिरो पोस्ट पढेपछि जीवनको रहस्यको अनौठो दर्शन पढेजस्तो पो आभाष गर्दैछु , हुन त आ आफ्नो परिवेश, अनुभव र भोगाई अनुसार मान्छेको दर्शन वा दृष्टिकोण मा पृथकता पाउन सकिन्छ, तपाइको पेशागत अनुभूतिका अंशहरु यसमा अभिव्यक्त भएका पनि हुन् सक्छन . म पनि यहि भन्छु -- बिचरा मानिस! कति निरिह र अनभिज्ञ त्यो कालो अँध्यारो र अदृश्य गन्तव्य संग ?

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

यहि पोष्ट हुनपर्छ तपाईंले मेरो सुर्काउने गाँठोहरु कविताको प्रतिक्रियामा जिकिर गर्नुभएको । आज पढें पहिले पढेको भए या त त्यो कविता अलि भिन्न हुन्थ्यो या त लेखिंदै लेखिंदैनथियो । कतिपय अवस्थामा आफुले ब्यक्त गर्न खोजेका कुरा अन्यत्र पढ्न पाउँदा लेखेजत्तिकै आनन्द आउँछ मलाई ।

तपाईंको यो चिन्तनलाई लेखाजोखा गर्ने सामर्थ्य छैन म मा ।

दीपक जडित said...
on 

It is a complete nihilistic approach.Selection of words and their use in right place have made the article powerful.I liked and enjoyed the article.But keeping oneself in top hierarchy and living life in this illusion or u can say it is a reality, is not bad.I don't see any logic behind saying everything is zero,everything is absurd and everything is not final.

Anyway thanks for ur thought provoking article chetana jeee

archana paudel said...
on 

Post a Comment