यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, February 7, 2012

बादशाह र तुरूपको एक्का

सबै भन्दा पहिले केही रमाइला र यथार्थ जापानी किस्साहरू भन्छु म..

एक पटक एउटा बेल्लौरे( बेलायती) कुकुरले सागाकै पार्कमा घुम्न गएको बेला मलाई बेस्करी भुक्यो। म एक सुरले हिँडिरहेको थिए, बेस्करी झस्किएँ। म कुकुर देखेर सानैबाट डराउने मान्छे। लामो सिक्रीमा बाँधेर डोराउँदै गरेकी बुढी आईमाईले मेरो अगाडि आएर तिन चार पटक निहुरिएर माफी मागिन्।

Hanami 042

(सागा शहरको पार्क)

फुकोओका शहरमा हामी सपरिवार डुल्दै थियौँ। व्यस्त सडक र ठूला ठूला भवनहरूले हामीलाई आकर्षण गरिरहेको थियो। त्यहीनै भवनहरूलाई पृष्ठभूमिमा राखेर बाटोकै छेउमा हामी पालै पालो फोटो खिचिरहेका थियौ। फोटो खिची दिने अरू कोही नभएको ले हामीले सबै परिवारको फोटो एकै साथ खिच्न पाइरहेका थिएनौ। त्यसै बीच म परिवारको फोटो खिचिरहेको थिए, मेरो पछाडि छेउनेरै एक जना युवक उभिए। मैले उसको बाटो छेकेकी भनेर माफी मागेँ। उसले म सँग मेरो क्यामेरा मागेर, तपाइहरूको परिवारको फोटो म खिचि दिउँ भने र हाम्रो फोटो खिचिदिए। फोटो लिई सके पछि उनी मुसुक्क हाँसेर आफ्नो बाटो लागे।

जापान बसाइमा सबै भन्दा सजिलो साइकल। साइकल नभएको मान्छे र घर छैन भने पनि हुन्छ। ठूला ठूला कम्पनीका मालिकहरू पनि सकभर साइकलमै यात्रा गर्न पाए हुन्थ्यो जस्तो गर्छन्। मैले काम गर्ने ल्याबको छेवैमा रहेको ल्यावमा एक जना बंगाली बिधार्थी डक्टर गर्न आए। उनको पुरा छात्रवृत्ति थिएन। त्यसैले उनले तत्काल नयाँ साइकल किन्न सक्ने स्थिति थिएन। संयोगले उनको र मेरो डेरा एउटै घरमा थियो। उनि ल्यावमा आएको दिन मलाई भेट्न मेरो कोठामा छिरे र परिचय गरे। मैले उनी नयाँ भएकोले केही आवश्यक छ भने भन्नु, मैले गर्न सक्ने भए गर्ने छु भनेँ। उनले यसै बीच आफूसँग साइकल नभएको ले के गर्ने होला भनेर सुनाए। मलाई जापानी लेख्‍न नआउने हुँदा मेरै ल्याबको एक जना मेरै सुपरभिजनमा अन्डरग्राडुयट गरिरहेका जापानी साथी फुकोकालाई साइकल चाहिएको रहेछ भनेर सुनाएँ।

 

P4150052

(बंगाली साथीको साइकल)

हाम्रो खाना पकाउने किचन सबैको साझा हुन्थ्यो। धेरै चुलो र फ्रिजहरू राखिएका हुन्थे। जुन खाली छ र जसमा मन लाग्यो त्यसमै पकाइन्थ्यो। शनिवार बिहानै खाना पकाउँदै गर्दा, एक जना अपरिचित जापानी (मैले उनको नाम बिर्सिए) बूढो मान्छे मेरो नाम लिदै किचनमा आईपुगे। उनले आफ्नो हातमा एउटा चापी र पाँच सय येन (जापानी रुपैया) देखाउँदै भने, “तपाइलाई साइकल चाहिएको रहेछ। मैले मेरो घरमा नयाँ साइकल किनेको छु, यो पुरानो हो तर राम्रो काम गर्छ। पछाडिको टायर पुरानो थियो, फेरि दिएको छु। यो साइकल हिजो फाल्न खोज्दा साइकल चाहिएको छ भन्ने खबर पाएर आएको हुँ। यो पाँच सय येन, साइकल मेरो नामबाट तपाइको नाममा नामसारी गर्न प्रहरीमा बुझाउनु पर्छ, लिनुहोला”। मैले मेरो बंगाली साथीलाई बोलाएँ। उसले साइकल र पैसा दुबै बुझ्यो। (प्रहरीकोमा गए पछि साइकल दर्ता गर्न छ सय यन लाग्दो रहेछ भनेर भन्दै थिए त्यी साथी….)

चोरी र हराएको सामानको प्रशंगमा मेरो दुईवटा अनौठो अनुभव छन्. पहिलो पटक २००४ मा जापानबाट नेपाल फर्कँदै गर्दा २ घण्टा अगाडिनै एअरपोर्ट पुगेको थिएँ। एक घण्टा पछि मात्र काउन्टर खुल्ने थाह पाएर नजिकैको भेन्डिंग मेसिनबाट (vending machine) चिया किनेर प्रतीक्षालयमा बसिरहेको थिए। लगभग एक घण्टा त्यहाँ भइरहेको चहलपहल हेरेरै बिताएँ। एक घण्टा पछि, थाई-एअरको काउन्टरको स्थिति कस्तो छ भनेर बुझ्न त्यहाँबाट आफ्नो सामान घिसार्दै हिडेँ। काउन्टर खुल्नै लागेको र लाइन सुरु भइसकेको रहेछ। म पनि लाइनमै बसेँ। केही समय पछि, काउन्टर खुलेर सामानहरू जाँच हुदै थियो, एक जना महिला मेरो छेउ नेरै आएर मलाई मेरो पैसा राख्‍ने पर्स देखाउँदै सोधी। “के तपाइको को हो यो पर्स? मैले त्यस बेला जापानी बुझ्दिन थिए तर मैले मेरो पर्स हेरेर थाह पाए मैले हराई सकेको रहेछु। म प्रतीक्षालयमा बस्दा त्यी महिला त्यहाँ भई सफा गरिरहेकी थिईन। उनले मलाई खोजेरनै मेरो त्यो पर्स मलाई फिर्ता दिईन। म कति खुसी भए भन्ने कुराको सीमानै रहेन। यस्तो बेलामा सबैले भन्छन् नि, पैसा नपाए पनि कागजहरू महत्वपूर्ण थियो, पाउन पाए हुन्थ्यो। तर मेरो त्यहाँ पैसा बाहेक महत्वपुर्ण कागज केही थिएन। वास्तवमै धेरै पैसा थियो त्यसमा।

कुरा २०१० को मार्च तिरको हो। जाडो भर्खर सकिएर पहारिलो घाम सुरु हुँदै थियो। साइकल लिएर डेराबाट कलेज हिँडे। मेरो डेरा र कलेज पन्ध्र मिनेट साइकल दूरीमा थियो। मेरो अफिस भने ल्याब भित्रै थियो। कुर्चीमा ज्याकेट राखेर, म तल चिया खान झरेँ। चिया लिएर कोठामा फर्कदा फर्कदै मेरो मोबाईलको घण्टी बज्यो। हाम्रो international student सेक्सनमा काम गर्ने महिलाको फोन रहेछ। उनले मलाई सोधिन “तपाइको केही हराएको छ ?” मैले सिधैँ छैन भनेँ। उनले भनिन् “तपाइको क्रेडिट कार्ड होल्डर पर्स यहाँ आई पुगेको छ। एक जना बाटोमा हिँड्ने मान्छेले सडक पेटीमा खसेको अवस्थामा फेला पारेर, त्यो कार्ड होल्डरमै भएको कलेजको परिचय पत्र देख्‍ना साथ यहाँ ल्याएर छोडी दिएका छन्।“ म झस्के, कारण त्यहाँ कलेजको परिचय पत्र, जापान बसाईको परिचय पत्र, स्थानीय बैकका र केही अमेरिकी बैक खाताका थुप्रेँ क्रेडिट र डैबिट कार्डहरू थियो। मैले त्यस पछि केही हप्ता लगातार आफ्नो कार्डको ट्रान्जिक्सन हेरि रहे तर कतै केही नौलो चलखेल भने पाईन।

lL5sET396253-02 (सफा शहर)

हामी सबै परिवार एउटा स्थानीय सुपरमार्केटमा जानको लागि टैक्सि लिएर हिँड्यौ। मेले जानु पर्ने ठाउँको नाम भने ड्राइभरलाई। उनले गलत बुझेछन् र अर्कै ठाउँमा लागिदिए। जानु पर्ने ठाउँ भन्दा पाँच मिनेट वरैको स्टोरमा लगेर रोकिदिए। पाँच मिनेट सिधैँ गएको भए मैले भनेकै ठाउँमा पुगिन्थ्यो। मैले ड्राईभरलाई भने, हामी आउन खोजेको यहाँ हैन, अर्कै ठाउँमा हो। तपाई सिधैँ हिँड्नुस भने र पुन त्यो ठाउँको नाम पनि भनिदिए। त्यो ठाउँको नाम भन्ने बित्तिकै उनले टोपी निकालेर झुक्दै माफी माग्न थाले। उनको अनुहार यस्तो नीलो र कालो देखियो कि म आफैलाई असजिलो महसुस भएर आयो। त्यसपछि हामीले भनेकै ठाउँमा पुगिसके पछि मैले मनिटरमा पैसा हेरेँ। अठार सय येन भएको रहेछ। पर्सबाट पैसा निकाल्दै गर्दा त्यी ड्राइभर हाम्रो ढोका नेर आएर हामी भए नेरको ढोका खोलेर फेरि टोपी निकालेर, शिर निहुराउँदै माफी पो माग्न थाले। हामी टैक्सिबाट बाहिर ओर्लियौ, मैले हजारको दुईवटा नोट दिन खोजेँ। उनले त्यो पैसा लिननै मानेन्। बरु लगातार माफ मागि रहे। मैले केही भएको छैन, कहिलेकाहीँ यस्तो हुन्छ र त्यसमा पनि यो मेरै गल्ती हो किनकी मैले राम्रोसँग तपाइलाई बुझाउन सकिन भनेर भनि रहेँ। तर उनले मानेनन् र अन्यमा पैसा नलिएरनै फर्किए।

हामी कत्तिको ख्याल गर्छौ खै। तर हाम्रो वरिपरिका जनावर, पशुपंछीहरु हाम्रो व्यवहार र क्रियाकलापसँग अभ्यस्त हुन्छन्। आँगनमा बिहानै घान र कोदो खान आएका भगेँरा हुन वा ढुकुर, हामीलाई ढोकामा देख्‍ना साथ वा हाम्रो हात हल्लने बित्तिकै भुर्र उडेर जान्छन्। भगेँरा, डांग्रे, वा कुनै जनावर मान्छे देखे पछि जति चाडै उडेर हामीबाट टाढा जान्छन् ठीक त्यसको विपरीत यहाँ कुनै चरा वा जनावरको नजिक जानु भयो भने उनीहरू उडेर जाँदैनन् वा डराउँदैनन्। मैले कहयौ पटक नजिकै गएर खुट्टाले भगेँरा र परेवाहरूलाई बिच्काउने प्रयास पनि गरेको छु तर उनीहरू मैले खुट्टा फाल्दा बुरुक्क उफ्रिएर अलिक पर सर्ने तर उडेर नजाने अनि फेरि चाहारा टिप्न व्यस्त हुने देखेको छु। मैले निकै पटक यस्तो गरेको छु। मैले कति लाटो हुँदो रहेछ भनेर भन्ने गरेको थिए। तर बिस्तारै बिचार गर्दा के लाग्यो भने, यहाँ केटाकेटी न बूढाबूढी जनावरहरूलाई चराचुरुङ्गीहरूलाई बिच्काउने, मार्ने वा तर्साएर उडाउने गर्दा रहेनछन्। हामीले ख्याल गरेको हुनु पर्छ हाम्रो घर गाउँ तिर जसरी गाई भैँसी चौरमा चर्दा उसैको वरिपरि वा उसै माथि बसेर चराहरु फट्याङ्ग्रोका शिकार गरिरहेका हुन्छन्। कारण गाई भैँसीले उनीहरूलाई केही गर्दैनन् भन्ने जानेका हुन्छन् उनीहरू। त्यसैगरी त्यहाँका मान्छेहरू प्रकृतिसँग निकै नजिक रहेर उनीहरुलाई व्यवहार गर्दछन्। घरमा सर्प आयो भने सर्पलाई मार्दैनन् बरु जनावर उद्धार केन्द्रलाई फोन गरेर उनीहरूलाई बोलाउँछन्।

शहरको लगभग मध्य भागमा एउटा राम्रो बगैँचा थियो। त्यही बगैँचाबाट केही पर एउटा सानो शहरी बस्ती पनि रहेछ। त्यही बस्तीको एउटा घरमा एउटा मान्छे बस्थ्यो। उसको परिवारको नाममा उसले पालेको सानो कुकुर मात्रै रहेछ। मालिक सधैँ काममा जान पर्थ्यौ। काममा जान ट्रेन चढ्नु पर्ने भएकोले, त्यसै बगैँचाको छेउनेर भएको ट्रेन स्टेसन सम्म उनीहरू सँगै आउँदा रहेछन्। त्यो मालिक र कुकुर बीच निकै प्रेम थियो। कुकुर पनि इमानदार र मालिकलाई निकै माया गर्ने गर्थ्यो। काममा जाँदा उसको कुकुर घरमा एक्लै बस्नु पर्ने भएकोले, मालिकले आफ्नो कुकुरलाई सधैँ त्यही बगैँचामा लगेर छोड्दा रहेछन् र आफू ट्रेन चढेर काममा जाने रहेछन्। बेलुका मालिक नआए सम्म त्यो कुकुर त्यही बगैँचाको छेउमा बसिरहँदो रहेछ र बेलुका मालिकसँगै घर फर्कने रहेछ। दुर्भाग्यबस एक दिन घर फर्दकै गर्दा ट्रेन दुर्घटनामा  मालिकको मृत्यु भएछ। उता कुकुर मालिकलाई कुरेर बसिरहेको थियो। त्यसपछि मालिकको प्रतिक्षामा सधैँ त्यही कुरेर बसिरह्यो र अन्त्यमा उसले त्यही नै मालिकको प्रतिक्षा गर्दा गर्दै  प्राण त्याग गरिदिएछ। सन १९२३ बाट उसले त्यहा कुरेर बस्यो र आखिर १९३५मा त्यहीनै प्राण त्याग गर्‍यो। यो घटना पछि त्यो कुकुरको स्वामी भक्ति र इमानदारिताको संझना गर्दै त्यो ठाउँको पार्कको नाम “सिबुया-पार्क” त्यसै कुकुरको नाम सिबुयाबाट राखिएछ। आज पनि त्यो सिबुया-पार्क जापानको टोक्योमा छ।

sibuya park( सिबुया पार्क)

सन २००९ को अक्टोबरमा एक महिनाको लागि अमेरिका जाने कार्यक्रम बन्दै थियो, त्यसै बीच नेपाल हुँदै जाने निर्णय गरेँ। अलिक चाडै टिकट काट्दा टिकट सस्तोमा पाउन सकिने सम्भावनालाई सोचेर, मैले स्थानीय JB travel agency बाट एक लाख साठी हजार जापानी येन दुई महिना अगाडि नै बुझाएँ। तर उसले मलाई रसिद मात्र दियो टिकट दिएन। टिकट बनाउन केही समय लाग्छ र हामी तपाइलाई ई-मेल गरेर पठाई दिन्छौ वा तपाइ यही आउँदा पनि हुन्छ भनेर भनियो। उड्ने दिन भन्दा पन्ध्र दिन जति रहदा मलाई ई-मेल र फोन दुबै आयो। मैले त्यही टिकट लीन आऊछु भनेर भने र त्यसै गरेँ। मैले खाममा राखिएको टिकट बुझेँ। टिकट सँगै अर्को एउटा रसिदमा मलाई सही गर्ने भनियो। मेले के हो यो भनेर सोधेँ। मलाई टिकट काट्न सहयोग गर्ने त्यी महिलाले भनिन, “तपाइले टिकट बुकिङ्ग गर्दाको र अहिलेको टिकट मूल्यलाई तुलना गर्दा, अहिले सस्तो भएको रहेछ। त्यसैले हामी तपाइलाई पैँतालीस हजार तीन सय दश येन फिर्ता गर्दै छौं, कृपया यहाँ सही गरी दिनु होला। मैले ती महिलाको अनुहारमा सहजता देखेँ। तर मेरो आफ्नो अनुहार हेर्न मसँग ऐना थिएन तत्कालै।। आदि आदि....सहज र सरल जीवन शैलीका केही उदाहरणहरू हुन यी सबै जापानी समाजका। उनीहरुको जीवन बाच्ने र कामलाई परिभाषित गर्ने तरिका हाम्रो भन्दा फरक छ। एउटा उदाहरण यसमा पनि हेर्नु होला।

लामो युद्ध लडिसके पछि, जब युद्धमा हार भयो, कंगाल अस्तव्यस्त भइसकेको देश मात्र थियो उनीहरूको हातमा। आर्थिक र सामाजिक रूपले यस्तो दर्दनाक स्थिति आई पर्यो कि खानको लागि समेत केही बाँकी रहेको थिएन। समुन्द्रमा जाल हान्यो, जे आउँछ त्यही बाँडेर खान थाले उनीहरू। काँचै माछा खानु पर्ने बाध्यताले, त्यो संस्कार र परम्परालाई अझै बढी प्रोत्साहन मिल्यो। जब संकट आई पर्यो कहिलै पनि आफ्नो समाज र गाउँमा लुटमार हुन दिएनन्। सबैले काँचै भए पनि बाँडेर खाए र मेहनत गरिररहे। त्यस्तो असामान्य अवस्थामा पनि सामाजिक संरचना कहिलै भत्कन दिएनन्। समाजको प्रगतिको कुरा यहाँबाट सुरु भयो जापानीहरूको।

 

kenryu park 250 (जापानी चिया समारोह)

जापानी समाज त्यत्तिकै, आफै वा भगवानले बनाइदिएको वा बनेको हैन। जापानीहरूको अस्तव्यस्त जीवन वास्तवमा दोस्रो विश्व युद्द पछिको देन थियो। यत्रो मान्छे मर्ने गरि गरिएको बम आक्रमण पछि पनि आज जापानीहरू अमेरिकी भने पछि हुरुक्क गर्छन्। भित्र जे होस बाहिर अमेरिकी भने पछि हामीले सोचे भन्दा बढी नतमस्तक हुन्छन्। बुझ्नेले बुझेका छन् कि अमेरिकी कारण जब युद्द अन्त्य भयो, तव उनीहरू बिग्रिएको, स्रोतहरू गुमाएको, मानसिक तवरले पीडित देश लिएर आर्थिक क्रान्तिमा लाग्न परेको थियो। जब पहिलो पटक जापानीहरूले १९६४ मा ओलम्पिकको आयोजना गरेर सफलता पूर्वक सम्पन्न गरे त्यसै बेला देखि नै जापानले अहिलेको स्थितिको रेखा कोर्न थालेको थियो। जुन बेला जापानीहरू ओलम्पिक आयोजना गर्दै थिए, त्यस बेला उनीहरू कुनै खेल प्रेमी भएर आयोजना गरेका थिएनन्। उनीहरूले बुझेका थिए कि यो अवसर नै आर्थिक क्रान्तिको सुरुवात हुन सक्छ। जब ओलम्पिकको आयोजना सुरु गर्ने तयारी गरियो त्यसै बेला देखि नै जापान सरकारले सबै जनतालाई सभ्यता र सिस्टताको तालिम पनि दिएको थियो। हाम्रो देशमा संसार भरका मान्छेहरू आउदैछन, हामीले कतै फोहोर गर्न हुँदैन, ट्रेन चढ्दा वा कुनै काम गर्दा लाइनमा बसेर पालै पालो प्रयोग गर्नु पर्छ, हामीले अरूका कुरा सुनेर मात्र जबाफ दिनु पर्छ नत्र हाम्रो संसारभरि बेइज्जत हुन्छ भनेर सिकाइयो। उनीहरूले पुरै देश भर नै ओलम्पिकको लागि मात्रै स्टेडियम बनाएर मात्रै तयारी गरेका हैनन्। उनीहरूले पुरै देशका जनतालाई त्यसै अनुरूप तयारी पनि गरेका थिए। ओलम्पिक सकियो र निकै राम्रो आर्थिक जुगाड गर्यो जापानले त्यस बेला तर त्यो भन्दा पनि ठूलो कुरा सम्पूर्ण जनतामा सभ्यता र अनुशासनको सभ्य समाज बसाल्न सफल भयो। । उनीहरू आफ्नो समस्या र दुःखलाई मिलेर नै टार्न सफल भए र सबै मिलेर, एक भएर नै सबै काम गरे।

DSC00024

(अहिलेको नागाशाकी शहर)

हामीले पनि यस्तै र यो भन्दा पनि राम्रो समाज बनाउनु छ।

धनी गरिब, दुखी, सुखी, सानो ठूलो, तेरो मेरो कुनै भौतिक संरचना हैन्। यो त मान्छेको सोचले बनाएका पर्खालहरू हुन्। देशकै नाममा एक हुने, घर्म भन्दा मानवताको नाममा एकता हुने हो भने यत्तिका स्रोत साधन र चेतनशील जनताले भरिएको हाम्रो समाज सम्पन्न हुन जापानले जस्तो पचासौं बर्ष कुर्नु पर्दैन। कसैको घर कब्जा गरेर, कसैको सम्पती बाढेर, कसैलाई मारेर र कसैलाई सानो देखाएर मात्रै देशमा आर्थिक क्रान्ति हुँदैन भन्ने कुराको उदाहरण हामीसँग थुप्रेँ छन्। मात्र हामी एक हुनु पर्यो देशका लागि तर आफ्नो समुदाय, घर्म र सीमित स्वार्थका लागि लड्ने हो भने हामी नेपाली कहिले हुँदैनौ। डाइमन शमशेरले भने जस्तै “नैलालाई दैलाले खान्छ, दैलालाई गुलामले, गुलामलाई मिस्सीले खान्छ, मिस्सीलाई बादशाहले र बादशाहलाई एक्काले खान्छ। एक्का भनेको एकता हो र एकता भयो भने, हातै भरी हतियार लिएर उभिएहुकुमको एक्काको बादशाह पनि ढल्नु पर्दछ”।

बादशाह ढलेर मात्र हुदैन। बादशाह ढलिसके पछिको क्रम भङ्गताले पुरै सिलसिला र एकरूपतालाई जसरी बिगार्छ, त्यसलाई पनि परास्त गर्ने निहुँमा हेरेक तहमा नयाँ बादशाहीहरू जन्मने सम्भावना रहन्छ। सबै मिलेर एउटा बादशाहलाई फाल्न र ढाल्न सजिलो हुन्छ तर स्वन्त्रताको नाममा, घर्मको नाममा वा भनौं आफ्ना निहित स्वार्थ र अधिकारको नाममा घरघरमै जन्मिएका नयाँ बादशाहहरूलाई ढाल्न सजिलो हुदैन। यदि यस्तो भयो भने “एक्का” नै एकताको नाममा नयाँ बादशाहको रूपमा आफूलाई उभ्याउन सक्छ। यस्तो एकताको बादशाहले जनतालाई ललीपप बाढेरै भए पनि आफू विरुद्ध जान सक्ने एक्कालाई तुरूप लगाउन सक्छ। “होसियार” जो जसले यस्तो सोचेको छ उसले नभुलोस्, एक्का खाने तुरूपहरू धेरै हुन्छन् तर त्यसै बीच एउटा सर्वशक्तिमान् तुरूपको एक्का पनि हुने गर्दछ त्यसै खालमा। त्यसैले इमानदार, होसियार र आत्मीयताको एकता भन्दा अर्को विकल्प छैन देश बनाउन, चलाउन र सत्ता भोग गर्न.... चेतना भया!!!

जापानी समाजका नकारात्मक पक्षलाई कुनै दिन केलाउने प्रयास गर्ने छु। सभ्य समाज भएर पनि केही खतरनाक विकृतिहरू छन् र हुर्केका छन् त्यहाँ र त्यसबाट पनि हामीले शिक्षा लिएर अगाडि बढ्न सक्छौ र के कस्ता गल्तीहरू गर्नु हुँदो रहनेछ भनेर बुझ्न सक्छौ।

Comments :

5 comments to “बादशाह र तुरूपको एक्का”

waiting on more!

inashrestha said...
on 

एकदम राम्रो र प्रेरणादायी आलेख ! । 'नेपालमा केही हुँदैन' भन्ने हल्का अभिव्यक्ति दिएर पन्छन खोज्ने तथाकथित वौद्धिक वर्ग र 'नेपाल मेरै सम्पत्ति हो' भने झै गर्दै ढलिमली गर्न खोज्ने राजनैतिक वृत्तका महारथी लगायत सबैको चेतना खुल्ने नै रहेछ यो पोस्ट !!!

पोस्ट दोहर्‍याएर पढेँ 'गरे पक्कै केही हुन्छ' भन्ने मनको भावलाई पूर्ण बल मिलेको छ ! धन्यवाद !!

Dilip Acharya said...
on 

सारै राम्रो लेख, यथार्थ परक लेख र मार्गनिर्देशक लेख ।

Bigyan Sharma said...
on 

धन्यवाद राम्रो लेखको लागि

Narayan Gaire said...
on 

sarai khusi lago yati ramro lekh padhna pauda thankyou

dipak karki said...
on 

Post a Comment