यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, September 6, 2009

शाश्वत सत्य: पृथक पृथक सोचमा

चेतना भनेर हुने मात्र कुरा हैन सायद, यो त गरेर र प्रयोगबाट सिद्ध हुने कुराहो। सोच एउटा हुन सक्छ तर परिवेशले अर्कै रुप लिन सक्छ। साह्रै कठिन र टाढा हुन सक्छ गन्तव्य तर राम्रो र ब्यस्थित बाटोले सहज हुन सक्छ यात्रा। कुनै पनि घटनाक्रम वा वस्तुस्थितिको व्याख्या गर्ने तरिका फरक हुन सक्छ तर यथार्थता कहीँ जादैन। हामी कयौँ मामलामा थाहँ नपाई आफ्नो अनुकूल घटनाक्रमलाई व्याख्या वा परिभाषित गरेका हुन्छौ। चुरो कहीँ जादैन तर पनि हजार मानिसको हजारौ बुझाई हुने गर्छ। ब्यक्तिगत बुझाई र बिश्लेषणले कुनै पनि घटनाक्रम कयौँ पटक सीमित दायरा भित्र त कयौँ पटक विशाल दायरामा जान पुग्छ। हामीले हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार फरक छ र त हामी फरक मान्छेहरु हौ र फरक हुनका लागि पनि हामी हाम्रो दृष्टिकोणलाई, व्यवहारलाई पृथक पृथक रुपमा प्रस्तुत गर्ने गर्छौ। यो क्रममा हामी कयौँ पटक यथार्थताको धरातल नाघेँर वा मिचेर अगाडि बढ्छौ। थाह पाएर वा थाहनै नपाई कयौँ पटक गल्ती गर्छौ। नजानेका कुरामा आफ्नो मत राख्छौ र जानेका कुरामा कसैले जान्नेहोकि भन्ने पीरले मौन बस्छौ। मानिस मानिस बीचको यो पृथकता सगै यसको समष्टिगत रुपले समाजको पहिचान गर्ने गर्छ। यही जड ब्यबहारले सम्पूर्ण रुपमा समाज र राष्ट्रकै प्रतिनिधित्व हुने गर्छ। असल सोच र असल व्यबहारको कुन हद सम्म प्रयोग गरिएको छ, र कुन हद सम्म यसलाई सामाजिक मान्यता प्रदान गरिएको छ, त्यसले निर्धारण गर्ने गर्छ समाज आफै र देश पनि। कयौँ मूर्ख मानिसहरुको बीचमा विद्वान, विद्वानै भएको कारण मूर्ख बनाइने गर्छ। बिस्तारै बिस्तारै आफ्नो अनुकूल बनाईने क्रममा जस्तो सुकै बुझ्ने वा असल चरित्रको उदारहण पनि धमिलो हुदै जान्छ र अन्तयमा त्यही विलय हुन्छ।


फरक के हो त? सजिलो छ, हामीले असल पात्रलाई कहिलै पनि समेट्ने कोसिस गरेका छैनौ। हामीले कहिलै पनि असल जमातलाई एकै ठाउँमा राखेर फल्न र फूल्ने मौका दिएका छैनौ फगत काम्लोमा पोखिएको सातु जस्तो अबस्थाले गर्दा कहिलै पनि असल सोचको एकरुपमा बिकास हुन सकेको छैन।


article-1091402-02A9F082000005DC-571_468x446

एउटा प्रसङ्ग राख्न मन लाग्यो यहाँ नेर: आफ्नो ढाडमा लामो डोरीले बाँधेर धरहराको बीचमा रंग लगाउन तुर्लुङ्गै झुन्डिएको एउटा मजदूरको निकै चर्चा भइरहेको बेला, भोलिपल्ट पत्रिकामा उस्को फोटो छापिन्छ र फोटोको तल लेखिएको हुन्छ” पापी पेट”। यही क्रममा टोकियो टावरको बीचमा डोरीले बाँधेर झुन्डिएको मजदूरको हकमा यसरीनै फोटो आउछ पत्रिकामा तर तल लेखिएको हुन्छ: बहादुर जापानी छोरा”। कुरा सिधा छ। त्यो हो सोच र हेर्ने दृष्टिकोणको फरक। एउटै घटनाक्रमलाई ठाउँ अनुसार फरक मात्र हैन माथि भनिए अनुसार निश्चित र एकै परिवेशमा पनि पृथक पृथक सोच र हेराईले प्रस्तुत गर्ने गरिन्छ। तर प्रस्तुति जे भए पनि, जसरी व्याख्या र उपमा दिए पनि यथार्थता एउटै हुन्छ। जतिसुकै नमिठो लागे पनि सत्य एउटै हुन्छ। फरक छ त हेराई र बुझाईको। बहादुर छोरा भनोस वा मूर्ख, जो जुनसुकै टावरमा झुन्डियोस यो प्रसङ्गमा त्यो पापी पेटनै हो झुन्ड्याउने । फरक छ त सुन्दा र भन्दा कुन राम्रो हुन्छ भन्ने मात्रको। यो नै सत्य हो र सत्य शाश्वतनै हुन्छ। मानब जीवनमा यथार्थ परिस्थितिको पहिचान र त्यस सत्यकुराको आत्मसाथनै सबैभन्दा ठूलो आबश्यकता भएको छ अहिले।..... सबै लाई चेतना भया…………..

Comments :

14 comments to “शाश्वत सत्य: पृथक पृथक सोचमा”

सही कुरो अर्जुनजी!यथार्थलाई मान्छेहरु आ-आफ्नो स्वार्थ र मनोदशाका आधारमा परिभाषित गर्छन्। त्यसैले यो दुनियाँमा यथार्थभन्दा भ्रमका कुराहरु धेरै छन्। तर सत्य एउटै हुन्छ, यसमा कुनै विवाद हुन सक्दैन।

Basanta said...
on 

दुर्जेय चेतना जी
सत्यको बारेमा यहाँले गर्नुभएको गहन बिश्लेषण र त्यसलाई ब्यक्त गर्ने पृथक पृथक तरीकाको उदाहरण निकै मर्मस्पर्शी लाग्यो |

Chaitanya said...
on 

शाश्वत सत्यलाई फरक फरक ब्याख्या गरिने कार्य हुनु पनि एक सत्य नै हो कि त ?

दीपक जडित said...
on 

Exactly! saswat satya autai hun6, tara tehi satya ra yethartha lai harek le aafno swartha purti ko lagi, aru bhanda aafu lai gyani, mahaguni dekhauna lai ani aafno pakhanda dhak 6op garna lai aa-aafno tarika le galat byakhya gari rakheko hun6, especially hamro jasto pakhandi samaj ma jaha hami aafu lai nai jangali yug tira doryaudai 6au........

Babu said...
on 

अर्जुन जी, सबै कुरा त्यो समाज र त्यहाँको परिबेश अनुसार हेर्ने र ब्यक्त गर्ने ढङ्ग फरक फरक हुने नै भयो । जहाँ सम्म तुलनात्मक हिसाबले कुन राम्रो भन्ने कुरा छ ;देखेर , सुनेर वा पढेर चेतना सँगै समय अनुसार परिबर्तन हुन्छनै होला ।

दिनेश राज said...
on 

हाम्रोमा एउटा उखान छ नि "कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्दी" । माथी साथिहरुले पनि लेखी सक्नु भएको छ । एउटै कुरालाई भिन्न भिन्न दृष्टीले हेर्दा त्यसको बारेमा भिन्दा भिन्दै परिभाषाहरु बन्छन ।

सानो बेलामा पढेको १० जना अन्धाले हात्ती छामेको कथा पनि याद आयो। जब सम्म हात्तीलाई पूर्णतामा देख्दैनौं तबसम्म आंशीक सत्य वा आ-आफ्नै कोणबाट देखीने वा छामीने 'दृश्य' र "अंग" लाई नै सत्य मान्छ मानिसले ।

हेर्दा सानो देखिए पनि एकदमै गहिरो प्रसंग उठाउनु भएको रहेछ । चेतना शृङ्खला जारी रहोस है !

Dilip Acharya said...
on 

एउटा खास सत्यलाई आफ्नो अनुकूलतामा ढालेर हेर्नु आफैँमा अर्को सत्य हुन जान्छ । सत्य घोटाएर पियाउन सकिदैन, सत्य एउटा हेराइ र बुझाईभरिको आयाम त रहेछ आखिर । त्यति नै भएन भने एउटा खास सत्य पनि एक पल टिक्ने थिएन सांसारिक चक्रमा ।

Jotare Dhaiba said...
on 

तपाईले गहिरो कुराको उठान गर्नु भयो।उदाहरण सहित सहि विश्लेषण दिनु भएकोमा धन्यबाद |
गम्भीर विषय उठानका लागि धेरै धन्यवाद !

Sujan Sharma said...
on 

दुर्जेय जी सही हो यो पेट नहुने भए मान्छे पाप, हत्या, हिंसा अनि एकआपस लडिन्थ्यो होला। सही कुरालाइ कोट्ट्याउनु भयो।

B.J. Dummali said...
on 

यथार्त धरातलमा उभिएर गर्नुभएको तुलनात्मक हेराई र बुझाइको भिन्न भिन्न बिश्लेषण निकै गहन् छ । पूरै कथालाई समग्रमा बोकेको छ पापी पेट र बहादुर छोरोले । पृथक बिषयको प्रस्तुतिको लागि सलाम !

सूर्य/सिकारु said...
on 

दुर्जेय चेतनाजी, मलाई पनि चेतना भया | बढो प्रभावशाली तरिकाले लेख्नुभएछ | यहीं सोचले नै हाम्रो ब्रतमान स्थिति र भावी यात्रा दुबैको रुपरेखा निर्धारण गर्ने हो | छोटो तर निकै गहन लेख !

chudamani said...
on 

मेरो कुरा भन्ने हो भने सत्य को बारेमा तपाईं को सिर्शक बाटै र अरु साथी हरु सँग पनि असहमती जनाउछु... सत्य भनेको सास्वत हुँदैन यो एकाङी हुन्छ... देश काल परिस्थिती र मनस्थिती अनुसार सत्य फेरिदै जान्छन

तपाईंले नै दिनु भएको घतलाग्दो उदारहण जसमा नेपाली र जापानी ले गरेको एउटै किसिमको कार्यको बिपरित व्याख्या ले पनि यो कुरा पुस्टी गरेको छ

सबैलाई चेतना भया...हेहेहे

हावा De Wind said...
on 

शाश्वत सत्य ; भिन्न सोच : शिर्शक नै सुन्दर लाग्यो अनी प्रस्तुती झनै रुचिकर । धन्यवाद, गहन लेखाइको लागि ।

खुल्लामन्च said...
on 

प्रसंग निकै सटिक लाग्यो ,
हो दृश्य यौटै भए पनि दुर्जेयजी,
यी हेर्ने आँखा र दृष्टिकोणहरु त छन यहाँ,
जसले यो र त्यो, यस्तो-उस्तो भन्दै सत्य माथि भ्रम छरिरहेका हुन्छन ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

Post a Comment