यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, February 28, 2012

जीवन सापट छैन। एउटा सारांश सत्य कथा!!

उ गोरखामा पक्रिएर थुनामा राख्दा, पोखरामा उनको हत्याको समाचार छापियो। राज्यले उनको हत्या गरिएको छैन भनेर चोखिनैको लागि उनलाई सार्वजनिक गर्‍यो र एउटा असहज मृत्युलाई जित्यो उसले। पोखरा पृथ्वीनारायण क्याम्पसमा कार्यक्रम हुँदै गर्दा सुरक्षा कर्मीहरूले लखेटेर  क्यान्टिन नजिकको सेती नदीमा हाम फाल्न बाध्य पारियो  र फेरि उसको मृत्यु भयो भन्ने सुनियो। समाचारहरू अनेकौँ रूपमा आउथ्यो र मैले केही हद सम्म उनको मृत्युलाई स्वीकार गरिसकेको थिएँ। सेती नदीमै खसेको भए त बाच्ने सम्भावना नै छैन। यस्तै सोचेर निकै लामो समय मन अमिलो पारेर बसेको थिए।

पोखरा पृथ्वीनारायण कलेजमा  पढ्दै थियौ हामी त्यसबेला। भिन्न भिन्न साथीहरूको समूहमा बिभाजित भएर निकै समय चौरमा घाम ताप्दै गफ गर्थ्यौ तर कुनै राजनैतिक दस्ता वा समूह थिएन त्यो।  मात्र कलेजमा सँगै जाने आउने, डेरा नजिक र सधैँ भेट हुनेहरूको बीचमा समूह विभाजित थियो। हामी ७-८ जनामा थियौ त उनीहरूको समूह तीन जनाको थियो त्यो पनि केटाहरुमात्र। हामी त्रिमूर्ति भनेर जिस्काउथ्यौ उनीहरुलाई। । कक्षामा सर ढिलो आऊदा र समय भन्दा अगाडिनै कक्षा छोडेर जाँदा पनि एउटा आक्रोश देखिन्थ्यो उनीहरुमा। सरल स्वभावका उनीहरु प्राय चप्पल वा पान्डा जुत्ता, पैन्ट र बाहिरै निकालिएको सर्ट लगाएर देखा पर्थे।

परीक्षाको अन्तिम तयारी चलिरहेको थियो। मैले उनलाई पुस्तकालयको अगाडि भेटेको थिए। दुब्लो, सरल र चलाख अनुहारका उनी त्यस बेला निकै खुसी भएर मलाई सुनाएका थिए “जनयुद्ध सुरु भइसक्यो”। कलेजका भित्ताहरूमा जलयुद्धका पहिलो पर्चाहरू टाँसेर फर्दकै गर्दा हातमा मैदाको हिलो पोको सहित मैले उनलाई भेटेको थिए।

“कस्तो हुँदैछ पढाइको तयारी?” उनले मलाई सोधे।

“ठीक चलेको छ साथी अनि तिम्रो कस्तो हुँदै छ त?” मैले जबाफमा सोधेको थिएँ।

उनी मुसुक्क हाँस्दै मेरो हात समातेर चौरमा बस्न तानिरहे र हामी चौरमा बस्यौ। जाडो यामको पहारिलो घाम, चौरमै बेच्न ल्याउने डालेसँग बदाम किनेर त्यही बसियो। उनले भनेका र गरेका आधा राजनीतिका कुरा मैले बुझ्दिन थिएँ। चलिरहेको सिस्टम, शिक्षा र सभ्यतामा उनको बिचार भिन्न हुन्थ्यो। साम्राज्यवाद, बिस्तारवाद, यथास्थितिवाद मात्रै हैन, उनले प्रयोग गर्ने अनेकौँ शब्दावलीहरू जस्तै बुर्जुवा, सामन्तवाद र सामन्तवादीहरू जस्ता शब्दावली मेरा लागि त्यस बेला नौलो हुन्थ्यो। हामी सँगैका र एउटै उमेरका युवा थियौ, हामीले पढ्ने र जान्ने उमेर पनि एउटै थियो तर राजनीतिमा उनको बिचार म भन्दा कहयौ गुणा अगाडि र चेतनशील छ र थियो भन्ने कुरा मैले कहयौ पटक स्विकारेको पनि थिएँ। उनी सुरु देखि नै त्यसै बेला हामीले पढ्दै गरेको शिक्षाको तरिका, व्यवस्थाको खुब विरोध गर्थे। यस्तो शिक्षाले जनताको उन्नति र समाजको परिवर्तन सम्भव छैन भनेर पटक पटक सुनाउथे।

बदाम सकिन लागेको थियो र कागजकै सानो थैलोमा राखेको नुन चाट्दै भने “थाह छ मित्र यो नुन के हो?” “sodium chloride” मैले साधारण जबाफ दिएको थिए। उनी मुसुक्क हासे र भने, “यही नुनले हामीलाई गुलाम वा दास बनाएको छ। सधियौ देखि, भोट, रक्सौल, बटौली सम्म हाम्रा पुर्खाहरू नुनसँग आफ्नो अस्तित्व, विबेक सबै बेच्न बाध्य पार्दै आइएको छ। उत्तर वा दक्षिण जोसँग पनि नुनकै व्यापार हुन्छ। व्यापारीहरू काला हुन बा गोरा हुन, आँखा च्याप्टिएका हुन वा नाक उठेका हुन् हामीलाई अनेकौँ बहानामा नोकर र दासको रूपमा परिभाषित गर्दै आएका छन् र आज यही नुनको सोझो यहाँको राजनैतिक खेमामा पनि छ। यो शिक्षा हामीले चाहेको जस्तो, हाम्रो माटोलाई सुहाउने प्रकारको छैन र हामीलाई लादिएको सामाजिक परिबन्धहरू सबै यसै नुन र नुनको सोझो गर्नेहरुको कमाल हो। त्यसैले भित्र र बाहिर एउटा ठूलो भूकम्पको वा धक्काको आवश्यकता छ”। मैले नुन यत्तिको सार्ह्रो आत्मघाती होला भनेर सोचकै थिइन।

उनले थपे “तिमी नुनलाई sodium chloride भन्छौ, म नुनलाई दास र नोकर बनाउने माध्यम र हामी यसैको दास छौ र यसैलाई पोषण गरिरहेका छौ भनेर बुझ्छु। नुन सँग समाज र राजनीति जोडिएको छ”। एउटा नुन सोडियम क्रलोराईड भन्दा यती ठूलो, बलियो र धातक पनि रहेछ? म मात्रै हासेँ र भने, मैले तिम्रो कुरा बुझ्न गाह्रो छ।

“मैले सांकेतिक कुरा गरे, नुन वास्तवमा विज्ञानको भाषामा सोडियम क्लोराईड मान्छु म पनि तर सामाजिक परिवेशमा यो ठूलो बिष हो” उनले थप्दे थिए।

“यति सार्है भावनामा उडेर, यथार्थ भन्दा पर जान हुन्छ र मित्र?” मैले सोधे

“मेले भनिसके नि नुन त सांकेतिक मात्र हो” उनले प्रस्टाउँदै थिए।

समयलाई सम्झना मलाई के कुरा अहिले पक्का हुन्छ भने, त्यस बेला देखिन विद्रोही स्वभाव र विषय बस्तुलाई आम मान्छेले भन्दा फरक तवरले हेर्ने शैली उसमा थियो। राजनैतिक प्रशिक्षणले हो वा पारिवारि संस्कार वा अध्ययनले एउटा अनौठो ऊर्जा थियो यो देश र माटोको लागि उ भित्र। जनयुद्ध के हो र के का लागि भनेर उसले मलाई निकै सम्झायो तर यसमा जानेँ पर्छ भनेर कहिले मलाइ उक्साएन। मेरो जीवन शैली र जीवनका उद्देश्यहरू आफ्नै तवरले सोचेको थिए। उसको कुरामा त्यस बेला सहमत भए जस्तो भए पनि म त्यो बाटोमा जाने वातावरण मेरो परिवेशमा थिएन। परीक्षा दिनु थियो, धेरै पढ्नु थियो र यसै अनुरूप काम गरेर जीवन बिताउनु, परिवारलाई सहयोग गर्नु थियो। साँचो अर्थमा युद्धको मानसिकतामा म थिइन।

“तिमी मेरै विचारमा हिँड्नु पर्छ भन्ने हैन, तिमीले आफ्नो ठाउँबाट हामीलाई सहयोग गर” यो मात्र भनि रहन्थें। कस्तो सहयोग, कहिले गर्ने भन्ने कुरा उनले मलाई कहिलै भनेनन्। मैले साथीलाई सहयोग नगर्ने प्रश्नै उठ्दैन नि भनेर टारेको थिएँ। तर मलाई लागेको थियो, समाज परिवर्तनको लागि आफ्नो जीवनलाई युद्धमा हाल्दै गरेको नवयुवा थियो उ। उसको बिचार र कामको शैलीले उ संगठन विकासमा खरो उत्रने छ भन्ने लागेको थियो।

त्यो भेट भएको समयको केही महिना पछि उ अर्ध भूमिगत रूपमा काम गरेको हुनुपर्छ। उता युद्ध सुरु भइसकेको थियो तर पनि कहिलेकाहीँ कलेजमा कार्यक्रममा देखा पर्थ्यो। कलेज सकिए पछि उसको निजी जीवन र कामको बारेमा जानकारी पाउन छोडियो। समय निकै संवेदनशील थियो त्यसबेला। उसलाई भेट्ना साथ गोली हान्ने आदेश आई सकेको थियो। मैले मेरो एक जना नजिकको साथीलाई समाज परिवर्तनकै लागि युद्धमा लागेको कुरा स्वीकार गरिसकेको थिए। उसको बारेमा आउने हरेक समाचारहरू मैले पढ्थे र त्यसलाई पछ्याउने प्रयास गरिरहन्थे। युद्द सुरु हुँदै गर्दा लामो समय सम्म उसको र मेरो सम्पर्क भएन। हामी जीवनका फरक बाटोमा हिँडिसकेको थियौँ र सायद उसको परिभाषा र कार्यक्षेत्रमा भित्र म पर्दिन थिए। उसले कार्य लक्ष सम्पादनकै लागि आफ्नाहरूलाई बिर्सेर सम्पूर्ण रूपमा राज्य, देश र जनताहरूलाई सम्झिरहेको थियो होला र म त्यही आम जनताहरूकै परिभाषामा परेको हुनु पर्छ।

उता युद्दले भयानक रूप लिदै थियो। समाचारहरूमा राज्य र विद्रोहीले मारेका मान्छेहरूको तस्विर र समाचारहरू सधैँ जसो आईरहन्थ्यो। पोखरा पृथ्वी नारायण कलेजमा भएको भिडन्त पछि त उ मारिएको खबर फेरि एक पटक मेरो कानमा पर्‍यो। समातेर सती नदीमा फालियो भन्ने खबर पनि कतै कतै आयो। समाचारहरू अनेकौँ रूपमा आउने हुँदा पत्याउन गाह्रो थियो। त्यो भन्दा पहिले पनि मारिएको खबर नसुनेको हैन, त्यसैले उसको पार्टीकै आधिकारिक धारणा बा आधिकारिक समाचारहरू पर्खनु भन्दा केही विकल्प थिएन।

त्यस बेला म परीक्षा सकेर काठमान्डूमै पढाउने काम गर्थे। घरमा बुबा बिरामी हुनु भएको छ भनेर खबर आएको ले म गाउँ गएको थिए। केही दिन पछि बुबालाई बिस्तारै ठीक हुँदै गयो। मेले बजार तिर जाने बिचार बनाएँ र बिहानै बजार तिर निस्किएँ। बजार तिर हिँड्दै गर्दा, बाटोको छेउबाट एउटा पातलो मान्छे उस्तै अनुहारमा मेरो बाटो हुदै मैले हतार हतारमा हिँड्दै गरेको देखेँ।

“तिमी मोटाएछौ बेस्करी” उसले सुरुमै भन्यो।

“तिमि त उस्तै रहेछौ” मैले भने।

उसले त्यस पछि हात मिलायो र वरपर हेर्यो।

“आउ तिमीसँग कुरा गर्नु छ। यहाँ ठीक छैन उभिन” उसले मेरो हात समात्दै तान्यो। हामी बजारको तल अर्कै गल्लीको एउटा चिनेको मान्छेको होटेलमा पस्यौ र एउटा कोठामा छिर्यौ। अँध्यारो कोठा र मैलो सुतीको पर्दा भएको त्यो कोठामा अगाडि आमुन्ने सामुन्ने हुने गरि हामी बस्यौ।

तिमि सन्चै छौ? उसले बल्ल मलाइ सोध्यो।

“अ सन्चै छु। अनि तिम्रो यो हात र टाउकोको पट्टी के हो?” छड्के टोपीबाट बाहिर निस्किएको सेतो पट्टीको टुक्रा देखाउँदै मैले सोधेँ।

“थाह छैन? दुई हप्ता अगाडि कलेजको घटना?” उसले भन्यो

“थाह छ, मैले त”..... भन्दै थिए उसले थप्यो “मरिसकेको भन्ठान्यौ होला हैन?” उ खिस्सा हास्यो।

“यस्तै लागेको थियो” मेले थपे।

“नौलो पनि भएन यस्तो सोच्नु। समाचारमा पनि म मरिसकेको खबर आएको थियो” उसले भन्यो।

“पार्टीले पनि यसको खण्डन गर्न उचित ठानेन सायद, किन कि यस्तो हुँदै गर्दा काम गर्न सजिलो हुन्छ भूमिगत भएर” उसले थप्यो।

“अ अनि सुनाउ तिम्रो के कस्तो हुदै छ” मैले साधारण गफ सुरु गरे।

“तिमीले देखि हाल्यौ नि मेरो अवस्था तर पनि सोध्दै छौ मेरो हाल?” उ खिस्स हास्यो।

“तिमी के गर्दै छौ? र हाम्रा साथीहरू के के गर्दै छन्? मलाइ सुनाउ” उसले सबै साथीहरूको नाम लिएरनै सोध्यो।

“अरे बाफरे तिमिलाई सबै साथीहरूको नाम याद छ अझै” मैले सोधे।

मैले सबै बेलीबिस्तार लगाएँ।

“सबै साथीहरूले प्रगति गरेछन् है? कोही डाक्टर, कोही मास्टर, कोही लैकचर, कोही विदेश” सबैले राम्रो गरे” उसले एकै सासमा भन्यो।

“तिमि पनि त कमान्डर भएका छौं रे त्यो सानो प्रगति हो र?” मैले सोधे।

“कमान्डर त हैन तर पनि हुनु प्रगति हैन, कमान्डर हुनु वा क्रान्तिमा लाग्नु मेरो र हाम्रो पार्टीको मजबुरी हो” उसले भन्यो।“ उसले थप्यो।

“तिमीलाई के लाग्छ हामीले चाहेर र ठूलै मान्छे बन्नका लागि यो युद्ध लडेका हौ र? जुन दिन जनताको राज्य र समाजमा परिवर्तन आउँछ त्यस दिनबाट मैले फेरि जिरोबाट(zero) नयाँ जीवन सुरु गर्नु पर्ने हुन्छ” उसले कमिजको बाहुली माथि सार्दै भन्यो।

“किन? तिमी पनि त नेता हुन्छौ, मन्त्री हुन्छौ, तिम्रो पनि त प्रगति हुन्छ नि हैन र?’ मैले सोधे

“तिमीले नेता हुनु, मन्त्री हुनुलाई प्रगति भनेर बुझ्यौ त्यो गलत हो। हामीलाई अहिले पनि त राज्यले अनेकौँ लोभ देखाएको छ, हैन र?” उसले मलाई प्रश्न गर्यो।

“हुन त हो” मैले स्वीकारे।

“चे ग्वाभारा हुन चाहेका भए क्युवामा राज्य गर्न सक्थेनन् र? क्युवाको क्रान्ति सम्पन्न भईसके पछि उनी फेरि जहाँ क्रान्ति आवश्यक छ त्यही जाने भनेर किन हिडे?” उनले इतिहास साछी राखे।

मैले त्यस बीचमा चेको जीवनी पढि सकेको थिए मलाई उसको यो कुरा बुझ्न गाह्रो भएन।

“त्यसो भए कहिले सक्छौ त यो क्रान्ति? मैले सोधे।

“परिवर्तनको सिमा हुँदैन आज भोलि वा दशक लाग्न सक्छ मित्र तर लागिरहनु पर्छ इमानदार भएर” उसले थप्यो।

“तिमीहरू पढ्दै छौ अहिले र तिमीहरूको पनि खाँचो हुने छ एक दिन यो समाजलाई” उ क्रान्ति पछिको योजनामा प्रस्ट भए जस्तो लाग्यो।

“परिवर्तन पछि पनि राम्रा र असल मान्छेहरूको खाँचो पर्छ समाजलाई क्रान्ति सफल भई सके पछि समाजलाई व्यवस्थित गर्ने पढे लेखेका र असल मान्छेहरूको खाँचो पर्छ। म कुनै दिन तिमीलाई कामको जिम्मेवारी दिएर आए भने नौलो नमान्नू” उसले थप्यो।

“कति ठूला कुरा गर्छौ तिमी र तिम्रो कुरा बुझ्न अझै पनि गाह्रो हुन्छ मलाई” मेले थपे।

“सबैले सबै कुरा बुझ्न गाह्रो भएर त बुझाउनको लागि यत्रो लडाई लड्दै छौं हामी।“ उसले भन्यो।

तिमी कुन ठाउँमा र कसरी लड्दै छौ त? मैले सोधे।

“म बिधार्थी संगठन विभागमा छु। लडाईको अग्रिम मोर्चामा छैन, अहिले घाइते छु, सायद हतियार विभागमा काम गर्छु केही समय” उसले यस पछिको योजना पनि बतायो।

“अ साच्चै बिहे गर्‍यौ?” उसले कुरा अन्तनै मोड्न खोजे जस्तो लाग्यो।

“छैन, तिमीले गर्‍यौ?” मैले सोधे।

“छैन र अहिले नै गर्ने बेला पनि आएको छैन र पार्टीसँग सोधेको पनि छैन”। सम्पूर्ण जीवनै पार्टी र देशकै लागि नै हो भनेर सबै सुम्पिएको जस्तो लाग्यो मलाई। सम्पूर्ण रूपमा जीवन पार्टी र देशलाई नै सुम्पिएर हिँडेको उसको यो कुरा सुन्दा मलाई नौलो लागेन।

“अब अहिले तिमी कहाँ जान्छौ त? समय छ भने आज मेरोमा बास बस, भोलि बिहानै निस्के हुदैन?” मैले घर लैजाने कुरा गरेँ।

“जान त मन छैन, बस्न त हुन्थ्यो तर केही कामहरू बाँकी छन् र आजै सक्नु पर्ने छ। म आजै जानु पर्छ” संगठनकै कामले उ त्यहाँ आएको थाह भयो।

“मिल्छ भने बसौँ, धेरै कुरा गर्नु छ, दुःख सुखका” मैले जोड गरे।

“म बस्छु भोलि कसैले थाह पायो भने, तिमी र तिम्रो परिवारलाई निकै दुख दिने छन् राक्षसहरूले” उसले भन्यो। मैले निकै जोड गरे तर उ बस्न मानेन।

त्यस पछि हामीले चिसो खायौं र माथि बजारमा आएर उ बुटवल जाने बस चढेर गयो। मैले उ बसमा चढिन्जेल पछाडी बसेर हेरिहरेँ। त्यो नै हाम्रो जीवनको अन्तिम भेट र बिदाइ थियो भन्ने मैले सोचेको पनि थिईन। उ पातलो, थकित र घाइते शरीर लिएर उनकै भाषामा दुस्मनहरूको घेरा बन्दी तोड्दै थियो र गुपचुप यात्रामा निस्कियो।

त्यसको तीन वर्ष पछि म मेरै पारिवारिक विवाह समारोहमा सहभागी हुन घर गएको थिए। बिहेको अघिल्लो दिन भोलि गण्डकी बन्द भन्ने खबर आयो। हामी बिहेको जन्ती लिएर बस चढेर जानु पर्ने थिएन तर पनि चाहिने समानहरू र बिहेको चटारोमा बन्दले असर त गर्ने भयो भन्ने लाग्यो। यसै बीचमा, पोखरा वरिपरिकै गाउँ कतै खोल्सोमा राखेर ढुँगाले थिचेर उनको हत्या गरियो रे भन्ने समाचार आयो। उनकै हत्याको विरोधमा बन्द आयोजना गरिएको थियो। मलाई यो खबरले मलाइ निकै दुखी बनायो र निकै दिन सम्म उसको अनुहार मेरो आँखामा आइरह्‍यो। त्यस बेला देशको लागि इमानदार भएर आफ्नो जीवनको गर्ने र खाने बेलामा समाज परिवर्तनको सपना देख्‍ने, त्यो जोसिलो युवा मेरा साथी मात्र हैनन् बरु देशकै महान् शहीद भएको भनेर चित्त बुझाउनु बाहेक केही विकल्प रहेन। तिमिलाइ

आज शहीदहरूको परिभाषा फेरिएको छ। उनले चाहेको सामात्र यस्तै हो वा हैन, उनी भएका भए अझै राम्रो सँग सम्झाउन सक्थे होलान्। अथवा म समय मिलाएर सोध्थे हुँला। समाजलाई परिवर्तन गर्न हिँडेको एउटा ठिटोले जीवनलाई बीचमै रोकिदियो वा बलिदान गरिदियो। आज उसको त्यो त्यागको आडमा कति कामहरू कसरी भइरहेका छन् त्यो आज हामी सबैलाई थाह छ। आज समाज र सोच परिवर्तन हुँदै गर्दा शहीदहरूको परिभाषा पनि परिवर्तन भएको छ। मलाइ सबै शहीदहरूलाई सोध्न मन छ, “के सबै शहीदहरू चाहेर नै शहीद भएका हौ त?” “तिमी शहीद हुन योग्य छौं की छैनौ?” “कतै जबरजस्ती शहीद बनाइएका त हैनौ?” आफूसँग कुरा नमिल्ने जतिलाई मार्दै, भाग्दा भाग्दै पछाडि गोली लागेर मरेका शहीद पो हौ कि? हामीलाई भूपीले भने जस्तै बाँचेर गाह्रो भइरहेको छ। के तिमीहरूलाई मरेर शान्ति भा छ? साँच्चै तिमीहरूलाई के थाह, यहाँ तिमिहरूको रगतमा होली खेलेकाहरुको भोग देखेर निश्चय पनि गाह्रो भएको छ हामीलाई बाच्न।

आज उ जीवित भएको भए, मलाइ पनि राज्यको कुनै उच्च ओहोदा, राजदूत बा योजना आयोगमा सिफारिस गर्दै भनेर पछि लाग्थे होला। सुझबुझ भएकाहरु भनिएका हामी, सिफारिस र चाकडीकै भरमा मेरो साथी बा सहपाठी भनेर ठूला ठूला मञ्चमा बोल्थ्यौ होला। उ आफै कुनै ठूलो ओहोदामा बसेकै भए पनि कम्तीमा घरमा श्रीमतीलाई उसको फोटो देखाउँदै, उ मेरो साथी हेर भनेर छाती फुलाउथे होला। शहीदहरूकै लिस्टमा नाम रहदा समेत यसरी शहीद बन्न सक्नु पर्छ भनेर आफ्ना छोरा छोरीलाई सिकाउन सक्दिन म, किनकि अहिले परिभाषा र तरिका फरक हुँदै छ बलिदान, शहीद र जीवन दर्शनको। यस्तो चाडै परिभाषाहरू परिवर्तन होलान् र मात्र भित्ताहरूमा आफ्नो फोटो राख्‍नकै लागि यत्रो ठूलो बलिदान दिएको हो झै लाग्दैन। भित्तामा फोटो त फटाहा, चोर र गद्दारहरूको पनि टाँसिएकै थियो। हिजो राजाहरूको पनि फोटो गर्व साथ भित्ताहरूमा टाँसिन्थ्यो सलाम गरिन्थ्यो र प्राण भन्दा प्‍यारो ठानिन्थ्यो। समाज परिवर्तन हुँदै गर्दा यो सबै परिवर्तन भयो। तर देश समाज र जनताका निम्ती निश्वार्थ भएर लाग्नेहरूको दर्जा र तुलना.......?????? यहाँ मरेर गएका शहीदहरूको के डर? डर छ त बाचिरहेका थर्काउने, लुट्ने र असुली गर्ने शहीदहरूको पो छ त। चार पाँच जनाको समूहको शहीद, गाउँ र टोलको शहीद, घर्मको शहीद र जातीको शहीद, बिजुली चोर्दा करेन्ट लागेर बनेका शहीद, डनहरुको लडाइमा मरेका शहीद आदि आदि, थुप्रै स्तर र क्षमतामा विभाजित शहीदहरू.. चेतना भया..

राजनैतिक विचारका अनेकौ आधारभुत कुराहरुमा मतभेद हुँदा हुँदै पनि, बिचार भन्दा माथि मैले एउटा असल मित्रलाई(शहीद विजय ढकाल) गुमाएको सत्य कथा हो। मःम खान जाँदाका (हामी सगै जान्थ्यौ तर उसले भने खादैन थियो), बनभोज खान जादाँका, फेवातालमा डुगाँ चलाउन जादाँका समय र उ सँगको अनेकौँ ठट्यौली संवादहरू मेरो मनस्पटलमा अझै ताजै छन्। मैले अन्तिममा भनेका विभाजित शहीदहरूको बीचमा, देशका लागि इमानदार, समाज परिवर्तनको लागि जीवन नै फालेका शहीदहरू देख्दा चित्त बुझ्दैन। अझ यीनै शहीदको खेती गरेर, इमानदार नभई उनैको रगतलाई मागी खाने बाटो बनाएको देख्दा मन पोलेर आउँछ र निकै दुःख लाग्छ।

(तिमीलाइ धेरै धेरै सम्झना र नमन)

 

061343_Bijaya_dhakal

 

 

(शहीदः विजय ढकाल)

Comments :

5 comments to “जीवन सापट छैन। एउटा सारांश सत्य कथा!!”

मनै चिसो हुने गरी पढियो ! । जीवितलाई सहिद बनाएर आफ्नो राजनैतिक व्यापार चलाउने निकृष्ट व्यापारी प्रति झनै वितृष्णा जाग्यो ।

Dilip Acharya said...
on 

मेरो छिमेकमै बस्ने बिजय ढकाल राम्रा र मेधावी छात्र थिए भन्ने मैले सुनेको हुँ | उनीसंग मेरो भेट भएन | सशस्त्र युद्धको ज्वारले उनलाई बगाएर लग्यो | बास्तवमा उनीजस्ता मानिस बाँचेर देशको लागि केहि गर्नु पर्थ्यो | शहिद भए, तर त्यसको उपलब्धि देखिने छाँट छैन | उनका आदर्शपुरुषहरु बिस्तारै अर्कैतिर तानिएको देखिन्छ | क्रान्तिका नारा सस्ता, फुस्रा बेकामका भएका छन् | यस्ता युवाहरुले ज्यान गुमाउनुपर्ने गरी हुने हिंसात्मक आन्दोलनको पनि खाँचो छैन |
उनीप्रति हार्दिक श्रद्धान्जली !

Chaitanya said...
on 

I have no words to add and comment! touch inside.

Dhakal Rabi said...
on 

Nice article.

Trade / advertise free@ chhito.com said...
on 

Bhayankar ramro katha. Keep it up.

BIjay Joshi said...
on 

Post a Comment