यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Wednesday, March 21, 2012

SLC दिँदै गरेका सबै जनालाई

SLC दिँदै गरेका सबै जनालाई हार्दिक शुभकामना। हाम्रो जस्तो बर्ष भरी पढेको कुरा सबै सम्झेर एकै दिनमा अझै तीन घण्टामा सम्झेर उत्तर दिनु पर्ने र त्यसैको आधारमा बिधार्थीहरुको मूल्याङ्कन गरिने ठाउँमा निकै चनाखो हुन जरुरी छ। परीक्षा भनेको के हो भनेर गहिरसँग सोच्यो भने वास्तवमा यो कुनै मुटुको धड्कन नाप्ने तरिका हैन, हाम्रो आँखाले कति टाढा सम्म देख्न सक्छ भनेर जाँच्ने तरिका हैन अथवा हामीले हानेको मुक्का कति बलियो छ भनेर जाँच्ने पद्धति पनि हैन। परीक्षा भनेको मस्तिष्कको स्मरण शक्ति कति छ र कति ज्ञान सम्झेको छ भनेर पत्ता लगाउने माध्यम हो। निश्चित उमेरमा, निश्चित समय भित्र मस्तिष्कले कति सम्झियो, कति सम्झन सक्छ भनेर जाँच दिइरहेका छौं हामी। अझै भन्नु पर्दा हामी परीक्षाका माध्यमले आफ्नो मस्तिष्कको वर्गीकरण र प्रमाणीकरण गरिरहेका छौ। यथार्थमा लौ मैले यति कुराहरू सम्झेको छु, जानेको छु र म यो कुरामा सिपालु छु भनेर देखाउने वा सर्टिफाइ हुने माध्यम हो परीक्षा। हामीले जानेका र बुझेका कुराहरू हाम्रो मस्तिष्कमा गएर बस्छ। हामी त्यसलाई यथार्थ ठाउँमा प्रयोग गर्छौ सीपको रुपमा। त्यसैले स्वस्थ मस्तिष्क कति जरुरी छ भन्ने कुरा हेक्का राख्‍न जरुरी छ।

हाम्रो मस्तिष्कको सबै भन्दा ठूलो गुण के हो?

हाम्रो मस्तिष्कको सबै भन्दा ठूलो गुण भनेको बिर्सने क्षमता हो। हामीले आमाको पेटमा भए देखी अहिलेका कुरा एकै चोटि सम्झने हो भने मस्तिष्क विस्फोट हुन सक्छ। त्यसैले समय र परिस्थिति अनुसार हामी कुराहरू, घटनाहरू बिर्सन्छौ र नयाँ कुराले दिमाग भर्छौ। त्यसैले पढेका कुरा बिर्सनु हाम्रो गल्ती हैन। यो त हाम्रो मस्तिष्कको बनौटै यस्तै छ। त्यसैले मुख्य र ठूला घटनाहरूलाई मस्तिष्कले लामो समय सम्म राख्छ र बिर्सँदैन तर साना कुराहरू चाडै बिर्सन्छौ त्यसैले पढेका कुरा बिर्सिए भनेर पिर गर्नु पर्दैन बरु पढेका साना साना कुरालाई कसरी लामो समय सम्म मस्तिष्कमा राख्ने वा सम्झने भनेर यसका उपायहरू जान्न र प्रयोग गर्न जरुरी छ।

हामीलाई जाँचको अघिल्लो दिन सबै भन्दा बढी डर लाग्दछ र एक प्रकारले बर्ष भरि पढेको सबै कुरा बिर्सिए जस्तो हुन सक्छ। तर वास्तवमा  हामीले यी कुराहरु बिर्सिएको हुदैनौ। त्यसो हुनुमा हाम्रो मस्तिष्कले सबै कुरा एकै चोटि सम्झन नसक्नू मात्रै हो। एकै पटकमा सयौं प्रश्नका उत्तरहरू दिमागमा आउन सक्दैन त्यसैले मैले के पढे भनेर सम्झदा केही पनि नभए जस्तो शून्य अनुभव हुन सक्छ। तर त्यसै बीचमा कुनै एउटा प्रश्न सोध्यो भने मस्तिष्कले त्यसको उत्तर सहजै सम्झन सक्छ। किनकी कुनै एउटा प्रश्नको उत्तर सम्झदा बाँकी सबै कुराहरू दिमागले बिर्सन्छ अथवा ओझेलमा पारेर सोच्छ र प्रस्ट आऊदैन।

M.Sc.का बिधार्थीहरुलाई  पढाउँदा, एक दिन कालो पाटीमा मैले सानो गल्ती गरेँ। मैले गरेको गल्ती एक जना बिधार्थीले समातेर सच्याउन भने। मैले सरी है मैले बिर्सिए छु भनेर तत्काल सच्याएँ। त्यसै बीचमा विद्यार्थीहरूलाई लाग्यो कि यो मास्टरलाई यो पनि आउँदो रहनेछ। सबै बेस्करी हाँसेँ। कता कता लाज पनि लाग्यो तर मलाई थाह थियो यस्ता गल्तीहरू साधारण हुन्छन् मान्छेबाट भनेर। मैले त्यसै बेला सबै विद्यार्थीहरूलाई पालै पालो “क” बाट “ज्ञ” सम्म सर्र भन्न लगाएँ। पत्याउने गाह्रो ९० जना बिधार्थी मध्य ३ जनाले मात्रै नबिगारिकन भन्न सके। मैले भनेको थिए, तपाइहरूले कक्षा १ मा वा शिशु कक्षामा पढेको कुरा समेत बिर्सनु भए छ, मैले त यो हिजो मात्रै पढेर पढाउन आएकोले बिर्सनु नौलो हो र? सबै बिधार्थीहरुको अनुहार हेर्न लायक थियो।“

परीक्षालाई कसरी बुझ्ने र कसरी त्यसलाई आफ्नो अनुकूल बनाउने बारे मेरा केही बिचारहरू बुँदागत रूपमा यहाँ राख्दै छु।

 

# सबै भन्दा ठूलो स्वास्थ्यमा ख्याल गर्ने। बढी चिल्लो, बढी चिसो र मसलादार खाने कुरा खानाले परीक्षाको बेला बिरामी हुन सकिन्छ। परीक्षा दिइरहेको बेला पेटनै खराब भएर दुई चोटि बाहिर निस्कनु पर्यो भने पनि निकै समय बरबाद र खर्च हुन सक्छ। त्यसैले सधै स्वस्थ खाना र नियमित व्यायाम गर्न जरुरी छ।

 

#हामी पढेको कुरालाई घण्टामा तुलना गर्ने गर्छौ। आज रात भरी ८ घण्टा पढियो। रात भरि नसुतीकन पढियो भनेर मक्ख हुन्छौ। रात भर नसुतीकन पढ्दा शरीर मात्र हैन, सबै भन्दा बढी मस्तिष्कनै तनाव र थकित हुने गर्दछ र थकित दिमागले चाहिने बेलामा सूचनाहरू प्रवाह नगर्न सक्छ र परीक्षामा पढेको उत्तरहरू बिर्सन सकिन्छ। त्यस्तो बेलामा मस्तिष्कले आराम गर्न खोज्छ अथवा सुत्न खोजिरहेको हुन्छ। सुत्नको लागि तयार र अल्छी गरिरहेको मस्तिष्कले परीक्षामा काम गर्दैन। त्यसैले प्रशस्त सुत्‍न र आराम गर्न जरुरी छ।

 

#पढिरहँदा पुस्तक बा नोट कपिमा मात्रै हेरेर सम्झन खोजियो भने कहिलेकाहीँ पुरै कुराहरू याद नहुन पनि सक्छ। त्यसैले पुस्तकमा वा नोटमा हेरेर याद गर्ने कोसिस गर्ने र अर्को पटक पुस्तक वा नोटबाट आँखा हटाएर अन्त IMG_1580कतै हेरेर सम्झने कोसिस गर्यो भने पढेको र याद गरेको कुरा दिमागमा लामो समय सम्म रहन सक्छ। अझै कुनै कुरा सम्झन निकै गाह्रो भइरहेको छ भने कोठामा हिँडेर, आफैले आफैलाई आवाज निकालेर पढाउने गर्यो भने दिमागलाई पढेको कुराहरू साधारण हुन जान्छ र लामो समय सम्म सम्झन सकिन्छ

 

#हेरेर भन्दा पनि लेखेर सम्झने कोसिस गर्यो भने पढेका कुरा लामो समय सम्म सम्झिन्छ। जाँच दिन जानु अगाडि भने सबै लेखेर याद गर्न भ्याइँदैन। आफूले बनाएको नोटको पाना पल्टाउने, नोटको टपिक्स हेर्ने, आँखा बन्द गरेर यो टपिक्समा के के कुराहरू छन् भनेर सम्झनु नै सजिलो र चाँडो हुन्छ। कुन प्रश्न आयो भने के उत्तर लेख्‍ने भन्ने तयारी गरेको हुनु पर्छ।

 

#परीक्षामा बस्दा, प्रश्नपत्र नपाउन्जेल सम्म मस्तिष्क शून्य हुनु नौलो हैन। परीक्षाको मूल्याङ्कन हामीले लेखेको उत्तर पुस्तिकाको आधारमा गरिने हुँदा, आफ्नो उत्तर पुस्तिका सधैँ सफा र उत्तर दिदा प्रश्न नम्बरहरू लेख्‍न भुल्नु हुदैन। प्रश्न नम्बर नलेखेको उत्तरमा परीक्षकले अंक दिइरहनु पर्छ भन्ने बाध्यता छैन। सफासँग प्रश्न नम्बर राखेर सबै भन्दा बढि आफूलाई आउने प्रश्नको उत्तर लेख्दा जाँच्ने मान्छेलाई सुरुमै राम्रो सकारात्मक प्रभाव पर्न सक्छ र उसले पछिल्ला अपुग र अधुरो उत्तरहरूमा समेत सहानुभूति राखेर राम्रो अंक दिन सक्छ। प्रश्नको उत्तर दिँदा, परीक्षकलाई केही पनि आऊदैन भने झै गरेर, यथार्थ, सटीक र प्रस्ट उत्तर दिनु पर्दछ। यत्रो लेखे पछि जाँच्ने मान्छेले बुझि हाल्छ नि भनेर सोच्नु हुदैन।

 

# हामीले परीक्षा दिन जाँदा, सोधिएका सबै प्रश्नको उत्तर आउनु पर्छ भन्ने छैन र सबै उत्तरहरू आउन पनि गाह्रो हुन्छ। त्यसैले प्रश्नपत्रमा सबै भन्दा पहिले देखिएको, आफूलाई नआउने प्रश्नले आत्तिन सकिन्छ। हडबड नगरीकन, आफूलाई आउने प्रश्नहरूको चयन गर्ने र सबै भन्दा बढि राम्रो उत्तर आउने प्रश्नबाट सुरु गर्नु पर्छ।

 

# समयको व्यवस्थापन निकै जरुरी हुन्छ परीक्षामा। कहिलेकाहीँ जानेको भनेर चाहिने भन्दा बढि उत्तर लेखिरहँदा, अर्को जानेको उत्तर लेख्ने समय नै हुदैन। त्यसैले समयलाई राम्रोसँग बाढेर लेख्‍न जान्नु पदर्छ। यदि यस्तो भयो र केही जानेका उत्तरहरू सबै लेख्‍न सकिएन भने बुँदागत रूपमा लेखेर छोड्नु राम्रो हुन्छ। मानौँ कुनै प्रश्नको उत्तर दुई पेज लामो हुन सक्थ्यो र त्यसको लागी १५ मिनेट समय चाहिन्थ्यो। आफूसँग ५ मिनेट भन्दा समय छैन भने, जानेका कुराहरूलाई बुँदागत रूपमा टिप्पणी बनाएर लेखेर छोड्यो भने परीक्षकले यो बिधार्थीलाई त्यो प्रश्नको उत्तरका मूलभूत कुराहरू थाह रहेछ भनेर बुझ्दछ। त्यस्तो अवस्थामा राम्रो अंक पाउन सकिन्छ।

 

# उत्तर पुस्तिकाको दायाँ र बायाँ ठाउँ छोडेर लेख्ने बानी गर्न राम्रो हुन्छ र हरेक प्रश्नको उत्तर लेखिसके पछि, २-३ लाइन छोडेर अर्को उत्तर सुरु गर्दा कहिलेकाहीँ लेख्दा याद नभएका र छुटेका बुँदाहरू पछि राख्‍न सजिलो हुन्छ। उत्तर पुस्तिका जाँचिसके पछि अन्तिममा प्राप्ताङ्कहरू जोड्दा उत्तर पुस्तिका जाँच गर्ने मान्छेले नम्बर जोड्न निकै गल्ती गरिरहेका हुन्छन्। यसो हुनुमा परीक्षार्थीहरूको पनि हात हुन्छ। आफूले लेखेका उत्तरहरूलाई केही खाली ठाउँ दिएर लेख्दा कपी सफा पनि देखिन्छ र जाँच्ने मान्छेले नम्बर राख्ने ठाउँ पनि पाउँछ र अन्त्यमा प्राप्ताङ्क जोड्दा गल्ती कम हुने गर्दछ।

 

#परीक्षामा बोल्न, चिट चोर्न वा कुनै पनि गलत काम गर्न पाइँदैन भन्ने सबैलाई थाह हुन्छ। आफूले जानेको भन्दा चिटमा लेखिएको, अरूले भनि दिएको उत्तरमा बढी विश्वास गर्ने बिधार्थीको बानी हुन्छ र यसै क्रममा कहिलेकाहीँ नचाहेर पनि बिधार्थीहरुले गल्ती गरिरहेका हुन्छन। परीक्षा दिन जाँदा परीक्षा निरीक्षकलाई पनि जाँच्न र उसको बानीको बारेमा बुझ्न पनि जरुरी हुन्छ। उ कत्तिको कडा छ? सानो भन्दा सानो गल्तीमा बिधार्थीहरुको कपी तानेर वा सचेत गराउने गर्छ कि गर्दैन वा कत्तिको खुकुलो छ बुझ्न जरुरी हुन्छ। आफूले गल्ती नगर्दा पनि अरूले गरेको गल्तीले कहिलेकाहीँ सजाय भोग्नु पर्ने हुन सक्छ। त्यसैले निरीक्षकलाई दुस्मनको रूपमा हैन साथीको रूपमा वा परीक्षा सञ्चालनमा सहयोग गरिरहेको गुरुको रूपमा व्यवहार गर्नु पदर्छ। नम्र भएर बोल्ने, उसलाई आदर जस्तै पहिलो पटक भेट्दा नमस्ते गर्ने, उ सँग बोल्दा आदरार्थी शब्दहरूको प्रयोग गर्ने र उसलाई मर्यादित परीक्षा सञ्चालनमा सहयोग गर्नु पर्दछ। थप उत्तर कपी माग्दा, बाहिर जाँदा उसलाई धन्यवाद टक्राउने गर्दा राम्रो हुन्छ। अर्थात् सहज र मैत्रीपूर्ण वातावरण बनाउन प्रयास गर्नु राम्रो हुने छ। यसो गर्नु सबैको कर्तव्य पनि हो। यसै बीच कहिलेकाहीँ केही सहयोग माग्नु पर्‍यो भने आफैलाई सजिलो हुने गर्दछ।

परिक्षा दिदै गर्दा, एउटा हिसाबमा मान्छेको संख्या डेसिमलमा (२२.३४) आयो। गरेको तरिका कतै बिग्रिएको जस्तो लाग्दैन तर उत्तर त्यो पनि मान्छेको संख्या यस्तो आए पछि मलाई विश्वासै लागेन आफ्नो उत्तरमा। मैले परीक्षाको अन्तिम समयमा आफ्नो छेउमा बसेको साथीलाई question no. 8 को उत्तर के हो भनेर सोधे, “खै मेरो त २२.३४ आयो, तिम्रो कति आयो” उसले भन्यो । “मेरो पनि त्यही आएको छ”, मैले भने। त्यसै बीचमा पछाडि बाट निरीक्षकले बोले, “लौ लौ हल्ला नगर्नुस, बरु समय सकिन लाग्यो कपी बुझाउन तिर सुरु गर्नुस।“ मलाई लाग्छ यो छुट हामीले उनलाई गरेको राम्रो ब्यबारहले नै हो।

# उत्तर पुस्तिकामा फोन नम्बर, आफ्नो सम्पर्क ठेगाना कहिलै लेख्‍नु हुँदैन र पैसा राख्न पनि हुदैन। यदी कसैले यसो गरिरहेको छ भने उ आफैलाई आफ्नो लेखाइले पास हुने छु जस्तो नलागेर नै गरेको हुन्छ। कपी जाँच गर्ने मान्छेले कहिलेकाहीँ एकाध नम्बर नपुगेर फेल हुन लागेको कपीलाई सहानुभूति राखेर एक दुई नम्बर दिएर पास गरि दिउँ भो भन्ने सोचेको छ भने उसले त्यसो गर्न सक्दैन। उसलाई पनि डर हुन्छ किनकी फेल भएको यो मान्छेलाई किन अनावश्यक नम्बर दियो भनेर उ माथि जाँच होला, उ माथि आशङ्का गरिएला भनेर। त्यसैले यस्तो कपीमा परीक्षक अझै सतर्क हुने गदर्छ। यसो गर्दा उसले अझै बढी कडाइका साथ कपि जाँच गर्ने गर्दछ।

 

# परीक्षामा लेखिएका उत्तरहरूमा साना साना धेरै गल्तीहरू हुन पुगेका हुन्छन्। सुरुमा लेख्दा आफ्ना गल्तीहरू थाह नहुन सक्छ। त्यसैले अन्तिमको १०-१५ मिनेट समय आफूले लेखेका उत्तरहरू फेरि पढ्ने समय छुट्टाउनु राम्रो हुन्छ। सुरु देखिन पुरै उत्तरहरु पढ्दा यसरी हुन गएका सासना गल्तीहरू सच्याउने मौका मिल्छ। अनावश्यक पाना भर्नु भन्दा लेखेका उत्तरहरूलाई सहि र त्रुटि रहित बनाउँदा पुरा अंक पाउन सकिन्छ। चेतना भया..

Comments :

4 comments to “SLC दिँदै गरेका सबै जनालाई”

एस एल सी (SLC) दिनेहरू लाई एकदम जानकारि मुलक। राम्रो र समय सापेक्ष्य।

admin said...
on 

परिक्षा दिने बिद्यार्थीको लागी यो लिङ्क उपयोगी हुन सक्छ: http://myhealthschool.blogspot.com/2012/01/blog-post.html

Anonymous said...
on 

go for the best, prepare for the worst!
:)

N K M said...
on 

Nice post

Free Classifieds said...
on 

Post a Comment