यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, April 10, 2012

यान्त्रिक जीवन मेरो/हाम्रो कथा

केही घटनाहरूः

#सारी लगाएको कहिलै देखेको थिइन। अग्ली पातलो शरीर र मसिनो अनुहार लाली र गहनासँग राम्री नै देखिदो रहेछ। मेरो घरको सामुन्ने राजमार्गसँग जोडिएको, पहाड खोपेर आधा घर ढिस्को भित्र पसालेर बनाएको अग्लो घरमा म पनि थिएँ। भान्सा घर र बैठक कोठा जोडिएको थियो। सुर्यको प्रकाश आउने कुरै भएन। म उनको बुबा भाइ र दाई बसिरहेको कोठामा थिएँ। उनकी आमा पनि गुलाबी रँगको सारी लगाएर बसिरहेकी थिइन्। म उनैको अगाडि थिएँ। साथमा गहनाले सजिएकी दुलहीलाई मैल सोधे “केटो कहाँको हो?” “सिड्नी,” उनले भनिन्। “कहाँ रे?” “अष्ट्रेलियाको” उनले म तिर फर्केर हाँस्दै भनिन्। “नेपाली नै हो कि विदेशी ?” मैले फेरि थपेँ “यही धोर्पेकको केटो, उतै पढ्न गएको र उतै व्यवसाय गरेर बसेको छ रे” मेरो आडैबाट उनको बाबुले थपे। उनको भाईले म काठमान्डौ हुँदा जागिर लगाई देउ भनेर कहयौ पटक फोन गरेको थियो तर मैले उनलाई जागिर लगाई दिन सकेको थिइन। उ भान्साबाट निस्कँदै मेरो अगाडिबाट अर्को कोठामा गयो । मलाइ नमस्ते समेत भनेन। मलाई लाग्यो उ म सँग रिसाएको हुनु पर्छ। “अनि अहिले केटो कहाँ छ त?” मैले उनी तिर फर्केर सोधेँ? “उ सिधैँ अष्ट्रेलियाबाट आउँदै छ” उनले भनिन्। “अनि तिमीले भेटेकी छौ?” मैले सोधेँ। “छैन भेटेको त” उनले जबाफ फर्काइन।

 

#म मेरो घरको अगाडि आईपुगेँ। मान्छेहरूको भिड देखेर म छक्कै परे। भीडमा आईमाईहरु रातो सारी र चोलोमा सजिएका थिए। उनको बिहेनै हो जस्तो गरिकन भिडभाड थियो। चहलपहल राम्रै थियो। मेरो घर र उनको घर मोटर बाटो वारि र पारि थियो। उनीहरू घरमै थिए तर यता बाटो वारी मान्छेहरूको भीड। त्यो पनि बिहेको हैन। उनलाई केटा हेर्न आऊने भन्ने खबरले भेला भएका। म भीडमै हराए, त्यसै बीच, पर बाटोमा मैले लगाउने गरेको हापपैन्ट देखे जस्तो लाग्यो। म भिडबाट बाहिर निस्किएर, त्यो बाटोको बीचमा गए, साँच्चै मैले नै लगाउने गरेको हापपैन्ट र मैले हाल लगाउने गरेको एउटा मलम रहेछ। हैन यो बाटोको बीचमा कसरी आयो? म छक्कै परेँ। मेरो हापपैन्ट उठाएँ, तर परबाट मैले लगाउने गरेको मलम, नजिकै गएर उठाउँदा भने खाली दाँत माझ्ने पेस्टको खोल मात्रै रहेछ।

 

#मेरो सानै देखीको साथी भुन्टेलाई नभेटेको कत्ति भयो। म उनको घरको सिडि उक्लेर उनको भान्सामा सिधैँ पसेँ। पुरानो, ढुगाँ र काठले बनेको तीन तले घर। राजमार्गसँग जोडिएको एउटा साखा बाटोमा रहेको घर। सिधैँ माथि जाँदा उनको सानो छोराले कपडा नलगाईकन मलाइ भर्याङ्ग चढ्दै गरेको हेरिरहेको रहेछ। म भर्याङको अन्तिम खुड्किलोमा थिए। मेरो खुट्टा चिप्लियो तर पनि त्यो खुड्किलो बल्ल बल्ल पार गरेर माथि आएँ तल हेर्दा, सबै ठीकै थियो तर अन्तिम खुड्किलो भाँचिएर चिलाउनेको सानो दाउरा अल्झाएको रहेछ। म माथि आएर त्यो सानो फुच्चेको अनुहार हेरे, उस्तै पहिले सानोमा भेटे जस्तै, दुब्लो। खुड्किलो सकिने बित्तिकै भान्सा थियो। तीन वटा माटोको ढिस्को थोपारेर बनाएको चुल्हो। चुल्होमा केही पाक्दै थियो। भान्सा र भ्याङ्गबाट सिधैँ आउने मान्छेलाई छेक्नको लागि बनाएको सानो पातलो काठको बारको छेउमानै भरत दाजु र उनकी श्रीमती सुतिरहेका रहेछन्। दाजु सिरानीमा आड लगाएर मोबाईल हेर्दै, अनि भाउजू (मैले अझै सम्म देखेको थिएन) उहाँको खट्टालाई सिरानी बनाएर सुत्‍नु भएको रहेछ। मुख र शरीर सबै भुलाको खास्टोले छोपेको। “दाजु आजकल कता हराउनु भो, निकै भो त, फेसबुकमा पनि भेट हुदैन” मैले सोधे(तर उहाँ मेरो फेसबुकमा नै हुनु हुन्न)। भुलाको खास्टोले मुख छोपेर सुतिरहेकी भाउजूले आफ्नो टाउकोबाट खास्टो हटाएर मलाइ हेर्नु भो। दाजु आजकल काठमान्डौ तिर हुनु हुन्छ। दाजुको फेसबुक मेले हेर्छु कहिलेकाहीँ। म उहाँको छेउबाटै अगाडि बढेँ। भान्सासँग जोडिएको घरको बार्दली सम्म म पुगेँ। मेरो साथीसँगै त्यहाँ निकै धेरै मान्छेहरू भेला भएका रहेछन् मेले मेसो पाइनँ। मेलै साथीलाई हेलो के छ भनेर सोधेँ। उ मुस्स हाँस्यो। कत्ती पछि भेटेको साथीले त्यति वास्ता गरे जस्तो लागेन। त्यसै बीच मैले उनको बुबा र आमालाई देखेँ, नमस्ते भनेर सिधैँ साथी भएको ठाउमा गएँ। उनको बार्दलीसँगै पल्लो घरको बार्दली जोडिएको रहेछ। अझै दुबै घरको बार्दली एउटै। ठूलो बार्दली मात्रै के भन्ने कुनै घरको छत जस्तो थियो। सिमेन्टले बनेको, वरिपरि सानो बगैँचा पनि रहेछ। पल्लो घर भने कुनै रेष्टुरेन्ट वा ठूलो होटलले भाडामा लिएको रहेछ। पाहुना बढी भयो भने, त्यो रेष्टुरेन्ट ग्राहकहरूको टेबुल र कुर्ची उनको घरको बार्दली सम्म आइ पुग्दो रहेछ। दुई वटा टेबुल र त्यसको वरिपरि रहेका साना कुर्चीहरु पनि मैले त्यहाँ देखेँ। मीठा मीठा खानेकुराहरू, टेबुलमा सजाएर राखेको पनि देखेँ। म र मेरो साथी त्यही एउटा टेबुलमा बस्यौं। मैले आफ्नो मुख त्यहीको रुमालले पुछे र केही टिप्स दिएर उठेँ। मेरो नजिकै इस्टकोटमा सजिएको वेटरले मलाई धन्यवाद टक्रायो। म मेरो साथीसँग उनको बार्दलीकै सानो बगैँचा नजिक उभिए र सोधेँ “तिमीले भनेको बिरुवा कुन हो?” उसले एउटा ठूलो गमलामा फुलिरहेको बिरुवा देखाउँदै भन्यो “यी यही हो, अहिले यताpainting-dream सारेको छु मान्छेहरूले टिपिदेलान् भनेर।” “साँच्चै तिमीले भनेको जस्तो काम गर्छ छ यसले” मैले सोधेँ। “मैले भनेको हो र, सबैले यसै भनेर लगाएका छन्, मैले पनि यसै भनेर लगाएको हुँ।” उसले थप्यो। यो अमेरिका तिर लैजान सके राम्रो हुने थियो। तर यो बिरुवा उता छ कि छैन थाह छैन, नयाँ प्रजातिको बिरुवा देखेर, कताबाट आयो भनेर सोध खोज गर्दा म फस्न पनि सक्छु, मैले मन मनै सोचेँ। “भइगो छोडी देउ यो बिरुवा यतानै ठीक छ।” मैले नलैजाने बिचार गरेँ। “अनि तिमीले कपाल बेस्करी खौरे छौ त?” मैले उनको टाउको देखाउँदै भने। “मेरो बुबा बित्‍नु भो, त्यसैले मेरो कपाल छोटो छ।” एकै छिन अगाडि देखेको उनको बुबालाई मेले पनि बिर्सिएँ। “एक महिना अगाडि बित्‍नु भएको हो, अहिले घरमा पुजा छ त्यसैले यहाँ आउनु भएको छ।”

 

चुरो कुरोः

केही दिन पहिले म र मेरी छोरी उनको स्कूल पछि सिधैँ उनलाई मन पर्ने स्टोर “fivebelow” मा जाँदै थियौँ। पछाडिको सिटमा बसेकी उनीले, हामी मूल राजमार्गमा छिर्नको लागि गाडीको ईन्टिकेटर बालेर बस्दा बस्दै गएको राती देखेको सपनाको कुराले सुनाउन थालिन्। उनीले भने जस्तै यहाँबाट वासिङ्गटन डि.सी.को स्पेस सग्राहलय जान लागेको बेला ट्राफिक जाममा परेछौँ। अनि मैले आफ्नो गाडी उडाएर लगेको रे। अनि मैले भनेको थिए “I wish, I could do that right now sweetie”. किन कि हामी साँच्चै त्यो कुनामा पालो कुरेर बसेको पन्ध्र मिनेट बन्दा बढी भइसकेको थियो। सानो हुँदा मैले पनि धेरै पटक उडेको सपना देखेको छु। बढ्दै गरेको मान्छेले बेला बेलामा उडेको सपना देख्‍छ भन्थे बूढापाकाहरु। शरीर बढ्ने बेलामा हो वा हैन तर उद्देश्य, लक्ष र भविष्य देख्‍नेहरु सपनामा आफू उडेर सबै भन्दा अगाडि पुग्न खोज्नु नौलो हैन जस्तो लाग्थ्यो। मैले कहयौ पटक सोधेको छु मेरी छोरीलाई तिमीले सपनामा के देख्‍यौ भनेर। उनले हरेक पटक उनकै स्कूल, आफू डुल्न गएका ठाउँहरू मात्र देख्छिन् । नेपाल कहिलै देख्दिनौ भनेर सोध्दा कहिलेकाहीँ देख्‍छिन रे। त्यो पनि ड्राइभ गरेर अमेरिका आएको। उनको सपनामा यहीका स्मरणहरू छन् र यहीका स्मरणहरू साँचेर हुर्केकी छे। त्यसैले त्यहीका स्मरणहरूले उनलाई यहीकै सपना देखाउदो होला। बिउँतिँदा वा निदाउँदा सम्पूर्ण विदेशी संसार, जो मैले चाहेर पनि अहिले परिवर्तन गर्न सक्दिन। तर मेरो अनुभव भने फरक छ। अन्तिममा मेरी छोरीसँग को वार्तालाप बाहेक माथि भएका घटनाहरू हिजो राती देखेका सपनाका केही अंशहरू थिएँ। जस्तो देखेँ उस्तै राखेँ।

 

सपनाहरू कहिलै सिलसिलेवारमा मिलेर देखिँदैन। फरक स्थान र घटनाहरू प्रसङ्ग बिनानै एक पछि अर्को जोडिएर आउँछ। हरेक पटक देखिने सपनाहरू साँचो हुन्छ वा हुँदैन, यसको के महत्व हुन्छ, त्यो छुट्टै बहस र अनुसन्धान गर्ने विषय हुन सक्छ। मानिसको चेतनशील मस्तिष्कले कहिलेकाहीँ वर्तमानको घटना क्रमलाई जोडेर भविष्यको अनुमान (precognitive dream) पनि गर्दछ भन्ने बारे र त्यो मनोविज्ञानको छुट्टै अध्ययन पनि भइरहेको पनि छ oneirology मार्फत।

 

जापानमा बस्दा मेरो एक जना भुटानी साथी थिए। उनले यो कुराको जिकिर कहयौ पटक गरेका थिए। जापानको चहलपहल र झिलिमिलीमा चार बर्ष बिताएका उनले कहिलै पनि सपनामा जापान देखेनन् रे। मैले उनको कुरा सुन्दा म त्यहाँ गएको दुई महिना भएको थियो। उनको यो कुराले मेले त्यहाँ बसिन्जेल सम्म हेक्का राखेको थिएँ। जब आँखा चिम्लिन्छु तब नेपालकै अनेकौँ घटना क्रमहरू देखा पर्थ्यो। यो बीचमा एकाध समय बाहेक मैले पनि कहिलै यस्तो सपना देखेको छैन त्यो पनि आफूले काम गर्ने अफिस वा ल्याबको बारेमा मात्रै। आफू हुर्केको र आफूले बिताएका पुरानो घटनासँग जोडिएर हरेक रात सपनाहरू देख्छु म। मैले सपनामा भूतहरूले लखेटेर खेतका आली आली भाग्दा हिलोमा खुट्टा चिप्लिँदा झस्केर निकै पटक उठेको छु। भुन्टे रहमा पौडी खेल्दा जाँदा, डुबेर शासनै फेर्न नसक्दा बेस्करी चिच्चाउदै उठेको छु। परीक्षामा जाँच दिँदा दिँदै लेख्‍न नसकेर आत्तिएर उठेको छु । खुला आकाशमा उडेर बाँसको टुप्पोमा झुन्डिएर बसेको पनि छु। सपना अनेक छन् तर पनि त्यसको आफ्नै संसार छ। साँच्चै मैले विदेशमा बस्दा कहिलै विदेशी सपना देखिन। इमानदार साथ भन्नु पर्दा, विदेश पलाएन भएको यत्तिका वर्षमा समेत कहिलै यहाँको घटनालाई लिएर सपना देखेको छैन। मैले कुनै देशभक्त भएर वा आफूलाई देशभक्तको आडम्बर देखाउन मात्रै यो भनेको हैन। यथार्थ यही हो, किन कि मेरो मस्तिष्कमा सम्झन लायक एउटा जीवननै स्मरण भएर बसेको छ। यहाँ त बाच्ने र बचाउने दौडमा जीवन बाच्न नै बिर्सिएका छौं हामी। सम्झन लायक कुनै मीठो घटना छैन कारण शरीरसँगै पुरै जीवननै यान्त्रिक भइरहेको छ। लामो समय सम्म जीवनको घटना क्रमलाई मस्तिष्कले जोडेर, त्यसै पृष्ठभूमिमा अनेकौँ संझनाहरुलाई सपनाको रूपमा प्रस्तुत गर्दछ। नेपाल बस्दा विदेश जाने सपना देख्छौ हामी तर विदेश आए पछि सपना चाहिँ नेपाली नै हुँदो रहेछ वा देख्दो रहेछौँ। आत्मिक र यान्त्रिक जीवनमा यहीँ फरक हुँदो रहेछ। ......चेतना भया...

Comments :

4 comments to “यान्त्रिक जीवन मेरो/हाम्रो कथा”

सपनाको कुरा भएर, बुझ्न गाह्रो भएको झैँ लाग्यो माथिको कुरो, कि अझै मैले गलत बुझेँ ?

Aakar Anil said...
on 

लेख पढे पछी एउटा कुरामा ढुक्क भएँ सपना सबैले यस्तै यस्तै देखिने रहेछ । चुरो कुरो पढेपछी बल्ल चेतना भया, अब विदेशमा मात्र होइन नेपालमा पनि जिवन यान्त्रिक हुँदैछ । चाडबाड बढे पनि एक साथ दिइने बिदा घटे पछी आफन्त सँग समेत भेटघाट मुस्किल भएको छ । अनी ति रमाइला क्षणहरूले दिमागमा घडेरी किन्नु भन्दा पहीले नै काममा फर्कनु पर्छ अनी आत्मीक जीवन ले घर बनाउनै पाँउदैन ।

Bishal Gautam said...
on 

सपनाको कुरा कस्तो कलात्मक ढंगले उतार्नु भएछ , अन्त्यसम्म कौतुहलताले घेरिरह्यो । सत्य हो, हाम्रो जीवन यान्त्रिक हुदैछ । सुन्दर पोस्ट ।

कृष्णपक्ष said...
on 

मतलब जतिसुकै यान्त्रिक भएपनि आत्मिक जीवन सँगै डोहोरिइरहेको हुनेरहेछ ।

सपनाहरु त्यसो त फगत सपना भन्दा अलिकति धेरै केहि पक्कै हुन्छन् होला ।

देख्दा मैले पनि सपनामा अक्सर आफ्नै गाउँ गौरादहका स-साना दह(पोखरी)हरु देख्छु, हवाईको अनन्त समुद्र आउँदैन सपनामा ।

दीपक जडित said...
on 

Post a Comment