यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन….

Sunday, July 11, 2010

लघुकथा: राहत

बज्र नारायणको सबै भन्दा पहिले पालो आयो यस पटक। उसलाई एकाउन्टेन्ट रामदासले बोलाए यो महिनाको तलब बुझ्न। केही हात्ती र बाघका पत्ताहरू सहित, उसले राहत महसुस गर्ने भयो। हतार हतार एकाउन्टेन्ट कहाँ पुग्यो, पैसा बुझ्यो। रामदासले टाउको कन्याउँदै महिनाको पहिलो हप्ताको शुक्रबार क्यान्टिनमा चिया खादै गर्दाको कुरा सम्झायो, बज्र नारायण केही बोलेन, खुरुक्क दुईवटा हात्ती उसैलाई थमायो र साथमा धन्यवाद लियो र फर्कियो।

 

रामदासको कोठाबाट निस्कने बित्तिकै, उसलाई बुझाएको सापटी सँगै मनमा अनेकौं रामदासहरुको याद आयो । पालै पालो अफिसका सबै रामदाहरुलाई सापटी बुझाउँदै गयो र साथमा धन्यवादको पोको लिएर फर्कियो । बेलुका घर जाने बेला बाटोमा मझुवा कान्छोको रासनको दोकान हुँदै, अन्सारी कसाईको पसलमा पुग्यो। पुग्दा नपुग्दै, अन्सारीले भन्यो, “नमस्ते सर आज त ३० गते हो क्यारे है ? महिनाको अन्तिम दिन” उसले पनि सम्झेकै रहेछ । बज्र नारायणले अनुमान गरे जस्तै भयो । त्यहाँ पनि उसले बाँकी तिर्‍यो । विचार गर्‍यो आज त मासु लैजाउ क्यार । “अन्सारी भाइ खसीको मासु कसरी गएको छ अहिले?” उसले सोध्यो । “हजुर, तपाई मात्र हो भाउ सोध्ने, भाउजूले अगाडि नै लैजानु भो मासु त, तपाइले लानु पर्दैन” अन्सारीले भन्यो । लौ ठिक्कै भए छ, फेरि मुख फोरेर उधारो माग्न त परेन । उसले पहिलो पटक राहत महसुस गर्‍यो ।

 

तिर्दै जाँदा उ सँग कति बाँकी बच्यो, उसले पैसा गन्ने आटै गरेन फेरि । घर पुग्यो, मन मनै सोच्यो कसैलाई छुट्यो कि तिर्न; कसैलाई छुट्यो भने त फेरि अर्को महिना चलाउन गाह्रो हुन्छ। यसै बीचमा भान्साबाट भाउजू कराइन “सुन्नु भो, मासु ल्याएकी छु अन्सारी कहाँबाट तर प्याज सकिएको रहेछ, ल्याउनु पर्ने” । प्याज सँगै उसको मनमा लसुन, अदुवा, जीरा, धनियाँ सबै एक साथ आयो । उसलाई डर लाग्यो के के कुरा सकिएका छन् आजै । “ह्‍या छाडिदेउ प्याज हालेको मासु खल्लो हुन्छ” बज्र नारायणले जबाफ दियो । “हो हुन त, प्याज हालेको मासु खल्लो नै हुन्छ” भाउजूले जबाफ दिइन् । केही बेरमै प्रेसर कुकरको सिट्ठी बज्यो । एकै साथ सबै मसलाहरूको बोझ टर्यो र फेरि बज्र नारायणले राहत महसुस गर्‍यो.. ……सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Thursday, July 1, 2010

अनि प्रश्न उठ्छ!!!

कविता पढियो यस पटकको ? मैले प्रश्न गरे उनलाई। कति पढ्ने खै; अरूका कथा पनि, जीवनै धारावाहिक भइसक्यो, आफ्नै कथा बनाउँदै ठिक्कै भइरहेछ। सीधा तर कतै कतै नमिलेको उत्तरले मलाई के भनुँ के भनुँ भो। मैले भने, हैन हैन उनको कथा क्या, मैले उनको कुरा बुझ्न भन्दा पनि आफ्नो उत्तरै खोजेँ पहिले। आफ्नो कामै यस्तै छ, जति जले पनि, पेलिए पनि काम गर्ने पर्ने, हाकिमको गाली खानै पर्ने, के कथा पढ्नु। आफै कथा भइयो अब,भो अरूको कथा नपढ्ने। मैले फेरि पनि बुझिन, उनले मेरो कुरा नबुझेको हो वा मैले बुझाउन नसकेको निकै अलमलमा परेँ। कस्तो आपत् भो मलाई। हैन के भो उनलाई, खुस्कियो कि क्या हो ? मन मनै सोचेँ। मान्छे किन सुखमा कविता लेख्दैनन् हजुर? उल्टो मलाई प्रश्न गरिन् उनले। हैन होला, लेख्छन्, किन नलेख्‍नु, मैले भने। सुखका कविता, कथाहरू मैले नपढेरै हो त? उनले फेरि सोधिन्। पक्कै पनि हो नि। तर किन त त्यस्तै मात्र मेरो पोल्टोमा पर्छ ? मैले हाँस्दै भने “तिम्रो ब्याड लक होला”। पक्कै पनि हुनु पर्छ, यस्तो ठूलो जीवन, यस्तो ठूलो संसारमा मलाई मात्र यस्तै हुनु पर्छ त है? उनले मलाई सोधिन्। उनी पनि जोडले हाँसिन र म पनि हाँसेँ। फेरि तिमीलाई यस्तै पढ्नु छ आज.. लौ मेरो बल्ग हेर है त। मैले उनलाई मेरो बल्गमा आउन भने।


बिहान उठ्दा न उनी थिइन् न मेरो बल्गमा उनको लागि कविता। फेरि मनमा डर लाग्यो, कतै उनी मलाई खोज्दै आउने त हैन ? निराश भएर पो फर्कने त हैन? निबन्ध लेखेँ, उनलाई कुरे, साथीहरूलाई देखाए, तर न उनी आएको थाह भो न साथीहरूले नै केही सुझाए। तर चाहेर पनि फेरि दु:खको कविता दिन सकिन उनलाई। मात्रै प्रश्नहरू माथि धेरै प्रश्नहरू जोडेँ, जीवनको दु:ख र सुखलाई बाँधेर निबन्ध लेख्‍न बसेँ, पहिले केही लाइनमै लेख्‍न मन लागेन अल्छि लाग्यो, अनि त्यही लाइनहरूलाई भाँच्दै गए.....


जब जल्छ अनि खरानी हुन्छ

पराल र खरको छाना

जब जल्छ र खरानी हुन्छ

घर र सहरको रूप !!!

तर

खै खरानी यहाँ,

खै अवशेष यहाँ

जलेर पनि खरानी नहुने

पोलेर पनि डाम छैन,

खरानी कसरी बनोस् !!!

तर पनि

जल्छ र खरानी बन्छ

यही सत्य हो

कसरी मान्ने यो सत्य, जब खरानी छैन

हरायो वा उडायो के भनौं

न त हावा चलेको छ

न त पानी परेको छ ।

हराउँदै उडाउँदै गर्दा पनि

न देखिएको खरानी !!!

उफ!!

डढेर पनि नबनेको खरानी

कसरी बनोस् र हराओस्

भौतिक केही अवशेष

तर पनि डढेर जाने रहेछ

खरानी छैन तर पनि जलेको छ

ताप छैन आगो बलेकै छ !!!

तथापि

मन, मन नै हो जो जल्छ

सान्त हुन्छ, बिना वारुणयत्र

बिना पानी र बिना स्वाउला

आफै रोकिदो रहेछ जल्न,

समय!! ठूलो पानी र स्वाउला

जब मन जल्छ सबै जल्छ

तन जल्छ र संसारै जल्छ !!!

त्यसैले

साँचो, जब मन जल्छ

पीडा पनि जल्छ

सत्य, जब मन जल्छ

माया पनि जल्छ

आशा र भ्रम सबै जल्छ

जब मन जल्छ

तब विश्वास पनि जल्छ

खरानी किन बन्नु पर्यो

जल्नुको रूप हराउनु हो भने,

अवशेष किन देखिनु पर्‍यो

जल्नुको रूप उडाउनु नै हो भने !!!

किनकी

पराल, परालै हो

मन मनै हो, जो जल्छ

तर खरानी दिँदैन, अवशेष छोड्दैन

जो नयाँ आशा उमारेर जान्छ

जब आशाहरू पनि मर्छन्

तब मन र आशा सँगै

मान्छेहरू आफै मर्छन्

चिता सँगै मान्छे जल्छ

आशातीत मन पनि जल्छ

फेरि मनले मान्छे जन्माउछ,

अनि प्रश्न उठ्छ

पहिले को ? मन वा मान्छे !!!

»»  पुरै पढ्नुहोस

Friday, June 18, 2010

गरी खान देऊ:.. कर्म सर्वः प्रकृतिजैर्गुणैः

सिलसिलालाई केही हप्ता अगाडिबाट जोड्न खोजेँ मैले जब साथीहरुले हिमाल खबर पत्रिकाको एउटा समाचारसगैको फोटोलाई फेसबुकमा घकेल्नु भयो। कुरा ठीकै थियो, मेरो पनि साह्रै चित्त बुझ्यो र यसै क्रममा फेसबुकमै निकै साथीहरुको बिचार पनि पठ्न पाइयो। कुरा फोटोहरुकै हो फेरि पनि, फोटो सगै जीवन बोल्छ र केही भनी रहनु पर्दैन। हजारौ अवसरहरुको खोजीमा, कहिले आउने हो हाम्रो पालो भनेरे कुर्दा कुर्दै कहिले होला अवसरले हामीलाई खोज्ने? अझ भनौ कहिले होला हामीले अबसरको निर्माण गर्ने ? भन्ने जस्ता प्रश्नहरुको उत्तर निकै कठिन छ र यस्तो यथार्थ नियतिका बीच, हामी कहिलेसम्म अल्झने हो ? फरक फरक देखिने यी फोटोहरुलाई एकमुष्ट रुपमा हेर्दा कहिले होला हाम्रा भन्नेहरुलाई चेतना पलाउने जस्तो लाग्छ। दोष र गुन अनि दोषी र गुनीको बारेमा बहस गाह्रो होला किनकी यसमा मेरो पनि हात छ। जे होस यी तस्बिरहरुको प्रसङ्ग फरक छन् तर मूल मर्मले केही त पक्कै भन्छ.............

 

रोजगारीका लागि पालो कुरेर बस्दै गर्दा: राती १ बजे देशका महान मान्छेहरु न्यानो बिस्तरामा सुतेकै होलान् वा बियरसगै बिश्वकपको मज्जा लिदै होलान् तर रंगशाला बाहिर  मेरो  देश यसरी सुतिरहेको छ.....

mid 

आफू सगै हजारौ सपना भाच्यिएको मेरो देश.(यस फोटोको बारेमा अझै केही लेख्‍ने आटनै गर्दिन म)।।।

nepalese

 

हजारौ सपनाहरु भाचिदै गर्दा पनि अझ केही गर्न सक्छौँ हामी, हामीलाई हाम्रै ठाँउमा “गरी खान देऊ”।

गरी खान देऊ

 

यस अन्तिम तस्बिरले अनेकौ प्रसङ्गसग अनेकौ अर्थ राख्छ र निकै सम्भावनाका साथ जोडेर हेर्न पक्कै सकिन्छ। यहाँ देश सुतेको छ भनौ भने, यहाँ जस्तो होहल्ला सायदै कहीँ कतै होला र यहाँ देश जाग्राम छ भनौ भने यहाँ जस्तो सन्नाटा कहीँ कतै सायदै  होला। म पनि फेरि भन्छु, कर्म त प्रकृतिकै गुण हो.....मलाई पनि मेरै ठाउँमा........ गरी खान देऊ।

 

न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्‌ ।

कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥ ............सबैलाई चेतना भया।

 

तस्बिर स्रोतहरु:

http://www.nagariknews.com/

http://himalkhabar.com

»»  पुरै पढ्नुहोस

Sunday, June 6, 2010

म! मात्र म एक प्रणीत प्रतिनिधि पात्र

म र Big-Bang-Theoryमेरो वरिपरी चलिरहेको समयको कुरा, स्टीफन हॉकिंगले सोचेंका र व्याख्या गरेको समय भन्दा पृथक!! मेरो लागि बिग बैंग सिन्द्दान्त त्यही दिनबाट सुरु भयो जब मैले यहा पाईला टेकेँ। सुन्यबादको कुरा हैन, यथार्थमा समयसँग जोडिएको म र मेरो समयको कुरा सायद कुनै खगोलिय संरचनासँग तुलना नगरेरै हेरेको राम्रो। जीवन बाच्नकै लागि र बचाउनकै लागि मेरो समय सुरु भयो जहाँ भोग्न र भोगाईनकै लागि मार्ग प्रशस्त गरिएको थियो। सबैको लागि यस्तै जीवन-दर्शनपरक समयको सुरुवाती पलहरुको खोजीमा कयौं मान्छेहरुले आफूलाई युगीन बनाएँ वा कति बन्नेक्रममा पनि होलान। म आफैमा मेरा लागि युगपुरुष बन्न खोजेँ, बनेँ र रहेँ। मेरो चौधेरा भित्रको संसारमै बिग बैंग सिन्द्दान्तको सुरुवात भयो। सीमान्त समय र यसको परिधि भित्रै मैले समयको सुरुवात खोजेँ। सायद हॉकिंगले एकनास सबै खाले समयको ब्याख्या गरे होलान्, सबै समयलाई एक नजरले हेरेका होलान। कति मान्छेहरु यसमा सहमत होलान, कत्तीले यो सोच्न पनि सकेका छैनन्। मैले यो एकमुष्ट समयलाई निहाल्ने प्रयासनै गरिन तर यस उपर एकनासको नजर भने राख्दै आएँ। केही सिकेँ, केही सिक्ने प्रयास गरे र सबै एकमुष्ट समयलाई मेरो अनुकुल बनाउने प्रयास गरे। जीवन बाच्नु र चलाउनुको एउटा अटुट सम्बन्धलाई हॉकिंगको समयको ब्याख्याले एकमुष्ट ब्याख्या दिन्छ वा दिदैन त्यो बहसको बिषय हुन सक्छ तर मैले मेरो जीवन चालसगै लिनुपर्ने र काट्नुपर्ने समयलाई उनको नजरबाट हेर्ने प्रयासनै गरिन। पृथक पृथक समय र त्यस बीचको अनेकौ खण्डहरुलाई मैले त्यो ठूलो एकमुष्ट समयसगँ दाज्ने गरेको छैन। मात्र मेरो समयको सुरुवात सगै अनेकौ तयारीमा हिड्नु र योजनाकै सेरोफेरोमा नै केही समय गएको अनुभब भन्दा केही पनि गरिन।


“हेर न समय कस्तो चाडो गयो, हिजो मात्र लाग्छ बिहे गरेको है” मेरी श्रीमतीलाइ यसो भन्दैगर्दा समयले कोल्टे फेरेको अनुभव गरेकै हुँ। एक अर्थमा समयसँग उमेर, जोस, जाँगर, पाणीग्रहण र त्यस बीच उत्पन्न प्रणयभावको मिठो अनुभवसँग जोडेर हेरेकै पनि थिए। ओहो तपाईकी छोरी ठूली भईछन् भन्दा , प्रसवनमा छट्पटिरहेकी मेरी श्रीमतीको अनुहार, अहिले त्यही रुपमा याद नै छैन, भए पनि त्यो पिडाको समयलाई अहिलेको समयको कुनै कुरा सगँ दाजेँर हेर्नै मिल्दैन तर पनि बिल्कुल निरपेक्षय रुपमा अनुभवलाई एउटै समयको कालखण्डबाट अनुभव गर्न नसकेको अबस्थामा र त्यही घटनाक्रम दोहोर्‍याइ अनुभव गर्नु बाहेक समयले केही पनि याद गराउदो रहेनछ किनकी समय चलयमान छ र यसको अनेकौ भुमरीमा हरेकलाई धुम्नु नै छ।


त्यसैले जीवन अनकौ योजना र एउटा तयारीमात्र हो। बाबु आमाले गरेको जन्मको तयारी वा भनौ आमाको पेटमा जाईगोट बनाईए पछि सुरु भएको समय सगैं हामी यहाँ अनेकौ तयारीका साथ, एउटा कालखष्डमा गएर रोकिने तयारी गरिरहेका छौ तरपनि हॉकिंगको भीष्म समयको व्याख्याबाट चोईटाएर,चोरिरहेको वा अनुभब गरिरहेको समय हाम्रा लागि बास्तबिक उपाहारनै होला, किनकी समय फेरि पनि बिना योजना र तयारीका साथ चलिरहेकै छ। भौतिक तयारीहरु !! जो मेरो जीवनको योजनाबद्ध तयारी भित्र समयले व्याख्या नगर्ने सीमा भित्र पर्छन् तर पनि समयलाई सुरु गर्ने समयको परिभाषा कुन समयले दिन सक्छ र? मात्र एकसाथ हजारौ अवसरहरुको खोजीमा एकैनास समयलाई घोच्ने (क्लिक गर्ने)हरुको मात्र, म एक प्रणीत प्रतिनिधि पात्र हु,. सबैलाई चेतना भया............

»»  पुरै पढ्नुहोस

Saturday, March 27, 2010

सायदै हामीले याद गरेका उनी, कल्पना भित्रका एक सत्य पात्र!!!

सधै जहाँ पनि देखिने पात्र उनी। सायद उनी नदेखिने र उनले नदेखेका कुनै घटना बाँकी होस नेपालमा। उसो त नेपाल बाहिरको अनुभब कमै छ उनीसगँ। हुन सक्छ उनी सधै नेपालको गोलमाल र गन्जामोलमा नै भुलेका छन्। कालो ईस्टकोट, दौरा र नेपाली ढाकाको टोपीमा सधै हिड्ने उनले के देखेनन्? देशको हरेक ठूला साना मान्छेसगँ भेट भएको छ उनको तर उनी कसै सगँ प्राय बोल्दैनन्। मात्र हेर्छन्, सुन्छन् र आफ्नो बाटो लाग्छन्। सभा गोष्ठी, जुलुस, जन्ती र मलामी कहाँ गएनन् उनी। हेर्दा साधारण देखिने मान्छे उनी कस्को नजिक पुगेनन्। राजा, महाराजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी अफिस जहाँ पनि। पहुँच नहुदो हो त कसरी पुग्थे उनी जहाँ त्यही ? तर कसैले वास्ता नगरेका उपेक्षित पात्र पनि त हैनन् उनी। १० बर्षे युद्धकालमा उनी युद्ध मैदानमै थिए। युद्धलाई सायद प्रचन्ड र बाबुराम भन्दा पनि उनले बुझेका छन्। मान्छे कसरी मरे, कसरी नेपाली र नेपाली लडेर हिडेँ, के थाह छैन उनलाई? सबै देखेका छन्। उनलाई धेरै कमले मात्र देख्छन् र त्यसै बखत निकै कम मान्छेले याद गरेका पनि होलान् सायद।

 

कर्मचारीको भ्रष्टाचारी आचरण, नेताको झुट बोल्ने बानी, बहकाउमा लाग्ने जनता सबै देखेका छन् उनले। हरेक कुराको भित्री चुरो अनुभब छ उनलाई। जती सुकै गोप्य कुराहरु होस, जती सुकै नराम्रा र राम्रा कुराहरु भएका हुन्, उनलाई थाह हुने गर्छ। फुत्त पुग्छन् उनी त्यहाँ। देखाई र अनुभबको कुरा गर्ने हो भने उनले जस्तो कसैले देखेका पनि छैनन् र देख्‍ने पनि छैनन् सायद हाम्रो देशमा। पत्रकार पुग्न नसकेका वा नदिएको ठाउँमा समेत देखा पर्ने उनी, बाहिर जती सुकै रोक होस, जतिसुकै सुरक्षा घेरा होस, गोप्य भन्दा गोप्य ठाउँमा अदृष्य शक्ती सरह पुगिहाल्छन्। केहि गर्देनन्, जतिसुकै देशको लागि नराम्रो निर्णयहरु भईरहेका हुन्, उनी त्यहा बोल्दैनन्, मात्र हेर्छन, बुझ्छन् तर त्यहाँबाट कसरी र के अनुभब लिएर पर्खन्छन् सायदै कसैलाई थाह होला।

 

घाम, पानी, जाडो, गर्मी जेसुकै होस, कपडा नभएर जाडोमा नाङ्ग्‍गै सुतेका गरिब जनता होस वा ए-सीको तातो हावामा चिसो बियर पिएर बसेकाहरुका घरमा होस, बन्द कोठाका झ्यालहरु होस वा खुल्ला टुँडिखेलको मैदानमा बिरक्तिएर बदामका खोस्टाहरुमा समय खोजी रहेकाहरु हुन्, सबैको चियोचर्चो गरेकै छन् उनले।

 

समय अन्तरालमा उनी जस्तो अनुभबी कोहो छैन अहिले। राष्टपतीको सफत कार्यक्रम होस वा सेना भित्रका हतियार अड्डाहरुमा समेत पुग्ने उनले कहिलै कसैलाइ केही भन्दैन् र उनले भनीहाले पनि कसैको सरोकारको पात्र बन्दैन्। सबैले देखिने तर सधै वास्ता नगरिएका यी पात्र झट्ट हेर्दा काठमान्डौकै बासिन्दा देखिन्छन्। आज बेलुका काठमान्डौमा चलिरहेको कुनै पाचँ तारे होटेलको सेमिनारमा देखा पर्ने उनी, भोली बिहानै कोशीका बाढी पीडितहरुको पीडा हेर्न पनि पुगेकै हुन्छन्। जे भने पनि यी सबै कुराका वा भनौ हरेक घटनाक्रमका एक मात्र पात्र हुन् उनी।

 

मलाई लाग्छ निकै भयो अब, देशको यस्तो हालत हुदा पनि नबोल्ने उनीले अब बोल्नु पर्छ। मलाई यो पनि थाह छ उनी मात्र हेर्ने, सुन्ने र फर्कने, देशका निमुखा जनताका प्रतिनिधि पात्र हुन् र यस्तैको लागि मात्र जन्माईएका एउटा गोटीमात्र। देशको हरेक मोड र उताडचडाबको अनुभब भएका उनले कति पीडा सहेका छन्, उनको मन कति रोएको छ कसैलाई थाह छैन।

 

आज हामी समयको भेल सगै अनुभब भएका, सबै देखेका र आशातीत पात्रहरु गुमाउदै छौ, भईरहेका बेला कत्तिको इमान्दार भएर काम गरे वा गरेनन् ईतिहासले भन्ला तर जे भए पनि हामी आज नयाँ भित्र पुरानो अनुभबीको खोजीमा छौ। राजेश केसीका यी सधै देखिने कालो ईस्टकोट, सुरुवाल र ढाका टोपी लगाउने पात्र, मात्र हेर्ने, नगर्ने र नबोल्ने कल्पना भित्रमा सत्य तर अटुट पात्र जस्तै, यहाँ हरेकले देखेका छन्, हरेकले भोगेका छन्। हरेक नेपालीसगँ यसको अनुभव होला तर कसले भनिदिन्छ यथार्थमा यस्ता पात्र, जो खोजी सगै देखोस्, बोलोस् र केही गरोस्....... सबैलाई चेतना भया।।।।।।.

 

 

1

4

»»  पुरै पढ्नुहोस

Wednesday, March 17, 2010

हलसारोको दिन: एक अनिमेष दृष्टि समाज र चेतनाको खातिर…

 

मन मात्र हैन; मनहरुनै भाचिँएका छन् । लेख्‍न वा कराउन छाडेको निकै भयो। त्यति मन छैन आजकल। समय उही छ। परिवेश उही छ। समयले कोल्टो फेर्ने आशामा निकै लेखियो र बोलियो सायद। तर कतै कसै पात हल्लिएको सुनिएको छैन, देखिएको छैन। मानौ यस्तै भईरहेको छ” काग कराउदै जान्छ पिना सुक्दै....

 

पल्लो घरबाट पनि निकै पल्ट कराएको सुनेकै हो, यहाँबाट, त्यहाँबाट पनि निकै आवाजहरु निकालिएकै हुन्। तथापि सुन्नेले सुन्दैन र Thinking_42_tnbदेख्‍नेले देख्दैन तर लेख्‍नेले लेखिरहेको छ। लेखहरु छापिन, टाँसिन र सारिन छोडिएको छैन। छापिदै छन्, टासिदै छन् र सारिदै पनि छन्। समय यसरी नै चलिरहने हो भने लेख्‍नु अनि छापिनु, टासिनु र सारिनुको कुनै असर छैन र बन्द गर्नु पर्ने हुन सक्छ। तर तिमी किन बन्द गर्थौ र तिमी त चेतनशील अनि जान्ने र बुझ्ने नै पर्‍यौ। जतिसुकै लेख, छाप र टाँस तिम्रो झुरा कथन, कुनै असर छैन तिम्रो विचारको। बास्तवमा त्यो तिम्रो विचारनै हैन। विचारले त परिवर्तन ल्याउछ, तर खै तिम्रो विचारले के गर्यौ? तिमी आफै समादृत छैनौ तिम्रो विचारमा यहाँ , किन बित्‍थामा अरुको बोझ हुन खोज्छौ? चुपलागेर बसेकाहरुलाई तिमीले उचाल्यौ, स्कूल गईरहेकाहरुलाई तिमीले गोठालो बनायौँ, कोदालो र हलो समातेको हातलाई नोकर बनायौँ। खै के गर्यौ तिमीले जानेर? तिमीले बुझेर र तिमीले लेखेर। मात्र गणिका बनायौ लेखलाई, लेख्‍नेलाई र पठ्नेलाई.. उफ!!!!

 

बनाईएका र सजिएकालाई भत्कायो तिम्रो विचारले। के गर्यौ, फगत लेख्‍ने, छापिने वा टाँसिने काम बाहेक? सक्ने थियौँ भने स्कूल नजानेलाई कापी र कलमको जोहो गर्नु पर्थ्यौ, भईरहेकोलाई स्याहार गर्नु पर्थ्यौ र सुतेकालाई उठाउनु पर्थ्यौ कामको लागि, कर्मको लागि र सही विचारको लागि। के नै गर्यौ तिम्रो विचारले? आफूले जानेर अरुलाई नजान्ने बनाउने पनि लेख, विचार अनि त्यसको छपाई हुन्छ र? के छाप्छौ तिमी; जो कसैले पनि पठ्न र बुझ्न सक्दैन। म त नबुझ्ने मान्छे, सारेरै टास्न पनि सक्दिन किनकी सार्न र टास्न पनि त केही आकार हुनु पर्यौ नि विचारको। यो त बिना आकारको विचार, बिना उद्देश्यको विचार। मात्र आफैले बुझ्ने, आफैले आकार दिने र आफैले बिश्फोट गराउने र जरैबाट नश्ट गराउने दुर्बोध्य विचार र तिमीले सधै दिने गरेको निश्चेष्ट विचारको के अर्थ हुन्छ र? यो त पल्लवग्राहिताको नमुना मात्र हो र म आफै पनि पल्लवग्राही हुँ सायद; त्यसैले त कुनै असर गर्दैन मेरो विचारले र त म बिदूषक बनेको छु कयौँ पटक यही लेख र विचारहरुकै सबारमा।

 

भो म लेख्दिन, भो म जान्ने बन्दिन र म कसैको नारकीय जीवनको कारक बन्दिन; यस्तो भन्दै गरेको सुनेको छैन, तर सबैले लेखेकै छन्, चोरेरै भए पनि विचार दिएकै छन्। किनकी राम्रो लेख्‍नु , सकरात्मक लेख्‍नु र पठ्नु मात्र एकपलको लागि सहज र राम्रो मान्दै आईरहेका छन् सबैले। सक्छौ केही पनि नदेउ किनकी यहाँ मात्र नोकर, गुलामी र आत्मसमर्पण. बाहेक केही दिन सकेको छैन तिम्रो भावले। कसैले बुझ्दैन, यसको मतलव बुझ्ने बनेर कसैलाई झन नबुझ्ने बनाउनु कस्तो न्याय हो यो? कोही सुतेको छ, यसको मतलव बुझ्ने बनेर कसैलाई झन सुत्‍ने बनाउनु कस्तो न्याय हो यो? प्रश्न गर्नु सजिलो छ।. म पनि लेख्छु.. तिमी पनि लेख र उहाँ पनि लेख्‍नु हुन्छ..किनकी लेखेरै मात्र यहाँ केही हुदैन, तर पनि लेख्‍न छाड्नु हुदैन एउटा सकरात्मक आशाको लागि र सकरात्मक विचारको लागि.. .. सबैलाई चेतना भया........

 

दूर्जेय चेतनाको यो हलसारोको दिन र एक बर्षे यात्रा यहाँ नेर आएर सकिएको छ। मेरो यो सानो यात्रा समीक्ष्य छ वा छैन आफ्नो ठाउँमा छ। कुनै असर परोस वा नपरोस, मेरो लेख र विचारले कुनै सकरात्मक सोचको बिकास गरोस वा नगरोस तर पनि अझै लेख्‍दै जाने नै छु, मेरो अनिमेष दृष्टि सधै रहने छ समाज र चेतनाको खातिर। जे होस, जस्ले जे भनोस, विचार विचारनै हो। कसैलाई राम्रो असर नगर्ला तर नकरात्मक असर पनि नगरोस मेरो लेखले, विचारले र मेरो अनुभवले। यही मेरो प्रयास हुने छ र यस बीचमा मेरो उपार्जित धन भनेको मेरा पाठक, शुभचिन्तक र मेरो गल्ती औलाईदिने मेरा असल मित्रहरुनै हुन् भन्ने कुरा बिर्सिएको छैन।

 

यो बीचमा मलाई सहयोग गर्नु हुने सबै मित्र, मेरा पाठक र शुभचिन्तकहरुलाई मुरीमुरी धन्यवाद।

»»  पुरै पढ्नुहोस

Saturday, February 27, 2010

हाम्रो डेरा: के हामी सर्न सक्छौ?

म, उनी र उहाँ डेरा सर्दा यो घर निकै राम्रो थियो। चिटिक्क परेको घर, सुन्दर बगैँचा र बगैँचा भरी फूलेका सयौ जातका फूलहरु। घरको रंग पनि सुन्दर र हिड्दा भूई र छुदा भित्तामा पनि दाग लाग्ला जस्तो। यो बसाई सगै समय कुन रफ्तारमा गयो थाहनै भएन। मेरो कोठामा मट्टीतेलको स्टोभ, उनको कोठामा ग्यासको चुलो र उहाँको डेरामा बिजुलीको हिटरल; हाम्रो दैनिक खाना पकाउने माध्यम। मुस्किलले हाम्रो भेट हुन्थ्यो कहिलेकता तर हामीलाई एक अर्काको डेरामा आउने अनुमति थिएन। न त मैले उनीहरुलाई बोलाए न त मलाई उनीहरुले आफ्नो कोठामा। हाम्रो पानीको घारा र चर्पी एउटै थियो त्यसैले कहिलेकाहि भेट हुन्थ्यो बाहिर बाहिरै। हामी एक अर्कालाई मुस्किलले अनुहारमा हेरेर बोल्थ्यौ। एउटै घरमा बस्थ्यौ तर पनि अपरिचित जस्तो। यसो गर्दा गर्दै निकै समय गयो। घर पुरानो हुदै गयो। समयले हामीलाई पनि पुरानो पुस्ता बनायो र हामी पुरानिदै गयौ। हामी कहिलै पनि आफू भन्दा अरुको बारेमा सोच्दैन थियौ र यस्तै हाम्रो बानी भईसकेको थियो।


हाम्रो डेरा सगै पुरै घर यो बिचामा निकै पुरानो भईसेको थियो, भूई वा भित्ताका रंगहरु पनि घमिलो हुदै फोहर भईरसकेका थिए । धारामा न टुटीनै छ न त भनेको बेलामा पानी आउछ। हाम्रो त्यो बिचमा निकै समय सम्म पनि भेट हुन सकेको थिएन कारण धारामा नआउने पानी थियो। बाहिरबाट पानि किन्ने गरेर टैकीमा हाल्न थालेको पनि निकै भईसकेको तर अब त्यो पनि भनेको बेलामा नपाईने भईसकेको थियो ।


यसै बीचमा बिस्तारै घरका भित्ताहरु पनि पानीले रसाउन थाल्यो। भित्ताका रंगहरुको कुनै निसानै थिएन बरु रसायका पानीका काला धब्बाहरु प्रश्ट देखिन्थ्यो। माथी जाने र आउने भर्‍ङ्यागहरुमा लेउ लागेर हिड्नै मुस्किल भईसक्यो। राती अबेला आउदा घडिको बत्ती बालेरै भए पनि हिड्नु पर्ने भईसकेको थियो। कुनै पनि बिजुलीका बल्ब थिएन र भए पनि बिजुली हुन्छ भन्ने कुनै आधारनै हुदैन थियो। घरको भित्ता मात्र हैन घरको छाना पनि चुहिन थालेको थियो। माथिल्लो तलामा त ठाउँ ठाऊमा खालि भाँडाहरु पनि राखेर काम चलाएकै हो।


हामीले कहिलै पनि हाम्रो घरलाई स्याहार गर्ने तर्फ घ्यान दिएको पटक्कै हैन। न त हामीले चर्पी सफा राख्यौ, न त घाराकै स्याहार गर्यौ। न त हामीले बिजुलीको ख्याल गर्यौ न त पानीको। अगाडिको बगैँचा उजाड भएर चौर भएको कयौ वर्ष भईसक्यो अझ भन्ने हो भने ठ्याक्कै यादनै छैन। कस्तो संग ध्यानै नदिइकन यत्रो समय बसिएछ। पछिल्लो पटक भने बेला बेलामा हाम्रो नियमित भेटघाट हुन थाल्यो। घरको यो अबस्था र यसलाई गर्नु पर्ने स्याहारको बारेमा घरबेटीलाई भन्नु पर्ने कारण देखाएर म, उनी र उहाँ एक अर्काको कोठामा आउन जाने भईसेकेको थियो।


बाहिर जस्तो सुकै भए पनि हामी सबैको कोठा ठीकै सजाएका रहेछौ। मेरो अलिक बढी कालो भित्ताहरु , उनको कोठाका भित्ताहरु अलिक कम काला थिए भने उहाँको भित्ताहरु जस्ताको तस्तै लाग्थ्यो। सुत्‍ने बिस्तरा देखि खाना पकाउने कुना पनि राम्रै थिए। कोठा भने निकै राम्रा थिए तर घर भने हेर्न लायकको थिएन बाहिरबाट। यो घरमा बस्छु भन्दा पनि लाज लाग्ने भईसकेको थियो। हामीले निर्णय गर्‍यौ त्यस दिन कि घरबेटीलाई यो कुरा भनौ। उनलाई जानकारी गराउनु नै सही हुनेछ यो बारेमा।


भोली पल्ट जाने तयारी हुदै थियो, बेलुका घरबेटी आफै हामीलाई भेट्न आए। सबैजना बाहिर बस्यौँ। "तपाईहरु यतिका वर्ष बस्नु भयो, तपाईहरुलाई निकै समय देखि एउटा कुरा भन्नु पर्ने थियो तर यतिका समय देखि बसेका मान्छेहरुलाई कसरी डेरा सरेर जान भन्नु भनेर भन्न सकेको थिइन"। उनले थपे "हिजो प्राविधिकहरुको निरीक्षणले यो घर बस्न लायक छैन भनेर जानकारी दिए। घरको जगमा पानिको भेल पसेको निकै भईसकेछ, जगमा पानी पसेर निकै हानी पुराएको छ, कुनै पनि बेला जे पनि हुन सक्छ। तपाईहरुले अर्को कतै डेरा खोज्नुस। म यही भन्न आएको हुँ।"


घरको बिजुली, पानी घारा वा भित्ताहरु हामीले निकै हेर्‍यौ र यो सबै कुराहरुमा हाम्रो घ्यान गई रहेकै हो तर घरको जगमा पनीनै पस्ने गरेको भने हामी कसैले पनि घ्यानै दिईएन वा भनौ यस्तो हुन्छ भन्ने नै लागेको थिएन। के बोल्नु खै!! कसैले पनि केहि बोल्ने आट गरेनौ। डेरा सर्नु भन्दा बाहेक कुनै बिकल्पनै थिएन हाम्रो अगाडि। बत्ती, पानी वा भित्ताका रंगहरुमा आखाँ लगाईरहेका र त्यसैको सुन्दरतामा रमाईरहने हामीलाई के थाह, यो भन्दा पनि ठूलो घरको जग हुदो रहेछ। घन्य घरबेटी आएर बेलैमा भनिदिए र बाच्यौँ जस्तो लाग्यो हामीलाई.…………


म, उनी र उहाँ त पक्कै पनि एउटा राम्रो घर खोजेर डेरा सरौला; तर बिभिन्न राजनैतिक सिमा रेखा कोरेर, एउटा घरलाई हजारौ डेरामा पृथक पृथक नाम दिएर बसेका हे पृथ्बी बासीहरु; तिमी हामीले हाम्रो यो डेरा सर्न सक्छौ ?...... सबैलाई चेतना भया... …..

ktun39l

»»  पुरै पढ्नुहोस

Saturday, January 23, 2010

चौगिर्दा पर्खाल भित्र मन र झञ्झावात आकाश!!

 

लामो समय पछि आज एउटा सानो मन र ठूलो आकाश http://larissam.tumblr.com/page/5एउटै लाग्न थाल्यो। किन किन समय र मनलाई जोड्दै एउटा नयाँ बिचार आईरह्यो। म गलत हुनसक्छु तर पनि कता कता एक म भित्र अनेकौ भावलाई कुटनपिँधन गर्दै बसिरहेँ, चौगिर्दा पर्खाल भित्र मनलाई जति बाधेर राखे पनि यसको सीमालाई रोक्न कस्ले सक्ने? मनको विष, भावानाको विषलाई कस्ले रोक्न सक्ला? न त यस्को कुनै झारमौरो पाईने न त कुनै झारफुकले नै काम हुने। मात्रै भावलाई पोख्नु र सुनाउनुनै सबै भन्दा उत्तम उपाय हुन सक्छ।

 

काम र समयको सिमितताले तोबातोबा बनाईरहेको जीवनहरुका हरेक पीडालाई; अन्तर्मनमै अन्तर्निहित दिग्यन्त्रको खोजी सबैको महत्वको विषय हुन सक्छ। तर सोच र ईच्छाहरुको बढिरहने परिताप पनि त पोख्‍नु पर्‍यो। कतै कसै पेन्डुलम भईरहेन यी बिचारहरुको प्रतिबिम्ब बुडिनु पनि त पर्‍यो। कि कसो?? मनलाई आकाश जस्तै ठूलो भनु वा आकाशलाई मन जस्तो सानो, सानो कुन र ठूलो कुन, निकै घोत्लिए यसपटक ।।। लौ है यसपटक यसमै चित्त बुझाउनु पर्ने भयो....

 

तृप्‍त,दीप्‍त र खुसी मन

भाग्दै, खोज्दै दोडिएको आकाश

बिशालतामा रुमलिदै

आफूभित्र थुप्रै ताराहरु हुदा पनि

अतृप्‍त र अदीप्‍त आकाश!

 

भावुक, पल्वन र किस्मती मन

गुन्ठिदै, जुजुधौ जस्तै जमेको आकाश,

बिशालताको उपमा लिदै

आफू भित्र थुप्रै आशाहरु हुदा पनि

अशान्त र झञ्झावात आकाश!!

 

दु:खी पिडित र झारातिराई मन

रुमलिदै, छिमलिदै साघुरिएको आकाश

बिशालताको दम्भ लिदै

आफू भित्रै अथाह पिण्डहरु हुदा पनि

अघोरी र अपाकभोगी आकाश!!!

 

पापी, अहङ्‍कारी र छिद्रान्वेषी मन

चर्कदै, पोखिदै टुक्रिरहेको आकाश

बिशालताको अहं लिदै

आफूमुनि अथाह वादल हुदा पनि

चुहेत्रो र पोखिरहने आकाश!!!!

 

वाह!!! मन र आकाश अनि आकाश र मन!!!

»»  पुरै पढ्नुहोस

Sunday, January 10, 2010

बिहान उठ्ने बित्तिकै !! ३!!

बेलुका अबेरै सुते त्यस दिन। आफन्त सँगको भेटघाट र निकै अबेर सम्मको भलाकुसारीले निद्रा कचमचियको थियो सायद। दु:ख सुखका कुरा केही हदसम्म र केही हदसम्म मेरो विदेश बसाइको गफ सँग सँगै चलिरहेको थियो त्यस रात सबै परिवारजन एक साथ बसेका बेला। आफ्नो प्रोजेक्टको सानो रिपोर्ट बुझाउनु पर्ने काम बाँकी राखेर हतारमै हिडेकोले त्यस दिन, कलेजबाट प्रोजेक्टको रिपोर्ट बुझाउनु भन्ने ईमेल आएको रहेछ। सुत्ने कोठामै सिरानीको आड लिएरै, काखेलाई काखी च्याप्दै त्यो रिपोर्ट बुझाउदा खेरनै रातीको १:३० बजिसकेको थियो।

 

बिहान भने बाहिरबाट आईरहेको परिवर्तित प्रकाशका किरणहरुले पर्दाको चरबाटै मेरो आँखाको तन्द्रालाई जगाईदियो। त्यति उज्यालो पनि हैन तर निन्द्रा खुलाउन करिब करिब काफी थियो सायद, त्यसै भयो र म पनि उठे। सुत्‍न मन थियो तर अझै, झ्यालको सानो चरबाट नजानिदो चिसो हावाले कोठानै चिसो पनि बनाईरहेको रहेछ। पर्दा बन्द गर्न म उठे। तर पर्दा बन्द हुनै सकेन। मेरो मस्तिष्कमा एक प्रकारको तरङ्गनै पैदा गरिदियो त्यस बेला, जसबेला मैले पर्दाबाट बाहिर हेरे। मैले के देखेँ र मेरो मनमा कस्तो अनुभव गरे त्यसको कुनै लेखाजोखानै छैन। तर मलाई नजानिदो तबरले स्वर्गको दर्शन भईरहेको अनुभव भयो। म नतमस्तक भईरहेँ र यो समयलाई सधैको लागि स्मरणीय बनाउन मन लाग्यो। कति बनाउन सके कति बनाउन सकिन, तर मेरो पहुँच र समयले साथ दिउन्जेल सम्म मैले त्यो आनन्द लिईरहेँ। मन शान्त हुदै थियो, केही समय पछि माईक्रोबसमा माईक लगाएर माईकिनङ गर्दै आईरहेको ठूलो ठुलो आवाजले भने सबै भताभुङ्ग बनाईदियो।

 

”भोलीको नेपाल बन्द सफल पारौँ, समयमा संबिधान बनाउन नदिने......... मुर्दावाद.. जिन्दावाद... यस्तै यस्तै.......उफ मैले त सबै बिर्सिएको रहेछु मेरो देशको हालत। जुन कुराको अगाडि मेरो सबै आनन्द गौण भएरहेका छन्।

 

प्राकृतिक यो सुन्दरताले भरिएको मेरो देश र मेरो ठाउँले मात्र खोजेको केही छ भने त्यो हो, बन्द हटताल र अराजकता माथिको बिजय र स्थिर शान्तिको स्थापना। बिग्रेर नचलेको घडीले त दिनको दुई पटक सही समय दिन्छ भने, कसो हाम्रो देशमा शान्ति र स्थिरता नआउला र? लड्ने र भिड्ने सबै बिषय कसो नसकिएला र एक पटक। मलाई लाग्यो त्यस दिन अझै आनन्द हुने छ मन, तन र त्यसले सृजित सबै विचारहरु पनि। जे होस एकै छिन भए पनि बिर्साईदियो यो सब यी दृष्यहरुले।

 

PB070104 PB070092 PB070093 PB070094 PB070095 PB070096 PB070097 PB070098 PB070099 PB070101 PB070103

मनमा यो गीत भने कता कता याद आईरह्यो “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस”!!!! सबैलाई चेतना भया............

»»  पुरै पढ्नुहोस

Thursday, December 31, 2009

नव वर्ष: अन्तिम परीक्षाको वर्ष

सम्पूर्ण मेरा पाठक, शुभचिन्तकहरु र मेरो देशलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।

नयाँ वर्ष सुरु हुदै छ। यो क्रम रोकिने पनि हैन तर हरेक समय जसो शुभकामनाको बहार पनि चलिनै रहन्छ। सधै जसो सबैको राम्रो होस, सबैको शुभ होस भनेर भनिरहदा; कयौ नराम्रा र नराम्रा दुबै कामहरु भएका छन्। तर मलाई यो वर्षको सुरुवात सगै नयाँ आशा पलाएको छ। केही त हुन्छ यो वर्ष। मुल्याङ्कनको दुबै दर्जामा बसेर हेर्दा केही नौलो त पक्कै हुन्छ जस्तो लाग्छ। शुभ वा अशुभ के हुने हो तर पनि शुभकै कामना गर्दा राम्रो र शान्ति होला मन र तन सबैलाई। कुरा प्रष्ट रुपमा देशकै गर्न खोजिरहेछु म आज पनि। निकै आशा छ हामीलाई यो वर्ष। हामीले नयाँ समाज र नयाँ दिनको कामना गरिरेहेका छौ। निकै लामो यात्रा तय गरिरहदा लाग्नु स्बभाबिक हो कि, हामीले निकै र अनेकौ हुने नहुने कुराहरुको आशा गरिरहेका छौ। शान्ति सुव्यवस्था र सभ्य समाजको कल्पना गरे अनुरुप काम गर्न यो वर्षले हैसियत राख्छ जस्तो लागिरहेको छ। यो वर्ष बास्तबमै हाम्रो लागि सहज छैन। हामीले सोचे जस्तो सरल र हेरेक वर्ष आदन प्रदान गर्ने शुभकामना भन्दा फरक नतिजा दिनु पर्ने छ यो वर्षले।


यो वर्षले हामीलाई नयाँ पहिचान दिने छ। हामी आशा गरौं सकरात्मक होस तर नकरात्मक हुन पनि सक्छ। हामी समयको यो बेग सगै कि त टाउको ठाडो गरेर बाच्ने नेपाली भएर वा शीर निहुराएर बाच्नु पर्ने युद्ध र द्वन्द्वका पारखी हुने कुराको निर्धारण गर्ने छ। हामी कि त मेलमिलाप र शान्तिको एक पृथक पहिचानको देश र हाम्रो सर्बब्यापी एउटै जात नेपाली र एउटै धर्म नेपाल राष्ट्रियता लिएर बाच्न पाउने छौ, कि त हजारौ टुक्रामा बाँडिएर, आफू सग भएको पनि गुमाएर निर्वस्त्र नाग्गो रुपमा विश्व सामु उभिन बाध्य हुने छौ।


यो वर्षले हामीलाई निकै शंकाको घेरामा उभाउने छ। हामीलाई ठूलो परिक्षा दिनु पर्ने छ यो वर्ष। साना साना त्रैमासिक परीक्षाको अन्तिम, ठूलो बार्षिक परिक्षाको समय हुने छ यो वर्ष। भईरहेको पुराना त्रैमासिक परीक्षाहरु बिगारेर तितो अनुभव गरिरहेका हामीलाई अन्तिम वार्षिक परीक्षाको लागि निकै काम गर्नु पर्ने पनि छ। तर निर्विकल्प रुपमा हामीलाई उत्तीर्ण बन्नु पर्ने यो वर्षले थप रक्तपात, युद्ध र द्वन्द्वको घेरामा हामीले जान नपरोस। यो बर्ष शान्ति-बालकको जन्मको लागि प्रसव वेदनाको बर्ष हुने छ हाम्री आमाको लागि। आशा गरौ, यो प्रसव वेदनाले नेपाल आमाको र शान्ति बालक कसैले पनि ज्यान गुमाउन नपरोस। जे भए पनि गर्नु पर्ने चाहिँ हामीले नै हो।


त्यसैले.........

यहाँ न त

कुनै मानवको पुन:जन्म हुन्छ,

न त यहाँ नौलो सृष्टि आउँछ,

धीप्प धीप्प बलेको बत्ति जस्तो

आशा नभएको जीवन बनाईसके पछि

को नै पुन: लिन आउछ!!

यहाँ न त

कुनै ईश्बरको पुन: जन्म हुन्छ,

न त यहाँ नौलो ब्रम्हानै आउछ,

त्वाप्प त्वाप्प चुहेको पानी जस्तो,

आशा नभएको धारा भईसके पछि

को नै पुन: खोल्न आउछ!!!

यहाँ न त

कुनै आशाको पुन:जन्म हुन्छ,

न त यहाँ कुनै मधु र मालती नै आउछन्,

ढलमल ढलमल भएको हाँगा जस्तो

आशा नभएको शाखा भईसके पछि

को नै पुन: जोड्न आउँछ!!


त्यसैले जे गर्नु छ हामी आफैले गर्नु छ। हामी आफैले पार लगाउनु छ हाम्रो आशाहरुलाई। बिशेष यो नयाँ वर्षले हामीलाई यस्ता एक र अनकौ निराशाहरु माथि विजय गरेर नयाँ आशाका दिनहरुको सुरुवात गरेको देख्‍न पाईयोस.... सबैलाई चेतना भया!!!!!

»»  पुरै पढ्नुहोस

Saturday, December 26, 2009

९०% नेपाली बल्गहरु spyware को खतरामा ?

हिजो अबेला सम्म डा. थापा संग निकै बेर कुरा गरियो। ब्यक्तीगत भेटधाटनै थियो। निकै बेर कुरा भईरहे पछि नेपाली बल्गको प्रसङ्ग उठ्यो। कुरा सुरु हुदै थियो, उहाँले एउटा कुरा उठाईहाल्नु भयो कि ९०% नेपाली बल्गहरु खोल्नै डर लाग्छ रे। खोल्यो भने “you have attempted to open a dangerous website” भनेर आउछ र “यो पेज बन्द गर्ननै राम्रो” भनेर सल्लाह दिन्छ। मैले त पहिला ठट्टा नै होला भने तर जव उहाँकै कम्प्युटरमा खोलेर हेरियो तब मेरो बल्ग खोल्ने बित्तिकै “Trend Micro PC- cillin Internet Security” ले यस्तो जानकारी दियो।


त्यस पछि मैले धेरै जसो नेपाली मित्रहरुको बल्गहरु हेरे र प्राय जसो सबैमा यस्तै समस्या देखे। हामीले बल्गमा आउने आगन्तुको लागि राखिने WWW. Feedjit.com का recent visitors र live traffic feed जस्ता widgets को ठेगना देखाउदै यस्तो जानकारी दियो। त्यस पछि मैले मेरो बल्गवाट यो हटाएरै पनि हेरेँ। त्यस पछि यस्तो संकेत देखा परेन। मलाई यस सम्बन्धि मूल प्राबिधिक कुरा छीचोल्न गाह्रो हुने भएकाले मलाई बीचमा फुत्त आउन मन लाग्यो र मैले यो जानकारी राखे। जानकारीकै लागि मैले मेरो र केही साथिहरुको स्क्रीनसट पनि राखेको छु। spyware सम्बन्धी जानकारी राख्न हुने मित्रहरुले यथाचित छलफल गरिदिनु होला।


यस्तो wedgets प्रयोग नगर्नु भएका दौतरी, आकारजी , दिपेन्द्रजी र कृष्णजीहरुकोमा भने यस्तो देखा परेन। खतरा होस वा नहोस तर पेज खोल्ने बित्तिकै यस्तो आउन थाले पछि कसैले पनि किन पेज खोलोस र यो खतरा किन मोलोस?


कृपया!! उदाहरणको रुपमा तलका फोटोहरु हेर्नुहोला र यस सम्बन्धी आफ्नो बिचार राखिदिनु होला ।

pohto3photo1hamro nepal sikaru basanta cafe manga dilipkailash

dautariakar

kirshana dipendra

“आफ्नो स्क्रिनसट नराखिदिएको भए हुन्थ्यो भन्ने लागेमा कृपया जानकारी दिनुहोला म यसलाई निकाल्ने छु”

»»  पुरै पढ्नुहोस

Wednesday, December 23, 2009

यसरी आरम्भ हुदो रहेछ जीवन !!२!!

 

यसरी आरम्भ हुदो रहेछ समय !!१!!  ……नितान्तै मोहित हुदै थिए समयको सुरुवात भईरहेको देखेर। सुनसान समय थियो, तर पनि समयले एउटा तरङ्ग निम्ताउदै थियो सदा झै सायद। मैले आफ्ना आखाँहरुलाई रोक्न सकिन र हेरिरहे। मलाई यो आनन्दको अनुभूती पहिले कहिलै भएन। हुन सक्छ मैले यस अगाडि समयलाई चिनेको थिईन। समयको यो रसलाई मैले कहिल्यै पनि ग्रहण गर्न सकेको थिईन। सायद यसै भएर होला, मैले आज यो समयको आफ्नो पन र यसले दिनसक्ने सुखको बयानै गर्न सक्दिन। पर क्षितिजमा सुनौला रेखाहरु देखिन थालेका थिए, म हातमा चियाको कप बोकेर घरबाट बाहिर निस्किए। घर सगै जोडिएको सानो ढिस्को र शीतका नजानिदा थोपाहरुको मलिनो चिसोपनको महसुस भईरहेको थियो। समयले आफ्नो नियमिता दर्शाउदै थियो जसलाई मैले रोकेर पनि रोक्न सक्दिन थिए। चलयमान समयसगै चल्नु पर्ने म र मेरा सबै। मलाई आखाँ बन्दनै गर्न मन लागेन, हेरिरहे मात्र हेरिरहे।

 

यो समयको साक्षी हामी दुई जना थियौ। यो समयको सुरुवातको दर्शन मैले पहिलेनै गरे मेरै परिभाषामा तर हुन सक्छ म भन्दा पनि पहिले उसले सुरुवात गरेको होस। मैले ख्याल गरिन तर पनि यो पछिल्लो समयको दर्शनको शुरूवात म पछि पक्कै उसैले गरेको हुनु पर्छ। मैले भन्नै पर्छ; जब म चियाको कपलाई ढुङ्‍गाको आडमा भुईमा राखेर यीनै आदमारा बस्ती, पहाड र यसको क्षितिजमा चड्दै गएको तर कुनै कलाकारले रंग पोत्न सुरु गरेको क्यानभासको भान पर्ने सुनौला रेखाहरुमा नजर पुराईरहेको थिए। यसै बीच ऊ मेरो अगाडि आएको थियो। मैले जसरी जुन तवरले नजरलाई नघुमाईकन हेरिरहेको थिए, मेरो त्यो समयको सहयात्री पनि त्यसरीनै आखाँनै बन्द नगरिकन हेरिरहेको थियो सायद। म अलिक पर थिए तर उसको स्थिरताले मलाई त्यही भान परिरहेको थियो।

 

हामीले यो समयको सुन्दरताको अनुभव गर्यौ एक अर्काको साक्षी भएर। त्यो ठाँउको लागि म त केही दिनको पाहुना थिए। म भोलि जान सक्छु तर ‍ऊ त्यहीको रैथाने हुनु पर्छ तथापि त्यो दिन म भन्दा केही समय पछि आयो र केही समय चाडैनै गयो। हुन सक्छ धेरै दिनबाट सबै भन्दा बढी म आफै भोकाएको थिए। म नै पहिले आएँ र अबेर सम्म म नै बसेँ त्यँहा। यो कुनै नौलो कुरा हैन कारण म त आफ्नै बीच र आफ्न्तहरुकै बीच पराई भईरहेको थिए; जसलाई मैले आफ्नो भाग्य भनेर पनि भ्रम पालेको छु। मेरो हो तर पनि मैले कसैको रीस गरे जस्तो र फेरि कहिल्यै देख्न नपाईने पो हो कि भने जस्तो गरेर हेरिरहेको थिए।

 

मलाई उसले देख्यो वा देखेन, ख्याल गर्यो वा गरेन; त्यो भन्दा हामी त्यस दिनका लागि एक दैनिकी सुरुवात गर्दै थियौ; एक साथ एक अर्काको साक्ष्य भएर। ऊ हतार भए जस्तो अलिक चाडै फर्कियो। मलाई लाग्यो नन्दन समयको त्यो सुरुवातको नमनको लागि नै आएको होला ऊ यहाँ। सहज दैनिकीको रुपमा लियो सायद उसले तर मेरो लागि यो उत्सव थियो र सुन्दर मौका। त्यसैले म भुईमा बसेर यो सबै दृष्यको अनुभव गरिरहेँ।

 

1(म भन्दा पछि नै आईपुग्यो ऊ )2 3 4 5 6( म भन्दा अगाडिनै गयो ऊ)7 8 910

समयको यो चालसगै मैले पनि चल्नु थियो, दैनिकीनै भन्छौ सायद हामी तर जब म फर्किनको लागि भुईबाट चियाको कप उचाल्दै थिए तब मेरो मनमा आईरहेको थियो, समयको ब्यापार गर्ने म र मेरो परिवेश, नास्तिक नभए पनि नास्तिकतामा बाचेको बुदुनो, भौतिकता र भौतिक सुबिधामा जीवन खोज्ने म;  मलाई के थाह.... हरेक दिन यसरी आरम्भ हुदो रहेछ नन्दन समय र जीवन तर म त फगत.......... सबैलाई चेतना भया।।

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला