यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, February 28, 2012

जीवन सापट छैन। एउटा सारांश सत्य कथा!!

उ गोरखामा पक्रिएर थुनामा राख्दा, पोखरामा उनको हत्याको समाचार छापियो। राज्यले उनको हत्या गरिएको छैन भनेर चोखिनैको लागि उनलाई सार्वजनिक गर्‍यो र एउटा असहज मृत्युलाई जित्यो उसले। पोखरा पृथ्वीनारायण क्याम्पसमा कार्यक्रम हुँदै गर्दा सुरक्षा कर्मीहरूले लखेटेर  क्यान्टिन नजिकको सेती नदीमा हाम फाल्न बाध्य पारियो  र फेरि उसको मृत्यु भयो भन्ने सुनियो। समाचारहरू अनेकौँ रूपमा आउथ्यो र मैले केही हद सम्म उनको मृत्युलाई स्वीकार गरिसकेको थिएँ। सेती नदीमै खसेको भए त बाच्ने सम्भावना नै छैन। यस्तै सोचेर निकै लामो समय मन अमिलो पारेर बसेको थिए।

पोखरा पृथ्वीनारायण कलेजमा  पढ्दै थियौ हामी त्यसबेला। भिन्न भिन्न साथीहरूको समूहमा बिभाजित भएर निकै समय चौरमा घाम ताप्दै गफ गर्थ्यौ तर कुनै राजनैतिक दस्ता वा समूह थिएन त्यो।  मात्र कलेजमा सँगै जाने आउने, डेरा नजिक र सधैँ भेट हुनेहरूको बीचमा समूह विभाजित थियो। हामी ७-८ जनामा थियौ त उनीहरूको समूह तीन जनाको थियो त्यो पनि केटाहरुमात्र। हामी त्रिमूर्ति भनेर जिस्काउथ्यौ उनीहरुलाई। । कक्षामा सर ढिलो आऊदा र समय भन्दा अगाडिनै कक्षा छोडेर जाँदा पनि एउटा आक्रोश देखिन्थ्यो उनीहरुमा। सरल स्वभावका उनीहरु प्राय चप्पल वा पान्डा जुत्ता, पैन्ट र बाहिरै निकालिएको सर्ट लगाएर देखा पर्थे।

परीक्षाको अन्तिम तयारी चलिरहेको थियो। मैले उनलाई पुस्तकालयको अगाडि भेटेको थिए। दुब्लो, सरल र चलाख अनुहारका उनी त्यस बेला निकै खुसी भएर मलाई सुनाएका थिए “जनयुद्ध सुरु भइसक्यो”। कलेजका भित्ताहरूमा जलयुद्धका पहिलो पर्चाहरू टाँसेर फर्दकै गर्दा हातमा मैदाको हिलो पोको सहित मैले उनलाई भेटेको थिए।

“कस्तो हुँदैछ पढाइको तयारी?” उनले मलाई सोधे।

“ठीक चलेको छ साथी अनि तिम्रो कस्तो हुँदै छ त?” मैले जबाफमा सोधेको थिएँ।

उनी मुसुक्क हाँस्दै मेरो हात समातेर चौरमा बस्न तानिरहे र हामी चौरमा बस्यौ। जाडो यामको पहारिलो घाम, चौरमै बेच्न ल्याउने डालेसँग बदाम किनेर त्यही बसियो। उनले भनेका र गरेका आधा राजनीतिका कुरा मैले बुझ्दिन थिएँ। चलिरहेको सिस्टम, शिक्षा र सभ्यतामा उनको बिचार भिन्न हुन्थ्यो। साम्राज्यवाद, बिस्तारवाद, यथास्थितिवाद मात्रै हैन, उनले प्रयोग गर्ने अनेकौँ शब्दावलीहरू जस्तै बुर्जुवा, सामन्तवाद र सामन्तवादीहरू जस्ता शब्दावली मेरा लागि त्यस बेला नौलो हुन्थ्यो। हामी सँगैका र एउटै उमेरका युवा थियौ, हामीले पढ्ने र जान्ने उमेर पनि एउटै थियो तर राजनीतिमा उनको बिचार म भन्दा कहयौ गुणा अगाडि र चेतनशील छ र थियो भन्ने कुरा मैले कहयौ पटक स्विकारेको पनि थिएँ। उनी सुरु देखि नै त्यसै बेला हामीले पढ्दै गरेको शिक्षाको तरिका, व्यवस्थाको खुब विरोध गर्थे। यस्तो शिक्षाले जनताको उन्नति र समाजको परिवर्तन सम्भव छैन भनेर पटक पटक सुनाउथे।

बदाम सकिन लागेको थियो र कागजकै सानो थैलोमा राखेको नुन चाट्दै भने “थाह छ मित्र यो नुन के हो?” “sodium chloride” मैले साधारण जबाफ दिएको थिए। उनी मुसुक्क हासे र भने, “यही नुनले हामीलाई गुलाम वा दास बनाएको छ। सधियौ देखि, भोट, रक्सौल, बटौली सम्म हाम्रा पुर्खाहरू नुनसँग आफ्नो अस्तित्व, विबेक सबै बेच्न बाध्य पार्दै आइएको छ। उत्तर वा दक्षिण जोसँग पनि नुनकै व्यापार हुन्छ। व्यापारीहरू काला हुन बा गोरा हुन, आँखा च्याप्टिएका हुन वा नाक उठेका हुन् हामीलाई अनेकौँ बहानामा नोकर र दासको रूपमा परिभाषित गर्दै आएका छन् र आज यही नुनको सोझो यहाँको राजनैतिक खेमामा पनि छ। यो शिक्षा हामीले चाहेको जस्तो, हाम्रो माटोलाई सुहाउने प्रकारको छैन र हामीलाई लादिएको सामाजिक परिबन्धहरू सबै यसै नुन र नुनको सोझो गर्नेहरुको कमाल हो। त्यसैले भित्र र बाहिर एउटा ठूलो भूकम्पको वा धक्काको आवश्यकता छ”। मैले नुन यत्तिको सार्ह्रो आत्मघाती होला भनेर सोचकै थिइन।

उनले थपे “तिमी नुनलाई sodium chloride भन्छौ, म नुनलाई दास र नोकर बनाउने माध्यम र हामी यसैको दास छौ र यसैलाई पोषण गरिरहेका छौ भनेर बुझ्छु। नुन सँग समाज र राजनीति जोडिएको छ”। एउटा नुन सोडियम क्रलोराईड भन्दा यती ठूलो, बलियो र धातक पनि रहेछ? म मात्रै हासेँ र भने, मैले तिम्रो कुरा बुझ्न गाह्रो छ।

“मैले सांकेतिक कुरा गरे, नुन वास्तवमा विज्ञानको भाषामा सोडियम क्लोराईड मान्छु म पनि तर सामाजिक परिवेशमा यो ठूलो बिष हो” उनले थप्दे थिए।

“यति सार्है भावनामा उडेर, यथार्थ भन्दा पर जान हुन्छ र मित्र?” मैले सोधे

“मेले भनिसके नि नुन त सांकेतिक मात्र हो” उनले प्रस्टाउँदै थिए।

समयलाई सम्झना मलाई के कुरा अहिले पक्का हुन्छ भने, त्यस बेला देखिन विद्रोही स्वभाव र विषय बस्तुलाई आम मान्छेले भन्दा फरक तवरले हेर्ने शैली उसमा थियो। राजनैतिक प्रशिक्षणले हो वा पारिवारि संस्कार वा अध्ययनले एउटा अनौठो ऊर्जा थियो यो देश र माटोको लागि उ भित्र। जनयुद्ध के हो र के का लागि भनेर उसले मलाई निकै सम्झायो तर यसमा जानेँ पर्छ भनेर कहिले मलाइ उक्साएन। मेरो जीवन शैली र जीवनका उद्देश्यहरू आफ्नै तवरले सोचेको थिए। उसको कुरामा त्यस बेला सहमत भए जस्तो भए पनि म त्यो बाटोमा जाने वातावरण मेरो परिवेशमा थिएन। परीक्षा दिनु थियो, धेरै पढ्नु थियो र यसै अनुरूप काम गरेर जीवन बिताउनु, परिवारलाई सहयोग गर्नु थियो। साँचो अर्थमा युद्धको मानसिकतामा म थिइन।

“तिमी मेरै विचारमा हिँड्नु पर्छ भन्ने हैन, तिमीले आफ्नो ठाउँबाट हामीलाई सहयोग गर” यो मात्र भनि रहन्थें। कस्तो सहयोग, कहिले गर्ने भन्ने कुरा उनले मलाई कहिलै भनेनन्। मैले साथीलाई सहयोग नगर्ने प्रश्नै उठ्दैन नि भनेर टारेको थिएँ। तर मलाई लागेको थियो, समाज परिवर्तनको लागि आफ्नो जीवनलाई युद्धमा हाल्दै गरेको नवयुवा थियो उ। उसको बिचार र कामको शैलीले उ संगठन विकासमा खरो उत्रने छ भन्ने लागेको थियो।

त्यो भेट भएको समयको केही महिना पछि उ अर्ध भूमिगत रूपमा काम गरेको हुनुपर्छ। उता युद्ध सुरु भइसकेको थियो तर पनि कहिलेकाहीँ कलेजमा कार्यक्रममा देखा पर्थ्यो। कलेज सकिए पछि उसको निजी जीवन र कामको बारेमा जानकारी पाउन छोडियो। समय निकै संवेदनशील थियो त्यसबेला। उसलाई भेट्ना साथ गोली हान्ने आदेश आई सकेको थियो। मैले मेरो एक जना नजिकको साथीलाई समाज परिवर्तनकै लागि युद्धमा लागेको कुरा स्वीकार गरिसकेको थिए। उसको बारेमा आउने हरेक समाचारहरू मैले पढ्थे र त्यसलाई पछ्याउने प्रयास गरिरहन्थे। युद्द सुरु हुँदै गर्दा लामो समय सम्म उसको र मेरो सम्पर्क भएन। हामी जीवनका फरक बाटोमा हिँडिसकेको थियौँ र सायद उसको परिभाषा र कार्यक्षेत्रमा भित्र म पर्दिन थिए। उसले कार्य लक्ष सम्पादनकै लागि आफ्नाहरूलाई बिर्सेर सम्पूर्ण रूपमा राज्य, देश र जनताहरूलाई सम्झिरहेको थियो होला र म त्यही आम जनताहरूकै परिभाषामा परेको हुनु पर्छ।

उता युद्दले भयानक रूप लिदै थियो। समाचारहरूमा राज्य र विद्रोहीले मारेका मान्छेहरूको तस्विर र समाचारहरू सधैँ जसो आईरहन्थ्यो। पोखरा पृथ्वी नारायण कलेजमा भएको भिडन्त पछि त उ मारिएको खबर फेरि एक पटक मेरो कानमा पर्‍यो। समातेर सती नदीमा फालियो भन्ने खबर पनि कतै कतै आयो। समाचारहरू अनेकौँ रूपमा आउने हुँदा पत्याउन गाह्रो थियो। त्यो भन्दा पहिले पनि मारिएको खबर नसुनेको हैन, त्यसैले उसको पार्टीकै आधिकारिक धारणा बा आधिकारिक समाचारहरू पर्खनु भन्दा केही विकल्प थिएन।

त्यस बेला म परीक्षा सकेर काठमान्डूमै पढाउने काम गर्थे। घरमा बुबा बिरामी हुनु भएको छ भनेर खबर आएको ले म गाउँ गएको थिए। केही दिन पछि बुबालाई बिस्तारै ठीक हुँदै गयो। मेले बजार तिर जाने बिचार बनाएँ र बिहानै बजार तिर निस्किएँ। बजार तिर हिँड्दै गर्दा, बाटोको छेउबाट एउटा पातलो मान्छे उस्तै अनुहारमा मेरो बाटो हुदै मैले हतार हतारमा हिँड्दै गरेको देखेँ।

“तिमी मोटाएछौ बेस्करी” उसले सुरुमै भन्यो।

“तिमि त उस्तै रहेछौ” मैले भने।

उसले त्यस पछि हात मिलायो र वरपर हेर्यो।

“आउ तिमीसँग कुरा गर्नु छ। यहाँ ठीक छैन उभिन” उसले मेरो हात समात्दै तान्यो। हामी बजारको तल अर्कै गल्लीको एउटा चिनेको मान्छेको होटेलमा पस्यौ र एउटा कोठामा छिर्यौ। अँध्यारो कोठा र मैलो सुतीको पर्दा भएको त्यो कोठामा अगाडि आमुन्ने सामुन्ने हुने गरि हामी बस्यौ।

तिमि सन्चै छौ? उसले बल्ल मलाइ सोध्यो।

“अ सन्चै छु। अनि तिम्रो यो हात र टाउकोको पट्टी के हो?” छड्के टोपीबाट बाहिर निस्किएको सेतो पट्टीको टुक्रा देखाउँदै मैले सोधेँ।

“थाह छैन? दुई हप्ता अगाडि कलेजको घटना?” उसले भन्यो

“थाह छ, मैले त”..... भन्दै थिए उसले थप्यो “मरिसकेको भन्ठान्यौ होला हैन?” उ खिस्सा हास्यो।

“यस्तै लागेको थियो” मेले थपे।

“नौलो पनि भएन यस्तो सोच्नु। समाचारमा पनि म मरिसकेको खबर आएको थियो” उसले भन्यो।

“पार्टीले पनि यसको खण्डन गर्न उचित ठानेन सायद, किन कि यस्तो हुँदै गर्दा काम गर्न सजिलो हुन्छ भूमिगत भएर” उसले थप्यो।

“अ अनि सुनाउ तिम्रो के कस्तो हुदै छ” मैले साधारण गफ सुरु गरे।

“तिमीले देखि हाल्यौ नि मेरो अवस्था तर पनि सोध्दै छौ मेरो हाल?” उ खिस्स हास्यो।

“तिमी के गर्दै छौ? र हाम्रा साथीहरू के के गर्दै छन्? मलाइ सुनाउ” उसले सबै साथीहरूको नाम लिएरनै सोध्यो।

“अरे बाफरे तिमिलाई सबै साथीहरूको नाम याद छ अझै” मैले सोधे।

मैले सबै बेलीबिस्तार लगाएँ।

“सबै साथीहरूले प्रगति गरेछन् है? कोही डाक्टर, कोही मास्टर, कोही लैकचर, कोही विदेश” सबैले राम्रो गरे” उसले एकै सासमा भन्यो।

“तिमि पनि त कमान्डर भएका छौं रे त्यो सानो प्रगति हो र?” मैले सोधे।

“कमान्डर त हैन तर पनि हुनु प्रगति हैन, कमान्डर हुनु वा क्रान्तिमा लाग्नु मेरो र हाम्रो पार्टीको मजबुरी हो” उसले भन्यो।“ उसले थप्यो।

“तिमीलाई के लाग्छ हामीले चाहेर र ठूलै मान्छे बन्नका लागि यो युद्ध लडेका हौ र? जुन दिन जनताको राज्य र समाजमा परिवर्तन आउँछ त्यस दिनबाट मैले फेरि जिरोबाट(zero) नयाँ जीवन सुरु गर्नु पर्ने हुन्छ” उसले कमिजको बाहुली माथि सार्दै भन्यो।

“किन? तिमी पनि त नेता हुन्छौ, मन्त्री हुन्छौ, तिम्रो पनि त प्रगति हुन्छ नि हैन र?’ मैले सोधे

“तिमीले नेता हुनु, मन्त्री हुनुलाई प्रगति भनेर बुझ्यौ त्यो गलत हो। हामीलाई अहिले पनि त राज्यले अनेकौँ लोभ देखाएको छ, हैन र?” उसले मलाई प्रश्न गर्यो।

“हुन त हो” मैले स्वीकारे।

“चे ग्वाभारा हुन चाहेका भए क्युवामा राज्य गर्न सक्थेनन् र? क्युवाको क्रान्ति सम्पन्न भईसके पछि उनी फेरि जहाँ क्रान्ति आवश्यक छ त्यही जाने भनेर किन हिडे?” उनले इतिहास साछी राखे।

मैले त्यस बीचमा चेको जीवनी पढि सकेको थिए मलाई उसको यो कुरा बुझ्न गाह्रो भएन।

“त्यसो भए कहिले सक्छौ त यो क्रान्ति? मैले सोधे।

“परिवर्तनको सिमा हुँदैन आज भोलि वा दशक लाग्न सक्छ मित्र तर लागिरहनु पर्छ इमानदार भएर” उसले थप्यो।

“तिमीहरू पढ्दै छौ अहिले र तिमीहरूको पनि खाँचो हुने छ एक दिन यो समाजलाई” उ क्रान्ति पछिको योजनामा प्रस्ट भए जस्तो लाग्यो।

“परिवर्तन पछि पनि राम्रा र असल मान्छेहरूको खाँचो पर्छ समाजलाई क्रान्ति सफल भई सके पछि समाजलाई व्यवस्थित गर्ने पढे लेखेका र असल मान्छेहरूको खाँचो पर्छ। म कुनै दिन तिमीलाई कामको जिम्मेवारी दिएर आए भने नौलो नमान्नू” उसले थप्यो।

“कति ठूला कुरा गर्छौ तिमी र तिम्रो कुरा बुझ्न अझै पनि गाह्रो हुन्छ मलाई” मेले थपे।

“सबैले सबै कुरा बुझ्न गाह्रो भएर त बुझाउनको लागि यत्रो लडाई लड्दै छौं हामी।“ उसले भन्यो।

तिमी कुन ठाउँमा र कसरी लड्दै छौ त? मैले सोधे।

“म बिधार्थी संगठन विभागमा छु। लडाईको अग्रिम मोर्चामा छैन, अहिले घाइते छु, सायद हतियार विभागमा काम गर्छु केही समय” उसले यस पछिको योजना पनि बतायो।

“अ साच्चै बिहे गर्‍यौ?” उसले कुरा अन्तनै मोड्न खोजे जस्तो लाग्यो।

“छैन, तिमीले गर्‍यौ?” मैले सोधे।

“छैन र अहिले नै गर्ने बेला पनि आएको छैन र पार्टीसँग सोधेको पनि छैन”। सम्पूर्ण जीवनै पार्टी र देशकै लागि नै हो भनेर सबै सुम्पिएको जस्तो लाग्यो मलाई। सम्पूर्ण रूपमा जीवन पार्टी र देशलाई नै सुम्पिएर हिँडेको उसको यो कुरा सुन्दा मलाई नौलो लागेन।

“अब अहिले तिमी कहाँ जान्छौ त? समय छ भने आज मेरोमा बास बस, भोलि बिहानै निस्के हुदैन?” मैले घर लैजाने कुरा गरेँ।

“जान त मन छैन, बस्न त हुन्थ्यो तर केही कामहरू बाँकी छन् र आजै सक्नु पर्ने छ। म आजै जानु पर्छ” संगठनकै कामले उ त्यहाँ आएको थाह भयो।

“मिल्छ भने बसौँ, धेरै कुरा गर्नु छ, दुःख सुखका” मैले जोड गरे।

“म बस्छु भोलि कसैले थाह पायो भने, तिमी र तिम्रो परिवारलाई निकै दुख दिने छन् राक्षसहरूले” उसले भन्यो। मैले निकै जोड गरे तर उ बस्न मानेन।

त्यस पछि हामीले चिसो खायौं र माथि बजारमा आएर उ बुटवल जाने बस चढेर गयो। मैले उ बसमा चढिन्जेल पछाडी बसेर हेरिहरेँ। त्यो नै हाम्रो जीवनको अन्तिम भेट र बिदाइ थियो भन्ने मैले सोचेको पनि थिईन। उ पातलो, थकित र घाइते शरीर लिएर उनकै भाषामा दुस्मनहरूको घेरा बन्दी तोड्दै थियो र गुपचुप यात्रामा निस्कियो।

त्यसको तीन वर्ष पछि म मेरै पारिवारिक विवाह समारोहमा सहभागी हुन घर गएको थिए। बिहेको अघिल्लो दिन भोलि गण्डकी बन्द भन्ने खबर आयो। हामी बिहेको जन्ती लिएर बस चढेर जानु पर्ने थिएन तर पनि चाहिने समानहरू र बिहेको चटारोमा बन्दले असर त गर्ने भयो भन्ने लाग्यो। यसै बीचमा, पोखरा वरिपरिकै गाउँ कतै खोल्सोमा राखेर ढुँगाले थिचेर उनको हत्या गरियो रे भन्ने समाचार आयो। उनकै हत्याको विरोधमा बन्द आयोजना गरिएको थियो। मलाई यो खबरले मलाइ निकै दुखी बनायो र निकै दिन सम्म उसको अनुहार मेरो आँखामा आइरह्‍यो। त्यस बेला देशको लागि इमानदार भएर आफ्नो जीवनको गर्ने र खाने बेलामा समाज परिवर्तनको सपना देख्‍ने, त्यो जोसिलो युवा मेरा साथी मात्र हैनन् बरु देशकै महान् शहीद भएको भनेर चित्त बुझाउनु बाहेक केही विकल्प रहेन। तिमिलाइ

आज शहीदहरूको परिभाषा फेरिएको छ। उनले चाहेको सामात्र यस्तै हो वा हैन, उनी भएका भए अझै राम्रो सँग सम्झाउन सक्थे होलान्। अथवा म समय मिलाएर सोध्थे हुँला। समाजलाई परिवर्तन गर्न हिँडेको एउटा ठिटोले जीवनलाई बीचमै रोकिदियो वा बलिदान गरिदियो। आज उसको त्यो त्यागको आडमा कति कामहरू कसरी भइरहेका छन् त्यो आज हामी सबैलाई थाह छ। आज समाज र सोच परिवर्तन हुँदै गर्दा शहीदहरूको परिभाषा पनि परिवर्तन भएको छ। मलाइ सबै शहीदहरूलाई सोध्न मन छ, “के सबै शहीदहरू चाहेर नै शहीद भएका हौ त?” “तिमी शहीद हुन योग्य छौं की छैनौ?” “कतै जबरजस्ती शहीद बनाइएका त हैनौ?” आफूसँग कुरा नमिल्ने जतिलाई मार्दै, भाग्दा भाग्दै पछाडि गोली लागेर मरेका शहीद पो हौ कि? हामीलाई भूपीले भने जस्तै बाँचेर गाह्रो भइरहेको छ। के तिमीहरूलाई मरेर शान्ति भा छ? साँच्चै तिमीहरूलाई के थाह, यहाँ तिमिहरूको रगतमा होली खेलेकाहरुको भोग देखेर निश्चय पनि गाह्रो भएको छ हामीलाई बाच्न।

आज उ जीवित भएको भए, मलाइ पनि राज्यको कुनै उच्च ओहोदा, राजदूत बा योजना आयोगमा सिफारिस गर्दै भनेर पछि लाग्थे होला। सुझबुझ भएकाहरु भनिएका हामी, सिफारिस र चाकडीकै भरमा मेरो साथी बा सहपाठी भनेर ठूला ठूला मञ्चमा बोल्थ्यौ होला। उ आफै कुनै ठूलो ओहोदामा बसेकै भए पनि कम्तीमा घरमा श्रीमतीलाई उसको फोटो देखाउँदै, उ मेरो साथी हेर भनेर छाती फुलाउथे होला। शहीदहरूकै लिस्टमा नाम रहदा समेत यसरी शहीद बन्न सक्नु पर्छ भनेर आफ्ना छोरा छोरीलाई सिकाउन सक्दिन म, किनकि अहिले परिभाषा र तरिका फरक हुँदै छ बलिदान, शहीद र जीवन दर्शनको। यस्तो चाडै परिभाषाहरू परिवर्तन होलान् र मात्र भित्ताहरूमा आफ्नो फोटो राख्‍नकै लागि यत्रो ठूलो बलिदान दिएको हो झै लाग्दैन। भित्तामा फोटो त फटाहा, चोर र गद्दारहरूको पनि टाँसिएकै थियो। हिजो राजाहरूको पनि फोटो गर्व साथ भित्ताहरूमा टाँसिन्थ्यो सलाम गरिन्थ्यो र प्राण भन्दा प्‍यारो ठानिन्थ्यो। समाज परिवर्तन हुँदै गर्दा यो सबै परिवर्तन भयो। तर देश समाज र जनताका निम्ती निश्वार्थ भएर लाग्नेहरूको दर्जा र तुलना.......?????? यहाँ मरेर गएका शहीदहरूको के डर? डर छ त बाचिरहेका थर्काउने, लुट्ने र असुली गर्ने शहीदहरूको पो छ त। चार पाँच जनाको समूहको शहीद, गाउँ र टोलको शहीद, घर्मको शहीद र जातीको शहीद, बिजुली चोर्दा करेन्ट लागेर बनेका शहीद, डनहरुको लडाइमा मरेका शहीद आदि आदि, थुप्रै स्तर र क्षमतामा विभाजित शहीदहरू.. चेतना भया..

राजनैतिक विचारका अनेकौ आधारभुत कुराहरुमा मतभेद हुँदा हुँदै पनि, बिचार भन्दा माथि मैले एउटा असल मित्रलाई(शहीद विजय ढकाल) गुमाएको सत्य कथा हो। मःम खान जाँदाका (हामी सगै जान्थ्यौ तर उसले भने खादैन थियो), बनभोज खान जादाँका, फेवातालमा डुगाँ चलाउन जादाँका समय र उ सँगको अनेकौँ ठट्यौली संवादहरू मेरो मनस्पटलमा अझै ताजै छन्। मैले अन्तिममा भनेका विभाजित शहीदहरूको बीचमा, देशका लागि इमानदार, समाज परिवर्तनको लागि जीवन नै फालेका शहीदहरू देख्दा चित्त बुझ्दैन। अझ यीनै शहीदको खेती गरेर, इमानदार नभई उनैको रगतलाई मागी खाने बाटो बनाएको देख्दा मन पोलेर आउँछ र निकै दुःख लाग्छ।

(तिमीलाइ धेरै धेरै सम्झना र नमन)

 

061343_Bijaya_dhakal

 

 

(शहीदः विजय ढकाल)

»»  पुरै पढ्नुहोस

Tuesday, February 7, 2012

बादशाह र तुरूपको एक्का

सबै भन्दा पहिले केही रमाइला र यथार्थ जापानी किस्साहरू भन्छु म..

एक पटक एउटा बेल्लौरे( बेलायती) कुकुरले सागाकै पार्कमा घुम्न गएको बेला मलाई बेस्करी भुक्यो। म एक सुरले हिँडिरहेको थिए, बेस्करी झस्किएँ। म कुकुर देखेर सानैबाट डराउने मान्छे। लामो सिक्रीमा बाँधेर डोराउँदै गरेकी बुढी आईमाईले मेरो अगाडि आएर तिन चार पटक निहुरिएर माफी मागिन्।

Hanami 042

(सागा शहरको पार्क)

फुकोओका शहरमा हामी सपरिवार डुल्दै थियौँ। व्यस्त सडक र ठूला ठूला भवनहरूले हामीलाई आकर्षण गरिरहेको थियो। त्यहीनै भवनहरूलाई पृष्ठभूमिमा राखेर बाटोकै छेउमा हामी पालै पालो फोटो खिचिरहेका थियौ। फोटो खिची दिने अरू कोही नभएको ले हामीले सबै परिवारको फोटो एकै साथ खिच्न पाइरहेका थिएनौ। त्यसै बीच म परिवारको फोटो खिचिरहेको थिए, मेरो पछाडि छेउनेरै एक जना युवक उभिए। मैले उसको बाटो छेकेकी भनेर माफी मागेँ। उसले म सँग मेरो क्यामेरा मागेर, तपाइहरूको परिवारको फोटो म खिचि दिउँ भने र हाम्रो फोटो खिचिदिए। फोटो लिई सके पछि उनी मुसुक्क हाँसेर आफ्नो बाटो लागे।

जापान बसाइमा सबै भन्दा सजिलो साइकल। साइकल नभएको मान्छे र घर छैन भने पनि हुन्छ। ठूला ठूला कम्पनीका मालिकहरू पनि सकभर साइकलमै यात्रा गर्न पाए हुन्थ्यो जस्तो गर्छन्। मैले काम गर्ने ल्याबको छेवैमा रहेको ल्यावमा एक जना बंगाली बिधार्थी डक्टर गर्न आए। उनको पुरा छात्रवृत्ति थिएन। त्यसैले उनले तत्काल नयाँ साइकल किन्न सक्ने स्थिति थिएन। संयोगले उनको र मेरो डेरा एउटै घरमा थियो। उनि ल्यावमा आएको दिन मलाई भेट्न मेरो कोठामा छिरे र परिचय गरे। मैले उनी नयाँ भएकोले केही आवश्यक छ भने भन्नु, मैले गर्न सक्ने भए गर्ने छु भनेँ। उनले यसै बीच आफूसँग साइकल नभएको ले के गर्ने होला भनेर सुनाए। मलाई जापानी लेख्‍न नआउने हुँदा मेरै ल्याबको एक जना मेरै सुपरभिजनमा अन्डरग्राडुयट गरिरहेका जापानी साथी फुकोकालाई साइकल चाहिएको रहेछ भनेर सुनाएँ।

 

P4150052

(बंगाली साथीको साइकल)

हाम्रो खाना पकाउने किचन सबैको साझा हुन्थ्यो। धेरै चुलो र फ्रिजहरू राखिएका हुन्थे। जुन खाली छ र जसमा मन लाग्यो त्यसमै पकाइन्थ्यो। शनिवार बिहानै खाना पकाउँदै गर्दा, एक जना अपरिचित जापानी (मैले उनको नाम बिर्सिए) बूढो मान्छे मेरो नाम लिदै किचनमा आईपुगे। उनले आफ्नो हातमा एउटा चापी र पाँच सय येन (जापानी रुपैया) देखाउँदै भने, “तपाइलाई साइकल चाहिएको रहेछ। मैले मेरो घरमा नयाँ साइकल किनेको छु, यो पुरानो हो तर राम्रो काम गर्छ। पछाडिको टायर पुरानो थियो, फेरि दिएको छु। यो साइकल हिजो फाल्न खोज्दा साइकल चाहिएको छ भन्ने खबर पाएर आएको हुँ। यो पाँच सय येन, साइकल मेरो नामबाट तपाइको नाममा नामसारी गर्न प्रहरीमा बुझाउनु पर्छ, लिनुहोला”। मैले मेरो बंगाली साथीलाई बोलाएँ। उसले साइकल र पैसा दुबै बुझ्यो। (प्रहरीकोमा गए पछि साइकल दर्ता गर्न छ सय यन लाग्दो रहेछ भनेर भन्दै थिए त्यी साथी….)

चोरी र हराएको सामानको प्रशंगमा मेरो दुईवटा अनौठो अनुभव छन्. पहिलो पटक २००४ मा जापानबाट नेपाल फर्कँदै गर्दा २ घण्टा अगाडिनै एअरपोर्ट पुगेको थिएँ। एक घण्टा पछि मात्र काउन्टर खुल्ने थाह पाएर नजिकैको भेन्डिंग मेसिनबाट (vending machine) चिया किनेर प्रतीक्षालयमा बसिरहेको थिए। लगभग एक घण्टा त्यहाँ भइरहेको चहलपहल हेरेरै बिताएँ। एक घण्टा पछि, थाई-एअरको काउन्टरको स्थिति कस्तो छ भनेर बुझ्न त्यहाँबाट आफ्नो सामान घिसार्दै हिडेँ। काउन्टर खुल्नै लागेको र लाइन सुरु भइसकेको रहेछ। म पनि लाइनमै बसेँ। केही समय पछि, काउन्टर खुलेर सामानहरू जाँच हुदै थियो, एक जना महिला मेरो छेउ नेरै आएर मलाई मेरो पैसा राख्‍ने पर्स देखाउँदै सोधी। “के तपाइको को हो यो पर्स? मैले त्यस बेला जापानी बुझ्दिन थिए तर मैले मेरो पर्स हेरेर थाह पाए मैले हराई सकेको रहेछु। म प्रतीक्षालयमा बस्दा त्यी महिला त्यहाँ भई सफा गरिरहेकी थिईन। उनले मलाई खोजेरनै मेरो त्यो पर्स मलाई फिर्ता दिईन। म कति खुसी भए भन्ने कुराको सीमानै रहेन। यस्तो बेलामा सबैले भन्छन् नि, पैसा नपाए पनि कागजहरू महत्वपूर्ण थियो, पाउन पाए हुन्थ्यो। तर मेरो त्यहाँ पैसा बाहेक महत्वपुर्ण कागज केही थिएन। वास्तवमै धेरै पैसा थियो त्यसमा।

कुरा २०१० को मार्च तिरको हो। जाडो भर्खर सकिएर पहारिलो घाम सुरु हुँदै थियो। साइकल लिएर डेराबाट कलेज हिँडे। मेरो डेरा र कलेज पन्ध्र मिनेट साइकल दूरीमा थियो। मेरो अफिस भने ल्याब भित्रै थियो। कुर्चीमा ज्याकेट राखेर, म तल चिया खान झरेँ। चिया लिएर कोठामा फर्कदा फर्कदै मेरो मोबाईलको घण्टी बज्यो। हाम्रो international student सेक्सनमा काम गर्ने महिलाको फोन रहेछ। उनले मलाई सोधिन “तपाइको केही हराएको छ ?” मैले सिधैँ छैन भनेँ। उनले भनिन् “तपाइको क्रेडिट कार्ड होल्डर पर्स यहाँ आई पुगेको छ। एक जना बाटोमा हिँड्ने मान्छेले सडक पेटीमा खसेको अवस्थामा फेला पारेर, त्यो कार्ड होल्डरमै भएको कलेजको परिचय पत्र देख्‍ना साथ यहाँ ल्याएर छोडी दिएका छन्।“ म झस्के, कारण त्यहाँ कलेजको परिचय पत्र, जापान बसाईको परिचय पत्र, स्थानीय बैकका र केही अमेरिकी बैक खाताका थुप्रेँ क्रेडिट र डैबिट कार्डहरू थियो। मैले त्यस पछि केही हप्ता लगातार आफ्नो कार्डको ट्रान्जिक्सन हेरि रहे तर कतै केही नौलो चलखेल भने पाईन।

lL5sET396253-02 (सफा शहर)

हामी सबै परिवार एउटा स्थानीय सुपरमार्केटमा जानको लागि टैक्सि लिएर हिँड्यौ। मेले जानु पर्ने ठाउँको नाम भने ड्राइभरलाई। उनले गलत बुझेछन् र अर्कै ठाउँमा लागिदिए। जानु पर्ने ठाउँ भन्दा पाँच मिनेट वरैको स्टोरमा लगेर रोकिदिए। पाँच मिनेट सिधैँ गएको भए मैले भनेकै ठाउँमा पुगिन्थ्यो। मैले ड्राईभरलाई भने, हामी आउन खोजेको यहाँ हैन, अर्कै ठाउँमा हो। तपाई सिधैँ हिँड्नुस भने र पुन त्यो ठाउँको नाम पनि भनिदिए। त्यो ठाउँको नाम भन्ने बित्तिकै उनले टोपी निकालेर झुक्दै माफी माग्न थाले। उनको अनुहार यस्तो नीलो र कालो देखियो कि म आफैलाई असजिलो महसुस भएर आयो। त्यसपछि हामीले भनेकै ठाउँमा पुगिसके पछि मैले मनिटरमा पैसा हेरेँ। अठार सय येन भएको रहेछ। पर्सबाट पैसा निकाल्दै गर्दा त्यी ड्राइभर हाम्रो ढोका नेर आएर हामी भए नेरको ढोका खोलेर फेरि टोपी निकालेर, शिर निहुराउँदै माफी पो माग्न थाले। हामी टैक्सिबाट बाहिर ओर्लियौ, मैले हजारको दुईवटा नोट दिन खोजेँ। उनले त्यो पैसा लिननै मानेन्। बरु लगातार माफ मागि रहे। मैले केही भएको छैन, कहिलेकाहीँ यस्तो हुन्छ र त्यसमा पनि यो मेरै गल्ती हो किनकी मैले राम्रोसँग तपाइलाई बुझाउन सकिन भनेर भनि रहेँ। तर उनले मानेनन् र अन्यमा पैसा नलिएरनै फर्किए।

हामी कत्तिको ख्याल गर्छौ खै। तर हाम्रो वरिपरिका जनावर, पशुपंछीहरु हाम्रो व्यवहार र क्रियाकलापसँग अभ्यस्त हुन्छन्। आँगनमा बिहानै घान र कोदो खान आएका भगेँरा हुन वा ढुकुर, हामीलाई ढोकामा देख्‍ना साथ वा हाम्रो हात हल्लने बित्तिकै भुर्र उडेर जान्छन्। भगेँरा, डांग्रे, वा कुनै जनावर मान्छे देखे पछि जति चाडै उडेर हामीबाट टाढा जान्छन् ठीक त्यसको विपरीत यहाँ कुनै चरा वा जनावरको नजिक जानु भयो भने उनीहरू उडेर जाँदैनन् वा डराउँदैनन्। मैले कहयौ पटक नजिकै गएर खुट्टाले भगेँरा र परेवाहरूलाई बिच्काउने प्रयास पनि गरेको छु तर उनीहरू मैले खुट्टा फाल्दा बुरुक्क उफ्रिएर अलिक पर सर्ने तर उडेर नजाने अनि फेरि चाहारा टिप्न व्यस्त हुने देखेको छु। मैले निकै पटक यस्तो गरेको छु। मैले कति लाटो हुँदो रहेछ भनेर भन्ने गरेको थिए। तर बिस्तारै बिचार गर्दा के लाग्यो भने, यहाँ केटाकेटी न बूढाबूढी जनावरहरूलाई चराचुरुङ्गीहरूलाई बिच्काउने, मार्ने वा तर्साएर उडाउने गर्दा रहेनछन्। हामीले ख्याल गरेको हुनु पर्छ हाम्रो घर गाउँ तिर जसरी गाई भैँसी चौरमा चर्दा उसैको वरिपरि वा उसै माथि बसेर चराहरु फट्याङ्ग्रोका शिकार गरिरहेका हुन्छन्। कारण गाई भैँसीले उनीहरूलाई केही गर्दैनन् भन्ने जानेका हुन्छन् उनीहरू। त्यसैगरी त्यहाँका मान्छेहरू प्रकृतिसँग निकै नजिक रहेर उनीहरुलाई व्यवहार गर्दछन्। घरमा सर्प आयो भने सर्पलाई मार्दैनन् बरु जनावर उद्धार केन्द्रलाई फोन गरेर उनीहरूलाई बोलाउँछन्।

शहरको लगभग मध्य भागमा एउटा राम्रो बगैँचा थियो। त्यही बगैँचाबाट केही पर एउटा सानो शहरी बस्ती पनि रहेछ। त्यही बस्तीको एउटा घरमा एउटा मान्छे बस्थ्यो। उसको परिवारको नाममा उसले पालेको सानो कुकुर मात्रै रहेछ। मालिक सधैँ काममा जान पर्थ्यौ। काममा जान ट्रेन चढ्नु पर्ने भएकोले, त्यसै बगैँचाको छेउनेर भएको ट्रेन स्टेसन सम्म उनीहरू सँगै आउँदा रहेछन्। त्यो मालिक र कुकुर बीच निकै प्रेम थियो। कुकुर पनि इमानदार र मालिकलाई निकै माया गर्ने गर्थ्यो। काममा जाँदा उसको कुकुर घरमा एक्लै बस्नु पर्ने भएकोले, मालिकले आफ्नो कुकुरलाई सधैँ त्यही बगैँचामा लगेर छोड्दा रहेछन् र आफू ट्रेन चढेर काममा जाने रहेछन्। बेलुका मालिक नआए सम्म त्यो कुकुर त्यही बगैँचाको छेउमा बसिरहँदो रहेछ र बेलुका मालिकसँगै घर फर्कने रहेछ। दुर्भाग्यबस एक दिन घर फर्दकै गर्दा ट्रेन दुर्घटनामा  मालिकको मृत्यु भएछ। उता कुकुर मालिकलाई कुरेर बसिरहेको थियो। त्यसपछि मालिकको प्रतिक्षामा सधैँ त्यही कुरेर बसिरह्यो र अन्त्यमा उसले त्यही नै मालिकको प्रतिक्षा गर्दा गर्दै  प्राण त्याग गरिदिएछ। सन १९२३ बाट उसले त्यहा कुरेर बस्यो र आखिर १९३५मा त्यहीनै प्राण त्याग गर्‍यो। यो घटना पछि त्यो कुकुरको स्वामी भक्ति र इमानदारिताको संझना गर्दै त्यो ठाउँको पार्कको नाम “सिबुया-पार्क” त्यसै कुकुरको नाम सिबुयाबाट राखिएछ। आज पनि त्यो सिबुया-पार्क जापानको टोक्योमा छ।

sibuya park( सिबुया पार्क)

सन २००९ को अक्टोबरमा एक महिनाको लागि अमेरिका जाने कार्यक्रम बन्दै थियो, त्यसै बीच नेपाल हुँदै जाने निर्णय गरेँ। अलिक चाडै टिकट काट्दा टिकट सस्तोमा पाउन सकिने सम्भावनालाई सोचेर, मैले स्थानीय JB travel agency बाट एक लाख साठी हजार जापानी येन दुई महिना अगाडि नै बुझाएँ। तर उसले मलाई रसिद मात्र दियो टिकट दिएन। टिकट बनाउन केही समय लाग्छ र हामी तपाइलाई ई-मेल गरेर पठाई दिन्छौ वा तपाइ यही आउँदा पनि हुन्छ भनेर भनियो। उड्ने दिन भन्दा पन्ध्र दिन जति रहदा मलाई ई-मेल र फोन दुबै आयो। मैले त्यही टिकट लीन आऊछु भनेर भने र त्यसै गरेँ। मैले खाममा राखिएको टिकट बुझेँ। टिकट सँगै अर्को एउटा रसिदमा मलाई सही गर्ने भनियो। मेले के हो यो भनेर सोधेँ। मलाई टिकट काट्न सहयोग गर्ने त्यी महिलाले भनिन, “तपाइले टिकट बुकिङ्ग गर्दाको र अहिलेको टिकट मूल्यलाई तुलना गर्दा, अहिले सस्तो भएको रहेछ। त्यसैले हामी तपाइलाई पैँतालीस हजार तीन सय दश येन फिर्ता गर्दै छौं, कृपया यहाँ सही गरी दिनु होला। मैले ती महिलाको अनुहारमा सहजता देखेँ। तर मेरो आफ्नो अनुहार हेर्न मसँग ऐना थिएन तत्कालै।। आदि आदि....सहज र सरल जीवन शैलीका केही उदाहरणहरू हुन यी सबै जापानी समाजका। उनीहरुको जीवन बाच्ने र कामलाई परिभाषित गर्ने तरिका हाम्रो भन्दा फरक छ। एउटा उदाहरण यसमा पनि हेर्नु होला।

लामो युद्ध लडिसके पछि, जब युद्धमा हार भयो, कंगाल अस्तव्यस्त भइसकेको देश मात्र थियो उनीहरूको हातमा। आर्थिक र सामाजिक रूपले यस्तो दर्दनाक स्थिति आई पर्यो कि खानको लागि समेत केही बाँकी रहेको थिएन। समुन्द्रमा जाल हान्यो, जे आउँछ त्यही बाँडेर खान थाले उनीहरू। काँचै माछा खानु पर्ने बाध्यताले, त्यो संस्कार र परम्परालाई अझै बढी प्रोत्साहन मिल्यो। जब संकट आई पर्यो कहिलै पनि आफ्नो समाज र गाउँमा लुटमार हुन दिएनन्। सबैले काँचै भए पनि बाँडेर खाए र मेहनत गरिररहे। त्यस्तो असामान्य अवस्थामा पनि सामाजिक संरचना कहिलै भत्कन दिएनन्। समाजको प्रगतिको कुरा यहाँबाट सुरु भयो जापानीहरूको।

 

kenryu park 250 (जापानी चिया समारोह)

जापानी समाज त्यत्तिकै, आफै वा भगवानले बनाइदिएको वा बनेको हैन। जापानीहरूको अस्तव्यस्त जीवन वास्तवमा दोस्रो विश्व युद्द पछिको देन थियो। यत्रो मान्छे मर्ने गरि गरिएको बम आक्रमण पछि पनि आज जापानीहरू अमेरिकी भने पछि हुरुक्क गर्छन्। भित्र जे होस बाहिर अमेरिकी भने पछि हामीले सोचे भन्दा बढी नतमस्तक हुन्छन्। बुझ्नेले बुझेका छन् कि अमेरिकी कारण जब युद्द अन्त्य भयो, तव उनीहरू बिग्रिएको, स्रोतहरू गुमाएको, मानसिक तवरले पीडित देश लिएर आर्थिक क्रान्तिमा लाग्न परेको थियो। जब पहिलो पटक जापानीहरूले १९६४ मा ओलम्पिकको आयोजना गरेर सफलता पूर्वक सम्पन्न गरे त्यसै बेला देखि नै जापानले अहिलेको स्थितिको रेखा कोर्न थालेको थियो। जुन बेला जापानीहरू ओलम्पिक आयोजना गर्दै थिए, त्यस बेला उनीहरू कुनै खेल प्रेमी भएर आयोजना गरेका थिएनन्। उनीहरूले बुझेका थिए कि यो अवसर नै आर्थिक क्रान्तिको सुरुवात हुन सक्छ। जब ओलम्पिकको आयोजना सुरु गर्ने तयारी गरियो त्यसै बेला देखि नै जापान सरकारले सबै जनतालाई सभ्यता र सिस्टताको तालिम पनि दिएको थियो। हाम्रो देशमा संसार भरका मान्छेहरू आउदैछन, हामीले कतै फोहोर गर्न हुँदैन, ट्रेन चढ्दा वा कुनै काम गर्दा लाइनमा बसेर पालै पालो प्रयोग गर्नु पर्छ, हामीले अरूका कुरा सुनेर मात्र जबाफ दिनु पर्छ नत्र हाम्रो संसारभरि बेइज्जत हुन्छ भनेर सिकाइयो। उनीहरूले पुरै देश भर नै ओलम्पिकको लागि मात्रै स्टेडियम बनाएर मात्रै तयारी गरेका हैनन्। उनीहरूले पुरै देशका जनतालाई त्यसै अनुरूप तयारी पनि गरेका थिए। ओलम्पिक सकियो र निकै राम्रो आर्थिक जुगाड गर्यो जापानले त्यस बेला तर त्यो भन्दा पनि ठूलो कुरा सम्पूर्ण जनतामा सभ्यता र अनुशासनको सभ्य समाज बसाल्न सफल भयो। । उनीहरू आफ्नो समस्या र दुःखलाई मिलेर नै टार्न सफल भए र सबै मिलेर, एक भएर नै सबै काम गरे।

DSC00024

(अहिलेको नागाशाकी शहर)

हामीले पनि यस्तै र यो भन्दा पनि राम्रो समाज बनाउनु छ।

धनी गरिब, दुखी, सुखी, सानो ठूलो, तेरो मेरो कुनै भौतिक संरचना हैन्। यो त मान्छेको सोचले बनाएका पर्खालहरू हुन्। देशकै नाममा एक हुने, घर्म भन्दा मानवताको नाममा एकता हुने हो भने यत्तिका स्रोत साधन र चेतनशील जनताले भरिएको हाम्रो समाज सम्पन्न हुन जापानले जस्तो पचासौं बर्ष कुर्नु पर्दैन। कसैको घर कब्जा गरेर, कसैको सम्पती बाढेर, कसैलाई मारेर र कसैलाई सानो देखाएर मात्रै देशमा आर्थिक क्रान्ति हुँदैन भन्ने कुराको उदाहरण हामीसँग थुप्रेँ छन्। मात्र हामी एक हुनु पर्यो देशका लागि तर आफ्नो समुदाय, घर्म र सीमित स्वार्थका लागि लड्ने हो भने हामी नेपाली कहिले हुँदैनौ। डाइमन शमशेरले भने जस्तै “नैलालाई दैलाले खान्छ, दैलालाई गुलामले, गुलामलाई मिस्सीले खान्छ, मिस्सीलाई बादशाहले र बादशाहलाई एक्काले खान्छ। एक्का भनेको एकता हो र एकता भयो भने, हातै भरी हतियार लिएर उभिएहुकुमको एक्काको बादशाह पनि ढल्नु पर्दछ”।

बादशाह ढलेर मात्र हुदैन। बादशाह ढलिसके पछिको क्रम भङ्गताले पुरै सिलसिला र एकरूपतालाई जसरी बिगार्छ, त्यसलाई पनि परास्त गर्ने निहुँमा हेरेक तहमा नयाँ बादशाहीहरू जन्मने सम्भावना रहन्छ। सबै मिलेर एउटा बादशाहलाई फाल्न र ढाल्न सजिलो हुन्छ तर स्वन्त्रताको नाममा, घर्मको नाममा वा भनौं आफ्ना निहित स्वार्थ र अधिकारको नाममा घरघरमै जन्मिएका नयाँ बादशाहहरूलाई ढाल्न सजिलो हुदैन। यदि यस्तो भयो भने “एक्का” नै एकताको नाममा नयाँ बादशाहको रूपमा आफूलाई उभ्याउन सक्छ। यस्तो एकताको बादशाहले जनतालाई ललीपप बाढेरै भए पनि आफू विरुद्ध जान सक्ने एक्कालाई तुरूप लगाउन सक्छ। “होसियार” जो जसले यस्तो सोचेको छ उसले नभुलोस्, एक्का खाने तुरूपहरू धेरै हुन्छन् तर त्यसै बीच एउटा सर्वशक्तिमान् तुरूपको एक्का पनि हुने गर्दछ त्यसै खालमा। त्यसैले इमानदार, होसियार र आत्मीयताको एकता भन्दा अर्को विकल्प छैन देश बनाउन, चलाउन र सत्ता भोग गर्न.... चेतना भया!!!

जापानी समाजका नकारात्मक पक्षलाई कुनै दिन केलाउने प्रयास गर्ने छु। सभ्य समाज भएर पनि केही खतरनाक विकृतिहरू छन् र हुर्केका छन् त्यहाँ र त्यसबाट पनि हामीले शिक्षा लिएर अगाडि बढ्न सक्छौ र के कस्ता गल्तीहरू गर्नु हुँदो रहनेछ भनेर बुझ्न सक्छौ।

»»  पुरै पढ्नुहोस

Friday, January 20, 2012

विभाजित मस्तिष्क र खण्डित चेतना

शून्य मस्तिष्क भनेको के हो? पिण्ड वा भौतिक स्थिति मात्र मस्तिष्क हैन। शून्यमा जानु चेतनाको कुरा हो कि हैन, मैले पहिलेनै बहस गर्ने प्रयास गरेको थिए(चेतना शून्यमा जानु योग हो वा मृत्यु)। सबै सोच्छन्, गर्छन् तर भोग कसैले गर्दैनन्। Cranial cavity भित्र रहेको नशादार मांसपेशी मात्रै सोच्ने हो भने संसारका अन्तरकुन्तरमा रहेका सबै प्राणी र जीवसँग पनि त त्यो छ। मेरो, उनको र तपाइको भन्ने बोध कहाँबाट आउँछ? मलाई, उनलाई र तपाइहरूलाई भन्ने बोध किन आउँदैन? Quantum consciousness को कुरा म पनि स्वीकार गरि हाल्ने स्थितिमा छैन किनकी स्वयं म आफै यो कुरामा कन्सियस छैन। वा चेतनाले चेतनाकै कुरा सम्म पुग्ने योग वा प्रयोगको स्थितिमा म छैन।

brainजे होस स्वार्थी छ सायद त्यो पिण्ड र त्यस्तै संरचनाका सङ्केतहरू प्रवाह भएका छन् शरीर भरी। शरीर भरी चल्ने, घनघटा संवाद र सङ्केतहरू सहितको एकमुस्ट संरचना हो भने, किन द्वेषी वा द्वैत व्यवहार गर्छ त्यसले? त्यति सजिलो छैन सोच्न र परिभाषित गर्न तर पनि जन्मजात संरचनाकै गुण र अवगुणमा हामी किन बन्धक छौ। हामीले चाहने भनेको त्यही संरचनाले सङ्केत गरेको मात्र हो भने पनि किन महापुरुषहरूको जीवन समेत सपाट छैन? कहीँ न कहीँ काम त गरेकै छ। ज्ञान, उपदेश र वेदान्तका कुराले त्यसलाई बिरक्त्याउन सजिलो किन हुन्छ? विचलित बनाउन सकिने, दबाबमा राख्न सकिने हो भने कसरी एकै संरचनाका सङ्केत स्वरूप परिभाषित गर्ने सकिन्छ? तह र विभागमा विभाजित तर मूल सङ्केतले निर्देशित संरचना नै चेतनाको बाहिरी स्वरूप हो भने, सबै संरचनालाई एकै नाम दिन हुँदैन थियो। देख्‍ने, सुन्ने, छाम्ने र बोध गर्ने तहहरूको यथोचित व्यवस्था पन हो भने, त्यसले त्यही स्वरूपमा काम गर्न पर्थ्यो। त्यही संरचनाको प्रभावोत्पादक मनमा गलत कामको बोध गराउँदै गर्दा, अर्को तर्फ राम्रा कामको चेतना आईरहन्छ। यहाँ नियन्त्रण कसले गर्छ भन्ने नै परिभाषित छैन। कसले चलाउँछ भन्ने नै हेक्का गरिएको छैन। सबैलाई एकमुस्ट परिभाषित गरिएको छ। मन र तनलाई छुट्टाएर धनसँग जोडिएको छ। चेतना खै? चेतना मन र तन सँग किन छुट्टाउने प्रयास गर्छौ हामी? मन चेतना हो भन्ने कुरामा म प्रस्ट छैन। मनलाई चेतना मान्ने पक्षमा म छैन। माथिनै भने झैँ एउटै संरचनाको प्रभावोत्पादक मन हो भने, मन पनि त्यसैको अंश हुनु पर्छ, न कि पूर्ण। तर पृथक् संरचना मन र तन त चेतनाको पनि दासानुदास संरचना भित्र पर्दछन्। पृथक् बोध, अनुभूति र प्रयोग हुँदा हुँदै पनि हामी किन एउटै खेमामा बाच्न बाध्य छौं? (मैले “मान्छे” नामसँग यहाँ जोड्न खोजेँ)

साँचो अर्थमा भन्ने हो भने यहाँ कुनै कुरा कसैको नियन्त्रणमा छैन। सबैले संरचनिक रूपमा दासत्व स्वीकार गरेका छन् तर कर्म र प्रयोगमा सबै स्वतन्त्र र भिन्न छन्। मन छ तन छैन, तन छ मन छैन, चेतना छ दुर्जेय छैन, खटन छ तर नियन्त्रण छैन, पुरै विभाजित छ तर पनि एकै संरचनाबाट संचालित भ्रममा बाचेका छौ। हामी किन यस्तो अनागत वा अपरिचित संरचनामा होमिएका छौ? वास्तवमा हाम्रो बाध्यता हो यो। हामी बुझ्दैनौ, अनि अलौकिक शक्तिको आडमा कुरालाई, यथार्थलाई परिभाषित गर्न खोज्छौ। त्यसैले हामी आफ्नो अनुकूल भाँचभुँक गरेर, पुर्खाले रेखाङ्कन गरेको शैलीलाई रेजा लगाउँदै बाच्न अव्यस्त भइरहेका छौं। हामी भित्र के छ, के छैनको बोध, हामी के गर्न सक्छौ र के गर्न सक्दैनौ भन्नु भन्दा पनि हामीले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने मात्र यथार्थ त्यही संरचनाबाट निकालेर विभिन्न उपमामा प्रयोग गरेको भए राम्रो हुने थियो।

यथार्थमा प्रकृति भित्रै आ-आफ्नै संरचनाहरू छन्। सबै संरचनामा एउटै परिभाषा, एउटै नियम र एउटै अनुकरण छ अर्थात् विभाजन छैन। बिहान देखि बेलुका सम्मको सबै नियमलाई हेर्ने हो भने हरेक प्राणी, वनस्पतिको एउटै नियम छ। एउटै जीवन शैलीमा चलेको यथार्थ छ। तर हामी मान्छे किन फरक फरक जीवन शैलीमा छौ। हामी बीचको व्यवहार किन फरक फरक छ। हामी बीच यत्रो विभाजन किन? कारण हामी चेतनशील छौ रे। चेतना, मन र तन सबै विभाजित छ र विभाजित संरचनाले भिन्न र विभाजनकै काम गर्दछ। त्यो भन्दा पनि ठूलो र यथार्थ हाम्रो मस्तिष्क विभाजित छ। स-साना अँग र शरीर भित्रको संरचना चलाउने विभाजन भन्दा फरक, हामीलाई पृथक् बनाउने चेतना आफैमा विभाजित भएको हुनु पर्छ। विभाजित मस्तिष्क र त्यसले प्रादुर्भाव गरेको खण्डित चेतनालाई बुझ्ने योग ज्ञान र ठूलो प्रयोगशाला म सँग छैन तर पनि मान्छेहरू बीच, सर्वमान्य सिद्धान्तहरूमा पनि खण्डित चेतनाको बोध वा अनुभव सधैँ भईरहन्छ... चेतना भया.

»»  पुरै पढ्नुहोस

Friday, December 23, 2011

मरुभूमिको चिसो भेडीगोठ र एकाध लाख रुपैयाँ।।।

ताबुक भन्दा दक्षिण-पूर्वी क्षेत्र  कुन बाटोबाट त्यहाँ पुग्यो उसैलाई थाह छैन। एअरपोर्टमा झरेर दलालको पछि लागेर नै विशाल मरुभूमिमा प्रवेश गरेको थियो बज्र नारायण। लगभग एक लाख ऋण लिएर अरब पुगेको थियो र दुई वर्षमा ऋण तिर्यो। काम र दलालको SAUDISAMEWपरिवेशमा फस्दै तातो र चिसोको बेजोड मरुभूमि सगै भेडीगोठमा बाख्रा र ऊँट हेर्ने काम पाएको थियो। भाग्यले साथ दिएरै होला उ सँग आफ्नो कागज र परिचय थियो। उ सँगै कहयौ नेपालीहरू मानव तस्करहरुको फन्दामा परेर बिना परिचय, नक्कली पासपोर्ट लिएर काम गरिरहेका र प्रहरीको कालो सुचीमा अकिंत थिए।

गर्मी भन्दा पनि रातमा हुने चिसो उसलाई गाह्रो लाग्थ्यो। शहर भन्दा अलिक पर, पैसा कम तर खर्च बढी नहुने हुँदा, त्यही काममा जाने बिचार गरेको थियो उसले। काम गरुन्जेल दिनको तातो र रातको चिसोले कहिलै पनि सन्चो र स्वस्थ रहेन बज्र नारायण। जसरी पनि पैसा जम्मा गर्नु थियो। उ त्यहाँ पुगेकै वर्ष, दोस्रो महिनामै आमा खस्दा समेत पन्ध्र महिना पछि खबर पाएको थियो तर पनि त्यस बेला उ घर जान सकेन। जाने पो कसरी, पैसा जम्मा भएको थिएन। घरमा लामो समय खबर नहुँदा सबैले चिन्ता गर्थे। हरेक मान्छेले आफ्नै खालको अड्कल लगाउथे। लामो समय सम्म खबर नहुँदा घरकी श्रीमतीलाई पनि कहिलेकाहीँ शङ्का हुँदो हो। उसको मन नपोलेको हैन तर पनि केही कुराको पर्बाह नगरी घरको गरिबी सम्झेर पैसा जोड्न र जोगाउन तिर लाग्यो। त्यसै बीच चिठ्ठी र खाम भित्र राखेर पठाइने सुर्ती पनि खान छोड्यो। सुर्ती र खैनीको ठूलै व्यापार थियो त्यहाँ। पर ताबुक शहरमा काम गर्नेहरु सँग त्यहाँ जानु अगाडि सम्पर्क गरेको थियो सुर्तीको लागि। अब त्यो पनि महँगो भयो। राम्रै भयो त्यही बहानामा उसले सुर्ती खान छोड्यो।

लगातार तापक्रमको उतारचढाब र धूलोले बिस्तारै बिरामी पर्ने थाल्यो बज्र नारायण। जतिसुकै मुख छोपेर बसे पनि धूलो मुखमा पस्थ्यो नै। तर जे होस उसको भेडीगोठ मालिक भने असल थिए। ऊँटको मासु र दूध खान भने जत्ति पनि पाइन्थ्यो। त्यसो गरीकन जेनतेन अर्को तीन वर्ष मरुभूमिमा बाख्रा र उँटको पछि लागेरनै चानचुन दुई लाख कमायो। केही समय पछि बज्र नारायण तातो, चिसो र धूलोले बेस्करी, बिरामी पर्‍यो र काम गर्न सकेन। मालिकले बिरामी भएको देखेर केही बाटो खर्च दिएर घर पठाई दिएका थिए। जे जस्तो भए पनि उ घरमा फर्किँदा सबै खुसी थिए। श्रीमती बुढा बाबु र छोरी सबैले सन्तोषको सास फेरेका थिए।

केही सानोतिनो व्यापार गरेर गाउँमै बस्ने र भैँसी पाल्ने बिचार बुन्दै थियो बज्र नारायण। भोलिपल्ट बिहानै उठेर खेल्न माथि गाउँ तिर हिँडेकी ८ वर्षकी छोरी बेलुका अबेर सम्म घर फर्किन। छोरीको सबै तिर खोजी भयो, कतै भेटिएन। बेलुका ९ बजे मोबाईलमा घष्टी बज्यो। “दुई लाख रुपैयाँ लिएर आइज, छोरी लिएर जा”

»»  पुरै पढ्नुहोस

Tuesday, November 29, 2011

फूलको आँखामा काँडै संसार..

के युद्ध रचना गर्ने ईश्वर हुन्छ? ईश्वरत्व प्राप्त गर्न बुद्ध बन्नु पर्छ र? के यस्तै भन्दै आएको छ हाम्रो शास्त्रले? हैन भने महाभारतको युद्ध भगवान कृष्णले चाहेको भए रोकिन सक्थ्यो हैन र? ज्ञानी र बुद्धिमानी अर्जुनलाई नै गीता सुनाएर एउटा असल मान्छेलाई युद्दको लागि प्रेरणा दिए उनले। संसारको सबै भन्दा बढी मानव क्षति भएको युद्द थियो त्यो। भनिन्छ आणविक हतियारहरूको प्रयोग समेत भएका थिए त्यस बेला। संसारमा सबै भन्दा पहिले गीताको ज्ञान लिने अर्जुनलाई बुद्ध कहिलै पनि भनिएन। ज्ञानी हुदैमा बुद्धत्व प्राप्त हुँदैन भन्ने यो एउटा उदाहरण हो। लडेर, मारेर र हत्या गरेर मान्छे बुद्ध हुँदैन भन्ने यो भन्दा राम्रो उदाहरण के होला? कर्म नै हो भन्ने नाममा करोडौँ मान्छेको हत्या गर्न लागाउने मान्छे ईश्वर मानेका छौं हामीले। जुवा र तासको खेलमा आफ्नी श्रीमतीलाई समेत दाउमा राख्ने जुवाडेलाई ईश्वर मान्छौ हामी। वास्तवमा हामीले ईश्वरीय लिलाको नाममा गरिएका सबै नराम्रा र दुष्कर्महरूलाई हाँसेरै स्वीकार गर्छौ, चर्चा गर्छौ र त्यसको महिमा गाउँछौं। अर्काकी श्रीमतीको सतीत्व लुट्न जानेहरुलाई ईश्वरको लीला भनेर पूजा गर्ने हामी, एकाध दुई जनालाई दुःख दिने दानवहरूको बिनासको लिलालाई स्वीकार गर्दैनौ । श्रीमानको गल्तीको लागि उनको श्रीमतीको सतीत्व लुट्नु पर्ने बाध्यताको बीच, उनीमाथी के गुज्रन्छ कसैले सोचेनौँ। न ईश्वरले न हामी ईश्वर मान्ने मान्छेहरूले उनको पीडा, उनले जीवनभरि गरेको घर्म नष्ट गर्न ईश्वरनै तम्सेर जाँदा समेत त्यसलाई कथा वा सत्य प्राप्तिको मार्ग भनेर युगौँ सम्म सुन्दै र सुनाउँदै आयौं। ईश्वरनै आफ्नो भक्तको धर्म नष्ट गर्न तयार हुन्छन् भने के को आशा गरेर हामी फेरि उनैको शरणमा जान्छौ? ईश्वरनै हौ भने किन अज्ञानी, घमन्डी र दुराचारी दुर्योधनलाई गीता सुनाएनौ? गीता पढ्न खोज्ने, जान्न खोज्ने मान्छे ज्ञानी हुन्छ तापनि किन ज्ञानीका लागि मात्र प्रयोग भयो? अज्ञानीले किन सुन्न पाएन। ज्ञान त अज्ञानीलाई हुनु पर्ने थियो नि । सुनेर पनि युद्द गर्नु नै छ भने किन सुन्नु पर्‍यो? मात्र प्रतिनिधि उपाख्‍यान...

 

यहाँ पनि त फरक छैन, त्यहाँ एक जनाले गीता सुने, ज्ञानी भए अनि ज्ञानी भएको मान्छेले सबै आफ्नालाई त मारे। जो मरे, आफ्नै मरे र आफ्नै परिवार सुन्य बनाएर राज्य गरे। युद्ध पछि कहिलै, युद्धको समीक्षा गरिएन। युद्दको खर्च र लागत कहिलै भनिएन, तैपनि इतिहास भन्यो, महाभारत तयार भयो। स्वयं ईश्वरले आफू मर्नु पर्छ भनेर सोचेनन्। ठूला ठूला दिव्यास्त्रहरूबाट बचेका उनलाई, सानो सिकारीको वाणले मार्यो। आफ्नै परिवार र आफ्नैको लागि मार्न उनी आएका हुन भन्ने कुरा हामीले बिर्सियौं। आफ्नै दुराचारी मामा मार्ने काम बाहेक, छलकपट र बदमासी नै गरेर ईश्वरत्व प्राप्त गरेका उनकै पुजारी हामी पनि आफ्नैको हत्यामा त लागेका छौ, नयाँ ईश्वर बनाउन उल्लिएर नयाँ अर्जुन खोज्दै। भलै पुरानो गीताबाट प्रेरित नभए पनि नयाँ वादहरूको बीचमा गीता मन्थन गरेर भए पनि त हामी आफ्नैलाई मारेकोमा गर्व गर्छौ। महाभारतमा त गीताले एक जना अर्जुन जन्माए, यहाँ त करोडौँ अर्जुनहरू तयार छन् लड्न र मार्न। हामीले महाभारतकै प्रयोग गरेका हौ त? हौ भने हाम्रो वाद के हो, हामी कुन घर्मका हौ? मान्छे मार्ने घर्मकी नमार्ने घर्म? ईश्वरत्व आफ्नाका लागि मात्रै हैन भने, युद्धको अगाडि आफ्नो शरणमा आएका दुर्योधनलाई किन छलकपट गरेर कम शक्ति दिइयो? दुर्योधनलाई मार्न यत्रो युद्द रचेर, छलकपट गरेर किन यत्रो मान्छेहरूको हत्या गरियो? के उनी आफैले, एक्लैले गर्न सक्थेनन्? युद्ध गर्ने मान्छे भन्दा युद्ध गराउने मान्छे कातर र डरपोक हुन्छ त्यसो भने? मार्नु र मार भन्नु फरक कुरा हो। जे भने पनि मार्ने काममा द्दढशक्ती चाहिन्छ भने मार भन्न कायरता भए पुग्छ। अनि मृत्युमा रमाउने द्दढशक्ती नभएका कायर नपुंसकहरू संसारमा राज गर्छन् उही घर्म, वाद र सिद्धान्तको नाममा।

 

त्यसैले हो त आदमारा जीवनको मुक्तिको खोजीमा बुद्धको पछि लागेका कृष्णहरू र उनका शिष्य अर्जुनहरू? महाभारत सकिए पछि, आफूलाई नमान्ने र नपुछ्ने सबै मारिए पछिको संन्यासी बन्ने कथा उल्लेख नगरिनु, बुद्धकै पछि लागेरै हो त? दण्डकुण्डबाट मुक्तिको बाटो त हैन? युद्द पछि, टुहुरा भएका, विधवा भएका सबैले घृणा गरेको कथा महाभारत भरि छैन। युद्ध उनीहरूको वणिक्वृत्ति नै हो त? हो भने लगानी, नाफा वा घाटा खै त? वाह!!!! कसैलाई सम्ठनु र कसैको सम्ठ्याउनु नै युद्द हो र? रामजाने... कसै कसैले कृष्ण भईएछ कि भनेर नफूले हुन्छ,। कंस र रावंणको लिला पनि अपरम्पार र कसै कसै भन्दा कम भने छैन...................

 

त्यसैले फूलको आँखामा फूल हुनको लागि आफ्नो चेष्टा र आत्मा पनि फूल जस्तै हुनु पर्छ नि हैन भने  फूलको आँखामा काँडै संसार .... सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Saturday, November 5, 2011

मेरो हटमेलको कुरा

 

“नामको पछाडि @hotmail.com देख्दा निकै अचम्म परेका थियौ”

विगत केही समय यता दुई वटै काखे बिग्रियो। भनेको बेला लेख्‍न सकिएन। लेख्‍न खोज्दा विषय मिल्दैन वा मनबाट फुर्देन। ढिलाइ भयो भन्ने लागकै हो तर पनि लेख्‍ने समय र प्राविधिक गडबढीको बेस्करी निहुँ पाएँ।

 

लेख्‍ने विषय कत्ती धेरै छन्। नेपाली समाचारका पानाहरू र फेसबुकका स्टाटसहरु हेर्ने हो भने सयौं सहमति विमतिहरू, र तर्कहरू छन्। कुन कुन विषयमा लेखुँ र कुन कुन विषयमा आफ्ना मनका कुराहरू पोखुँ त्यो चाहिँ गनेर साध्यै छैन। हरेक बिहान, दिउसो र साँझ नयाँ विषय नपाउने पनि हैन तर पनि चाँजोपाँजो मिल्दैन। चुनावी रौनक बढिरहेको बेला, बेरोजगारी १% घटेको उत्सव मनाउने र चुनावी एजेन्डा बनाउन खोजिरहेको नौलो रौनक त छदै छ। यता नेपाल तिर शान्ति र सेना समायोजनका कुराहरू चर्चामा रहिरहेका छन्। फेसबुक स्टाटसहरु हेर्यो, आजकल कुनै साथीले वा मान्छेले आफैले लेखेको भन्दा कृतिम र अनावश्यक आफै अपलोड हुने राशीफल जस्ता स्टाटसले पाना भरिएको छ। एकाध दुई कविता र विचारहरू ले चित्त बुझाउनु पर्ने भएको छ। मैले अनुभव गरेको छु आजकल मान्छेहरू रमाइलो गरिरहेका छन् उता तिर। रमाइलोको लागि नै त हो यो सबै बखेडाहरू हामी आफैले निम्ताएको। समाचारहरू हेर्न समाचारकै पेजमा जान पर्दैन आजकल। कुनै न कुनै साथीले भए भरका सबै समाचारहरू आफूले मात्र पढेको झै गरेर पाना भरिदिन्छन्। टाउको नभएको मान्छेको फोटोमा ट्याग गरिदिन्छन्, यता मोवाईलमा घण्टी बज्छ अनि घण्टी नै बझिसके पछि के के नै रहेछ भनेर हेर्यो, दिनको सुरुवातै खराव। यस्तै छ साथी यहाँको चलन र हाम्रो दैनिकको सुरुवात। जे भए पनि भैरेले फेसबुक छोडेको छैन ।

 

सुरुवातमा कम्प्युटर सिक्न जाँदा, इन्स्टिच्युटका प्रिन्सिपलले एउटा प्रस्ताव राखेको मलाइ याद छ। “कम्प्युटरमात्र सिक्ने कि हटमेल (ई-मेल हैन है) र इन्टरनेट पनि सिक्ने हो?” त्यस बेला ई-मेल भनेकै हटमेल थियो। इन्टरनेट भर्खरकै प्रवेश गरेको तियो त्यसताका। कृतिपुरको केन्द्रीय पुस्तकालयको ई-मेल दिने गर्थ्यौ हामी बाहिर कसै सँग सम्पर्क गर्नु पर्यो भने। पुस्तकालयका कारिन्दा, जसले त्यो ई-मेल हेर्थ्यो उनलाई रिझाउन अनेकौँ गर्नु पर्दथ्यो। जब हाम्रो नाममा ई-मेल आउथ्यो, उनले त्यसलाई प्रिन्ट गरेर राखिँदिनथें अनि हामी बिहान बेलुका त्यहाँ पस्थ्यौ र आफ्नो ई-मेल लिएर जान्थ्यो। दिनु पर्ने उत्तर हामी घरबाटै लेखेर ल्याउनु पर्थ्यो। उनले आफ्नो समय अनुकूल त्यसलाई टाइप गरेर पढाइदिन्थे। केन्द्रीय पुस्तकालयको त्यो सुविधा हाम्रो लागि निकै राम्रो र सहयोगी रह्यो केही समय पछि कारिन्दाले कृतिपुरकै नयाँबजारको पसलमा कम्प्युटर राखेर त्यो सुविधा दिन लागे। डायलअप इन्टरनेट, निकै बेर कम्प्युटर क्यार-क्यार गरेर कराउथ्यो इन्टरनेटसँग जोडिने बेला। निकै ढिलो चल्ने। मोबाईलको सुविधा थिएन त्यस बेला। मोबाईलको लाइन लीन पचास हजार धरौटी राख्‍नु पर्थ्यो रे। मिनेटको १० रुपैयाँ तिर्नु पर्ने कुरा भर्खरकै बजारमा आएको थियो। तर कृतिपुरमै आफ्नो डेरा नजिकै इन्टरनेटबाट विदेशमा ई-मेल गर्ने सुविधा हामीलाई दिने साथीको त्यो सेवा निकै राम्रो रहयो। एउटा ई मेल आएको र बुझेको तीन रुपैयाँ र गरेको पाँच रुपैयाँ दिनु पर्थ्यो।

 

एक दिन मेरो एक जना गुरु जापानमा डाक्टर डिग्री गर्दै हुनु हुन्थ्यो। मेरो पढाईको सिलसिलामा उहाँसँग सम्पर्क गरेको थिए। मेरो ई-मेलको जबाफ आउँदा एउटा कुराले म र मेरो साथी विज्ञान आचार्य( हाल जापान) तीन छक्क पर्यौ। हामीले ई-मेल पढ्यौ तर उहाको ई-मेल ठेगानले चाहिँ हामी अचम्मित बनायो। उहाको ई-मेल ठेगानामा चाहिँ उहाकै नामको पछाडि @hotmail.com रहेछ। हामीलाई लागेको थियो जापानमा जाने सबैले त आफ्नो व्यक्तिगत र आफ्नै नाम भएको hotmail पाउदो रहेछ। केही समय पछि ति साथीले हामीलाई हाम्रो आफ्नो नाममा hotmail खोलेर आफ्नै ठेगानाबाट ई- मेल गर्न सक्छौ भनेर सुनाए पछि खुसीको सीमानै थिएन। हाम्रो ई-मेल उनै साथीले खोली दिन्थे र उनी कसरी यो सब गरिरहेका छन् भनेर हामी ट्वाल्ल परेर हेर्यो मात्र।

 

एक वर्षको बीचमा, आफ्नै डेराको वरिपरि थुप्रै इन्टरनेट साईबरहरु खुले। त्यसपछि nepalnews.com को च्याट बक्समा च्याट गर्न जान्ने भए पछि चाहिँ बेलुकाको समय काट्न गाह्रो भएन। साईबरमै कहयौ प्रेम पनि बस्यो र छुट्यो हिसाब किताबै रहेन। पछि yahoo को ई-मेल र yahoo chat box मा विदेशी नयाँ साथीहरू सँग पनि च्याट हुन थाले पछि र झन् के कुरा। मोज नै मोज। तर भाग्यले मेरा विदेशी साथीहरू राम्रा परेका छन् दुई तीन जना साथीहरूसँग अझै पनि गफ हुन्छ। हामी सबै बिहे गरेर घरजममा लागेका छौं तर पनि हाम्रो मित्रता कायमै छ। पारिवारि मित्रको रूपमा केही साथीहरूसँग नाता गाँस्दा त्यस बेला yahoo को च्याट बक्समा बिताएको समय खेर गए जस्तो लाग्दैन।

 

समयले कोल्टो फेरको हैन। वास्तवमा प्रविधिले फड्को मारेको हो। हामी समयलाई प्रविधिको छलाङ्ग मार्ने तरिकालाई समयसँग तुलना गर्न जानेका छौ। मेरो आफ्नै hotmail, जब आफैले खोल्न र चलाउन सिकेँ त्यसपछि चाही निकै सजिलो भयो बाहिर सम्पर्क गर्न। मास्टर डिग्री गर्ने ताका एक जना जापानी प्रोफेसरसँग ( काजुवो मासुदा) सम्पर्क गर्ने मौका मिलेको थियो। मेरो डिग्रीको थेसिसमा उहाको निकै ठूलो योगदान रहयो र त्यस बीच उहाँ र मेरो बीचमा निकै राम्रो सम्पर्क भइनै रह्‍यो त्यही हटमेलबाट। उहाँको हरेको नेपाल भ्रमणमा म सँगै र साथमै हुन्थे। बीचमा मेरो पहिलो जापान भ्रमणको (सन २००४) बेला टोक्योमा भेटेर उहाँ सँग २,३ दिन सँगै बिताउने मौका मिलेको थियो। एक दिन टोक्योमै नेपाली रेस्टुरेन्टमा खाना खान जाँदा त्यहाँ आएका अरू जापानी प्रोफेसरहरूसँग परिचय भयो। ठेगाना लिने र दिने क्रममा मैले आफ्नो नाम, ठेगाना र ई-मेल ठेगाना दिँदै गर्दा त्यहाँ रहेका कुनै पनि प्रोफेसरको hotmail ठेगाना दखिन। यसै बीचमा प्रोफेसर मासुदाले आफ्ना साथीहरू र प्रोफेसरलाई भनेका थिए “उनको बिजनेश ई-मेल छैन, हटोमेल(जापानी लबजमै) प्रयोग गर्छन्”। साँचो अर्थमा मलाइ बिजनेश ई-मेल के हो थाह थिएन। म यो विकाशक्रमका सुरुवातका समयहरू भोग्दा र हेर्दा, प्रविधिको हरेक फड्कोमा अचम्मित भएको छु। अजकल नयाँ पुस्ता प्रविधिमै पौडी खेलेर जन्मन्छन्।

 

प्रविधिले हामी निकै पछि थियौ तर आज हामी सञ्चार प्रविधिमा निकै अगाडि नभए पनि कम चाहिँ छैनौँ। सामाजिक संजालमा हाम्रो उपस्थितिले पनि प्रविधिसँग समानान्तर कदम राख्‍न सहयोग गरिरहेको छ र आज हामी कहयौ कुरामा पनि अगाडि छौ। नयाँ पुस्ता निकै अगाडि बढेको छ। आजकल कम्प्युटर, इन्टरनेट, ई-मेलमात्र हैन, इन्स्टिच्युटहरूमा फेसबुक चलाउन सिक्नेहरुको पनि राम्रै लाइन छन्। तर यो अझै पनि पुरानै पुस्ताका अवशेष मात्र हुन्, नयाँ पुस्ता त आजकल जन्मँदै........ सबैलाई चेतना भया..

»»  पुरै पढ्नुहोस

Friday, August 19, 2011

ब्लग खोल्नु र ब्लग लेख्‍नु फरक कुरा हो।

एक जना नयाँ ब्लगर फेसबुकमा झ्यास्स देखिएँ। नयाँ ब्लग तर पुरानो पोस्ट लिएर। १ बर्ष अगाडि कतै अन्तनै पढेको त्यो लेख फेरि देखियो। फेसबुकको भित्तामा पटक पटक पोस्ट गर्दै कमेन्ट खेती गर्दै थिए उनी। मैले उनको ब्लग पछ्याएँ। ब्लग राम्रो छ। नयाँ भएकोले बढी खरानीको गन्ध त नौलो भएन। ४-५ वटा लेखहरू पोस्ट गरेका रहेछन्। सबै लेखहरू एकै दिनमा त्यो पनि ब्लग खुलेकै दिनमा पोस्ट गरेका रहेछन्। उनको शीर्षकलाई गुगल गरे। एउटा विदेशी ब्लगरको सबै लेखहरू जस्ताको तस्तै कपी र पेस्ट। त्यी विदेशी ब्लगरले नेपालको राम्रो व्याख्या गरेका रहेछन्। अन्नपूर्ण बेस क्याम्प जस्ता दर्शनिय स्थलहरूको स्मरण र त्यो स्मरणसँग पाश्चात्य देशका पर्वत श्रृणलाहरु सँगको तुलना पनि उस्तै सारेर ब्लगको सुरुवात गरेका रहेछन्।

 

ब्लग खोल्नु र ब्लग लेख्‍नु फरक कुरा हो। ब्लग खोल्न सजिलो छ आजकल। अनेकौँ निःशुल्क दाताहरू अनेक सुविधाका साथ तयार छन् ब्लगरलाई स्थान दिनको लागि। जब ब्लग खोल्न सिकिन्छ, खोलिन्छ र प्रकाशित गरिन्छ तब निकै खुसी लाग्छ तर जब प्रकाशित ब्लगमा कुनै लेख वा पोस्ट हुँदैन तव ब्लगरले आफूले भर्खर खोलेको ब्लगरलाई निर्जीव पाउँछ। सजीवता दिनै र सजीवतलको अनुभव गर्न, ब्लग खोल्न मात्र सिकिरहेको बेला कुनै पोस्ट आफैले लेखेर तत्काललै हाल्न सक्दैन, अनि त सुरु हुन्छ पहिलो चोरीको पोस्ट। वास्तवमा चोर्नु उसको मनसाय हैन। मात्र तयारी लेखहरू ब्लगमा राखेर हेर्न खोज्दा खोज्दै चोरिन्छ। आफूलाई कति चाहिने हो त्यति मात्र राखेर ब्लगको पहिलो पोस्ट तयार हुन्छ। मैले अरूको लेख राखेको छु है भनेर बिर्सिन्छ र आफूले बनाएको ब्लगको नयाँ रुप हेरेर नै मक्ख हुन्छ। ब्लगको पहिलो जन्मदिन त्यहीबाट सुरु हुन्छ र नयाँ ब्लगरले जन्म लिन्छ।

 

जीवनको क्रम-विकाश जस्तै ब्लगको क्रम-विकाशमा अरू ब्लगरले राखेका पुर्जाहरू र तडकभडकको नक्कल र अनेकौ लिकहरू सँगै बिस्तारै ब्लगले आफ्नो उन्नति गर्दछ। झिलिमिली, पुराना पंजाबी ट्रक वा रक्सौलका टेम्पो जस्तो, सिन्दूर पोते, ऐना सबै झुन्डाएर लाखे नाच देखाउन लागेझै सजावट गरिन्छ र यसरी खोलेकै ब्लगलाई आफ्ना साथीहरूको माझमा पुराउनका लागि सामाजिक सञ्जालहरूको मद्दत लिने गरिन्छ।

 

तर आफ्नो ब्लग खोलेर, त्यसलाई प्रकाशित गरेर, फेसबुक वा अन्य सामाजिक सञ्जालहरूमा राख्‍न हतार गरिहाल्नु भन्दा पनि पहिले, त्यसलाई अनेकौँ तवरले बिचार गरेर वा आफूले चिनेका जानेका कोही साथी वा ब्लगरसगँ सल्लाह लिएर कमजोरीहरू लाई पहिचान गर्न जरुरी हुन्छ।

 

गुगलमा सामान्य तवरले खोज्यो भने मात्र पनि हजारौं नेपाली ब्लगहरु देखिन्छन्। स्यामेले ब्लग खोलेको छ म रामेले किन नखोल्ने भनेर मात्र ब्लग खोल्दा वा चलाउनु भन्दा पनि पहिले आफूले लक्ष गरेका पाठकहरु कस्ता छन्, आफूले नियमित तवरले पाठकहरूलाई दिन सक्ने कुरा के हो र आफूले कुन क्षेत्रमा लेख्दा, पाठकहरू सधैँ आफूलाई पछ्याई रहन्छन् भन्ने कुरा पहिचान गर्न जरुरी छ। आफूले देखेका र पढेका सबै ब्लगहरुको जस्तै सामग्रीहरू आफ्नै ब्लगमा राख्छु र दिन्छु भन्दा कहिले काहिँ आफ्नो क्षमता भन्दा बाहिरका सामाग्री नियमित दिन पर्ने हुदा लेखक अरूका सामाग्रीहरू चोर्न वा सार्न पुग्छन्।

 

ब्लग सुरु गर्नु भन्दा पहिले के कुरा बुझ्न जरुरी छ भने, ब्लगको जगतमा त्यस मितिमा सबै भन्दा कान्छो ब्लगर आफै हो। आफू भन्दा अगाडिका ब्लगहरु, ब्लग चलाउँदा आई पर्ने प्राविधिक वा बौद्धिक संकटहरु सँग गुज्री सकेका छन् र आफूसँग त्यस्तो अनुभव अहिले छैन भन्ने कुरा स्वीकार गर्न जरुरी छ।

 

केही औँलामा गन्न सकिने, घमन्डी र आफूलाई नै सबै भन्दा जानकार ठान्ने अर्ध-व्यावसायिक ब्लगरहरु बाहेक नेपाली ब्लगर जगतमा सबै ब्लगर साथीहरू सार्है सहयोगी र असल भएको मेरो अनुभव छ। आफूले जानेका कुराहरू प्रस्टसँग सिकाउने र सहयोग गर्ने नेपाली ब्लगर जगतको एउटा राम्रो पाटो हो। त्यसैले नयाँ ब्लग खोल्ने साथीहरूले ब्लगर सर्कलमा सामेल भएर आफ्ना कुराहरू राख्दा निकै फाइदा नै हुन्छ।

 

ब्लगमा लेख्नु मात्र ब्लगर बन्नु हैन। बिद्धान हुदैमा मात्र ब्लग लेख्‍न सकिन्छ भन्ने हैन र लेख्‍न जान्नाले मात्रा ब्लग चल्दैन। यसमा अनेकौँ प्राविधिक कुराहरू छन्। जो सामान्य छन् तर पनि त्यसमा भएका साना भन्दा साना कुराले हप्तौ खर्च गर्ने पर्ने हुन्छ। त्यसैले सबै भन्दा पहिले सर सल्लाह र सहयोग लिएर अगाडि जाँदा राम्रो हुन्छ र यसो गर्दा सामान्य रूपमा आफ्ना पाठकहरू पनि बढ्छन् र अर्को एउटा बौद्धिक सर्कलसगँ सँगत गर्न पुगिन्छ।

 

सबै कुरा हतार गरेर, अरूका सामाग्री राखेर बल्ल लेख्दा कुनै न कुनै दिन पक्कै पनि पत्ता लाग्छ नै। एक पटक कतैबाट ब्लगमा आई पुगे पनि फेरि पछ्याएर त्यही चोरीकै लेख पढ्न प्राय कोही आउँदैनन्। अझ परिपक्व नभईकन सामाजिक सञ्जालमा आउँदा त झनै नराम्रो छाप पर्न सक्छ। यस्ता सामाजिक सञ्जालमा नाम कहलिएका पुराना ब्लगर जसले प्राय नाम चलेका र राम्रा लेखहरू लेख्ने ब्लगरहरुलाई पछ्याउँदै उनीहरूका लेख पढेर पोख्त भएका हुन्छन् र जब उनीहरूको आँखामा यस्ता सामाग्रीहरू पुग्छन् तब लौ है मैले यो लेख कतै पढेको छु भनेर त्यसको खोजी हुन्छ। सुरुवातको समयमा कुन लेखक कत्तीको प्रख्यात छ भन्ने सामान्य ज्ञान पनि नहुदा नाम चलेकै त्यस्ता लेखकहरूलाई मेरो लेख पढ्नुस है भनेर उनीहरूकै लेख पठाएको पनि पाइएको छ त्यसैले होसियार हुन जरुरी छ।

 

आफ्नै मौलिक लेख लेख्दा हुने गरेका गल्तीहरू सबैका लागि स्वागत योग्य र सामान्य हुन्छ। आफ्नो मनमा आएका कुराहरू लेख्‍न कसैले छेक्दैन। तार्किक होस वा नहोस्, मीठो होस वा नहोस, सबैसगँ आफ्नो बिचार मिल्नु पर्छ भन्ने छैन। सबै लेखकहरू तपाइका पाठक हुनै पर्छ भन्ने जरुरी पनि छैन। उदाहरणको रूपमा, एउटा गजलको ब्लग लेखकले अधिकतम गजलकै ब्लगहरु पछ्याइरहेको हुन्छ। कथा लेख्‍ने ब्लगरले कथाका ब्लगरहरुलाई बढी पछ्याएको हुन्छ। त्यसैले आफ्नो बिचार वा ज्ञान सबैका लागि पाच्य हुन्छ भन्नु वा ठान्नु यहाँ नेर निकै ठूलो गल्ती हुन पनि सक्छ। आफ्नो मौलिकतालाई लगातार नियमित रूपमा प्रस्तुत गर्नु र आफ्ना कुराहरूलाई आफ्ना पाठकहरूको बीचमा खुल्लारुपमा राख्‍नु नै मौलिक ब्लग लेखन गर्नु हो.....सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Wednesday, July 20, 2011

चेतना शून्यमा जानु योग हो वा मृत्यु?

कहिले कहीँ मृत्यु रुन्छ र अनायासमै चुप लागेर सुत्छ। जसरी एउटा अबोध बालक रुदारुँदै थाकेर, निदाएको थाहै हुँदैन त्यसैगरी मृत्यु रुदारुदै अनायासमै सुतिदिन्छ। मृत्युको सुताई सँगै समयले लामो सास फेर्छ र बीच बाटोमै आफ्ना सूचकहरूलाई रोकिदिन्छ। परिभाषा र व्याख्या अनि आख्यानहरूमा समय काल हो भने काल मृत्यु। बुझ्ने हो भने जीवनको गतिरोध सँगै निश्चित परिस्थितिमा मृत्यु सँगै सबै समय रोकिनु नौलो हैन । किनकी जब काल वा समय रोकिन्छ तब मृत्यु भएको मान्नु पर्छ। मृत्यु सँगै जब समय रोकिन्छ तब सबै शून्यमा अन्त्य हुन्छ। शून्य के हो? शून्यताको यो जबाफलाई के सँग जोड्ने? काल वा मृत्यु सँग? हाम्रो मनस्थितिमा आईरहने कालको अनुहार कालो नै हो त् ? मृत्यु सँगै गुमेको चेतनाले के अनुभव गर्ला ? के चेतना बिहिन शरीरले मृत्यु पछि कालो रँग वा प्रकाश बिहिन अनुभव गर्ने भएरनै हो त काल कालो हुन्छ भनिएको वा कालो रँग अशुभ भएरै काल भनिएको हो वा मृत्यु अथवा काल अशुभ भएर काल भनिएको हो, एकिन गर्न गाह्रो छ।

चेतना शून्यमा जानु योग हो वा मृत्यु? कतै मृत्यु पनि योग त हैन? मृत्यु योग हो भने जीवन के हो त? के जीवन पनि योग हो? कि भोग सँगै अन्त्यमा सबैले मृत्यु योगको अनुभव गर्न पर्ने हो? भौतिक रूपमा जीवनको त्यो कालखण्डको परिभाषा दिन वा गर्न के गाह्रो नै हो त? गाह्रो भएर वा सोचाई र चेतना भन्दा परको कुरा भएरै हो त मान्छे त्यो भोगाई (भोग) सँगै सांसारिकतामा अल्झिएको? हुन सक्छ परिभाषाहरू जन्मजात, मानव संरचनासँगै जोडिएर नआएको भएर पनि सबैलाई चेतना नभएकै होला। ज्ञान र बौद्धिकताको अभाव भनौं भने पनि के सबै विद्वानहरू यो चेतना सँग जोडिन सकेका छन् त? हामीलाई क्षणिक भान्त्रि भित्र बाच्ने संकारको अनुभव छ। हामी भ्रममा बाचेका पनि हुन सक्छौ। किन कि जीवन बाच्नुसँग परिभाषाहरूलाई जोडेर हेर्दा, एउटा चराचर जगतको परिवेश कृष्णको मुख भित्र छ भन्ने कथामै भुलेका पनि हुन सक्छौं। कसैले सोचेको होला, लोक पछिको भोग, लोककै कर्ममा भर पर्छ। तर अरू पनि त छन् लोकनै अन्त्य हो र लोकको भोग लोककै लागि हो भन्नेहरू। हामी भौतिकवादीहरूको उदाहरणमा यसलाई समेट्न खोज्छौ आफू आध्यात्मिक बनेको सम्झिएर। लोक पछिको भोग वा भोग पछिको मृत्युलोक, काललोक वा यथास्थिति लोक सबै आफ्नै परिभाषामा बाच्नेहरुको घुईचो निकै लामो हुँदै गएको छ। सबै कुरालाई एउटा निश्चित परिधि भित्र समेट्न खोजेर हो वा बाच्ने इच्छाले त्यसै परिधिलाई नाघ्न खोजेर हो थाह भएन तर परलोकको यात्राको केही समय अगाडि सम्म पनि यसै लोकको माया गरिरहेको हुन्छ। तयारी सुरु भई सक्यो, बिदाइ लागी वरिपरि सबै छन् तर पनि कुरा लिने र दिनेको मात्र। शुभ यात्रा हो बा अशुभ यात्रा, जानेर वा नजानेर, चाहेर वा नचाहेर सबै यसको तयारी गरिरहेका हुन्छन्। सबै सांसारिकता भित्रका चीज, बस्तु वा परिवेशले सानो भन्दा सानो निहुँ खोजिरहेको हुन्छ यात्राको तयारी गर्न तर पनि अन्तिममा र निन्तान्तै अन्तिम पलमा पनि यसै लोकको कुरामा मान्छे अल्झिन्छ। अर्ति उपदेश र कहिले पनि नसुझेको ज्ञानको बोध भएर आउँछ। मृत्युको अगाडि मूर्ख पनि विद्वान् बन्छ। प्रेमिका अगाडि कवि बन्न नसक्ने पनि, आफ्नो र अर्काको भन्ने बोधमा जीवन चलाउन नजान्नेहरु पनि, अरूलाई पीडा दिएर कुम्लाउने पेशामा लागेको भए पनि, त्यस बेला विद्वान् र दार्शनिक बनेको भान हुन्छ। यात्रा कस्तो हुने हो वा कति लामो हुने हो भन्ने कुराको एकिन छैन, लेखा जोखा छैन तर पनि यही लोकको पीर र चेतनाले सबैलाई त्यो ज्ञान अनुभव हुन्छ।

 Death-Creative-Lifeभोगाई जस्तो सुकै होस, मृत्यु सँगै त्यो यात्रा चलिरहँदा, चेतनाको आधारभूत दुई पाटाहरू वा खण्डहरूको अनुभव भएको हुनु पर्छ। चेतनाको एउटा खण्डमा भर्खरै भोगेको, अनुभव गरेको, उज्यालो जसको प्रस्ट चित्र मानस पटलमा छ भने अर्को खण्ड पुरै अँध्यारो छ। स्वाभाविक रूपमा मृत्यु पक्षको चेतना खण्डको बारेमा बोल्न, लेख्न, सुन्न र अनुभव गर्न गाह्रो मात्र है असम्भव प्राय हुने गर्छ। अनेकौँ कथा र पुराणहरूका कथासँग जोडेर हेर्न खोज्दो हो सायद। त्यसै कालो* चेतनाको खण्डहरहरूमा पुराणका पात्रहरूलाई खोज्ने प्रयास गर्दो हो। जीवन बाच्दा, र बाच्ने बन्दा बन्दै, मान्छे अनुभवी बन्दै गयो अनि अनुभव गर्नु अनुभवी बन्नु हो भने उ सबै थोक बन्यो। तर चेतनाको यो कालखण्डबाट त्यो कालखण्ड सम्मको सानो, केही न्यानो सेकेन्ड बा फेम्टो सेकेन्ड दूरी पनि बिना अनुभव हाम फाल्ने अनुभव बाँड्न सक्दैन। कुनै अदृश्य शक्तिले एकै साथ त्यो न्यून सेकेन्डको अन्तरालमा पार गराउने हो वा आफै नजानिदो तवरले पार हुने हो कसैलाई थाह छैन्। त्यसैले मान्छेलाई ईश्वर यहाँ नेर बोध हुन्छ वा खोज्न सक्छ्। कुनै शक्तिको सहयोगले त्यो दूरी पार गर्ने हो भने, साथमा कोही छ (ईश्वर) भनेर मान्नै पर्दछ अन्यथा यो पनि जीवननै रहेछ भनेर सोचिनु पर्छ। जसरी जीवन स्वतः चलिरहेको छ, त्यसै गरि यो यात्राको खुड्किलो पनि जीवनसँगै स्वतः भएको हुनु पर्दछ। अन्यथा यो न्यून सेकेन्डको समय अन्तराल मात्र लाग्छ आँखामा कालो पट्टी बाँधेर ठूलो भीरबाट खस्दै छ, झ्वाट्ट वा एकसाथ सबै चेतनालाई शून्यमा बाँधेर.. सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Sunday, June 12, 2011

उद्‍बोध हुन बाँकी नै छ।। एउटा प्रतिनिधि कथा प्रसङ्ग मात्र

 

कुरा हिजोको; उनी सानैमा पोइल गईन। पोइलनै जान सक्ने र निर्णय गर्न सक्ने त्यस अवस्थामा सानो भनेर भन्न र सुझाउन पनि गाह्रो कुरा हो। सानो भनेर स्कूलको अन्तिम परीक्षा सकेर कुन क्याम्पस पढ्ने हो भन्ने बारेमा निकै चर्चा चलिरहेको बेला थियो त्यो। राम्रै बिचार्थी थिइन उनी र स्कूलको त्यो परीक्षा पास नगर्ने भन्ने कुरै भएन। कक्षा १० को सुरुवातमा आफ्नो बाबुको सरुवा सँगै आएकी उनलाई पहिलो पटक देख्दा नै मन पराएको थिए । तर त्यस बेला पढ्ने उमेर र मेहनत गर्ने उमेर भनेर घरका सबैले भन्दा भन्दै मेरो मानसिकता पनि त्यस्तै भएको थियो। एक बर्ष सम्म पनि मैले केही भन्न सकिन। लेखेका कत्ती चिठ्ठीहरू त्यसै भालिदिन्थे। अमर प्रेम गर्छु भन्ने लागेर हो कि खै.. त्यस बेला उनलाई सुनाउने आटै भएन मनका कुरा।

 

स्कूलको परीक्षा दिएर हामी भविष्यको योजना बनाउँदै थियौँ। कुन कलेज पढ्ने, कुन विषय पढ्ने र कसरी आफूलाई सक्षम नागरिक बनाउने दौडमा निकै योजनाहरू बनाउदै थियौ। कानुन पेसा भएकोले मेरो बुबा मलाई कानुनकै विषय लिएर पढे हुन्थ्यो भन्ने चाहनु हुन्थ्यो। परीक्षा दिएर बसेरको बेला बुबाको पछि लागेर भए पनि अड्डा अदालत जाने गर्थे । त्यसै बखत पहिलो पटक एउटा अश मुद्दाको फैसला सारेर पाँच सय कमाएको थिए। त्यस बेला पाँच सय रुपैयाँ निकै ठूलो हुन्थ्यो। कसरी र के के मा खर्च भयो मैले याद गरिन र मैले कमाएको पहिलो पैसा भएर पनि होला, त्यो रुपैयाँमा कसैको खोजीनिती भएन। नत्र धेरै पैसा खर्च गर्न प्राय राम्रो नमानिने अवस्थामा पक्कै पनि परिवारबाट खोजी हुने गर्थो। मलाई केही पेजको मुद्दाको फैसला नक्कल गरे बापत सजिलै सँग झगडियाले दिएको पाँच सय रुपैयाँले, जीवन बाच्न गाह्रो छ भन्ने कुरा गलतनै हो भन्ने लागेको थियो अर्थात् जीवन चलाउन गाह्रो रहेन छ भन्ने पनि लागेको थियो । थोरै मेहनतबाट पनि पैसा त आउँदो रहेछ जस्तो लागेको थियो। म परिपक्व थिइन वा मैले जीवनको परिभाषालाई राम्रो सँग बुझेको थिइन र नै होला मैले सानो परिधिमा जीवनलाई सहज बनाउन खोजेँ र त्यस्तै सोचेँ।

 

कानुनको विषय पढ्न मन थिएन, मैले घरमा म विज्ञान पढ्छु भने र कसैले पनि मेरो इच्छालाई अस्वीकृत गरेनन्। म रिजल्ट सँगै नयाँ जीवन र जीवन सहज बनाउने अनेकौँ आशाहरूको बीचमा पहिलो दौड सुरु गरे। मेरो कलेज जाने तयारी हुँदै गर्दा, लगाउने कपडा, केही सामल र केही पैसा जोडजाड गर्दै गर्दा बजारमा बेस्करी हल्ला मच्चियो, उनी पोइल गईछन्। उनी पोइल जानु एक हप्ता पहिले मैले बाटोमा उनलाई भेटेको पनि थिए। भनिदिउ जस्तो पनि लागेको थियो मलाई एक मनले तर भन्नै सकिन। साधारण कुरा गरेर बिदा हुने बेला मैले उनलाई कलेज भर्नाको बारेमा सोधेको थिए। उनी खिस्स हाँसिन् केही बोल्न खोजे जस्तो भए पनि बाहिर निस्केन उनको आवाज। त्यसै बिदा भएर हिँडेका थियौ हामी। राम्री छ है मोरी.. मेरो मनले यस्तै कल्पियो र आफ्नो बाटो लागेँ।

 

मलाई त्यो खबरले निकै दुःखित बनायो। उनी मेरी हुन सकिनन् वा मैले बनाउन सकिन भन्ने विषय भन्दा पनि पढेर सुन्दर भविष्यको बारेमा सोच्न पर्ने बेला किन यसरी हतार गरेकी होली भन्ने लाग्यो। जीवन लामो छ र यसरी कुनै अर्थमा जीवनलाई पाखा लगाउनु राम्रो हैन भन्ने मलाई लाग्यो र उनको निर्णय गलत रहयो भन्ने लागेको थियो। हेर्दा सहज र राम्रो हुँदा हुँदै पनि मान्छेले बाच्नका लागि कत्ती दु: ख गर्नु पर्छ, र एउटा नजानीदो सुखको आभासकै लागि मान्छेले कत्ती दुख सहनु पर्छ। मैले यस्तै सोच्थे अर्थात् म पूर्णरुपमा जीवनको त्यो दर्शनको लागि तयार थिए वा बनाइएको थिए।

 

निकै लामो समय पछि जीवन भर अनेकौँ दुख र कष्टका साथ यहाँ सम्म आई पुग्दा समेत त्यसका केही अंशले अझै छोडेको छैन। आवश्यकता र अभावले कतै छोडेको छैन। जीवनको यही परिभाषामा म अव्यस्त हुँदै छु।

 

कुरा आजको; बिदाको समय सुरु भयो, केटाकेटीको स्कूल र आफ्नो कामबाट पनि फुर्सद मिलाएर परिवार सँगै काठमान्डूबाट घर जाने तयारी गर्दै गर्दा दिवा बसको दुईवटा सीटको टिकटमा हामी चारजना कोचलिएर जाने निर्णय र योजना बन्यो। बिदाको समय सबै घर जाने लाइन र भनेको समयमा बसको टिकट पनि पाउन गाह्रो भएकोले बल्ल बल्ल बसको अन्तिम छेउको दुईवटा टिकट मिलाएर घर फर्किए। भोलि जाने तयारी भयो, मेरी बुढी सामल र सामान दुवै पोको पार्न थालिन। म घडीमा आलरम लगाउन तिर लागे।

 

गर्मी पनि बेस्करी छ। बसको गन्धले बस चढे बाटै वाक वाक गर्न थालेका केटाकेटीहरूलाई बान्ता रोक्ने औषधीले पनि काम गरेन भन्ने लागिरहेको थियो। अगाडिको सीट भाँचिएकोले हामीलाई उकुसमुकुस भइरहेको थियो तर पनि चुपचाप बस चलिरह्यो र हामी पनि गुड्दै रह्यौ। ड्राइभर साहेबले चिनेको ठाउँमा खाना खाएर बसमा पुन चडियो र हामी अगाडी बढ्यौ। केही समय पछि बस रोकियो, ड्राइभर साहेबले बस अगाडी जान नसक्ने कुरा सुनाए। बसको इन्जिन तातेर धुवा निस्किएको थियो र जाओस् पनि कसरी? बीच बाटोमा हामी रोकियौ। सबै झोला र पोकोपन्तरो झारेर बाटोको कलभटमा बस्यौ र अब अर्को बसमा जानु को विकल्प थिएन। कन्डक्टरले पैसा फिर्ता गर्यौ। ड्राइभर सगँ कोही कराउँदै थिए बीच बाटोमा ल्याएर यसरी अलपत्र पार्न मिल्छ ? भन्दै। म केही बोलिन र बोल्न पनि आवश्यक ठानिन। बस बिग्रियो त के गरोस् ड्राइभरले पनि।

 

गरिबी, आवश्यकता र अभावको जीवन बाच्न अव्यस्त हामीलाई यस्ता साधारण दुखका घटनाले खाँसै असर गर्दैन। नत्र धेरै पैसा कमाएर, चिल्लो गाडीमा छोरा छोरी र श्रीमतीलाई राखेर बिदामा बिदा मनाउन घर जाने रहर कसलाई हुँदैन र? मलाइ पनि पक्कै छ। जीवन बाच्न खोज्छु भन्दा भन्दै, पेटकै लागि बाच्नु पर्ने भएको पीडा म मा पनि छ। सार्है कठिन अनुशासन र निकै लामो योजनाले बनाएको मेरो यो जीवन र यो स्थितिमा आफैलाई कुनै पछुतो छैन भनेर भन्न बाध्य छु।

 

यो गर्मीमा लामो समय बस्न सकिँदैन थियो। खचाखच भरिएर आएका बसहरूमा एक्लै हुनेहरू कोचिएर भए पनि आ-आफ्नो बाटो लागिरहेका थिए। केटाकेटी सँग बसमा सीट नभईकन जान नमिल्ने हुँदा १०-१५ वटा बस वा ट्रकहरू छुटिसकेको थियो। हामी केही मान्छे मात्र बाकी थियौ अब। केही त उपाय होला नि भन्दै बस आउने बाटो तिर हेर्दै थियौ।

 

अगाडी एउटा सेतो कार आएर रोकियो। लौ है म पोखरा सम्म जाने हो, कोही जानु हुन्छ भने भन्नुस् तपाईहरूको गाडी बिग्रिए जस्तो छ भनेर सुन्ना साथ मैले गुहारे। वरिपरिका मान्छेले पनि मलाइ नै कारमा चढ्ने सल्लाह दिए। अनुमति लिएर हामी पनि चढ्यौ। कस्तो सितलको कार भित्र। गाडीको गन्धै छैन। हामी पछाडिको सिटमा बस्यौ र हाम्रो सामानहरू पछाडि राखियो। साथमा सानी छोरीको थाङ्नो राखेको झोला सहित म, मेरी श्रीमती र दुईजना छोरीहरू थियौ। कार चलाउने मान्छे निकै भद्र रहेछन् र नै हामीलाई सहयोग गरे। मेरो मनले उनलाई निकै धन्यवाद दिइरहेको थियो। मेरा केटाकेटीहरूको अनुहारमा मन्द मुस्कान देखेँ मैले। सोचेँ सायद सबैलाई आराम भयो अब। गाडी चलाएका त्यी भद्र मान्छे बीच बाटोमा केही पनि बोलेनन्। मात्र गाडी चलाईरहेँ। गाडीको अगाडी दाहिने सीटमा चाहिँ एक जना आईमाई सुतिरहेकी थिइन्। हामी कारमा चढे पछि उनी एक पटक चले जस्तो लागेको थियो। त्यस बीचमा पोखरा आई पुग्दा समेत निदाई मात्र रहिन्। पछाडि भएकोले मैले उनको अनुहार प्रस्ट देखिन । पोखरा आई पुग्दा त्यी भद्र मान्छेले उनलाई उठाए। “उठ पोखरा आयो”, अनि तपाईहरू पनि यही झर्नु पर्ला हाम्रो  घर यही हो र हामी  यो भन्दा अगाडि जाँदैनौ। हामी कारबाट झर्यौ, सामान झार्यौ र त्यी भद्र मान्छेलाई धन्यवाद दिन उनको झ्यालमा टाउको निहुराएँ। धन्यवाद दिदै गर्दा, मैले पहिलो पटक छेउमा बस्ने आईमाईको अनुहार देखेँ.. उनी अझै निदाएकी नै थिइन।

 

मलाइ उनीनै हुन भनेर ठम्याउन गाह्रो भएन तर बोलाउन सकिन। बोलेर र परिचय गरेर के भन्ने ? मनमा अनेकौँ कुराहरू आइरहेका थिए। हेर्दा हेर्दै कार पर पुग्यो। यदि उनी उनीनै हुन् र सफल सुखमय जीवन यसरी बाचेकी हुन् भने, जीवनको यो परिभाषामा कसको निर्णय गलत र कसको सही ठम्याउन मुस्किल हुने छ। बाँकी मैले उनलाई बुझ्न सकिन भने, दु:ख सबैको जीवनमा हुदाहुदै यथास्थितिमा म दुखी जीवन बाचेँ जस्तो हुने छु। फगत मेरो आफ्नै रोजाई र भोगाइको जीवन शैली गलत र असफल नै हुने छ वा ठहरिने छ। भीत जीवन भीम भएर जाने हो कि भन्ने पीर मनमा रहिरहने छ अनि मन र आत्माको रवले सधै धिकार्ने छ। सबै भएर पनि छिन्नमस्तक शरीर जस्तो, सापे वा बिकलाङ्ग जीवन बाच्ने नयाँ  शैली भोग्नु र रोज्नु पर्नै छ।

 

भोलिका कुरा; मेरो अनुशासन र योजनाको जीवन गलत नहोस् र उनी पनि सधैँ सुखी रहिरहुन्। सबैले निर्णय आफ्नो अनुरूप गर्ने र आफैले भोग्ने कुरानै हो। यथार्थ कुरा मानव शरीर क्षणभङ्गुर छ तर पनि आशा स्थायी छ। जीवन त्यस्तै आशा र सपनाले नै चलिरहेको छ। भोलि यथास्थितिको यो जीवनलाई नयाँ मोडमा कर्काउन सकिन्छ वा सकिँदैन उद्‍बोध हुन बाँकी नै छ।।। सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Saturday, May 21, 2011

बिधार्थीलाई फेलनै गर्न हुँदैन....

परीक्षा चल्दै गर्दा, हाइड्रोजन ग्याँस बनाउनु पर्ने प्रयोगमा मेरो कक्षामा एक जनाको हात glass tube ले काट्यो र परीक्षा दिनै नसक्ने गरि बाहिर गएको बिधार्थीको सबै भन्दा बढी नम्बर आयो।

 

परीक्षा चल्दै थियो, जुन प्रयोग पनि गर्न नसक्ने भए पछि, परीक्षकले परीक्षा हलबाट बाहिर निकालिदिए। आफूसँग टिउसन पढेको नाममा त्यही कलेजको मास्टरको दबाबमा पुन परीक्षा दिन लगाइयो। सबै भन्दा रमाइलो त रिजल्ट आएर नम्बर हेर्दा पो थियो. छक्क परियो।

 

परीक्षा चलिरहेको थियो प्राक्टिकलको। ल्बाबमा परिक्षा दिनेहरुको बीचमा मैले बनाएको डेरिभेटिभ कक्षा भरि नमुनाको रुपमा देखाईयो र मलाइ हौसाला दिईयो। सबैले मेरो प्रसंसा गरे। त्यती जेहनदार हैन तर कमजोर बिधार्थी म थिइन मेरो ब्याजमा। बुबा बिरामी भएर केही दिन सैद्धान्तिक कक्षामा उपस्थित हुन नसकेको कारण बीच, त्यसै समयको हाजिर पुस्तिका हेरेरै नम्बर दिईएछ। मैले शिक्षकलाई पछि सोधेको थिए र मैले यो उत्तर उहाकै मुखबाट सुनेको थिए।

 

“मेरो Theory कक्षामा तिमी केही दिन उपस्थित रहेनछौ त्यसै भएर तिम्रो राम्रो नम्बर आएन।“ थेउरी र प्राक्टिकल परीक्षा फरक कुरा हो। जसको आ-आफ्नै प्रक्रिया छन् र समय पनि फरक हुने गर्छ। उनै Theory परीक्षामा अझै सम्मको सबै भन्दा बढी नम्बर ल्याउने भित्र परे तर उही Theory कक्षामा ३ दिन उपस्थित हुन नसक्दा र राम्रो गर्दा गर्दै पनि कम नम्बर ल्याएर आज सम्म पनि त्यसको असर भोगिरहेको छु। तर ठीक छ, जो मूल्याङ्कन गरियो त्यसैले बाच्न र काम गर्न पुगेको छ। कुनै गुनासो छैन। म बाट पनि गल्ती भएकै होला तर मूल्याङ्कनको नियत ठीक हैन भन्ने मेरो धारणा मात्र हो। यी प्रतिनिधि उदाहरण जो हामीले सगै र सधैँ भोग्दै आएको कुरा हुन्। आफ्नै अगाडि, आफ्नै आँखाको अगाडि यस्तो हुन्छ भने लेखेर दिएको उत्तर पुस्तिका कहाँ गयो, कसले हेर्यो र कसरी मेरो मूल्याङ्कन भयो भन्ने जान्न पाउनु बिधार्थीको अधिकार हो भन्ने कुरामा मेरो सहमत छ।

 

फेरि नयाँ समाचार सगै, सबै विद्धानहरुले यो टीयूको जटिल प्रक्रिया हो भनेर आफू बच्न र टार्न खोजेको देखेर कता कता खतरा देख्दै छु। बर्ष भरी खर्च गरेर गाउँबाट काठमान्डू झरेर पेसेवर भएर पढेको बिधार्थीको नम्बर ०१ आए पछि कति मन दुख्यो; अनुमान लगाउन सकिन्छ। जुन दिन बिधार्थीहरु कक्षामा कुनै कारणले आएनन् भने, त्यही दिन पठाएको प्रश्न निकालेर दु:ख दिने। Theory को कक्षामा उपस्थित हाजिर पुस्तिका हेरेर, प्राक्टिकल परीक्षाको नम्बर निर्धारित गर्ने मैले पनि देखेको छु। आफूसगँ टिउसन पढ्नेलाई बढी नम्बर दिने, राम्री केटी देखे बढी नम्बर दिने जस्तो काम तल्लो तह देखिनै जो कोहीले पनि भोगेका हुन्। गोलमाल र मनोमानी, माथि देखि तल सम्म पृथक् पृथकरुपमा जारी छ। कुनै हद सम्म त मान्छेको व्यक्तिगत बानी र स्वभावले गर्दा पनि कलेज तह सम्म दुख पाएका छन् बिधार्थीहरुले। त्यसैले बिधार्थीहरुको परीक्षाको नतिजा आए पछि कलेज कलेजमा पठाउने मार्क सिट सहित उत्तरपुस्तिकाको प्रतिलिपि पनि सँगै पठाउनु पर्छ। बिधार्थीहरुको चरम चाप र हुन सक्ने आक्रमणलाई चाहिँ नजर अन्दाज गर्न सकिँदैन त्यसैले तत्काल नयाँ व्यवस्था गर्न जरुरी छ ।

 

यो सबै बीच, बिधार्थीहरुको नपढ्ने, नम्बरमात्र खोज्ने र पढ्ने समय भर राजनैतिक कार्यकर्ता भएर काम गर्ने काम चाहिँ TU का शिक्षक र TU आफैले केही गर्न नसक्ने कुरा हो। राजनीतिकै लागी बर्षौ एउटै तहमा बसेर कोटा ओगटेर बस्ने नेताहरूको पनि कमी छैन। सोच्न जरुरी छ।

 

मेरो बिचारमा कुनै पनि बिधार्थीलाई फैलने गर्न हुदैन। सबैलाई उसले गरेको कामको आधारमा ग्रेडिङ् गरेर A, B,C,D… क, ख, ग आदि को आधारमा पास गरिदिनु पर्छ। जो सचेत छ र मेहनत गर्छ उसले राम्रो ग्रेडिङ् लिएर बजारमा जान्छ र राम्रो काम गर्छ। जो अल्छि र राम्रो गर्न सक्दैन उसले नराम्रो ग्रेडिङ् लिएर बजारमा जान्छ। मानौँ मेरो कुनै कम्पनी छ र मलाई “D” ग्रेडिङ् पाएको बिधार्थीले काम चल्छ भने मैले किन “A” पाएको बिधार्थीलाई लिएर बढी लगानी गर्ने? सबै खालका मान्छेको आवश्यकता छ समाजमा र सबै जेहनदार हुँदैनन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन। फेरि मेरो कम्पनीमा “A” मात्र पाएको मान्छेले काम चल्छ र? उसले गरेको मेहनत र कामको आधारमा जीवन बाच्न र चलाउन पाउनु उसको अधिकार हो। यदि “A” भएन भने दुख पाउन सक्छु भन्ने कुरा सबैले बुझ्छन् नै।

 

नयाँ समाचारसँगै बिधार्थीहरुले आफ्नो कपी हेर्न पाउने अदालतको निर्णयले यसको राम्रो सुरुवात गरेको छ। अस्तव्यस्त बीच यो निर्णय कसरी लागू गर्न सकिन्छ वा सकिदैन, केही समय कुरेर बस्नु पर्छ। यो जटिल प्रक्रियामा सबै बिधार्थी र शिक्षकहरूले TU लाई समय सापेक्ष सहयोग पनि गर्न जरुरी छ। किनकी TU हाम्रै विश्वविद्यालय हो, यसको इज्जत हाम्रो इज्जत हो। यसको अ-ब्यबस्थाले हाम्रो डिग्री माथि प्रश्न उठ्ने छ। हामीले आफ्नो विश्वविद्यालयको बेइज्जत हुन दिनु हुँदैन। सबै कुरा मिलाएर जान जरुरी छ र कसैलाई नराम्रो नहोस् चेतना भया..

 

नागरिक न्यूज केशब भाई र सबैलाई मेरो तर्फबाट बधाई र शुभकामना ।

तश्बिर स्रोत: nagriknews.com

»»  पुरै पढ्नुहोस

Sunday, May 8, 2011

४५, ६०, ९७, १०० र ८२ का कुरा ३५ सम्म

हेर्दा हेर्दै आधा जीवन गएछ। जीवनमा पछाडि फर्केर हेर्दा सोच्छु, अहिले म सँग जे छ त्यो सहित मेरो उमेर अहिले २० वर्षको भएको भए सायद जीवन रमाइलो हुन्थ्यो होला। समयले निकै चाँडो कोल्टे फेर्दो रहेछ। हिजो सम्म बढ्दो उमेरकै छु जस्तो लाग्थ्यो, अब घट्दो जस्तो लागेको छ। मेरा बाजे बराजुहरू निकै लामो समय बाँचेको मान्छु म। लगभग सबै जसो नब्बेको हाराहारीमा तर उनैको सन्तान म यस्तो होला भनेर कहिले पनि सोच्न सक्दिन।

 

फेसबुकमा एकजना गुरुले निकै पुराना स्कूले जीवनका फोटोहरू राख्‍नु भा थियो अलिक पहिले। फोटो हेर्दा निकै लुरे-लाङ्ग्रे लाग्यो। मेरो वजन पैँतालीस किलो भन्दा माथि कहिले पनि पुगेन स्कूल जीवन भर। तर स्कूल जीवन भर मलाई आफ्नो वजन कहिले पनि नाप्ने मौकानै मिलेन। यो पैँतालीस किलो भन्दा माथि नपुग्नाको अनुमान पनि मेरो आफ्नै खालको छ। SLC दिएर पाँच सात महिना घरमा केही तालिम लिएर बस्दै गर्दा, मामाले मलाई मोटाएको कुरा सुनाउनु भएको थियो। पढाइले निकै निचोरेको रहेछ बरा भान्जालाई, परीक्षा दिएर बसे पछि त पुष्ट मोटाएछन् भन्नु हुन्थ्यो। रिजल्ट आए पछि पोखरा झर्ने बित्तिकै महेन्द्रपुलको पारी फुटपाथमा राखेको, एक मोहर तिरेर वजन नाप्ने मेसिनमा बस्दा थाह पाए म पैँतालीस केजीको रहेछु। यसरी पुष्ट मोटाएको बेलामा त मेरो वजन पैँतालीस केजी रहेछ भने, स्कूल जीवन भरि कक्षा दश भन्दा नौमा र नौ भन्दा आठमा त पक्कै पनि मोटो थिइन होला। त्यसैले सहजै अनुमान लगाउन सकिने कुरा भो यो ।

 

कलेज सुरु गर्दै गर्दाका कथा अहिले म लेख्दिन बरु, मेरो वजनकै कुरा अझै । स्नातक तहबाटै मेरो वजनले नरोकीकन लगातार बढ्ने काम मात्रै गर्यौ। त्यसको पनि कारण छ। अनुमान लगाउनुस त के होला?

 

साथीहरुले एक दिन निकै मीठो हुन्छ भनेर खसीको हो भन्दै रागाको म:म खुवाईदिए। मलाई थाहै थिएन। म निकै चोखो बाहुन बन्नु पर्ने क्षेत्री, त्यसैले खसीकै होला भनेर निकै मीठो मानेरै खाईयो। त्यस्तै एक दिन साँच्चिकै खसीको मम खाने ठाउँमा साथीहरूले लगेँ। तर मलाई त्यो दिन अगाडि खाएको म:म भन्दा निकै खल्लो लाग्यो।(कुरा बुझ्नु भो नि?) मैले सोधेँ साथीलाई, “हैन हो केटाहो, यो अस्तिको म:म भन्दा निकै खल्लो-खल्लो छ त?” साथीहरू निकै हाँसेँ। मुर्दारहरू क्यार्न हास्या छौ हे? भन्दै थिए, अर्को एक जना साथीले फ्यासै भनिदियो। लौ भो अब... पहिलो पटक जातनै फालिएछ जस्तो लागेको थियो। तर त्यो सोच लामो समय रहेन मनमा। मीठो त छोड्ने कुरै भएन, सबै खाजा र नास्ता भुलेर लागियो दिनको कम्तीमा पनि एक-दुई प्लेट म:म खान। खुब खाइयो म:म। अब म:मको यो कथा सँगै स:म को कुरा चाहिँ नगरुँ क्यार सिधै। कुरा बुझ्नुस है..। अब म:म र स:म दुवै सुरु भए पछि वजनले त्यस बेला देखिनै ६० नाघिसकेको थियो।

 

घरबाट आउने तलब त थिदै थियो, बाँकी यसो टिउसन पढाएर आउने रकमले निकै मोज गरियो त्यो समय ताका। मान्छे जाँच्ने डाक्टर बन्ने झोक सबै एउटीको नाममा सेती नदीमै फालेर मान्छे नजाँच्ने डाक्टर बन्ने झोक पनि त्यसै बेला चल्यो। सत्य!! सत्य!! त्यो चाहीँ म:म र स:मको झोक चाहिँ हैन है। डाक्टर भन्दा अरूसँग बिहेनै नगर्ने केही साथीहरूको ताल देखेर, पढ्ने मौका पाउँदा पाउँदै पनि पढिएन। भित्री कुरा हो, खुस्स भने है यहाँ नेर...यो भन्दा बढी भेटेकै बेलामा भनुँला...

 

डिग्री पढ्दा पढ्दै त मेरो वजनले नब्बे काट्यो। टुप्पी कसेर पढ्यो, कहीँ हिड्नु छैन, दौडनु छैन, कलेजमा क्लास लिएर आए पछि घरमा अनि सिधैँ हुनेगरी खायो, फुस्स मोटायो। यो मोटाउने क्रम बढ्दै गर्दा, बिदेशमा पढाई गर्दाको समयको बीचमा सन्तानब्बे पुग्यो। डाक्टरले निकै झपार्यो। जापानी डाक्टरले नै झपार्ने भने पछि के हालत होला। मैले भने, सेन्सेई सन्तानब्बे त पुग्यो अब सय पुगेर झर्छु हुन्न? मेरो घरमा फोन गरेर कुरा लगाई दिन्छु भनेर ठट्टा गर्दै थिए डाक्टर साहेव।

 

जे होला होला, एउटा धोको पनि पुरा हुन्छ भनेर मैले कुरै सुनिन। एकाध महिना पछि ठ्याक्ककै सय पुगियो। सय पुगेको उपलक्ष्यमा फेरि केही केजी थपियो बेलुका। सय पुगेको थाह भएकै बेलामा कलेजको मेडिकल जाँच गर्ने बेला आयो। एक हप्ता पछि रिपोर्ट बुझ्न जाँदा त डाक्टर साहेब रागाको जत्रो गर्धन बनाएर बसेका। रिपोर्टको कुरा त केही रहेनछ, निकै खुसी लाग्यो। जाँच गर्नु पहिले गरिने साधारण नाप तौलको विषयलाई लिएर सय केजी वजन देखेर पो रहेछ त उनी फुलेका। निकै लामो लैक्चर सुनियो त्यसपाली। सबै कुरा थाह भएकै हो, वास्तवमा कसलाई थाह हुँदैन र? यो त मेरो योजना थियो। बेलुका घरमा आए पछि भने त्यसै साँझ देखी दौडियो र खाने कुरामा निकै मेहनत गरियो। लगभग ३-४ महिनाको अन्तराल पछि ८२ केजीमा झरेँ। निकै मेहनत गरेँ। त्यसै बीचमा केही समय बिदामा घर जाने भाको, सबैले कस्तो दुब्लाएछ बरै भन्दै .. ओहो अब के चाहियो? हसुर्न सम्म हसुरियो त्यस पछि के भो भन्दिन है.. यसरी ४५, ६०, ९७, १००  र ८२ का कुराहरु सकियो। यो सबै गर्न र भोग्न ३५ बर्ष लागेछ। एउटा कथा आफ्नै,।। बीचका मापनहरुभने मैले त्यती ख्याल गरिन त्यसैले लेखिन है ।

 

यस मानेमा मेरो जीवनशैली अहिले सम्म अनुशासित रहेन तर योजनाबद्ध भने रहयो। एक प्रकारले हेल्चक्राई गरेर बाँचेको जीवन। तरकारी किन्न भनेर जाने, आउने बेलामा थैलो भरी मासु र मासुका परिकार बोकेर फर्कने शैली निकै लामो समय चल्यो। मासु र तेल भन्दा खानु केही छैन। दूध दहीको त कुरै नगरुँ। खाए पनि सबै रसायन मिसाएको भन्दा केही पाईने र खाईने हैन। यस्तो जीवन शैलीमा बाच्ने र बाच्न बाध्य हामीले अब यो भन्दा बढी के नै हुने छ र? त्यस माथि मानसिक दबाबको त कुरै भएन। तनाव र बाध्यताको जीवन शैलीमा हुर्केर बढेका हामीले अबको बाकी समय कसरी जिउने भन्ने सोच्नु पर्ने छ।

 

मोज मस्ती गर्ने एउटा समय र उमेर हुन्छ जीवनको। यसै बीचमा उमेर सँगै गरिने र भोगिने जीवन-लिलाको मोज र आनन्द सांसारिक जीवनको एउटा महत्वपुर्ण पाटो हो। जीवन योजनाबद्ध हुँदा रमाइलो हुन्छ सायद। अहिले सम्म योजनामा चलेको छु, बाकी जीवन अर्कै रूपमा अझै योजनाबद्ध र अनुशासित भएर बाच्नु छ। अहिले सम्म कामले र दामले मामका लागि दबाब दिएको छ र यसरी दबाब र दौडधूपले कमाएको मामले कुनै पनि बेला शरीरका अँग र त्यसको संगतमा रहेको रोगलाई उत्प्रेरकमय दबाब दिन थाल्यो भने, सायद निकै गाह्रो हुन्छ धान्न र थाम्न... चेतना भया

»»  पुरै पढ्नुहोस

Monday, April 11, 2011

NO SHIRT, NO SHOES, NO SERVICE

आज केही तस्विरहरू राख्‍न मन लाग्यो। बाँकी सबै फोटोकै क्याप्सनबाट..

यो तस्विर साँझ सूर्य अस्त भई सकेर लिंकन शहर जाग्नै लागेको बेलाको हो। मेरो अफिसको झ्यालबाट( नवौ तला)लिएको तस्विरमा देखिएको सूर्यको भान दिने त्यो चम्किलो बिन्दु वास्तवमा अगाडिको झ्यालको सिसामा टल्किएको क्यामेराको फ्यास् मात्र हो।

 

IMG_0096

 

सुविधा दिन व्यस्त शहरका मान्छेहरू वा व्यापारीहरू कहिलेकाहीँ कुनै न कुनै कुराबाट दिक्क हुँदा हुन्। एउटा प्रेट्रोल पम्पको अगाडि ढोकामा यस्तो लेखिएको रहेछ। ( NO SHIRT, NO SHOES, NO SERVICE) मैले क्यामेराले फोटो खिच्दै थिए, भित्रबाट कोही कराउँदै आयो: “यहाँ फोटो खिच्न पाईदैन”। मैले वरिपरि हेरेँ तर त्यस्तो साइनबोर्ड मैले कतै देखिन। केही समय फोटो मेटाउ भनेर निकै झर्कियो साहूँजी। जे होस नियमित ग्राहक भएकै कारण फुत्किए... कत्ति साह्रो डर छ यहाँ मान्छेहरुलाई....

 

IMG_0334

 

प्रयोगशालामा जोख्‍ने र नाप्ने काम निकै हुन्छ। पल पलमा हरेक कुराको नाप तौल लिनु पर्ने कुरा साधारण नै हो। यो सानो बोतलको नाप लिदै थिए, राम्रो संयोग परेछ 4,5,6,7,8 को। सयौको सख्यामा प्याकेटमा आउने यो साइजको सानो बोतलको तौल प्राय ४ ग्राम हुन्छ तर बाकीँ पछाडिका कुनै पनि अंकहरु यसरी कुनै तवरले मिल्नु गजबकै संयोगै होला...

 

IMG_0338

 

आज भर्खर बजार गएर तिर घर फर्कदै थिए। हरियो बत्तीमा अगाडिबाट आइरहेको गाडीहरूलाई जान दिएर, देब्रे मोडिनु पर्ने थियो। मैले यो अगाडिको सूर्यको प्रकाशले गर्दा केही पनि देख्न सकिन। न रातो बत्ति देखिन्छ न त हरियो नै। अब अगाडि बढ्नु भनेको खतरा मोल्नु बाहेकको केही पनि ठानिन र गाडीको फ्यास्‍लाईट बालेर बसिरहेँ। त्यही बीचमा मोवाइलले एउटा फोटो लिईहालेँ। पहिले त पछाडिको गाडीले हर्न बजाउँदै थियो तर मेरो आपत्कालिन बत्ती पछि उसको हर्न पनि रोकियो। करिव १० मिनेट पछाडि प्रहरीको सहायताले बाटो पार लगाईयो। यो घटना मेरो लागी नौलो अनुभव हुन पुग्यो।

 

IMG_0353

 

गत केही महिना अगाडि नेपालमा थिए। काठ्मान्डौको आन्तरिक विमान स्थलमा, अनेकौँ सुविधा र सेवा दिने गफ गर्दै राम्रा राम्रा तस्विर सहितको साइनबोर्ड तल राखिएको नेपाल टेलिकमको टेलिफोनमा त तारनै रहेनछ। हाँसो पनि लाग्यो तर आउँदै गरेको पर्यटन वर्षलाई सम्झेर दिक्क पनि...

 IMG_0234

 

लौ है म आईपुगे भनेर खबर गरौ क्या हो भनेर फोन खोज्दै थिए, अन्तरराष्ट्रिय विमान स्थलमा चाहिँ त फोन नै रहेन छ। तर यो ठाउँबाट हटाएर अर्को भित्तामा चाहिँ फोन सेट राखेको रहेछ नेपाल टेलिकमले खुसी लाग्यो......

 

IMG_0231

 

म सँग अरू सुन्दर फोटोहरू पनि छन् है.. लौ हेर्नुस -३० डिग्रीको लामो जाडो पछि, न्यानो घाम पाउँदै गर्दा यो पनि मज्जाले हाँसेको छ।

 

IMG_0349 

मैले काम गर्ने कलेजको बगैचामा फुल्दै गरेको यो... न्यानो, घमाइलो शान्त र वातावरण भए, हामी पनि फुल्ने थियौ की हाम्रै माटोमा.... चेतना भया..

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला