यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, May 15, 2012

बुद्ध जन्मेर मात्र शान्ति र सगरमाथा हुँदैमा हामी ठूला हुँदैनौ

आज भन्दा १५० बर्ष पहिले जातीय राज्य बनाउन सम्भावना थियो तर त्यसो गरिएन। यदी त्यस बेला जातीय राज्य बनाएको भए, जातीय राज्यबाट वाक्क भएर अहिलेको आन्दोलन जातीय राज्य विरुद्ध छेडिने थियो होला। किनकी हामी हाम्रा सामाजिक सार, एकता र संरचनालाई भत्काउनु नै आन्दोलन वा क्रान्ति भनिरहेका छौ। भइरहेको र चलिरहेको संरचना भत्काएर समाजमा परिवर्तन हुँदैन। समाजको संरचना भत्काउन सजिलो छ तर बनाउन एउटा युग कुर्नु पर्छ। सामाजिक संरचना भत्काएर नयाँ बनाउने नाममा हामीले धेरै युद्धहरू, विवादहरू र आन्दोलनहरू बेहोर्दै आयौं । त्यी युद्धहरू, विवादहरू र आन्दोलनहरू आबस्यक थियो वा थिएन त्यो छुट्टै बहसको विषय बन्ला कुनै बेला तर त्यो बीचमा हामी भित्र निहित सामाजिक चेतनामा ठूलो र अनौठो परिवर्तन भने आएको छ। यो दौरान र समयहरूमा, यीनै कामसँगै त्यसले निम्ताउन सक्ने सामाजिक खलबल र बिरक्ताको बारेमा कहिलै बहस र छलफल भएन। त्यसैले आज हामी एउटा निन्तान्त अराजक स्थितिमा आएर उभिएका छौ।

 

यति खेर हामी हाम्रो गरिबीसँग जुटेर लड्नु पर्थ्यो। हाम्रो खेत र फाँटहरूमा कुलो र कुलेसो बनाउने श्रमका लागी जुट्नु पर्थ्यो। हामी राज्य संरचनाको आन्दोलन गरिरहेका छौ। देशलाई विभिन्न भागमा विभाजनको राजनीतिमा अल्झिएका छौ। कुनै पनि देशको विकासको लागि प्रशासनिक ईकाईहरुको खाँचो पर्दछ। पहिले विकास क्षेत्र, अञ्चल, जिल्ला र गाविसहरू थिए, अहिले प्रदेश, क्षेत्र र अन्य केही बनाउने तयारीमा छौं। त्यो नबनाइ पनि हुँदैन त्यसैले संधियता नबनीकन छोड्दैन र बन्न पनि पर्छ तर हामीले एकता बनाउने नाममा मान्छे र मन विभाजन गरेर पक्कै हुदैन। अनेकौँ सिमानाहरू बनाउ, हिँड्न, व्यवहार गर्न, राज गर्न, कानुनी व्यवस्था कायम गर्न कसरी सजिलो हुन्छ त्यसैगरी प्रशासनिक ईकाईहरु (प्रान्तहरू) बनाउ त्यसले देशलाई राम्रै हुन्छ केही फरक पर्दैन। तर मन र समाज बाँड्ने प्रयास नगर। हामी विदेशमा छौं तर हाम्रो मन नेपालमै छ, हामीलाई भूगोलले छेकेको छैन नेपाली हुन। विदेशमा हुँदा कहिलै बाहुन, क्षेत्री, दमाई, कामी नहुने हामी देशमै किन यसरी विभाजित भइरहेका छौं? पसलहरूमा नेपाली बोलेको मान्छे देख्यो भने मेरी ८ बर्षकी छोरीले तपाई नेपाली हो भनेर सोध्छे न कि कामी दमाई, बाहुन वा मगर भनेर। हिजो बाहुन क्षेत्रीले वा हुने खानेले राज्य गरे अब हाम्रो पालो भनेर पालो पर्खिएर देश चल्दैन। आजका बाहुन क्षेत्रीहरू कालान्तरमा फेरि जनजातिमा परिवर्तन भएर अर्को संरचनाको मागको लागि आन्दोलन गर्ने नपरोस्।

 

त्यो जमाना थियो जहाँ मान्छे शिक्षित थिएनन्।, चेतनाको तह ज्यादै न्यून थियो। देश-विदेश मान्छेले बुझेका थिएनन्। त्यसैले सयौं बर्ष हामी जातीय आधारमा, घर्मको आधारमा थिचो मिचो सहेर, लादेर बाच्न अभ्यस्त भयौ। तर हामीले चलाएका अनेकौँ आन्दोलनहरूले र बर्तमनमा भइरहेको खुल्ला विश्व चेतनाको प्रभावले गर्दा हामी बुझ्ने भएका छौ। हामीले अहिले राम्रो के हो र नराम्रो के हो भनेर ठम्याउन सक्ने चेतना पाएका छौ तर जान्ने भए, बुझ्ने भए भनेर फेरि एकले अर्कालाई थिचोमिचोको राजनीति गर्न हुँदैन। सबै मिलेर बस्नु पर्छ र सबैले मिलेर हाम्रो चेतना, सामाजिक संरचना र देशमा परिवर्तनको अनुभूति बाँड्नु पदर्छ।

 

हामी सपना बाँड्ने चटकेहरुको चटक हेरिरहेका छौं र त्यसैमा मख्‍ख छौ। चटकेको इसारामा बाँदरले हात हल्लाएको, बाँदरले सुतेको र नाचेको सामान्य नाटक हेर्दै यीनै चटकेहरुको विश्वास गर्यौ र यो भन्दा ठूलो जादुगर, चटके र मनोरञ्जन दिने माध्यम अरू केही र कोही छैन भनेर बस्यौ। हामी आज पनि यीनै चटकेहरुको भूलभूलैयामा रमाइरहेका र यीनैलाई  पच्छाइरहेका छौं।

 

हाम्रा नेताहरू बा प्रतिनिधिहरू हाम्रै समाज सापेक्ष हुन्छन्। हाम्रो समाजको माग, त्यसको इच्छा, संवेदनशीलता, बिचार र परिवेशमा प्रहार नगर्ने मान्छे नेता हुदैन। आम समाजका संरचनाहरूमा दख्खल राखेर, त्यसको संरचना भन्दा माथि उठेर, हामीलाई र त्यही संरचनामा नै प्रहार गर्ने सक्ने मान्छेहरूलाई हामी नेता भन्छौ। नजानेर पनि जानेको नाटक गर्ने चटके भन्दा फरक हैनन् यी नेताहरु। हाम्रै समाजले, हामीले र हाम्रै बीचमा एउटा पेसाको लागि उभिएको मान्छे, जमात वा पक्ष भन्दा केही हैनन् उनीहरू। हामीलाई यो सबै थाह छ तर पनि हामी यीनै चटकेको भूलभूलैयामा मस्त छौं। उसैको इसारामा समाज बिगार्न, बिथोल्न र फुट गराएर र भुटेर उसैको बाटो सहज बनाइरहेका छौं।

 

दश रुपैयाँ देउ म तिमीलाई आशीर्वाद दिन्छु। म तिमीलाई एउटा पत्थर दिने छु, त्यसको प्रभावले तिम्रो कल्याण हुन्छ अनि तिमी आजको एक महिना भित्र करोडौँको मालिक बन्छौ र तिमीलाई राम्री श्रीमती वा लोग्ने मिल्ने छ, तिम्रो विदेश यात्रा हुने छ भनेर घर घरमा आउने जोगी साधुहरूको कुरामा मन्त्रमुग्ध भएर उसैको कुरा सुनेर खुरुक्ककै पैसा दिन्छौ। हामीले भुलेका छौ, यो सबै दिने क्षमता भएको भए र एकै महिनामा करोडपति, राम्री श्रीमतीको पति, भूपति हुने भए महाशय आफै सबैका पति हुने थिए। किन जोगी भएर हिँड्नु पर्थ्यो । तर पनि हामीले गुरु मानेकै छौं, पुजेकै छौं उनीहरूलाई। यसरी राम्रा सपना बाँड्ने नेताहरू हामीमा मात्रै हैन, स्वास्थ्य बिमाको नाममा अमेरिकाले बाँडिएको सपना, जापानी प्रधान मन्त्रीले अमेरिकी सेनालाई जापानबाट हटाउँछु बा अन्तै सार्छु भन्ने सपना, सामाजिक संरचनामा यस्तै आमूल परिवर्तनको लागि लडेर गरिबी हटाउँछु भनेर क्युवामा बाँडिएको सपना, कोरिया प्राय-दिपमा दशकौ देखि बाँडिएको सपना नेताहरुको एउटा पेसा पर्यन्त मात्र हुन्। नेताहरूको पेसा हो सपना बाँड्ने, फुट गरेर आफूले राज गर्ने। असल नेताले चमत्कारीक तवरले विकास गर्ने हैन। असल नेताले मात्र बाटो र योजना दिने हो। हामी किन बुझिरहेका छैनौ हाम्रो समाज हामीले परिवर्तन गर्ने हो। हाम्रो घरबाट सुरु गर्ने हो परिवर्तन। हामीले हाम्रो शान्तिको लागि तयार रेडिमेट बुद्ध खोजेर हिँडिरहेका छौं। बुद्ध आफैले, तिमी आफै बुद्ध बन्ने प्रयास गर अन्त बुद्ध खोजेर नहिँड भनेको कुरालाई कसैले सम्झिएकै छैन। हामी अल्छी भएर सबै अरुलेनै वा रेडिमेट बुद्धले हामीलाई तथास्तु भनिदियोस भन्ने सोचेर बसेका छौं। यहाँ त बुद्ध आफै आफ्नो प्रचारमा हिँडेका छन्, उनलाई मानिदिउन् भनेर गाउँ गाउँ डुलिरहेका छन्। आफ्नै कल्याण र आफ्नै उन्नति खोजेर भौँतारिए हिँडिरहेका बुद्धको पछि लागेर हामी आफूमा निहित बुद्धत्वलाई किन बुझिरहेका छैनौ।

 

हामीले परिवर्तनलाई अनेकौँ रूपमा हेरेका छौं, प्रयोग गरेका छौं। राजनैतिक रूपमा हामीले २००७ साल देखि अहिले सम्ममा निकै प्रयास गरेका छौ। राजनीतिलाई आफ्नो सापेक्ष व्याख्या गर्ने र सपना बाँड्ने नेताहरूको पछि उनले तथास्तु गरिदेलान् भनेर बाचिरहेका छौ नि त। हामी परिवर्तन भयौँ भने, हाम्रो समाज राम्रो र सुन्दर भयो भने यी नेताहरूले सपना बाँड्न छोड्ने छन् किन कि जब जनताहरू सपनामा विश्वास गर्दैनन् तव नेताहरूले पनि सपना बाँड्न छाड्ने छन्। राजनीतिलाई हेर्ने हो भने उत्तर कोरिया र चीन स्बतन्त्र देश हुन् कि हैनन्? स्वन्त्रताको नाममा त्यहाँ पार्टीहरू खोल्न पाइन्छ कि पाइँदैन? देशको राज्यको विरुद्धमा बोल्न पाइन्छ कि पाइँदैन? उत्तर कोरिया राजतन्त्र भएको देश हो की हैन? त्रिभुवन पछि महेन्द्र र उनी पछि विरेन्द्रकै शैली, किम् परिवारले सत्ता बाँडेर भोग गरेको छ कि छैन? नेताको महत्काक्षाले र आफू राज्यको केन्द्रमा रहन त्यहाँ पनि त नेताहरूले अनेकौँ सपना र भ्रम बाडेका छन्। अमेरिका प्रजातान्त्रिक देश, के यहाँ सबै स्वर्ग जस्तो छ र? सबै भन्दा बढी बिकसित भनिएको यहा पनि नेताहरूले सपना बाडेका छैनन् र? इराकमा जैविक र आणविक हतियार छ भन्ने भ्रममा कति मान्छेको ज्यान गयो? यहाँ १ करोड भन्दा पनि बढी मान्छेहरू जेलमा छन्। विभाजनको खेल गान्धीले भारतमा गरेकी गरेनन् ? राम राज्य कहाँ छ र? जातीय आधारमा आफ्ना कुरा माग्दा र त्यसका लागि लड्दा, इराक, अफगानिस्तान, पाकिस्तान, सुडान जस्ता देशहरूमा करोडौँ मान्छेहरू मरेको यथार्थ किन बिर्सिरहेका छौं हामी ? सबैको पहिचान र अधिकार अनिवार्य छ। सबैले आफ्नो संकार र परम्परालाई लिएर बाच्न र चल्न पाउनु पर्छ। त्यसैले कसैले पहिचान माग्दैमा डराइहाल्ने र पहाडै खस्ने जस्तो डर मान्नु पर्ने स्थिति पनि त छैन। तर पहिचानकै भरमा अरू कसैको पहिचानलाई सम्मान गर्न नसक्नु पनि त गलत हो नि।

 

एकातिर यथास्थिति मनसायले एउटा अराजक रूप लिने लक्षण देखा परिरहेको छ भने अर्को तिर बाँडिएर फुटेर र टुक्राएर राज गर्ने भ्रममा, एक भएको देशलाई फेरि दुई सय बर्ष पुरानै शैलीमा लैजाने तयारीमा जुटिरहेका छौं। आज पनि विभिन्न जाती, धर्म र समुदाय बीच मिलेर बस्ने वातावरण बनाउनु जरुरी छ। हामीले मिलेर नै राज गर्न जरुरी छ। यहाँ त जबरजस्ती अल्पमतले बहुमतलाई पेलेर राज्य गर्ने मनसायले कुरा बिग्रिएको छ। अहिले सम्म बहुमतले अल्पमतलाई पेलेर काम बिग्रिएको नै हो तर अहिले आफूले चाहेको नाम राख्दैमा अधिकार पाइन्छ भन्ने भ्रममा नपरे पनि हुन्छ किनिकी अन्त्यमा मिलेर समाज बनाउनको कुनै विकल्प छैन।

२०४६ सालमा प्रजातन्त्र आए यता हामीले पनि हाम्रो गाउँ ठाउँको चोक, टोल र बाटोहरूको नाम नेता, शहीद र जातिको आधारमा राख्दै आएका छौं, त्यसले केही फरक पर्दैन। देशको विकास र उन्नति गर्नु छ बने सबै मिलेर गर्नु पर्छ। अग्राधिकारको नाममा अझ यसरी बन्ने जातीय राज्यमा त्यही जातीको मात्रै प्रदेश प्रमुख बन्न पाउनु पर्ने जस्ता कुराहरूको माग त झन् लज्जास्पद छ।

आफूले गरेको आन्दोलन सत्य र अरूले गरेको आन्दोलन भ्रम पुर्ण र असत्य भन्ने पनि हुन्छ? आन्दोलन एक जनाले गरेर हुने कुरा हैन भन्ने बुझेर पनि सबैलाई र सबै आन्दोलनलाई सम्मान गर्न नजान्नू पनि त दुःख लाग्ने कुरा हो। त्यसैले नपुग्ने र पुरै हुन नसक्ने सपना बाँड्ने भँडुवाहरूको कुरा सुनेर हैन, अब हामी सबै मिलेर जाउँ। हामी आफैलाई नेता र नेताहरूले बाँड्ने गरेको सपनाहरूको पिछलग्गू बनाएर हैन, नेपाली भएर सोच्ने बानी बसालौ। अगुवाहरूलाई समाजले निर्देशित गर्ने बनाउन सकियो भने हाम्रो एकता बलियो हुने छ। यसको मतलब समाजमा नेता वा अगुवाहरू नचाहिने भन्ने हैन। वर्तमान विश्व परिपेक्षमा नेताहरू र अगुवाहरू नभईकन पनि समाज चल्दैन। यो मानव सभ्यताको सुरु देखिन चल्दै आएको सामाजिक संरचना हो। तर पनि असल नेता र असल अगुवाहरू चिन्ने, छान्ने काम हाम्रै हो।

 

हामीले हाम्रै शैलीमा देशमा परिवर्तन गर्न जरुरी छ न कि पर मुलुक को वाद वा सिद्धान्तका लागि मरेर। हरेक जातिले गर्ने काम र उसको सीपलाई व्यावसायिक गर्न सकियो भने त्यो उसको राम्रो पेसा हुने छ र उ त्यसैमा खुसी हुने पनि छ। कपडा सिउने दमाई दमाईलाई शहरमा सुट सिउने मौका दिइयो भने, उ त्यसमा जति खुसी र आत्मसन्तुष्ट अरू कुनै कुरामा हुदैन। पहाडी ढिस्कोबाट मोटो बोकेर ल्याएर तामाको थाली र गाग्रो बनाउन सक्ने कामी दाईलाई रसायन शास्त्रको मेटोलोर्जीको परंपरागत ज्ञान छ। कुनै पनि धातु उधोगमा उ जस्तो व्यावसायिक रसायनशास्त्री अरू कुनै नहोला। जापानको चामलको रक्सी (साक्य) विश्व प्रख्यात छ। हाम्री गुरुङ्सेनी भाउजूले गन्धकै भरमा बनिरहेको रक्सी कति शुद्ध छ त्यसै थाह पाउँछिन्। उनले जानेको सीप डिस्टिलरी उघोगमा कम मूल्यवान् छैन। विदेशमा आफ्नो आँगनको घाँस काट्न अरूलाई पैसा दिएर गर्न हुन्छ भने, खेत जोत् दिने, घाँस काटी दिने र भारी बोकी दिने कम्पनी खोलेर गाउँ गाउँमा मजदुरहरूलाई व्यावसायिक बनाउन सकिन्न र? अरूको घरमा मानोको भरमा हली भएर काम गर्ने शैली परिवर्तन गर्नु छ र जानेको ज्ञानलाई सीप र कामको ब्यवसायिकतामा परिवर्तन गर्नु छ। छालामा कति नुन राख्यो भने ठीक हुन्छ र कुन छालाको कति मूल्य छ मलाई भन्दा मेरो गाउँको सार्की दाजुलाई थाह छ। छाला उधोग र त्यससँग सम्बन्धित व्यवसायमा उनी जत्तिको जान्ने र बुझ्ने अरू हुने छैन। विदेशी भूमिमा फोहर फाल्ने उधोग राम्रोसँग फस्टाएको छ। घर घरका सेप्टी टैकीहरु सफा गर्ने ठूला ठूला विदेशी उधोगहरुमा हाम्रा कत्ती बाहुनका छोराहरू काम गरिरहेका छन्। हामीले हाम्रै परम्परागत रूपमा काम गर्दै आएका च्यामे पोडे जातीहरू त्यो काम गर्न सिपालु छन् भने उनीहरूलाई उक्त काममा व्यावसायिकता दिलाउन किन प्रयास नगर्ने? ठूला र पैसावालले गरे भने व्यवसाय हुने, कम्पनी हुने तर गरिबले गर्यो भने सानो जातीको च्यामे पोडे हुने भन्ने सोच, बिचारको गरिबीपनि भन्दा केही हैन। शारीरिक तन्दुरुस्त रहेका युवाहरू स्वदेशी तथा विदेशी भूमिमा सेनमा काम गरिरहेका छन्, के बिग्रिएको छ त्यसले? काम गैरेकै छन्, आफ्नो परिवार र देशलाई कम फाइदा गराएका छन् र? विदेशी भूमिमा र स्वदेशी भूमिमा काम गरिरहेका वैज्ञानिकहरूलाई अनुसन्धानको वातावरण बनाएर स्वदेश फिर्ता गर्न सक्नु नै वास्तविक राज्य पुनर्सरचना हैन र? तह, जात र यसले निम्ताउने सबै खाले विकृतिहरू अशिक्षाले गर्दा भइरहेका छन्। मेरा कहयौ साथीहरू कुन जातका र घर्मका हुन मलाइ हेक्का नै हुँदैन। हामी जानेका बुझेका भनि टोपलेकाहरुले समाजमा परिवर्तनको लागि १० जनालाई साक्षर बनाउन सक्यौ भने पनि जीवन धन्य हुने थियो र समाज परिवर्तन हुने थियो।

 

हाम्रो समाज सबै जाति धर्म र संकृतीले गर्दा नै पुर्ण समाज बनेर बसेको छ। एकले अर्काको पेसा जानेको छ र बुझेको छ। यिनीहरुले जानेको ज्ञान र सीपलाई व्यावसायिकता र सामाजिक उन्नतिमा प्रयोग गर्न बाकी छ। हाम्रो जस्तो सामाजिक संरचना अमेरिका, युरोप कतै छैन। हाम्रो जस्तो सामाजिक संरचनामा आई पुग्न यिनीहरुले सयौं बर्ष बिताउँदा पनि अझै आउन सकेका छैनन् अनि बन्दुक र कानुनकै भरमा जबरजस्ती संरचनाहरू बनाउने क्रममा लागि परेका छन्। हामीले हाम्रै स्रोत र साधनको उपयोग गरेर यहीको सामाजिक संरचनालाई ब्यवसायिकतामा ढालेर निकै ठूलो क्रान्ति गर्न सक्छौ। त्यसको लागि हामी मिलेर, एकले अर्कालाई सम्मान गरेर र इमानदारीका साथ चल्नु पदर्छ। यसको लागि एउटा ब्यवसायिक क्रान्तिको खाँचो छ र त्यो नै सर्वमान्य र हाम्रो हितमा हुने छ। हाम्रो देश सानो छ तर हाम्रो स्रोत र साधन संसारमै सबै भन्दा बढी छ। देशको भूगोलले देशबासीलाई सानो बनाउने हैन। देशबासीको साहस, इमान्दारिता र देश बासीको जीवन शैलीले देश ठूलो हुने हो। बुद्ध जन्मेर मात्र शान्ति र सगरमाथा हुँदैमा हामी ठूला हुँदैनौ भन्ने कुरा हामीले अब बुझ्न जरुरी छ।

 

सबै सुखी हुन्, सबै रोग मुक्त हुन्, सबै सुखद र मङ्गलमय घटनाको साक्षी बन्न सकौं, कसैलाई पनि दुःखको भागी बन्न नपरोस् अर्थात्

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,

सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत।

ऊँ शांतिः शांतिः शांतिः..

यही नै मङ्गलमय शुभकामना...................सबैलाई चेतना भया

 

१. हाम्रो समाजको माग, त्यसको इच्छा, संवेदनशीलता, बिचार र परिवेशमा प्रहार नगर्ने मान्छे नेता हुदैन

२. आम समाजका संरचनाहरूमा दख्खल राखेर, त्यसको संरचना भन्दा माथि उठेर, हामीलाई र त्यही संरचनामा नै प्रहार गर्ने सक्ने मान्छेहरूलाई हामी नेता भन्छौ

३. आफ्नै कल्याण र आफ्नै उन्नति खोजेर भौँतारिए हिँडिरहेका बुद्धको पछि लागेर हामी आफूमा निहित बुद्धत्वलाई किन बुझिरहेका छैनौ

४. अरूको घरमा मानोको भरमा हली भएर काम गर्ने शैली परिवर्तन गर्नु छ र जानेको ज्ञानलाई सीप र कामको ब्यवसायिकतामा परिवर्तन गर्नु छ

५. बुद्ध जन्मेर मात्र शान्ति र सगरमाथा हुँदैमा हामी ठूला हुँदैनौ भन्ने कुरा हामीले अब बुझ्न जरुरी छ.

»»  पुरै पढ्नुहोस

Tuesday, April 10, 2012

यान्त्रिक जीवन मेरो/हाम्रो कथा

केही घटनाहरूः

#सारी लगाएको कहिलै देखेको थिइन। अग्ली पातलो शरीर र मसिनो अनुहार लाली र गहनासँग राम्री नै देखिदो रहेछ। मेरो घरको सामुन्ने राजमार्गसँग जोडिएको, पहाड खोपेर आधा घर ढिस्को भित्र पसालेर बनाएको अग्लो घरमा म पनि थिएँ। भान्सा घर र बैठक कोठा जोडिएको थियो। सुर्यको प्रकाश आउने कुरै भएन। म उनको बुबा भाइ र दाई बसिरहेको कोठामा थिएँ। उनकी आमा पनि गुलाबी रँगको सारी लगाएर बसिरहेकी थिइन्। म उनैको अगाडि थिएँ। साथमा गहनाले सजिएकी दुलहीलाई मैल सोधे “केटो कहाँको हो?” “सिड्नी,” उनले भनिन्। “कहाँ रे?” “अष्ट्रेलियाको” उनले म तिर फर्केर हाँस्दै भनिन्। “नेपाली नै हो कि विदेशी ?” मैले फेरि थपेँ “यही धोर्पेकको केटो, उतै पढ्न गएको र उतै व्यवसाय गरेर बसेको छ रे” मेरो आडैबाट उनको बाबुले थपे। उनको भाईले म काठमान्डौ हुँदा जागिर लगाई देउ भनेर कहयौ पटक फोन गरेको थियो तर मैले उनलाई जागिर लगाई दिन सकेको थिइन। उ भान्साबाट निस्कँदै मेरो अगाडिबाट अर्को कोठामा गयो । मलाइ नमस्ते समेत भनेन। मलाई लाग्यो उ म सँग रिसाएको हुनु पर्छ। “अनि अहिले केटो कहाँ छ त?” मैले उनी तिर फर्केर सोधेँ? “उ सिधैँ अष्ट्रेलियाबाट आउँदै छ” उनले भनिन्। “अनि तिमीले भेटेकी छौ?” मैले सोधेँ। “छैन भेटेको त” उनले जबाफ फर्काइन।

 

#म मेरो घरको अगाडि आईपुगेँ। मान्छेहरूको भिड देखेर म छक्कै परे। भीडमा आईमाईहरु रातो सारी र चोलोमा सजिएका थिए। उनको बिहेनै हो जस्तो गरिकन भिडभाड थियो। चहलपहल राम्रै थियो। मेरो घर र उनको घर मोटर बाटो वारि र पारि थियो। उनीहरू घरमै थिए तर यता बाटो वारी मान्छेहरूको भीड। त्यो पनि बिहेको हैन। उनलाई केटा हेर्न आऊने भन्ने खबरले भेला भएका। म भीडमै हराए, त्यसै बीच, पर बाटोमा मैले लगाउने गरेको हापपैन्ट देखे जस्तो लाग्यो। म भिडबाट बाहिर निस्किएर, त्यो बाटोको बीचमा गए, साँच्चै मैले नै लगाउने गरेको हापपैन्ट र मैले हाल लगाउने गरेको एउटा मलम रहेछ। हैन यो बाटोको बीचमा कसरी आयो? म छक्कै परेँ। मेरो हापपैन्ट उठाएँ, तर परबाट मैले लगाउने गरेको मलम, नजिकै गएर उठाउँदा भने खाली दाँत माझ्ने पेस्टको खोल मात्रै रहेछ।

 

#मेरो सानै देखीको साथी भुन्टेलाई नभेटेको कत्ति भयो। म उनको घरको सिडि उक्लेर उनको भान्सामा सिधैँ पसेँ। पुरानो, ढुगाँ र काठले बनेको तीन तले घर। राजमार्गसँग जोडिएको एउटा साखा बाटोमा रहेको घर। सिधैँ माथि जाँदा उनको सानो छोराले कपडा नलगाईकन मलाइ भर्याङ्ग चढ्दै गरेको हेरिरहेको रहेछ। म भर्याङको अन्तिम खुड्किलोमा थिए। मेरो खुट्टा चिप्लियो तर पनि त्यो खुड्किलो बल्ल बल्ल पार गरेर माथि आएँ तल हेर्दा, सबै ठीकै थियो तर अन्तिम खुड्किलो भाँचिएर चिलाउनेको सानो दाउरा अल्झाएको रहेछ। म माथि आएर त्यो सानो फुच्चेको अनुहार हेरे, उस्तै पहिले सानोमा भेटे जस्तै, दुब्लो। खुड्किलो सकिने बित्तिकै भान्सा थियो। तीन वटा माटोको ढिस्को थोपारेर बनाएको चुल्हो। चुल्होमा केही पाक्दै थियो। भान्सा र भ्याङ्गबाट सिधैँ आउने मान्छेलाई छेक्नको लागि बनाएको सानो पातलो काठको बारको छेउमानै भरत दाजु र उनकी श्रीमती सुतिरहेका रहेछन्। दाजु सिरानीमा आड लगाएर मोबाईल हेर्दै, अनि भाउजू (मैले अझै सम्म देखेको थिएन) उहाँको खट्टालाई सिरानी बनाएर सुत्‍नु भएको रहेछ। मुख र शरीर सबै भुलाको खास्टोले छोपेको। “दाजु आजकल कता हराउनु भो, निकै भो त, फेसबुकमा पनि भेट हुदैन” मैले सोधे(तर उहाँ मेरो फेसबुकमा नै हुनु हुन्न)। भुलाको खास्टोले मुख छोपेर सुतिरहेकी भाउजूले आफ्नो टाउकोबाट खास्टो हटाएर मलाइ हेर्नु भो। दाजु आजकल काठमान्डौ तिर हुनु हुन्छ। दाजुको फेसबुक मेले हेर्छु कहिलेकाहीँ। म उहाँको छेउबाटै अगाडि बढेँ। भान्सासँग जोडिएको घरको बार्दली सम्म म पुगेँ। मेरो साथीसँगै त्यहाँ निकै धेरै मान्छेहरू भेला भएका रहेछन् मेले मेसो पाइनँ। मेलै साथीलाई हेलो के छ भनेर सोधेँ। उ मुस्स हाँस्यो। कत्ती पछि भेटेको साथीले त्यति वास्ता गरे जस्तो लागेन। त्यसै बीच मैले उनको बुबा र आमालाई देखेँ, नमस्ते भनेर सिधैँ साथी भएको ठाउमा गएँ। उनको बार्दलीसँगै पल्लो घरको बार्दली जोडिएको रहेछ। अझै दुबै घरको बार्दली एउटै। ठूलो बार्दली मात्रै के भन्ने कुनै घरको छत जस्तो थियो। सिमेन्टले बनेको, वरिपरि सानो बगैँचा पनि रहेछ। पल्लो घर भने कुनै रेष्टुरेन्ट वा ठूलो होटलले भाडामा लिएको रहेछ। पाहुना बढी भयो भने, त्यो रेष्टुरेन्ट ग्राहकहरूको टेबुल र कुर्ची उनको घरको बार्दली सम्म आइ पुग्दो रहेछ। दुई वटा टेबुल र त्यसको वरिपरि रहेका साना कुर्चीहरु पनि मैले त्यहाँ देखेँ। मीठा मीठा खानेकुराहरू, टेबुलमा सजाएर राखेको पनि देखेँ। म र मेरो साथी त्यही एउटा टेबुलमा बस्यौं। मैले आफ्नो मुख त्यहीको रुमालले पुछे र केही टिप्स दिएर उठेँ। मेरो नजिकै इस्टकोटमा सजिएको वेटरले मलाई धन्यवाद टक्रायो। म मेरो साथीसँग उनको बार्दलीकै सानो बगैँचा नजिक उभिए र सोधेँ “तिमीले भनेको बिरुवा कुन हो?” उसले एउटा ठूलो गमलामा फुलिरहेको बिरुवा देखाउँदै भन्यो “यी यही हो, अहिले यताpainting-dream सारेको छु मान्छेहरूले टिपिदेलान् भनेर।” “साँच्चै तिमीले भनेको जस्तो काम गर्छ छ यसले” मैले सोधेँ। “मैले भनेको हो र, सबैले यसै भनेर लगाएका छन्, मैले पनि यसै भनेर लगाएको हुँ।” उसले थप्यो। यो अमेरिका तिर लैजान सके राम्रो हुने थियो। तर यो बिरुवा उता छ कि छैन थाह छैन, नयाँ प्रजातिको बिरुवा देखेर, कताबाट आयो भनेर सोध खोज गर्दा म फस्न पनि सक्छु, मैले मन मनै सोचेँ। “भइगो छोडी देउ यो बिरुवा यतानै ठीक छ।” मैले नलैजाने बिचार गरेँ। “अनि तिमीले कपाल बेस्करी खौरे छौ त?” मैले उनको टाउको देखाउँदै भने। “मेरो बुबा बित्‍नु भो, त्यसैले मेरो कपाल छोटो छ।” एकै छिन अगाडि देखेको उनको बुबालाई मेले पनि बिर्सिएँ। “एक महिना अगाडि बित्‍नु भएको हो, अहिले घरमा पुजा छ त्यसैले यहाँ आउनु भएको छ।”

 

चुरो कुरोः

केही दिन पहिले म र मेरी छोरी उनको स्कूल पछि सिधैँ उनलाई मन पर्ने स्टोर “fivebelow” मा जाँदै थियौँ। पछाडिको सिटमा बसेकी उनीले, हामी मूल राजमार्गमा छिर्नको लागि गाडीको ईन्टिकेटर बालेर बस्दा बस्दै गएको राती देखेको सपनाको कुराले सुनाउन थालिन्। उनीले भने जस्तै यहाँबाट वासिङ्गटन डि.सी.को स्पेस सग्राहलय जान लागेको बेला ट्राफिक जाममा परेछौँ। अनि मैले आफ्नो गाडी उडाएर लगेको रे। अनि मैले भनेको थिए “I wish, I could do that right now sweetie”. किन कि हामी साँच्चै त्यो कुनामा पालो कुरेर बसेको पन्ध्र मिनेट बन्दा बढी भइसकेको थियो। सानो हुँदा मैले पनि धेरै पटक उडेको सपना देखेको छु। बढ्दै गरेको मान्छेले बेला बेलामा उडेको सपना देख्‍छ भन्थे बूढापाकाहरु। शरीर बढ्ने बेलामा हो वा हैन तर उद्देश्य, लक्ष र भविष्य देख्‍नेहरु सपनामा आफू उडेर सबै भन्दा अगाडि पुग्न खोज्नु नौलो हैन जस्तो लाग्थ्यो। मैले कहयौ पटक सोधेको छु मेरी छोरीलाई तिमीले सपनामा के देख्‍यौ भनेर। उनले हरेक पटक उनकै स्कूल, आफू डुल्न गएका ठाउँहरू मात्र देख्छिन् । नेपाल कहिलै देख्दिनौ भनेर सोध्दा कहिलेकाहीँ देख्‍छिन रे। त्यो पनि ड्राइभ गरेर अमेरिका आएको। उनको सपनामा यहीका स्मरणहरू छन् र यहीका स्मरणहरू साँचेर हुर्केकी छे। त्यसैले त्यहीका स्मरणहरूले उनलाई यहीकै सपना देखाउदो होला। बिउँतिँदा वा निदाउँदा सम्पूर्ण विदेशी संसार, जो मैले चाहेर पनि अहिले परिवर्तन गर्न सक्दिन। तर मेरो अनुभव भने फरक छ। अन्तिममा मेरी छोरीसँग को वार्तालाप बाहेक माथि भएका घटनाहरू हिजो राती देखेका सपनाका केही अंशहरू थिएँ। जस्तो देखेँ उस्तै राखेँ।

 

सपनाहरू कहिलै सिलसिलेवारमा मिलेर देखिँदैन। फरक स्थान र घटनाहरू प्रसङ्ग बिनानै एक पछि अर्को जोडिएर आउँछ। हरेक पटक देखिने सपनाहरू साँचो हुन्छ वा हुँदैन, यसको के महत्व हुन्छ, त्यो छुट्टै बहस र अनुसन्धान गर्ने विषय हुन सक्छ। मानिसको चेतनशील मस्तिष्कले कहिलेकाहीँ वर्तमानको घटना क्रमलाई जोडेर भविष्यको अनुमान (precognitive dream) पनि गर्दछ भन्ने बारे र त्यो मनोविज्ञानको छुट्टै अध्ययन पनि भइरहेको पनि छ oneirology मार्फत।

 

जापानमा बस्दा मेरो एक जना भुटानी साथी थिए। उनले यो कुराको जिकिर कहयौ पटक गरेका थिए। जापानको चहलपहल र झिलिमिलीमा चार बर्ष बिताएका उनले कहिलै पनि सपनामा जापान देखेनन् रे। मैले उनको कुरा सुन्दा म त्यहाँ गएको दुई महिना भएको थियो। उनको यो कुराले मेले त्यहाँ बसिन्जेल सम्म हेक्का राखेको थिएँ। जब आँखा चिम्लिन्छु तब नेपालकै अनेकौँ घटना क्रमहरू देखा पर्थ्यो। यो बीचमा एकाध समय बाहेक मैले पनि कहिलै यस्तो सपना देखेको छैन त्यो पनि आफूले काम गर्ने अफिस वा ल्याबको बारेमा मात्रै। आफू हुर्केको र आफूले बिताएका पुरानो घटनासँग जोडिएर हरेक रात सपनाहरू देख्छु म। मैले सपनामा भूतहरूले लखेटेर खेतका आली आली भाग्दा हिलोमा खुट्टा चिप्लिँदा झस्केर निकै पटक उठेको छु। भुन्टे रहमा पौडी खेल्दा जाँदा, डुबेर शासनै फेर्न नसक्दा बेस्करी चिच्चाउदै उठेको छु। परीक्षामा जाँच दिँदा दिँदै लेख्‍न नसकेर आत्तिएर उठेको छु । खुला आकाशमा उडेर बाँसको टुप्पोमा झुन्डिएर बसेको पनि छु। सपना अनेक छन् तर पनि त्यसको आफ्नै संसार छ। साँच्चै मैले विदेशमा बस्दा कहिलै विदेशी सपना देखिन। इमानदार साथ भन्नु पर्दा, विदेश पलाएन भएको यत्तिका वर्षमा समेत कहिलै यहाँको घटनालाई लिएर सपना देखेको छैन। मैले कुनै देशभक्त भएर वा आफूलाई देशभक्तको आडम्बर देखाउन मात्रै यो भनेको हैन। यथार्थ यही हो, किन कि मेरो मस्तिष्कमा सम्झन लायक एउटा जीवननै स्मरण भएर बसेको छ। यहाँ त बाच्ने र बचाउने दौडमा जीवन बाच्न नै बिर्सिएका छौं हामी। सम्झन लायक कुनै मीठो घटना छैन कारण शरीरसँगै पुरै जीवननै यान्त्रिक भइरहेको छ। लामो समय सम्म जीवनको घटना क्रमलाई मस्तिष्कले जोडेर, त्यसै पृष्ठभूमिमा अनेकौँ संझनाहरुलाई सपनाको रूपमा प्रस्तुत गर्दछ। नेपाल बस्दा विदेश जाने सपना देख्छौ हामी तर विदेश आए पछि सपना चाहिँ नेपाली नै हुँदो रहेछ वा देख्दो रहेछौँ। आत्मिक र यान्त्रिक जीवनमा यहीँ फरक हुँदो रहेछ। ......चेतना भया...

»»  पुरै पढ्नुहोस

Wednesday, March 21, 2012

SLC दिँदै गरेका सबै जनालाई

SLC दिँदै गरेका सबै जनालाई हार्दिक शुभकामना। हाम्रो जस्तो बर्ष भरी पढेको कुरा सबै सम्झेर एकै दिनमा अझै तीन घण्टामा सम्झेर उत्तर दिनु पर्ने र त्यसैको आधारमा बिधार्थीहरुको मूल्याङ्कन गरिने ठाउँमा निकै चनाखो हुन जरुरी छ। परीक्षा भनेको के हो भनेर गहिरसँग सोच्यो भने वास्तवमा यो कुनै मुटुको धड्कन नाप्ने तरिका हैन, हाम्रो आँखाले कति टाढा सम्म देख्न सक्छ भनेर जाँच्ने तरिका हैन अथवा हामीले हानेको मुक्का कति बलियो छ भनेर जाँच्ने पद्धति पनि हैन। परीक्षा भनेको मस्तिष्कको स्मरण शक्ति कति छ र कति ज्ञान सम्झेको छ भनेर पत्ता लगाउने माध्यम हो। निश्चित उमेरमा, निश्चित समय भित्र मस्तिष्कले कति सम्झियो, कति सम्झन सक्छ भनेर जाँच दिइरहेका छौं हामी। अझै भन्नु पर्दा हामी परीक्षाका माध्यमले आफ्नो मस्तिष्कको वर्गीकरण र प्रमाणीकरण गरिरहेका छौ। यथार्थमा लौ मैले यति कुराहरू सम्झेको छु, जानेको छु र म यो कुरामा सिपालु छु भनेर देखाउने वा सर्टिफाइ हुने माध्यम हो परीक्षा। हामीले जानेका र बुझेका कुराहरू हाम्रो मस्तिष्कमा गएर बस्छ। हामी त्यसलाई यथार्थ ठाउँमा प्रयोग गर्छौ सीपको रुपमा। त्यसैले स्वस्थ मस्तिष्क कति जरुरी छ भन्ने कुरा हेक्का राख्‍न जरुरी छ।

हाम्रो मस्तिष्कको सबै भन्दा ठूलो गुण के हो?

हाम्रो मस्तिष्कको सबै भन्दा ठूलो गुण भनेको बिर्सने क्षमता हो। हामीले आमाको पेटमा भए देखी अहिलेका कुरा एकै चोटि सम्झने हो भने मस्तिष्क विस्फोट हुन सक्छ। त्यसैले समय र परिस्थिति अनुसार हामी कुराहरू, घटनाहरू बिर्सन्छौ र नयाँ कुराले दिमाग भर्छौ। त्यसैले पढेका कुरा बिर्सनु हाम्रो गल्ती हैन। यो त हाम्रो मस्तिष्कको बनौटै यस्तै छ। त्यसैले मुख्य र ठूला घटनाहरूलाई मस्तिष्कले लामो समय सम्म राख्छ र बिर्सँदैन तर साना कुराहरू चाडै बिर्सन्छौ त्यसैले पढेका कुरा बिर्सिए भनेर पिर गर्नु पर्दैन बरु पढेका साना साना कुरालाई कसरी लामो समय सम्म मस्तिष्कमा राख्ने वा सम्झने भनेर यसका उपायहरू जान्न र प्रयोग गर्न जरुरी छ।

हामीलाई जाँचको अघिल्लो दिन सबै भन्दा बढी डर लाग्दछ र एक प्रकारले बर्ष भरि पढेको सबै कुरा बिर्सिए जस्तो हुन सक्छ। तर वास्तवमा  हामीले यी कुराहरु बिर्सिएको हुदैनौ। त्यसो हुनुमा हाम्रो मस्तिष्कले सबै कुरा एकै चोटि सम्झन नसक्नू मात्रै हो। एकै पटकमा सयौं प्रश्नका उत्तरहरू दिमागमा आउन सक्दैन त्यसैले मैले के पढे भनेर सम्झदा केही पनि नभए जस्तो शून्य अनुभव हुन सक्छ। तर त्यसै बीचमा कुनै एउटा प्रश्न सोध्यो भने मस्तिष्कले त्यसको उत्तर सहजै सम्झन सक्छ। किनकी कुनै एउटा प्रश्नको उत्तर सम्झदा बाँकी सबै कुराहरू दिमागले बिर्सन्छ अथवा ओझेलमा पारेर सोच्छ र प्रस्ट आऊदैन।

M.Sc.का बिधार्थीहरुलाई  पढाउँदा, एक दिन कालो पाटीमा मैले सानो गल्ती गरेँ। मैले गरेको गल्ती एक जना बिधार्थीले समातेर सच्याउन भने। मैले सरी है मैले बिर्सिए छु भनेर तत्काल सच्याएँ। त्यसै बीचमा विद्यार्थीहरूलाई लाग्यो कि यो मास्टरलाई यो पनि आउँदो रहनेछ। सबै बेस्करी हाँसेँ। कता कता लाज पनि लाग्यो तर मलाई थाह थियो यस्ता गल्तीहरू साधारण हुन्छन् मान्छेबाट भनेर। मैले त्यसै बेला सबै विद्यार्थीहरूलाई पालै पालो “क” बाट “ज्ञ” सम्म सर्र भन्न लगाएँ। पत्याउने गाह्रो ९० जना बिधार्थी मध्य ३ जनाले मात्रै नबिगारिकन भन्न सके। मैले भनेको थिए, तपाइहरूले कक्षा १ मा वा शिशु कक्षामा पढेको कुरा समेत बिर्सनु भए छ, मैले त यो हिजो मात्रै पढेर पढाउन आएकोले बिर्सनु नौलो हो र? सबै बिधार्थीहरुको अनुहार हेर्न लायक थियो।“

परीक्षालाई कसरी बुझ्ने र कसरी त्यसलाई आफ्नो अनुकूल बनाउने बारे मेरा केही बिचारहरू बुँदागत रूपमा यहाँ राख्दै छु।

 

# सबै भन्दा ठूलो स्वास्थ्यमा ख्याल गर्ने। बढी चिल्लो, बढी चिसो र मसलादार खाने कुरा खानाले परीक्षाको बेला बिरामी हुन सकिन्छ। परीक्षा दिइरहेको बेला पेटनै खराब भएर दुई चोटि बाहिर निस्कनु पर्यो भने पनि निकै समय बरबाद र खर्च हुन सक्छ। त्यसैले सधै स्वस्थ खाना र नियमित व्यायाम गर्न जरुरी छ।

 

#हामी पढेको कुरालाई घण्टामा तुलना गर्ने गर्छौ। आज रात भरी ८ घण्टा पढियो। रात भरि नसुतीकन पढियो भनेर मक्ख हुन्छौ। रात भर नसुतीकन पढ्दा शरीर मात्र हैन, सबै भन्दा बढी मस्तिष्कनै तनाव र थकित हुने गर्दछ र थकित दिमागले चाहिने बेलामा सूचनाहरू प्रवाह नगर्न सक्छ र परीक्षामा पढेको उत्तरहरू बिर्सन सकिन्छ। त्यस्तो बेलामा मस्तिष्कले आराम गर्न खोज्छ अथवा सुत्न खोजिरहेको हुन्छ। सुत्नको लागि तयार र अल्छी गरिरहेको मस्तिष्कले परीक्षामा काम गर्दैन। त्यसैले प्रशस्त सुत्‍न र आराम गर्न जरुरी छ।

 

#पढिरहँदा पुस्तक बा नोट कपिमा मात्रै हेरेर सम्झन खोजियो भने कहिलेकाहीँ पुरै कुराहरू याद नहुन पनि सक्छ। त्यसैले पुस्तकमा वा नोटमा हेरेर याद गर्ने कोसिस गर्ने र अर्को पटक पुस्तक वा नोटबाट आँखा हटाएर अन्त IMG_1580कतै हेरेर सम्झने कोसिस गर्यो भने पढेको र याद गरेको कुरा दिमागमा लामो समय सम्म रहन सक्छ। अझै कुनै कुरा सम्झन निकै गाह्रो भइरहेको छ भने कोठामा हिँडेर, आफैले आफैलाई आवाज निकालेर पढाउने गर्यो भने दिमागलाई पढेको कुराहरू साधारण हुन जान्छ र लामो समय सम्म सम्झन सकिन्छ

 

#हेरेर भन्दा पनि लेखेर सम्झने कोसिस गर्यो भने पढेका कुरा लामो समय सम्म सम्झिन्छ। जाँच दिन जानु अगाडि भने सबै लेखेर याद गर्न भ्याइँदैन। आफूले बनाएको नोटको पाना पल्टाउने, नोटको टपिक्स हेर्ने, आँखा बन्द गरेर यो टपिक्समा के के कुराहरू छन् भनेर सम्झनु नै सजिलो र चाँडो हुन्छ। कुन प्रश्न आयो भने के उत्तर लेख्‍ने भन्ने तयारी गरेको हुनु पर्छ।

 

#परीक्षामा बस्दा, प्रश्नपत्र नपाउन्जेल सम्म मस्तिष्क शून्य हुनु नौलो हैन। परीक्षाको मूल्याङ्कन हामीले लेखेको उत्तर पुस्तिकाको आधारमा गरिने हुँदा, आफ्नो उत्तर पुस्तिका सधैँ सफा र उत्तर दिदा प्रश्न नम्बरहरू लेख्‍न भुल्नु हुदैन। प्रश्न नम्बर नलेखेको उत्तरमा परीक्षकले अंक दिइरहनु पर्छ भन्ने बाध्यता छैन। सफासँग प्रश्न नम्बर राखेर सबै भन्दा बढि आफूलाई आउने प्रश्नको उत्तर लेख्दा जाँच्ने मान्छेलाई सुरुमै राम्रो सकारात्मक प्रभाव पर्न सक्छ र उसले पछिल्ला अपुग र अधुरो उत्तरहरूमा समेत सहानुभूति राखेर राम्रो अंक दिन सक्छ। प्रश्नको उत्तर दिँदा, परीक्षकलाई केही पनि आऊदैन भने झै गरेर, यथार्थ, सटीक र प्रस्ट उत्तर दिनु पर्दछ। यत्रो लेखे पछि जाँच्ने मान्छेले बुझि हाल्छ नि भनेर सोच्नु हुदैन।

 

# हामीले परीक्षा दिन जाँदा, सोधिएका सबै प्रश्नको उत्तर आउनु पर्छ भन्ने छैन र सबै उत्तरहरू आउन पनि गाह्रो हुन्छ। त्यसैले प्रश्नपत्रमा सबै भन्दा पहिले देखिएको, आफूलाई नआउने प्रश्नले आत्तिन सकिन्छ। हडबड नगरीकन, आफूलाई आउने प्रश्नहरूको चयन गर्ने र सबै भन्दा बढि राम्रो उत्तर आउने प्रश्नबाट सुरु गर्नु पर्छ।

 

# समयको व्यवस्थापन निकै जरुरी हुन्छ परीक्षामा। कहिलेकाहीँ जानेको भनेर चाहिने भन्दा बढि उत्तर लेखिरहँदा, अर्को जानेको उत्तर लेख्ने समय नै हुदैन। त्यसैले समयलाई राम्रोसँग बाढेर लेख्‍न जान्नु पदर्छ। यदि यस्तो भयो र केही जानेका उत्तरहरू सबै लेख्‍न सकिएन भने बुँदागत रूपमा लेखेर छोड्नु राम्रो हुन्छ। मानौँ कुनै प्रश्नको उत्तर दुई पेज लामो हुन सक्थ्यो र त्यसको लागी १५ मिनेट समय चाहिन्थ्यो। आफूसँग ५ मिनेट भन्दा समय छैन भने, जानेका कुराहरूलाई बुँदागत रूपमा टिप्पणी बनाएर लेखेर छोड्यो भने परीक्षकले यो बिधार्थीलाई त्यो प्रश्नको उत्तरका मूलभूत कुराहरू थाह रहेछ भनेर बुझ्दछ। त्यस्तो अवस्थामा राम्रो अंक पाउन सकिन्छ।

 

# उत्तर पुस्तिकाको दायाँ र बायाँ ठाउँ छोडेर लेख्ने बानी गर्न राम्रो हुन्छ र हरेक प्रश्नको उत्तर लेखिसके पछि, २-३ लाइन छोडेर अर्को उत्तर सुरु गर्दा कहिलेकाहीँ लेख्दा याद नभएका र छुटेका बुँदाहरू पछि राख्‍न सजिलो हुन्छ। उत्तर पुस्तिका जाँचिसके पछि अन्तिममा प्राप्ताङ्कहरू जोड्दा उत्तर पुस्तिका जाँच गर्ने मान्छेले नम्बर जोड्न निकै गल्ती गरिरहेका हुन्छन्। यसो हुनुमा परीक्षार्थीहरूको पनि हात हुन्छ। आफूले लेखेका उत्तरहरूलाई केही खाली ठाउँ दिएर लेख्दा कपी सफा पनि देखिन्छ र जाँच्ने मान्छेले नम्बर राख्ने ठाउँ पनि पाउँछ र अन्त्यमा प्राप्ताङ्क जोड्दा गल्ती कम हुने गर्दछ।

 

#परीक्षामा बोल्न, चिट चोर्न वा कुनै पनि गलत काम गर्न पाइँदैन भन्ने सबैलाई थाह हुन्छ। आफूले जानेको भन्दा चिटमा लेखिएको, अरूले भनि दिएको उत्तरमा बढी विश्वास गर्ने बिधार्थीको बानी हुन्छ र यसै क्रममा कहिलेकाहीँ नचाहेर पनि बिधार्थीहरुले गल्ती गरिरहेका हुन्छन। परीक्षा दिन जाँदा परीक्षा निरीक्षकलाई पनि जाँच्न र उसको बानीको बारेमा बुझ्न पनि जरुरी हुन्छ। उ कत्तिको कडा छ? सानो भन्दा सानो गल्तीमा बिधार्थीहरुको कपी तानेर वा सचेत गराउने गर्छ कि गर्दैन वा कत्तिको खुकुलो छ बुझ्न जरुरी हुन्छ। आफूले गल्ती नगर्दा पनि अरूले गरेको गल्तीले कहिलेकाहीँ सजाय भोग्नु पर्ने हुन सक्छ। त्यसैले निरीक्षकलाई दुस्मनको रूपमा हैन साथीको रूपमा वा परीक्षा सञ्चालनमा सहयोग गरिरहेको गुरुको रूपमा व्यवहार गर्नु पदर्छ। नम्र भएर बोल्ने, उसलाई आदर जस्तै पहिलो पटक भेट्दा नमस्ते गर्ने, उ सँग बोल्दा आदरार्थी शब्दहरूको प्रयोग गर्ने र उसलाई मर्यादित परीक्षा सञ्चालनमा सहयोग गर्नु पर्दछ। थप उत्तर कपी माग्दा, बाहिर जाँदा उसलाई धन्यवाद टक्राउने गर्दा राम्रो हुन्छ। अर्थात् सहज र मैत्रीपूर्ण वातावरण बनाउन प्रयास गर्नु राम्रो हुने छ। यसो गर्नु सबैको कर्तव्य पनि हो। यसै बीच कहिलेकाहीँ केही सहयोग माग्नु पर्‍यो भने आफैलाई सजिलो हुने गर्दछ।

परिक्षा दिदै गर्दा, एउटा हिसाबमा मान्छेको संख्या डेसिमलमा (२२.३४) आयो। गरेको तरिका कतै बिग्रिएको जस्तो लाग्दैन तर उत्तर त्यो पनि मान्छेको संख्या यस्तो आए पछि मलाई विश्वासै लागेन आफ्नो उत्तरमा। मैले परीक्षाको अन्तिम समयमा आफ्नो छेउमा बसेको साथीलाई question no. 8 को उत्तर के हो भनेर सोधे, “खै मेरो त २२.३४ आयो, तिम्रो कति आयो” उसले भन्यो । “मेरो पनि त्यही आएको छ”, मैले भने। त्यसै बीचमा पछाडि बाट निरीक्षकले बोले, “लौ लौ हल्ला नगर्नुस, बरु समय सकिन लाग्यो कपी बुझाउन तिर सुरु गर्नुस।“ मलाई लाग्छ यो छुट हामीले उनलाई गरेको राम्रो ब्यबारहले नै हो।

# उत्तर पुस्तिकामा फोन नम्बर, आफ्नो सम्पर्क ठेगाना कहिलै लेख्‍नु हुँदैन र पैसा राख्न पनि हुदैन। यदी कसैले यसो गरिरहेको छ भने उ आफैलाई आफ्नो लेखाइले पास हुने छु जस्तो नलागेर नै गरेको हुन्छ। कपी जाँच गर्ने मान्छेले कहिलेकाहीँ एकाध नम्बर नपुगेर फेल हुन लागेको कपीलाई सहानुभूति राखेर एक दुई नम्बर दिएर पास गरि दिउँ भो भन्ने सोचेको छ भने उसले त्यसो गर्न सक्दैन। उसलाई पनि डर हुन्छ किनकी फेल भएको यो मान्छेलाई किन अनावश्यक नम्बर दियो भनेर उ माथि जाँच होला, उ माथि आशङ्का गरिएला भनेर। त्यसैले यस्तो कपीमा परीक्षक अझै सतर्क हुने गदर्छ। यसो गर्दा उसले अझै बढी कडाइका साथ कपि जाँच गर्ने गर्दछ।

 

# परीक्षामा लेखिएका उत्तरहरूमा साना साना धेरै गल्तीहरू हुन पुगेका हुन्छन्। सुरुमा लेख्दा आफ्ना गल्तीहरू थाह नहुन सक्छ। त्यसैले अन्तिमको १०-१५ मिनेट समय आफूले लेखेका उत्तरहरू फेरि पढ्ने समय छुट्टाउनु राम्रो हुन्छ। सुरु देखिन पुरै उत्तरहरु पढ्दा यसरी हुन गएका सासना गल्तीहरू सच्याउने मौका मिल्छ। अनावश्यक पाना भर्नु भन्दा लेखेका उत्तरहरूलाई सहि र त्रुटि रहित बनाउँदा पुरा अंक पाउन सकिन्छ। चेतना भया..

»»  पुरै पढ्नुहोस

Tuesday, February 28, 2012

जीवन सापट छैन। एउटा सारांश सत्य कथा!!

उ गोरखामा पक्रिएर थुनामा राख्दा, पोखरामा उनको हत्याको समाचार छापियो। राज्यले उनको हत्या गरिएको छैन भनेर चोखिनैको लागि उनलाई सार्वजनिक गर्‍यो र एउटा असहज मृत्युलाई जित्यो उसले। पोखरा पृथ्वीनारायण क्याम्पसमा कार्यक्रम हुँदै गर्दा सुरक्षा कर्मीहरूले लखेटेर  क्यान्टिन नजिकको सेती नदीमा हाम फाल्न बाध्य पारियो  र फेरि उसको मृत्यु भयो भन्ने सुनियो। समाचारहरू अनेकौँ रूपमा आउथ्यो र मैले केही हद सम्म उनको मृत्युलाई स्वीकार गरिसकेको थिएँ। सेती नदीमै खसेको भए त बाच्ने सम्भावना नै छैन। यस्तै सोचेर निकै लामो समय मन अमिलो पारेर बसेको थिए।

पोखरा पृथ्वीनारायण कलेजमा  पढ्दै थियौ हामी त्यसबेला। भिन्न भिन्न साथीहरूको समूहमा बिभाजित भएर निकै समय चौरमा घाम ताप्दै गफ गर्थ्यौ तर कुनै राजनैतिक दस्ता वा समूह थिएन त्यो।  मात्र कलेजमा सँगै जाने आउने, डेरा नजिक र सधैँ भेट हुनेहरूको बीचमा समूह विभाजित थियो। हामी ७-८ जनामा थियौ त उनीहरूको समूह तीन जनाको थियो त्यो पनि केटाहरुमात्र। हामी त्रिमूर्ति भनेर जिस्काउथ्यौ उनीहरुलाई। । कक्षामा सर ढिलो आऊदा र समय भन्दा अगाडिनै कक्षा छोडेर जाँदा पनि एउटा आक्रोश देखिन्थ्यो उनीहरुमा। सरल स्वभावका उनीहरु प्राय चप्पल वा पान्डा जुत्ता, पैन्ट र बाहिरै निकालिएको सर्ट लगाएर देखा पर्थे।

परीक्षाको अन्तिम तयारी चलिरहेको थियो। मैले उनलाई पुस्तकालयको अगाडि भेटेको थिए। दुब्लो, सरल र चलाख अनुहारका उनी त्यस बेला निकै खुसी भएर मलाई सुनाएका थिए “जनयुद्ध सुरु भइसक्यो”। कलेजका भित्ताहरूमा जलयुद्धका पहिलो पर्चाहरू टाँसेर फर्दकै गर्दा हातमा मैदाको हिलो पोको सहित मैले उनलाई भेटेको थिए।

“कस्तो हुँदैछ पढाइको तयारी?” उनले मलाई सोधे।

“ठीक चलेको छ साथी अनि तिम्रो कस्तो हुँदै छ त?” मैले जबाफमा सोधेको थिएँ।

उनी मुसुक्क हाँस्दै मेरो हात समातेर चौरमा बस्न तानिरहे र हामी चौरमा बस्यौ। जाडो यामको पहारिलो घाम, चौरमै बेच्न ल्याउने डालेसँग बदाम किनेर त्यही बसियो। उनले भनेका र गरेका आधा राजनीतिका कुरा मैले बुझ्दिन थिएँ। चलिरहेको सिस्टम, शिक्षा र सभ्यतामा उनको बिचार भिन्न हुन्थ्यो। साम्राज्यवाद, बिस्तारवाद, यथास्थितिवाद मात्रै हैन, उनले प्रयोग गर्ने अनेकौँ शब्दावलीहरू जस्तै बुर्जुवा, सामन्तवाद र सामन्तवादीहरू जस्ता शब्दावली मेरा लागि त्यस बेला नौलो हुन्थ्यो। हामी सँगैका र एउटै उमेरका युवा थियौ, हामीले पढ्ने र जान्ने उमेर पनि एउटै थियो तर राजनीतिमा उनको बिचार म भन्दा कहयौ गुणा अगाडि र चेतनशील छ र थियो भन्ने कुरा मैले कहयौ पटक स्विकारेको पनि थिएँ। उनी सुरु देखि नै त्यसै बेला हामीले पढ्दै गरेको शिक्षाको तरिका, व्यवस्थाको खुब विरोध गर्थे। यस्तो शिक्षाले जनताको उन्नति र समाजको परिवर्तन सम्भव छैन भनेर पटक पटक सुनाउथे।

बदाम सकिन लागेको थियो र कागजकै सानो थैलोमा राखेको नुन चाट्दै भने “थाह छ मित्र यो नुन के हो?” “sodium chloride” मैले साधारण जबाफ दिएको थिए। उनी मुसुक्क हासे र भने, “यही नुनले हामीलाई गुलाम वा दास बनाएको छ। सधियौ देखि, भोट, रक्सौल, बटौली सम्म हाम्रा पुर्खाहरू नुनसँग आफ्नो अस्तित्व, विबेक सबै बेच्न बाध्य पार्दै आइएको छ। उत्तर वा दक्षिण जोसँग पनि नुनकै व्यापार हुन्छ। व्यापारीहरू काला हुन बा गोरा हुन, आँखा च्याप्टिएका हुन वा नाक उठेका हुन् हामीलाई अनेकौँ बहानामा नोकर र दासको रूपमा परिभाषित गर्दै आएका छन् र आज यही नुनको सोझो यहाँको राजनैतिक खेमामा पनि छ। यो शिक्षा हामीले चाहेको जस्तो, हाम्रो माटोलाई सुहाउने प्रकारको छैन र हामीलाई लादिएको सामाजिक परिबन्धहरू सबै यसै नुन र नुनको सोझो गर्नेहरुको कमाल हो। त्यसैले भित्र र बाहिर एउटा ठूलो भूकम्पको वा धक्काको आवश्यकता छ”। मैले नुन यत्तिको सार्ह्रो आत्मघाती होला भनेर सोचकै थिइन।

उनले थपे “तिमी नुनलाई sodium chloride भन्छौ, म नुनलाई दास र नोकर बनाउने माध्यम र हामी यसैको दास छौ र यसैलाई पोषण गरिरहेका छौ भनेर बुझ्छु। नुन सँग समाज र राजनीति जोडिएको छ”। एउटा नुन सोडियम क्रलोराईड भन्दा यती ठूलो, बलियो र धातक पनि रहेछ? म मात्रै हासेँ र भने, मैले तिम्रो कुरा बुझ्न गाह्रो छ।

“मैले सांकेतिक कुरा गरे, नुन वास्तवमा विज्ञानको भाषामा सोडियम क्लोराईड मान्छु म पनि तर सामाजिक परिवेशमा यो ठूलो बिष हो” उनले थप्दे थिए।

“यति सार्है भावनामा उडेर, यथार्थ भन्दा पर जान हुन्छ र मित्र?” मैले सोधे

“मेले भनिसके नि नुन त सांकेतिक मात्र हो” उनले प्रस्टाउँदै थिए।

समयलाई सम्झना मलाई के कुरा अहिले पक्का हुन्छ भने, त्यस बेला देखिन विद्रोही स्वभाव र विषय बस्तुलाई आम मान्छेले भन्दा फरक तवरले हेर्ने शैली उसमा थियो। राजनैतिक प्रशिक्षणले हो वा पारिवारि संस्कार वा अध्ययनले एउटा अनौठो ऊर्जा थियो यो देश र माटोको लागि उ भित्र। जनयुद्ध के हो र के का लागि भनेर उसले मलाई निकै सम्झायो तर यसमा जानेँ पर्छ भनेर कहिले मलाइ उक्साएन। मेरो जीवन शैली र जीवनका उद्देश्यहरू आफ्नै तवरले सोचेको थिए। उसको कुरामा त्यस बेला सहमत भए जस्तो भए पनि म त्यो बाटोमा जाने वातावरण मेरो परिवेशमा थिएन। परीक्षा दिनु थियो, धेरै पढ्नु थियो र यसै अनुरूप काम गरेर जीवन बिताउनु, परिवारलाई सहयोग गर्नु थियो। साँचो अर्थमा युद्धको मानसिकतामा म थिइन।

“तिमी मेरै विचारमा हिँड्नु पर्छ भन्ने हैन, तिमीले आफ्नो ठाउँबाट हामीलाई सहयोग गर” यो मात्र भनि रहन्थें। कस्तो सहयोग, कहिले गर्ने भन्ने कुरा उनले मलाई कहिलै भनेनन्। मैले साथीलाई सहयोग नगर्ने प्रश्नै उठ्दैन नि भनेर टारेको थिएँ। तर मलाई लागेको थियो, समाज परिवर्तनको लागि आफ्नो जीवनलाई युद्धमा हाल्दै गरेको नवयुवा थियो उ। उसको बिचार र कामको शैलीले उ संगठन विकासमा खरो उत्रने छ भन्ने लागेको थियो।

त्यो भेट भएको समयको केही महिना पछि उ अर्ध भूमिगत रूपमा काम गरेको हुनुपर्छ। उता युद्ध सुरु भइसकेको थियो तर पनि कहिलेकाहीँ कलेजमा कार्यक्रममा देखा पर्थ्यो। कलेज सकिए पछि उसको निजी जीवन र कामको बारेमा जानकारी पाउन छोडियो। समय निकै संवेदनशील थियो त्यसबेला। उसलाई भेट्ना साथ गोली हान्ने आदेश आई सकेको थियो। मैले मेरो एक जना नजिकको साथीलाई समाज परिवर्तनकै लागि युद्धमा लागेको कुरा स्वीकार गरिसकेको थिए। उसको बारेमा आउने हरेक समाचारहरू मैले पढ्थे र त्यसलाई पछ्याउने प्रयास गरिरहन्थे। युद्द सुरु हुँदै गर्दा लामो समय सम्म उसको र मेरो सम्पर्क भएन। हामी जीवनका फरक बाटोमा हिँडिसकेको थियौँ र सायद उसको परिभाषा र कार्यक्षेत्रमा भित्र म पर्दिन थिए। उसले कार्य लक्ष सम्पादनकै लागि आफ्नाहरूलाई बिर्सेर सम्पूर्ण रूपमा राज्य, देश र जनताहरूलाई सम्झिरहेको थियो होला र म त्यही आम जनताहरूकै परिभाषामा परेको हुनु पर्छ।

उता युद्दले भयानक रूप लिदै थियो। समाचारहरूमा राज्य र विद्रोहीले मारेका मान्छेहरूको तस्विर र समाचारहरू सधैँ जसो आईरहन्थ्यो। पोखरा पृथ्वी नारायण कलेजमा भएको भिडन्त पछि त उ मारिएको खबर फेरि एक पटक मेरो कानमा पर्‍यो। समातेर सती नदीमा फालियो भन्ने खबर पनि कतै कतै आयो। समाचारहरू अनेकौँ रूपमा आउने हुँदा पत्याउन गाह्रो थियो। त्यो भन्दा पहिले पनि मारिएको खबर नसुनेको हैन, त्यसैले उसको पार्टीकै आधिकारिक धारणा बा आधिकारिक समाचारहरू पर्खनु भन्दा केही विकल्प थिएन।

त्यस बेला म परीक्षा सकेर काठमान्डूमै पढाउने काम गर्थे। घरमा बुबा बिरामी हुनु भएको छ भनेर खबर आएको ले म गाउँ गएको थिए। केही दिन पछि बुबालाई बिस्तारै ठीक हुँदै गयो। मेले बजार तिर जाने बिचार बनाएँ र बिहानै बजार तिर निस्किएँ। बजार तिर हिँड्दै गर्दा, बाटोको छेउबाट एउटा पातलो मान्छे उस्तै अनुहारमा मेरो बाटो हुदै मैले हतार हतारमा हिँड्दै गरेको देखेँ।

“तिमी मोटाएछौ बेस्करी” उसले सुरुमै भन्यो।

“तिमि त उस्तै रहेछौ” मैले भने।

उसले त्यस पछि हात मिलायो र वरपर हेर्यो।

“आउ तिमीसँग कुरा गर्नु छ। यहाँ ठीक छैन उभिन” उसले मेरो हात समात्दै तान्यो। हामी बजारको तल अर्कै गल्लीको एउटा चिनेको मान्छेको होटेलमा पस्यौ र एउटा कोठामा छिर्यौ। अँध्यारो कोठा र मैलो सुतीको पर्दा भएको त्यो कोठामा अगाडि आमुन्ने सामुन्ने हुने गरि हामी बस्यौ।

तिमि सन्चै छौ? उसले बल्ल मलाइ सोध्यो।

“अ सन्चै छु। अनि तिम्रो यो हात र टाउकोको पट्टी के हो?” छड्के टोपीबाट बाहिर निस्किएको सेतो पट्टीको टुक्रा देखाउँदै मैले सोधेँ।

“थाह छैन? दुई हप्ता अगाडि कलेजको घटना?” उसले भन्यो

“थाह छ, मैले त”..... भन्दै थिए उसले थप्यो “मरिसकेको भन्ठान्यौ होला हैन?” उ खिस्सा हास्यो।

“यस्तै लागेको थियो” मेले थपे।

“नौलो पनि भएन यस्तो सोच्नु। समाचारमा पनि म मरिसकेको खबर आएको थियो” उसले भन्यो।

“पार्टीले पनि यसको खण्डन गर्न उचित ठानेन सायद, किन कि यस्तो हुँदै गर्दा काम गर्न सजिलो हुन्छ भूमिगत भएर” उसले थप्यो।

“अ अनि सुनाउ तिम्रो के कस्तो हुदै छ” मैले साधारण गफ सुरु गरे।

“तिमीले देखि हाल्यौ नि मेरो अवस्था तर पनि सोध्दै छौ मेरो हाल?” उ खिस्स हास्यो।

“तिमी के गर्दै छौ? र हाम्रा साथीहरू के के गर्दै छन्? मलाइ सुनाउ” उसले सबै साथीहरूको नाम लिएरनै सोध्यो।

“अरे बाफरे तिमिलाई सबै साथीहरूको नाम याद छ अझै” मैले सोधे।

मैले सबै बेलीबिस्तार लगाएँ।

“सबै साथीहरूले प्रगति गरेछन् है? कोही डाक्टर, कोही मास्टर, कोही लैकचर, कोही विदेश” सबैले राम्रो गरे” उसले एकै सासमा भन्यो।

“तिमि पनि त कमान्डर भएका छौं रे त्यो सानो प्रगति हो र?” मैले सोधे।

“कमान्डर त हैन तर पनि हुनु प्रगति हैन, कमान्डर हुनु वा क्रान्तिमा लाग्नु मेरो र हाम्रो पार्टीको मजबुरी हो” उसले भन्यो।“ उसले थप्यो।

“तिमीलाई के लाग्छ हामीले चाहेर र ठूलै मान्छे बन्नका लागि यो युद्ध लडेका हौ र? जुन दिन जनताको राज्य र समाजमा परिवर्तन आउँछ त्यस दिनबाट मैले फेरि जिरोबाट(zero) नयाँ जीवन सुरु गर्नु पर्ने हुन्छ” उसले कमिजको बाहुली माथि सार्दै भन्यो।

“किन? तिमी पनि त नेता हुन्छौ, मन्त्री हुन्छौ, तिम्रो पनि त प्रगति हुन्छ नि हैन र?’ मैले सोधे

“तिमीले नेता हुनु, मन्त्री हुनुलाई प्रगति भनेर बुझ्यौ त्यो गलत हो। हामीलाई अहिले पनि त राज्यले अनेकौँ लोभ देखाएको छ, हैन र?” उसले मलाई प्रश्न गर्यो।

“हुन त हो” मैले स्वीकारे।

“चे ग्वाभारा हुन चाहेका भए क्युवामा राज्य गर्न सक्थेनन् र? क्युवाको क्रान्ति सम्पन्न भईसके पछि उनी फेरि जहाँ क्रान्ति आवश्यक छ त्यही जाने भनेर किन हिडे?” उनले इतिहास साछी राखे।

मैले त्यस बीचमा चेको जीवनी पढि सकेको थिए मलाई उसको यो कुरा बुझ्न गाह्रो भएन।

“त्यसो भए कहिले सक्छौ त यो क्रान्ति? मैले सोधे।

“परिवर्तनको सिमा हुँदैन आज भोलि वा दशक लाग्न सक्छ मित्र तर लागिरहनु पर्छ इमानदार भएर” उसले थप्यो।

“तिमीहरू पढ्दै छौ अहिले र तिमीहरूको पनि खाँचो हुने छ एक दिन यो समाजलाई” उ क्रान्ति पछिको योजनामा प्रस्ट भए जस्तो लाग्यो।

“परिवर्तन पछि पनि राम्रा र असल मान्छेहरूको खाँचो पर्छ समाजलाई क्रान्ति सफल भई सके पछि समाजलाई व्यवस्थित गर्ने पढे लेखेका र असल मान्छेहरूको खाँचो पर्छ। म कुनै दिन तिमीलाई कामको जिम्मेवारी दिएर आए भने नौलो नमान्नू” उसले थप्यो।

“कति ठूला कुरा गर्छौ तिमी र तिम्रो कुरा बुझ्न अझै पनि गाह्रो हुन्छ मलाई” मेले थपे।

“सबैले सबै कुरा बुझ्न गाह्रो भएर त बुझाउनको लागि यत्रो लडाई लड्दै छौं हामी।“ उसले भन्यो।

तिमी कुन ठाउँमा र कसरी लड्दै छौ त? मैले सोधे।

“म बिधार्थी संगठन विभागमा छु। लडाईको अग्रिम मोर्चामा छैन, अहिले घाइते छु, सायद हतियार विभागमा काम गर्छु केही समय” उसले यस पछिको योजना पनि बतायो।

“अ साच्चै बिहे गर्‍यौ?” उसले कुरा अन्तनै मोड्न खोजे जस्तो लाग्यो।

“छैन, तिमीले गर्‍यौ?” मैले सोधे।

“छैन र अहिले नै गर्ने बेला पनि आएको छैन र पार्टीसँग सोधेको पनि छैन”। सम्पूर्ण जीवनै पार्टी र देशकै लागि नै हो भनेर सबै सुम्पिएको जस्तो लाग्यो मलाई। सम्पूर्ण रूपमा जीवन पार्टी र देशलाई नै सुम्पिएर हिँडेको उसको यो कुरा सुन्दा मलाई नौलो लागेन।

“अब अहिले तिमी कहाँ जान्छौ त? समय छ भने आज मेरोमा बास बस, भोलि बिहानै निस्के हुदैन?” मैले घर लैजाने कुरा गरेँ।

“जान त मन छैन, बस्न त हुन्थ्यो तर केही कामहरू बाँकी छन् र आजै सक्नु पर्ने छ। म आजै जानु पर्छ” संगठनकै कामले उ त्यहाँ आएको थाह भयो।

“मिल्छ भने बसौँ, धेरै कुरा गर्नु छ, दुःख सुखका” मैले जोड गरे।

“म बस्छु भोलि कसैले थाह पायो भने, तिमी र तिम्रो परिवारलाई निकै दुख दिने छन् राक्षसहरूले” उसले भन्यो। मैले निकै जोड गरे तर उ बस्न मानेन।

त्यस पछि हामीले चिसो खायौं र माथि बजारमा आएर उ बुटवल जाने बस चढेर गयो। मैले उ बसमा चढिन्जेल पछाडी बसेर हेरिहरेँ। त्यो नै हाम्रो जीवनको अन्तिम भेट र बिदाइ थियो भन्ने मैले सोचेको पनि थिईन। उ पातलो, थकित र घाइते शरीर लिएर उनकै भाषामा दुस्मनहरूको घेरा बन्दी तोड्दै थियो र गुपचुप यात्रामा निस्कियो।

त्यसको तीन वर्ष पछि म मेरै पारिवारिक विवाह समारोहमा सहभागी हुन घर गएको थिए। बिहेको अघिल्लो दिन भोलि गण्डकी बन्द भन्ने खबर आयो। हामी बिहेको जन्ती लिएर बस चढेर जानु पर्ने थिएन तर पनि चाहिने समानहरू र बिहेको चटारोमा बन्दले असर त गर्ने भयो भन्ने लाग्यो। यसै बीचमा, पोखरा वरिपरिकै गाउँ कतै खोल्सोमा राखेर ढुँगाले थिचेर उनको हत्या गरियो रे भन्ने समाचार आयो। उनकै हत्याको विरोधमा बन्द आयोजना गरिएको थियो। मलाई यो खबरले मलाइ निकै दुखी बनायो र निकै दिन सम्म उसको अनुहार मेरो आँखामा आइरह्‍यो। त्यस बेला देशको लागि इमानदार भएर आफ्नो जीवनको गर्ने र खाने बेलामा समाज परिवर्तनको सपना देख्‍ने, त्यो जोसिलो युवा मेरा साथी मात्र हैनन् बरु देशकै महान् शहीद भएको भनेर चित्त बुझाउनु बाहेक केही विकल्प रहेन। तिमिलाइ

आज शहीदहरूको परिभाषा फेरिएको छ। उनले चाहेको सामात्र यस्तै हो वा हैन, उनी भएका भए अझै राम्रो सँग सम्झाउन सक्थे होलान्। अथवा म समय मिलाएर सोध्थे हुँला। समाजलाई परिवर्तन गर्न हिँडेको एउटा ठिटोले जीवनलाई बीचमै रोकिदियो वा बलिदान गरिदियो। आज उसको त्यो त्यागको आडमा कति कामहरू कसरी भइरहेका छन् त्यो आज हामी सबैलाई थाह छ। आज समाज र सोच परिवर्तन हुँदै गर्दा शहीदहरूको परिभाषा पनि परिवर्तन भएको छ। मलाइ सबै शहीदहरूलाई सोध्न मन छ, “के सबै शहीदहरू चाहेर नै शहीद भएका हौ त?” “तिमी शहीद हुन योग्य छौं की छैनौ?” “कतै जबरजस्ती शहीद बनाइएका त हैनौ?” आफूसँग कुरा नमिल्ने जतिलाई मार्दै, भाग्दा भाग्दै पछाडि गोली लागेर मरेका शहीद पो हौ कि? हामीलाई भूपीले भने जस्तै बाँचेर गाह्रो भइरहेको छ। के तिमीहरूलाई मरेर शान्ति भा छ? साँच्चै तिमीहरूलाई के थाह, यहाँ तिमिहरूको रगतमा होली खेलेकाहरुको भोग देखेर निश्चय पनि गाह्रो भएको छ हामीलाई बाच्न।

आज उ जीवित भएको भए, मलाइ पनि राज्यको कुनै उच्च ओहोदा, राजदूत बा योजना आयोगमा सिफारिस गर्दै भनेर पछि लाग्थे होला। सुझबुझ भएकाहरु भनिएका हामी, सिफारिस र चाकडीकै भरमा मेरो साथी बा सहपाठी भनेर ठूला ठूला मञ्चमा बोल्थ्यौ होला। उ आफै कुनै ठूलो ओहोदामा बसेकै भए पनि कम्तीमा घरमा श्रीमतीलाई उसको फोटो देखाउँदै, उ मेरो साथी हेर भनेर छाती फुलाउथे होला। शहीदहरूकै लिस्टमा नाम रहदा समेत यसरी शहीद बन्न सक्नु पर्छ भनेर आफ्ना छोरा छोरीलाई सिकाउन सक्दिन म, किनकि अहिले परिभाषा र तरिका फरक हुँदै छ बलिदान, शहीद र जीवन दर्शनको। यस्तो चाडै परिभाषाहरू परिवर्तन होलान् र मात्र भित्ताहरूमा आफ्नो फोटो राख्‍नकै लागि यत्रो ठूलो बलिदान दिएको हो झै लाग्दैन। भित्तामा फोटो त फटाहा, चोर र गद्दारहरूको पनि टाँसिएकै थियो। हिजो राजाहरूको पनि फोटो गर्व साथ भित्ताहरूमा टाँसिन्थ्यो सलाम गरिन्थ्यो र प्राण भन्दा प्‍यारो ठानिन्थ्यो। समाज परिवर्तन हुँदै गर्दा यो सबै परिवर्तन भयो। तर देश समाज र जनताका निम्ती निश्वार्थ भएर लाग्नेहरूको दर्जा र तुलना.......?????? यहाँ मरेर गएका शहीदहरूको के डर? डर छ त बाचिरहेका थर्काउने, लुट्ने र असुली गर्ने शहीदहरूको पो छ त। चार पाँच जनाको समूहको शहीद, गाउँ र टोलको शहीद, घर्मको शहीद र जातीको शहीद, बिजुली चोर्दा करेन्ट लागेर बनेका शहीद, डनहरुको लडाइमा मरेका शहीद आदि आदि, थुप्रै स्तर र क्षमतामा विभाजित शहीदहरू.. चेतना भया..

राजनैतिक विचारका अनेकौ आधारभुत कुराहरुमा मतभेद हुँदा हुँदै पनि, बिचार भन्दा माथि मैले एउटा असल मित्रलाई(शहीद विजय ढकाल) गुमाएको सत्य कथा हो। मःम खान जाँदाका (हामी सगै जान्थ्यौ तर उसले भने खादैन थियो), बनभोज खान जादाँका, फेवातालमा डुगाँ चलाउन जादाँका समय र उ सँगको अनेकौँ ठट्यौली संवादहरू मेरो मनस्पटलमा अझै ताजै छन्। मैले अन्तिममा भनेका विभाजित शहीदहरूको बीचमा, देशका लागि इमानदार, समाज परिवर्तनको लागि जीवन नै फालेका शहीदहरू देख्दा चित्त बुझ्दैन। अझ यीनै शहीदको खेती गरेर, इमानदार नभई उनैको रगतलाई मागी खाने बाटो बनाएको देख्दा मन पोलेर आउँछ र निकै दुःख लाग्छ।

(तिमीलाइ धेरै धेरै सम्झना र नमन)

 

061343_Bijaya_dhakal

 

 

(शहीदः विजय ढकाल)

»»  पुरै पढ्नुहोस

Tuesday, February 7, 2012

बादशाह र तुरूपको एक्का

सबै भन्दा पहिले केही रमाइला र यथार्थ जापानी किस्साहरू भन्छु म..

एक पटक एउटा बेल्लौरे( बेलायती) कुकुरले सागाकै पार्कमा घुम्न गएको बेला मलाई बेस्करी भुक्यो। म एक सुरले हिँडिरहेको थिए, बेस्करी झस्किएँ। म कुकुर देखेर सानैबाट डराउने मान्छे। लामो सिक्रीमा बाँधेर डोराउँदै गरेकी बुढी आईमाईले मेरो अगाडि आएर तिन चार पटक निहुरिएर माफी मागिन्।

Hanami 042

(सागा शहरको पार्क)

फुकोओका शहरमा हामी सपरिवार डुल्दै थियौँ। व्यस्त सडक र ठूला ठूला भवनहरूले हामीलाई आकर्षण गरिरहेको थियो। त्यहीनै भवनहरूलाई पृष्ठभूमिमा राखेर बाटोकै छेउमा हामी पालै पालो फोटो खिचिरहेका थियौ। फोटो खिची दिने अरू कोही नभएको ले हामीले सबै परिवारको फोटो एकै साथ खिच्न पाइरहेका थिएनौ। त्यसै बीच म परिवारको फोटो खिचिरहेको थिए, मेरो पछाडि छेउनेरै एक जना युवक उभिए। मैले उसको बाटो छेकेकी भनेर माफी मागेँ। उसले म सँग मेरो क्यामेरा मागेर, तपाइहरूको परिवारको फोटो म खिचि दिउँ भने र हाम्रो फोटो खिचिदिए। फोटो लिई सके पछि उनी मुसुक्क हाँसेर आफ्नो बाटो लागे।

जापान बसाइमा सबै भन्दा सजिलो साइकल। साइकल नभएको मान्छे र घर छैन भने पनि हुन्छ। ठूला ठूला कम्पनीका मालिकहरू पनि सकभर साइकलमै यात्रा गर्न पाए हुन्थ्यो जस्तो गर्छन्। मैले काम गर्ने ल्याबको छेवैमा रहेको ल्यावमा एक जना बंगाली बिधार्थी डक्टर गर्न आए। उनको पुरा छात्रवृत्ति थिएन। त्यसैले उनले तत्काल नयाँ साइकल किन्न सक्ने स्थिति थिएन। संयोगले उनको र मेरो डेरा एउटै घरमा थियो। उनि ल्यावमा आएको दिन मलाई भेट्न मेरो कोठामा छिरे र परिचय गरे। मैले उनी नयाँ भएकोले केही आवश्यक छ भने भन्नु, मैले गर्न सक्ने भए गर्ने छु भनेँ। उनले यसै बीच आफूसँग साइकल नभएको ले के गर्ने होला भनेर सुनाए। मलाई जापानी लेख्‍न नआउने हुँदा मेरै ल्याबको एक जना मेरै सुपरभिजनमा अन्डरग्राडुयट गरिरहेका जापानी साथी फुकोकालाई साइकल चाहिएको रहेछ भनेर सुनाएँ।

 

P4150052

(बंगाली साथीको साइकल)

हाम्रो खाना पकाउने किचन सबैको साझा हुन्थ्यो। धेरै चुलो र फ्रिजहरू राखिएका हुन्थे। जुन खाली छ र जसमा मन लाग्यो त्यसमै पकाइन्थ्यो। शनिवार बिहानै खाना पकाउँदै गर्दा, एक जना अपरिचित जापानी (मैले उनको नाम बिर्सिए) बूढो मान्छे मेरो नाम लिदै किचनमा आईपुगे। उनले आफ्नो हातमा एउटा चापी र पाँच सय येन (जापानी रुपैया) देखाउँदै भने, “तपाइलाई साइकल चाहिएको रहेछ। मैले मेरो घरमा नयाँ साइकल किनेको छु, यो पुरानो हो तर राम्रो काम गर्छ। पछाडिको टायर पुरानो थियो, फेरि दिएको छु। यो साइकल हिजो फाल्न खोज्दा साइकल चाहिएको छ भन्ने खबर पाएर आएको हुँ। यो पाँच सय येन, साइकल मेरो नामबाट तपाइको नाममा नामसारी गर्न प्रहरीमा बुझाउनु पर्छ, लिनुहोला”। मैले मेरो बंगाली साथीलाई बोलाएँ। उसले साइकल र पैसा दुबै बुझ्यो। (प्रहरीकोमा गए पछि साइकल दर्ता गर्न छ सय यन लाग्दो रहेछ भनेर भन्दै थिए त्यी साथी….)

चोरी र हराएको सामानको प्रशंगमा मेरो दुईवटा अनौठो अनुभव छन्. पहिलो पटक २००४ मा जापानबाट नेपाल फर्कँदै गर्दा २ घण्टा अगाडिनै एअरपोर्ट पुगेको थिएँ। एक घण्टा पछि मात्र काउन्टर खुल्ने थाह पाएर नजिकैको भेन्डिंग मेसिनबाट (vending machine) चिया किनेर प्रतीक्षालयमा बसिरहेको थिए। लगभग एक घण्टा त्यहाँ भइरहेको चहलपहल हेरेरै बिताएँ। एक घण्टा पछि, थाई-एअरको काउन्टरको स्थिति कस्तो छ भनेर बुझ्न त्यहाँबाट आफ्नो सामान घिसार्दै हिडेँ। काउन्टर खुल्नै लागेको र लाइन सुरु भइसकेको रहेछ। म पनि लाइनमै बसेँ। केही समय पछि, काउन्टर खुलेर सामानहरू जाँच हुदै थियो, एक जना महिला मेरो छेउ नेरै आएर मलाई मेरो पैसा राख्‍ने पर्स देखाउँदै सोधी। “के तपाइको को हो यो पर्स? मैले त्यस बेला जापानी बुझ्दिन थिए तर मैले मेरो पर्स हेरेर थाह पाए मैले हराई सकेको रहेछु। म प्रतीक्षालयमा बस्दा त्यी महिला त्यहाँ भई सफा गरिरहेकी थिईन। उनले मलाई खोजेरनै मेरो त्यो पर्स मलाई फिर्ता दिईन। म कति खुसी भए भन्ने कुराको सीमानै रहेन। यस्तो बेलामा सबैले भन्छन् नि, पैसा नपाए पनि कागजहरू महत्वपूर्ण थियो, पाउन पाए हुन्थ्यो। तर मेरो त्यहाँ पैसा बाहेक महत्वपुर्ण कागज केही थिएन। वास्तवमै धेरै पैसा थियो त्यसमा।

कुरा २०१० को मार्च तिरको हो। जाडो भर्खर सकिएर पहारिलो घाम सुरु हुँदै थियो। साइकल लिएर डेराबाट कलेज हिँडे। मेरो डेरा र कलेज पन्ध्र मिनेट साइकल दूरीमा थियो। मेरो अफिस भने ल्याब भित्रै थियो। कुर्चीमा ज्याकेट राखेर, म तल चिया खान झरेँ। चिया लिएर कोठामा फर्कदा फर्कदै मेरो मोबाईलको घण्टी बज्यो। हाम्रो international student सेक्सनमा काम गर्ने महिलाको फोन रहेछ। उनले मलाई सोधिन “तपाइको केही हराएको छ ?” मैले सिधैँ छैन भनेँ। उनले भनिन् “तपाइको क्रेडिट कार्ड होल्डर पर्स यहाँ आई पुगेको छ। एक जना बाटोमा हिँड्ने मान्छेले सडक पेटीमा खसेको अवस्थामा फेला पारेर, त्यो कार्ड होल्डरमै भएको कलेजको परिचय पत्र देख्‍ना साथ यहाँ ल्याएर छोडी दिएका छन्।“ म झस्के, कारण त्यहाँ कलेजको परिचय पत्र, जापान बसाईको परिचय पत्र, स्थानीय बैकका र केही अमेरिकी बैक खाताका थुप्रेँ क्रेडिट र डैबिट कार्डहरू थियो। मैले त्यस पछि केही हप्ता लगातार आफ्नो कार्डको ट्रान्जिक्सन हेरि रहे तर कतै केही नौलो चलखेल भने पाईन।

lL5sET396253-02 (सफा शहर)

हामी सबै परिवार एउटा स्थानीय सुपरमार्केटमा जानको लागि टैक्सि लिएर हिँड्यौ। मेले जानु पर्ने ठाउँको नाम भने ड्राइभरलाई। उनले गलत बुझेछन् र अर्कै ठाउँमा लागिदिए। जानु पर्ने ठाउँ भन्दा पाँच मिनेट वरैको स्टोरमा लगेर रोकिदिए। पाँच मिनेट सिधैँ गएको भए मैले भनेकै ठाउँमा पुगिन्थ्यो। मैले ड्राईभरलाई भने, हामी आउन खोजेको यहाँ हैन, अर्कै ठाउँमा हो। तपाई सिधैँ हिँड्नुस भने र पुन त्यो ठाउँको नाम पनि भनिदिए। त्यो ठाउँको नाम भन्ने बित्तिकै उनले टोपी निकालेर झुक्दै माफी माग्न थाले। उनको अनुहार यस्तो नीलो र कालो देखियो कि म आफैलाई असजिलो महसुस भएर आयो। त्यसपछि हामीले भनेकै ठाउँमा पुगिसके पछि मैले मनिटरमा पैसा हेरेँ। अठार सय येन भएको रहेछ। पर्सबाट पैसा निकाल्दै गर्दा त्यी ड्राइभर हाम्रो ढोका नेर आएर हामी भए नेरको ढोका खोलेर फेरि टोपी निकालेर, शिर निहुराउँदै माफी पो माग्न थाले। हामी टैक्सिबाट बाहिर ओर्लियौ, मैले हजारको दुईवटा नोट दिन खोजेँ। उनले त्यो पैसा लिननै मानेन्। बरु लगातार माफ मागि रहे। मैले केही भएको छैन, कहिलेकाहीँ यस्तो हुन्छ र त्यसमा पनि यो मेरै गल्ती हो किनकी मैले राम्रोसँग तपाइलाई बुझाउन सकिन भनेर भनि रहेँ। तर उनले मानेनन् र अन्यमा पैसा नलिएरनै फर्किए।

हामी कत्तिको ख्याल गर्छौ खै। तर हाम्रो वरिपरिका जनावर, पशुपंछीहरु हाम्रो व्यवहार र क्रियाकलापसँग अभ्यस्त हुन्छन्। आँगनमा बिहानै घान र कोदो खान आएका भगेँरा हुन वा ढुकुर, हामीलाई ढोकामा देख्‍ना साथ वा हाम्रो हात हल्लने बित्तिकै भुर्र उडेर जान्छन्। भगेँरा, डांग्रे, वा कुनै जनावर मान्छे देखे पछि जति चाडै उडेर हामीबाट टाढा जान्छन् ठीक त्यसको विपरीत यहाँ कुनै चरा वा जनावरको नजिक जानु भयो भने उनीहरू उडेर जाँदैनन् वा डराउँदैनन्। मैले कहयौ पटक नजिकै गएर खुट्टाले भगेँरा र परेवाहरूलाई बिच्काउने प्रयास पनि गरेको छु तर उनीहरू मैले खुट्टा फाल्दा बुरुक्क उफ्रिएर अलिक पर सर्ने तर उडेर नजाने अनि फेरि चाहारा टिप्न व्यस्त हुने देखेको छु। मैले निकै पटक यस्तो गरेको छु। मैले कति लाटो हुँदो रहेछ भनेर भन्ने गरेको थिए। तर बिस्तारै बिचार गर्दा के लाग्यो भने, यहाँ केटाकेटी न बूढाबूढी जनावरहरूलाई चराचुरुङ्गीहरूलाई बिच्काउने, मार्ने वा तर्साएर उडाउने गर्दा रहेनछन्। हामीले ख्याल गरेको हुनु पर्छ हाम्रो घर गाउँ तिर जसरी गाई भैँसी चौरमा चर्दा उसैको वरिपरि वा उसै माथि बसेर चराहरु फट्याङ्ग्रोका शिकार गरिरहेका हुन्छन्। कारण गाई भैँसीले उनीहरूलाई केही गर्दैनन् भन्ने जानेका हुन्छन् उनीहरू। त्यसैगरी त्यहाँका मान्छेहरू प्रकृतिसँग निकै नजिक रहेर उनीहरुलाई व्यवहार गर्दछन्। घरमा सर्प आयो भने सर्पलाई मार्दैनन् बरु जनावर उद्धार केन्द्रलाई फोन गरेर उनीहरूलाई बोलाउँछन्।

शहरको लगभग मध्य भागमा एउटा राम्रो बगैँचा थियो। त्यही बगैँचाबाट केही पर एउटा सानो शहरी बस्ती पनि रहेछ। त्यही बस्तीको एउटा घरमा एउटा मान्छे बस्थ्यो। उसको परिवारको नाममा उसले पालेको सानो कुकुर मात्रै रहेछ। मालिक सधैँ काममा जान पर्थ्यौ। काममा जान ट्रेन चढ्नु पर्ने भएकोले, त्यसै बगैँचाको छेउनेर भएको ट्रेन स्टेसन सम्म उनीहरू सँगै आउँदा रहेछन्। त्यो मालिक र कुकुर बीच निकै प्रेम थियो। कुकुर पनि इमानदार र मालिकलाई निकै माया गर्ने गर्थ्यो। काममा जाँदा उसको कुकुर घरमा एक्लै बस्नु पर्ने भएकोले, मालिकले आफ्नो कुकुरलाई सधैँ त्यही बगैँचामा लगेर छोड्दा रहेछन् र आफू ट्रेन चढेर काममा जाने रहेछन्। बेलुका मालिक नआए सम्म त्यो कुकुर त्यही बगैँचाको छेउमा बसिरहँदो रहेछ र बेलुका मालिकसँगै घर फर्कने रहेछ। दुर्भाग्यबस एक दिन घर फर्दकै गर्दा ट्रेन दुर्घटनामा  मालिकको मृत्यु भएछ। उता कुकुर मालिकलाई कुरेर बसिरहेको थियो। त्यसपछि मालिकको प्रतिक्षामा सधैँ त्यही कुरेर बसिरह्यो र अन्त्यमा उसले त्यही नै मालिकको प्रतिक्षा गर्दा गर्दै  प्राण त्याग गरिदिएछ। सन १९२३ बाट उसले त्यहा कुरेर बस्यो र आखिर १९३५मा त्यहीनै प्राण त्याग गर्‍यो। यो घटना पछि त्यो कुकुरको स्वामी भक्ति र इमानदारिताको संझना गर्दै त्यो ठाउँको पार्कको नाम “सिबुया-पार्क” त्यसै कुकुरको नाम सिबुयाबाट राखिएछ। आज पनि त्यो सिबुया-पार्क जापानको टोक्योमा छ।

sibuya park( सिबुया पार्क)

सन २००९ को अक्टोबरमा एक महिनाको लागि अमेरिका जाने कार्यक्रम बन्दै थियो, त्यसै बीच नेपाल हुँदै जाने निर्णय गरेँ। अलिक चाडै टिकट काट्दा टिकट सस्तोमा पाउन सकिने सम्भावनालाई सोचेर, मैले स्थानीय JB travel agency बाट एक लाख साठी हजार जापानी येन दुई महिना अगाडि नै बुझाएँ। तर उसले मलाई रसिद मात्र दियो टिकट दिएन। टिकट बनाउन केही समय लाग्छ र हामी तपाइलाई ई-मेल गरेर पठाई दिन्छौ वा तपाइ यही आउँदा पनि हुन्छ भनेर भनियो। उड्ने दिन भन्दा पन्ध्र दिन जति रहदा मलाई ई-मेल र फोन दुबै आयो। मैले त्यही टिकट लीन आऊछु भनेर भने र त्यसै गरेँ। मैले खाममा राखिएको टिकट बुझेँ। टिकट सँगै अर्को एउटा रसिदमा मलाई सही गर्ने भनियो। मेले के हो यो भनेर सोधेँ। मलाई टिकट काट्न सहयोग गर्ने त्यी महिलाले भनिन, “तपाइले टिकट बुकिङ्ग गर्दाको र अहिलेको टिकट मूल्यलाई तुलना गर्दा, अहिले सस्तो भएको रहेछ। त्यसैले हामी तपाइलाई पैँतालीस हजार तीन सय दश येन फिर्ता गर्दै छौं, कृपया यहाँ सही गरी दिनु होला। मैले ती महिलाको अनुहारमा सहजता देखेँ। तर मेरो आफ्नो अनुहार हेर्न मसँग ऐना थिएन तत्कालै।। आदि आदि....सहज र सरल जीवन शैलीका केही उदाहरणहरू हुन यी सबै जापानी समाजका। उनीहरुको जीवन बाच्ने र कामलाई परिभाषित गर्ने तरिका हाम्रो भन्दा फरक छ। एउटा उदाहरण यसमा पनि हेर्नु होला।

लामो युद्ध लडिसके पछि, जब युद्धमा हार भयो, कंगाल अस्तव्यस्त भइसकेको देश मात्र थियो उनीहरूको हातमा। आर्थिक र सामाजिक रूपले यस्तो दर्दनाक स्थिति आई पर्यो कि खानको लागि समेत केही बाँकी रहेको थिएन। समुन्द्रमा जाल हान्यो, जे आउँछ त्यही बाँडेर खान थाले उनीहरू। काँचै माछा खानु पर्ने बाध्यताले, त्यो संस्कार र परम्परालाई अझै बढी प्रोत्साहन मिल्यो। जब संकट आई पर्यो कहिलै पनि आफ्नो समाज र गाउँमा लुटमार हुन दिएनन्। सबैले काँचै भए पनि बाँडेर खाए र मेहनत गरिररहे। त्यस्तो असामान्य अवस्थामा पनि सामाजिक संरचना कहिलै भत्कन दिएनन्। समाजको प्रगतिको कुरा यहाँबाट सुरु भयो जापानीहरूको।

 

kenryu park 250 (जापानी चिया समारोह)

जापानी समाज त्यत्तिकै, आफै वा भगवानले बनाइदिएको वा बनेको हैन। जापानीहरूको अस्तव्यस्त जीवन वास्तवमा दोस्रो विश्व युद्द पछिको देन थियो। यत्रो मान्छे मर्ने गरि गरिएको बम आक्रमण पछि पनि आज जापानीहरू अमेरिकी भने पछि हुरुक्क गर्छन्। भित्र जे होस बाहिर अमेरिकी भने पछि हामीले सोचे भन्दा बढी नतमस्तक हुन्छन्। बुझ्नेले बुझेका छन् कि अमेरिकी कारण जब युद्द अन्त्य भयो, तव उनीहरू बिग्रिएको, स्रोतहरू गुमाएको, मानसिक तवरले पीडित देश लिएर आर्थिक क्रान्तिमा लाग्न परेको थियो। जब पहिलो पटक जापानीहरूले १९६४ मा ओलम्पिकको आयोजना गरेर सफलता पूर्वक सम्पन्न गरे त्यसै बेला देखि नै जापानले अहिलेको स्थितिको रेखा कोर्न थालेको थियो। जुन बेला जापानीहरू ओलम्पिक आयोजना गर्दै थिए, त्यस बेला उनीहरू कुनै खेल प्रेमी भएर आयोजना गरेका थिएनन्। उनीहरूले बुझेका थिए कि यो अवसर नै आर्थिक क्रान्तिको सुरुवात हुन सक्छ। जब ओलम्पिकको आयोजना सुरु गर्ने तयारी गरियो त्यसै बेला देखि नै जापान सरकारले सबै जनतालाई सभ्यता र सिस्टताको तालिम पनि दिएको थियो। हाम्रो देशमा संसार भरका मान्छेहरू आउदैछन, हामीले कतै फोहोर गर्न हुँदैन, ट्रेन चढ्दा वा कुनै काम गर्दा लाइनमा बसेर पालै पालो प्रयोग गर्नु पर्छ, हामीले अरूका कुरा सुनेर मात्र जबाफ दिनु पर्छ नत्र हाम्रो संसारभरि बेइज्जत हुन्छ भनेर सिकाइयो। उनीहरूले पुरै देश भर नै ओलम्पिकको लागि मात्रै स्टेडियम बनाएर मात्रै तयारी गरेका हैनन्। उनीहरूले पुरै देशका जनतालाई त्यसै अनुरूप तयारी पनि गरेका थिए। ओलम्पिक सकियो र निकै राम्रो आर्थिक जुगाड गर्यो जापानले त्यस बेला तर त्यो भन्दा पनि ठूलो कुरा सम्पूर्ण जनतामा सभ्यता र अनुशासनको सभ्य समाज बसाल्न सफल भयो। । उनीहरू आफ्नो समस्या र दुःखलाई मिलेर नै टार्न सफल भए र सबै मिलेर, एक भएर नै सबै काम गरे।

DSC00024

(अहिलेको नागाशाकी शहर)

हामीले पनि यस्तै र यो भन्दा पनि राम्रो समाज बनाउनु छ।

धनी गरिब, दुखी, सुखी, सानो ठूलो, तेरो मेरो कुनै भौतिक संरचना हैन्। यो त मान्छेको सोचले बनाएका पर्खालहरू हुन्। देशकै नाममा एक हुने, घर्म भन्दा मानवताको नाममा एकता हुने हो भने यत्तिका स्रोत साधन र चेतनशील जनताले भरिएको हाम्रो समाज सम्पन्न हुन जापानले जस्तो पचासौं बर्ष कुर्नु पर्दैन। कसैको घर कब्जा गरेर, कसैको सम्पती बाढेर, कसैलाई मारेर र कसैलाई सानो देखाएर मात्रै देशमा आर्थिक क्रान्ति हुँदैन भन्ने कुराको उदाहरण हामीसँग थुप्रेँ छन्। मात्र हामी एक हुनु पर्यो देशका लागि तर आफ्नो समुदाय, घर्म र सीमित स्वार्थका लागि लड्ने हो भने हामी नेपाली कहिले हुँदैनौ। डाइमन शमशेरले भने जस्तै “नैलालाई दैलाले खान्छ, दैलालाई गुलामले, गुलामलाई मिस्सीले खान्छ, मिस्सीलाई बादशाहले र बादशाहलाई एक्काले खान्छ। एक्का भनेको एकता हो र एकता भयो भने, हातै भरी हतियार लिएर उभिएहुकुमको एक्काको बादशाह पनि ढल्नु पर्दछ”।

बादशाह ढलेर मात्र हुदैन। बादशाह ढलिसके पछिको क्रम भङ्गताले पुरै सिलसिला र एकरूपतालाई जसरी बिगार्छ, त्यसलाई पनि परास्त गर्ने निहुँमा हेरेक तहमा नयाँ बादशाहीहरू जन्मने सम्भावना रहन्छ। सबै मिलेर एउटा बादशाहलाई फाल्न र ढाल्न सजिलो हुन्छ तर स्वन्त्रताको नाममा, घर्मको नाममा वा भनौं आफ्ना निहित स्वार्थ र अधिकारको नाममा घरघरमै जन्मिएका नयाँ बादशाहहरूलाई ढाल्न सजिलो हुदैन। यदि यस्तो भयो भने “एक्का” नै एकताको नाममा नयाँ बादशाहको रूपमा आफूलाई उभ्याउन सक्छ। यस्तो एकताको बादशाहले जनतालाई ललीपप बाढेरै भए पनि आफू विरुद्ध जान सक्ने एक्कालाई तुरूप लगाउन सक्छ। “होसियार” जो जसले यस्तो सोचेको छ उसले नभुलोस्, एक्का खाने तुरूपहरू धेरै हुन्छन् तर त्यसै बीच एउटा सर्वशक्तिमान् तुरूपको एक्का पनि हुने गर्दछ त्यसै खालमा। त्यसैले इमानदार, होसियार र आत्मीयताको एकता भन्दा अर्को विकल्प छैन देश बनाउन, चलाउन र सत्ता भोग गर्न.... चेतना भया!!!

जापानी समाजका नकारात्मक पक्षलाई कुनै दिन केलाउने प्रयास गर्ने छु। सभ्य समाज भएर पनि केही खतरनाक विकृतिहरू छन् र हुर्केका छन् त्यहाँ र त्यसबाट पनि हामीले शिक्षा लिएर अगाडि बढ्न सक्छौ र के कस्ता गल्तीहरू गर्नु हुँदो रहनेछ भनेर बुझ्न सक्छौ।

»»  पुरै पढ्नुहोस

Friday, January 20, 2012

विभाजित मस्तिष्क र खण्डित चेतना

शून्य मस्तिष्क भनेको के हो? पिण्ड वा भौतिक स्थिति मात्र मस्तिष्क हैन। शून्यमा जानु चेतनाको कुरा हो कि हैन, मैले पहिलेनै बहस गर्ने प्रयास गरेको थिए(चेतना शून्यमा जानु योग हो वा मृत्यु)। सबै सोच्छन्, गर्छन् तर भोग कसैले गर्दैनन्। Cranial cavity भित्र रहेको नशादार मांसपेशी मात्रै सोच्ने हो भने संसारका अन्तरकुन्तरमा रहेका सबै प्राणी र जीवसँग पनि त त्यो छ। मेरो, उनको र तपाइको भन्ने बोध कहाँबाट आउँछ? मलाई, उनलाई र तपाइहरूलाई भन्ने बोध किन आउँदैन? Quantum consciousness को कुरा म पनि स्वीकार गरि हाल्ने स्थितिमा छैन किनकी स्वयं म आफै यो कुरामा कन्सियस छैन। वा चेतनाले चेतनाकै कुरा सम्म पुग्ने योग वा प्रयोगको स्थितिमा म छैन।

brainजे होस स्वार्थी छ सायद त्यो पिण्ड र त्यस्तै संरचनाका सङ्केतहरू प्रवाह भएका छन् शरीर भरी। शरीर भरी चल्ने, घनघटा संवाद र सङ्केतहरू सहितको एकमुस्ट संरचना हो भने, किन द्वेषी वा द्वैत व्यवहार गर्छ त्यसले? त्यति सजिलो छैन सोच्न र परिभाषित गर्न तर पनि जन्मजात संरचनाकै गुण र अवगुणमा हामी किन बन्धक छौ। हामीले चाहने भनेको त्यही संरचनाले सङ्केत गरेको मात्र हो भने पनि किन महापुरुषहरूको जीवन समेत सपाट छैन? कहीँ न कहीँ काम त गरेकै छ। ज्ञान, उपदेश र वेदान्तका कुराले त्यसलाई बिरक्त्याउन सजिलो किन हुन्छ? विचलित बनाउन सकिने, दबाबमा राख्न सकिने हो भने कसरी एकै संरचनाका सङ्केत स्वरूप परिभाषित गर्ने सकिन्छ? तह र विभागमा विभाजित तर मूल सङ्केतले निर्देशित संरचना नै चेतनाको बाहिरी स्वरूप हो भने, सबै संरचनालाई एकै नाम दिन हुँदैन थियो। देख्‍ने, सुन्ने, छाम्ने र बोध गर्ने तहहरूको यथोचित व्यवस्था पन हो भने, त्यसले त्यही स्वरूपमा काम गर्न पर्थ्यो। त्यही संरचनाको प्रभावोत्पादक मनमा गलत कामको बोध गराउँदै गर्दा, अर्को तर्फ राम्रा कामको चेतना आईरहन्छ। यहाँ नियन्त्रण कसले गर्छ भन्ने नै परिभाषित छैन। कसले चलाउँछ भन्ने नै हेक्का गरिएको छैन। सबैलाई एकमुस्ट परिभाषित गरिएको छ। मन र तनलाई छुट्टाएर धनसँग जोडिएको छ। चेतना खै? चेतना मन र तन सँग किन छुट्टाउने प्रयास गर्छौ हामी? मन चेतना हो भन्ने कुरामा म प्रस्ट छैन। मनलाई चेतना मान्ने पक्षमा म छैन। माथिनै भने झैँ एउटै संरचनाको प्रभावोत्पादक मन हो भने, मन पनि त्यसैको अंश हुनु पर्छ, न कि पूर्ण। तर पृथक् संरचना मन र तन त चेतनाको पनि दासानुदास संरचना भित्र पर्दछन्। पृथक् बोध, अनुभूति र प्रयोग हुँदा हुँदै पनि हामी किन एउटै खेमामा बाच्न बाध्य छौं? (मैले “मान्छे” नामसँग यहाँ जोड्न खोजेँ)

साँचो अर्थमा भन्ने हो भने यहाँ कुनै कुरा कसैको नियन्त्रणमा छैन। सबैले संरचनिक रूपमा दासत्व स्वीकार गरेका छन् तर कर्म र प्रयोगमा सबै स्वतन्त्र र भिन्न छन्। मन छ तन छैन, तन छ मन छैन, चेतना छ दुर्जेय छैन, खटन छ तर नियन्त्रण छैन, पुरै विभाजित छ तर पनि एकै संरचनाबाट संचालित भ्रममा बाचेका छौ। हामी किन यस्तो अनागत वा अपरिचित संरचनामा होमिएका छौ? वास्तवमा हाम्रो बाध्यता हो यो। हामी बुझ्दैनौ, अनि अलौकिक शक्तिको आडमा कुरालाई, यथार्थलाई परिभाषित गर्न खोज्छौ। त्यसैले हामी आफ्नो अनुकूल भाँचभुँक गरेर, पुर्खाले रेखाङ्कन गरेको शैलीलाई रेजा लगाउँदै बाच्न अव्यस्त भइरहेका छौं। हामी भित्र के छ, के छैनको बोध, हामी के गर्न सक्छौ र के गर्न सक्दैनौ भन्नु भन्दा पनि हामीले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने मात्र यथार्थ त्यही संरचनाबाट निकालेर विभिन्न उपमामा प्रयोग गरेको भए राम्रो हुने थियो।

यथार्थमा प्रकृति भित्रै आ-आफ्नै संरचनाहरू छन्। सबै संरचनामा एउटै परिभाषा, एउटै नियम र एउटै अनुकरण छ अर्थात् विभाजन छैन। बिहान देखि बेलुका सम्मको सबै नियमलाई हेर्ने हो भने हरेक प्राणी, वनस्पतिको एउटै नियम छ। एउटै जीवन शैलीमा चलेको यथार्थ छ। तर हामी मान्छे किन फरक फरक जीवन शैलीमा छौ। हामी बीचको व्यवहार किन फरक फरक छ। हामी बीच यत्रो विभाजन किन? कारण हामी चेतनशील छौ रे। चेतना, मन र तन सबै विभाजित छ र विभाजित संरचनाले भिन्न र विभाजनकै काम गर्दछ। त्यो भन्दा पनि ठूलो र यथार्थ हाम्रो मस्तिष्क विभाजित छ। स-साना अँग र शरीर भित्रको संरचना चलाउने विभाजन भन्दा फरक, हामीलाई पृथक् बनाउने चेतना आफैमा विभाजित भएको हुनु पर्छ। विभाजित मस्तिष्क र त्यसले प्रादुर्भाव गरेको खण्डित चेतनालाई बुझ्ने योग ज्ञान र ठूलो प्रयोगशाला म सँग छैन तर पनि मान्छेहरू बीच, सर्वमान्य सिद्धान्तहरूमा पनि खण्डित चेतनाको बोध वा अनुभव सधैँ भईरहन्छ... चेतना भया.

»»  पुरै पढ्नुहोस

Friday, December 23, 2011

मरुभूमिको चिसो भेडीगोठ र एकाध लाख रुपैयाँ।।।

ताबुक भन्दा दक्षिण-पूर्वी क्षेत्र  कुन बाटोबाट त्यहाँ पुग्यो उसैलाई थाह छैन। एअरपोर्टमा झरेर दलालको पछि लागेर नै विशाल मरुभूमिमा प्रवेश गरेको थियो बज्र नारायण। लगभग एक लाख ऋण लिएर अरब पुगेको थियो र दुई वर्षमा ऋण तिर्यो। काम र दलालको SAUDISAMEWपरिवेशमा फस्दै तातो र चिसोको बेजोड मरुभूमि सगै भेडीगोठमा बाख्रा र ऊँट हेर्ने काम पाएको थियो। भाग्यले साथ दिएरै होला उ सँग आफ्नो कागज र परिचय थियो। उ सँगै कहयौ नेपालीहरू मानव तस्करहरुको फन्दामा परेर बिना परिचय, नक्कली पासपोर्ट लिएर काम गरिरहेका र प्रहरीको कालो सुचीमा अकिंत थिए।

गर्मी भन्दा पनि रातमा हुने चिसो उसलाई गाह्रो लाग्थ्यो। शहर भन्दा अलिक पर, पैसा कम तर खर्च बढी नहुने हुँदा, त्यही काममा जाने बिचार गरेको थियो उसले। काम गरुन्जेल दिनको तातो र रातको चिसोले कहिलै पनि सन्चो र स्वस्थ रहेन बज्र नारायण। जसरी पनि पैसा जम्मा गर्नु थियो। उ त्यहाँ पुगेकै वर्ष, दोस्रो महिनामै आमा खस्दा समेत पन्ध्र महिना पछि खबर पाएको थियो तर पनि त्यस बेला उ घर जान सकेन। जाने पो कसरी, पैसा जम्मा भएको थिएन। घरमा लामो समय खबर नहुँदा सबैले चिन्ता गर्थे। हरेक मान्छेले आफ्नै खालको अड्कल लगाउथे। लामो समय सम्म खबर नहुँदा घरकी श्रीमतीलाई पनि कहिलेकाहीँ शङ्का हुँदो हो। उसको मन नपोलेको हैन तर पनि केही कुराको पर्बाह नगरी घरको गरिबी सम्झेर पैसा जोड्न र जोगाउन तिर लाग्यो। त्यसै बीच चिठ्ठी र खाम भित्र राखेर पठाइने सुर्ती पनि खान छोड्यो। सुर्ती र खैनीको ठूलै व्यापार थियो त्यहाँ। पर ताबुक शहरमा काम गर्नेहरु सँग त्यहाँ जानु अगाडि सम्पर्क गरेको थियो सुर्तीको लागि। अब त्यो पनि महँगो भयो। राम्रै भयो त्यही बहानामा उसले सुर्ती खान छोड्यो।

लगातार तापक्रमको उतारचढाब र धूलोले बिस्तारै बिरामी पर्ने थाल्यो बज्र नारायण। जतिसुकै मुख छोपेर बसे पनि धूलो मुखमा पस्थ्यो नै। तर जे होस उसको भेडीगोठ मालिक भने असल थिए। ऊँटको मासु र दूध खान भने जत्ति पनि पाइन्थ्यो। त्यसो गरीकन जेनतेन अर्को तीन वर्ष मरुभूमिमा बाख्रा र उँटको पछि लागेरनै चानचुन दुई लाख कमायो। केही समय पछि बज्र नारायण तातो, चिसो र धूलोले बेस्करी, बिरामी पर्‍यो र काम गर्न सकेन। मालिकले बिरामी भएको देखेर केही बाटो खर्च दिएर घर पठाई दिएका थिए। जे जस्तो भए पनि उ घरमा फर्किँदा सबै खुसी थिए। श्रीमती बुढा बाबु र छोरी सबैले सन्तोषको सास फेरेका थिए।

केही सानोतिनो व्यापार गरेर गाउँमै बस्ने र भैँसी पाल्ने बिचार बुन्दै थियो बज्र नारायण। भोलिपल्ट बिहानै उठेर खेल्न माथि गाउँ तिर हिँडेकी ८ वर्षकी छोरी बेलुका अबेर सम्म घर फर्किन। छोरीको सबै तिर खोजी भयो, कतै भेटिएन। बेलुका ९ बजे मोबाईलमा घष्टी बज्यो। “दुई लाख रुपैयाँ लिएर आइज, छोरी लिएर जा”

»»  पुरै पढ्नुहोस

Tuesday, November 29, 2011

फूलको आँखामा काँडै संसार..

के युद्ध रचना गर्ने ईश्वर हुन्छ? ईश्वरत्व प्राप्त गर्न बुद्ध बन्नु पर्छ र? के यस्तै भन्दै आएको छ हाम्रो शास्त्रले? हैन भने महाभारतको युद्ध भगवान कृष्णले चाहेको भए रोकिन सक्थ्यो हैन र? ज्ञानी र बुद्धिमानी अर्जुनलाई नै गीता सुनाएर एउटा असल मान्छेलाई युद्दको लागि प्रेरणा दिए उनले। संसारको सबै भन्दा बढी मानव क्षति भएको युद्द थियो त्यो। भनिन्छ आणविक हतियारहरूको प्रयोग समेत भएका थिए त्यस बेला। संसारमा सबै भन्दा पहिले गीताको ज्ञान लिने अर्जुनलाई बुद्ध कहिलै पनि भनिएन। ज्ञानी हुदैमा बुद्धत्व प्राप्त हुँदैन भन्ने यो एउटा उदाहरण हो। लडेर, मारेर र हत्या गरेर मान्छे बुद्ध हुँदैन भन्ने यो भन्दा राम्रो उदाहरण के होला? कर्म नै हो भन्ने नाममा करोडौँ मान्छेको हत्या गर्न लागाउने मान्छे ईश्वर मानेका छौं हामीले। जुवा र तासको खेलमा आफ्नी श्रीमतीलाई समेत दाउमा राख्ने जुवाडेलाई ईश्वर मान्छौ हामी। वास्तवमा हामीले ईश्वरीय लिलाको नाममा गरिएका सबै नराम्रा र दुष्कर्महरूलाई हाँसेरै स्वीकार गर्छौ, चर्चा गर्छौ र त्यसको महिमा गाउँछौं। अर्काकी श्रीमतीको सतीत्व लुट्न जानेहरुलाई ईश्वरको लीला भनेर पूजा गर्ने हामी, एकाध दुई जनालाई दुःख दिने दानवहरूको बिनासको लिलालाई स्वीकार गर्दैनौ । श्रीमानको गल्तीको लागि उनको श्रीमतीको सतीत्व लुट्नु पर्ने बाध्यताको बीच, उनीमाथी के गुज्रन्छ कसैले सोचेनौँ। न ईश्वरले न हामी ईश्वर मान्ने मान्छेहरूले उनको पीडा, उनले जीवनभरि गरेको घर्म नष्ट गर्न ईश्वरनै तम्सेर जाँदा समेत त्यसलाई कथा वा सत्य प्राप्तिको मार्ग भनेर युगौँ सम्म सुन्दै र सुनाउँदै आयौं। ईश्वरनै आफ्नो भक्तको धर्म नष्ट गर्न तयार हुन्छन् भने के को आशा गरेर हामी फेरि उनैको शरणमा जान्छौ? ईश्वरनै हौ भने किन अज्ञानी, घमन्डी र दुराचारी दुर्योधनलाई गीता सुनाएनौ? गीता पढ्न खोज्ने, जान्न खोज्ने मान्छे ज्ञानी हुन्छ तापनि किन ज्ञानीका लागि मात्र प्रयोग भयो? अज्ञानीले किन सुन्न पाएन। ज्ञान त अज्ञानीलाई हुनु पर्ने थियो नि । सुनेर पनि युद्द गर्नु नै छ भने किन सुन्नु पर्‍यो? मात्र प्रतिनिधि उपाख्‍यान...

 

यहाँ पनि त फरक छैन, त्यहाँ एक जनाले गीता सुने, ज्ञानी भए अनि ज्ञानी भएको मान्छेले सबै आफ्नालाई त मारे। जो मरे, आफ्नै मरे र आफ्नै परिवार सुन्य बनाएर राज्य गरे। युद्ध पछि कहिलै, युद्धको समीक्षा गरिएन। युद्दको खर्च र लागत कहिलै भनिएन, तैपनि इतिहास भन्यो, महाभारत तयार भयो। स्वयं ईश्वरले आफू मर्नु पर्छ भनेर सोचेनन्। ठूला ठूला दिव्यास्त्रहरूबाट बचेका उनलाई, सानो सिकारीको वाणले मार्यो। आफ्नै परिवार र आफ्नैको लागि मार्न उनी आएका हुन भन्ने कुरा हामीले बिर्सियौं। आफ्नै दुराचारी मामा मार्ने काम बाहेक, छलकपट र बदमासी नै गरेर ईश्वरत्व प्राप्त गरेका उनकै पुजारी हामी पनि आफ्नैको हत्यामा त लागेका छौ, नयाँ ईश्वर बनाउन उल्लिएर नयाँ अर्जुन खोज्दै। भलै पुरानो गीताबाट प्रेरित नभए पनि नयाँ वादहरूको बीचमा गीता मन्थन गरेर भए पनि त हामी आफ्नैलाई मारेकोमा गर्व गर्छौ। महाभारतमा त गीताले एक जना अर्जुन जन्माए, यहाँ त करोडौँ अर्जुनहरू तयार छन् लड्न र मार्न। हामीले महाभारतकै प्रयोग गरेका हौ त? हौ भने हाम्रो वाद के हो, हामी कुन घर्मका हौ? मान्छे मार्ने घर्मकी नमार्ने घर्म? ईश्वरत्व आफ्नाका लागि मात्रै हैन भने, युद्धको अगाडि आफ्नो शरणमा आएका दुर्योधनलाई किन छलकपट गरेर कम शक्ति दिइयो? दुर्योधनलाई मार्न यत्रो युद्द रचेर, छलकपट गरेर किन यत्रो मान्छेहरूको हत्या गरियो? के उनी आफैले, एक्लैले गर्न सक्थेनन्? युद्ध गर्ने मान्छे भन्दा युद्ध गराउने मान्छे कातर र डरपोक हुन्छ त्यसो भने? मार्नु र मार भन्नु फरक कुरा हो। जे भने पनि मार्ने काममा द्दढशक्ती चाहिन्छ भने मार भन्न कायरता भए पुग्छ। अनि मृत्युमा रमाउने द्दढशक्ती नभएका कायर नपुंसकहरू संसारमा राज गर्छन् उही घर्म, वाद र सिद्धान्तको नाममा।

 

त्यसैले हो त आदमारा जीवनको मुक्तिको खोजीमा बुद्धको पछि लागेका कृष्णहरू र उनका शिष्य अर्जुनहरू? महाभारत सकिए पछि, आफूलाई नमान्ने र नपुछ्ने सबै मारिए पछिको संन्यासी बन्ने कथा उल्लेख नगरिनु, बुद्धकै पछि लागेरै हो त? दण्डकुण्डबाट मुक्तिको बाटो त हैन? युद्द पछि, टुहुरा भएका, विधवा भएका सबैले घृणा गरेको कथा महाभारत भरि छैन। युद्ध उनीहरूको वणिक्वृत्ति नै हो त? हो भने लगानी, नाफा वा घाटा खै त? वाह!!!! कसैलाई सम्ठनु र कसैको सम्ठ्याउनु नै युद्द हो र? रामजाने... कसै कसैले कृष्ण भईएछ कि भनेर नफूले हुन्छ,। कंस र रावंणको लिला पनि अपरम्पार र कसै कसै भन्दा कम भने छैन...................

 

त्यसैले फूलको आँखामा फूल हुनको लागि आफ्नो चेष्टा र आत्मा पनि फूल जस्तै हुनु पर्छ नि हैन भने  फूलको आँखामा काँडै संसार .... सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Saturday, November 5, 2011

मेरो हटमेलको कुरा

 

“नामको पछाडि @hotmail.com देख्दा निकै अचम्म परेका थियौ”

विगत केही समय यता दुई वटै काखे बिग्रियो। भनेको बेला लेख्‍न सकिएन। लेख्‍न खोज्दा विषय मिल्दैन वा मनबाट फुर्देन। ढिलाइ भयो भन्ने लागकै हो तर पनि लेख्‍ने समय र प्राविधिक गडबढीको बेस्करी निहुँ पाएँ।

 

लेख्‍ने विषय कत्ती धेरै छन्। नेपाली समाचारका पानाहरू र फेसबुकका स्टाटसहरु हेर्ने हो भने सयौं सहमति विमतिहरू, र तर्कहरू छन्। कुन कुन विषयमा लेखुँ र कुन कुन विषयमा आफ्ना मनका कुराहरू पोखुँ त्यो चाहिँ गनेर साध्यै छैन। हरेक बिहान, दिउसो र साँझ नयाँ विषय नपाउने पनि हैन तर पनि चाँजोपाँजो मिल्दैन। चुनावी रौनक बढिरहेको बेला, बेरोजगारी १% घटेको उत्सव मनाउने र चुनावी एजेन्डा बनाउन खोजिरहेको नौलो रौनक त छदै छ। यता नेपाल तिर शान्ति र सेना समायोजनका कुराहरू चर्चामा रहिरहेका छन्। फेसबुक स्टाटसहरु हेर्यो, आजकल कुनै साथीले वा मान्छेले आफैले लेखेको भन्दा कृतिम र अनावश्यक आफै अपलोड हुने राशीफल जस्ता स्टाटसले पाना भरिएको छ। एकाध दुई कविता र विचारहरू ले चित्त बुझाउनु पर्ने भएको छ। मैले अनुभव गरेको छु आजकल मान्छेहरू रमाइलो गरिरहेका छन् उता तिर। रमाइलोको लागि नै त हो यो सबै बखेडाहरू हामी आफैले निम्ताएको। समाचारहरू हेर्न समाचारकै पेजमा जान पर्दैन आजकल। कुनै न कुनै साथीले भए भरका सबै समाचारहरू आफूले मात्र पढेको झै गरेर पाना भरिदिन्छन्। टाउको नभएको मान्छेको फोटोमा ट्याग गरिदिन्छन्, यता मोवाईलमा घण्टी बज्छ अनि घण्टी नै बझिसके पछि के के नै रहेछ भनेर हेर्यो, दिनको सुरुवातै खराव। यस्तै छ साथी यहाँको चलन र हाम्रो दैनिकको सुरुवात। जे भए पनि भैरेले फेसबुक छोडेको छैन ।

 

सुरुवातमा कम्प्युटर सिक्न जाँदा, इन्स्टिच्युटका प्रिन्सिपलले एउटा प्रस्ताव राखेको मलाइ याद छ। “कम्प्युटरमात्र सिक्ने कि हटमेल (ई-मेल हैन है) र इन्टरनेट पनि सिक्ने हो?” त्यस बेला ई-मेल भनेकै हटमेल थियो। इन्टरनेट भर्खरकै प्रवेश गरेको तियो त्यसताका। कृतिपुरको केन्द्रीय पुस्तकालयको ई-मेल दिने गर्थ्यौ हामी बाहिर कसै सँग सम्पर्क गर्नु पर्यो भने। पुस्तकालयका कारिन्दा, जसले त्यो ई-मेल हेर्थ्यो उनलाई रिझाउन अनेकौँ गर्नु पर्दथ्यो। जब हाम्रो नाममा ई-मेल आउथ्यो, उनले त्यसलाई प्रिन्ट गरेर राखिँदिनथें अनि हामी बिहान बेलुका त्यहाँ पस्थ्यौ र आफ्नो ई-मेल लिएर जान्थ्यो। दिनु पर्ने उत्तर हामी घरबाटै लेखेर ल्याउनु पर्थ्यो। उनले आफ्नो समय अनुकूल त्यसलाई टाइप गरेर पढाइदिन्थे। केन्द्रीय पुस्तकालयको त्यो सुविधा हाम्रो लागि निकै राम्रो र सहयोगी रह्यो केही समय पछि कारिन्दाले कृतिपुरकै नयाँबजारको पसलमा कम्प्युटर राखेर त्यो सुविधा दिन लागे। डायलअप इन्टरनेट, निकै बेर कम्प्युटर क्यार-क्यार गरेर कराउथ्यो इन्टरनेटसँग जोडिने बेला। निकै ढिलो चल्ने। मोबाईलको सुविधा थिएन त्यस बेला। मोबाईलको लाइन लीन पचास हजार धरौटी राख्‍नु पर्थ्यो रे। मिनेटको १० रुपैयाँ तिर्नु पर्ने कुरा भर्खरकै बजारमा आएको थियो। तर कृतिपुरमै आफ्नो डेरा नजिकै इन्टरनेटबाट विदेशमा ई-मेल गर्ने सुविधा हामीलाई दिने साथीको त्यो सेवा निकै राम्रो रहयो। एउटा ई मेल आएको र बुझेको तीन रुपैयाँ र गरेको पाँच रुपैयाँ दिनु पर्थ्यो।

 

एक दिन मेरो एक जना गुरु जापानमा डाक्टर डिग्री गर्दै हुनु हुन्थ्यो। मेरो पढाईको सिलसिलामा उहाँसँग सम्पर्क गरेको थिए। मेरो ई-मेलको जबाफ आउँदा एउटा कुराले म र मेरो साथी विज्ञान आचार्य( हाल जापान) तीन छक्क पर्यौ। हामीले ई-मेल पढ्यौ तर उहाको ई-मेल ठेगानले चाहिँ हामी अचम्मित बनायो। उहाको ई-मेल ठेगानामा चाहिँ उहाकै नामको पछाडि @hotmail.com रहेछ। हामीलाई लागेको थियो जापानमा जाने सबैले त आफ्नो व्यक्तिगत र आफ्नै नाम भएको hotmail पाउदो रहेछ। केही समय पछि ति साथीले हामीलाई हाम्रो आफ्नो नाममा hotmail खोलेर आफ्नै ठेगानाबाट ई- मेल गर्न सक्छौ भनेर सुनाए पछि खुसीको सीमानै थिएन। हाम्रो ई-मेल उनै साथीले खोली दिन्थे र उनी कसरी यो सब गरिरहेका छन् भनेर हामी ट्वाल्ल परेर हेर्यो मात्र।

 

एक वर्षको बीचमा, आफ्नै डेराको वरिपरि थुप्रै इन्टरनेट साईबरहरु खुले। त्यसपछि nepalnews.com को च्याट बक्समा च्याट गर्न जान्ने भए पछि चाहिँ बेलुकाको समय काट्न गाह्रो भएन। साईबरमै कहयौ प्रेम पनि बस्यो र छुट्यो हिसाब किताबै रहेन। पछि yahoo को ई-मेल र yahoo chat box मा विदेशी नयाँ साथीहरू सँग पनि च्याट हुन थाले पछि र झन् के कुरा। मोज नै मोज। तर भाग्यले मेरा विदेशी साथीहरू राम्रा परेका छन् दुई तीन जना साथीहरूसँग अझै पनि गफ हुन्छ। हामी सबै बिहे गरेर घरजममा लागेका छौं तर पनि हाम्रो मित्रता कायमै छ। पारिवारि मित्रको रूपमा केही साथीहरूसँग नाता गाँस्दा त्यस बेला yahoo को च्याट बक्समा बिताएको समय खेर गए जस्तो लाग्दैन।

 

समयले कोल्टो फेरको हैन। वास्तवमा प्रविधिले फड्को मारेको हो। हामी समयलाई प्रविधिको छलाङ्ग मार्ने तरिकालाई समयसँग तुलना गर्न जानेका छौ। मेरो आफ्नै hotmail, जब आफैले खोल्न र चलाउन सिकेँ त्यसपछि चाही निकै सजिलो भयो बाहिर सम्पर्क गर्न। मास्टर डिग्री गर्ने ताका एक जना जापानी प्रोफेसरसँग ( काजुवो मासुदा) सम्पर्क गर्ने मौका मिलेको थियो। मेरो डिग्रीको थेसिसमा उहाको निकै ठूलो योगदान रहयो र त्यस बीच उहाँ र मेरो बीचमा निकै राम्रो सम्पर्क भइनै रह्‍यो त्यही हटमेलबाट। उहाँको हरेको नेपाल भ्रमणमा म सँगै र साथमै हुन्थे। बीचमा मेरो पहिलो जापान भ्रमणको (सन २००४) बेला टोक्योमा भेटेर उहाँ सँग २,३ दिन सँगै बिताउने मौका मिलेको थियो। एक दिन टोक्योमै नेपाली रेस्टुरेन्टमा खाना खान जाँदा त्यहाँ आएका अरू जापानी प्रोफेसरहरूसँग परिचय भयो। ठेगाना लिने र दिने क्रममा मैले आफ्नो नाम, ठेगाना र ई-मेल ठेगाना दिँदै गर्दा त्यहाँ रहेका कुनै पनि प्रोफेसरको hotmail ठेगाना दखिन। यसै बीचमा प्रोफेसर मासुदाले आफ्ना साथीहरू र प्रोफेसरलाई भनेका थिए “उनको बिजनेश ई-मेल छैन, हटोमेल(जापानी लबजमै) प्रयोग गर्छन्”। साँचो अर्थमा मलाइ बिजनेश ई-मेल के हो थाह थिएन। म यो विकाशक्रमका सुरुवातका समयहरू भोग्दा र हेर्दा, प्रविधिको हरेक फड्कोमा अचम्मित भएको छु। अजकल नयाँ पुस्ता प्रविधिमै पौडी खेलेर जन्मन्छन्।

 

प्रविधिले हामी निकै पछि थियौ तर आज हामी सञ्चार प्रविधिमा निकै अगाडि नभए पनि कम चाहिँ छैनौँ। सामाजिक संजालमा हाम्रो उपस्थितिले पनि प्रविधिसँग समानान्तर कदम राख्‍न सहयोग गरिरहेको छ र आज हामी कहयौ कुरामा पनि अगाडि छौ। नयाँ पुस्ता निकै अगाडि बढेको छ। आजकल कम्प्युटर, इन्टरनेट, ई-मेलमात्र हैन, इन्स्टिच्युटहरूमा फेसबुक चलाउन सिक्नेहरुको पनि राम्रै लाइन छन्। तर यो अझै पनि पुरानै पुस्ताका अवशेष मात्र हुन्, नयाँ पुस्ता त आजकल जन्मँदै........ सबैलाई चेतना भया..

»»  पुरै पढ्नुहोस

Friday, August 19, 2011

ब्लग खोल्नु र ब्लग लेख्‍नु फरक कुरा हो।

एक जना नयाँ ब्लगर फेसबुकमा झ्यास्स देखिएँ। नयाँ ब्लग तर पुरानो पोस्ट लिएर। १ बर्ष अगाडि कतै अन्तनै पढेको त्यो लेख फेरि देखियो। फेसबुकको भित्तामा पटक पटक पोस्ट गर्दै कमेन्ट खेती गर्दै थिए उनी। मैले उनको ब्लग पछ्याएँ। ब्लग राम्रो छ। नयाँ भएकोले बढी खरानीको गन्ध त नौलो भएन। ४-५ वटा लेखहरू पोस्ट गरेका रहेछन्। सबै लेखहरू एकै दिनमा त्यो पनि ब्लग खुलेकै दिनमा पोस्ट गरेका रहेछन्। उनको शीर्षकलाई गुगल गरे। एउटा विदेशी ब्लगरको सबै लेखहरू जस्ताको तस्तै कपी र पेस्ट। त्यी विदेशी ब्लगरले नेपालको राम्रो व्याख्या गरेका रहेछन्। अन्नपूर्ण बेस क्याम्प जस्ता दर्शनिय स्थलहरूको स्मरण र त्यो स्मरणसँग पाश्चात्य देशका पर्वत श्रृणलाहरु सँगको तुलना पनि उस्तै सारेर ब्लगको सुरुवात गरेका रहेछन्।

 

ब्लग खोल्नु र ब्लग लेख्‍नु फरक कुरा हो। ब्लग खोल्न सजिलो छ आजकल। अनेकौँ निःशुल्क दाताहरू अनेक सुविधाका साथ तयार छन् ब्लगरलाई स्थान दिनको लागि। जब ब्लग खोल्न सिकिन्छ, खोलिन्छ र प्रकाशित गरिन्छ तब निकै खुसी लाग्छ तर जब प्रकाशित ब्लगमा कुनै लेख वा पोस्ट हुँदैन तव ब्लगरले आफूले भर्खर खोलेको ब्लगरलाई निर्जीव पाउँछ। सजीवता दिनै र सजीवतलको अनुभव गर्न, ब्लग खोल्न मात्र सिकिरहेको बेला कुनै पोस्ट आफैले लेखेर तत्काललै हाल्न सक्दैन, अनि त सुरु हुन्छ पहिलो चोरीको पोस्ट। वास्तवमा चोर्नु उसको मनसाय हैन। मात्र तयारी लेखहरू ब्लगमा राखेर हेर्न खोज्दा खोज्दै चोरिन्छ। आफूलाई कति चाहिने हो त्यति मात्र राखेर ब्लगको पहिलो पोस्ट तयार हुन्छ। मैले अरूको लेख राखेको छु है भनेर बिर्सिन्छ र आफूले बनाएको ब्लगको नयाँ रुप हेरेर नै मक्ख हुन्छ। ब्लगको पहिलो जन्मदिन त्यहीबाट सुरु हुन्छ र नयाँ ब्लगरले जन्म लिन्छ।

 

जीवनको क्रम-विकाश जस्तै ब्लगको क्रम-विकाशमा अरू ब्लगरले राखेका पुर्जाहरू र तडकभडकको नक्कल र अनेकौ लिकहरू सँगै बिस्तारै ब्लगले आफ्नो उन्नति गर्दछ। झिलिमिली, पुराना पंजाबी ट्रक वा रक्सौलका टेम्पो जस्तो, सिन्दूर पोते, ऐना सबै झुन्डाएर लाखे नाच देखाउन लागेझै सजावट गरिन्छ र यसरी खोलेकै ब्लगलाई आफ्ना साथीहरूको माझमा पुराउनका लागि सामाजिक सञ्जालहरूको मद्दत लिने गरिन्छ।

 

तर आफ्नो ब्लग खोलेर, त्यसलाई प्रकाशित गरेर, फेसबुक वा अन्य सामाजिक सञ्जालहरूमा राख्‍न हतार गरिहाल्नु भन्दा पनि पहिले, त्यसलाई अनेकौँ तवरले बिचार गरेर वा आफूले चिनेका जानेका कोही साथी वा ब्लगरसगँ सल्लाह लिएर कमजोरीहरू लाई पहिचान गर्न जरुरी हुन्छ।

 

गुगलमा सामान्य तवरले खोज्यो भने मात्र पनि हजारौं नेपाली ब्लगहरु देखिन्छन्। स्यामेले ब्लग खोलेको छ म रामेले किन नखोल्ने भनेर मात्र ब्लग खोल्दा वा चलाउनु भन्दा पनि पहिले आफूले लक्ष गरेका पाठकहरु कस्ता छन्, आफूले नियमित तवरले पाठकहरूलाई दिन सक्ने कुरा के हो र आफूले कुन क्षेत्रमा लेख्दा, पाठकहरू सधैँ आफूलाई पछ्याई रहन्छन् भन्ने कुरा पहिचान गर्न जरुरी छ। आफूले देखेका र पढेका सबै ब्लगहरुको जस्तै सामग्रीहरू आफ्नै ब्लगमा राख्छु र दिन्छु भन्दा कहिले काहिँ आफ्नो क्षमता भन्दा बाहिरका सामाग्री नियमित दिन पर्ने हुदा लेखक अरूका सामाग्रीहरू चोर्न वा सार्न पुग्छन्।

 

ब्लग सुरु गर्नु भन्दा पहिले के कुरा बुझ्न जरुरी छ भने, ब्लगको जगतमा त्यस मितिमा सबै भन्दा कान्छो ब्लगर आफै हो। आफू भन्दा अगाडिका ब्लगहरु, ब्लग चलाउँदा आई पर्ने प्राविधिक वा बौद्धिक संकटहरु सँग गुज्री सकेका छन् र आफूसँग त्यस्तो अनुभव अहिले छैन भन्ने कुरा स्वीकार गर्न जरुरी छ।

 

केही औँलामा गन्न सकिने, घमन्डी र आफूलाई नै सबै भन्दा जानकार ठान्ने अर्ध-व्यावसायिक ब्लगरहरु बाहेक नेपाली ब्लगर जगतमा सबै ब्लगर साथीहरू सार्है सहयोगी र असल भएको मेरो अनुभव छ। आफूले जानेका कुराहरू प्रस्टसँग सिकाउने र सहयोग गर्ने नेपाली ब्लगर जगतको एउटा राम्रो पाटो हो। त्यसैले नयाँ ब्लग खोल्ने साथीहरूले ब्लगर सर्कलमा सामेल भएर आफ्ना कुराहरू राख्दा निकै फाइदा नै हुन्छ।

 

ब्लगमा लेख्नु मात्र ब्लगर बन्नु हैन। बिद्धान हुदैमा मात्र ब्लग लेख्‍न सकिन्छ भन्ने हैन र लेख्‍न जान्नाले मात्रा ब्लग चल्दैन। यसमा अनेकौँ प्राविधिक कुराहरू छन्। जो सामान्य छन् तर पनि त्यसमा भएका साना भन्दा साना कुराले हप्तौ खर्च गर्ने पर्ने हुन्छ। त्यसैले सबै भन्दा पहिले सर सल्लाह र सहयोग लिएर अगाडि जाँदा राम्रो हुन्छ र यसो गर्दा सामान्य रूपमा आफ्ना पाठकहरू पनि बढ्छन् र अर्को एउटा बौद्धिक सर्कलसगँ सँगत गर्न पुगिन्छ।

 

सबै कुरा हतार गरेर, अरूका सामाग्री राखेर बल्ल लेख्दा कुनै न कुनै दिन पक्कै पनि पत्ता लाग्छ नै। एक पटक कतैबाट ब्लगमा आई पुगे पनि फेरि पछ्याएर त्यही चोरीकै लेख पढ्न प्राय कोही आउँदैनन्। अझ परिपक्व नभईकन सामाजिक सञ्जालमा आउँदा त झनै नराम्रो छाप पर्न सक्छ। यस्ता सामाजिक सञ्जालमा नाम कहलिएका पुराना ब्लगर जसले प्राय नाम चलेका र राम्रा लेखहरू लेख्ने ब्लगरहरुलाई पछ्याउँदै उनीहरूका लेख पढेर पोख्त भएका हुन्छन् र जब उनीहरूको आँखामा यस्ता सामाग्रीहरू पुग्छन् तब लौ है मैले यो लेख कतै पढेको छु भनेर त्यसको खोजी हुन्छ। सुरुवातको समयमा कुन लेखक कत्तीको प्रख्यात छ भन्ने सामान्य ज्ञान पनि नहुदा नाम चलेकै त्यस्ता लेखकहरूलाई मेरो लेख पढ्नुस है भनेर उनीहरूकै लेख पठाएको पनि पाइएको छ त्यसैले होसियार हुन जरुरी छ।

 

आफ्नै मौलिक लेख लेख्दा हुने गरेका गल्तीहरू सबैका लागि स्वागत योग्य र सामान्य हुन्छ। आफ्नो मनमा आएका कुराहरू लेख्‍न कसैले छेक्दैन। तार्किक होस वा नहोस्, मीठो होस वा नहोस, सबैसगँ आफ्नो बिचार मिल्नु पर्छ भन्ने छैन। सबै लेखकहरू तपाइका पाठक हुनै पर्छ भन्ने जरुरी पनि छैन। उदाहरणको रूपमा, एउटा गजलको ब्लग लेखकले अधिकतम गजलकै ब्लगहरु पछ्याइरहेको हुन्छ। कथा लेख्‍ने ब्लगरले कथाका ब्लगरहरुलाई बढी पछ्याएको हुन्छ। त्यसैले आफ्नो बिचार वा ज्ञान सबैका लागि पाच्य हुन्छ भन्नु वा ठान्नु यहाँ नेर निकै ठूलो गल्ती हुन पनि सक्छ। आफ्नो मौलिकतालाई लगातार नियमित रूपमा प्रस्तुत गर्नु र आफ्ना कुराहरूलाई आफ्ना पाठकहरूको बीचमा खुल्लारुपमा राख्‍नु नै मौलिक ब्लग लेखन गर्नु हो.....सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Wednesday, July 20, 2011

चेतना शून्यमा जानु योग हो वा मृत्यु?

कहिले कहीँ मृत्यु रुन्छ र अनायासमै चुप लागेर सुत्छ। जसरी एउटा अबोध बालक रुदारुँदै थाकेर, निदाएको थाहै हुँदैन त्यसैगरी मृत्यु रुदारुदै अनायासमै सुतिदिन्छ। मृत्युको सुताई सँगै समयले लामो सास फेर्छ र बीच बाटोमै आफ्ना सूचकहरूलाई रोकिदिन्छ। परिभाषा र व्याख्या अनि आख्यानहरूमा समय काल हो भने काल मृत्यु। बुझ्ने हो भने जीवनको गतिरोध सँगै निश्चित परिस्थितिमा मृत्यु सँगै सबै समय रोकिनु नौलो हैन । किनकी जब काल वा समय रोकिन्छ तब मृत्यु भएको मान्नु पर्छ। मृत्यु सँगै जब समय रोकिन्छ तब सबै शून्यमा अन्त्य हुन्छ। शून्य के हो? शून्यताको यो जबाफलाई के सँग जोड्ने? काल वा मृत्यु सँग? हाम्रो मनस्थितिमा आईरहने कालको अनुहार कालो नै हो त् ? मृत्यु सँगै गुमेको चेतनाले के अनुभव गर्ला ? के चेतना बिहिन शरीरले मृत्यु पछि कालो रँग वा प्रकाश बिहिन अनुभव गर्ने भएरनै हो त काल कालो हुन्छ भनिएको वा कालो रँग अशुभ भएरै काल भनिएको हो वा मृत्यु अथवा काल अशुभ भएर काल भनिएको हो, एकिन गर्न गाह्रो छ।

चेतना शून्यमा जानु योग हो वा मृत्यु? कतै मृत्यु पनि योग त हैन? मृत्यु योग हो भने जीवन के हो त? के जीवन पनि योग हो? कि भोग सँगै अन्त्यमा सबैले मृत्यु योगको अनुभव गर्न पर्ने हो? भौतिक रूपमा जीवनको त्यो कालखण्डको परिभाषा दिन वा गर्न के गाह्रो नै हो त? गाह्रो भएर वा सोचाई र चेतना भन्दा परको कुरा भएरै हो त मान्छे त्यो भोगाई (भोग) सँगै सांसारिकतामा अल्झिएको? हुन सक्छ परिभाषाहरू जन्मजात, मानव संरचनासँगै जोडिएर नआएको भएर पनि सबैलाई चेतना नभएकै होला। ज्ञान र बौद्धिकताको अभाव भनौं भने पनि के सबै विद्वानहरू यो चेतना सँग जोडिन सकेका छन् त? हामीलाई क्षणिक भान्त्रि भित्र बाच्ने संकारको अनुभव छ। हामी भ्रममा बाचेका पनि हुन सक्छौ। किन कि जीवन बाच्नुसँग परिभाषाहरूलाई जोडेर हेर्दा, एउटा चराचर जगतको परिवेश कृष्णको मुख भित्र छ भन्ने कथामै भुलेका पनि हुन सक्छौं। कसैले सोचेको होला, लोक पछिको भोग, लोककै कर्ममा भर पर्छ। तर अरू पनि त छन् लोकनै अन्त्य हो र लोकको भोग लोककै लागि हो भन्नेहरू। हामी भौतिकवादीहरूको उदाहरणमा यसलाई समेट्न खोज्छौ आफू आध्यात्मिक बनेको सम्झिएर। लोक पछिको भोग वा भोग पछिको मृत्युलोक, काललोक वा यथास्थिति लोक सबै आफ्नै परिभाषामा बाच्नेहरुको घुईचो निकै लामो हुँदै गएको छ। सबै कुरालाई एउटा निश्चित परिधि भित्र समेट्न खोजेर हो वा बाच्ने इच्छाले त्यसै परिधिलाई नाघ्न खोजेर हो थाह भएन तर परलोकको यात्राको केही समय अगाडि सम्म पनि यसै लोकको माया गरिरहेको हुन्छ। तयारी सुरु भई सक्यो, बिदाइ लागी वरिपरि सबै छन् तर पनि कुरा लिने र दिनेको मात्र। शुभ यात्रा हो बा अशुभ यात्रा, जानेर वा नजानेर, चाहेर वा नचाहेर सबै यसको तयारी गरिरहेका हुन्छन्। सबै सांसारिकता भित्रका चीज, बस्तु वा परिवेशले सानो भन्दा सानो निहुँ खोजिरहेको हुन्छ यात्राको तयारी गर्न तर पनि अन्तिममा र निन्तान्तै अन्तिम पलमा पनि यसै लोकको कुरामा मान्छे अल्झिन्छ। अर्ति उपदेश र कहिले पनि नसुझेको ज्ञानको बोध भएर आउँछ। मृत्युको अगाडि मूर्ख पनि विद्वान् बन्छ। प्रेमिका अगाडि कवि बन्न नसक्ने पनि, आफ्नो र अर्काको भन्ने बोधमा जीवन चलाउन नजान्नेहरु पनि, अरूलाई पीडा दिएर कुम्लाउने पेशामा लागेको भए पनि, त्यस बेला विद्वान् र दार्शनिक बनेको भान हुन्छ। यात्रा कस्तो हुने हो वा कति लामो हुने हो भन्ने कुराको एकिन छैन, लेखा जोखा छैन तर पनि यही लोकको पीर र चेतनाले सबैलाई त्यो ज्ञान अनुभव हुन्छ।

 Death-Creative-Lifeभोगाई जस्तो सुकै होस, मृत्यु सँगै त्यो यात्रा चलिरहँदा, चेतनाको आधारभूत दुई पाटाहरू वा खण्डहरूको अनुभव भएको हुनु पर्छ। चेतनाको एउटा खण्डमा भर्खरै भोगेको, अनुभव गरेको, उज्यालो जसको प्रस्ट चित्र मानस पटलमा छ भने अर्को खण्ड पुरै अँध्यारो छ। स्वाभाविक रूपमा मृत्यु पक्षको चेतना खण्डको बारेमा बोल्न, लेख्न, सुन्न र अनुभव गर्न गाह्रो मात्र है असम्भव प्राय हुने गर्छ। अनेकौँ कथा र पुराणहरूका कथासँग जोडेर हेर्न खोज्दो हो सायद। त्यसै कालो* चेतनाको खण्डहरहरूमा पुराणका पात्रहरूलाई खोज्ने प्रयास गर्दो हो। जीवन बाच्दा, र बाच्ने बन्दा बन्दै, मान्छे अनुभवी बन्दै गयो अनि अनुभव गर्नु अनुभवी बन्नु हो भने उ सबै थोक बन्यो। तर चेतनाको यो कालखण्डबाट त्यो कालखण्ड सम्मको सानो, केही न्यानो सेकेन्ड बा फेम्टो सेकेन्ड दूरी पनि बिना अनुभव हाम फाल्ने अनुभव बाँड्न सक्दैन। कुनै अदृश्य शक्तिले एकै साथ त्यो न्यून सेकेन्डको अन्तरालमा पार गराउने हो वा आफै नजानिदो तवरले पार हुने हो कसैलाई थाह छैन्। त्यसैले मान्छेलाई ईश्वर यहाँ नेर बोध हुन्छ वा खोज्न सक्छ्। कुनै शक्तिको सहयोगले त्यो दूरी पार गर्ने हो भने, साथमा कोही छ (ईश्वर) भनेर मान्नै पर्दछ अन्यथा यो पनि जीवननै रहेछ भनेर सोचिनु पर्छ। जसरी जीवन स्वतः चलिरहेको छ, त्यसै गरि यो यात्राको खुड्किलो पनि जीवनसँगै स्वतः भएको हुनु पर्दछ। अन्यथा यो न्यून सेकेन्डको समय अन्तराल मात्र लाग्छ आँखामा कालो पट्टी बाँधेर ठूलो भीरबाट खस्दै छ, झ्वाट्ट वा एकसाथ सबै चेतनालाई शून्यमा बाँधेर.. सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Sunday, June 12, 2011

उद्‍बोध हुन बाँकी नै छ।। एउटा प्रतिनिधि कथा प्रसङ्ग मात्र

 

कुरा हिजोको; उनी सानैमा पोइल गईन। पोइलनै जान सक्ने र निर्णय गर्न सक्ने त्यस अवस्थामा सानो भनेर भन्न र सुझाउन पनि गाह्रो कुरा हो। सानो भनेर स्कूलको अन्तिम परीक्षा सकेर कुन क्याम्पस पढ्ने हो भन्ने बारेमा निकै चर्चा चलिरहेको बेला थियो त्यो। राम्रै बिचार्थी थिइन उनी र स्कूलको त्यो परीक्षा पास नगर्ने भन्ने कुरै भएन। कक्षा १० को सुरुवातमा आफ्नो बाबुको सरुवा सँगै आएकी उनलाई पहिलो पटक देख्दा नै मन पराएको थिए । तर त्यस बेला पढ्ने उमेर र मेहनत गर्ने उमेर भनेर घरका सबैले भन्दा भन्दै मेरो मानसिकता पनि त्यस्तै भएको थियो। एक बर्ष सम्म पनि मैले केही भन्न सकिन। लेखेका कत्ती चिठ्ठीहरू त्यसै भालिदिन्थे। अमर प्रेम गर्छु भन्ने लागेर हो कि खै.. त्यस बेला उनलाई सुनाउने आटै भएन मनका कुरा।

 

स्कूलको परीक्षा दिएर हामी भविष्यको योजना बनाउँदै थियौँ। कुन कलेज पढ्ने, कुन विषय पढ्ने र कसरी आफूलाई सक्षम नागरिक बनाउने दौडमा निकै योजनाहरू बनाउदै थियौ। कानुन पेसा भएकोले मेरो बुबा मलाई कानुनकै विषय लिएर पढे हुन्थ्यो भन्ने चाहनु हुन्थ्यो। परीक्षा दिएर बसेरको बेला बुबाको पछि लागेर भए पनि अड्डा अदालत जाने गर्थे । त्यसै बखत पहिलो पटक एउटा अश मुद्दाको फैसला सारेर पाँच सय कमाएको थिए। त्यस बेला पाँच सय रुपैयाँ निकै ठूलो हुन्थ्यो। कसरी र के के मा खर्च भयो मैले याद गरिन र मैले कमाएको पहिलो पैसा भएर पनि होला, त्यो रुपैयाँमा कसैको खोजीनिती भएन। नत्र धेरै पैसा खर्च गर्न प्राय राम्रो नमानिने अवस्थामा पक्कै पनि परिवारबाट खोजी हुने गर्थो। मलाई केही पेजको मुद्दाको फैसला नक्कल गरे बापत सजिलै सँग झगडियाले दिएको पाँच सय रुपैयाँले, जीवन बाच्न गाह्रो छ भन्ने कुरा गलतनै हो भन्ने लागेको थियो अर्थात् जीवन चलाउन गाह्रो रहेन छ भन्ने पनि लागेको थियो । थोरै मेहनतबाट पनि पैसा त आउँदो रहेछ जस्तो लागेको थियो। म परिपक्व थिइन वा मैले जीवनको परिभाषालाई राम्रो सँग बुझेको थिइन र नै होला मैले सानो परिधिमा जीवनलाई सहज बनाउन खोजेँ र त्यस्तै सोचेँ।

 

कानुनको विषय पढ्न मन थिएन, मैले घरमा म विज्ञान पढ्छु भने र कसैले पनि मेरो इच्छालाई अस्वीकृत गरेनन्। म रिजल्ट सँगै नयाँ जीवन र जीवन सहज बनाउने अनेकौँ आशाहरूको बीचमा पहिलो दौड सुरु गरे। मेरो कलेज जाने तयारी हुँदै गर्दा, लगाउने कपडा, केही सामल र केही पैसा जोडजाड गर्दै गर्दा बजारमा बेस्करी हल्ला मच्चियो, उनी पोइल गईछन्। उनी पोइल जानु एक हप्ता पहिले मैले बाटोमा उनलाई भेटेको पनि थिए। भनिदिउ जस्तो पनि लागेको थियो मलाई एक मनले तर भन्नै सकिन। साधारण कुरा गरेर बिदा हुने बेला मैले उनलाई कलेज भर्नाको बारेमा सोधेको थिए। उनी खिस्स हाँसिन् केही बोल्न खोजे जस्तो भए पनि बाहिर निस्केन उनको आवाज। त्यसै बिदा भएर हिँडेका थियौ हामी। राम्री छ है मोरी.. मेरो मनले यस्तै कल्पियो र आफ्नो बाटो लागेँ।

 

मलाई त्यो खबरले निकै दुःखित बनायो। उनी मेरी हुन सकिनन् वा मैले बनाउन सकिन भन्ने विषय भन्दा पनि पढेर सुन्दर भविष्यको बारेमा सोच्न पर्ने बेला किन यसरी हतार गरेकी होली भन्ने लाग्यो। जीवन लामो छ र यसरी कुनै अर्थमा जीवनलाई पाखा लगाउनु राम्रो हैन भन्ने मलाई लाग्यो र उनको निर्णय गलत रहयो भन्ने लागेको थियो। हेर्दा सहज र राम्रो हुँदा हुँदै पनि मान्छेले बाच्नका लागि कत्ती दु: ख गर्नु पर्छ, र एउटा नजानीदो सुखको आभासकै लागि मान्छेले कत्ती दुख सहनु पर्छ। मैले यस्तै सोच्थे अर्थात् म पूर्णरुपमा जीवनको त्यो दर्शनको लागि तयार थिए वा बनाइएको थिए।

 

निकै लामो समय पछि जीवन भर अनेकौँ दुख र कष्टका साथ यहाँ सम्म आई पुग्दा समेत त्यसका केही अंशले अझै छोडेको छैन। आवश्यकता र अभावले कतै छोडेको छैन। जीवनको यही परिभाषामा म अव्यस्त हुँदै छु।

 

कुरा आजको; बिदाको समय सुरु भयो, केटाकेटीको स्कूल र आफ्नो कामबाट पनि फुर्सद मिलाएर परिवार सँगै काठमान्डूबाट घर जाने तयारी गर्दै गर्दा दिवा बसको दुईवटा सीटको टिकटमा हामी चारजना कोचलिएर जाने निर्णय र योजना बन्यो। बिदाको समय सबै घर जाने लाइन र भनेको समयमा बसको टिकट पनि पाउन गाह्रो भएकोले बल्ल बल्ल बसको अन्तिम छेउको दुईवटा टिकट मिलाएर घर फर्किए। भोलि जाने तयारी भयो, मेरी बुढी सामल र सामान दुवै पोको पार्न थालिन। म घडीमा आलरम लगाउन तिर लागे।

 

गर्मी पनि बेस्करी छ। बसको गन्धले बस चढे बाटै वाक वाक गर्न थालेका केटाकेटीहरूलाई बान्ता रोक्ने औषधीले पनि काम गरेन भन्ने लागिरहेको थियो। अगाडिको सीट भाँचिएकोले हामीलाई उकुसमुकुस भइरहेको थियो तर पनि चुपचाप बस चलिरह्यो र हामी पनि गुड्दै रह्यौ। ड्राइभर साहेबले चिनेको ठाउँमा खाना खाएर बसमा पुन चडियो र हामी अगाडी बढ्यौ। केही समय पछि बस रोकियो, ड्राइभर साहेबले बस अगाडी जान नसक्ने कुरा सुनाए। बसको इन्जिन तातेर धुवा निस्किएको थियो र जाओस् पनि कसरी? बीच बाटोमा हामी रोकियौ। सबै झोला र पोकोपन्तरो झारेर बाटोको कलभटमा बस्यौ र अब अर्को बसमा जानु को विकल्प थिएन। कन्डक्टरले पैसा फिर्ता गर्यौ। ड्राइभर सगँ कोही कराउँदै थिए बीच बाटोमा ल्याएर यसरी अलपत्र पार्न मिल्छ ? भन्दै। म केही बोलिन र बोल्न पनि आवश्यक ठानिन। बस बिग्रियो त के गरोस् ड्राइभरले पनि।

 

गरिबी, आवश्यकता र अभावको जीवन बाच्न अव्यस्त हामीलाई यस्ता साधारण दुखका घटनाले खाँसै असर गर्दैन। नत्र धेरै पैसा कमाएर, चिल्लो गाडीमा छोरा छोरी र श्रीमतीलाई राखेर बिदामा बिदा मनाउन घर जाने रहर कसलाई हुँदैन र? मलाइ पनि पक्कै छ। जीवन बाच्न खोज्छु भन्दा भन्दै, पेटकै लागि बाच्नु पर्ने भएको पीडा म मा पनि छ। सार्है कठिन अनुशासन र निकै लामो योजनाले बनाएको मेरो यो जीवन र यो स्थितिमा आफैलाई कुनै पछुतो छैन भनेर भन्न बाध्य छु।

 

यो गर्मीमा लामो समय बस्न सकिँदैन थियो। खचाखच भरिएर आएका बसहरूमा एक्लै हुनेहरू कोचिएर भए पनि आ-आफ्नो बाटो लागिरहेका थिए। केटाकेटी सँग बसमा सीट नभईकन जान नमिल्ने हुँदा १०-१५ वटा बस वा ट्रकहरू छुटिसकेको थियो। हामी केही मान्छे मात्र बाकी थियौ अब। केही त उपाय होला नि भन्दै बस आउने बाटो तिर हेर्दै थियौ।

 

अगाडी एउटा सेतो कार आएर रोकियो। लौ है म पोखरा सम्म जाने हो, कोही जानु हुन्छ भने भन्नुस् तपाईहरूको गाडी बिग्रिए जस्तो छ भनेर सुन्ना साथ मैले गुहारे। वरिपरिका मान्छेले पनि मलाइ नै कारमा चढ्ने सल्लाह दिए। अनुमति लिएर हामी पनि चढ्यौ। कस्तो सितलको कार भित्र। गाडीको गन्धै छैन। हामी पछाडिको सिटमा बस्यौ र हाम्रो सामानहरू पछाडि राखियो। साथमा सानी छोरीको थाङ्नो राखेको झोला सहित म, मेरी श्रीमती र दुईजना छोरीहरू थियौ। कार चलाउने मान्छे निकै भद्र रहेछन् र नै हामीलाई सहयोग गरे। मेरो मनले उनलाई निकै धन्यवाद दिइरहेको थियो। मेरा केटाकेटीहरूको अनुहारमा मन्द मुस्कान देखेँ मैले। सोचेँ सायद सबैलाई आराम भयो अब। गाडी चलाएका त्यी भद्र मान्छे बीच बाटोमा केही पनि बोलेनन्। मात्र गाडी चलाईरहेँ। गाडीको अगाडी दाहिने सीटमा चाहिँ एक जना आईमाई सुतिरहेकी थिइन्। हामी कारमा चढे पछि उनी एक पटक चले जस्तो लागेको थियो। त्यस बीचमा पोखरा आई पुग्दा समेत निदाई मात्र रहिन्। पछाडि भएकोले मैले उनको अनुहार प्रस्ट देखिन । पोखरा आई पुग्दा त्यी भद्र मान्छेले उनलाई उठाए। “उठ पोखरा आयो”, अनि तपाईहरू पनि यही झर्नु पर्ला हाम्रो  घर यही हो र हामी  यो भन्दा अगाडि जाँदैनौ। हामी कारबाट झर्यौ, सामान झार्यौ र त्यी भद्र मान्छेलाई धन्यवाद दिन उनको झ्यालमा टाउको निहुराएँ। धन्यवाद दिदै गर्दा, मैले पहिलो पटक छेउमा बस्ने आईमाईको अनुहार देखेँ.. उनी अझै निदाएकी नै थिइन।

 

मलाइ उनीनै हुन भनेर ठम्याउन गाह्रो भएन तर बोलाउन सकिन। बोलेर र परिचय गरेर के भन्ने ? मनमा अनेकौँ कुराहरू आइरहेका थिए। हेर्दा हेर्दै कार पर पुग्यो। यदि उनी उनीनै हुन् र सफल सुखमय जीवन यसरी बाचेकी हुन् भने, जीवनको यो परिभाषामा कसको निर्णय गलत र कसको सही ठम्याउन मुस्किल हुने छ। बाँकी मैले उनलाई बुझ्न सकिन भने, दु:ख सबैको जीवनमा हुदाहुदै यथास्थितिमा म दुखी जीवन बाचेँ जस्तो हुने छु। फगत मेरो आफ्नै रोजाई र भोगाइको जीवन शैली गलत र असफल नै हुने छ वा ठहरिने छ। भीत जीवन भीम भएर जाने हो कि भन्ने पीर मनमा रहिरहने छ अनि मन र आत्माको रवले सधै धिकार्ने छ। सबै भएर पनि छिन्नमस्तक शरीर जस्तो, सापे वा बिकलाङ्ग जीवन बाच्ने नयाँ  शैली भोग्नु र रोज्नु पर्नै छ।

 

भोलिका कुरा; मेरो अनुशासन र योजनाको जीवन गलत नहोस् र उनी पनि सधैँ सुखी रहिरहुन्। सबैले निर्णय आफ्नो अनुरूप गर्ने र आफैले भोग्ने कुरानै हो। यथार्थ कुरा मानव शरीर क्षणभङ्गुर छ तर पनि आशा स्थायी छ। जीवन त्यस्तै आशा र सपनाले नै चलिरहेको छ। भोलि यथास्थितिको यो जीवनलाई नयाँ मोडमा कर्काउन सकिन्छ वा सकिँदैन उद्‍बोध हुन बाँकी नै छ।।। सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला