यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, August 22, 2010

कथा: महान लेखक बज्र नारायण

पहिले पहिले खुब पढ्थ्यो, आजकल लेख्‍ने टोपलिएर हैरान  बज्र नारायण । कति लेखहरू पढ्दा पढ्दै आजकल त दिमागनै लेखहरूको संग्रह बन्यो होला उसको तर पनि पढ्ने काम गरिनै रहन्छ। अखबारहरू पढ्नु उसको सोख र नियति । नियति किन भने उसको र हाम्रो पालोमा कुनै अनलाइन सुविधा थिएन त्यसैले उसको लागि छापामा आउने दैनिकी र सबै खालको छापिएका पत्रपत्रिका भन्दा बाहेक कुनै विकल्प थिएन।

 

तर आजकल बज्र नारायण बल्गर बनेको रहेछ, हिजो मेरो ई-मेलमा सुट्ट एउटा संदेश पठायो उसले। , मैले उसको ई-मेलको टुप्पो समातेर बल्ग सम्म पुगेँ। खुब रमझमका साथ बनाएको बल्ग र साथमा कथा कविता, समसामयिक लेख र रचनाहरू, मलाई विश्वासै लागेन यो कुराको । सानो छँदा पढ्नु पर्छ भन्ने मात्रै गर्थ्यो। कहिलेकाहीँ हामी भन्दा अलिक बढी नम्बर ल्याएर गणितको शिक्षकको खुब बधाई पनि पाउने गर्थ्यो। हाम्रा गणितका मास्टर खुब कडा थिए र भन्थे “देख्यौ केटाकेटी हो बज्र नारायण खुब जेहनदार छ, उनको गणित राम्रो छ, गणित राम्रो हुने मान्छे टाठो र बाठो हुन्छ र गणित सबै विज्ञानको जड हो र यो नै सबै भन्दा उत्कृष्ट देखाउने मूल मन्त्र हो”। वाह!! वाह!! खुब प्रशंसाहरू पाउने गर्थ्यो उसले कहिलेकाहीँ त रिसले हप्ता भरिनै नबोलीकन बसिन्थ्यो, एक प्रकारले डाहा लाग्थ्यो उसगँ।कसरी बन्ने होला बज्र नारायण जस्तै? कस्तो राम्रो दिमाग होला उसको, मन मनै सोचिन्थ्यो र कयौ पटक साथीहरू बीच पनि कुरा हुन्थ्यो।

 

बज्र नारायण वास्तवमै निकै चलाख थियो। गृहकार्य खुब राम्रो सँग गर्थ्यो, परीक्षामा प्रथम त कहिले पनि भएन तर पनि उसको टाठो पन पनि निकै प्रशंसनीय थियो सबैका बीच। समय सँगै स्कूल छोडेर कलेज पढ्न जाँदै गर्दा खुब सुन्नमा आई रहन्थ्यो कि आजकल पनि खुब पढ्छ रे बज्र नारायण। कुनै पुस्तक लेख्‍दै छ रे, त्यसैले पनि निकै समय अरूका किताब, पत्र पत्रिकाहरू पढ्ने गरेको छ रे। हामीले ठिकै हो भन्ठान्यौ र अझै पनि उसको प्रशंसा गर्ने गर्‍थ्यौ। वास्तवमा उ निकै पढन्ते मानिस थियो।

 

कहिलेकाहीँ राष्ट्रिय पत्रिकाहरूमा उसको नाम देखिन्थ्यो कथा, रचना र विवेचनामा। पत्रिकामा उसको नाम आएको छ भन्ने कसैले भन्यो भने, हिँडेरै महेन्द्र पुल गइन्थ्यो पत्रिका खोज्दै। किनेर पनि ल्याइयो कयौँ पटक अनि साथीहरूलाई पनि देखाइन्थ्यो र सुनाइन्थ्यो “लौ हेर साथीहरू यो मेरो साथी हो, बज्र नारायण; उसले निकै राम्रो लेख्छ र तिमीहरूले पनि पढ्नु पर्छ आदि आदि”।

 

अन्तिम पटक उसलाई पृथ्वी चोक पोखरामा भेटेको याद छ। कतै छापाखाना तिर जाँदै रहेछ। उसले भनेको थियो: साथी हुन त मलाइ नियमित लेखहरू लेख्‍न भनिरहेका छन् पत्रिकाहरूले तर पनि लेख्‍ने काम निकै गाह्रो छ। त्यो पनि नियमित त झनै गाह्रो काम। एउटा कुरा लेख्‍न कयौँ कुराहरू हेर्नु पर्छ, निकै समय बिचार गर्नु पर्छ र विचारहरूलाई मिश्रण गर्नु पर्छ र निर्क्यौल निकाल्नु पर्छ। मैले हो मा हो मिलाएँ। एउटा असल लेखकको कुरा म कसरी बुझुँ र नबुझेर पनि कसरी हैन भनुँ? मैले भनेको थिए “ल है साथी निकै राम्रो लेख्छौ र निरन्तर लेख्‍ने प्रयास गर मेरो शुभकामना। यही सल्लाह दिएर बिदा भएको थिए।

 

आज निकै समय पछि उसको यो ई-मेलले मलाइ जति खुसी बनायो, उति अचम्म पनि। उसले लेखेको थियो; मेरो मित्र, लामो समय पछि तिमीलाई ई-मेल मार्फत छोप्ने मौका मिलेको छ। निकै खुसी छु। यस बीचमा मैले निकै लेखहरू लेखे, तिमीले पढ्यौ वा पढेनौ थाह भएन तर समयको चालसँगै आजकल लेख्‍ने र लेख छाप्ने काम निकै सजिलो भएको छ। ईन्टरनेट र बल्गिङ्गको समय हो यो। संसार भरका सबै लेख र रचना आजकल घरमै पढ्न पाईने भएको छ। निकै खुसी छु। राम्रो नाम पनि चलेको छ मेरो आजकल। सबैले वाह! वाह! पनि भनिरहेका छन्। तिमी मेरो लेखको पुरानो प्रशंसक त्यसैले मैले तिमीलाई मेरो बल्गको यो लिंक पठाएको छु; राम्रो सँग हेर सुझावहरू देउ र आफ्नो पनि केही छन् भने मलाइ पढाउ म यसमा राख्‍ने छु।

 

उसको यत्रो ठूलो निमन्त्रणा म कसरी नमानुँ, मैले पनि उसको बल्ग पछ्याए, उसले दिएको बाटो बाटै। निकै तामझामका साथ मिलाएको बल्ग, निकै राम्रा लेखहरू रहेछन्। सबै हेरेँ, राम्रो सँग हेरेँ र राम्रो प्रशंसा पाइरहेको पनि देखेँ। वाह बज्र नारायण वाह!! मन मनले सोचेँ, वास्तवमा निकै लेखहरूको र विचारहरूको मिश्रण गर्नु पर्छ लेख लेख्दा भन्थ्यौ तर यहाँ त केही पनि देखिन मिश्रणहरूको सट्टा सरल, निकै सरल र सहज पाराले लेखेका छौं तिमीले। कुनै दु:खनै नगरीकन कस्तो बिचारहरू दिएका छौ। वाह!! वाह!!

 

मैले सबै हेरेँ र उसको बल्ग बन्द गरे। सोचेँ वास्तवमै इन्टरनेटले निकै सुविधा भएको रहेछ आजकल र केही पनि गर्न नपर्ने भएको छ। सबै कामहरू सहज र कोठा वाटै हुने जमना हो यो। पत्रिका बनाउ कोठाबाटै..... पैसा बनाउ कोठाबाटै.. लेखहरू छाप कोठाबाटै.... फेरि सोचेँ, बज्र नारायणलाई अब त लेखहरू लेख्‍न कागज, कलम र मसी  केही पनि नचाहिने भएको रहेछ। मात्र कम्प्युटरको दुइटा की जानेछ उसले यो बीचमा मात्र copy and paste ...सबैलाई चेतना भया।।।।

Comments :

12 comments to “कथा: महान लेखक बज्र नारायण”

ल मैले एउटा थपिदिएँ, वाह! वाह!! वाह !!!

Anonymous said...
on 

हा हु डट कम, जी ! कपि पेष्ट डट् कम जी ! गजब, यो पनि कपि पेष्ट गर्दिम कि के हो ???? अस्ति भर्खर 'काली प्रसाद रिजाल' का लेख चोरिएको सम्बन्धमा समाचार पढेको थिएँ , ई-कान्तिपुरमा ... यस्ता ई-चोर हरु मुर्दाबाद डट कम जी !

RRijal said...
on 

बज्र नारायणले धेरै लेख्न थालेको मात्रै हैन्, बज्र नारायणहरु नै बढ्न थालेर पो समस्या भा'छ ।

खै अब के गर्ने हो ? अब बिल गेट्स लाई नै कम्प्युटरमा copy and paste भन्ने कमान्ड नै हटाउन लगाउनु बाहेक अरु कुनै उपाए काम नलाग्ला जस्तो भैसकेको छ ।

पढ्दा पढ्दै मनमा आएको विचार नलेखि रहन सकिँन.....१-२ हप्ता पछि इन्टरेनट चाहर्दै जाँदा यही कथा पनि कुनै 'बज्र नारायण' वा "बज्र नारायणहरु" कै ब्लगमा नभेटिएला भन्न सक्दिन है म:)

Dilip Acharya said...
on 

A nice story. I saw a recent picture of blogging that we all facing for some years. Definitely we all should be aware.

चूडामणि/मणि said...
on 

सरल भाषामा मार्मिक यथार्थता । यसलाई हामीले हाम्रो वेवसाइटमा पनि साभार गरेको कुरा जानकारी गर्न चाहन्छौं । Link: http://www.nepalarab.com/literature_view.php?id=559

chij said...
on 

कम्पुटर को दुइ ओटा कि जान्दा मात्र त यत्रो करामत गर्न सक्ने बज्र नारायण सच्चि महान हुन !
............
निकै सरल अनि मिठास लाग्ने खाल्को कथा रहेछ ! अनि राम्रो व्यंग्यात्मक पनि !

वेदनाथ पुलामी ( उमेश ) said...
on 

साँच्चै बिना इन्टरनेट पनि बज्रनारायण महान् नै हुन् तर अहिले ईन्टरनेटले चमत्कार नै गर्‍यो नि।
इन्टरनेट महान् हो। जय इन्टरनेट!! जय बज्रनारायण!!!

कलमबीर_घोताने said...
on 

तितो यथार्थ....मीठो शैलीमा....हुन त यस्ता गल्तीहरू सुरू सुरूमा मात्र गर्ने होला मान्छेले । नामकै भोकले मान्छे मोटरको सिट पछाडि,रूख र कागजी नोटमा समेत आफ्नो नाम लेख्न पछि पर्दैन । नाम कमाउन खोज्नु राम्रो हो । तर कसरी कमाउने विचरो जान्दैन । आफ्नो नाम आफैले हैन अरूले लेख्ने वनाउनुपर्छ त्यो पनि राम्रो काम गरेर । हरे....यो कुरा कहिले वुझ्ने होला मान्छेले!!!!
(यहाँ 'मान्छे'शव्दले सवै मान्छेको प्रतिनिधित्व गर्दैन)
राम्रो लेखको लागि धेरै धेरै धन्यवाद ।

Ashesh said...
on 

म त फेरि आएँ है। माथी अशेष भाइको 'मान्छे' को परिभाषा साह्रै चित्त बुझ्ने लाग्यो ।

अनि हेर्नुस त, मैले एक-दुई हप्ता भित्र यही कथा पनि कुनै 'बज्र नारायण' वा "बज्र नारायणहरु" ले कपि पेस्ट गर्लान भनेर लेखेको मात्रै थिएँ, २ दिन पनि कुर्नु परेन :( ।

तपाईँसँग पूर्व स्विकृती लिएर टाँसेको भए त भिन्नै कुरा। त्यसो हैन र पहिला 'उता' टाँसेर पछि मात्रै तपाईँलाई 'बोधार्थ' दिइएको हो भने माथिको nepalarab.com पनि "बज्र नारायण" नै हो ।

तपाईँ हामी आफ्नो ब्लगमा 'एड सेन्स' वा अन्य उपलब्ध कुनै विज्ञापन समेत नराखी ब्लग चलाउनेको पोस्ट कमर्सीयल सइटमा हाल्नु पूर्व सोध्नै पर्छ । सोधिएरै गरेको हो भने ठिकै हो हैन भने मलाई यो पनि सही लागेन :( ।

Dilip Acharya said...
on 

दिलिपजीको पहिलो कमेन्टको दुई दिन नहुदै फेरि यस्तै भयो। दिलिपजीले भने जस्तै हामी बिल्कुल लेख्‍ने मान्छे हौ र लेख्‍नु हाम्रो शौख हो न कि पेशा। कुनै लेख मन पर्‍यो भने बोधार्थ दिएर लान पक्कै मिल्दैन यो पनि अर्को बज्र नारायनकै रुप हो। एउटा सही जमात र प्रकृयाकै कुरा गर्ने हो भने पनि पहिले सोध्नु पर्‍ने थियो कि लेख लैजाउ वा नलैजाउ भनेर।
टिप्पणी उठाएर लेख लैजानु वा कतै पुन प्रकाशित गर्नु आफैमा ठिक कुरा हैन। यस्तो नभएकै राम्रो हो।।
मेरो बल्गका सम्पुर्ण सामाग्रीहरु कतै अन्य बल्गमा देखा पर्नु र स्रोत समेत नखुलाईकन यसको अनाधिकृत प्रयोग गर्नु चोर्नु भन्दा अरु केही पनि हैन। मरो घरमा आएर नसोधिकन मेरो सामान चोर्नु अनि फोन गरेर मैले लगे भन्ने पनि चोर्नु नै हो। फरक हो त मात्र चोर्ने रुपको.. यथार्थतामा सबैको एउटै सार छ त्यो हो बज्रनारायणता..
दिलिपजीलाई धेरै धेरै धन्यबाद, बल्ग लेखन चोरीको तपाई पनि निकै पिडित हुनु हुन्छ र यसको यथार्थता तपाईलाई अझै बढी थाह छ। त्यसैले मेरो मन सगै रहेर आफ्नो बिचार राखिदिनु भयो।
साथै सम्पुर्ण मेरा साथीहरु र पाठकहरु जो मेरो बल्गहरु पढ्नु हुन्छ र मलाई सुझाउनु हुन्छ यहाहरुको यस्तै साथको अपेक्षा गरेको छु। साथै आफ्ना सुन्दर भनाइहरुका लागि धेरे धेरै धन्यबाद...

दूर्जेय चेतना said...
on 

निकै सत्यता र यथार्त बोकेका ब्रजनारायणको कथा प्रस्तुत गर्नुभयो दू्र्जेय चेतना जी । यो वास्तबमै दुखको कुरा हो जो ब्रजनारायणले ब्लग सुरु गर्नुभन्दा अगाडी कति मेहनत गरेका थिेए लेखेर खानलाई । त्यस्तो नाम चलेको साइटले पनि यसरी बिना जानकारी अरुको लेखलाई प्रकासित गर्नु गैरधन्दा नै हो जस्लाई हामि सबै मिलेर निरुत्साहित गर्नु पर्छ ।

सूर्य/सिकारु said...
on 

भने पछि बज्र नारान ले सजिलै सँग इस्कुल मा पहिलो हुने, किताब लेख्ने अनि पत्र पत्रिका मा लेख छपौने गरेका हुन "पनि" भन्न खोज्या जस्तो लाग्यो है मलाई त। हुन पनि सक्छ। नानी
देखि लाको बानी लाई अहिले पनि जिबित राख्दै ब्लग चलाका हुन सक्छन कपी पेस्ट गरेर। बज्र नारान हरुले अलिकती दुख्ख पाउन।

नयां लाउरे (Naya Laure) said...
on 

Post a Comment