यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, July 19, 2009

कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ।

पार्दापार्दैको तातो-तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को। सन्झना मात्रै रह्यो के गर्नु? रमेश हिजो दुःखेसो पोख्दै थिए। हैन के भयो रमेश दाई आज अचानक सबै कुराको याद किन आयो? मैले सोधे।


के गर्नु? हामीले याद मात्र गर्ने त हो नि, समयले कस्तो कोल्टे फेर्‍यो है? जन्मे हुर्केको ठाँउको याद त सधै आउछनै, कुनै बिशेष समय र परिस्थितिको आगमननै हुनै नपर्ने रहेछ, हैन र? मेलै सहमत जनाए। त्यसो त यादनै गर्नु पर्ने केही त होलानि? मैले सोधे।


के छैन भन्नु खै। कति दिन भयो मेरो मनमा एउटै कुराले जरा गाडेर बसेको छ। दिनमा नै किन? आफ्नो ठाँउको त हरेक समय याद आउदो रहेछ। हिजो मुस्किलले आमासंग कुरा गरेको थिए फोनमा। कैली गाई र काली भैँसी बेचिदिनु भएछ आमाले। कस्ले हेर्ने? कस्ले घस्याउने? “हैन यसो एक मुठ्ठी दूध खान हुन्थ्योनि आमा” मैले सोधे। “बूढी भए अब म; घासकाट्ने त कुरै नगर बाबु, भकारो सफा गर्न पनि नसक्ने भए। तेरो बाबुको त झन कुरै नगर। उहाँ हिजो देबीथान सम्म पनि जान सक्नु भएन। एउटा खुड्किलो चड्योकी स्याँ स्याँ भएर कस्तो गाह्रो, बीच बाटै फर्कनु भयो।“आमाले थप्नु भयो।


अनि के गरेर खाने दूध? फेरि बुबालाई दूध नभई भागै नबस्ने बानी छ। तपाईलाई पनि हर्पेमा टन्न ध्यू नदेखे सम्न निद्रानै आउदैन। हैन र? मैले जान्न खोजे।


“समय रहेछ बाबु, अब बूढाबूढी भइयो, काम गर्नै नसक्ने, गर्न पनि जागर नै नहुने। साह्रै गाह्रो हुदो रहेछ बाबु यो बुढेसकाल त। हामीले दूध त खान्छौ पीर नगर, घर नजिकैबाट अहिले मोटर बाटो खनेका छन्। हिउँद भरि जिप चल्छ। अबको बर्खा सम्म त ढुङगा पनि ओच्छ्याउछन् होला। माथि ठूल्कान्छाले डेरीको दूध राख्छ बेच्नलाई, यसो एउटा रातो पोका ल्यायो, बूढाबूढीलाई दुई छाक पुगिहाल्छनी। ध्यू पनि त्यही पाईन्छनि, नराम्रो चाँही छैन है त्यो ध्यू”, आमाले एकै सासमा भन्नु भयो।


“हुन त हो आमा, तपाईहरुले कति कष्ट गर्नु हुन्छ, जति गर्नुपर्ने हो गरिसक्नु भयो। अब मेरो पालो हो,” मैले सान्त्वना दिन खोजे।


अनि भाई खै त? मैले सोधे।


“भाईले पनि तल बजारमा बिजुलीको काम गर्‍थ्यो, अहिले घरमै छ। काम राम्रो भएन भनेर चिन्ता गरिराखेको छ। बरू मिल्छ भने त्यतै बोलाएर हेर्ने।”


“काम त यहाँ पनि गाह्रो छ तर पनि त्यसो भन्छ भने बिचार गर्नु पर्ला। फेरी तपाईहरू बिरामी हुनु भयो, यसो केही भए त हेर्ने मान्छे पनि त चाहियो नि।” मैले सोधे।


“हेर्न त बुहारी छ नि, यसो बेलामै कमाउन सक्यो भने त्यसलाई पनि काम लाग्ला नि त।” आमाले थप्नु भयो। मैले हस भने।


खेतीपाती के गर्नु भो यसपाली?


कस्ले हेर्ने? कान्छो विदेश जान्छु मात्र भन्छ। त्यती मेसो पाउदैन त्यसले, केटाकेटीनै छ अझै। काम गर्ने कोही नभए पछी के गर्ने, यसपाला देखि अधीमा दिए। गोडा १,२ मुरी आउला, एक दुई महिनालाई पुगिहाल्छ, बाँकी बेसाउनु पर्ला, के गर्ने त? बाटोखुलिहाल्यो, नुनतेल, चामल सबै किन्न पाईन्छ, के का लागि दु:ख गर्नु खै? भाईले पनि सक्दिन भन्यो। कमाउने तँ मात्र हो, कति पुर्‍याउछस् खै? यसो भाईलाई पनि त्यतै बोलाएर काम लगाईस भने, तलाई पनि सजिलो, हामीलाई पनि ढुक्क हुन्थ्यो।" मैले हुन्छ आमा म काम खोज्छु अनि खबर गरुला है त" भने। बिदा भए म त्यस पछि।

“मैले यहाँ काम राम्रो भएन, जतिसुकै मरिमेटेर काम गरे पनि आफूलाई ठिक्कै छ। सबै परिवारसंग सल्लाह मिल्यो भने घर फर्कन्छु। यहाँ गरेको जतिसुकै काम र दुःख गरे भने, गाँउमै पनि यति कमाउन सकिन्छ। खेत छ, बारी छ, खरबारी छ, टन्नै रुखबुट्यान छन्, जे गरे पनि हुन्छ। भैसी पालेर, बाख्रा पालेर, तरकारी लगाएर पनि त हुन्छ नि यहाँ जत्तिको त। मैले सल्लाह गर्न नै फोन गरेको थिए आमालाई। तर भन्नै सकीन।”


“आमाको कुरा पनि ठिकै हो, अब बुढेसकालमा कस्ले गर्छ त?” मैले भने।


“हैन म छु, मेरी श्रीमती छिन्, भाई, बुहारी छिन्। हामी चार जना काम गर्न सक्छौ नि त। भएका बच्चा बच्चीलाई आमाले र बुबाले घरमै बसेर हेर्न सक्नु हुन्छ। हामी चार जनाले एउटा एउटा काम हेर्यो भने पनि त राम्रै हुन्छ नि। फेरि बाटो खुलेको छ। बजार लान सकिन्छ उत्पादन भएका कुराहरु। बाटो खुल्यो भनेर सबै काम छोड्न त भएन नि। घर नजिकैको पसलमा हाम्रो सामान नै बेच्न पनि त सकिन्छ हैन र? हामी कहाँ भएको बस्तु घर नजिकै बेच्दा, ताजा पनि सस्तो पनि हुन्छ नि त। बिकासको त राम्रो फाईदा उठाउनु पर्यो नि।” रमेश भन्दै थियो। मलाई चित्त बुझ्यो उसको कुरा।


“हैन यहाँ, पाउरोटी र बासी तरकारीको के कुरा गर्नु र फेरि पार्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुननै राखेको किन नहोस; कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को हैन र?” मैले टाउको हल्लाए र सहमत जनाए। तर रमेश रोकिएको थिएन।


“हेर साथी म अब घर जान्छु, जसले जे सुकै भनोस। यहाँको बासी पाउरोटी भन्दा त मेरो तिक्ले खोल्साको मूलको पानी नै तागतिलो लाग्छ मलाई। यहाँको शहरी झ्याँउ झ्याँउ भन्दा, बासधारीकै झ्याँउकिरीको आवाज राम्रो। मैले जे गरे पनि मेरै गाँउ ठाँउको लागि गर्नु पर्छ। यत्रो समय परदेश बसेर के गरिस भनेर सोधे भने मैले परदेश बसेर गुन्द्रुक र कोदोको पिठोको मुल्य र महत्व जान्ने काम गरेँ भन्छु। गुन्द्रुक र फापरको मूल्य जाने भनेर भन्छु। मैले यत्रो दिन परदेश बसे तर मेरो सपनामा यो शहरी रमझम कहिल्यै आएन, सपना देख्छु मात्र घरको, त्यही पाखा र खरबारीको।“ रमेशको अनुहारमा चमक आएको थियो।


“बरु त पनि हिड”। रमेशले थप्यो।


“हैन रमेश, तेरो र मेरो परिस्थिति फरक छ। तेरो त नेपाल गए पनि दशनङ्ग्रा खिआएर खाने जमिन छ। पाखा छ, बन छ, खेत र बारी छन्। मेरो त केही पनि छैन। एक प्रकारले मेरो परिवारको एउटा मात्र कमाउने नै म हूँ। मेरो त केही पनि छैन। बूढाबूढी भएका बा आमा, बिबाह गर्ने बेला भएकी बहिनी, आफ्नै पनि त २ वटा छोरीहरु छन्। राम्रो खानेको त कुरै नगर रमेश,बेस्करी हुरी बतास आयो भने की त खाट मुनि पस्नु पर्छ की त नजिकैको स्कूलमा जानु पर्छ। मेरो यहाँ बस्नुको कुनै बिकल्प छैन।“ मैले जे हो त्यही भनिदिए। रमेशलाई नराम्रो लागेछ सायद मेरो नजिकै आयो र अनुहारमा हेरेर भन्यो, “सरी यार। तलाई मैले............................।“ रमेश बोल्नै सकेन


“हेर रमेश तिम्रो त गरेर खाने ठाँउ छ, आफ्नो भन्ने राम्रो घर छ। गर्ने हो भने तिमीले घरमै बसेर धेरै राम्रो गर्न सक्छौ तर मेरो केहि छैन। मैले यहाँ बसिन भने, साहूँको पैसा तिर्ने त कुरै छोड, बिहान बेलुका हात मुख जोड्ने उपाए पनि छैन। देशमै काम खोज्न गाह्रो छ। त्यसैले म अहिल्यै जान्न। तर तिमी जस्ता हुने र केही थलो भएकाहरू यहाँ बसेर हुदैन्, तिमीहरु फर्किएर केही गर। थलो हुनेले र एक छाक खान पुग्ने पनि यसरी यहाँ बसेर कसरी बिकास होला र गाँउ ठाँउको? बरु जाउ राम्रो गर र हामी जस्ता केही नहुनेलाई काममा लगाउन सक्ने बन्यौ भने मलाई पनि त बासी पाउरोटीमा बाच्न मन छैन। पर्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यूको स्बाद मलाई पनि त थाह पाउनु मन छ।" त्यस पछि मैले केही बोल्नै सकिन....। रमेश मेरो काधमा हात राखेर मलाईनै हेर्दै, मेरै अनुहार पढ्दै थियो र भन्दै थियो हुनत हो है कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ र।।।।।।।।

Picture 006

(यो एक सत्य घटना थियो, सात बर्ष पहिले दोहामा काम गरेका मेरा साथिहरुको बीचको बार्तलापको आधारमा लेखिदिए ,रमेश घर फर्किएर निकै राम्रो काम गरेको छ , उसले भने जस्तो गाई, भैसी त पालेन तर पाखा भरि सुन्तला,बास(तामाको लागि) र घर वरिपरी बारीमा तरकारी लगाएर निकै कमाउन थालेको रहेछ। मैले उनको दोहा बसाई र नेपाल फर्किनुको कारण सोधेको थिए धेरै पहिलै, त्यसै बेला उनले भनेको कुराहरूलाई फूलबुट्टा भरेर मैले राखेको हुँ, उनको साथी (म )फर्के वा फर्केनन् थाह भएन , उनको घरको र सुन्तला बारीको फोटो थिएन म संग तर मेरै मावली गाउँमा खुलेको नयाँ बाटोको नै भए पनि फोटो राखैको छु हैँ। यो लेख सबैको लागि लागू नहोला है)

Comments :

13 comments to “कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ।”

कती सुन्दर गाउं ? मेरो नेपाल । स्वदेश नफर्केको पनि ५ बर्ष भयो, ठ्याक्कै । तपाईंले गजबको कथा लेख्नुभयो । धक फुकाएर पढें ।

खुल्लामन्च said...
on 

हो सबैलाइ भनेजस्तो सजिलो त हुदैन तर सधै बिदेशमा बसेर पनि हुदैन नि। कि नभए परिवार नै उअतै पल्न सक्ने हुनुपर्यो। नभए फर्के पछी केहि गर्न सक्ने हुनुपर्यो होइन र

wordflows said...
on 

प्याराग्राफ चेन्ज भएका ठाउँमा खाली स्पेस नदिईएकाले पढ्दा कतै-कतै अलिकता निसास्सेला जस्तो हुन्छ तर .... तर यो तपाईको आजसम्मकै उत्कृष्ट रचना भएको जस्तो लाग्यो मलाई । वाह!!

Dilip Acharya said...
on 

kasto sandharbhik post, really loved it

Neeti Aryal Khanal said...
on 

साह्रै मन प-यो तपाँईको गहन भावपूर्ण लेखाई!एकदम स्तरीय रचना छ।

Sujan Sharma said...
on 

दिलिपजी मैले तपाईले भने पछि मिलाएको छु। सायद अब ठीक भएको होला है? धन्याबाद है सुझाईदिनु भएकोमा।

दूर्जेय चेतना said...
on 

दिन दिनै ठेकीको दहिमाथी लागेको बाक्लो तर" चाहि सुटुक्क हराउथ्यो, आमा सधै नै सोध्नु हुन्थ्यो, फेरी आज कसले चोर्यो? म बिरालो तीर इशारा गर्थें, अनि धनसारमा घर बनाएर बसेको बिरालोले अनाहकमा दोष पाउथ्यो। नौनी पगाल्ने बेला हुन्थ्यो, अनि एउटा बाठो भएर तात्तातो बिलाउनी सहितको घ्यू खान भांसा मै गएर होमवोर्क गरे जस्तो गर्दै कचौरा लिएर धूकेर बस्थ्यो .......... आज अचानक सबै कुराको यस्तो याद किन आइरहेछ ?

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

हो कुरा सही हो कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ र !
निकै ओज पूर्ण रहेको छ - सकारात्मक दृष्टिकोण भरिएको लेख |

मेरो आफ्नै ब्यथा लेख्नु भए जस्तो लाग्यो | पुरै स्थितिले मेल नखाए पनी - मलाई झस्काइदियो |

बेदनाथ पुलामी ( उमेश ) said...
on 

यो कथा पढ्दै गर्दा मलाई हाम्रा अग्रज आइबी राईको कथा 'त्यो त्यसरी बाँचेको छ, त्यसरी नै' को झल्को आयो ।

जीवन-सङ्घर्षको विवश पाटोलाई उजागर गर्ने नेपाली जनजीवनको थुप्रैथुप्रै रचनामध्येको एउटा उल्लेखनीय उदाहरण बन्ने सामर्थ्य देखेँ यस कथामा ।

"पार्दापार्दैको तातो-तातो मही, पिरो खुर्सानी र नुननै राखेको किन नहोस्; कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनीसहितको घ्यू बुत्याउनुको मजा नै अर्को"

"यत्रो समय परदेश बसेर के गरिस् भनेर सोधे भने मैले परदेश बसेर गुन्द्रुक र कोदोको पिठोको मूल्य र महत्व जान्ने काम गरेँ भन्छु । गुन्द्रुक र फापरको मूल्य जानेँ भनेर भन्छु ।"

कति मीठा यी हरफ, र पूरै कुराहरू !

रमेशहरू यसरी नै फर्कन सक्ने स्थिति भए, एउटा देश, एउटा समाज, एउटा गाउँ, र गाउँभित्रको एउटा घर कति उर्वर हुनेथ्यो !!

यो कथाले सात समुद्रपारिको परदेशमा रहने कान्छाहरूलाई मात्र त के कुरा, देशभित्रै सहरतिर बग्दै आएका सन्तान-मनहरूलाई पनि सिर्कना हानेको छ ।

धन्यवाद !

Jotare Dhaiba said...
on 

साह्रै सान्दर्भिक र प्रेरणादायी टाँसो! साथमा नेपाली जीवनको सौन्दर्य र आत्मीयतालाई साह्रै राम्रोसंग घोल्नुभएको रहेछ।
आफू पनि नेपाल नफर्की अरु कुरा के लेख्नु र खोई मैले जस्तो लागेको छ अब। नेपाल फर्कने चाहना झन् बलियो भएको छ। तपाईँको यो टाँसोका लागि धेरै-धेरै धन्यबाद!

Basanta said...
on 

बाध्यताले बिदेशिने अनि लहैलहैमा बिदेशिने २ खालको जमात छ । फर्कने दिनको टुङ्गो पनि त्यहि बाध्यताले लगाउछ । बिदेशमा मन रत्तिएको नेपाली शायद कमनै होलान् । आफ्नो पनि फर्कने दिन कहिले आउला ? यहि सोचाइ बनायो यो कथाले ।

दिनेश राज said...
on 

wow !!! ..a perfect creation...

दुर्जेय जीको यो पोष्ट चाहिं आज छुट्टिको दिनलाई राखेको थिएँ ... मजाले बिताईयो .. साँच्चै राम्रो लेख्नु भएको रहेछ .... नेपाली गाउँ घरको बोलि चाली र परदेशीको व्यथालाई राम्रो संग उतारिएको छ..... सुझाब र निष्कर्षको त कुरै नगरौं ....

धाईबाजीले भने झैं सबै घर छोडेकाहरुको मनलाई यो पोष्टले मज्जाले सिर्कना हान्छ ....

यति मिठो पोष्टको लागि धन्यबाद है...

Milan said...
on 

दुर्जेय ब्रो, म पनि पैला तेसै भनेर बिदेस जाने कुरै सोचिन अरुलाई पनि गाली गर्थे तर अचेल मलाई लाग्छ शायद कतै मैले गरी खाने उमेरमा पनि नेपाल मै बसेर केही कमाउन नसकेर गल्ती त गरिन ?

हावा De Wind said...
on 

Post a Comment