यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, July 1, 2010

अनि प्रश्न उठ्छ!!!

कविता पढियो यस पटकको ? मैले प्रश्न गरे उनलाई। कति पढ्ने खै; अरूका कथा पनि, जीवनै धारावाहिक भइसक्यो, आफ्नै कथा बनाउँदै ठिक्कै भइरहेछ। सीधा तर कतै कतै नमिलेको उत्तरले मलाई के भनुँ के भनुँ भो। मैले भने, हैन हैन उनको कथा क्या, मैले उनको कुरा बुझ्न भन्दा पनि आफ्नो उत्तरै खोजेँ पहिले। आफ्नो कामै यस्तै छ, जति जले पनि, पेलिए पनि काम गर्ने पर्ने, हाकिमको गाली खानै पर्ने, के कथा पढ्नु। आफै कथा भइयो अब,भो अरूको कथा नपढ्ने। मैले फेरि पनि बुझिन, उनले मेरो कुरा नबुझेको हो वा मैले बुझाउन नसकेको निकै अलमलमा परेँ। कस्तो आपत् भो मलाई। हैन के भो उनलाई, खुस्कियो कि क्या हो ? मन मनै सोचेँ। मान्छे किन सुखमा कविता लेख्दैनन् हजुर? उल्टो मलाई प्रश्न गरिन् उनले। हैन होला, लेख्छन्, किन नलेख्‍नु, मैले भने। सुखका कविता, कथाहरू मैले नपढेरै हो त? उनले फेरि सोधिन्। पक्कै पनि हो नि। तर किन त त्यस्तै मात्र मेरो पोल्टोमा पर्छ ? मैले हाँस्दै भने “तिम्रो ब्याड लक होला”। पक्कै पनि हुनु पर्छ, यस्तो ठूलो जीवन, यस्तो ठूलो संसारमा मलाई मात्र यस्तै हुनु पर्छ त है? उनले मलाई सोधिन्। उनी पनि जोडले हाँसिन र म पनि हाँसेँ। फेरि तिमीलाई यस्तै पढ्नु छ आज.. लौ मेरो बल्ग हेर है त। मैले उनलाई मेरो बल्गमा आउन भने।


बिहान उठ्दा न उनी थिइन् न मेरो बल्गमा उनको लागि कविता। फेरि मनमा डर लाग्यो, कतै उनी मलाई खोज्दै आउने त हैन ? निराश भएर पो फर्कने त हैन? निबन्ध लेखेँ, उनलाई कुरे, साथीहरूलाई देखाए, तर न उनी आएको थाह भो न साथीहरूले नै केही सुझाए। तर चाहेर पनि फेरि दु:खको कविता दिन सकिन उनलाई। मात्रै प्रश्नहरू माथि धेरै प्रश्नहरू जोडेँ, जीवनको दु:ख र सुखलाई बाँधेर निबन्ध लेख्‍न बसेँ, पहिले केही लाइनमै लेख्‍न मन लागेन अल्छि लाग्यो, अनि त्यही लाइनहरूलाई भाँच्दै गए.....


जब जल्छ अनि खरानी हुन्छ

पराल र खरको छाना

जब जल्छ र खरानी हुन्छ

घर र सहरको रूप !!!

तर

खै खरानी यहाँ,

खै अवशेष यहाँ

जलेर पनि खरानी नहुने

पोलेर पनि डाम छैन,

खरानी कसरी बनोस् !!!

तर पनि

जल्छ र खरानी बन्छ

यही सत्य हो

कसरी मान्ने यो सत्य, जब खरानी छैन

हरायो वा उडायो के भनौं

न त हावा चलेको छ

न त पानी परेको छ ।

हराउँदै उडाउँदै गर्दा पनि

न देखिएको खरानी !!!

उफ!!

डढेर पनि नबनेको खरानी

कसरी बनोस् र हराओस्

भौतिक केही अवशेष

तर पनि डढेर जाने रहेछ

खरानी छैन तर पनि जलेको छ

ताप छैन आगो बलेकै छ !!!

तथापि

मन, मन नै हो जो जल्छ

सान्त हुन्छ, बिना वारुणयत्र

बिना पानी र बिना स्वाउला

आफै रोकिदो रहेछ जल्न,

समय!! ठूलो पानी र स्वाउला

जब मन जल्छ सबै जल्छ

तन जल्छ र संसारै जल्छ !!!

त्यसैले

साँचो, जब मन जल्छ

पीडा पनि जल्छ

सत्य, जब मन जल्छ

माया पनि जल्छ

आशा र भ्रम सबै जल्छ

जब मन जल्छ

तब विश्वास पनि जल्छ

खरानी किन बन्नु पर्यो

जल्नुको रूप हराउनु हो भने,

अवशेष किन देखिनु पर्‍यो

जल्नुको रूप उडाउनु नै हो भने !!!

किनकी

पराल, परालै हो

मन मनै हो, जो जल्छ

तर खरानी दिँदैन, अवशेष छोड्दैन

जो नयाँ आशा उमारेर जान्छ

जब आशाहरू पनि मर्छन्

तब मन र आशा सँगै

मान्छेहरू आफै मर्छन्

चिता सँगै मान्छे जल्छ

आशातीत मन पनि जल्छ

फेरि मनले मान्छे जन्माउछ,

अनि प्रश्न उठ्छ

पहिले को ? मन वा मान्छे !!!

Comments :

6 comments to “अनि प्रश्न उठ्छ!!!”

पहीले को ? मन वा मान्छे ?
मन होला शायद ।

गोकुल ढकाल said...
on 

तपाइको मन निकै जलेको रहेछ .....
निकै गहिरो भावमा डुब्नु भएको छ ! लाइन नै पिच्छे शब्दको झटारो हान्नु भा'छ !
दूर्जेय जी .... अनुतरित प्रश्न ???? (म मौन नै बसे )

Bed Nath Pulami said...
on 

माथिको आलेख र तलको कवितालाई जोडेर हेरेँ, खोइ सम्बन्ध नै फेला पार्न सकिनँ ।
र पनि प्रश्न गराइ मन पर्‍यो । मन कि मान्छेको प्रश्नले धेरैको दिमाग यो सृस्‍टि रहुन्जेल नै चक्कराउला, तर मनको रफ्तारलाई उछिन्न मान्छेले कहिले पो सक्ला र, चाहे जल्ने कुरामा होस् या चल्ने (गति) कुरामा ।

Jotare Dhaiba said...
on 

कविताले रस पोख्यो। मन या मान्छे ? आरम्भ संगै लागेको पुर्णबिराम सम्म आइपुग्दा घोत्लियो मन र मान्छेको दौडाइमा । भावले भौतिकतालाई नै जिते जस्तो लाग्यो तर भौतिकता बिना भाव कसरी सिर्जना होला ? प्रश्न आफैमा जटिल छ।

सूर्य/सिकारु said...
on 

मभित्र पनि यस्ता प्रश्नहरु धेरै उठ्छन र सेलाउछन, अनुत्तरित प्रश्नहरुका खातैखात हो मान्छे, एउटा मान्छे -दुर्जेय चेतना ।

कृष्णपक्ष said...
on 

विचारोत्तेजक लेख | मन बदलिरहने तर मान्छे भने लगभग उस्तै भै रहने हुनाले मान्छे नै पहिला पो हो कि,रिफरेन्स फ्रेमको रुपमा ? अझै बहस जरुरी छ|

Chaitanya said...
on 

Post a Comment