यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, May 8, 2011

४५, ६०, ९७, १०० र ८२ का कुरा ३५ सम्म

हेर्दा हेर्दै आधा जीवन गएछ। जीवनमा पछाडि फर्केर हेर्दा सोच्छु, अहिले म सँग जे छ त्यो सहित मेरो उमेर अहिले २० वर्षको भएको भए सायद जीवन रमाइलो हुन्थ्यो होला। समयले निकै चाँडो कोल्टे फेर्दो रहेछ। हिजो सम्म बढ्दो उमेरकै छु जस्तो लाग्थ्यो, अब घट्दो जस्तो लागेको छ। मेरा बाजे बराजुहरू निकै लामो समय बाँचेको मान्छु म। लगभग सबै जसो नब्बेको हाराहारीमा तर उनैको सन्तान म यस्तो होला भनेर कहिले पनि सोच्न सक्दिन।

 

फेसबुकमा एकजना गुरुले निकै पुराना स्कूले जीवनका फोटोहरू राख्‍नु भा थियो अलिक पहिले। फोटो हेर्दा निकै लुरे-लाङ्ग्रे लाग्यो। मेरो वजन पैँतालीस किलो भन्दा माथि कहिले पनि पुगेन स्कूल जीवन भर। तर स्कूल जीवन भर मलाई आफ्नो वजन कहिले पनि नाप्ने मौकानै मिलेन। यो पैँतालीस किलो भन्दा माथि नपुग्नाको अनुमान पनि मेरो आफ्नै खालको छ। SLC दिएर पाँच सात महिना घरमा केही तालिम लिएर बस्दै गर्दा, मामाले मलाई मोटाएको कुरा सुनाउनु भएको थियो। पढाइले निकै निचोरेको रहेछ बरा भान्जालाई, परीक्षा दिएर बसे पछि त पुष्ट मोटाएछन् भन्नु हुन्थ्यो। रिजल्ट आए पछि पोखरा झर्ने बित्तिकै महेन्द्रपुलको पारी फुटपाथमा राखेको, एक मोहर तिरेर वजन नाप्ने मेसिनमा बस्दा थाह पाए म पैँतालीस केजीको रहेछु। यसरी पुष्ट मोटाएको बेलामा त मेरो वजन पैँतालीस केजी रहेछ भने, स्कूल जीवन भरि कक्षा दश भन्दा नौमा र नौ भन्दा आठमा त पक्कै पनि मोटो थिइन होला। त्यसैले सहजै अनुमान लगाउन सकिने कुरा भो यो ।

 

कलेज सुरु गर्दै गर्दाका कथा अहिले म लेख्दिन बरु, मेरो वजनकै कुरा अझै । स्नातक तहबाटै मेरो वजनले नरोकीकन लगातार बढ्ने काम मात्रै गर्यौ। त्यसको पनि कारण छ। अनुमान लगाउनुस त के होला?

 

साथीहरुले एक दिन निकै मीठो हुन्छ भनेर खसीको हो भन्दै रागाको म:म खुवाईदिए। मलाई थाहै थिएन। म निकै चोखो बाहुन बन्नु पर्ने क्षेत्री, त्यसैले खसीकै होला भनेर निकै मीठो मानेरै खाईयो। त्यस्तै एक दिन साँच्चिकै खसीको मम खाने ठाउँमा साथीहरूले लगेँ। तर मलाई त्यो दिन अगाडि खाएको म:म भन्दा निकै खल्लो लाग्यो।(कुरा बुझ्नु भो नि?) मैले सोधेँ साथीलाई, “हैन हो केटाहो, यो अस्तिको म:म भन्दा निकै खल्लो-खल्लो छ त?” साथीहरू निकै हाँसेँ। मुर्दारहरू क्यार्न हास्या छौ हे? भन्दै थिए, अर्को एक जना साथीले फ्यासै भनिदियो। लौ भो अब... पहिलो पटक जातनै फालिएछ जस्तो लागेको थियो। तर त्यो सोच लामो समय रहेन मनमा। मीठो त छोड्ने कुरै भएन, सबै खाजा र नास्ता भुलेर लागियो दिनको कम्तीमा पनि एक-दुई प्लेट म:म खान। खुब खाइयो म:म। अब म:मको यो कथा सँगै स:म को कुरा चाहिँ नगरुँ क्यार सिधै। कुरा बुझ्नुस है..। अब म:म र स:म दुवै सुरु भए पछि वजनले त्यस बेला देखिनै ६० नाघिसकेको थियो।

 

घरबाट आउने तलब त थिदै थियो, बाँकी यसो टिउसन पढाएर आउने रकमले निकै मोज गरियो त्यो समय ताका। मान्छे जाँच्ने डाक्टर बन्ने झोक सबै एउटीको नाममा सेती नदीमै फालेर मान्छे नजाँच्ने डाक्टर बन्ने झोक पनि त्यसै बेला चल्यो। सत्य!! सत्य!! त्यो चाहीँ म:म र स:मको झोक चाहिँ हैन है। डाक्टर भन्दा अरूसँग बिहेनै नगर्ने केही साथीहरूको ताल देखेर, पढ्ने मौका पाउँदा पाउँदै पनि पढिएन। भित्री कुरा हो, खुस्स भने है यहाँ नेर...यो भन्दा बढी भेटेकै बेलामा भनुँला...

 

डिग्री पढ्दा पढ्दै त मेरो वजनले नब्बे काट्यो। टुप्पी कसेर पढ्यो, कहीँ हिड्नु छैन, दौडनु छैन, कलेजमा क्लास लिएर आए पछि घरमा अनि सिधैँ हुनेगरी खायो, फुस्स मोटायो। यो मोटाउने क्रम बढ्दै गर्दा, बिदेशमा पढाई गर्दाको समयको बीचमा सन्तानब्बे पुग्यो। डाक्टरले निकै झपार्यो। जापानी डाक्टरले नै झपार्ने भने पछि के हालत होला। मैले भने, सेन्सेई सन्तानब्बे त पुग्यो अब सय पुगेर झर्छु हुन्न? मेरो घरमा फोन गरेर कुरा लगाई दिन्छु भनेर ठट्टा गर्दै थिए डाक्टर साहेव।

 

जे होला होला, एउटा धोको पनि पुरा हुन्छ भनेर मैले कुरै सुनिन। एकाध महिना पछि ठ्याक्ककै सय पुगियो। सय पुगेको उपलक्ष्यमा फेरि केही केजी थपियो बेलुका। सय पुगेको थाह भएकै बेलामा कलेजको मेडिकल जाँच गर्ने बेला आयो। एक हप्ता पछि रिपोर्ट बुझ्न जाँदा त डाक्टर साहेब रागाको जत्रो गर्धन बनाएर बसेका। रिपोर्टको कुरा त केही रहेनछ, निकै खुसी लाग्यो। जाँच गर्नु पहिले गरिने साधारण नाप तौलको विषयलाई लिएर सय केजी वजन देखेर पो रहेछ त उनी फुलेका। निकै लामो लैक्चर सुनियो त्यसपाली। सबै कुरा थाह भएकै हो, वास्तवमा कसलाई थाह हुँदैन र? यो त मेरो योजना थियो। बेलुका घरमा आए पछि भने त्यसै साँझ देखी दौडियो र खाने कुरामा निकै मेहनत गरियो। लगभग ३-४ महिनाको अन्तराल पछि ८२ केजीमा झरेँ। निकै मेहनत गरेँ। त्यसै बीचमा केही समय बिदामा घर जाने भाको, सबैले कस्तो दुब्लाएछ बरै भन्दै .. ओहो अब के चाहियो? हसुर्न सम्म हसुरियो त्यस पछि के भो भन्दिन है.. यसरी ४५, ६०, ९७, १००  र ८२ का कुराहरु सकियो। यो सबै गर्न र भोग्न ३५ बर्ष लागेछ। एउटा कथा आफ्नै,।। बीचका मापनहरुभने मैले त्यती ख्याल गरिन त्यसैले लेखिन है ।

 

यस मानेमा मेरो जीवनशैली अहिले सम्म अनुशासित रहेन तर योजनाबद्ध भने रहयो। एक प्रकारले हेल्चक्राई गरेर बाँचेको जीवन। तरकारी किन्न भनेर जाने, आउने बेलामा थैलो भरी मासु र मासुका परिकार बोकेर फर्कने शैली निकै लामो समय चल्यो। मासु र तेल भन्दा खानु केही छैन। दूध दहीको त कुरै नगरुँ। खाए पनि सबै रसायन मिसाएको भन्दा केही पाईने र खाईने हैन। यस्तो जीवन शैलीमा बाच्ने र बाच्न बाध्य हामीले अब यो भन्दा बढी के नै हुने छ र? त्यस माथि मानसिक दबाबको त कुरै भएन। तनाव र बाध्यताको जीवन शैलीमा हुर्केर बढेका हामीले अबको बाकी समय कसरी जिउने भन्ने सोच्नु पर्ने छ।

 

मोज मस्ती गर्ने एउटा समय र उमेर हुन्छ जीवनको। यसै बीचमा उमेर सँगै गरिने र भोगिने जीवन-लिलाको मोज र आनन्द सांसारिक जीवनको एउटा महत्वपुर्ण पाटो हो। जीवन योजनाबद्ध हुँदा रमाइलो हुन्छ सायद। अहिले सम्म योजनामा चलेको छु, बाकी जीवन अर्कै रूपमा अझै योजनाबद्ध र अनुशासित भएर बाच्नु छ। अहिले सम्म कामले र दामले मामका लागि दबाब दिएको छ र यसरी दबाब र दौडधूपले कमाएको मामले कुनै पनि बेला शरीरका अँग र त्यसको संगतमा रहेको रोगलाई उत्प्रेरकमय दबाब दिन थाल्यो भने, सायद निकै गाह्रो हुन्छ धान्न र थाम्न... चेतना भया

Comments :

5 comments to “४५, ६०, ९७, १०० र ८२ का कुरा ३५ सम्म”

शीर्षक त लास्ट मा पो बुझियो । गज्जब, यस्तै हुन्छन् जिवन का आरोह, अवरोहहरु !

Aakar said...
on 

तरकारी किन्न भनेर जाने, आउने बेलामा थैलो भरी मासु र मासुका परिकार बोकेर फर्कने, हाहाहा यो बाक्ये खुबै सान्दर्विक लाग्यो ।

Bigyan said...
on 

तपाईंले त ३-४ महिनामै १०० बाट ८२ झार्नु भएछ निकै ठूलो सफलता मान्छु म यस्लाई आफ्नो त खै ओछ्यान मुनि तौल नाप्ने चैं ल्याएर राख्या छु दिनदिनै दौडिदै नाप्दै पनि गरियो केही दिन , १-२ दिन अलि ब्यस्त भै यो भने केही दिन फेरि त्यतिकै बिर्सन्छ , बढ्नी १० मा घट्नी २-४ मा पो भै रा छ त :)

दिनेश राज said...
on 

यस्तो शिरीयस कुरा लाई पनि कस्तो ठट्यौली पारामा लेख्न सक्या हो ! । हुन त आफ्नो वजन ७० भन्दा तल नै छ ... तैपनि यो पोस्ट पढेर धेरै कुराको चेतना भया ! । धन्यवाद ।

Dilip Acharya said...
on 

जिन्दगीका आरोह अबरोहहरुलाई रसिलो (तपाइले पहिलो पटक खाएको म:म भन्दा पनि) पारामा प्रस्तुत गर्नु भएको रहेछ। गज्जब लाग्यो।

प्रकाश समीर said...
on 

Post a Comment