यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, December 23, 2011

मरुभूमिको चिसो भेडीगोठ र एकाध लाख रुपैयाँ।।।

ताबुक भन्दा दक्षिण-पूर्वी क्षेत्र  कुन बाटोबाट त्यहाँ पुग्यो उसैलाई थाह छैन। एअरपोर्टमा झरेर दलालको पछि लागेर नै विशाल मरुभूमिमा प्रवेश गरेको थियो बज्र नारायण। लगभग एक लाख ऋण लिएर अरब पुगेको थियो र दुई वर्षमा ऋण तिर्यो। काम र दलालको SAUDISAMEWपरिवेशमा फस्दै तातो र चिसोको बेजोड मरुभूमि सगै भेडीगोठमा बाख्रा र ऊँट हेर्ने काम पाएको थियो। भाग्यले साथ दिएरै होला उ सँग आफ्नो कागज र परिचय थियो। उ सँगै कहयौ नेपालीहरू मानव तस्करहरुको फन्दामा परेर बिना परिचय, नक्कली पासपोर्ट लिएर काम गरिरहेका र प्रहरीको कालो सुचीमा अकिंत थिए।

गर्मी भन्दा पनि रातमा हुने चिसो उसलाई गाह्रो लाग्थ्यो। शहर भन्दा अलिक पर, पैसा कम तर खर्च बढी नहुने हुँदा, त्यही काममा जाने बिचार गरेको थियो उसले। काम गरुन्जेल दिनको तातो र रातको चिसोले कहिलै पनि सन्चो र स्वस्थ रहेन बज्र नारायण। जसरी पनि पैसा जम्मा गर्नु थियो। उ त्यहाँ पुगेकै वर्ष, दोस्रो महिनामै आमा खस्दा समेत पन्ध्र महिना पछि खबर पाएको थियो तर पनि त्यस बेला उ घर जान सकेन। जाने पो कसरी, पैसा जम्मा भएको थिएन। घरमा लामो समय खबर नहुँदा सबैले चिन्ता गर्थे। हरेक मान्छेले आफ्नै खालको अड्कल लगाउथे। लामो समय सम्म खबर नहुँदा घरकी श्रीमतीलाई पनि कहिलेकाहीँ शङ्का हुँदो हो। उसको मन नपोलेको हैन तर पनि केही कुराको पर्बाह नगरी घरको गरिबी सम्झेर पैसा जोड्न र जोगाउन तिर लाग्यो। त्यसै बीच चिठ्ठी र खाम भित्र राखेर पठाइने सुर्ती पनि खान छोड्यो। सुर्ती र खैनीको ठूलै व्यापार थियो त्यहाँ। पर ताबुक शहरमा काम गर्नेहरु सँग त्यहाँ जानु अगाडि सम्पर्क गरेको थियो सुर्तीको लागि। अब त्यो पनि महँगो भयो। राम्रै भयो त्यही बहानामा उसले सुर्ती खान छोड्यो।

लगातार तापक्रमको उतारचढाब र धूलोले बिस्तारै बिरामी पर्ने थाल्यो बज्र नारायण। जतिसुकै मुख छोपेर बसे पनि धूलो मुखमा पस्थ्यो नै। तर जे होस उसको भेडीगोठ मालिक भने असल थिए। ऊँटको मासु र दूध खान भने जत्ति पनि पाइन्थ्यो। त्यसो गरीकन जेनतेन अर्को तीन वर्ष मरुभूमिमा बाख्रा र उँटको पछि लागेरनै चानचुन दुई लाख कमायो। केही समय पछि बज्र नारायण तातो, चिसो र धूलोले बेस्करी, बिरामी पर्‍यो र काम गर्न सकेन। मालिकले बिरामी भएको देखेर केही बाटो खर्च दिएर घर पठाई दिएका थिए। जे जस्तो भए पनि उ घरमा फर्किँदा सबै खुसी थिए। श्रीमती बुढा बाबु र छोरी सबैले सन्तोषको सास फेरेका थिए।

केही सानोतिनो व्यापार गरेर गाउँमै बस्ने र भैँसी पाल्ने बिचार बुन्दै थियो बज्र नारायण। भोलिपल्ट बिहानै उठेर खेल्न माथि गाउँ तिर हिँडेकी ८ वर्षकी छोरी बेलुका अबेर सम्म घर फर्किन। छोरीको सबै तिर खोजी भयो, कतै भेटिएन। बेलुका ९ बजे मोबाईलमा घष्टी बज्यो। “दुई लाख रुपैयाँ लिएर आइज, छोरी लिएर जा”

Comments :

4 comments to “मरुभूमिको चिसो भेडीगोठ र एकाध लाख रुपैयाँ।।।”

यो कथालाई सत्यघटना हो भनिदिंदा पनि फरक पर्दैन | हत्या र अपहरणमा आफ्नो शक्ति देख्ने विकृत राजनीतिको अनुकरण गर्दै नेपाली समाजमा पसेको अपराध प्रवृत्तिको गतिलो चित्रण भएको छ यसमा | गरीब देश र गरीब समाजको मनोबललाई यस्ता प्रबृत्तिले झनै छिन्न भिन्न परेका छन् |

Chaitanya said...
on 

कथाको पुछारसम्म पुग्नै लाग्दा समेत 'अर्कै अन्त' को कल्पना गरेर एकै सासमा पढ्दै थिएँ यो कथा । तर गज्जबको अकल्पनिय मोड रहेछ अन्तमा । जसले कथालाई ज्यादै सशक्त बनाएको छ ।

बेजोड कथा !!!

Dilip Acharya said...
on 

यो नेपाल हो यहाँ कसैले पैसा कमाएको थाहा अरुले पाए भने कसरि हुन्छ लुट्न नै खोज्छन, शान्ति सुरक्षाको अवस्था निक्कै नै नाजुक छ |

Keshab Ghimire said...
on 

सशक्त कथा ।

दीपक जडित said...
on 

Post a Comment