यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, November 29, 2011

फूलको आँखामा काँडै संसार..

के युद्ध रचना गर्ने ईश्वर हुन्छ? ईश्वरत्व प्राप्त गर्न बुद्ध बन्नु पर्छ र? के यस्तै भन्दै आएको छ हाम्रो शास्त्रले? हैन भने महाभारतको युद्ध भगवान कृष्णले चाहेको भए रोकिन सक्थ्यो हैन र? ज्ञानी र बुद्धिमानी अर्जुनलाई नै गीता सुनाएर एउटा असल मान्छेलाई युद्दको लागि प्रेरणा दिए उनले। संसारको सबै भन्दा बढी मानव क्षति भएको युद्द थियो त्यो। भनिन्छ आणविक हतियारहरूको प्रयोग समेत भएका थिए त्यस बेला। संसारमा सबै भन्दा पहिले गीताको ज्ञान लिने अर्जुनलाई बुद्ध कहिलै पनि भनिएन। ज्ञानी हुदैमा बुद्धत्व प्राप्त हुँदैन भन्ने यो एउटा उदाहरण हो। लडेर, मारेर र हत्या गरेर मान्छे बुद्ध हुँदैन भन्ने यो भन्दा राम्रो उदाहरण के होला? कर्म नै हो भन्ने नाममा करोडौँ मान्छेको हत्या गर्न लागाउने मान्छे ईश्वर मानेका छौं हामीले। जुवा र तासको खेलमा आफ्नी श्रीमतीलाई समेत दाउमा राख्ने जुवाडेलाई ईश्वर मान्छौ हामी। वास्तवमा हामीले ईश्वरीय लिलाको नाममा गरिएका सबै नराम्रा र दुष्कर्महरूलाई हाँसेरै स्वीकार गर्छौ, चर्चा गर्छौ र त्यसको महिमा गाउँछौं। अर्काकी श्रीमतीको सतीत्व लुट्न जानेहरुलाई ईश्वरको लीला भनेर पूजा गर्ने हामी, एकाध दुई जनालाई दुःख दिने दानवहरूको बिनासको लिलालाई स्वीकार गर्दैनौ । श्रीमानको गल्तीको लागि उनको श्रीमतीको सतीत्व लुट्नु पर्ने बाध्यताको बीच, उनीमाथी के गुज्रन्छ कसैले सोचेनौँ। न ईश्वरले न हामी ईश्वर मान्ने मान्छेहरूले उनको पीडा, उनले जीवनभरि गरेको घर्म नष्ट गर्न ईश्वरनै तम्सेर जाँदा समेत त्यसलाई कथा वा सत्य प्राप्तिको मार्ग भनेर युगौँ सम्म सुन्दै र सुनाउँदै आयौं। ईश्वरनै आफ्नो भक्तको धर्म नष्ट गर्न तयार हुन्छन् भने के को आशा गरेर हामी फेरि उनैको शरणमा जान्छौ? ईश्वरनै हौ भने किन अज्ञानी, घमन्डी र दुराचारी दुर्योधनलाई गीता सुनाएनौ? गीता पढ्न खोज्ने, जान्न खोज्ने मान्छे ज्ञानी हुन्छ तापनि किन ज्ञानीका लागि मात्र प्रयोग भयो? अज्ञानीले किन सुन्न पाएन। ज्ञान त अज्ञानीलाई हुनु पर्ने थियो नि । सुनेर पनि युद्द गर्नु नै छ भने किन सुन्नु पर्‍यो? मात्र प्रतिनिधि उपाख्‍यान...

 

यहाँ पनि त फरक छैन, त्यहाँ एक जनाले गीता सुने, ज्ञानी भए अनि ज्ञानी भएको मान्छेले सबै आफ्नालाई त मारे। जो मरे, आफ्नै मरे र आफ्नै परिवार सुन्य बनाएर राज्य गरे। युद्ध पछि कहिलै, युद्धको समीक्षा गरिएन। युद्दको खर्च र लागत कहिलै भनिएन, तैपनि इतिहास भन्यो, महाभारत तयार भयो। स्वयं ईश्वरले आफू मर्नु पर्छ भनेर सोचेनन्। ठूला ठूला दिव्यास्त्रहरूबाट बचेका उनलाई, सानो सिकारीको वाणले मार्यो। आफ्नै परिवार र आफ्नैको लागि मार्न उनी आएका हुन भन्ने कुरा हामीले बिर्सियौं। आफ्नै दुराचारी मामा मार्ने काम बाहेक, छलकपट र बदमासी नै गरेर ईश्वरत्व प्राप्त गरेका उनकै पुजारी हामी पनि आफ्नैको हत्यामा त लागेका छौ, नयाँ ईश्वर बनाउन उल्लिएर नयाँ अर्जुन खोज्दै। भलै पुरानो गीताबाट प्रेरित नभए पनि नयाँ वादहरूको बीचमा गीता मन्थन गरेर भए पनि त हामी आफ्नैलाई मारेकोमा गर्व गर्छौ। महाभारतमा त गीताले एक जना अर्जुन जन्माए, यहाँ त करोडौँ अर्जुनहरू तयार छन् लड्न र मार्न। हामीले महाभारतकै प्रयोग गरेका हौ त? हौ भने हाम्रो वाद के हो, हामी कुन घर्मका हौ? मान्छे मार्ने घर्मकी नमार्ने घर्म? ईश्वरत्व आफ्नाका लागि मात्रै हैन भने, युद्धको अगाडि आफ्नो शरणमा आएका दुर्योधनलाई किन छलकपट गरेर कम शक्ति दिइयो? दुर्योधनलाई मार्न यत्रो युद्द रचेर, छलकपट गरेर किन यत्रो मान्छेहरूको हत्या गरियो? के उनी आफैले, एक्लैले गर्न सक्थेनन्? युद्ध गर्ने मान्छे भन्दा युद्ध गराउने मान्छे कातर र डरपोक हुन्छ त्यसो भने? मार्नु र मार भन्नु फरक कुरा हो। जे भने पनि मार्ने काममा द्दढशक्ती चाहिन्छ भने मार भन्न कायरता भए पुग्छ। अनि मृत्युमा रमाउने द्दढशक्ती नभएका कायर नपुंसकहरू संसारमा राज गर्छन् उही घर्म, वाद र सिद्धान्तको नाममा।

 

त्यसैले हो त आदमारा जीवनको मुक्तिको खोजीमा बुद्धको पछि लागेका कृष्णहरू र उनका शिष्य अर्जुनहरू? महाभारत सकिए पछि, आफूलाई नमान्ने र नपुछ्ने सबै मारिए पछिको संन्यासी बन्ने कथा उल्लेख नगरिनु, बुद्धकै पछि लागेरै हो त? दण्डकुण्डबाट मुक्तिको बाटो त हैन? युद्द पछि, टुहुरा भएका, विधवा भएका सबैले घृणा गरेको कथा महाभारत भरि छैन। युद्ध उनीहरूको वणिक्वृत्ति नै हो त? हो भने लगानी, नाफा वा घाटा खै त? वाह!!!! कसैलाई सम्ठनु र कसैको सम्ठ्याउनु नै युद्द हो र? रामजाने... कसै कसैले कृष्ण भईएछ कि भनेर नफूले हुन्छ,। कंस र रावंणको लिला पनि अपरम्पार र कसै कसै भन्दा कम भने छैन...................

 

त्यसैले फूलको आँखामा फूल हुनको लागि आफ्नो चेष्टा र आत्मा पनि फूल जस्तै हुनु पर्छ नि हैन भने  फूलको आँखामा काँडै संसार .... सबैलाई चेतना भया...

Comments :

4 comments to “फूलको आँखामा काँडै संसार..”

फूलको आखाँमा कांडै संसार भन्ने तपाईको व्यङ्ग्यात्मक लेख धेरै नै चाख लिएर पढे खुसि लाग्यो सम्बन्धित ठाउँ मा यो लेखले राम्रो झटारो हानेको मैले महसुस गरेको छु मैले लेख को झटारो कुन ठाउँ मा लाग्यो भनेर आफैले विवेचना पनि गरि सकेको छु तर पनि केहि तपाई संग प्रश्न हरु गर्न चाहन्छु..

प्रश्न १ – ईश्वर अनि भगवान मा के फरक छ?
प्रश्न २ – तपाई ले गीता पुराण रामायण महाभारत या अन्य धार्मिक ग्रन्थ मा उल्लेखित महानायकहरु लाई कुन दर्जा दिनु हुन्छ? के उहाँ हरु नै इश्वरको रुपधारण गरेर संसारमा आएका अलौकिक शक्ति या समय सापेक्ष संसार मा भएका गलत काम हरु को अन्त्य का लागि पठाईएका इश्वरीयदुत सम्झिनु हुन्छ?
प्रश्न -३ तपाइले हिन्दु धर्म संगै अन्य धर्महरु को धर्म ग्रन्थहरु जस्तो (बाइबल, कुरान, हदिस) केहि अध्यन गर्नु भाको पनि होला र त्यो सम्पूर्ण अध्यन गरि सके पछि एक इश्वर छन् भन्ने कुरा मा सहमत हुनु हुन्छ या हुनु हुन्न?
प्रश्न -४ तपाई को लेख व्यंग्यात्मक छ जुन कुरा को स्वीकार मैले पहिले नै गरि सकेको छु तर पनि तपाई को एउटा नै उत्तर को प्रतिक्षा मा छु कि कुनै पनि परिमार्जित ग्रन्थ हरु या धर्म चाहे त्यो हिन्दु मुस्लिम क्रिस्चियन को अध्यन पछी एक इश्वर जुन सृस्टिकर्ता हुन् छन् भन्ने कुरा मा तपाई को मत कस्तो छ र किन?

वाहिद अली said...
on 

फूल को आँखामा कांडै संसार ....लेख सुन्दर अनि निकै मार्मिक बनेको छ दुर्जेय जी!चुरो कुरो सम्म पुग्नु भएको छ जसले पाठक लाइ बाँधी राख्दछ .. ..बिषयको गहिराइ अनि चिन्तनको कोलाज अत्यन्तै गहन माने ..लेखन यात्रा को निरन्तरताको कामना .शुभ दिन !!

Shishir Pariyar said...
on 

सुन्दर लेख ..

Shishir Pariyar said...
on 

वाहिद अली जी नमस्ते। प्रश्नहरूको लागि धन्यवाद। हुन त म कुनै घर्मको बिद्दान हैन तर धार्मिक व्याख्या र यसको सही मार्गदर्शनको अध्ययन गर्न मन पराउने मान्छे मात्र हूँ। मेरा बिचारहरू सबै सँग मिल्न पर्छ भन्ने छैन मैले जानेको कुरा र लागेको कुरा राखेको छु।
प्रश्न १ – ईश्वर अनि भगवान मा के फरक छ?
यी शब्द मात्र फरक हुन अर्थमा कुनै फरक छैन।
प्रश्न २ – तपाई ले गीता पुराण रामायण महाभारत या अन्य धार्मिक ग्रन्थ मा उल्लेखित महानायकहरु लाई कुन दर्जा दिनु हुन्छ? के उहाँ हरु नै इश्वरको रुपधारण गरेर संसारमा आएका अलौकिक शक्ति या समय सापेक्ष संसार मा भएका गलत काम हरु को अन्त्य का लागि पठाईएका इश्वरीयदुत सम्झिनु हुन्छ?

म यो कुरामा सहमत छैन। कथाकारले कथा लेखे जस्तो, बिद्धानले र चलाख मान्छेले छेउ टुप्पो मोलाएर लेखेको दस्तावेज भन्दा केही हैन। हेर्नुस समय सापेक्ष मान्छेले गरेका गल्तीहरूको लागि यसरी दूतहरू आउने भए, सबै भन्दा खाँचो अहिले छ यस्ता दूतहरूको हिटलर देखि अहिले चहिरेको युद्ध, सोमालियाको भोकमरीमा आउनु पर्थ्यो यी दूतहरु। यी सबै दूतहरू त्यस बेला आए जस बेला मान्छेहरूको बीचमा यो केही थिएन। भए पनि यति साह्रो थिएन अपरिपक्व समाज, असभ्य समाज र संसार बुझ्न ईश्वरीय शक्ति भन्दा अरू कुनै विकल्प नसम्झेको मानव मस्तिष्कको उपज हो यो सबै।
प्रश्न -३ तपाइले हिन्दु धर्म संगै अन्य धर्महरु को धर्म ग्रन्थहरु जस्तो (बाइबल, कुरान, हदिस) केहि अध्यन गर्नु भाको पनि होला र त्यो सम्पूर्ण अध्यन गरि सके पछि एक इश्वर छन् भन्ने कुरा मा सहमत हुनु हुन्छ या हुनु हुन्न?

ईश्वरको कुनै रूप हुँदैन, नाक मुख, हात खट्टा, टाउको भएको बस्तु ईश्बर हुँदैन। मैले हिन्दू शाश्त्र, बाइबल र कुरान पढेको छु। जीवन कर्म र विज्ञानका हिसाबले केही नजिक म हिन्दू शास्त्रहरू सँग नजिक छु तर ईश्वरीय अस्तित्वको बारेमा जुन उपमा दिन खोजिएको छ त्यसमा म सहमत छैन। निरपेक्ष रूपमा ईश्वरको स्वरूप र सम्भावित अस्तित्वको बारेमा मैले पहिलो लाइनमा भने जस्तै कुरानको व्याख्यासँग सहमत छु।
तर जब ब्रमाण्डको अस्तित्व र यसको विशालतालाई बुझ्न सकिँदैन सबै भन्दा सजिलो उम्कने तरिका चाहिँ पक्कै हो।
प्रश्न -४ तपाई को लेख व्यंग्यात्मक छ जुन कुरा को स्वीकार मैले पहिले नै गरि सकेको छु तर पनि तपाई को एउटा नै उत्तर को प्रतिक्षा मा छु कि कुनै पनि परिमार्जित ग्रन्थ हरु या धर्म चाहे त्यो हिन्दु मुस्लिम क्रिस्चियन को अध्यन पछी एक इश्वर जुन सृस्टिकर्ता हुन् छन् भन्ने कुरा मा तपाई को मत कस्तो छ र किन?
मेरो लेख व्यङ्ग मात्र हो। यसले कुनै घर्म वा समुदायलाई अस्वीकार गर्न खोजेको हैन, जुन कुरा यहाँले बुझिदिनु भएकोमा खुसी लाग्यो। म आफूले जुन धार्मिक कर्महरू गरेको छु त्यो आफू सँग जोडिएका र आफ्नाहरूका खुसीको लागि गरेको छु। तर मेरो लागि डार्बिनको क्रमिक विकास (ईभोलुसन)को सिद्दान्त र स्टेफिन हाकिन्सको बिग बैन्ड थेउरीनै सबै भन्दा स्वीकार गर्न योग्य ग्रन्थ हुन् म अहिले सम्म यसमा विश्वास गर्छु। तर ईश्वर वा अलौकिक शक्ति पनि हुन सक्छ भन्ने कुरामा सचेत चाहिँ रहन्छु।
यो सबै मेरो निजी विचार मात्र हो यसमा कसैलाई सहमत हुनु पर्छ भन्ने चाहिँ छैन है। प्रश्नहरू राख्नु भो खुसी लाग्यो। फेरि फेरि पनि यस्ता बिचारहरू पस्कँदै गर्नुहोला । धन्यवाद

दूर्जेय चेतना said...
on 

Post a Comment