यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, July 28, 2012

मकै, कोइला र दिदी-बहिनी..

उनीहरूले जानेकै त्यही, बाटोको छेउमा मकै पोलेर बेच्ने काम। सानो छदै बाबु मरेकाले उनीहरूले बाबुको अनुहार त्यति याद गर्न सक्दैनन्। आमाले दुईटी छोरीलाई पाल्नका लागी बानेश्वर सडक पेटी रोजिन् र सधैँ मकै पोलेर बेच्ने गरिन्। छोरीहरू सँगै हुन्थे र उनीहरूलाई काखैमा राखेर मकै र नुन-खुर्सानीको चटनी बेचेर निकै लामो समय गुजारिन् उनले। समय निकै लामो भयो, आमा बुढी हुँदै गईन् र छोरीहरू हुर्किदैं गए। धूलो र धुवाँले बर्षौ देखि खिइँदै आएकी उनीहरूकी आमा एक दिन बेलुका सुते पछि कहिलै उठिनन्। एकाध दिन दिदी बहिनी अलमलमा परे। तर खानै पर्थ्यो, घरमा रहेको बाँकी मकै र दाउरा बोरामा राखेर फेरि सडक पेटीमा निस्किए उनीहरू। सधैँ आउने जानेहरुले, सधैँ किन्ने जान्नेहरूले उनीहरूलाई सोधे पनि आमाको बारेमा। केहीले सहानुभूति राखेर भए पनि मकै किनिदिए, दुःख मनाउ गरिदिए र केहीले आफैले गरेर खान जानेकोमा प्रशंसा पनि गरिदिए। बर्षौ सडकमा बसेर मकै बेचिरहने हुदाँ, समयको पहिलो मकैको स्वाद सहरीहरूलाई उनीहरूनै चखाउथे। उनीहरूको त्यो ठाउँ र पसलको चर्चा कहिलै हुँदैन थियो तर पनि मान्छेहरू भुल्दैन थिए।

 

समयसँगै एकाध रुपैयाँ कमाएर आफ्नो बढ्दो मानसिक र शारीरिक चाहनाहरू पुरा हुन गाह्रो हुँदै गरेको बिस्तारै बुझ्दै गए उनीहरूले। जति कमाउथे त्यसले उनीहरूलाई पुग्न गाह्रो भइरहेको थियो। पेट ठूलो भयो, पाखुरी र पडुँला ठूला हुँदै गए, छाती ठूलो हुँदै गयो तर उनीहरूको आमाले सिकाएको त्यो व्यापारले उनीहरूलाई त्यो सबै अभाव भर्न र ढाक्न गाह्रो हुँदै गइरहेको थियो। उनीहरू मध्य एकले त्यो व्यापारको भरमा बाच्न छोड्नु पर्ने बाध्यता हुँदै थियो। बाटोमा आउने जाने फेटाहरूले जिस्काउन थालेका थिए। कसैले राम्री छस् भन्थे, कसैले कोइलाको कालोले रँगिएकी काली हिस्सी परेकी छौं तिमीहरू भन्थे। कपाल भरी खरानीको धूलो, अनुहार भरी सडकको धूलो र खरानीले पोतिएको कालो लेपलाई कानको पछाडिबाट निस्किएको पसिनाले मरुभूमिमा सुकेको नदी जस्तै टाटो/छाप छोडेर सुक्थ्यो तर पनि मान्छेहरू राम्री भनेर जिस्काउथे र जिस्काउन छाड्दैन थिए।

 

एक दिन मकै पसलको नजिकै एउटा कालो सिसा भएको गाडि रोकियो। बहिनीले दिदीलाई तिमी जाउ, तिमी जाउ भनेर निकै बेर भनि रही तर दिदी जान मानिन। केही बेर अलमलमा परि दिदी। यसरी अनेकौँ पटक दिदीलाइ भन्दा पनि नमाने पछि, कोइला-काठ हम्कँदै गरेको कागजको टुक्रा फुत्त भूईमा फालेर गाडीको पछाडी छिरेर बसिदिई। गाडी बानेश्वर चोकको ट्राफिक छल्दै गौशाला तिर हुइकियो। बेलुका निकै अबेर सम्म बहिनी नफर्केकीले निकै पिर पर्‍यो दिदीलाई। बिहानी पख बहिनी फर्केर आई तर त्यस दिन उनीहरूको बीचमा धेरै कुरानै भएन। बिहान सबेरै फेरि मकै र कोइलाको बोरा बोकेर बानेश्वर तिर हिडे उनीहरु। आज बहिनीको मकै व्यापारमा ध्यान थिएन, दिदी लगातार मकै पोलिरहँदा, मकैको भुत्ला छोडाउने काममा समेत सहयोग गरिन उसले। साँझ फेरि उही गाडी आएर नजिकै रोकियो, दिदीले देख्दा नदेख्दै बहिनी फेरि गाडीमा चढेर गई। गाडीको पछाडिको झ्यालबाट हात हल्लाउँदै गर्दा दिदीले पनि हात हल्लाएर बिदाइ गरिदिई। यो क्रम निकै दिन सम्म चलिरह्यो।

 

एक दिन बिहान फर्किए पछि दिदीसँग बहिनीको निकै बेर कुरा भयो। बिस्तारै निकै बेर गुनगुन गरे उनीहरूले। सधैँ बिहान भए पछि मकैको बोरा बोकेर हिँड्ने उनीहरू त्यस दिन निकै अबेर सम्म सुतिरहे।

 

“नुहाउनु पर्दैन?”” दिदीले सोधिन्,

 

“पर्दैन अहिले, उतै गए पछि माथि भित्ताबाट पानी पर्छ त्यही नुहाउन पाइन्छ” बहिनीले उत्तर दिईन्

 

“अनि यस्तो कपडा लगाएर जाने त?” दिदीले सोधिन्

 

“राम्रा कपडा, र मीठो खान पनि दिन्छन्, पैसा पनि दिन्छन्, मात्रै हामीले उनीहरूले भने जस्तो मात्रै गर्नु पर्छ” बहिनीले अझै प्रस्टसँग सम्झाइन्।

 

सधैँ बिहानै मट्टीतेलको तुर्काइसँगै कोइला हम्कन सुरु गर्ने दिनचर्यामा उनीहरू आज थिएनन्। बिहानै सुरु गर्ने व्यापारको समय तालिका साँझमा सर्‍यो। बेलुका दिदी बहिनी त्यही ठाउँमा उभिएर कसैलाई कुर्दै थिए.. न त्यहाँ मकै थियो न त कोइला नै बलिरहेको थियो बरु मकै झै भुत्लिएर, सर्वाङ्ग नाङ्गो शरीरलाई प्यास र अभावको रापमा आफैलाई पोल्ने तयारी गर्दै थिए उनीहरू......चेतना भया

Comments :

4 comments to “मकै, कोइला र दिदी-बहिनी..”

Wow, Its wonderful story. I mean your story writing is wonderful. Keep it up.

BHARAT BHATTARAI said...
on 

Thank you Bharat n welcome to my blog

दूर्जेय चेतना said...
on 

यथार्थ कथा बाध्यताले मानिसलाई हरेक काम गराउँछ । मान्छे स्वभाबैले सुख खोज्ने भएको हुनाले यसरी बाटो बिराउन सजिलै सक्दछन् ।

दिनेश राज said...
on 

राम्रो कथा!

अलङ्कार अर्याल said...
on 

Post a Comment