यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, May 18, 2009

श्रीमती लुना र उनको लोग्ने पाउल

नयाँ ठाउँको परिबेश हरेक पक्षले सोचनिय हुन्छ। संसारको हरेकमुलुकसँग आफ्नै खालको चलन र संस्कार हुन्छ। त्यही संस्कारले मनिसलाई हरेक कुरामा अव्यस्त गराउदो रहेछ। त्यसैले होला हरेक समाज आफ्नै संस्कारले पोशित हुन्छ र आफ्नो संस्कारलाई प्राण भन्दा पनि ठूलो मान्ने कारण। मानिसको जन्म भएदेखि उसको संस्कार सुरु हुन्छ र आफुले जान्ने नहुँदा परिवारले र आफु जान्ने भए पछी आँफैले आफ्नो संस्कारलाई मान्दै अगाडि बढ्छ।
म अमेरिकाको भर्जिनिया स्टेटको फल्स चर्चको एउटा सानो बस्तीमा आफुलाई नौलो ठाउँको पारीबेशमा अव्यस्त गराउदै थिए। अमेरिका जानु अगाडि मेरो थुप्रै जिज्ञासाहरुको उतर बाँकी थियो। आफुलाई नौलो सामाजिक पारीबेशमा ढाल्न कत्तीको सक्छु, म त्यसको प्रयोगमै थिए। म जुन घरमा बस्थे त्यसैको छेउमा अर्को घर थियो। मेरो नयाँ ठाउँको, नयाँ समाजको बिल्कुल नयाँ छिमेकी। गएको पर्सी पल्ट मात्र मलाई थाह भयोकी त्यो घरमा पनि कोही बस्दो रहेछ। नत्र प्राय सुन्सान सडक,शान्त र बिना होहल्लाको बस्ती त्यो, रातको बेला झ्याउकिरीको आवाजले कता कता म अमेरिकामा हैन, नेपालको चारकोशे झाडीमा हराएको त छैन जस्तो हुन्थ्यो। केही समय निकै अत्यास लाग्यो मलाई त्यो बिना हल्लाको, बिना कोलाहलको बस्ती। शायद बिना हल्ला र बिना कोलाहाल मेरो संस्कार थिएन, निकै गाह्रो होला जस्तो भयो मलाई केही समय। तर नयाँ परेबेशमा आफुलाई ढाल्नै पर्ने थियो र केही समयमा त्यो नयाँ बातावरणपनि मेरो बानी पर्ला भनेर चित्त बुझाउनु बाहेक मेरो लागि कुनै उपाए सुझाएको थिइन।
म मेरी श्रीमती र छोरी घरमै बसेर दिनभरी जस्तो कोठाहरु मिलाउदैमा फुर्सद थिएन। न त कुनै छिमेकिसँग परिचयनै भएको थियो। के गर्नु, घरमै बसेर नयाँ नयाँ कुराहरुको बारेमा परिवारसँग छलफल गरेरै गयो २, ३ दिन त। कुनै नौलो मानिस घरको बहिरबाट हिंडेको देख्दा,हामी झ्यालबाट उस्लाई हेरेर बसिन्थ्यो।
हामी घरको काममा त्यो दिनपनि बिहानै लागेका थियौ, हाम्रो घरको ढोकाको बेल बज्यो। म त कल्लिङ बेलको आवाजले एक पटक अलमल्ल परे, के गरुम के गरुम जस्तो भयो। हामी तीन जनानै ढोका खोल्न गयौ। करण हामीलाई कस्ले चिन्छ र यहाँ? अनी को हुन सक्छ? यस्तै सोचेको थिए मैले। फेरी नयाँ मानिससँग बोल्न र उसको बारेमा जान्न हामीलाई निन्तान्तै नौलो थियो। मैले ढोका खोले।
"I think you guys are new here " एक जना बुढी, लगभग ८० बर्षकी सफा र हसिली आईमाई हामीलाई सोध्दै थिएन। मैले हो भने। उनीलाई भित्र आउन भने तर आउन मानिनन् । तिनीले आफू पल्लो घरमा बस्ने कुरा बताइन। हामीलाई खुशी लाग्यो तपाईंसँग भेट भएर भने मैले। धरै बेर कुरा गरिन त्यी बुदी आमाले। कुरै कुरामा थाह भयो, उनी लुना रहेछिन र उनी आफ्नो लोग्ने पाउलसंग पल्लो घरमा बस्दिरहेछिन। पाउल अमेरिकन कम्पनीका अबकाश प्राप्त कल्र्क रहेछन। श्रीमती लुना ८२ बर्ष र उनको पाउल उनी भन्दा ८ बर्ष जेठो रहेछन्। कुरै कुरामा थाह भयो उनी दमको रोगी र पाउल मुटुको रोगी रहेछन। पाउलको मुटुमा pacemaker राखेको पनि १४ बर्ष भएछ र हिजो आज उनी बाथको रोगले ग्रस्त रहेछन्। यही बिचमा मैले उनलाई धेरै पटक भित्र आउन आग्रह गरे तर उनले मानिनन् । उनले हामी नयाँ भएकोले, आफ्नो घरमा आउन र उनी सँग बोल्न कुनै आपत्ती नहुने र यसो गरेमा उनी र उनको लोग्ने पाउल समेत खुशी हुने कुरा बाताइन र बिदा भईन।
त्यो समय यता हामी काममा व्यथ रहयौ। छोरीको स्कूल, मेरो र श्रीमतीको जागिर निकै कुदाकुद भयो। हामी काममा जादा र कामबाट फर्किदा श्रीमती लुना र पाउलसँग उसको घर अगाडि भेट हुन्थ्यो र हामी उनीहरुसँग झ्याम्मिएका थियौ। मेरो छोरीलाई उनीहरु एकदमै माया गर्थे र छोरीपनि उनीहरुसँग खुब रमाउथिन। हरेक पटक भेटहुँदा छोरीलाई चक्लेट वा केही कुरा दिने भएर पनि होला, मेरो छोरी अनेक बहानामा उनको घरमा जान हुरुक्कै गर्थी। यही बिचमा हामीले त्यी जोडीलाई खाना खान बोलायौ र हामीपनि उनीहरुकोमा गयौ। राम्रो सम्बन्ध भयो उनको र हाम्रो परिवारको बिचमा। श्रीमती लुना अली बढी बोल्ने र बढी फरासिली लाग्थ्यो मलाई किनकी पाउल त्यती बढी नबोल्ने र धेरै जस्तो आफ्नो दुखेको धोडा थिचेर बस्ने गर्थे। जे होस उनीहरु यो समय काट्नलाई अनेकन उपाए गर्थे, बुढा बुढी बाहिर बसेर खुब गन्थन गरीरहेका हुन्थे।
एकदिन म बेलुका चाडै घर आएर घर अगाडिको लामो भएको घाँस काट्ने तर्खरमा थिए, श्रीमती लुना र पाउलको गाडी आयो। उनको घरको पार्ककिङमा गाडी रोकेर दुबै जना गाडीबाट ओर्लिए। श्रीमती लुना र पाउलको अनुहारमा नजानिदो मुस्कान थियो त्यो दिन। मलाई जिज्ञाशा लाग्यो त्यो खुशीको बारेमा बुझ्न तर सोध्न सकिन। श्रीमती लुना मेरो नजिकै आईन र भनिन्:
"You know!! we have good news today!!" मैले सुन्नमन लगेको कुरा बाताए।
"Today we bought cemetery land for us, it expansive but very nice" म त एकछिन अकमक्क परे। महंगो तर राम्रो चिहान किनेको कुरा? कता मैले श्रीमती लुनाको ईंग्लिश त बुझिन? आँफैलाई प्रश्न गरे। श्रीमती लुना भन्दै थिईन, उनीहरुलाई जिबन भरी सगै दु:ख सुख बाडेर, हासेर बिताएको समय, मरे पछी छुट्टीनु पर्ने पो होकी भने ठुलो पिर रहेछ। आजै उनीहरु आफु मरे पछी आफ्नो स्थान पक्का गरेर आफुलाई राख्ने चिहानको [cemetery (from Greek κοιμητήριον: sleeping place)]लागि जग्गा किनेर आएका रहेछन। श्रीमती लुना भन्दै थीइन अब भोली उनीहरु मरेपछी लगाउने नयाँ कपडा किन्न जाने रे। म केही पनि बोल्न सकिन। बिगत कयौ दिनबाट यि जोडी केही कुरामा हतार भए जस्तो, अझै केही गर्न बाँकी भए जस्तो लग्थ्यो। म चुपचाप उनको कुरालाई सुन्दै गए, हो मा हो मात्र मिलाउदै गए। श्रीमती लुनाको कुरा सुन्दै पाउल गाडीको ढोकामा बसेर मन्द मुस्कानको साथ टाउको हल्लाउदै थिए। मैले यो भन्दा अगाडि पाउलको अनुहारमा यस्तो मुस्कान कहिल्यैपनि देखेको थिएन।
मैले त्यो बेलुका खानापनि खान सकिन, धेरै बेर श्रीमती लुना र पाउलको अनुहार मेरो अगाडि आयो, उनीहरुको अनुहारको मुस्कानले कता कता मलाई पिडा भयो। कस्तो सहजसँग मृत्‍युलाई लिएका छन् यिनीहरु, कस्तो मृत्‍युको पूर्व तयारी। सायद संस्कार। सहज जिबन र सहज मृत्‍युको कारण हुनसन्छ यिनीहरु मृत्‍युको यो तयारीमा अव्यस्त । बेलुका मेरी श्रीमतीलाई यो कुरा भने , निकै बेर उनी पनि केही बोल्न सकिनन्। हामी चुपचाप सोच्दै थियौ मृत्‍युलाई स्वीकार गर्न कती गाह्रो काम हो तर श्रीमती लुना र पाउल............छोरी भोली आइतबार श्रीमती लुनाकोमा जान्छु है भन्दै थीईन ...............

Comments :

11 comments to “श्रीमती लुना र उनको लोग्ने पाउल”

हो अझै पनि हामी जीवनका धेरै यस्ता अनिवार्य रीतहरुसंग डराउछौं । मृत्यु एक शास्वत सत्य हो जसलाई घाम र छाया वा रात र दिन जस्तै सरल र सहज बिषयका रुपमा लिन हामीले पनि सिक्नु पर्छ । जसरी यी पश्चिमाहरू निसंदेह खुसी खुसी अप्नाउछन !

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

संस्कार,संस्कारले निर्माण गरेको मनोबिज्ञान र यसले ब्यबहारमा पार्ने असरको आधारमा कसैको जीवन पद्दतिको सामान्य घटना कसैलाई असामान्य लाग्ने गर्छ | सिक्ने ठाउँ पनि यहीं छ | हामी मात्र सत्य नहुन सक्छौं |हाम्रो ज्ञान मात्र पूर्ण नहुन सक्छ | कतिपय कुरामा यिनीहरू अगाडि छन् जस्तो मलाई पनि लाग्छ |
दुर्जेय चेतनाजी सन्दर्भ गजब छ | तपाइंको लेखन शैली पनि मनपर्यो मलाई त |

chudamani said...
on 

मार्मिक यथार्थलाई उजागर गर्नुभएको छ दूर्जेय चेतनाले। ती बूढा-बूढीको नियतिले ब्यस्त आधुनिक समाजका बृद्धहरुको एक्लो जीबनलाई पनि देखाउँछ। अर्कोतिर, जीबनको एउटै निश्चित सत्य मृत्युमात्रै हो भन्ने कुरासंग हामी डराऊँछौं र भागी हिँड्छौं। निकै गहकिलो लाग्यो तपाईँको यो टाँसो।

Basanta said...
on 

हैन हौ दुर्जेय जी, तपाईं ले पनि सिर्शक बाटै क्रमभङ गर्दिनु भो नि लिङिय क्रमभङ... राम्रो प्रयोग गर्नु भो कती श्रीमान को नाम बाट मात्रै श्रीमती लाई चाइनाउने ? श्रीमती को नाम बाट पनि चिनिने बानी बसल्नु पर्‍यो ...अ मैले त खैरे हरु बहिरी मान्छे सँग बोल्दाइनन भन्ने सुनेको थिए... पौल त निकै मिजसिली रहिछन ...अनी मृत्‍युपर्यन्त संगै रहने अमेरिकि जोडी ले नेपाली हरुमा राम्रो प्रभाव पर्नेछ

एकलकाटे said...
on 

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा न्यन्यानि संयाति नवानि देही ॥

हामी गीता 'रट्छौं' मात्रै, यी बृद्ध दम्पतीले गीतामा जिउने कला सिकेका रहेछन ।

माथी धेरैजना साथीहरुले पनि भनी सक्नुभयो-- जिवनको निश्चित गन्तव्य मृत्यु हो । तर यसैसंगको अर्को निश्चित पाटो के पनि हो भने मृत्यु नया जिवनको शुरुवातको पहिलो खुडकीलो पनि हो ।

शारीरिक तलमा मृत्यु अन्तिम सत्य भए पनि चेतनागत हिसाबमा मृत्यु एउटा असम्भव शब्द हो । मलाई लाग्छ धर्म जुनसुकै मानुन, लुना र यीनका बुढाले यो सत्यको अनुभव गरेको हुनुपर्छ ।

एकदमै रोचक पोष्ट !!

Dilip Acharya said...
on 

साहैं राम्रो अनि मार्मिक अभिव्यक्ति । वाताविकता को दर्शन सहज अनि सुंदर शब्द मा तपाँइले गर्नु भयो।।
जो यो संसारमा आयो उसलाई एक दिन जानु पर्छ भन्ने हेक्का हुनु पर्दछ ।मृत्यु एक शास्वत सत्य हो।जसलाई जित्न मुशिकल मात्र होईन असम्भब पनि हो । सायद त्यही भएर होला लुना र यिनका बुढाले पनि वाताविकताको अनुभब गरेर मृत्‍युको पूर्व तयारी गरेको।

Sujan Sharma said...
on 

अतिनै राम्रो अभिब्यक्ती,शब्द सम्योजन झनै खरिएको
महसुस गरे। जीवनको कुरो गर्नुपर्दा मृत्‍यु निष्चित गन्तब्य हो।
यो टासो गतिलो लाग्यो चेतना जी को।

बिमल गिरी said...
on 

दुर्जेय जी ! बसन्त जी ले भने झै क्रमभंग गर्नु भएको रहेछ - कती श्रीमानको नाम बाट मात्रै श्रीमती लाई चाइनाउने ? राम्रो लेख्नु हुदो रहेछ |

बेदनाथ पुलामी ( उमेश ) said...
on 

चेतनाजीको गहकिलो टाँसो पढेर मेरो त बक नै नफुट्ला जस्तो भयो । ती दम्पतिमा मालो जीवनपछिको विरक्ति पनि कम थिएन जस्तो लाग्छ । अर्को, जुनसुकै कुरालाई पश्‍चिमाहरूले स्वाभाविक रूपले लिने संस्कारिक पाटोले पनि मृत्युलाई सहज रूपले स्विकार्न पाठ पढाएको हो । मार्मिक सत्यको उद्‌घाटन गराउने तपाईँको मन कोमल भएको हरफ-हरफमा स्पर्श भइरह्यो ।

>Jotare Dhaiba< said...
on 

मन छूने लेख |

यो पोष्ट हप्ता दिन अघि र चार दिन अघि दोर्याएर पढेको भए नि कमेन्ट के लेख्ने फुर्दै फुरेन | आज तेश्रो बसाईमा प्रयाश गर्दै छू |

राम्रो कुरा भए जहाँ जस्तो बाट भए नि सिक्नुपर्छ | मरेपछिको ब्यबस्थाको त के कुरो हाम्रो तीर मानिसको सामान्य ब्याबाहर नै म कैले नि मर्दीन भन्ने किसिमको हुन्छ | मरे पछि जलाउने हामी मध्ये धेरैको संस्कृति भएकोले लुना र पाउलको काम हाम्रो लागी ठ्याक्कै सान्दर्भिक नभए नि मृत्यु स्वभाबिक नियति हो र जसरी पनि यसलाई स्वीकार गर्नुपर्छ भन्ने कुरा यो लेखले फेरी एकपटक सम्झाएको छ |

Milan said...
on 

कुरो सहि हो। यथार्थ हो। हामी अर्कै समाज र सन्स्कारमा हुर्केका लाई अफ्ठेरो र अचम्म लाग्नु स्वभाबिकै हो।

नयां लाउरे (Naya Laure) said...
on 

Post a Comment