यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, August 16, 2009

टेलिभिजनको भाषा किन यस्तो सस्तो? “ प्वाक्क मुखमा हानु जस्तो”

आजकल बच्चा वा केटाकेटीहरुको लागि टेलिभिजनका कार्यक्रमहरु नराम्रो नशा हुन पुगेका छन्। यो नशा बाल मनोविज्ञानको एउटा यस्तो पक्ष हो, जस्ले हरेक सवालमा निकै दु:खी बनाउने गर्छ अभिभावकहरुलाई। बिदाको दिनमा टेलिभिजनहरुको अगाडि बस्ने र रिमोट अनेकौ ठाउँमा लुकाएर निर्धक्कका साथ कार्यक्रमहरु हेर्ने बानी प्राय सबै घरका बच्चाहरुको भएको छ। स्कुलको गृहकार्य सकेर वा टेलिभिजन हेर्ने बहानामा चाडै र झारा टार्नेगरी गृहकार्य गरेरै भए पनि कार्यक्रमहरु हेर्ने सुर हरेक र प्राय जसो बच्चाहरुमा रहेको पाईन्छ।


केटाकेटीहरु स्वभावैले चल्ने, झगडा गर्ने र घरमै बसे पनि चलेर हैरान पार्ने स्वभाबका हुन्छन् र यो कार्यबाट पनि छुटकरा पाउन बाबु आमाहरु उनीहरुलाई टेलिभिजन देखाएर शान्त पार्ने र घरमै आफ्नो लागि समय निकाल्छन्। दिनभर काममा व्यस्त बाबु आमा घरमा हुने कामको लागि पनि आफ्ना बच्चा र केटाकेटीहरुलाई टिलिभिजन वा फिल्मको अगाडि थन्काएर आफ्नो काम निम्ट्याउछन् र कामै नभए पनि आफूलाई आराम गर्ने समय यसरी निकाल्छन् । एकातिर दिनभरी स्कुलमा गएर पढेर आएका आफ्ना बच्चाहरुलाई केही समय हास्न दिने र रमाईलो गर्न दिनैको लागि भए पनि हामी उनीहरुलाई यो अबसर दिन्छौ र उनीहरुलाई छोडिदिन्छौ। तर केटाकेटीहरुको यो तरिका र उनीहरुको टेलिभिजनसंगको झुकाबका बारेमा हामीले एक पटक राम्रो संग सोच्नै पर्छ।


केटाकेटीहरु सबै भन्दा बढी कुन कार्यक्रम हेर्छन् त भनेर कसैले सोध्यो भने वा जान्न चाह्यो भने सबै भन्दा बढी एउटै उत्तर आउछ, त्यो हो “कार्टुन”। कार्टुन हेर्दा जस्तो बच्चाहरुको अनुहारमा खुसी अरुमा सायदै हुदैन् तर कुन कार्टुन भन्ने चाहीँ ठ्याक्कै भन्न भने गाह्रो हुन्छ; कारण ठाउँ बिशेष र भाषा बिशेषमा भर पर्ने हुन सक्छ। त्यसो त केटाकेटीहरु कथा भन्दा पनि त्यसमा प्रयोग हुने हाउभाउमा बढी ध्यान दिएको पाईन्छ र कुनै फिल्म वा कुनै कार्टुनमा प्रयोग भएको दृष्यको नक्कल गर्नु र कथामा देखिए जस्तै कलाकार जस्तो बन्न खोज्नु र प्रयास गर्नु उनीहरुका लागि नौलो भने हैन। अझ प्रष्ट भन्नु पर्दा केटाकेटीहरुले कुनै पनि यस्ता दृष्यहरुले दिन खोजेका सन्देशलाई भन्दा त्यसमा देखाईएको हाउभाउलाई र पटक पटक एकनास संग प्रयोगहुने भाषा बा दृष्यको भने चाडै नै नक्कल गर्ने गर्छन्।


उदाहरणको लागि नेपाली टेलिभिजन कै कुरा गरौँ एक पटक। हाम्रो देशमा अहिले निस्केका र चलेका टेलिभिजन कार्यक्रमहरुमा हास्य ब्यङ्ग्यसंग सम्बन्धी कार्यक्रमहरु प्राय केटाकेटीहरुले कहिलै नछुटाईकन हेर्छन्। बाबु आमालाई थाह नहोला, आफ्नो स्कुलको कामको याद नहोला, खाना खाने बेलाको ज्ञान र सम्झना नहोला तर केटाकेटीहरुलाई कुन कार्यक्रम कतिबेला र कुन वार आउछ थाह हुन्छ र कार्यक्रम आउनु अगाडि रिमोट कब्जा गरेर बसिसेका हुन्छन। खुब मजा पनि लिएका हुन्छन् र खुब हास्छन् पनि यस्ता कार्यक्रमहरुबाट उनीहरु।


यस्ता कार्यक्रमहरुको राम्रो पक्षहरु थुप्रै होलान र यस्ता कार्यक्रमहरुमा देखाईएका ब्यङगहरु ठूला र बुझ्ने मानिसका लागि रमाईलो र यथार्थपरक होला तर कार्यक्रममा पटक पटक भनिने थेगो र उपमाहरुको असर केटाकेटीमा नराम्रै संग बढी परिरहेको हुन्छ।


तपाईहरु ख्याल गर्नु त कुनै कार्यक्रममा कलाकारले कुनै राजनैतिक कुरा भन्दा वा कुनै समाजको नराम्रो कुरामा प्रहार गर्दा नहाँसेको र कुनै पनि कुरा नबुझेको जस्तो गर्ने केटाकेटीको अनुहारमा “ प्वाक्क मुखमा हानु जस्तो” भन्ने दृष्य आयो भने एक प्रकारको नजानिदो हाँसो वा खुसी आउछ उनीहरुको अनुहारमा। त्यस्तै “लात्तीले ले हानेर बारीको पाटामा पुराईदिन्छु” “टीकी ट्यास ट्यास पारेर” “ ई कस्तेरी हास्छै म त मर्छुकि क्याहो” , “निष्चितरुपमा”, “ए राता मकै”, “हेर्दा देर्दै ........ खप्पराआ त लिएरै आएको रहेछ”, “म त छक्क पर्छु”, “परेको म बेहोरुला” आदि आदि।


“एक जना हुजुरबुबालाई उनको नातिले कुनै सन्दर्भमा कतै “प्वाक्क मुखमा हानु जस्तो” भनेर भनेछन्, कतै मैले सुनेको थिए साँचो कुरा होला वा नहोला तर यस्तो नहोला भनेर पनि भन्न सकिदैन।


कुनै पनि कार्यक्रममा प्रयोग हुने यस्ता भाषाहरुको नक्कल केटाकेटीले चाडै गरेका हुन्छन्। किनकि एउटै कार्यक्रममा पटक पटक भनिने, सुन्न र नक्कल गर्न सजिलो भएरै पनि होला, उनीहरु कार्यक्रम हेरीसके पछि पनि यसको प्रयोग लामो समय सम्म गर्ने गर्छन्। सबै त हैन तर कुनै कुनै यस्ता कार्यक्रममा प्रयोग हुने भाषाहरु, निश्चितरुपमा पनि नराम्रो असर पार्ने र सभ्य भाषाको श्रेणी भित्र पर्दैनन्।


आजकल कथा बस्तुमा ध्यान नदिएर कता कता उट्पट्याङ कुराहरुको संगालो जस्तो लाग्न थालेका छन् हाम्रा यस्ता कार्यक्रमहरु। सबै त हैन तर प्रायजसो कार्यक्रमहरु त्यस्तै प्रकारले बन्न थालेका छन् र हेरीसके पछि कथाले भन्न र दिन खोजेको राम्रो कुराको हेक्का कम हुने तर त्यसमा प्रयोगहुने भाषा र हाउभाउको नराम्रो असर भने केटाकटीमा लामो समय सम्म पनि परिरहेको हुन्छ र देखिन्छ। त्यसैले थेगो मात्र हैन, कथा भित्र बोलिने संबाद पनि उदेक र यस्तो धनी भाषालाई गरिब र कङ्गाल झै मानेर प्रयोग हुने गरेका संबादहरु सुन्दा कहिले काहिँ दिक्क लागेर पनि आउछ।


हामीले यस कुरामा हाम्रा केटाकेटीहरुलाई सहयोग गर्नै पर्छ। सहयोग गर्ने पर्छ भन्ने कुरा यो मानेमा कि, उनीहरुको लागि कुन कार्यक्रम ठिक र कुन बेठिक, कुन कुरा राम्रो र कुन कुरा नराम्रो भनेर छुट्याईदिनु पर्छ र यस्ता बौद्धिक बिकाश नहुने र बाल मष्तिष्कमा नराम्रो असर पर्ने खालका कुराहरुमा सरकारले नगरे पनि हामिले आफ्नै घरमा सेन्सर गर्नै पर्छ। आफुले समय निकालेर राम्रा र प्रेरणा दिने कार्यक्रमहरुलाई रेकर्ड गरेर वा किनेरै भए पनि दिनु पर्छ र टेलिभिजनमा हुने राम्रा र प्रेरणा दिने खालका कार्यक्रमहरुमा मात्र बढी जोड दिनु पर्छ।


यसो भनिरहदा टेलिभिजनका यी कार्यक्रमहरु र अन्य कार्यक्रमहरुमा भएका राम्रा पक्षहरु र अनेकौ सकरात्मक कुराहरुलाई भने भुल्नु हुदैन तर यो एउटा ठुलो समस्या भने पक्कै हो किनकि कसरी राम्रा कुरालाई मात्र छानेर दिने र बुझाउने भन्ने कुरा सजिलो र व्यावहारिक नहुन सक्छ। यसको लागि राज्यको सरोकार पक्ष र यस्ता कार्यक्रम बनाउने निर्माताहरुनै सजग भए सबैलाई सजिलो हुने थियो।


उदाहरणको रुपमा तलको भिडियो एक पटक हेर्नुस र बिचार गर्नुस। स्मरण रहोस मैले कुनै कार्यक्रम बिशेषलाई मात्र लक्ष गरको भने हैन है, सबैलाई चेतना भया......।

(यो कुरा भने सबै घरमा लागु नहुन पनि सक्छ)

Comments :

16 comments to “टेलिभिजनको भाषा किन यस्तो सस्तो? “ प्वाक्क मुखमा हानु जस्तो””

well said. Most of the artist isnot serious on the ethics of the position they hold in the society. they are trying to attract audience by any means but ignorant how they are repelling.

Dhakal Rabi said...
on 

ha ha ho ta testai 6

pralad said...
on 

निकै राम्रो विषयमा कुरा उठाउनु भयो।
बाल उमेर भनेको शारीरिक र मानसिक विकासको समय भएकोले बालबालिकाहरू काँचा माटो हुन् भनेर भनिन्छ। बालबालिकाहरू शारीरिक वृद्धिसँगसँगै अनौपचारिक रुपमा धेरै कुरा सिकिरहेका हुन्छन्। बालबालिकाहरू धेरै कुरा अनुकरण वा नक्कलको माधयमद्वारा सिक्ने गर्दछन्।

टेलिभिजनले शिक्षा, चेतना, सूचना तथा मनोरञ्जनको माध्यम बाट हाम्रो जीवनलाई सहज बनाउन मद्दत पनि गरिरहेको छ। यस अर्थमा टेलिभिजन सबैको आवश्यक वस्तु भएको छ। टेलिभिजन कार्यक्रम आफ्नो उमेर, स्तर तथा आवश्यकता अनुसार छानेर हेर्न नसक्दा भने यसले अवश्य पनि नकारात्मक प्रभाव पार्ने गर्छ।

टेलिभिजन श्रव्य–दृश्यको माध्यम भएकोले भाषा तथा सिपको विकासमा यसले बालबालिकालाई धेरै मद्दत गरिरहेको हुन्छ। आफूलाई उपयुक्त हुने, शिक्षाप्रद, स्वच्छ, मनोरञ्जनात्मक कार्यक्रम छानेर हेर्न सकेमा मात्र टेलिभिजन हेराई उपलव्धीमूलक हुन्छ। आफ्ना बालबालिकालाई पनि सचेत गराउने,र उनीहरूमाथि निगरानी राख्‌‌ने काम प्रत्येक अभिभावकले गर्नुपर्दछ।बालबालिकालाई टेलिभिजनमा कस्ता कार्यक्रम हेर्न दिने, कस्ता कार्यक्रम हेर्न नदिने भन्ने कुरामा अभिभावकहरू चनाखो बन्नु आवश्यक छ।

Sujan Sharma said...
on 

झ्वाट्ट हेर्दा हल्का रुपमा लिईने तर बाल मनोविज्ञानमा गहिरो असर पारि रहेको गम्भिर बिषयमा कुरा उठाउनु भएको रहेछ ।

म आफैले पनि घरमा केटाकेटीहरुबाट यस्ता बेतुक र बेसुरा 'स्ल्याङ' धेरै पटक सुनेको छु ।

साँच्चै भन्ने हो भने हाम्रा टेलिभिजनमा "हास्य" भन्ने लवज झुण्डेर आउने कुनै पनि कार्यक्रम वा सिरियल हेरेर म कहिल्यै हाँसेको पनि छैन ।

मानिसलाई हसाउँनु एकदमै गाह्रो काम हो । हामीकहाँ केही अपबादलाई छाडेर, अनुहार कुरुप बनाउने, झुत्रो झाम्रो लुगा लगाउने अनि असामान्य शारिरिक संरचना भएका व्यक्तिलाई उदेक लाग्ने गरी शरिरका अवयबहरुलाई अप्राकृतिक रुपमा हल्लाउन लगाउने लाई नै हसाउँने 'राम बाण' संम्झीईन्छ ।

कहीलेकाही सोच्छु, विदेशि टेलिभिजनमा आउने शुट-टाई र सुकिला लुगा लगाएका कलाकारका 'कमेडि सो' हेरेर हाम्रा कलाकार र यि कलाकर्मीहरुले के ठान्दा हुन !

सहि कुरा उठाउनु भयो !

Dilip Acharya said...
on 

कलाकारहरुले ब्यवसायिक रुपमा यस्ता कार्यक्रम बनाउदा कलाकार तथा ठूला मनिसलाई त हसाउछ पनि र त्यसको नराम्रा्ओ प्रभाव पनि थाहा हुन्छ तर बच्चाहरुले त्यो कुरा बुझ्न सक्दैन । यही कुरा कार्यक्रम प्रस्तुत गर्ने कलाकार र निर्माताहरुले पनि बुझ्दैनन । त्यसैले प्रस्तुत गर्ने कलाकार र निर्माताहरु पनि बच्चानै हुन । बच्चाको मनमा नराम्रो कुरा पर्‍यो भने उनिहरुको मनमा पनि पर्छ । त्यसकारण यस्ता कार्यक्रम र प्रस्तुत गर्ने कलाकार र निर्माताहरुको कलाकारिता जीवन छोटो हुन्छ । त्यसैले सचेत हुनु आवश्यक छ हाम्रा कलाकार र निर्माताहरु, यो पनि सोच्नुपर्छ कि उनिहरुका पनि छोराछोरी छन । कलाकारिताको क्षेत्रलाई सम्मानित नै राख्यौ ।

शब्दतरङ्ग said...
on 

Ye serial harule kata modadaichhan ta haamro paribesh laai yasako baaremaa uthaunu bhaeko kura ekdamai sahi ho durjeya jee. haamile raamro kura lyaaera ropnu ko satta yasta bikriti lyaaune serial bachchaaharuko khaali paanaamaa bikritiko biruwaa ropna Tewaa puryaairaheko chha.
tapaile yo dherai mahatwa purna kuraa rakhnu bhaeko maa dhanyabaada.

B.J. Dummali said...
on 

के हाम्रा संचार माध्यमहरू नेपाली बालबालिकाका लागि उपयुक्त र अलग्गै कार्यक्रमको उत्पादन गर्न सक्दैनन् भन्या ? बालबालिका पनि त संचारमाध्यमको ठूलै दर्शक समूह हो नि । एक त टेलिभिजन कार्यक्रम नै स्तरहीन छन्, त्यसमाथि ठूलाका निम्ति जे तयार गरियो त्यही हेर्नुपर्ने विकल्पहीन अवस्था छ बालबालिका माझ । यसरी बालबालिकाको व्यवहारमा ठूला लाइ अादर नगर्ने ,अरूलाइ पनि शिष्ट भन्दा पनि भद्दा व्यहार गर्ने हुन्छन् । यसको जिम्मा एक हद सम्म संचार माध्यम र कलाकारहरूले नै लिनुपर्छ ।

वसन्त बलामी said...
on 

दूर्जेय ब्रो, संचार माध्यम को कुरा गर्ने हो भने अचेल मलाई चिलाउन थालछ.. तपाईंहरु पत्याउनु हुन्न होला अचेल म टि. भी. सीवी केही पनि हेर्दिन.. हेर्दै हेर्दिन... हेर्यो कि चिलाउन थाल्छ.. बिक्रित पुजीबादी उद्देस्य लागि मात्र प्रसारण हुने तेस्ता कार्यक्रम हरु के बाल बालिका के महिला के पुरुष कसैका लागि पनि स्वस्थ मनोरन्जन दिने खालका छैनन

हावा De Wind said...
on 

नेपालका हास्य कार्यक्रमहरु धेरैजसो स्तरहीन छन्। राम्रो विषयवस्तु समात्नुभन्दा जीऊ मर्काएर, मुख बंग्याएर र नाके स्वरमा ठाडो र रुखो बोलेरै बलात् हँसाउन खोज्ने चलन छ। दूर्जेयजी र साथीहरुले भनेजस्तै बच्चाहरुमा नराम्रो असर परिरहेको छ। यो जमानामा बच्चाहरुलाई टिभिको छेऊमा पनि पर्न नदिने कुरा असम्भवनै हो। यस्ता कुराहरुबाट बचाउन अभिभावकहरु सचेत हुनु जरुरी छ। बच्चाहरुको फुर्सदको समयमा कतै घुमाउन लैजाने अथवा साँझ-बिहान छ भने कुनै राम्रो किताब पढिदिने गर्नुपर्छ।
अर्कोतिर, संगै जोडिएको ठूलो समस्या भनेको नेपालमा बच्चाहरुका लागि उनीहरुको उमेर सुहाउँदो सामाग्री ज्यादै कम छन्; चाहे किताब हुन् या चाहे श्रब्य-दृश्य सामाग्री। आफ्नो उमेर सुहाऊँदो मनोरञ्जनका कर्यक्रम पाए बच्चाहरु आफैं वयस्क लक्षित कार्यक्रमबाट टाढिन्छन्।

एउटा गम्भिर समस्यामाथि चर्चा गर्नुभएकोमा धन्यबाद!

Basanta said...
on 

अपरिहार्यताको कुरा उठाउनु भयो दूर्जेय जी। ब्यङयको बहानामा प्रयोग गरिने यस्ता शब्दहरुले बालबालिकाहरुको मनोभावनामा प्रत्यक्ष असर परिनै रहेको हुन्छ । शिष्ट र सरल भाषा प्रयोग गरेर पनि ब्यङय गर्न सकिन्छ । हँसाउने होडबाजीमा प्रयोग हुने यस्ता अपाच्य शब्दहरुमा नियन्त्रण गनु अत्यावस्यक छ ।

सूर्य/सिकारु said...
on 

एकदम गम्भिर बिषय उठाउनु भएको छ । तर बाल बालिकाको मनोबिज्ञान माथि सचेत हुने समाज हो भने यसबाट मनग्गे लाभ पनि उठाउन सकिन्थ्यो होला । मैले सुने अनुसार हाल नेपालमा सबैभन्दा बढि बिक्रि हुने साहित्य बाल साहित्य हो रे , केटाकेटिको स्वभाव र उमेर अनुसार केहि सचेतना त अभिभावकमा पनि छ कि जस्तो लाग्छ ।
नेपाली चलचित्र होस या टेलि सिरियल हास्य कलाकार लाई जोकर बनाउने चलन रहेको छ । तिनिहरु आफ्नो भुमिका बुझ्न सक्दैनन् र त्यतिमै सन्तुष्ट छन् । मह जोडि लगायत केहिले मात्र हास्यको रस र भुमिका बुझेका छन् जस्तो लाग्छ ।

दिनेश राज said...
on 

दुर्जेय जीले एकदम सहि बिषय उठाउनु भएको रहेछ | साँच्चै टेलिभिजनका भाषाहरु सस्ता हुँदै गईरहेका छन | अरु असर त छँदैछ सार्बजनिक माध्यम भएकोले यस्ता कृयाकलापले नेपाली भाषाको सुन्दर मूल-प्रबाह नै बिगार्न सक्ने खतरा देखिन्छ |

Milan said...
on 

सहि कुरा ।

दीपक जडित said...
on 

खरो खसखस उठान गर्नुभएछ ।
साँच्चै नेपाली टेलिभिजनहरुमा देखाइने/बोलिने त्यस्ता प्रकारका थोगोहरुले बालबालिकासँगै ठूला मान्छेहरुमा पनि नराम्रो असर पारेको तपाईलेभनेझैँ घटना म र्सार्वजनिक गर्दैछु ।
मेरो साथीको घरमा गाउँबाट हजुरबुवा आएका रहेछन् । साथीको भाइ पढिरहेको बेला हजुरबुबाले सोधेछन्, "के ! पढिस् बा ?" । साथीको भाईले जवाफ फर्काएछ, "प्वाँक्क मुखामा हान्नु जस्तो...देख्नु भएन के पढेको ?" मर्नु भएन अब ! कहिल्यै पनि टेलिभिजनका त्यस्ता हाँस्य कार्यक्रमहरु नहेर्ने हजुरबुवालाई कस्तो असर पर्‍यो होला ? हजुरबाले नातीलाई सक्नु गाली गरेछन् ।

तपाईले ख्याल गर्नु भएकै होला नेपाल टेलिभिजनबाट प्रसारण हुने दमन रुपाखेतीको 'झ्याइँ कुटी झ्याइँ' नामक हाँस्य कार्यक्रम त हेर्न नै टाउँको दुखेर आउँछ । कलाकारहरुको अभिनय केटाकेटीले भाँडाकुटी खेलेजस्तो छ । हँसाउनु त परको कुरा हो । दमनलाई कसले सम्झाउने सामान्य कुरामा मान्छे हाँस्न छाडी सके भनेर ।

खयर जे होस्, टेलिभिजनमा प्रसारण हुने कार्यक्रमहरु मनोरञ्जनका साथै संन्देशमूलक पनि हुनुपर्छ । उदाहरणनार्थ हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको 'आमा-२' सर्वाधिक उत्कृष्ट लागेको छ मलाई । देशका नेता भनाउँदाहरुलाई यो टेलिचलचित्र हेराउनु पर्ने हो । यस्तो टेलिचलचित्र अहिलेम्म मैले हेरेको थिइनँ । सार्‍है सन्देशमूलक बनेको छ । तपाईलाई कस्तो लाग्छ ?
टाँसोका लागि धन्यवाद ।

राजेश......रुपान्तरणको खोजीमा said...
on 

ठीक कुरा हो। बिकाउ कार्यक्रमको सस्तो भाषा।

कैलाश said...
on 

बडो सही कुरो उठाउनु भो। म आफैले पनि देखेको सुनेको छु बच्चाहरुले यस्ता थेगोहरु प्रयोग गरेको। फेरि केटाकेटीले यस्त कुरा चाडै टिप्ने रैछन्। सुधार गर्नै पर्ने कुरो मेडिआका मान्छेहरुले। चाहे त्यो टिभी होस वा रेडियो होस।

नयां लाउरे said...
on 

Post a Comment