यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Wednesday, March 17, 2010

हलसारोको दिन: एक अनिमेष दृष्टि समाज र चेतनाको खातिर…

 

मन मात्र हैन; मनहरुनै भाचिँएका छन् । लेख्‍न वा कराउन छाडेको निकै भयो। त्यति मन छैन आजकल। समय उही छ। परिवेश उही छ। समयले कोल्टो फेर्ने आशामा निकै लेखियो र बोलियो सायद। तर कतै कसै पात हल्लिएको सुनिएको छैन, देखिएको छैन। मानौ यस्तै भईरहेको छ” काग कराउदै जान्छ पिना सुक्दै....

 

पल्लो घरबाट पनि निकै पल्ट कराएको सुनेकै हो, यहाँबाट, त्यहाँबाट पनि निकै आवाजहरु निकालिएकै हुन्। तथापि सुन्नेले सुन्दैन र Thinking_42_tnbदेख्‍नेले देख्दैन तर लेख्‍नेले लेखिरहेको छ। लेखहरु छापिन, टाँसिन र सारिन छोडिएको छैन। छापिदै छन्, टासिदै छन् र सारिदै पनि छन्। समय यसरी नै चलिरहने हो भने लेख्‍नु अनि छापिनु, टासिनु र सारिनुको कुनै असर छैन र बन्द गर्नु पर्ने हुन सक्छ। तर तिमी किन बन्द गर्थौ र तिमी त चेतनशील अनि जान्ने र बुझ्ने नै पर्‍यौ। जतिसुकै लेख, छाप र टाँस तिम्रो झुरा कथन, कुनै असर छैन तिम्रो विचारको। बास्तवमा त्यो तिम्रो विचारनै हैन। विचारले त परिवर्तन ल्याउछ, तर खै तिम्रो विचारले के गर्यौ? तिमी आफै समादृत छैनौ तिम्रो विचारमा यहाँ , किन बित्‍थामा अरुको बोझ हुन खोज्छौ? चुपलागेर बसेकाहरुलाई तिमीले उचाल्यौ, स्कूल गईरहेकाहरुलाई तिमीले गोठालो बनायौँ, कोदालो र हलो समातेको हातलाई नोकर बनायौँ। खै के गर्यौ तिमीले जानेर? तिमीले बुझेर र तिमीले लेखेर। मात्र गणिका बनायौ लेखलाई, लेख्‍नेलाई र पठ्नेलाई.. उफ!!!!

 

बनाईएका र सजिएकालाई भत्कायो तिम्रो विचारले। के गर्यौ, फगत लेख्‍ने, छापिने वा टाँसिने काम बाहेक? सक्ने थियौँ भने स्कूल नजानेलाई कापी र कलमको जोहो गर्नु पर्थ्यौ, भईरहेकोलाई स्याहार गर्नु पर्थ्यौ र सुतेकालाई उठाउनु पर्थ्यौ कामको लागि, कर्मको लागि र सही विचारको लागि। के नै गर्यौ तिम्रो विचारले? आफूले जानेर अरुलाई नजान्ने बनाउने पनि लेख, विचार अनि त्यसको छपाई हुन्छ र? के छाप्छौ तिमी; जो कसैले पनि पठ्न र बुझ्न सक्दैन। म त नबुझ्ने मान्छे, सारेरै टास्न पनि सक्दिन किनकी सार्न र टास्न पनि त केही आकार हुनु पर्यौ नि विचारको। यो त बिना आकारको विचार, बिना उद्देश्यको विचार। मात्र आफैले बुझ्ने, आफैले आकार दिने र आफैले बिश्फोट गराउने र जरैबाट नश्ट गराउने दुर्बोध्य विचार र तिमीले सधै दिने गरेको निश्चेष्ट विचारको के अर्थ हुन्छ र? यो त पल्लवग्राहिताको नमुना मात्र हो र म आफै पनि पल्लवग्राही हुँ सायद; त्यसैले त कुनै असर गर्दैन मेरो विचारले र त म बिदूषक बनेको छु कयौँ पटक यही लेख र विचारहरुकै सबारमा।

 

भो म लेख्दिन, भो म जान्ने बन्दिन र म कसैको नारकीय जीवनको कारक बन्दिन; यस्तो भन्दै गरेको सुनेको छैन, तर सबैले लेखेकै छन्, चोरेरै भए पनि विचार दिएकै छन्। किनकी राम्रो लेख्‍नु , सकरात्मक लेख्‍नु र पठ्नु मात्र एकपलको लागि सहज र राम्रो मान्दै आईरहेका छन् सबैले। सक्छौ केही पनि नदेउ किनकी यहाँ मात्र नोकर, गुलामी र आत्मसमर्पण. बाहेक केही दिन सकेको छैन तिम्रो भावले। कसैले बुझ्दैन, यसको मतलव बुझ्ने बनेर कसैलाई झन नबुझ्ने बनाउनु कस्तो न्याय हो यो? कोही सुतेको छ, यसको मतलव बुझ्ने बनेर कसैलाई झन सुत्‍ने बनाउनु कस्तो न्याय हो यो? प्रश्न गर्नु सजिलो छ।. म पनि लेख्छु.. तिमी पनि लेख र उहाँ पनि लेख्‍नु हुन्छ..किनकी लेखेरै मात्र यहाँ केही हुदैन, तर पनि लेख्‍न छाड्नु हुदैन एउटा सकरात्मक आशाको लागि र सकरात्मक विचारको लागि.. .. सबैलाई चेतना भया........

 

दूर्जेय चेतनाको यो हलसारोको दिन र एक बर्षे यात्रा यहाँ नेर आएर सकिएको छ। मेरो यो सानो यात्रा समीक्ष्य छ वा छैन आफ्नो ठाउँमा छ। कुनै असर परोस वा नपरोस, मेरो लेख र विचारले कुनै सकरात्मक सोचको बिकास गरोस वा नगरोस तर पनि अझै लेख्‍दै जाने नै छु, मेरो अनिमेष दृष्टि सधै रहने छ समाज र चेतनाको खातिर। जे होस, जस्ले जे भनोस, विचार विचारनै हो। कसैलाई राम्रो असर नगर्ला तर नकरात्मक असर पनि नगरोस मेरो लेखले, विचारले र मेरो अनुभवले। यही मेरो प्रयास हुने छ र यस बीचमा मेरो उपार्जित धन भनेको मेरा पाठक, शुभचिन्तक र मेरो गल्ती औलाईदिने मेरा असल मित्रहरुनै हुन् भन्ने कुरा बिर्सिएको छैन।

 

यो बीचमा मलाई सहयोग गर्नु हुने सबै मित्र, मेरा पाठक र शुभचिन्तकहरुलाई मुरीमुरी धन्यवाद।

Comments :

10 comments to “हलसारोको दिन: एक अनिमेष दृष्टि समाज र चेतनाको खातिर…”

एउटा दार्शनिक र विचारोत्तेजक चिन्तन!

एकवर्षे यात्राको सफलताको बधाई र बाँकी यात्राको निरन्तरता र अझ सफलताको शुभकामना!

लेख्नेहरुले लेखेका कुराले अहिले कुनै परिणाम दिएको नदेखिएपनि तिनको महत्व एकदम छ र समाजमा तिनले सकारात्मक असर छोडिरहेका छन्। यसैले हामी सकारात्मक सोच्म, सकारात्मक लेख्न र सकारात्मक बोल्न नछोडौं।

Basanta said...
on 

दुर्जेय चेतनाको यो एक बर्षको यात्रामा म खै कहानेर देखि साथी भएको छु थाहा छैन, तर उनका हरेक टासोहरु विशेष र अर्थपूर्ण लाग्छन, निश्चय नै ती चेतनाका समृद्ध छालहरू हुन । तर तपाइले भने झैं समाजको ढोंग र आडम्बर पखाल्न भने, हामीले र हामी जस्तै समाजका अरु सदस्यले पनि यस्ता धेरै लामा यात्राहरु पार गर्नु पर्नेछ ।

सदियौं देखि जरा गाडिएको सामाजिक संरचना उखेल्नका लागि यो समय सागरमा थोपा बराबर हुन भन्छु म त ।

बार्षिक उत्सवको हार्दिक बधाई ....निरन्तरता र सफलताको शुभकामना

कृष्णपक्ष said...
on 

हलसारोको हार्दिक बधाई र लेखनको निरन्तरताको शुभकामना ! माथिका (बसन्तजी र कृष्णजीका) दुवै टिप्पणीहरुलाई टपक्क टिपेर म आफ्नो नयाँ टपरीमा राखेर पुन:अर्पण गर्दछु यहाँलाई,(उहाँहरुले थाहा नपाउने गरी,सुटुक्क !)|

Chaitanya said...
on 

निकै गहिरा र सोचनीय कुरा ।

के लेखिँदैछ, किन र केका लागि लेखिँदैछ र लेख्‍नुको प्रभाव समाजमा के छ भन्नेमा बेलाबेला समीक्षा र आत्मसोध भएन भने त्यो लेखाइ घडेरी नकिन्ने फूर्तिवाल मानिसले ठाउँ-कुठाउँ जाँदै फित्ता नापे झैँ हुन्छ । अझ परिवर्तनकै बाछिटा उराल्ने हो भने त समर्पण र आत्मशुद्धि पहिलो शर्त हुन्छ लेखनमा । सपाट जीवन जस्तो लेखाइ ।

तर लेखनको तागत र प्रभाव झटपट लागू भइहाल्ने नहुँदोरहेछ । र यसो भन्दा लेखाइ बिसाउने कुरा पनि हुँदैन । अझ लेखन धारिलो र निरन्तरताको भेल लम्ब्याएर लैजानुपर्ने हुन्छ । र दुर्जेय चेतनाको चेतना यात्रा यस दिशामा प्रतिबद्ध छ भन्नेमा पूर्वलेखाइ र आउँदो छाँटकाँटले प्रस्ट झलक देखाएको छ ।
पहिलो वर्षगाँठको अवसरमा हार्दिक बधाई एवम् आउँदो प्रभावकारी लेखनयात्राका लागि शुभ कामना !

Jotare Dhaiba said...
on 

तपाईको यो लेख पढ्दै जाँदा ओशोको कुनै किताबमा पढेको एउटा कथा याद आयो:

भिषण आँधी-वेरीका कारण आएका छालले समुन्द्रका माछाहरु किनारमा हुत्याईएका हुन्छन । बालुवामा छटपटाइ रहेका हजारौं माछा देखेर एउटा सानो बच्चा केही गर्ने बिचार गरेर किनारतर्फ लाग्न खोज्छ ।

समुन्द्र छेउमै टहल्दै गरेका एकजना ठुलो मानिसले सो बच्चाको बचपना देखेर उसलाई भन्छन "हेर बाबु, किनारमा हजारौं माछाहरु छटपटाइ रहेकाछन, तिमी एकजना बच्चाले गरेर यिनीहरुलाइ के हुन्छ ?"

बच्चाले बालुवाको थुप्रोमा छट्पटिदैं गरेको एउटा माछा समातेर पानीमा फ्याल्छ र भन्छ "कमसेकम यो माछालाइ त केही भयो "

लेखनको तागत वा लेखनको प्रभावको कुरा मनमा आउँदा मलाई सधैं यही कथाले प्रेरणा दिन्छ । म त सोच्छु मेरो लेखोट वा मैले लेखेको कुनै कुराले एक जना मानिसलाई मात्रै पनि केही फाईदा हुन्छ भने मेरो कोशिष सार्थक हुन्छ ।

ओहो ! पोस्ट भन्दा लामो कमेण्ट हुन लागेजस्तो छ । पहिलो वर्षगाँठको अवसरमा हार्दिक बधाई र निरन्तरताको कामना !।

Dilip Acharya said...
on 

ब्लगिङको वार्षिकोत्सबको उपलक्षमा हार्दिक बधाई तथा शुभकामना ।लेखनलाई निरन्तरता दिनु होला।
Happy Blogging!

Sujan Sharma said...
on 

ब्लगिङको पहिलो बार्षिकोत्सबको उपलक्ष्यमा हार्दिक बधाइ अनि शुभकामना अर्जुन जी । यो यात्रा निरन्तर चलिरहोस् । तपाईंका रचनाका पाठक का तर्फबाट तपाईं रचनाको अझै भोको छु , अनि सहयात्री ब्लगरका हिसाबले हामी यो यात्रामा धेरै लामो समय साथै रहने आस पनि छ है ।

दिनेश राज said...
on 

सवैकुरा मन परेपनि "दूर्जेय चेतनाको यो हलसारोको दिन र एक बर्षे यात्रा यहाँ नेर आएर सकिएको छ" भन्ने भनाई त अलि चित्त वुझेन सर मलाई । आशावादी चिन्तनहरूले भरिएका लेखहरू लेख्ने मान्छेले आफ्नो वारेमा भने यस्तो pessimistic कुरा लेखेको अलि कता कता अप्ठेरो लाग्यो मलाई त । पहिलो वर्ष सकिएको भन्दा पनि दोस्रो वर्ष सुरू भएको पो हो त ।
अनि म तपाईँको लेखन शैलीको प्रशंसक हुँ । पढ्दा अर्कै मजा आउने लेखनशैलीले सधैँ तान्ने गर्छ । सदाझैँ यसपाली पनि तान्यो लेखाईले ।

Ashesh said...
on 

लेख्न त लेख्ने नै हो किनकी हामी चेतनशिल प्राणी जो पर्‍यौँ । दुर्जेय सरका बहावपूर्ण लेखनशैली एकदमै मनछुने छन् अनि विषयमा गाम्भिर्यता पनि त्यतिकै छ । कलम अझै अघि बढोस् शुभकामना ।

वसन्त बलामी said...
on 

हो, हुन्छ र हुनुपर्छ भने सार्थकताका लागि हुनुपर्छ र उपलब्धिका लागि नै हुनुपर्छ, अन्यथा केही गर्छु भनेर कसैले भन्नुको पनि केही अर्थ छैन । केही गर्छु भनेर केही गर्न नसक्नु त बकवास र निरीहता मात्र हो ।

रमेश मोहन अधिकरी said...
on 

Post a Comment