यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, March 27, 2010

सायदै हामीले याद गरेका उनी, कल्पना भित्रका एक सत्य पात्र!!!

सधै जहाँ पनि देखिने पात्र उनी। सायद उनी नदेखिने र उनले नदेखेका कुनै घटना बाँकी होस नेपालमा। उसो त नेपाल बाहिरको अनुभब कमै छ उनीसगँ। हुन सक्छ उनी सधै नेपालको गोलमाल र गन्जामोलमा नै भुलेका छन्। कालो ईस्टकोट, दौरा र नेपाली ढाकाको टोपीमा सधै हिड्ने उनले के देखेनन्? देशको हरेक ठूला साना मान्छेसगँ भेट भएको छ उनको तर उनी कसै सगँ प्राय बोल्दैनन्। मात्र हेर्छन्, सुन्छन् र आफ्नो बाटो लाग्छन्। सभा गोष्ठी, जुलुस, जन्ती र मलामी कहाँ गएनन् उनी। हेर्दा साधारण देखिने मान्छे उनी कस्को नजिक पुगेनन्। राजा, महाराजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी अफिस जहाँ पनि। पहुँच नहुदो हो त कसरी पुग्थे उनी जहाँ त्यही ? तर कसैले वास्ता नगरेका उपेक्षित पात्र पनि त हैनन् उनी। १० बर्षे युद्धकालमा उनी युद्ध मैदानमै थिए। युद्धलाई सायद प्रचन्ड र बाबुराम भन्दा पनि उनले बुझेका छन्। मान्छे कसरी मरे, कसरी नेपाली र नेपाली लडेर हिडेँ, के थाह छैन उनलाई? सबै देखेका छन्। उनलाई धेरै कमले मात्र देख्छन् र त्यसै बखत निकै कम मान्छेले याद गरेका पनि होलान् सायद।

 

कर्मचारीको भ्रष्टाचारी आचरण, नेताको झुट बोल्ने बानी, बहकाउमा लाग्ने जनता सबै देखेका छन् उनले। हरेक कुराको भित्री चुरो अनुभब छ उनलाई। जती सुकै गोप्य कुराहरु होस, जती सुकै नराम्रा र राम्रा कुराहरु भएका हुन्, उनलाई थाह हुने गर्छ। फुत्त पुग्छन् उनी त्यहाँ। देखाई र अनुभबको कुरा गर्ने हो भने उनले जस्तो कसैले देखेका पनि छैनन् र देख्‍ने पनि छैनन् सायद हाम्रो देशमा। पत्रकार पुग्न नसकेका वा नदिएको ठाउँमा समेत देखा पर्ने उनी, बाहिर जती सुकै रोक होस, जतिसुकै सुरक्षा घेरा होस, गोप्य भन्दा गोप्य ठाउँमा अदृष्य शक्ती सरह पुगिहाल्छन्। केहि गर्देनन्, जतिसुकै देशको लागि नराम्रो निर्णयहरु भईरहेका हुन्, उनी त्यहा बोल्दैनन्, मात्र हेर्छन, बुझ्छन् तर त्यहाँबाट कसरी र के अनुभब लिएर पर्खन्छन् सायदै कसैलाई थाह होला।

 

घाम, पानी, जाडो, गर्मी जेसुकै होस, कपडा नभएर जाडोमा नाङ्ग्‍गै सुतेका गरिब जनता होस वा ए-सीको तातो हावामा चिसो बियर पिएर बसेकाहरुका घरमा होस, बन्द कोठाका झ्यालहरु होस वा खुल्ला टुँडिखेलको मैदानमा बिरक्तिएर बदामका खोस्टाहरुमा समय खोजी रहेकाहरु हुन्, सबैको चियोचर्चो गरेकै छन् उनले।

 

समय अन्तरालमा उनी जस्तो अनुभबी कोहो छैन अहिले। राष्टपतीको सफत कार्यक्रम होस वा सेना भित्रका हतियार अड्डाहरुमा समेत पुग्ने उनले कहिलै कसैलाइ केही भन्दैन् र उनले भनीहाले पनि कसैको सरोकारको पात्र बन्दैन्। सबैले देखिने तर सधै वास्ता नगरिएका यी पात्र झट्ट हेर्दा काठमान्डौकै बासिन्दा देखिन्छन्। आज बेलुका काठमान्डौमा चलिरहेको कुनै पाचँ तारे होटेलको सेमिनारमा देखा पर्ने उनी, भोली बिहानै कोशीका बाढी पीडितहरुको पीडा हेर्न पनि पुगेकै हुन्छन्। जे भने पनि यी सबै कुराका वा भनौ हरेक घटनाक्रमका एक मात्र पात्र हुन् उनी।

 

मलाई लाग्छ निकै भयो अब, देशको यस्तो हालत हुदा पनि नबोल्ने उनीले अब बोल्नु पर्छ। मलाई यो पनि थाह छ उनी मात्र हेर्ने, सुन्ने र फर्कने, देशका निमुखा जनताका प्रतिनिधि पात्र हुन् र यस्तैको लागि मात्र जन्माईएका एउटा गोटीमात्र। देशको हरेक मोड र उताडचडाबको अनुभब भएका उनले कति पीडा सहेका छन्, उनको मन कति रोएको छ कसैलाई थाह छैन।

 

आज हामी समयको भेल सगै अनुभब भएका, सबै देखेका र आशातीत पात्रहरु गुमाउदै छौ, भईरहेका बेला कत्तिको इमान्दार भएर काम गरे वा गरेनन् ईतिहासले भन्ला तर जे भए पनि हामी आज नयाँ भित्र पुरानो अनुभबीको खोजीमा छौ। राजेश केसीका यी सधै देखिने कालो ईस्टकोट, सुरुवाल र ढाका टोपी लगाउने पात्र, मात्र हेर्ने, नगर्ने र नबोल्ने कल्पना भित्रमा सत्य तर अटुट पात्र जस्तै, यहाँ हरेकले देखेका छन्, हरेकले भोगेका छन्। हरेक नेपालीसगँ यसको अनुभव होला तर कसले भनिदिन्छ यथार्थमा यस्ता पात्र, जो खोजी सगै देखोस्, बोलोस् र केही गरोस्....... सबैलाई चेतना भया।।।।।।.

 

 

1

4

Comments :

12 comments to “सायदै हामीले याद गरेका उनी, कल्पना भित्रका एक सत्य पात्र!!!”

दुर्जयजीले राजेश केशीको इस्टकोटे काकाको राम्रो कथा लेख्नुभयो। ति काकाको ब्यथा धेरै भए नि राजेश केसीका कार्टुन धमाकेदार हुन्छन।

Nepalean दौंतरी said...
on 

यी 'फलानो' पात्र नबोलेर पनि बोलिरहे झैँ लाग्छ मलाई चाहिँ । तपाईँले भन्नुभए झैँ यी जहाँ पनि पुग्छन् र घटना, परिस्थिति र आम सामाजिक चरित्रको साक्षी बन्छन् । फलस्वरूप राजेशले यिनकै साभारित स्वरूप कार्टुनमा उतार्छन् । आम सर्वसाधारणको प्रतिनिधि र प्रवक्ता पात्र हुन् कि झैँ लाग्छ यिनी ।

देखिएर पनि ओझेलमा परे झैँ रहेका कार्टुन पात्रको बारेमा लेख्‍नुभयो । धन्यवाद ।

Jotare Dhaiba said...
on 

padhan ramilo bahyo! mathi matrai padhda ta who is this man ? who is this man matrai bahi rakhne
any way ramro cha

archana said...
on 

लेख गहन छ| लेखका यी पात्र तपाईं हामी सबै हौं | हामीले कहाँ बोल्न सकेका छौं र? यी पात्र जन्माउने केसीजी झन् ठूला पात्र हुनुपर्छ, तैपनि उनका कुराले ठाउँ पाएकै छैन | बिस्तारै बदलिएला कि,समय ?

Chaitanya said...
on 

दुर्जेय जी ..... म त यो पढ्दै जादा यस्तो पात्र को रहेछ भनेर .... मन म नै नाम पो ठाम्याउने कोसिस गर्दै थिए ... तर कुरा राजेश केसिको काटून को पो रहेछ ...
राम्रो लेखाई --- शिक्षण अस्पताल को काटूँन निकै घत लाग्दो रहेको छ !

बेदनाथ पुलामी ( उमेश ) said...
on 

एकदम नौलो दृष्टिकोण र रोचक लेखाई! ती पात्रले बोल्ने दिन पनि अबश्य आउला एकदिन। साँच्चिनै एउटा उत्कृष्ट लेख दूर्जेयजीको।

Basanta said...
on 

मलाई लागछ ति पात्रले बोलेका छन र बोलीरहनेछन। अझ सिधै भन्दा तपाई, म र हामी बोलीरहेकै छौं । तर सायद सुन्नु पर्नेले सुनेका छैनन् वा सुनेर पनि नसुनेझै गरी बसेका छन । बोल्न जारी राखौं तिनले नसुनी सुखै छैन !

Dilip Acharya said...
on 

RAHASYAMAYA LEKH RA , MITHO ANUBHUTI ...

Asha said...
on 

त्यस्तै, ठ्याक्कै त्यस्तै पात्र भेट्टाउन त गाह्रो पर्ला ! राजेश केसीको पात्र पनि माध्यम मात्र हो । प्रतीकात्मक रूपले हेर्दा तीमध्ये धेरै गुण बोक्ने तपाईँ-हामी नै हौँ ।

रमेशमोहन अधिकारी said...
on 

तपाईं र तपाईंका पाठकहरुलाई नयाँ साल २०६७ को हार्दिक शुभकामना !

Chaitanya said...
on 

ramro chha

werew said...
on 

धत् पुरै मिस्ट्रीमै पढियो नि टुप्पो देखि फेदै सम्म । तर अन्तिममा राजेश केसी को नाम भेटेपछि बल्ल ए...भन्ने भयो । एकदमै राम्रो लेख लाग्यो । बास्तबमा उनी प्रतिकात्मक भएरै धेरै कुरा बोलिरहेका छन् । तर यस्ता कुराले सायद कसैलाई छुँदैन होला । छोए पनि वास्ता हुँदैन होला । यहाँ त एकपल्ट सडक जाम नगरी,पसल बन्द नगरी अनि जनताको सरोकार भए नि नभए नि अलि अलि दु:ख नदिई कसैको कानमा बतासै लाग्दैन । त्यसैले, प्रवृतिले ओझेल पारिएका पात्र भन्छु म राजेश केसी लाई अनि अरू धेरै राजेश केसीहरूलाई....

Ashesh said...
on 

Post a Comment