यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, June 29, 2009

कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो?

हामी सभ्यताको त्यो कालखण्डमा उभिएका छौ जो कुनै पनि मानब सभ्यताका लागि नहुने हैन तर यति भयानक शायदै हुन्छ होला। ईतिहासको हरेक पानामा हामीले हेर्दै जाने हो भने, संसारमा मानव ताको बिकासक्रममा दिनप्रतिदिन प्रगति र बिकासको दौड भईरहेको हुन्छ। कुनै पनि समाजको बिकासमा हरेक तप्काको आफ्नै योगदान र क्रमिक प्रगति देख्न पाईन्छ। हरेक देश वा समाजले आफूले पाएको हरेक समयलाई पूर्णरुपमा यसरी सदुपयोग गरेको हुन्छ कि हरपल ब्यबस्थित र अनुशाशित सभ्यताको बिकास होस। जुनसुकै पनि देश वा राष्ट्रको निर्माण सगै अनेकौ दुखद घटनाहरुले स्थान पाएको हुन्छ तर पनि अब्यबस्था बाट ब्यबस्थातिर, छरपष्ट समाजबाट समालिदो समाज, हत्या हिंसाबाट शान्त र मर्यादित समाज कुनै नौलो पद्वति हैन। हरेक राष्ट्रले यो सिलसिलालाई आत्मसाथ गरेको हुन्छ।

हाम्रो छिमेकी मुलुक भारत होस वा बिकासको चरम उचाईमा पुगेको भनिएको अमेरिका नै किन नहोस, हरेक पटक अशान्त, परनिर्भरता र असभ्य समाजको ईतिहासको सुरुवात सगै, क्रमस बिकाश हुदै आएको कुरा सबैलाई थाह भएकै कुरा हो। तर हाम्रो देश आज बिलकुल विपरीत बाटोबाट गुज्रिएको छ। गरिब तर केहि हदसम्म शान्त र व्यवस्थित समाजबाट हरेक दिन अव्यवस्थित, अशान्त र छरपष्ट समाजको बिकाशमा लागेका छौ। चाहेँ कानुनी ब्यस्था होस, चाहेँ राजनैतिक स्थिरता, चाहेँ सामाजिक सुरक्षा नै किन नहोस जताततै एकनासले लथालिङ्ग र काम्लोमा पोखिएको सातु जस्तो गोलमाल मात्रै भएको छ।

आज जो कोहि नेपालीलाई देशको माया छ र गर्छन, सानो भन्दा सानो घटनाक्रमले हरेक नेपालीलाई संवेदनशील बनाएको हुन्छ र देशको यो हालत प्रति निकै दु:खी हुने गर्छौ तर पनि हामी किन एक छैनौ?

विगत केही समय यता हाम्रो समाजमा घटेका सानातिना घटनाक्रमलाई हेरौ र आफैमा प्रश्न गरौ।

हामी कुनै शिक्षकलाई शरीर भरि रगत जम्नेगरि निलडाम बनाई मरणाशन्न हुनेगरि कुट्छौ, भोलि पल्ट दोषीहरुको अबिर जात्रा हुन्छ र समाजमा ईज्जतका साथ पुनर्आगमन हुन्छ। यस घटनाको दोषी को हो? वा को माथि अन्याय परेको छ? ब्यक्ती बिषेश द्वारा वा ब्यक्ती माथि परेको अन्याय भन्दा पनि हामीले मान्दै आएको कानुनी राज्यको अबधारणा माथिको प्रश्नचिन्ह हो यो। हामीले के आशा गर्ने यो पद्धतिबाट?

राज्यले एकै मुद्वाका तीन दोषीहरुलाई गिरफ्तार गर्छ। तीनै जनालाई एकै प्रमाण र एउटै अभियोगमा एकै कानुनी धाराको हबला दिएर कारबाही अगाडि बढाउछ। तर नाटकीय पराकाष्ठा यो हैन। त्यी मध्य एक जसको समाजिक पहुँच छ, जसको ठूला भनाउदाहरुसंग पहुँच छ, जसको राजनैतिक पहुँच छ, उसलाई राज्यको कानुनको सुबिधा फरक हुने गर्छ। अदालतमा तारीख बोक्ने दिन, उ कारबाट यसरी आउछ कि उसलाई कुनै हिनताबोध छैन। तारेख थामेर यसरी बाहिरिन्छ कि मानौ कुनै पुरुस्वार्थ गरेर फर्केको छ। तर त्यी मध्य दुई जना जसको कुनै पहुँच छैन उनिहरु प्रहरीको हातकडी सहित उपस्थित गराईन्छ। लागिरेछ कि कानुनले कुनै नाटक मञ्चन, गरिरहेको छ।

कुनै राजनैतिक कार्यकर्ताको हत्याको आवेगमा देशनै, समाजनै ठप्प हुनेगरी बन्द गरिन्छ। तोडफोड गराईन्छ। अस्पताल जान लागेका डाक्टर माथि दूरब्यवहार गरिन्छ, उनको वाहन जलाईन्छ। कुनै उमेर को हद हुदैन गलत ब्यबहार गर्न र आतङ्कित बनाउन। कयौ बिरामी बाटोमा अलपत्र पर्छन, हरेकले सास्ती भोग्नु पर्छ। तर दुर्भाग्य त्यसको भोलिपल्ट आत्महत्या हुन सक्नेगरी बिष सेबन गरेको आसयको पोष्टमार्टमको रिपोर्ट आउछ्। आन्दोलन बन्द हुन्छ। फेरि कसैमाथि कारबाहीको त कुरै छाडौ, आफूबाट गल्ति भयो भन्ने समेत कुराको कतै कुनै कुरा सुन्नमा आउदैन।

५-६ बर्ष अगाडि कुनै नेताले अदालतलाई दरबार भित्र लगे हुन्छ भन्ने बिषयलाई लिएर मानहानीको मुद्दा चल्छ। ५-६ बर्ष अगाडि भनेको कुरा तन्कालिन ब्यबस्था र परिस्थिति संग अहिले कुनै कुरा नमिल्ने भएकाले मानहानीको मुद्दाबाट सफाई दिईन्छ। अब प्रश्न उठ्छ, के अदालत त्यही हैन? त्यहि बेन्च, त्यही स्थान, त्यही कानुन मान्ने अदालत तर कसरी फरक हुन गयो आज? अदालतको मानहानी सम्बन्धित परिभाषा के फरक भएको हो? यसको मतलब अदालतले भन्नुपर्छकी, ५-६ बर्ष पहिला यसले सही र यथोचित न्याय संपादन गर्न सकेको थिएन। नत्र अदालतको मानहानी वा अदालतको अपमान स्बतन्त्र र निष्पक्ष रहेको अबश्थामा समय सापेक्ष कसरी परिवर्तन हुन पुग्यो?

ख्याती श्रेष्ठको हत्या प्रकरणसंगै उनलाई न त समाजले न त कानुनले, न त कानुनको रखवालाले बचाउन सक्यो। कानुन माथिको बिश्वासको कमि र अनुसन्धानको तरिकाको कमिले गर्दा श्रेष्ठ परिवारले एक असल छोरीमात्र हैन, समाजले विलक्षण प्रतिभाकी धनी, सुन्दर र सभ्य नागरिक गुमाउन पुग्यो। हत्याको अनुसन्धान वा तहकिकात कुन हद सम्म निम्न स्तरको छ भन्ने कुराको यथार्थता प्रष्ट हुन पुग्यो जब कानुकका अधिकारीद्बारा पैसा दिने कागज गरेर ख्यातीको शरीरका अंगहरु फेरी हत्याराबाटै किन्ने काम भयो। आशा छउन्जेल ख्यातीको परिवारबाट १० लाख लिएको हत्यारा, कानुनको दाएरा भित्र आउदा समेत कानुनका रखवालाहरुसंग ख्यातीको शरीरका अंगहरुको ब्यापार गर्दे छ। बैज्ञानिक अनुसन्धान गर्न छोडेर ईमोसनल ब्लायकमेल गर्न आतुर यी कानुनका रखवालाहरु फेरि कानुकमाथि बलात्कार गर्दै छन् । यी त केही चर्चामा आएका कुरा मात्र हुन् । मेरो प्रश्न त्यसता अनेकौ कुराहरुमा हुन् जहाँ, हरेक पटक एउटा न्यायको आशा गरिएको हुन्छ जो न्याय एक नेपाली मात्र भएर सम्पादन होस।

कुनै यस्तो स्थान छैन, जहाँ कसैको मन नदुखेको होस, तल्लो भन्दा तल्लो स्तर देखि सिंहदरबार सम्मको यो अराजकता कहिले सम्म चल्ने हो? के यो देशले अझै यो भन्दा पनि अराजक र अब्यबस्थाको नियती भोग्न बाँकी छ? कसले बिचार पुराउने यसकुरा मा खै? “कलियुग लागे पछि घर घरमा राजा हुने छन्” भन्ने धार्मिक अभिब्यक्ति के साचो हो त? कलियुग के नेपालमै मात्र हुने हो र? नारायणहिटीको एक श्रीपेचको अवसानसंगै हरेक गाँउको हरेक घरमा हजारौ र करोडौ नयाँ श्रीपेचको उदय के यसै भएर राजेन्द्र ज्ञवालीले भन्नु भएको हो त?

आज हाम्रो नियति यसरी बिग्रिएको छ कि, एक आम नागरिक आफूलाई परेको अन्यायबाट मुक्ति पाउन कहाँ जाओस। कुनै यस्तो संस्था वा ब्यत्ति छैन जहाँ एक नेपाल र एक नेपालीको भावना मिलोस, जहाँ राजनैतिक मुद्दा भन्दा माथि उठेर नेपाल र नेपालीको हितमा न्याय सम्पादन होस। अब त हाम्रो नियती यस्तो बन्दै छ, केही नभएसम्म देशमै बस, अन्याय भोग्नु पर्यो भने आफूमाथिको अत्याचार भुल्न बिदेशिनु बाहेक कुनै बिकल्प छैन् । कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो? यस्तो नहोस अब र हामी हाम्रो हरेक कुरामा नियन्त्रण आफैले गर्न सकौं नकि फेरी नियन्त्रण गुमाएर कुनै पराईको गुलाम हुन नपरोस। सबैलाई चेतना भया।।।।।।

Comments :

10 comments to “कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो?”

दुर्जेयजी ताजा प्रधानमन्त्रीको भाषण यस्तो छ - उसलाई पनि त गाह्रो परेको थियो नि समर्थन जुटाउन अनि हामीलाई चाहिं कसरी पर्दैन ? एउटा परिवारमा समर्थन जुटाउन त कति समय लाग्छ ? समर्थन जुटायौं हामीले , सरकार बनाएर देखायौं |
"सरकार भनेको के हो माकुनेजी ? कसलाई देखाउनु भयो सरकार बनाएर ? जनातालाई या प्रचण्डजीलाई ? "
अब बासी भए पछि गर्ने भाषण सम्झी हाल्नुहोस - यहाँ भन्दा पहिला कसले समाधान गरेको थियो समस्या ? कसले सकेको थियो समाधान गर्न ? एउटा परिवारको समस्या समाधान गर्न त कति समय लाग्छ ! जादू जानेको छ कसैले ? जादू गर्दा हुने कुरा हो ? ??
धन्यबाद |
समयको अनुमान नलगाऊँ मित्र खालि गोदोको प्रतीक्षा गरौँ | निरासाबादी
हुनुहुँदैन रे भनेको सुनेको छु | आफैले पनि कतिलाई सम्झाएको छु | यसर्थ आसा गरौँ भोलि नै चमत्कार भै हाल्ने छ |
बेकामे कुरा पो गरें कि क्या हो ? जे होस् |

chudamani said...
on 

कमजोर नेतृत्व वा हुत्तिहाराह शासक रहेसम्म यो सिलसिला पनि निरन्तर चलि नै रहनेछ ।

एउटा उदाहरण हेरौं है: 'पानी उम्लन दस मिनेट लाग्छ' । तर यसो भन्दैमा पानीलाई भाँडामा राखेर दस मिनेट कुर्दैमा पानि उम्लन्छ र? । हामीकहाँ अहिले भएको समस्या समाधान नहुने समस्या हैन तर जबसम्म समाधान गर्ने तर्फ पाईला नै चल्दैन तबसम्मको प्रतिक्षाको कुनै अर्थ हुँदैन ।

पानी तताउने हो भने आगो बाले पछि घडि हेर्न शुरु गर्नु पर्छ । हामीकहा आगो बाल्ने भन्दा पनि जम्मा भएको दाउरा र मट्टितेल समेत लुटालुटको स्थिति छ । कसले आगो बाल्ने?, कसले भाडो बसाल्ने? कस्ले सलाई कोर्ने? ...यस अबस्थामा यो सिलसिला रोकिने हैन झनै बढने मात्रै देख्छु म त ।

दुर्जेयजी, हुन त मैले 'आवर संसार'मा यहि बिषयमा टिप्पणी गर्दा पनि म निराशावादी हैन तर यो सिलसिला समाप्त हुने पनि देख्दिन भनेर लेखेको थिएँ ।

यहाँनेर मलाई एउटा कोटेशन याद आएकोले म कस्तो खाले आशावादी हुँ भनेर प्रष्ट्याउँ है:

I'm an optimist, but I'm an optimist who takes his raincoat when it's raining.

Dilip Acharya said...
on 

हरेक किसिमको यस्ता दोहोरिरहने घटनाले सम्बन्धित पक्षलाई अनी समाज र देशलाई पिडा र दु:ख दिन्छ।नेपालमा कानुन नभएको भने अवश्य होईन यी ठुलाबडा भनाउँदा नेताहरुको रजाँई चलेको मात्र हो।नेपालमा स्वतन्त्र नागरिक भएर बाच्न पाउने आधिकार पनि छैन भन्दा पनि हुन्छ ।नेपाल को राजनीति हत्या, हिंसा,अपहरण,चन्दाको एक श्रृखला बनिसकेको छ। नेपालमा यस्ता घटनाहरु धेरै नै भई राखेका छन । तर यस्को समाधान अइले सम्म पनि भएको छैन किन ? यो सबै राजनीतिक करणले गर्दा हो ! यस्तो घटना हुन नदिन सबै भन्दा पहिले देशमा बिकास हुनु जरुरी छ ।अब न्यायको लागि हाम्रो कदम कस्तो र कसरी अघि बढाउनुपर्ने त्यसमा पहल गर्नुपर्छ।

Sujan Sharma said...
on 

विज्ञानका अनुसार पृथ्वीमा मान्छेको सृष्टि भएको १५ करोड बर्ष भै सकेको छ, यसबीचमा मानिसमा विकसित क्रमिक चेतनाले उ अनेकौं भौतिक र आध्यात्मिक प्रगति गर्दै आजको सभ्यताको मोडमा आइपुगेको हो । पशु र मान्छेमा यहि त फरक छ, कि मान्छे अस्तित्वभरि कै सर्वश्रेष्ट चेतनशिल प्राणि हो । तर यहि चेतना जब गुम्छ, भत्कन्छ र भंग हुन्छ, तब मान्छे पशु भन्दा पनि निकै तल्लो स्तरको घृणित व्यवहार देखाउदो रहेछ ।

तपाइको प्रश्न एकदम मननीय छ, म पनि बारम्बार यस्तो प्रश्न सोध्छु -कुन मोडमा कहानेर कसरी मान्छेको मति विपरित वहन थाल्छ ? कुनबेला मान्छे भ्रष्ट बन्छ? अनि सभ्यता नै लज्जित हुने कर्महरु गर्न थाल्छ?

यसरि यो सिलसिला एकपछि अर्को थपिदै जानुमा हुनसक्छ हाम्रो सामाजिक तथा राजनीतिक पृष्ठभुमि र त्यसको संरचनामै खोट छ कि? कहिले काही त यस्तो पनि लाग्छ यसरी समाज उधोगतिमा भासिनु सतिको श्राप परेर भन्थे, त्यहि भएर पो हो कि?

यो अवव्यस्था अशान्ति र भाडभैलोको कारणको खोजि र समुल नाश अब हाम्रो समयको मुद्दा हुनुपर्छ। यदाकदा निराश बनाए पनि एकदिन यो सिलसिलाको सुधार र अन्त्य हुनेछ भन्ने कुरामा सबैले आशा चाहि मार्नु हुदैन । गम्भीर विषय उठानका लागि दुर्जेयजीलाइ धेरै धन्यवाद !

कृष्णपक्ष उज्यालोको खोजिमा said...
on 

मलाई त लाग्छ यस्मा हाम्रो जनताको पनि उत्तिकै कमजोरी छ । आधुनिकता यो चरम समयमा पुगेको बेला हामी कछुवको भरमा हिडेका छौ । राजनितिको फोहोरी खेलले गर्दा अराजकता,दन्डहिनता र अशान्तिको जराहरुले मौलौने मौका पाइरहेका छ । हरेक क्षेत्रमा पैसाको भरमा जस्तो सुकै अपराधी होस य कुनै भ्रष्ट ब्यक्ति सजिलै उम्कन सक्छ यो सबै उहि कुर्सीबाट दिइने आदेशले तर आशा गरौ उपयुक्त वाताबरणको सृजना होस ।

सोचनिय बिषयको कुरा उठाउनु भएकोमा धन्यबाद दूर्जय जी ।

सिकारु said...
on 

पार्टीविशेषको मात्र नेता रहेसम्म यस्तो भद्रगोल स्थिति कायमै हुने देखिन्छ । बरू अझ यो भन्दा पनि नाजुक स्थिति आउनेमा प्रशस्त बाटोहरू प्रस्टै भएकाले संवेदनाको लेप खिइँदै गरेको आफ्नो मन र आफूलाई त्यो अवस्था सामना गर्न तयारी स्थितिमा राख्दा वेश हुन्छ ।

कानुनविहीनताको दुश्‍चक्रमा देश यस्तरी फसिसक्यो, अब यसबा निकालेर नीतिनियमको सीधा लाइनमा सबैलाई 'बानी लगाउन' हम्मेहम्मे नै पर्ने देखिन्छ । दूध खान केही क्षणलाई छाडा छाडिएको छुकछुके बाछो बाँध्न सास फटाउनु परे जस्तै मुश्किल हुनेछ सही बाटोमा सामाजिक सुव्यवस्ता र अमनचैन वहाल गर्नु ।

तर यो सबै अपराधीकरणलाई राजनीतिक संरक्षण दिएर कालोलाई सेतो तुल्याइदिने जाली नेताहरूकै जादुगरी अवतारको नतीजा हो । उनीहरूले नै सही लाइनमा ल्याउन सक्छन् अहिलेको बिग्रँदो हरेक स्थितलिलाई । तर तिनको होशचेत कहिले खुल्छ, भगवान्‌लाई पनि थाहापत्तो नहोला ।

Jotare Dhaiba said...
on 

दूर्जेय जी , हाम्रो यो अहिलेको अवस्थाको जिम्मेवार भनेको नेपालको राजनीतिनै हो यसमा कुनै दुबिधा छैन र समाधान पनि त्यहिबाट मात्र हुनुसक्छ यो चाहिँ हाम्रो दुर्भाग्य हो ।

दिनेश राज said...
on 

नेपाल को वर्तमान स्थितिको कारक राजनीति हो ,त्यो भन्दा पनि हाम्रो दूर्भाग्य के छ भने यो अवस्था सुधार्नको लागि पनि हामीले राजनैतिक ( राज अनैतिक ) नेताहरु माथिनै भर पर्नु पर्छ। समस्या दिन दिन बढ्दो छ ,कहाँ सम्म पुगिने होला खै !

दिनेश राज said...
on 

हाम्रो राजनिती गर्ने र सासन चलौनेहरु नै निकम्मा छन्। तेसैले गर्दा।

wordflows said...
on 

स्रोत साधन जनसन्ख्या र भौगोलिक बनोट नै भिन्न रहेको देशमा राजनिती र बिकास को मोडेल पश्चिम बाट अन्धनुकरन गरिएकोले पो एस्तो भएको हो कि ?

हावा the Wind said...
on 

Post a Comment