यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, June 29, 2009

कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो?

हामी सभ्यताको त्यो कालखण्डमा उभिएका छौ जो कुनै पनि मानब सभ्यताका लागि नहुने हैन तर यति भयानक शायदै हुन्छ होला। ईतिहासको हरेक पानामा हामीले हेर्दै जाने हो भने, संसारमा मानव ताको बिकासक्रममा दिनप्रतिदिन प्रगति र बिकासको दौड भईरहेको हुन्छ। कुनै पनि समाजको बिकासमा हरेक तप्काको आफ्नै योगदान र क्रमिक प्रगति देख्न पाईन्छ। हरेक देश वा समाजले आफूले पाएको हरेक समयलाई पूर्णरुपमा यसरी सदुपयोग गरेको हुन्छ कि हरपल ब्यबस्थित र अनुशाशित सभ्यताको बिकास होस। जुनसुकै पनि देश वा राष्ट्रको निर्माण सगै अनेकौ दुखद घटनाहरुले स्थान पाएको हुन्छ तर पनि अब्यबस्था बाट ब्यबस्थातिर, छरपष्ट समाजबाट समालिदो समाज, हत्या हिंसाबाट शान्त र मर्यादित समाज कुनै नौलो पद्वति हैन। हरेक राष्ट्रले यो सिलसिलालाई आत्मसाथ गरेको हुन्छ।

हाम्रो छिमेकी मुलुक भारत होस वा बिकासको चरम उचाईमा पुगेको भनिएको अमेरिका नै किन नहोस, हरेक पटक अशान्त, परनिर्भरता र असभ्य समाजको ईतिहासको सुरुवात सगै, क्रमस बिकाश हुदै आएको कुरा सबैलाई थाह भएकै कुरा हो। तर हाम्रो देश आज बिलकुल विपरीत बाटोबाट गुज्रिएको छ। गरिब तर केहि हदसम्म शान्त र व्यवस्थित समाजबाट हरेक दिन अव्यवस्थित, अशान्त र छरपष्ट समाजको बिकाशमा लागेका छौ। चाहेँ कानुनी ब्यस्था होस, चाहेँ राजनैतिक स्थिरता, चाहेँ सामाजिक सुरक्षा नै किन नहोस जताततै एकनासले लथालिङ्ग र काम्लोमा पोखिएको सातु जस्तो गोलमाल मात्रै भएको छ।

आज जो कोहि नेपालीलाई देशको माया छ र गर्छन, सानो भन्दा सानो घटनाक्रमले हरेक नेपालीलाई संवेदनशील बनाएको हुन्छ र देशको यो हालत प्रति निकै दु:खी हुने गर्छौ तर पनि हामी किन एक छैनौ?

विगत केही समय यता हाम्रो समाजमा घटेका सानातिना घटनाक्रमलाई हेरौ र आफैमा प्रश्न गरौ।

हामी कुनै शिक्षकलाई शरीर भरि रगत जम्नेगरि निलडाम बनाई मरणाशन्न हुनेगरि कुट्छौ, भोलि पल्ट दोषीहरुको अबिर जात्रा हुन्छ र समाजमा ईज्जतका साथ पुनर्आगमन हुन्छ। यस घटनाको दोषी को हो? वा को माथि अन्याय परेको छ? ब्यक्ती बिषेश द्वारा वा ब्यक्ती माथि परेको अन्याय भन्दा पनि हामीले मान्दै आएको कानुनी राज्यको अबधारणा माथिको प्रश्नचिन्ह हो यो। हामीले के आशा गर्ने यो पद्धतिबाट?

राज्यले एकै मुद्वाका तीन दोषीहरुलाई गिरफ्तार गर्छ। तीनै जनालाई एकै प्रमाण र एउटै अभियोगमा एकै कानुनी धाराको हबला दिएर कारबाही अगाडि बढाउछ। तर नाटकीय पराकाष्ठा यो हैन। त्यी मध्य एक जसको समाजिक पहुँच छ, जसको ठूला भनाउदाहरुसंग पहुँच छ, जसको राजनैतिक पहुँच छ, उसलाई राज्यको कानुनको सुबिधा फरक हुने गर्छ। अदालतमा तारीख बोक्ने दिन, उ कारबाट यसरी आउछ कि उसलाई कुनै हिनताबोध छैन। तारेख थामेर यसरी बाहिरिन्छ कि मानौ कुनै पुरुस्वार्थ गरेर फर्केको छ। तर त्यी मध्य दुई जना जसको कुनै पहुँच छैन उनिहरु प्रहरीको हातकडी सहित उपस्थित गराईन्छ। लागिरेछ कि कानुनले कुनै नाटक मञ्चन, गरिरहेको छ।

कुनै राजनैतिक कार्यकर्ताको हत्याको आवेगमा देशनै, समाजनै ठप्प हुनेगरी बन्द गरिन्छ। तोडफोड गराईन्छ। अस्पताल जान लागेका डाक्टर माथि दूरब्यवहार गरिन्छ, उनको वाहन जलाईन्छ। कुनै उमेर को हद हुदैन गलत ब्यबहार गर्न र आतङ्कित बनाउन। कयौ बिरामी बाटोमा अलपत्र पर्छन, हरेकले सास्ती भोग्नु पर्छ। तर दुर्भाग्य त्यसको भोलिपल्ट आत्महत्या हुन सक्नेगरी बिष सेबन गरेको आसयको पोष्टमार्टमको रिपोर्ट आउछ्। आन्दोलन बन्द हुन्छ। फेरि कसैमाथि कारबाहीको त कुरै छाडौ, आफूबाट गल्ति भयो भन्ने समेत कुराको कतै कुनै कुरा सुन्नमा आउदैन।

५-६ बर्ष अगाडि कुनै नेताले अदालतलाई दरबार भित्र लगे हुन्छ भन्ने बिषयलाई लिएर मानहानीको मुद्दा चल्छ। ५-६ बर्ष अगाडि भनेको कुरा तन्कालिन ब्यबस्था र परिस्थिति संग अहिले कुनै कुरा नमिल्ने भएकाले मानहानीको मुद्दाबाट सफाई दिईन्छ। अब प्रश्न उठ्छ, के अदालत त्यही हैन? त्यहि बेन्च, त्यही स्थान, त्यही कानुन मान्ने अदालत तर कसरी फरक हुन गयो आज? अदालतको मानहानी सम्बन्धित परिभाषा के फरक भएको हो? यसको मतलब अदालतले भन्नुपर्छकी, ५-६ बर्ष पहिला यसले सही र यथोचित न्याय संपादन गर्न सकेको थिएन। नत्र अदालतको मानहानी वा अदालतको अपमान स्बतन्त्र र निष्पक्ष रहेको अबश्थामा समय सापेक्ष कसरी परिवर्तन हुन पुग्यो?

ख्याती श्रेष्ठको हत्या प्रकरणसंगै उनलाई न त समाजले न त कानुनले, न त कानुनको रखवालाले बचाउन सक्यो। कानुन माथिको बिश्वासको कमि र अनुसन्धानको तरिकाको कमिले गर्दा श्रेष्ठ परिवारले एक असल छोरीमात्र हैन, समाजले विलक्षण प्रतिभाकी धनी, सुन्दर र सभ्य नागरिक गुमाउन पुग्यो। हत्याको अनुसन्धान वा तहकिकात कुन हद सम्म निम्न स्तरको छ भन्ने कुराको यथार्थता प्रष्ट हुन पुग्यो जब कानुकका अधिकारीद्बारा पैसा दिने कागज गरेर ख्यातीको शरीरका अंगहरु फेरी हत्याराबाटै किन्ने काम भयो। आशा छउन्जेल ख्यातीको परिवारबाट १० लाख लिएको हत्यारा, कानुनको दाएरा भित्र आउदा समेत कानुनका रखवालाहरुसंग ख्यातीको शरीरका अंगहरुको ब्यापार गर्दे छ। बैज्ञानिक अनुसन्धान गर्न छोडेर ईमोसनल ब्लायकमेल गर्न आतुर यी कानुनका रखवालाहरु फेरि कानुकमाथि बलात्कार गर्दै छन् । यी त केही चर्चामा आएका कुरा मात्र हुन् । मेरो प्रश्न त्यसता अनेकौ कुराहरुमा हुन् जहाँ, हरेक पटक एउटा न्यायको आशा गरिएको हुन्छ जो न्याय एक नेपाली मात्र भएर सम्पादन होस।

कुनै यस्तो स्थान छैन, जहाँ कसैको मन नदुखेको होस, तल्लो भन्दा तल्लो स्तर देखि सिंहदरबार सम्मको यो अराजकता कहिले सम्म चल्ने हो? के यो देशले अझै यो भन्दा पनि अराजक र अब्यबस्थाको नियती भोग्न बाँकी छ? कसले बिचार पुराउने यसकुरा मा खै? “कलियुग लागे पछि घर घरमा राजा हुने छन्” भन्ने धार्मिक अभिब्यक्ति के साचो हो त? कलियुग के नेपालमै मात्र हुने हो र? नारायणहिटीको एक श्रीपेचको अवसानसंगै हरेक गाँउको हरेक घरमा हजारौ र करोडौ नयाँ श्रीपेचको उदय के यसै भएर राजेन्द्र ज्ञवालीले भन्नु भएको हो त?

आज हाम्रो नियति यसरी बिग्रिएको छ कि, एक आम नागरिक आफूलाई परेको अन्यायबाट मुक्ति पाउन कहाँ जाओस। कुनै यस्तो संस्था वा ब्यत्ति छैन जहाँ एक नेपाल र एक नेपालीको भावना मिलोस, जहाँ राजनैतिक मुद्दा भन्दा माथि उठेर नेपाल र नेपालीको हितमा न्याय सम्पादन होस। अब त हाम्रो नियती यस्तो बन्दै छ, केही नभएसम्म देशमै बस, अन्याय भोग्नु पर्यो भने आफूमाथिको अत्याचार भुल्न बिदेशिनु बाहेक कुनै बिकल्प छैन् । कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो? यस्तो नहोस अब र हामी हाम्रो हरेक कुरामा नियन्त्रण आफैले गर्न सकौं नकि फेरी नियन्त्रण गुमाएर कुनै पराईको गुलाम हुन नपरोस। सबैलाई चेतना भया।।।।।।

»»  पुरै पढ्नुहोस

Thursday, June 18, 2009

मन र निदाएका बुध्द

जब मनहरु आतड.कित हुन्छन तब हरेक पटक नजानिदो तान्द्राको भरमा आफूलाई उभ्याउन र शान्त पार्न खोज्छ। अनेकौ पिडा र खुशीहरु फुकाउनै नमिल्नेगरी अल्झिएको गाठो होला सायद यो मन। जति तन्काए पनि तन्किन्छ, जति छोट्याए पनि छोट्टिन्छ तर फुकाउन खोज्यो मात्र निरर्थक।

कसरी हुन्छ शान्त?, के ले होला आफ्नो उद्धार? स्बयमको उद्धारमा लाग्ने बानि मै समय खेर गईरहेछ। सोच्ने बानि मै र आफै भित्रको द्धन्दले कता कता मन प्लवन हुन्छ अनि नजानिदो पाराले पलायन। जति तरल भएपनि आशाहरु र जिज्ञाशाहरु बग्नै मान्दैनन्, मानौ न्यून तापमानमा जमेको छ मन्। आगो लागेको छ, धुँवा निस्केको छ र मनको राप बाहिर सम्म निस्केको छ, त्यै पनि किन मन अनि आशाहरु जमिरहेका छन् ? सोच्न बाध्य भएर कयौ चोटी आफैलाई सोधेको छु वा भनु झड्कारेको पनि छु तर फगत अनुत्तरीत मनहरु।बिना सिमाना, बिना परिधि, त्यसै त्यसै निश्चित दाएरामा बाधेर मनहरुलाई घस्याउन खोज्छु ताकि शान्त होस र मनग्यै अघाएर बसिरहोस् । तर पनि ईच्छाहरु निश्चित आकारमा बस्नै मान्दैनन् । मन अब मनहरु भईसके सायद ‍भिन्न भिन्न परिधिमा छन् अब तै पनि निदाएका छैनन् ।

एकमात्र हैन, अनेकन रुपमा मनहरु रोएका छन् । अभाबले, अज्ञानताले, बन्दूकले, तातो गोलीले, दबाबले, मजबुरीले, पिडाले, बिछोडले, गुलामीले, बन्दले, हड्तालले, भ्रष्टचारले, अपराधले,हत्याले, बलत्कारले,।।।उफ!! कति हो कति। कयौ पटक मनहरु उत्तर पाउने आशामा यिनै बीच रुमलियो। तर अभाब देखी, गुलामी हुदै बलत्कार सम्म कतै छैन उत्तर। जिज्ञाशामै आफै रुमलिएर बसेको मन र नजानिदो पिडाहरुले कतै पाएको छैन यसको उत्तर तर पनि खोजिरहेको छ र बस् खोज्दै छ।

पिडा पछिको पिडा, रोग पछिको रोग, समस्या पछिको समस्या कत्तिको दर्दनाक हुन्छ सोच्नै सक्दिन तर पनि आशाहरु छन् मेरो मन भित्र। आशा र निराशा सगै यी मनहरु सोच्न थाल्छन र टोलाउछन्। कतिखेर निदाउछ थाहै पाउदैन र सपनाको रँगमञ्चमा आफूलाई दर्शक बनाएर हेर्न पुग्छ्। रँगमञ्चमा कलाकारहरु कथासगै अगाडि बढेका हुन्छन् र अन्तिममा बुध्द निदाएको दृष्य सगै रँगमञ्चको पर्दा बन्द हुन्छ। पर्दा बन्द हुदा नहुदै आँखाहरु खुल्छन फेरि उहि कथा !! उहि परिदृष्य !! उहि घटनाक्रम। सायद हामिले रोजेको र अन्त गर्न नचाहेको कथा हो यो।

तस्बिर श्रोत:www.flickr.com

»»  पुरै पढ्नुहोस

Saturday, June 13, 2009

विडम्बना (लघुकथा)-रिमिक्स

दिलिपजीका लघुकथाहरु आँफैमा अतीनै सुन्दर र यथार्थ परक हुन्छन। यसो हुँदा हुँदै पनि आज एउटा कथामा रिमिक्स गर्न मन लाग्यो। राम्रो होला वा नहोला तर मलाई लाग्योकी गोरखापत्रमा(२५-०२-२०५८)त्यो बेला यो कथा प्रकाशित हुँदा र अहिलेको परिस्थिती फरक छ। अनी केही थपेर यहाँ राखेको छु। लेखकको बिचारको उच्च कदर गर्दै; यसलाई साधरण रुपमा र रमाइलोको रुपमा लिनु होला।

उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उलसे कानुनमा स्नातक गर्‍यो ।

पढाइ सक्काउन त गाह्रो छँदैथियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्‍यो । महिनौंको शीष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्‍यो ।

जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा यौटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर यौटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”

दिन बित्दै जाँदा, कानुनि सल्लाह लिन आउनेको भन्दा फोन गर्न आउनेको संख्या बढ्दै जान थाल्यो । शुरु शुरुमा भाडा उठाउन पनि मुश्किल हुनेमा बिस्तारै बहाल तिरी केहि मुनाफा समेत हुन थाल्यो ।

केही समयपछि एकदिन उनिहरुको बीचमा गम्भीर छलफल भयो। त्यसको भोलिपल्ट उनीहरुको साईनबोर्ड परवर्तन गरिएको थियो:- “यहाँ एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ” अनी साईनबोर्डको अलि तलपट्टि सानो अक्षरमा लेखिएको थियो ‘साथै यहाँ कानुनी सल्लाह पनि दिईन्छ।’

तर समयले कोल्टे फेर्यो, देशको स्थिती र सामाजिक परिबेश निन्तान्त फरक हुँदै आयो। आर्थिक संकटको बाबजुत ,सबै को हातमा मोबाइल फोन भयो, र कानुनी उपचार गाँउ गाँउमा हुँन थाल्यो र राज्यको कानुन कसैको सरोकारको बिषय भएन शायद। यस पटक न पसल खुला थियो न त कुनै साईनबोर्ड। खियालागेर प्वाल परेको सटरको बिचमा साईनबोर्डको नाममा लेखिएको थियो "टु-लेट"। मलाई अचम्मै लाग्यो र पल्लो पसलमा सोधे अनी पत्ता लाग्यो कि उनीहरु त पासपोर्ट बनाउन जिल्ला तिर लागेका रहेछन् । सबैलाई चेतना भया..................

वास्तविक कथा पढ्न यहाँ क्लिक गर्नुहोला



»»  पुरै पढ्नुहोस

Wednesday, June 3, 2009

मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु

मनमा के के आयो आयो। के हो र के हैन? कस्तो भएको छ र कस्तो भएको छैन? किन र कसरी ? त्यस्तै त्यस्तै भयो यो मन। मनको नजानिदो चालले कता कता पुरानो घाऊ लाई दर्खरायो, पिडा त्यसैबाट बगेर आयो अनी थाम्न खोजे, समालिन खोजे र आफुलाई फगत थुम्थुमाएर राखे। अनेकौ रुपमा पिडाहरु बल्झिन्छन् बिना कारण र बिना रुपमा। कती त समालिन पनि सक्छन् तर कती समालिन खोज्दा खोज्दै पोखिन्छन्। जिबनमा हरेकको आफ्नो आफ्नो भोगाइ, आफ्नै अनुभबहरु र आफ्नै तरिका हुन्छ जिउने तर हरेकले आफुलाई पिडा भन्दा माथि राख्न खोज्छ। तर म अलिक निरपेक्ष भएको छु, पिडा र सुखको एक अतभुत चाहना भएको छ एकैसाथ। "माया नगरु तिमी रिसाउने पीर, गरुम तिमीलाई पिडा हुने पीर".............

त्यसैले
चाहेको छैन तैपनी सम्झेको छु
मन भरी पिडा छ तैपनी हाँसेको छु
समालिन खोज्छु तैपनी छरपस्ट भएको छु
नपिउन खोज्छु तैपनी मातेको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

रोएको छैन मन तैपनी आँसु झारेको छु
च्यातिएको छैन मन तैपनी टालेको छु
आत्तिएको छैन मन तैपनी समालेको छु
बिलाउन खोजेको छु तैपनी बाचेको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

थामिएको छ सास तैपनी फेरेकै छु
खुट्टाहरु बाधीएका छन् तैपनी हिंडेकै छु
सून्य भएको छ मन तैपनी भावहरु अंगालेकै छु
जोडिएको छैन मन तैपनी यान्त्रिक बनाएको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

झिरले रोपेको छ मुटु तैपनी चलाएकै छु
सधै नउठ्न खोज्छु तैपनी बिहान उठेकै छु
नसम्झन खोज्छु तैपनी सम्झीराखेको छु
दौडिएको छैन मन तैपनी बिश्राम लिएको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।
किनकी........................तिमी हाँस्दा मलाई बिर्सियौकी भन्ने पीर, तिमी निरास हुँदा मलाई सम्झेर दु:खी भयौकी भन्ने पीर..........ल हेर्नुस त कस्तो छ यो मन ।
»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला