यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Sunday, August 22, 2010

कथा: महान लेखक बज्र नारायण

पहिले पहिले खुब पढ्थ्यो, आजकल लेख्‍ने टोपलिएर हैरान  बज्र नारायण । कति लेखहरू पढ्दा पढ्दै आजकल त दिमागनै लेखहरूको संग्रह बन्यो होला उसको तर पनि पढ्ने काम गरिनै रहन्छ। अखबारहरू पढ्नु उसको सोख र नियति । नियति किन भने उसको र हाम्रो पालोमा कुनै अनलाइन सुविधा थिएन त्यसैले उसको लागि छापामा आउने दैनिकी र सबै खालको छापिएका पत्रपत्रिका भन्दा बाहेक कुनै विकल्प थिएन।

 

तर आजकल बज्र नारायण बल्गर बनेको रहेछ, हिजो मेरो ई-मेलमा सुट्ट एउटा संदेश पठायो उसले। , मैले उसको ई-मेलको टुप्पो समातेर बल्ग सम्म पुगेँ। खुब रमझमका साथ बनाएको बल्ग र साथमा कथा कविता, समसामयिक लेख र रचनाहरू, मलाई विश्वासै लागेन यो कुराको । सानो छँदा पढ्नु पर्छ भन्ने मात्रै गर्थ्यो। कहिलेकाहीँ हामी भन्दा अलिक बढी नम्बर ल्याएर गणितको शिक्षकको खुब बधाई पनि पाउने गर्थ्यो। हाम्रा गणितका मास्टर खुब कडा थिए र भन्थे “देख्यौ केटाकेटी हो बज्र नारायण खुब जेहनदार छ, उनको गणित राम्रो छ, गणित राम्रो हुने मान्छे टाठो र बाठो हुन्छ र गणित सबै विज्ञानको जड हो र यो नै सबै भन्दा उत्कृष्ट देखाउने मूल मन्त्र हो”। वाह!! वाह!! खुब प्रशंसाहरू पाउने गर्थ्यो उसले कहिलेकाहीँ त रिसले हप्ता भरिनै नबोलीकन बसिन्थ्यो, एक प्रकारले डाहा लाग्थ्यो उसगँ।कसरी बन्ने होला बज्र नारायण जस्तै? कस्तो राम्रो दिमाग होला उसको, मन मनै सोचिन्थ्यो र कयौ पटक साथीहरू बीच पनि कुरा हुन्थ्यो।

 

बज्र नारायण वास्तवमै निकै चलाख थियो। गृहकार्य खुब राम्रो सँग गर्थ्यो, परीक्षामा प्रथम त कहिले पनि भएन तर पनि उसको टाठो पन पनि निकै प्रशंसनीय थियो सबैका बीच। समय सँगै स्कूल छोडेर कलेज पढ्न जाँदै गर्दा खुब सुन्नमा आई रहन्थ्यो कि आजकल पनि खुब पढ्छ रे बज्र नारायण। कुनै पुस्तक लेख्‍दै छ रे, त्यसैले पनि निकै समय अरूका किताब, पत्र पत्रिकाहरू पढ्ने गरेको छ रे। हामीले ठिकै हो भन्ठान्यौ र अझै पनि उसको प्रशंसा गर्ने गर्‍थ्यौ। वास्तवमा उ निकै पढन्ते मानिस थियो।

 

कहिलेकाहीँ राष्ट्रिय पत्रिकाहरूमा उसको नाम देखिन्थ्यो कथा, रचना र विवेचनामा। पत्रिकामा उसको नाम आएको छ भन्ने कसैले भन्यो भने, हिँडेरै महेन्द्र पुल गइन्थ्यो पत्रिका खोज्दै। किनेर पनि ल्याइयो कयौँ पटक अनि साथीहरूलाई पनि देखाइन्थ्यो र सुनाइन्थ्यो “लौ हेर साथीहरू यो मेरो साथी हो, बज्र नारायण; उसले निकै राम्रो लेख्छ र तिमीहरूले पनि पढ्नु पर्छ आदि आदि”।

 

अन्तिम पटक उसलाई पृथ्वी चोक पोखरामा भेटेको याद छ। कतै छापाखाना तिर जाँदै रहेछ। उसले भनेको थियो: साथी हुन त मलाइ नियमित लेखहरू लेख्‍न भनिरहेका छन् पत्रिकाहरूले तर पनि लेख्‍ने काम निकै गाह्रो छ। त्यो पनि नियमित त झनै गाह्रो काम। एउटा कुरा लेख्‍न कयौँ कुराहरू हेर्नु पर्छ, निकै समय बिचार गर्नु पर्छ र विचारहरूलाई मिश्रण गर्नु पर्छ र निर्क्यौल निकाल्नु पर्छ। मैले हो मा हो मिलाएँ। एउटा असल लेखकको कुरा म कसरी बुझुँ र नबुझेर पनि कसरी हैन भनुँ? मैले भनेको थिए “ल है साथी निकै राम्रो लेख्छौ र निरन्तर लेख्‍ने प्रयास गर मेरो शुभकामना। यही सल्लाह दिएर बिदा भएको थिए।

 

आज निकै समय पछि उसको यो ई-मेलले मलाइ जति खुसी बनायो, उति अचम्म पनि। उसले लेखेको थियो; मेरो मित्र, लामो समय पछि तिमीलाई ई-मेल मार्फत छोप्ने मौका मिलेको छ। निकै खुसी छु। यस बीचमा मैले निकै लेखहरू लेखे, तिमीले पढ्यौ वा पढेनौ थाह भएन तर समयको चालसँगै आजकल लेख्‍ने र लेख छाप्ने काम निकै सजिलो भएको छ। ईन्टरनेट र बल्गिङ्गको समय हो यो। संसार भरका सबै लेख र रचना आजकल घरमै पढ्न पाईने भएको छ। निकै खुसी छु। राम्रो नाम पनि चलेको छ मेरो आजकल। सबैले वाह! वाह! पनि भनिरहेका छन्। तिमी मेरो लेखको पुरानो प्रशंसक त्यसैले मैले तिमीलाई मेरो बल्गको यो लिंक पठाएको छु; राम्रो सँग हेर सुझावहरू देउ र आफ्नो पनि केही छन् भने मलाइ पढाउ म यसमा राख्‍ने छु।

 

उसको यत्रो ठूलो निमन्त्रणा म कसरी नमानुँ, मैले पनि उसको बल्ग पछ्याए, उसले दिएको बाटो बाटै। निकै तामझामका साथ मिलाएको बल्ग, निकै राम्रा लेखहरू रहेछन्। सबै हेरेँ, राम्रो सँग हेरेँ र राम्रो प्रशंसा पाइरहेको पनि देखेँ। वाह बज्र नारायण वाह!! मन मनले सोचेँ, वास्तवमा निकै लेखहरूको र विचारहरूको मिश्रण गर्नु पर्छ लेख लेख्दा भन्थ्यौ तर यहाँ त केही पनि देखिन मिश्रणहरूको सट्टा सरल, निकै सरल र सहज पाराले लेखेका छौं तिमीले। कुनै दु:खनै नगरीकन कस्तो बिचारहरू दिएका छौ। वाह!! वाह!!

 

मैले सबै हेरेँ र उसको बल्ग बन्द गरे। सोचेँ वास्तवमै इन्टरनेटले निकै सुविधा भएको रहेछ आजकल र केही पनि गर्न नपर्ने भएको छ। सबै कामहरू सहज र कोठा वाटै हुने जमना हो यो। पत्रिका बनाउ कोठाबाटै..... पैसा बनाउ कोठाबाटै.. लेखहरू छाप कोठाबाटै.... फेरि सोचेँ, बज्र नारायणलाई अब त लेखहरू लेख्‍न कागज, कलम र मसी  केही पनि नचाहिने भएको रहेछ। मात्र कम्प्युटरको दुइटा की जानेछ उसले यो बीचमा मात्र copy and paste ...सबैलाई चेतना भया।।।।

»»  पुरै पढ्नुहोस

Thursday, August 19, 2010

अब आफै सोच्नु पर्छ

देशको सम्पूर्ण परिवेश हेर्ने हो भने हामी कति कुरामा आशावादी हुन सक्छौ त्यो छलफल वा विवादको विषय पक्कै हुन्छ। हामीले गरिरहेका उपलब्धिहरूलाई कुन दृष्टिले हेर्ने भन्ने मात्र पृथक् कुरा हो। हामीमा एउटा भिन्न किसिमको गरिबी छ, हामीमा एउटा भिन्नै किसिमको अभाव र भोक छ। त्यो हाम्रो आफ्नै यथार्थता हो। एकाध दुई मान्छेहरू बाहेक अधिकांश समाजको आफ्नै पीडा छ। न्युयोर्क, टोकियो, पेरिसमा रहिरहेका हाम्रा आफन्तहरूको जीवन र उनै आफन्तहरूको आफन्ती नेपाली जीवनमा आकाश र जमिनको फरक छ। बरु कुनै समानता हुन सक्ला आकाश र जमिनको बीचमा तर त्यो जीवन पद्धतिहरूको बीचमा कल्पनै गर्न नसकिने विविधता रहिरहेको छ। हामी विदेशी कुरा गर्छौ तर हाम्रै काठमान्डू र रोल्पा रुकुमको जीवन शैलीमा यस्तै भिन्नता छ। भिन्नताकै बीचमा, पृथक्ताकै बीचमा, विविधताकै बीचमा, दूरदराजका गाउँ जानैं पर्दैन, राजमार्गबाट केही घण्टाको पैदल उत्तर वा दक्षिण, पूर्व वा पश्चिम जहाँ गए पनि त्यो जीवन शैलीको फरक र असमानता प्रस्ट देख्न पाइन्छ, यही नै हाम्रो यथार्थ पहिचान हो बर्तमानको।

 

भू-राजनैतिक परिस्थिति आफ्नो ठाउँमा छ तर पनि जन-मानस, मानसिकता र जीवन शैली मानव सभ्यताकै लागि एउटा वर्तमानको इतिहास र एउटा अनौठो उदाहरण भएर बाचिरहेका छौं हामी। अब प्रश्न उठ्न सक्छ दोष कसको हो? को दोषी छ यो सबै हुनु मा? एउटा आम नागरिकको बारेमा र साधारण जीवन धान्ने निहुँमा विदेसिएका अनेकौँ व्यक्ति वा नागरिकको कुरा कुनै बेला उठाउला, तर आज मैले उठाउन खोजेको कुरा त्यो विद्वान वर्गको हो जो विदेशमा ठूला वैज्ञानिक वा विद्वानको रूपमा चिरपरिचित नामको पछाडि दौडिएका जमात विद्यमान छ।

 

विदेशी भूमिमा ठूलो विश्वविद्यालयमा पढिरहेका वा पढेर अनेकौँ पेसामा लागिरहेका मान्छेहरूलाई सोधौं नेपालको बारेमा नेपाल बारे उनीहरूको धारणा बुझौं र नेपाली परिवेशको बारेमा उनीहरूको मत सर्वेक्षण गरौं। नेपाल गरिब छ, नेपालमा केही गर्न सकिँदैन, मैले पढेको कुनै काम छैन यो देशलाई, मेरो ज्ञानको कुनै कदर छैन, मैले यत्रो ज्ञान हासिल गरे तर खै नेपालले मलाई कहिले चिन्ने हो? यस्तै यस्तै निराशावादी उत्तरहरूको थुप्रो नै लाग्छ वा यस्तै जबाफ पाउँछौ हामी।

 

तर गहन अध्ययन र बिचार गर्ने हो भने, यसो भन्दै गर्ने कोही पनि वैज्ञानिक वा विद्वानहरुले गलत भनिरहेका छैनन्। उनीहरूको मत र बिचार बिलकुल ठीक छ। उनीहरूले सोचेका कुरामा सत्यता छ। उनीहरूले हासिल गरेको ज्ञान र सीपको कदर यहाँ हुदैन। सबै तिर निराशा मात्रै देखिन्छ। राजनीति, जीवनशैली, मानसिकता सबै गरिब छ हाम्रो। हामी मानव सभ्यताको ढुँङ्गे युगमा बाचिरहेका छौ। देश विकाश, सभ्यता, शिक्षा र अनुशासनको त्यो चरणमा छौं जो शताब्दी पहिले हुनु पर्ने थियो। यस्तो अवस्थामा बिकसित राष्ट्रहरू जो खगोलिय जीवन खोजिरहेका छन्, जो सभ्यताको चरम चुलीमा छन् त्यस क्षेत्रबाट ल्याएको ज्ञान र सीप वास्तवमै हाम्रा लागी अनुत्पादक नै हुन्। हामी जीवनजलको विकल्प नुन चिनी र पानीको प्रचारमा छौ, सिप्रो वा चारौ पाचौ पुस्ते चरणका औषधी विज्ञानको विकल्पमा घोलटाप्रे र काली सिन्कीको प्रयोगमा छौ। कसरी काम लाग्छ तिमिले हामीले पढेका र जानेका कुरा यो देशका लागी? खगोलिय यात्रा तय गरिरहेका संसारका बिकसित राष्ट्र र प्रयोगशालामा लिएको ज्ञानले गाउँको घट्ट चल्दैन। त्यो ज्ञानले डोको वा नाम्लो बुन्न सिकाउने सीप दिदैन। आधारभूत आवश्यकताका न्यूनतम आपूर्तिको आभास, त्यो ज्ञानले अवश्य पनि दिँदैन।

 

देशको परिवेश र आवश्यकता हेरेर, बुझेर र न्यूनतम जीवन शैलीको पक्षमा त्यो बिकसित राष्ट्रमा काम गरिरहेका कुनै पनि वैज्ञानिक हाम्रा लागि काम नलाग्ने मान्छे भन्दा केही पनि हुने छैनन्। जुन जुन देशमा हामी काम गरिरहेका छौ, त्यही त्यही देशको आवश्यकता पूर्तिका लागि हामी शैक्षिक लाहुरे भन्दा केही पनि हैनौ। अरबी मरुभूमिमा दुःखका पसिना बगाएर काम गरिरहेको एउटा साधारण नागरिक र संसारकै ठूला प्रयोगशालाको चिसो हावा खादै काम गरिरहेका हामीमा कुनै फरक छैन किनकी हामी विदेशी कठपुतली हौं र भइरहेका छौं।

 

देशले खर्चेर विदेश पढ्न पठाएका वैज्ञानिकहरू पढि सकेर देश नफर्की उतै पलायन भएका अनेकौँ उदाहरणहरू मध्य, रोग भोक, शोकसँग जुधेर, आफ्नै परिश्रम र जोडमा विदेश पुगेका कुनै वैज्ञानिक देश फर्कलान् र देशले काँचुली फेर्ला भन्ने सोच्नु ठूलो भुल भन्दा केही हुदैन। त्यसैले राज्यले शिक्षा ज्ञान र जीवन शैली स्थानीय रूपमै योजना बद्ध तवरले सुरु गर्नु पर्छ। जे आवश्यकता हुन्छ आधारभूत विकासका लागि त्यसैका लागी चाहिने जनशक्ति र वैज्ञानिकहरूको उत्पादन स्थानीय स्तरमै बनाउने योजना र कार्य विधि लागू गर्नु पर्छ। देशमै पढेका र देशकै परिवेशमा बिद्धत्व हासिल गरेका जनशक्तिले कोदो, मकै खाएर स्थानीय समस्यामा आफ्नो योगदान दिन सके भने त्यो राष्ट्रका लागी निकै फलदाही र उपलब्धि मूलक हुने छ। छातीमा हात राखेर भन्नु पर्दा र सोच्दा हामी जो विदेशी भूमिमा वैज्ञानिक बन्ने दौडमा छौं, जो मान सम्मान कमाइरहेका छौ, कसैले पनि पढेर स्वदेश फर्कौला देशको विकाश गरौला भनेर सोचेका धेरै थोरै र नगण्य सख्यामा हौला। आदर्शका कुरा गर्दा, देशलाई कति माया गर्छस् भनेर सोध्दा हामी देशको गरिबी, राजनैतिक अस्थिरता र अभावलाई अगाडि तर्साएर उम्कने गरेका छौं।

 

त्यसैले मेरो देशले आफै सोच्नु पर्छ। विदेशी पैसा, विदेशी जीवन शैली र विदेशी परिवेशमा रमाउने वैज्ञानिक वा भनौं एक्याडेमीक लाहुरेको आशामा बस्नु हुदैन। नितान्त फरक र आफ्नै परिवेशको विकाशको सुरुवात गर्नु पर्छ। मलाइ लाग्छ मैले ठूलो टेक्निकल फड्को मारेको छु अनुसन्धानको क्रममा तर पनि मेरो देशको घट्टलाई न्यूनतम घर्षणमा कसरी घुमाउन सकिन्छ भन्ने कुराको अनुसन्धान गरेको भए त्यसले मेरो देशको एउटा गाउँको जीवन शैलीमा सहजता दिन सक्थ्यो होला। कुनै गरिबको अनुहारमा सानो मुस्कान दिन सक्थे होला। मेरा ठूला ठूला अनुसन्धान र त्यसको शोधपत्रले एउटा विदेशी कम्पनी वा विदेशी भूमिलाई केही कमाउने सहज उपाय सुल्झाए हुलाँ, मानव सभ्यताको विकाशमा मेरो पनि योगदान छ भनेर भनौला वा मन बुझाउला तर हाम्रा आफ्नोका लागि के त? म आफै म भएर कुरा गरे पनि यो आम समस्या पक्कै हो र यो नै एउटा यथार्थता पनि ।

 

त्यसैले ठूला ठूला आदर्शका कुरा गरेर वा आफूले ठूला ठूला काम गरेको नामको भरमा हामीले पढेका कुराहरू हाम्रो समाज र देशलाई कति धेरै काम लाग्छ, कति मात्रामा हाम्रो परिवेशमा उपयोग गर्न सकिएका वास्तवमै सोच्नु पर्ने कुरा हो। चन्द्रमाको यात्रा तय गर्ने रकेटको बारेमा पढेका जानेका हाम्रा वैज्ञानिकहरू, देशका अनेकौँ खण्डहरहरूमा झोलुङ्गे पुल बनाउने र चलाउने काम गर्न सक्लान् वा इच्छुक होलान्?, क्लौन पद्धतिमा दक्षता हासिल गरेका डाक्टरहरू रुकुम रोल्पा वा कुनै बिकट गाउँमा गएर जीवनजल नभए नुन चिनी पानी खानु भनेर सिकाउन सक्छन् वा इच्छुक हुन्छन्? कुनै टेक्निकल संस्थाबाट मोटरकार, बस वा हवाईजहाज बनाउने वैज्ञानिकहरू, गाउँका न्यून आए भएका गरिब किसानलाई डोको नाम्लो बुन्न सिकाउन सक्लान् वा इच्छा गर्लान्? विदेशी विश्वविद्यालयमा पढाइरहेका कुनै बिद्धान प्रोफेसर के हाम्रो गाउँमा गएर भोका नङ्गा गरिब जनताका छोरा छोरीलाई क ख ग सिकाएर बस्न सक्लान् वा इच्छुक होलान्? हामी सधैँ विदेशी र बिदेसिएकाहरु प्रति आशा गरिरहेका छौ।

 

त्यसैले अब ढिलो नगरी देशमै एउटा राष्ट्रिय अभियान चलाउनु पर्छ गाउँ गाउँमा, सभ्यताको नयाँ सुरुवात गर्नु पर्छ स्थानीय स्तरबाटै । देशमै बसेर केही गर्छौ भन्नेहरूको पहिचान हुनु पर्छ पहिले अनि परिचालन। यो अभियानमा नयाँ स्कूल, स्थानीय सीप र साधनको अधिकतम उपयोग गराउन सकिने र सिकाउने शिक्षालयहरूको सुरुवात गर्नु पर्छ। आर्थिक स्तर के हो? सभ्यता के हो? मानवता के हो? हामी को हौ? हाम्रो अवस्था कस्तो छ? आदि आफैलाई चिन्ने, समाजलाई चिन्ने र आफ्नो आवश्यकतालाई पहिचान गर्न सक्ने मानिसको, समाजको विकाश गर्नु पर्छ। हामी आज समाजलाई आर्थिक, शैक्षिक र राजनैतिक फड्को मार्ने झूटा कुराहरू गरेर बसिरहेका छौ तर विकास फड्को मारेर हैन, बिन्दु बिन्दुबाट हुन्छ र त्यही बिन्दु बिन्दु जोडेर रेखा हुन्छ र सभ्य समाजको सुरुवात हुन्छ। यसो भनिरहँदा विदेशमा कार्यरत वैज्ञानिकहरू बा सीपको काम पटक्कै छैन भन्ने हैन। पहिले आधारभूत जग बसाल्दै जाँदा बिस्तारै उनै उच्च ज्ञान हासिल गरेका वैज्ञानिक वा सीपको आवश्यकता कुनै कालखण्डमा अवश्य पनि पर्ने छ र देशले अहिले विदेशमा रहिरहेको यो संचित जनशक्तिको अधिकतम उपयोग गर्ने छ।. त्यसैले पहिले जग बसाल्न आबश्यक छ, आधारभुत जगको सुरूवात सगै त्यस पछि मात्र  बिदेशमा रहेको हाम्रो सन्चित जनशक्तीको निकै ठूलो भुमिका रहने छ…सबैलाई चेतना  भया.

 

यो लेख पहिले e-syangja का लागि लेखिएको थियो, फेरि यहाँ  पनि राखेँ ।

»»  पुरै पढ्नुहोस

Sunday, August 8, 2010

भ्रान्तिवाद: हाम्रो पटबाँझो जमिन

मैले सोचेँ, भने वा गरे भने त्यो मेरो लागि कर्म, दिनचर्या वा कसैको पृष्ठपोषण के हो निकै गाह्रो हुन्छ बुझ्न तपाइलाई, तर तपाइले गर्नु भो भने मेरो लागि, उदाहरण, प्रेरणा र अन्त्यमा एउटा ईतिहास बन्न सक्छ। जस्तो सुकै होस, बिचार र आदतले माने सम्म र सोच्ने हो आफ्नो काम र बिचार। निकै सोच्न बाध्य भएर एउटा असन्तुलित भावावेगमा कलम चलाउने मात्र हैन, जीर्ण सोच र स्वतः स्फूर्त नियममा बाँधिएर पनि असरल्ल कर्मका भोगी हामी आफैमा नितान्तै पलायन तर्फ गइरहेका हुन्छौ। के का लागि र कसको लागि बिचार प्रधान हुने हो, त्यो पृथक् पृथक् बिचार र मान्छेमा भर पर्ने गर्छ। आ-आफ्नै परिभाषामा रमाउनेहरु पनि कसैका लागि आफैलाई उम्दा साबित गर्ने काममा तल्लीन छन्। म तपाई र जो कोही पनि बिचारमा कटिबद्ध तर गतिगरास मनस्थितिले बाँचेका छौ।

 

एकाम्य बिचार त जीवन भर सायद कसैको पनि हुँदैन होला। सायद यही परिवेश भित्र आज हामी लड्दै, मर्दै, मार्दै र मार्ने योजनामा छौं। आफ्नै जीवनमा समेत सहजता, एउटै परिवेश खोज्न कठिन अवस्थामा कसरी समाज र बिचारमा एकाम्य बोध हुन सक्छ र ? फगत एउटा केस्रो जीवनको लागि बाचिरहेका हामी, कसरी र के गर्दा पूर्णता प्राप्‍त हुन्छ? म सोच्दिन, कम सोच्छु र कम बिचार गर्छु तर पनि केही न केही बिचारमा कैँडा परिनै हाल्छ, पीडा बोध भईनै हाल्छ। सायद जीवनको सबै भन्दा सजिलो परिभाषा, नियम वा मेरो जिउपालो गर्ने तरिका हो यो। बाँचेकै र रमाएकै छु आफ्नै जीवन परिभाषामा । सबै यस्तै सोच्दा हुन्; म नै जीवन हो, म नै संसार हो र मेरो परिवेश नै मेरो लागि सबै कुरा हो।

 

 

कसैले सोचेको छ, एउटा जीवन र पुरै सभ्यता भित्र कति जिन्दाबाद र मुर्दावादहरू आए? वाद र सिद्धान्तकै पछि लागेर कति मान्छेहरू मरे, कति मर्दै छन् र कति मार्ने योजनामा छन्। के को लागि? मार्ने सभ्यता र अस्तित्व नै सिद्धाउने खेलकै परिवेशमा कति सभ्यताहरू गुमेको छन् र कति तुहेका छन्। कसैले हिसाब गरेको छ? कसैले सोचेको छैन, मात्र आफ्नो लागि बाच्दा बाच्दै, कहिले पनि यहाँ अरू पनि छन् र बाच्न चाहन्छन् भन्ने कुरा बिर्सिएका छौं हामी। सहअस्तित्वको बोध हामीले अहिले हैन, यीनै पेसुवा वाद भित्रकै जिन्दाबाद र मुर्दावादहरू भित्र सभ्यताको विकासको नाममा कयौं पटक गुमाई सकेका छौ। पोखरीमा अर्को सिंह छ भन्ने भ्रान्तिमै बाचेका छौं र आफैलाई शत्रु देख्छौ। जान्ने बुझ्ने र टाठो बाठो खरायोहरूले चलाएको संसार, जहाँ आफू बाच्न कै लागि, पोखरी भित्र अर्को सिंह भएकै भ्रान्ति दिएर आफू बाचेको र मुर्दाहरू बचाएको नाटक गर्दै छन् । त्यसैले राम्रो सगँ सोचौं, हाम्रो समाज र देशमा लादिदैं गएको राजनैतिक, सामाजिक र आर्थिक भ्रान्तिवाद हाम्रा लागि पटबाँझो जमिन भन्दा केही हुने छैन ....सबैलाई चेतना भया..

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला