यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Tuesday, November 29, 2011

फूलको आँखामा काँडै संसार..

के युद्ध रचना गर्ने ईश्वर हुन्छ? ईश्वरत्व प्राप्त गर्न बुद्ध बन्नु पर्छ र? के यस्तै भन्दै आएको छ हाम्रो शास्त्रले? हैन भने महाभारतको युद्ध भगवान कृष्णले चाहेको भए रोकिन सक्थ्यो हैन र? ज्ञानी र बुद्धिमानी अर्जुनलाई नै गीता सुनाएर एउटा असल मान्छेलाई युद्दको लागि प्रेरणा दिए उनले। संसारको सबै भन्दा बढी मानव क्षति भएको युद्द थियो त्यो। भनिन्छ आणविक हतियारहरूको प्रयोग समेत भएका थिए त्यस बेला। संसारमा सबै भन्दा पहिले गीताको ज्ञान लिने अर्जुनलाई बुद्ध कहिलै पनि भनिएन। ज्ञानी हुदैमा बुद्धत्व प्राप्त हुँदैन भन्ने यो एउटा उदाहरण हो। लडेर, मारेर र हत्या गरेर मान्छे बुद्ध हुँदैन भन्ने यो भन्दा राम्रो उदाहरण के होला? कर्म नै हो भन्ने नाममा करोडौँ मान्छेको हत्या गर्न लागाउने मान्छे ईश्वर मानेका छौं हामीले। जुवा र तासको खेलमा आफ्नी श्रीमतीलाई समेत दाउमा राख्ने जुवाडेलाई ईश्वर मान्छौ हामी। वास्तवमा हामीले ईश्वरीय लिलाको नाममा गरिएका सबै नराम्रा र दुष्कर्महरूलाई हाँसेरै स्वीकार गर्छौ, चर्चा गर्छौ र त्यसको महिमा गाउँछौं। अर्काकी श्रीमतीको सतीत्व लुट्न जानेहरुलाई ईश्वरको लीला भनेर पूजा गर्ने हामी, एकाध दुई जनालाई दुःख दिने दानवहरूको बिनासको लिलालाई स्वीकार गर्दैनौ । श्रीमानको गल्तीको लागि उनको श्रीमतीको सतीत्व लुट्नु पर्ने बाध्यताको बीच, उनीमाथी के गुज्रन्छ कसैले सोचेनौँ। न ईश्वरले न हामी ईश्वर मान्ने मान्छेहरूले उनको पीडा, उनले जीवनभरि गरेको घर्म नष्ट गर्न ईश्वरनै तम्सेर जाँदा समेत त्यसलाई कथा वा सत्य प्राप्तिको मार्ग भनेर युगौँ सम्म सुन्दै र सुनाउँदै आयौं। ईश्वरनै आफ्नो भक्तको धर्म नष्ट गर्न तयार हुन्छन् भने के को आशा गरेर हामी फेरि उनैको शरणमा जान्छौ? ईश्वरनै हौ भने किन अज्ञानी, घमन्डी र दुराचारी दुर्योधनलाई गीता सुनाएनौ? गीता पढ्न खोज्ने, जान्न खोज्ने मान्छे ज्ञानी हुन्छ तापनि किन ज्ञानीका लागि मात्र प्रयोग भयो? अज्ञानीले किन सुन्न पाएन। ज्ञान त अज्ञानीलाई हुनु पर्ने थियो नि । सुनेर पनि युद्द गर्नु नै छ भने किन सुन्नु पर्‍यो? मात्र प्रतिनिधि उपाख्‍यान...

 

यहाँ पनि त फरक छैन, त्यहाँ एक जनाले गीता सुने, ज्ञानी भए अनि ज्ञानी भएको मान्छेले सबै आफ्नालाई त मारे। जो मरे, आफ्नै मरे र आफ्नै परिवार सुन्य बनाएर राज्य गरे। युद्ध पछि कहिलै, युद्धको समीक्षा गरिएन। युद्दको खर्च र लागत कहिलै भनिएन, तैपनि इतिहास भन्यो, महाभारत तयार भयो। स्वयं ईश्वरले आफू मर्नु पर्छ भनेर सोचेनन्। ठूला ठूला दिव्यास्त्रहरूबाट बचेका उनलाई, सानो सिकारीको वाणले मार्यो। आफ्नै परिवार र आफ्नैको लागि मार्न उनी आएका हुन भन्ने कुरा हामीले बिर्सियौं। आफ्नै दुराचारी मामा मार्ने काम बाहेक, छलकपट र बदमासी नै गरेर ईश्वरत्व प्राप्त गरेका उनकै पुजारी हामी पनि आफ्नैको हत्यामा त लागेका छौ, नयाँ ईश्वर बनाउन उल्लिएर नयाँ अर्जुन खोज्दै। भलै पुरानो गीताबाट प्रेरित नभए पनि नयाँ वादहरूको बीचमा गीता मन्थन गरेर भए पनि त हामी आफ्नैलाई मारेकोमा गर्व गर्छौ। महाभारतमा त गीताले एक जना अर्जुन जन्माए, यहाँ त करोडौँ अर्जुनहरू तयार छन् लड्न र मार्न। हामीले महाभारतकै प्रयोग गरेका हौ त? हौ भने हाम्रो वाद के हो, हामी कुन घर्मका हौ? मान्छे मार्ने घर्मकी नमार्ने घर्म? ईश्वरत्व आफ्नाका लागि मात्रै हैन भने, युद्धको अगाडि आफ्नो शरणमा आएका दुर्योधनलाई किन छलकपट गरेर कम शक्ति दिइयो? दुर्योधनलाई मार्न यत्रो युद्द रचेर, छलकपट गरेर किन यत्रो मान्छेहरूको हत्या गरियो? के उनी आफैले, एक्लैले गर्न सक्थेनन्? युद्ध गर्ने मान्छे भन्दा युद्ध गराउने मान्छे कातर र डरपोक हुन्छ त्यसो भने? मार्नु र मार भन्नु फरक कुरा हो। जे भने पनि मार्ने काममा द्दढशक्ती चाहिन्छ भने मार भन्न कायरता भए पुग्छ। अनि मृत्युमा रमाउने द्दढशक्ती नभएका कायर नपुंसकहरू संसारमा राज गर्छन् उही घर्म, वाद र सिद्धान्तको नाममा।

 

त्यसैले हो त आदमारा जीवनको मुक्तिको खोजीमा बुद्धको पछि लागेका कृष्णहरू र उनका शिष्य अर्जुनहरू? महाभारत सकिए पछि, आफूलाई नमान्ने र नपुछ्ने सबै मारिए पछिको संन्यासी बन्ने कथा उल्लेख नगरिनु, बुद्धकै पछि लागेरै हो त? दण्डकुण्डबाट मुक्तिको बाटो त हैन? युद्द पछि, टुहुरा भएका, विधवा भएका सबैले घृणा गरेको कथा महाभारत भरि छैन। युद्ध उनीहरूको वणिक्वृत्ति नै हो त? हो भने लगानी, नाफा वा घाटा खै त? वाह!!!! कसैलाई सम्ठनु र कसैको सम्ठ्याउनु नै युद्द हो र? रामजाने... कसै कसैले कृष्ण भईएछ कि भनेर नफूले हुन्छ,। कंस र रावंणको लिला पनि अपरम्पार र कसै कसै भन्दा कम भने छैन...................

 

त्यसैले फूलको आँखामा फूल हुनको लागि आफ्नो चेष्टा र आत्मा पनि फूल जस्तै हुनु पर्छ नि हैन भने  फूलको आँखामा काँडै संसार .... सबैलाई चेतना भया...

»»  पुरै पढ्नुहोस

Saturday, November 5, 2011

मेरो हटमेलको कुरा

 

“नामको पछाडि @hotmail.com देख्दा निकै अचम्म परेका थियौ”

विगत केही समय यता दुई वटै काखे बिग्रियो। भनेको बेला लेख्‍न सकिएन। लेख्‍न खोज्दा विषय मिल्दैन वा मनबाट फुर्देन। ढिलाइ भयो भन्ने लागकै हो तर पनि लेख्‍ने समय र प्राविधिक गडबढीको बेस्करी निहुँ पाएँ।

 

लेख्‍ने विषय कत्ती धेरै छन्। नेपाली समाचारका पानाहरू र फेसबुकका स्टाटसहरु हेर्ने हो भने सयौं सहमति विमतिहरू, र तर्कहरू छन्। कुन कुन विषयमा लेखुँ र कुन कुन विषयमा आफ्ना मनका कुराहरू पोखुँ त्यो चाहिँ गनेर साध्यै छैन। हरेक बिहान, दिउसो र साँझ नयाँ विषय नपाउने पनि हैन तर पनि चाँजोपाँजो मिल्दैन। चुनावी रौनक बढिरहेको बेला, बेरोजगारी १% घटेको उत्सव मनाउने र चुनावी एजेन्डा बनाउन खोजिरहेको नौलो रौनक त छदै छ। यता नेपाल तिर शान्ति र सेना समायोजनका कुराहरू चर्चामा रहिरहेका छन्। फेसबुक स्टाटसहरु हेर्यो, आजकल कुनै साथीले वा मान्छेले आफैले लेखेको भन्दा कृतिम र अनावश्यक आफै अपलोड हुने राशीफल जस्ता स्टाटसले पाना भरिएको छ। एकाध दुई कविता र विचारहरू ले चित्त बुझाउनु पर्ने भएको छ। मैले अनुभव गरेको छु आजकल मान्छेहरू रमाइलो गरिरहेका छन् उता तिर। रमाइलोको लागि नै त हो यो सबै बखेडाहरू हामी आफैले निम्ताएको। समाचारहरू हेर्न समाचारकै पेजमा जान पर्दैन आजकल। कुनै न कुनै साथीले भए भरका सबै समाचारहरू आफूले मात्र पढेको झै गरेर पाना भरिदिन्छन्। टाउको नभएको मान्छेको फोटोमा ट्याग गरिदिन्छन्, यता मोवाईलमा घण्टी बज्छ अनि घण्टी नै बझिसके पछि के के नै रहेछ भनेर हेर्यो, दिनको सुरुवातै खराव। यस्तै छ साथी यहाँको चलन र हाम्रो दैनिकको सुरुवात। जे भए पनि भैरेले फेसबुक छोडेको छैन ।

 

सुरुवातमा कम्प्युटर सिक्न जाँदा, इन्स्टिच्युटका प्रिन्सिपलले एउटा प्रस्ताव राखेको मलाइ याद छ। “कम्प्युटरमात्र सिक्ने कि हटमेल (ई-मेल हैन है) र इन्टरनेट पनि सिक्ने हो?” त्यस बेला ई-मेल भनेकै हटमेल थियो। इन्टरनेट भर्खरकै प्रवेश गरेको तियो त्यसताका। कृतिपुरको केन्द्रीय पुस्तकालयको ई-मेल दिने गर्थ्यौ हामी बाहिर कसै सँग सम्पर्क गर्नु पर्यो भने। पुस्तकालयका कारिन्दा, जसले त्यो ई-मेल हेर्थ्यो उनलाई रिझाउन अनेकौँ गर्नु पर्दथ्यो। जब हाम्रो नाममा ई-मेल आउथ्यो, उनले त्यसलाई प्रिन्ट गरेर राखिँदिनथें अनि हामी बिहान बेलुका त्यहाँ पस्थ्यौ र आफ्नो ई-मेल लिएर जान्थ्यो। दिनु पर्ने उत्तर हामी घरबाटै लेखेर ल्याउनु पर्थ्यो। उनले आफ्नो समय अनुकूल त्यसलाई टाइप गरेर पढाइदिन्थे। केन्द्रीय पुस्तकालयको त्यो सुविधा हाम्रो लागि निकै राम्रो र सहयोगी रह्यो केही समय पछि कारिन्दाले कृतिपुरकै नयाँबजारको पसलमा कम्प्युटर राखेर त्यो सुविधा दिन लागे। डायलअप इन्टरनेट, निकै बेर कम्प्युटर क्यार-क्यार गरेर कराउथ्यो इन्टरनेटसँग जोडिने बेला। निकै ढिलो चल्ने। मोबाईलको सुविधा थिएन त्यस बेला। मोबाईलको लाइन लीन पचास हजार धरौटी राख्‍नु पर्थ्यो रे। मिनेटको १० रुपैयाँ तिर्नु पर्ने कुरा भर्खरकै बजारमा आएको थियो। तर कृतिपुरमै आफ्नो डेरा नजिकै इन्टरनेटबाट विदेशमा ई-मेल गर्ने सुविधा हामीलाई दिने साथीको त्यो सेवा निकै राम्रो रहयो। एउटा ई मेल आएको र बुझेको तीन रुपैयाँ र गरेको पाँच रुपैयाँ दिनु पर्थ्यो।

 

एक दिन मेरो एक जना गुरु जापानमा डाक्टर डिग्री गर्दै हुनु हुन्थ्यो। मेरो पढाईको सिलसिलामा उहाँसँग सम्पर्क गरेको थिए। मेरो ई-मेलको जबाफ आउँदा एउटा कुराले म र मेरो साथी विज्ञान आचार्य( हाल जापान) तीन छक्क पर्यौ। हामीले ई-मेल पढ्यौ तर उहाको ई-मेल ठेगानले चाहिँ हामी अचम्मित बनायो। उहाको ई-मेल ठेगानामा चाहिँ उहाकै नामको पछाडि @hotmail.com रहेछ। हामीलाई लागेको थियो जापानमा जाने सबैले त आफ्नो व्यक्तिगत र आफ्नै नाम भएको hotmail पाउदो रहेछ। केही समय पछि ति साथीले हामीलाई हाम्रो आफ्नो नाममा hotmail खोलेर आफ्नै ठेगानाबाट ई- मेल गर्न सक्छौ भनेर सुनाए पछि खुसीको सीमानै थिएन। हाम्रो ई-मेल उनै साथीले खोली दिन्थे र उनी कसरी यो सब गरिरहेका छन् भनेर हामी ट्वाल्ल परेर हेर्यो मात्र।

 

एक वर्षको बीचमा, आफ्नै डेराको वरिपरि थुप्रै इन्टरनेट साईबरहरु खुले। त्यसपछि nepalnews.com को च्याट बक्समा च्याट गर्न जान्ने भए पछि चाहिँ बेलुकाको समय काट्न गाह्रो भएन। साईबरमै कहयौ प्रेम पनि बस्यो र छुट्यो हिसाब किताबै रहेन। पछि yahoo को ई-मेल र yahoo chat box मा विदेशी नयाँ साथीहरू सँग पनि च्याट हुन थाले पछि र झन् के कुरा। मोज नै मोज। तर भाग्यले मेरा विदेशी साथीहरू राम्रा परेका छन् दुई तीन जना साथीहरूसँग अझै पनि गफ हुन्छ। हामी सबै बिहे गरेर घरजममा लागेका छौं तर पनि हाम्रो मित्रता कायमै छ। पारिवारि मित्रको रूपमा केही साथीहरूसँग नाता गाँस्दा त्यस बेला yahoo को च्याट बक्समा बिताएको समय खेर गए जस्तो लाग्दैन।

 

समयले कोल्टो फेरको हैन। वास्तवमा प्रविधिले फड्को मारेको हो। हामी समयलाई प्रविधिको छलाङ्ग मार्ने तरिकालाई समयसँग तुलना गर्न जानेका छौ। मेरो आफ्नै hotmail, जब आफैले खोल्न र चलाउन सिकेँ त्यसपछि चाही निकै सजिलो भयो बाहिर सम्पर्क गर्न। मास्टर डिग्री गर्ने ताका एक जना जापानी प्रोफेसरसँग ( काजुवो मासुदा) सम्पर्क गर्ने मौका मिलेको थियो। मेरो डिग्रीको थेसिसमा उहाको निकै ठूलो योगदान रहयो र त्यस बीच उहाँ र मेरो बीचमा निकै राम्रो सम्पर्क भइनै रह्‍यो त्यही हटमेलबाट। उहाँको हरेको नेपाल भ्रमणमा म सँगै र साथमै हुन्थे। बीचमा मेरो पहिलो जापान भ्रमणको (सन २००४) बेला टोक्योमा भेटेर उहाँ सँग २,३ दिन सँगै बिताउने मौका मिलेको थियो। एक दिन टोक्योमै नेपाली रेस्टुरेन्टमा खाना खान जाँदा त्यहाँ आएका अरू जापानी प्रोफेसरहरूसँग परिचय भयो। ठेगाना लिने र दिने क्रममा मैले आफ्नो नाम, ठेगाना र ई-मेल ठेगाना दिँदै गर्दा त्यहाँ रहेका कुनै पनि प्रोफेसरको hotmail ठेगाना दखिन। यसै बीचमा प्रोफेसर मासुदाले आफ्ना साथीहरू र प्रोफेसरलाई भनेका थिए “उनको बिजनेश ई-मेल छैन, हटोमेल(जापानी लबजमै) प्रयोग गर्छन्”। साँचो अर्थमा मलाइ बिजनेश ई-मेल के हो थाह थिएन। म यो विकाशक्रमका सुरुवातका समयहरू भोग्दा र हेर्दा, प्रविधिको हरेक फड्कोमा अचम्मित भएको छु। अजकल नयाँ पुस्ता प्रविधिमै पौडी खेलेर जन्मन्छन्।

 

प्रविधिले हामी निकै पछि थियौ तर आज हामी सञ्चार प्रविधिमा निकै अगाडि नभए पनि कम चाहिँ छैनौँ। सामाजिक संजालमा हाम्रो उपस्थितिले पनि प्रविधिसँग समानान्तर कदम राख्‍न सहयोग गरिरहेको छ र आज हामी कहयौ कुरामा पनि अगाडि छौ। नयाँ पुस्ता निकै अगाडि बढेको छ। आजकल कम्प्युटर, इन्टरनेट, ई-मेलमात्र हैन, इन्स्टिच्युटहरूमा फेसबुक चलाउन सिक्नेहरुको पनि राम्रै लाइन छन्। तर यो अझै पनि पुरानै पुस्ताका अवशेष मात्र हुन्, नयाँ पुस्ता त आजकल जन्मँदै........ सबैलाई चेतना भया..

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला