बज्र नारायणको सबै भन्दा पहिले पालो आयो यस पटक। उसलाई एकाउन्टेन्ट रामदासले बोलाए यो महिनाको तलब बुझ्न। केही हात्ती र बाघका पत्ताहरू सहित, उसले राहत महसुस गर्ने भयो। हतार हतार एकाउन्टेन्ट कहाँ पुग्यो, पैसा बुझ्यो। रामदासले टाउको कन्याउँदै महिनाको पहिलो हप्ताको शुक्रबार क्यान्टिनमा चिया खादै गर्दाको कुरा सम्झायो, बज्र नारायण केही बोलेन, खुरुक्क दुईवटा हात्ती उसैलाई थमायो र साथमा धन्यवाद लियो र फर्कियो।
रामदासको कोठाबाट निस्कने बित्तिकै, उसलाई बुझाएको सापटी सँगै मनमा अनेकौं रामदासहरुको याद आयो । पालै पालो अफिसका सबै रामदाहरुलाई सापटी बुझाउँदै गयो र साथमा धन्यवादको पोको लिएर फर्कियो । बेलुका घर जाने बेला बाटोमा मझुवा कान्छोको रासनको दोकान हुँदै, अन्सारी कसाईको पसलमा पुग्यो। पुग्दा नपुग्दै, अन्सारीले भन्यो, “नमस्ते सर आज त ३० गते हो क्यारे है ? महिनाको अन्तिम दिन” उसले पनि सम्झेकै रहेछ । बज्र नारायणले अनुमान गरे जस्तै भयो । त्यहाँ पनि उसले बाँकी तिर्यो । विचार गर्यो आज त मासु लैजाउ क्यार । “अन्सारी भाइ खसीको मासु कसरी गएको छ अहिले?” उसले सोध्यो । “हजुर, तपाई मात्र हो भाउ सोध्ने, भाउजूले अगाडि नै लैजानु भो मासु त, तपाइले लानु पर्दैन” अन्सारीले भन्यो । लौ ठिक्कै भए छ, फेरि मुख फोरेर उधारो माग्न त परेन । उसले पहिलो पटक राहत महसुस गर्यो ।
तिर्दै जाँदा उ सँग कति बाँकी बच्यो, उसले पैसा गन्ने आटै गरेन फेरि । घर पुग्यो, मन मनै सोच्यो कसैलाई छुट्यो कि तिर्न; कसैलाई छुट्यो भने त फेरि अर्को महिना चलाउन गाह्रो हुन्छ। यसै बीचमा भान्साबाट भाउजू कराइन “सुन्नु भो, मासु ल्याएकी छु अन्सारी कहाँबाट तर प्याज सकिएको रहेछ, ल्याउनु पर्ने” । प्याज सँगै उसको मनमा लसुन, अदुवा, जीरा, धनियाँ सबै एक साथ आयो । उसलाई डर लाग्यो के के कुरा सकिएका छन् आजै । “ह्या छाडिदेउ प्याज हालेको मासु खल्लो हुन्छ” बज्र नारायणले जबाफ दियो । “हो हुन त, प्याज हालेको मासु खल्लो नै हुन्छ” भाउजूले जबाफ दिइन् । केही बेरमै प्रेसर कुकरको सिट्ठी बज्यो । एकै साथ सबै मसलाहरूको बोझ टर्यो र फेरि बज्र नारायणले राहत महसुस गर्यो.. ……सबैलाई चेतना भया...