यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, July 25, 2009

जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू !!

देशलाई माया गरेकै हो। देशको सम्झना र शालीनतालाई मनमा सम्हालेर राखेकै हो। तर किन होला यो मनमा यति धेरै माया र सन्झना? किन आउछ मेरो देशको याद? किन होला मलाई जति नजिकबाट हेरे पनि र जति चोटि हेरे पनि नपुग्ने। वाह मेरो देश।


जतिसुकै सडकमा धुलोले कुइरी-मंडल भए पनि, जतिसुकै सडकमा खाल्टो परे पनि, जतिसुकै सडकमा पानी जमे पनि, जतिसुकै फोहोर सडक भए पनि, जतिसुकै ट्राफिक बढे पनि, जतिसुकै हर्न बजाए पनि, जतिसुकै बाटो मिच्दै गाडी हिडे पनि, जतिसुकै भिखारीको लाईन लागे पनि, जतिसुकै बालक सडकमा आए पनि, जतिसुकै बाटो बन्द भए पनि, जतिसुकै टायर बालिए पनि, जतिसुकै टियर ग्यास खाए पनि जतिसुकै तोडफोड गराए पनि।

नेताले जतिसुकै झुट बोले पनि, जति सुकै आश्वासन बाडे पनि, जति सुकै समाजलाई भड्काए पनि, जतिसुकै मान्छे मारे पनि, जतिसुकै भर्ष्टचार गरे पनि, जतिसुकै नातावाद र कृपावाद गरे पनि, जतिसुकै हस्तक्षेप गरे पनि, जतिसुकै कुर्सीको लागि मरे पनि, जतिसुकै नदी र सम्पदा बेचे पनि, जतिसुकै जालझेल गरे पनि, जतिसुकै उपयोगिताको खेल खेले पनि, जतिसुकै मान्छे मार्न लगाए पनि, जतिसुकै किनबेच गरे पनि, जतिसुकै राज्यको ढुकुटी हिनामिना पारे पनि, जतिसुकै तीन वटा “र”(रक्सी, रण्डी रमी) को पछाडि दौडिए पनि ।

सामाजमा जतिसुकै बलात्कार भए पनि, जतिसुकै छोरीहरु बेचिए पनि, जतिसुकै काटमार भए पनि, जतिसुकै अपहरण भए पनि, , जतिसुकै छुवाछुत भए पनि, जतिसुकै दाईजोको चलन बढे पनि, जतिसुकै जाड, चुरोट र अफिम बेचिए पनि, जतिसुकै सामन्त बढे पनि, जतिसुकै घर लुटिए पनि, जतिसुकै गरिबी बढे पनि, जतिसुकै रोग लागे पनि, जतिसुकै भोकमरी भए पनि, जतिसुकै अनिकाल परे पनि, जतिसुकै पानीको हाहकार भए पनि, जतिसुकै नदीहरु दुर्गन्धित भए पनि, जतिसुकै नदीहरु बेचिए पनि, जतिसुकै थिचोमिचो भए पनि, जतिसुकै बेरोजगारी बढे पनि, जतिसुकै पटक ठगिए पनि, जतिसुकै अन्याय परे पनि, जतिसुकै कानुनको धारा प्रयोग गरे पनि, जतिसुकै अशिक्षित भए पनि, जतिसुकै खुट्टा तानातान भए पनि, जतिसुकै बौद्धिक शोषण भए पनि, जतिसुकै बौद्धिक पलायन भए पनि, जतिसुकै व्यापार धाटा भए पनि, जतिसुकै व्यापारी लुटिए पनि, जतिसुकै आर्थिक मन्दी भए पनि, जतिसुकै कानुन तोडिए पनि, जतिसुकै स्कुल बन्द गरिए पनि, जतिसुकै स्कुलमा राजनीति गरे पनि, जतिसुकै शिक्षक कुटिए पनि, जतिसुकै बच्चा टुहुरा भए पनि, जतिसुकै छोराहरु मरे पनि, जतिसुकै छोरीहरु विधवा भए पनि, जतिसुकै काम ढिलाइ भए पनि, जतिसुकै घुस दिन परे पनि, जतिसुकै आलटाल गरिए पनि, जतिसुकै हन्डर खान परे पनि, जतिसुकै दुःख झेल्नु परे पनि।

छिमेकीले जतिसुकै सिमाना अतिक्रमण गरे पनि, जतिसुकै नेपाली धपाईए पनि, जतिसुकै सम्पत्ति लुटिए पनि, जतिसुकै चेलीबेटी बलात्कार गरिए पनि, जतिसुकै आर्थिक शोषण गरिए पनि, जतिसुकै हस्तक्षेप गरे पनि, जतिसुकै मिचाह निति लिए पनि, जतिसुकै हतियार पठाए पनि, जतिसुकै साधन र श्रोतमा गिद्धे आँखा लगाए पनि, जतिसुकै नेताहरुलाई कठपुतली बनाए पनि, जतिसुकै सामाजिक हस्तक्षेप गरेपनि, जतिसुकै सस्कृतीमा हस्तक्षेप सहित शक्ति प्रयोग गरे पनि आफ्नै लाग्ने हाम्रो देश। त्यसतै अफिसमा, स्कुलमा, कलेजमा, घरमा, गाँउमा, शहरमा, व्यापारमा, जागिरमा र समष्टिगत रुपमा भन्नु पर्दा आफैमा......ओहो कति हो कति।।।।

जे जतिसुकै भए पनि मेरो देशको माया नमर्ने रहेछ। किन होला यस्तो बिघ्न हुदा पनि मेरो देश रहेको छ? जतिसुकै जे होस मेरो देश रहिरहन्छ, किनहोला? हजारौ र करोडौ रोग, अराजकता र समस्या हुदा हुदै पनि देश रहिरहेको भान हुन्छ। केही बाँकी छैन नराम्रो हुनलाई, जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू, हरेक युवाहरु आफ्नो हातमा कानुन बोकेर हिडेका छन्। एक अर्का प्रति विस्वास छैन, माया छैन, सद्भाव छैन।


देश भनेको माटो र सिमाना मात्र हैन, देश भनेको समाज हो, त्यसको समुचित व्यवस्था हो र देश भनेको शालीनता हो। अराजकतामा देश; देश रहदैन। सामाजिक विखण्डनमा देश अखण्ड रहन सक्दैन। देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ। कुनै पनि देशले आफ्नोलागि रगत माग्दैन फगत आफ्ना छोरा र छोरीको बलि खोज्दैन। यदि कसैले भन्छ भने गलत हो त्यो र हामीलाई भड्काइ रहेको छ त्यो। कसैले भड्काउन खोजिरहेको छ त्यहाँ। शान्त र शालीन देशले के को लागि रगत माग्ने? रगत दिएर जानेहरुको खेती नहुनु नै देश हो। बिसौ हजारको बलिदानबाट मात्र नबन्ने रहेछ देश। मेहनत, पसिना, शालीनता, माया, विश्वास, सद्भाव, कानुनी व्यवस्था, गरिबनै भए पनि र खानै नपाए पनि पेट थिचेर एक निन्द्रा गतिलोसंग सुत्न सकिने सुनसान र शान्त रात हो देश। सबै बिगारेर हामी कुन देशको कुरा गरिरहेका छौ आज? यस्तो अबस्थामा छ मेरो देश तर पनि मलाई सुन्दर शान्त र विशाल लागिरहेको छ, सही कुरा हो तर नमिठो लाग्नसक्छ र गाली खाईएला तर हाम्रो यथार्थता यही हो। बनाऔ कम्तिमा एक पटक यो देशलाई देश। हातेमालो गरेर खनौ र सुन फलाऔ यही देशमा, बाच्नु त भइगो तर कम्तिमा शान्तसंग मर्न त पाँउ।


मेरो देश आफैमा जड तत्व भएर निरपेक्ष अबस्थामा रहेको छ र सायद म पनि। अनि त देश बाँचेको देख्छु म। कस्तो विडम्बना, कस्तो नियति मेरो? र आफैमा प्रश्न गर्छु के प्रत्येक सूत्रबद्ध कुराहरू निरपेक्ष सत्य हुन सक्छन्? सबै कुराहरु बिर्सौ, आफैमा बिश्बास गरौ र आफैबाट परिबर्तनको सुरुवात गरौ। कसैले बनाई दिदैनन् हाम्रो लागि हाम्रो देश। हामीले बानाउनु पर्छ हाम्रो आफ्नो देश र समाज। हामीले मान्नु पर्छ कानुन, सामाजिक मूल्य र मान्यता, अनि मात्र बन्छ हाम्रो देश हाम्रै सापेक्ष.... सबैलाई चेतना भया.........

»»  पुरै पढ्नुहोस

Sunday, July 19, 2009

कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ।

पार्दापार्दैको तातो-तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को। सन्झना मात्रै रह्यो के गर्नु? रमेश हिजो दुःखेसो पोख्दै थिए। हैन के भयो रमेश दाई आज अचानक सबै कुराको याद किन आयो? मैले सोधे।


के गर्नु? हामीले याद मात्र गर्ने त हो नि, समयले कस्तो कोल्टे फेर्‍यो है? जन्मे हुर्केको ठाँउको याद त सधै आउछनै, कुनै बिशेष समय र परिस्थितिको आगमननै हुनै नपर्ने रहेछ, हैन र? मेलै सहमत जनाए। त्यसो त यादनै गर्नु पर्ने केही त होलानि? मैले सोधे।


के छैन भन्नु खै। कति दिन भयो मेरो मनमा एउटै कुराले जरा गाडेर बसेको छ। दिनमा नै किन? आफ्नो ठाँउको त हरेक समय याद आउदो रहेछ। हिजो मुस्किलले आमासंग कुरा गरेको थिए फोनमा। कैली गाई र काली भैँसी बेचिदिनु भएछ आमाले। कस्ले हेर्ने? कस्ले घस्याउने? “हैन यसो एक मुठ्ठी दूध खान हुन्थ्योनि आमा” मैले सोधे। “बूढी भए अब म; घासकाट्ने त कुरै नगर बाबु, भकारो सफा गर्न पनि नसक्ने भए। तेरो बाबुको त झन कुरै नगर। उहाँ हिजो देबीथान सम्म पनि जान सक्नु भएन। एउटा खुड्किलो चड्योकी स्याँ स्याँ भएर कस्तो गाह्रो, बीच बाटै फर्कनु भयो।“आमाले थप्नु भयो।


अनि के गरेर खाने दूध? फेरि बुबालाई दूध नभई भागै नबस्ने बानी छ। तपाईलाई पनि हर्पेमा टन्न ध्यू नदेखे सम्न निद्रानै आउदैन। हैन र? मैले जान्न खोजे।


“समय रहेछ बाबु, अब बूढाबूढी भइयो, काम गर्नै नसक्ने, गर्न पनि जागर नै नहुने। साह्रै गाह्रो हुदो रहेछ बाबु यो बुढेसकाल त। हामीले दूध त खान्छौ पीर नगर, घर नजिकैबाट अहिले मोटर बाटो खनेका छन्। हिउँद भरि जिप चल्छ। अबको बर्खा सम्म त ढुङगा पनि ओच्छ्याउछन् होला। माथि ठूल्कान्छाले डेरीको दूध राख्छ बेच्नलाई, यसो एउटा रातो पोका ल्यायो, बूढाबूढीलाई दुई छाक पुगिहाल्छनी। ध्यू पनि त्यही पाईन्छनि, नराम्रो चाँही छैन है त्यो ध्यू”, आमाले एकै सासमा भन्नु भयो।


“हुन त हो आमा, तपाईहरुले कति कष्ट गर्नु हुन्छ, जति गर्नुपर्ने हो गरिसक्नु भयो। अब मेरो पालो हो,” मैले सान्त्वना दिन खोजे।


अनि भाई खै त? मैले सोधे।


“भाईले पनि तल बजारमा बिजुलीको काम गर्‍थ्यो, अहिले घरमै छ। काम राम्रो भएन भनेर चिन्ता गरिराखेको छ। बरू मिल्छ भने त्यतै बोलाएर हेर्ने।”


“काम त यहाँ पनि गाह्रो छ तर पनि त्यसो भन्छ भने बिचार गर्नु पर्ला। फेरी तपाईहरू बिरामी हुनु भयो, यसो केही भए त हेर्ने मान्छे पनि त चाहियो नि।” मैले सोधे।


“हेर्न त बुहारी छ नि, यसो बेलामै कमाउन सक्यो भने त्यसलाई पनि काम लाग्ला नि त।” आमाले थप्नु भयो। मैले हस भने।


खेतीपाती के गर्नु भो यसपाली?


कस्ले हेर्ने? कान्छो विदेश जान्छु मात्र भन्छ। त्यती मेसो पाउदैन त्यसले, केटाकेटीनै छ अझै। काम गर्ने कोही नभए पछी के गर्ने, यसपाला देखि अधीमा दिए। गोडा १,२ मुरी आउला, एक दुई महिनालाई पुगिहाल्छ, बाँकी बेसाउनु पर्ला, के गर्ने त? बाटोखुलिहाल्यो, नुनतेल, चामल सबै किन्न पाईन्छ, के का लागि दु:ख गर्नु खै? भाईले पनि सक्दिन भन्यो। कमाउने तँ मात्र हो, कति पुर्‍याउछस् खै? यसो भाईलाई पनि त्यतै बोलाएर काम लगाईस भने, तलाई पनि सजिलो, हामीलाई पनि ढुक्क हुन्थ्यो।" मैले हुन्छ आमा म काम खोज्छु अनि खबर गरुला है त" भने। बिदा भए म त्यस पछि।

“मैले यहाँ काम राम्रो भएन, जतिसुकै मरिमेटेर काम गरे पनि आफूलाई ठिक्कै छ। सबै परिवारसंग सल्लाह मिल्यो भने घर फर्कन्छु। यहाँ गरेको जतिसुकै काम र दुःख गरे भने, गाँउमै पनि यति कमाउन सकिन्छ। खेत छ, बारी छ, खरबारी छ, टन्नै रुखबुट्यान छन्, जे गरे पनि हुन्छ। भैसी पालेर, बाख्रा पालेर, तरकारी लगाएर पनि त हुन्छ नि यहाँ जत्तिको त। मैले सल्लाह गर्न नै फोन गरेको थिए आमालाई। तर भन्नै सकीन।”


“आमाको कुरा पनि ठिकै हो, अब बुढेसकालमा कस्ले गर्छ त?” मैले भने।


“हैन म छु, मेरी श्रीमती छिन्, भाई, बुहारी छिन्। हामी चार जना काम गर्न सक्छौ नि त। भएका बच्चा बच्चीलाई आमाले र बुबाले घरमै बसेर हेर्न सक्नु हुन्छ। हामी चार जनाले एउटा एउटा काम हेर्यो भने पनि त राम्रै हुन्छ नि। फेरि बाटो खुलेको छ। बजार लान सकिन्छ उत्पादन भएका कुराहरु। बाटो खुल्यो भनेर सबै काम छोड्न त भएन नि। घर नजिकैको पसलमा हाम्रो सामान नै बेच्न पनि त सकिन्छ हैन र? हामी कहाँ भएको बस्तु घर नजिकै बेच्दा, ताजा पनि सस्तो पनि हुन्छ नि त। बिकासको त राम्रो फाईदा उठाउनु पर्यो नि।” रमेश भन्दै थियो। मलाई चित्त बुझ्यो उसको कुरा।


“हैन यहाँ, पाउरोटी र बासी तरकारीको के कुरा गर्नु र फेरि पार्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुननै राखेको किन नहोस; कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को हैन र?” मैले टाउको हल्लाए र सहमत जनाए। तर रमेश रोकिएको थिएन।


“हेर साथी म अब घर जान्छु, जसले जे सुकै भनोस। यहाँको बासी पाउरोटी भन्दा त मेरो तिक्ले खोल्साको मूलको पानी नै तागतिलो लाग्छ मलाई। यहाँको शहरी झ्याँउ झ्याँउ भन्दा, बासधारीकै झ्याँउकिरीको आवाज राम्रो। मैले जे गरे पनि मेरै गाँउ ठाँउको लागि गर्नु पर्छ। यत्रो समय परदेश बसेर के गरिस भनेर सोधे भने मैले परदेश बसेर गुन्द्रुक र कोदोको पिठोको मुल्य र महत्व जान्ने काम गरेँ भन्छु। गुन्द्रुक र फापरको मूल्य जाने भनेर भन्छु। मैले यत्रो दिन परदेश बसे तर मेरो सपनामा यो शहरी रमझम कहिल्यै आएन, सपना देख्छु मात्र घरको, त्यही पाखा र खरबारीको।“ रमेशको अनुहारमा चमक आएको थियो।


“बरु त पनि हिड”। रमेशले थप्यो।


“हैन रमेश, तेरो र मेरो परिस्थिति फरक छ। तेरो त नेपाल गए पनि दशनङ्ग्रा खिआएर खाने जमिन छ। पाखा छ, बन छ, खेत र बारी छन्। मेरो त केही पनि छैन। एक प्रकारले मेरो परिवारको एउटा मात्र कमाउने नै म हूँ। मेरो त केही पनि छैन। बूढाबूढी भएका बा आमा, बिबाह गर्ने बेला भएकी बहिनी, आफ्नै पनि त २ वटा छोरीहरु छन्। राम्रो खानेको त कुरै नगर रमेश,बेस्करी हुरी बतास आयो भने की त खाट मुनि पस्नु पर्छ की त नजिकैको स्कूलमा जानु पर्छ। मेरो यहाँ बस्नुको कुनै बिकल्प छैन।“ मैले जे हो त्यही भनिदिए। रमेशलाई नराम्रो लागेछ सायद मेरो नजिकै आयो र अनुहारमा हेरेर भन्यो, “सरी यार। तलाई मैले............................।“ रमेश बोल्नै सकेन


“हेर रमेश तिम्रो त गरेर खाने ठाँउ छ, आफ्नो भन्ने राम्रो घर छ। गर्ने हो भने तिमीले घरमै बसेर धेरै राम्रो गर्न सक्छौ तर मेरो केहि छैन। मैले यहाँ बसिन भने, साहूँको पैसा तिर्ने त कुरै छोड, बिहान बेलुका हात मुख जोड्ने उपाए पनि छैन। देशमै काम खोज्न गाह्रो छ। त्यसैले म अहिल्यै जान्न। तर तिमी जस्ता हुने र केही थलो भएकाहरू यहाँ बसेर हुदैन्, तिमीहरु फर्किएर केही गर। थलो हुनेले र एक छाक खान पुग्ने पनि यसरी यहाँ बसेर कसरी बिकास होला र गाँउ ठाँउको? बरु जाउ राम्रो गर र हामी जस्ता केही नहुनेलाई काममा लगाउन सक्ने बन्यौ भने मलाई पनि त बासी पाउरोटीमा बाच्न मन छैन। पर्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यूको स्बाद मलाई पनि त थाह पाउनु मन छ।" त्यस पछि मैले केही बोल्नै सकिन....। रमेश मेरो काधमा हात राखेर मलाईनै हेर्दै, मेरै अनुहार पढ्दै थियो र भन्दै थियो हुनत हो है कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ र।।।।।।।।

Picture 006

(यो एक सत्य घटना थियो, सात बर्ष पहिले दोहामा काम गरेका मेरा साथिहरुको बीचको बार्तलापको आधारमा लेखिदिए ,रमेश घर फर्किएर निकै राम्रो काम गरेको छ , उसले भने जस्तो गाई, भैसी त पालेन तर पाखा भरि सुन्तला,बास(तामाको लागि) र घर वरिपरी बारीमा तरकारी लगाएर निकै कमाउन थालेको रहेछ। मैले उनको दोहा बसाई र नेपाल फर्किनुको कारण सोधेको थिए धेरै पहिलै, त्यसै बेला उनले भनेको कुराहरूलाई फूलबुट्टा भरेर मैले राखेको हुँ, उनको साथी (म )फर्के वा फर्केनन् थाह भएन , उनको घरको र सुन्तला बारीको फोटो थिएन म संग तर मेरै मावली गाउँमा खुलेको नयाँ बाटोको नै भए पनि फोटो राखैको छु हैँ। यो लेख सबैको लागि लागू नहोला है)

»»  पुरै पढ्नुहोस

Wednesday, July 15, 2009

कसरी तिम्रो नयाँ पति खोजु म????

हुनै नसक्ने कल्पना र मेरो देशले नसोचेको बेदना र सोच। सधै स्वतन्त्र र सालिन मेरो देश कता कता अल्झिएको जस्तो लाग्छ। मैले सचेत गराउनै पर्छ मेरी आमालाई। बेदना र रोदन कति दिन सम्म चल्छ र? एकदिन त पक्कै पनि मेरी आमा हाँस्ने छिन। मैले चाहे झै , मनग्गे माया गर्न सकेको छैन, एक कोणबाट म कायर छु, नालायक छु तर पनि तिम्रो खुसी मेरो खुसी नै हो। कहिले काहीँ जबरजस्ती कसैले हस्तक्षेप गरे जस्तो लाग्छ, कता कता भिन्न प्रकारको चीत्कार सुन्छु। म कसरी मेरी आमा माथीको हस्तक्षेप सहन सक्छु र अझ भनौ कसरी तिमिलाई म हस्तक्षेप हुन दिउँ? मरेर जान्छु तर तिमिलाई कसैको हुन दिन्न, तिमीलाई हेर्ने र तिम्रो स्याहार गर्ने जिम्मेवारी मेरै त हो। जे सुन्ने गरे, जस्तो सुने र जस्तो अनुभव पाँए यहाँ राखेको छु।

“कसरी तिम्रो नयाँ पति खोजु म?”

तिम्रो रोदन कति दिन सम्म

स्थिर भएर चल्ने हो

तिम्रो पीडा कति बेर सम्म

बीच बाटो मै अल्झने हो

थाह नभईकन

रोएको चीत्कार सगै

आमा

तिम्रो म र मेरी तिमी

भक्कानो बाहेक केही छैन

सायदै समान

किन रुन्छौ तिमी

तिमी संग बढी भन्दा भढी

बेदनाको अनुभूति छ

मलाई जन्मायौ र भाई पनि

कयौं दिदीहरु जन्मदै गए

तर पनि किन यस्तो सानो कुरामा

किन आमा

बरू सक्दिनौ भने भन

कति छोराहरु मारिनु पर्छ

मैलेनै खोज्ने छु तिमीलाई

तर पनि किन अल्मलिन्छ्यौ आमा

सत्य थाह छ तिमीलाई

बाध्यता थाह छ तिमीलाई

तैपनि किन खोज्छ्यौ

सुकिलो बाउ र चिल्लो पति!!!!!!!

तिम्रा सबै सन्तान कायर भए

कायर जन्माउने तिमी

कायर भएर किन रुन्छ्यौ

पीडा त तिम्रो जन्मजात पेवा हो

सुख तिम्रो दुश्मन

तैपनि आमा के को आशा गरेकी छौ

तर मलाई थाह छ

किनकी म हेरी रहको छु

तिमी माथी लागेका आँखाहरु

देश प्रदेश र दूरदेशबाट

तिमी माथीको नजरहरु

म अन्यौलमा छु

कसरी

कसरी छान्छ्यौ नौलो बाउ

कसरी चिन्छौ आफूलाई माया गर्ने पति!!!!

कसरी जोगाउछ्यौ आफूलाई यहाँ

किनकी

नालायक र काम चोर छोराहरु

हेरिरहेका छन्

नौलो बाबु र ललिपप।।।।।

जन्मायौ किन म र मेरो भाईहरु

थाह छ मलाई पाप लाग्छ

तैपनि केहि गर्दिन म

हास्छु तर चुपचाप

देख्छु बन्द तर खुल्ला हस्तक्षेप

नाङ्गो दाउपेच र

गोप्य बलात्कार

तर पनि आमा आशा गर

कोही त होलान सुद्रिएका छोराहरु

तिम्रो कोखमा खोट छैन

तर

कसरी खोजु म अर्की आमा

बेदना मात्रै हुदा पनि बाचेकी तिमी

बिना बाबु जन्माईएको म

तर पनि

जन्माउदै र हुर्काउदै

आफ्नो बैँस फालेकी तिमीलाई

कसरी तिम्रो नयाँ पति खोजु म ???।।।

»»  पुरै पढ्नुहोस

Saturday, July 4, 2009

फुकोका टावर(Fukuoka Tower):

Fukuoka टावर: जपानका हरेक सहरले समान रुपमा बिकासको लेप लगाएका हुन्छन्, कम र बढी भन्ने हुदैन। जापानको प्राय जसो ठूला सहरहरु बिभिन्न बहानामा धुम्ने मौका मिलेको छ तर पनि Fukuoka सहर मेरो लागि बिशेष छ। त्यसको पछाडि बिभिन्न कारणहरु छन् तर म आज त्यो कुरा गर्दिन। मैले कुरा गर्ने खोजेको कुरा हो Fukuoka सहरमा रहेको Fukuoka टावर र त्यसबाट देखिने सहरको दृष्य।
जापानको ठूला सहर मध्य एक Fukuoka सहर म बसेको ठाउँ बाट लगभग ४५ मिनेटको रेल र १ धण्टाको ड्राईभ दूरीमा पर्छ। बास्तबमा २३४ मीटर अग्लो समुन्द्रिक तटमा रहेको जापानकै सबै भन्दा अग्लो Fukuoka टावर १९८९ मा १४ महिना लगाएर बनाईएको हो। यसको लागत मूल्य जापानी 6,000,000,000. यन लागेको थियो रे जुन मूल्य हालको लगभग 62,536,212 US डलर बताईएको छ। (यो मुल्य मैले बिभिन्न साईटमा खोजेको हो है जुन कुरा मैले भ्रमणको बेलामा पनि बुझ्न खोजेको थिए तर सकिन।)। ७ रेक्टरस्केलको भूइँचालो र ६५ मी.प्रति सेकेण्डको हावाको बहावलाई थेग्न सक्ने रहेछ।
यो टाबरको माथि तीन तहहरु रहेछन् जहाँबाट पूरै फुकोका सहर हेर्न सकिदो रहेछ। पहिलो ११६ मी. को उचाइमा, दोस्रो १२० मीटरमा आरम गर्न र जापानी परिकारको मजालिदै पूरा फुकोका सहर हेर्न मिल्ने रेष्टुरेण्ट, र तेस्रो १२३ मीटरको उचाइमा दूरबिनहरु राखिएका रहेछन्।
गत केही महिना अगाडि मेरो एक जना साथीलाई नेपालबाट मेरो विश्वविद्यालयमा निमन्त्रणा गर्ने मौका मिलेको थियो, त्यँही क्रममा उहाँलाई Fukuoka सहर घुमाउने मौका मिलेको थियो। आज त्यँही बेला खिचेका तस्बिरहरु राखेर अल्छी गरेको छु है।
हामी दिहुँसोको समयमा गएकोले रातिको समयमा कस्तो देखिन्छ आफैले अनुभब गर्न सकिएन तर ईन्टरनेटबाट एउटा रातिको समयमा लिएको फोटोपनि राखेको छु(http://adlpena.com/great_places.htm )। यी तस्बिरहरु लिन र हामीलाई त्यो ठाँउमा धुमाउन सहयोग गर्नु हुने डा. अर्जुन कुमार थापालाई बिशेष धन्यबाद!!!
तस्बिर १: मेरो साथीलाई Fukuoka सहर घुमाउदै, मेट्रो बाट झरेर हामी हिड्दै थियौ।।।

तस्बिर २:यो तस्बिर मैले माथि भनेको श्रोत बाट लिएको हो। हामी यो ठाउँमा पनि गएका थियौ तर क्यामेराको ब्याट्रीले साथ दिएको थिएन।।।।

तस्बिर ३: टावरको अगाडि मूल ढोका। तस्बिर ४:टावरको अगाडिबाट खिचेको फोटो

तस्बिर ५: यो टाबरको माथि बाट खिचेको फोटो हो। यो देखिएको समुन्द्र माथिको धर वास्तबमा विबाह गर्ने र भोज गर्नको लागि प्रयोग हुदो रहेछ।

तस्बिर ६: टाबरबाट देखिएको Fukuoka सहरको दृष्यहरु

तस्बिर ७: हामी बेलुका सम्म बस्न सकेनौ त्यही कारण यो सुन्दर दृष्य भने हेर्न पाईएन, त्यसैले अन्य श्रोतबाट राखे है।

तस्बिर ८: जादा जादै यो Fukuoka सहरको बाटो। निकै सफा हुदोरहेछ।

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला