यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Thursday, December 31, 2009

नव वर्ष: अन्तिम परीक्षाको वर्ष

सम्पूर्ण मेरा पाठक, शुभचिन्तकहरु र मेरो देशलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।

नयाँ वर्ष सुरु हुदै छ। यो क्रम रोकिने पनि हैन तर हरेक समय जसो शुभकामनाको बहार पनि चलिनै रहन्छ। सधै जसो सबैको राम्रो होस, सबैको शुभ होस भनेर भनिरहदा; कयौ नराम्रा र नराम्रा दुबै कामहरु भएका छन्। तर मलाई यो वर्षको सुरुवात सगै नयाँ आशा पलाएको छ। केही त हुन्छ यो वर्ष। मुल्याङ्कनको दुबै दर्जामा बसेर हेर्दा केही नौलो त पक्कै हुन्छ जस्तो लाग्छ। शुभ वा अशुभ के हुने हो तर पनि शुभकै कामना गर्दा राम्रो र शान्ति होला मन र तन सबैलाई। कुरा प्रष्ट रुपमा देशकै गर्न खोजिरहेछु म आज पनि। निकै आशा छ हामीलाई यो वर्ष। हामीले नयाँ समाज र नयाँ दिनको कामना गरिरेहेका छौ। निकै लामो यात्रा तय गरिरहदा लाग्नु स्बभाबिक हो कि, हामीले निकै र अनेकौ हुने नहुने कुराहरुको आशा गरिरहेका छौ। शान्ति सुव्यवस्था र सभ्य समाजको कल्पना गरे अनुरुप काम गर्न यो वर्षले हैसियत राख्छ जस्तो लागिरहेको छ। यो वर्ष बास्तबमै हाम्रो लागि सहज छैन। हामीले सोचे जस्तो सरल र हेरेक वर्ष आदन प्रदान गर्ने शुभकामना भन्दा फरक नतिजा दिनु पर्ने छ यो वर्षले।


यो वर्षले हामीलाई नयाँ पहिचान दिने छ। हामी आशा गरौं सकरात्मक होस तर नकरात्मक हुन पनि सक्छ। हामी समयको यो बेग सगै कि त टाउको ठाडो गरेर बाच्ने नेपाली भएर वा शीर निहुराएर बाच्नु पर्ने युद्ध र द्वन्द्वका पारखी हुने कुराको निर्धारण गर्ने छ। हामी कि त मेलमिलाप र शान्तिको एक पृथक पहिचानको देश र हाम्रो सर्बब्यापी एउटै जात नेपाली र एउटै धर्म नेपाल राष्ट्रियता लिएर बाच्न पाउने छौ, कि त हजारौ टुक्रामा बाँडिएर, आफू सग भएको पनि गुमाएर निर्वस्त्र नाग्गो रुपमा विश्व सामु उभिन बाध्य हुने छौ।


यो वर्षले हामीलाई निकै शंकाको घेरामा उभाउने छ। हामीलाई ठूलो परिक्षा दिनु पर्ने छ यो वर्ष। साना साना त्रैमासिक परीक्षाको अन्तिम, ठूलो बार्षिक परिक्षाको समय हुने छ यो वर्ष। भईरहेको पुराना त्रैमासिक परीक्षाहरु बिगारेर तितो अनुभव गरिरहेका हामीलाई अन्तिम वार्षिक परीक्षाको लागि निकै काम गर्नु पर्ने पनि छ। तर निर्विकल्प रुपमा हामीलाई उत्तीर्ण बन्नु पर्ने यो वर्षले थप रक्तपात, युद्ध र द्वन्द्वको घेरामा हामीले जान नपरोस। यो बर्ष शान्ति-बालकको जन्मको लागि प्रसव वेदनाको बर्ष हुने छ हाम्री आमाको लागि। आशा गरौ, यो प्रसव वेदनाले नेपाल आमाको र शान्ति बालक कसैले पनि ज्यान गुमाउन नपरोस। जे भए पनि गर्नु पर्ने चाहिँ हामीले नै हो।


त्यसैले.........

यहाँ न त

कुनै मानवको पुन:जन्म हुन्छ,

न त यहाँ नौलो सृष्टि आउँछ,

धीप्प धीप्प बलेको बत्ति जस्तो

आशा नभएको जीवन बनाईसके पछि

को नै पुन: लिन आउछ!!

यहाँ न त

कुनै ईश्बरको पुन: जन्म हुन्छ,

न त यहाँ नौलो ब्रम्हानै आउछ,

त्वाप्प त्वाप्प चुहेको पानी जस्तो,

आशा नभएको धारा भईसके पछि

को नै पुन: खोल्न आउछ!!!

यहाँ न त

कुनै आशाको पुन:जन्म हुन्छ,

न त यहाँ कुनै मधु र मालती नै आउछन्,

ढलमल ढलमल भएको हाँगा जस्तो

आशा नभएको शाखा भईसके पछि

को नै पुन: जोड्न आउँछ!!


त्यसैले जे गर्नु छ हामी आफैले गर्नु छ। हामी आफैले पार लगाउनु छ हाम्रो आशाहरुलाई। बिशेष यो नयाँ वर्षले हामीलाई यस्ता एक र अनकौ निराशाहरु माथि विजय गरेर नयाँ आशाका दिनहरुको सुरुवात गरेको देख्‍न पाईयोस.... सबैलाई चेतना भया!!!!!

»»  पुरै पढ्नुहोस

Saturday, December 26, 2009

९०% नेपाली बल्गहरु spyware को खतरामा ?

हिजो अबेला सम्म डा. थापा संग निकै बेर कुरा गरियो। ब्यक्तीगत भेटधाटनै थियो। निकै बेर कुरा भईरहे पछि नेपाली बल्गको प्रसङ्ग उठ्यो। कुरा सुरु हुदै थियो, उहाँले एउटा कुरा उठाईहाल्नु भयो कि ९०% नेपाली बल्गहरु खोल्नै डर लाग्छ रे। खोल्यो भने “you have attempted to open a dangerous website” भनेर आउछ र “यो पेज बन्द गर्ननै राम्रो” भनेर सल्लाह दिन्छ। मैले त पहिला ठट्टा नै होला भने तर जव उहाँकै कम्प्युटरमा खोलेर हेरियो तब मेरो बल्ग खोल्ने बित्तिकै “Trend Micro PC- cillin Internet Security” ले यस्तो जानकारी दियो।


त्यस पछि मैले धेरै जसो नेपाली मित्रहरुको बल्गहरु हेरे र प्राय जसो सबैमा यस्तै समस्या देखे। हामीले बल्गमा आउने आगन्तुको लागि राखिने WWW. Feedjit.com का recent visitors र live traffic feed जस्ता widgets को ठेगना देखाउदै यस्तो जानकारी दियो। त्यस पछि मैले मेरो बल्गवाट यो हटाएरै पनि हेरेँ। त्यस पछि यस्तो संकेत देखा परेन। मलाई यस सम्बन्धि मूल प्राबिधिक कुरा छीचोल्न गाह्रो हुने भएकाले मलाई बीचमा फुत्त आउन मन लाग्यो र मैले यो जानकारी राखे। जानकारीकै लागि मैले मेरो र केही साथिहरुको स्क्रीनसट पनि राखेको छु। spyware सम्बन्धी जानकारी राख्न हुने मित्रहरुले यथाचित छलफल गरिदिनु होला।


यस्तो wedgets प्रयोग नगर्नु भएका दौतरी, आकारजी , दिपेन्द्रजी र कृष्णजीहरुकोमा भने यस्तो देखा परेन। खतरा होस वा नहोस तर पेज खोल्ने बित्तिकै यस्तो आउन थाले पछि कसैले पनि किन पेज खोलोस र यो खतरा किन मोलोस?


कृपया!! उदाहरणको रुपमा तलका फोटोहरु हेर्नुहोला र यस सम्बन्धी आफ्नो बिचार राखिदिनु होला ।

pohto3photo1hamro nepal sikaru basanta cafe manga dilipkailash

dautariakar

kirshana dipendra

आफ्नो स्क्रिनसट नराखिदिएको भए हुन्थ्यो भन्ने लागेमा कृपया जानकारी दिनुहोला म यसलाई निकाल्ने छु

»»  पुरै पढ्नुहोस

Wednesday, December 23, 2009

यसरी आरम्भ हुदो रहेछ जीवन !!२!!

 

यसरी आरम्भ हुदो रहेछ समय !!१!!  ……नितान्तै मोहित हुदै थिए समयको सुरुवात भईरहेको देखेर। सुनसान समय थियो, तर पनि समयले एउटा तरङ्ग निम्ताउदै थियो सदा झै सायद। मैले आफ्ना आखाँहरुलाई रोक्न सकिन र हेरिरहे। मलाई यो आनन्दको अनुभूती पहिले कहिलै भएन। हुन सक्छ मैले यस अगाडि समयलाई चिनेको थिईन। समयको यो रसलाई मैले कहिल्यै पनि ग्रहण गर्न सकेको थिईन। सायद यसै भएर होला, मैले आज यो समयको आफ्नो पन र यसले दिनसक्ने सुखको बयानै गर्न सक्दिन। पर क्षितिजमा सुनौला रेखाहरु देखिन थालेका थिए, म हातमा चियाको कप बोकेर घरबाट बाहिर निस्किए। घर सगै जोडिएको सानो ढिस्को र शीतका नजानिदा थोपाहरुको मलिनो चिसोपनको महसुस भईरहेको थियो। समयले आफ्नो नियमिता दर्शाउदै थियो जसलाई मैले रोकेर पनि रोक्न सक्दिन थिए। चलयमान समयसगै चल्नु पर्ने म र मेरा सबै। मलाई आखाँ बन्दनै गर्न मन लागेन, हेरिरहे मात्र हेरिरहे।

 

यो समयको साक्षी हामी दुई जना थियौ। यो समयको सुरुवातको दर्शन मैले पहिलेनै गरे मेरै परिभाषामा तर हुन सक्छ म भन्दा पनि पहिले उसले सुरुवात गरेको होस। मैले ख्याल गरिन तर पनि यो पछिल्लो समयको दर्शनको शुरूवात म पछि पक्कै उसैले गरेको हुनु पर्छ। मैले भन्नै पर्छ; जब म चियाको कपलाई ढुङ्‍गाको आडमा भुईमा राखेर यीनै आदमारा बस्ती, पहाड र यसको क्षितिजमा चड्दै गएको तर कुनै कलाकारले रंग पोत्न सुरु गरेको क्यानभासको भान पर्ने सुनौला रेखाहरुमा नजर पुराईरहेको थिए। यसै बीच ऊ मेरो अगाडि आएको थियो। मैले जसरी जुन तवरले नजरलाई नघुमाईकन हेरिरहेको थिए, मेरो त्यो समयको सहयात्री पनि त्यसरीनै आखाँनै बन्द नगरिकन हेरिरहेको थियो सायद। म अलिक पर थिए तर उसको स्थिरताले मलाई त्यही भान परिरहेको थियो।

 

हामीले यो समयको सुन्दरताको अनुभव गर्यौ एक अर्काको साक्षी भएर। त्यो ठाँउको लागि म त केही दिनको पाहुना थिए। म भोलि जान सक्छु तर ‍ऊ त्यहीको रैथाने हुनु पर्छ तथापि त्यो दिन म भन्दा केही समय पछि आयो र केही समय चाडैनै गयो। हुन सक्छ धेरै दिनबाट सबै भन्दा बढी म आफै भोकाएको थिए। म नै पहिले आएँ र अबेर सम्म म नै बसेँ त्यँहा। यो कुनै नौलो कुरा हैन कारण म त आफ्नै बीच र आफ्न्तहरुकै बीच पराई भईरहेको थिए; जसलाई मैले आफ्नो भाग्य भनेर पनि भ्रम पालेको छु। मेरो हो तर पनि मैले कसैको रीस गरे जस्तो र फेरि कहिल्यै देख्न नपाईने पो हो कि भने जस्तो गरेर हेरिरहेको थिए।

 

मलाई उसले देख्यो वा देखेन, ख्याल गर्यो वा गरेन; त्यो भन्दा हामी त्यस दिनका लागि एक दैनिकी सुरुवात गर्दै थियौ; एक साथ एक अर्काको साक्ष्य भएर। ऊ हतार भए जस्तो अलिक चाडै फर्कियो। मलाई लाग्यो नन्दन समयको त्यो सुरुवातको नमनको लागि नै आएको होला ऊ यहाँ। सहज दैनिकीको रुपमा लियो सायद उसले तर मेरो लागि यो उत्सव थियो र सुन्दर मौका। त्यसैले म भुईमा बसेर यो सबै दृष्यको अनुभव गरिरहेँ।

 

1(म भन्दा पछि नै आईपुग्यो ऊ )2 3 4 5 6( म भन्दा अगाडिनै गयो ऊ)7 8 910

समयको यो चालसगै मैले पनि चल्नु थियो, दैनिकीनै भन्छौ सायद हामी तर जब म फर्किनको लागि भुईबाट चियाको कप उचाल्दै थिए तब मेरो मनमा आईरहेको थियो, समयको ब्यापार गर्ने म र मेरो परिवेश, नास्तिक नभए पनि नास्तिकतामा बाचेको बुदुनो, भौतिकता र भौतिक सुबिधामा जीवन खोज्ने म;  मलाई के थाह.... हरेक दिन यसरी आरम्भ हुदो रहेछ नन्दन समय र जीवन तर म त फगत.......... सबैलाई चेतना भया।।

»»  पुरै पढ्नुहोस

Saturday, December 12, 2009

घर भित्र दुम लुकाउने नेताहरु र कोपनहेगन

सिरक भित्र मुठ्ठी कस्नेहरु कहिलै पनि बाहिर मुठ्ठी कस्न सक्दैन्। जीवन अनकौ मोडमा सहज रुपमा उपस्थित हुन जान्ने जीवन बाँचेको मान्नु पर्छ। पर्दा पछाडिको सुख जीवनले कसैलाई प्रेरणा दिन सक्दैन। आफैमा रमाउने स्वार्थी तरिका भन्दा अरु केही हुदैन त्यो। त्यसैले जीवन आफू बाच्नको लागि भन्दा पनि अरुलाइ बचाउनका लागि प्रयोग भयो भने मात्र जीवन बाचेको अर्थ हुने छ। कुनै मिथ्या दर्शनको भरमा सहज र उपमा वाच्नेहरुको लागि जीवन जान्ने र बाच्ने भन्दा केही हैन। न त कसैले यो जीवनको मया गर्छ र न त सार्थक जीवननै हुने छ। कसैका लागि बाँच र अनि मात्र आफू बाचेका हुन्छौ।


संसारको अनेकौ युग पुरुषहरु कहिलै आफू बाचेनन्। बाच्नको लागि कहिलै संघर्ष पनि गरेनन् तर पनि हामीमा त्यो बोध कहिलै भएन। डार्बिनको सिद्धान्त नै सही बाच्नको लागि कुनै कृष्ण वा कुनै क्राईष्टनै चाहिने हैन न त कुनै अल्लाह। बाच्नु तिम्रो जन्मसिद्ध अधिकार हो र तिमी कसैलाई नमाने पनि, कुनै माथि आस्था नराखे पनि र कसैलाई आफ्नो जन्मको श्रेय नदिए पनि बाँचेका हुन्छौ र बाच्ने नै छौ। तिमी सास फेरि रहन्छौ, मिथ्या ईन्द्रियहरुको प्रयोग गरेकै हुन्छौ र बाचेको नाटक गर्दै छौ। यहाँ माटो र ढुंगाहरु पनि बाचेकै छन्। कसै न कसै, कसै गरि उनिहरुको जन्म भएकै हो र अन्त्य पनि अनकौ रुपमा हुने नै छ । जन्मनुलाई बाच्नुको अर्थमा बुझ्नेहरु यँहा तिमी सजीव मात्र हैन, निर्जीवहरु पनि छन्। फगत सजीव भएर निर्जीव झै बाच्ने तिमी मात्र हुन सक्छ, भन्न सकिन्न तर पनि निर्जीव जीवन त पक्कै बाचैकै हौ।


के को लागि र कसका लागि बाच्ने तयारी हुदैछ जीवन। किन मरेको नाटक गर्छौ तिमी अन्त्यमा। जीवन बाच्ने नाटक र बाँचेको नाटक अनि मरे पछि मरेको नाटक गर्ने तिमिलाई कुन उपमाले सम्बोधन गर्नु पर्छ थाह छैन तर पनि त्यो अद्‍भुत नाटक भने हो। किनकि तिम्रो जन्मनै मृत्य तुल्य छ। तिमी मृत्यु तुल्य जीवनको दर्शन बोकेर हिडेका छौ । न त तिमी कहिलै जन्मियौ न त तिमी कहिलै मर्ने नै छौ। तिम्रो बिकास र तिम्रो हरेक चाल यही निर्जिवताबाट साँधिएर, संगालिएर र पोषित भएर चलाएमान भएको हो भन्ने कुरा किन बिर्सिन्छौ? के लिएर आएका छौ तिमी र के लिएर जान्छौ। न ल्याउन सक्छौ न त लिएर जान सक्छौ तै पनि किन मेरो भन्छौ र मेरो लागि र म लागि अरुलाई मार्छौ? यदि तिमीले बाच्नु नै बाच्न हो भने तिमीले किन अरुलाई बाच्न दिदैनो। हजारौ भुर्णहरुको जीवनलाई किन स्वीकार गर्दैनौ? किन उनीहरुको अस्तित्वलाई स्वीकार गर्दौनौ? हैन भने तिमीले स्वीकार गर्नु पर्छ मैले भबिष्यमा जन्मने जीवनको हत्या गर्दै छु। मेरो र म जस्ताको मात्र हैन अन्य र अनेकौ सम्भावनाहरुको घाँटी काटेका छौ तिमीले। हैन भने बन्द गर यो सबै। केही नगरे पनि राम्रो संग बाचँ र भबिश्षको लागि पनि केही तर स्बस्थ समाज छोडेर जाउ।


आफैमा भुल्ने तिमी किन अरुलाई भुलाउन खोज्दै छौ। भबिश्यको कुनै प्रतिनिधि छैन सायद त्यसैले तिमिहरुले उसको अस्त्बलाई स्वीकार गरेका छैनौ। भविश्य तिम्रो हो भन्ने कुरा तिम्रो सन्तान र पुस्ताहरुलाई सम्झ नभए कल्पना गर। तिमीले यो समस्या बोकेका छौ भने तिम्रो भबिष्यले के पाउला। भबिष्यमा तिमी वाच्न चाहन्नौ सायद। किन कि भौतिक उपस्थिती भन्दा बाहेकको तिमिले जीवनलाई स्वीकार गरेका छैनौ। त्यो तिम्रो भूल हो। तिमिले आफ्ना सन्तान र भविष्यमा आफ्नो जीवन खोज्नु पर्छ र त्यसलाई स्वीकार गर्नु पर्छ। त्यसैले म सोध्छु तिमिलाई कोपनहेगन के हो ?


तिमीले भित्र केही हेर्नु पर्दैन। सभा र नाटक गरेर मात्र देश समाज बन्ने राम्रो हुनै हैन। आफ्नो देशमा टेबल ठोकेर मात्र र जनताको अगाडि केही गरेको नाटक गरेर मात्र हुदैन। तिमी भित्र र तिम्रो भुमीमा बाह्रय बलत्कार भएकै हो र भई रहेको छ। देशको हरेक सीमा र क्षेत्रमा मानव सभ्यताको कालदोष भईरहेको छ। घर भित्र दुम लुकाउनेहरुको फुर्ती घर वाहिर बढीनै हुन्छ। घर भित्र श्रीमातीको लात्ती सहनेहरु घर बाहिर अलि बढी टेवल ठोकेर कुरा गर्छन। तर यहाँ कुरा फरक छ। फरक छ त, आत्म सम्मान र उनै लात्ती हान्ने श्रीमतीको अगाडि घर वाहिर देखाउनु पर्ने पुरुषार्थ। सबाल श्रीमतीको हैन; हो त परिवेष र नियतको। तिम्रो व्यवहारले त्यही भन्छ, तिम्रो घर, समाजको हालतले यही भन्छ र लात्ती हान्नेहरु र सगै नहान्न भन्नेहरु लात्तीको बिरोधमा बकालत गर्छन। यो त मात्र परिवेश हो र नाटक। त्यसैले आफ्नो घर बनाउ पहिला अनि तिम्रो समाज बन्छ र तिमीसंग अरुले गर्ने ब्यवाहार राम्रो हुन्छ। तिमीले बाहिर गुहार मागेर हुदैन। बाटोको प्रदुषण र धुलो र यहाँ भईरहेको अब्यबस्था माथी नजर गर, मिलाउ र मात्र जाऊ बाहिर। घर मिलाउ बाहिर आफै मिल्छ। हैन भने जीवन र मृत्युको खेल तिमी पनि खेलिरहेका छौ। तिम्रो पेशालाई तिमी नोकरी नठान त्यो संग सबै जीबनको अस्तित्व गासिएको छ। अन्यथा के त ? मित्था बोध वा मात्र बोध??? …….सबैलाई चेतना भया।

»»  पुरै पढ्नुहोस

Thursday, December 10, 2009

तिमीले कसम खाने, जनताले दु:ख पाउने?

ठूली माइली र सानी कान्छीको बीचमा झगडा चलिरहेको थियो कचौरा हराएको बिषयमा। हिजो पधेरामा डोको भरी जुठा भाडा बोकेर माज्नको लागि गएका थिए दुबै जना। ठूली माइलीको काँसको कचौरा हराएको रहेछ। सानी कान्छीले चोरेर लुकाईस भन्ने आरोपको प्रतिउत्तरमा भनाभन भईरहेको थियो।

“लौ तेरो छोरा छोरीको टाउकोमा हात राखेर भन त तैले कचौरा लगेको छैन भेनेर” माइलीले कसम खुवाउन लागि। “मैले यसबेला पनि भन्न नपाऊ, यी यो छोराको कसम खाएर भन्न सक्छु कि मेले तेरो कचौरा लगेको छैन।“ कान्छीले सफाई दिई।

यदी कान्छीले कचौरा चोरेकै भए के हुन्थ्यो? उसले कसम खाईसके कि छ। यदि उसले चोरेको खष्डमा उ आफै र आफ्नो सानो छोरालाई जे पनि हुन सक्ने भयो। एकातिर यदि उसले चोरेको भए यसबेला पनि भन्न नपाउँ भनेकै छ अर्थात मरिहालु भनेकि छ भने अर्को तिर आफूसंग आफ्नो छोरा पनि मरिहालोस भनेर भन्न पनि भ्याईसकेकी छ।

ईश्ब रको नाममा कसम खाए, ईश्बरले मेरो नष्ट गरुन भन्ने अर्थ त लाग्छ नि, हैन र? त्यस्तै यदि कसैले आमाकै कसम खाएमा के होला? पक्कै पनि आमाले नष्ट त गर्ने हैन होला। नष्ट गर्ने नसक्ने आमाको कसम खानुको मतलब के होला तभन्दा, यदि उस्ले झुट्टा बोलेको छ वा ढाटेको छ भने, उसको आमा मरिहालोस बा उनलाई अनिष्ट होस नै

भन्ने हैन र?गल्ति गर्ने आफू दु;खको कामना गर्नु अर्काको। कत्तिको न्याय संगत कुरा हो यो? यो सबै कुराहरुको जड र कसम ख्वाएर सत्य बकाउने चलन हाम्रोमा ब्यापक छ। बिषेशरुपमा अशिक्षाको कारण ईश्बर र अदृष्य शक्तिमाथि विश्वास गर्नेहरु। तर यहाँ डर त पढे लेखेका, जान्नेहरु र नेताहरुको कसमको हो। कसम खानुलाई के रुपमा बुझ्ने र कसरी यो परिपाटीलाई बुझ्ने? ईश्बरको नामको कसम होस वा जनताको नाममा वा आमाको नाममा होस कि छोरा छोरीको नाममा; कसम खाने भनेको चाहिँ यदि उसले झुट बोलेको रहेछ वा झुटको सहारा लिएको रहेछ भने, तद्अनुरुप उ माथि ईश्बरले कारबाही गरुन वा आमा वा छोरा छोरी मरेर उसलाई सजाय होस वा नेताले जनताको नाममा खाएका रहेछन् भने अर्को पल्ट (वा फेरि एक पल्ट) चुनावमा हराइदिउन् भन्ने अर्थ भन्दा अरु केहिलाग्छ जस्तो मलाई लाग्दैन।


नेपाली भाषा बोल्दा साह्रै राम्रो सुनिनेमान्छेहरुको जमघट भएको ठाउँ, जसको भाषा र उच्चारण अरुका लागि रिफ्रेष्स हुने ठाउँ, तर्क त प्रमाणले झुटो बोल्ने मानिसलाई झुट्टा साबित गर्ने ठाउँ, समाचार तथा समसामयिक बिषयको व्याख्या, समालोचना बा टिप्पणीको लागि निकै मानिदै आएको ठाउँमा पनि यसको प्रयोग यसरी राम्रै संग भईरहेको छ। सुन्नुस है त रबिन्द्र मिश्रको: आमाको कसम।



मूल कुरा: समस्याको समाधान कसम लिने र खाने हो त? हैन!! मात्र एक झुटको लागि अर्को झुटको सहारा लिनु वाहेक केही हैन कसम खानु र लिनु। मन सफा हुनु पर्यो, ईमान्दार हुनु पर्‍यो। कसम खाएरै हुने भए देशमा धेरै ठूला गन्यमान्यहरुले हरेक पटक कसम खाएकै हुन र कसम खुबाएकै हुन्। कहिले ईश्बरको नाममा त कहिले जनताको नाममा। ईश्बर, जनता, आमा, छोरा छोरी बा कुनै पनि कुराको कसम यदि साछीको लागि मात्र हो भने बोल्दै नबोल्ने वा सजाय दिनै नसक्नेको कसम के का लागि। यदि कसम प्रतिबद्धता हो भने किन आमाको कसम , किन ईश्बरको कसम वा किन जनताको कसम? आफै ईमान्दार रुपमा प्रतिबद्ध भए कस्ले रोकेको छ? जनताले सजाय दिईसकेकाहरुले जनताको कसम खानुको मतलब के होला? ईश्बरले सजाय दिईसकेकाहरुले ईश्बरको नाममा कसम खानुको अर्थ के हुन्छ? सिधै कुरा छ, जनताले नष्ट गरुन हैन बरु, मैले काम गर्न सकिन, मैले ईमान्दारीका साथ काम गरिन भने जनतानै नष्ट हुन्। यही कामना हैन? राम्रो होस सबैको कसमले। कहिलै काम गरेको छैन फेरि पनि काम नगरोस कसमले र मैले लेखे जस्तो जनताको नष्ट हुने काम नहोस। कसैले गरेको कुर्कमको फल जनताले भोग्न नपरोस ..हा हा.. सबैलाई चेतना भया।।।।।

»»  पुरै पढ्नुहोस

Thursday, December 3, 2009

यसरी आरम्भ हुदो रहेछ समय !!१!!

बिहानको चार वा साढे चार बज्दै थियो, निन्द्रा राम्रो संग लागेन। अनेकौ कुराहरु मनमा एकनासले आईरहेको थियो सायद तन्द्रामा थिए म, त्यसै आखाँ खुल्यो। सपना पनि त्यस्तो केही थिएन बिउँझाईदिने र बिपनामा पनि कोही थिएन बिउँझाईदिने, तर पनि बिउँझिँए। जाडो त्यति बढेको पनि हैन तर सिरक चाहिँ ओड्नु पर्ने भईसकेको थियो।

लामो समय पछि नेपाल गएकोले पनि होला, वास्तवमा घर आएको दिन देखि निन्द्रा परिराखेको थिएन। बिस्तरा नै परिवर्तन भएर चाहिँ नभनु होला। समय थोरै थियो। जीवनको लगभग पच्चीस वसन्त पार गरिसकेको ठाउँ भएर पनि किन हो किन एकदमै नौलो लागि रहेको थियो। साह्रै मन आत्तिएको रहेछ बाहिर बस्दा बस्दै। त्यसै बीचमा समय थोरै थियो र अनेकौ कामहरु पनि सक्नु थियो। काम भनिहाल्नु भन्दा पनि भेटघाटनै बाँकी थियो। समयलाई जसरी सकिन्छ त्यसरीनै बिभाजन गर्दै थिए।


बिहानको खान खाए पछि जानु थियो कतै र सायद निन्द्रा लागिरहेको थिएन। टेलिभिजन पनि खोलेर हेरेँ तर खासै केही लागेन। कम्प्युटरको ब्याट्री सकिएकोले खोल्ने कुरै भएन। बेलुका हेर्दै थिए ब्याट्री पनि सकिने र लोडसेडिङ पनि। हुन त कुनै निर्धारित समय हैन रे तैपनि गईरहेन बिजुलीले धोका दियो। पर कतै कुखुरा बासेको पनि सुनियो। म लागे त्यही घरको छत तिर। पूर्व फर्किएको घर। सूर्यको पहिलो दर्शन गर्न पाईने ठाउँ, सधै जिज्ञासा भइरहने रहेछ कि आज बादल छ कि छैन, पानी परिरह्यो भने देख्न्न नपाईने हो कि यस्तै यस्तै। कोठाबाट कुर्सी बोकेर छतमा लागेँ। पूर्व तिर फर्किएर सुनसान पहाडहरुलाई हेरिरहेँ। कस्तो सुन्दर सुनसान र शान्त पहाड अनि पहाडले चुमिरहेका धमिलो, निलो र सुनौलो आकाश। निकै बेर टोलाएर बसे र हेरिरहेँ।


भोलि जानु छ कतै र केही समय पछि फेरि बिदेश फर्कनु छ। मनमा कता कता पीडा थियो। यसै बिच मेरो मनमा लाग्यो किन नहोसकी यो सुनसान पहाड र यसै बीच मैले लिईरहेको आन्नद कैद गरुँ क्यामरामा। सानो आठ मेघा- पिक्सलको क्यामरा थियो साथमा। मैले जोड लागाएर वा भनु अनेकौ पोजमा यो ठाउँको फोटोहरु लिएँ। कहिले नजिकबाट त कहिले टाडा बनाएर। केही राम्रा पनि आएका छन् त केही धमिला। रातीको समय, कमसल क्यामरा र अव्यवसायिक कार्य क्षमताको बीचमा केही प्रयास गरे आफै भित्र रमाउन।


बिदेश रहदा बिहानै काममा जान हतार; फेरि सबै सहरहरु समतल भूभागमा बसेकोले पनि पहाड हेर्न र पहाडबाट लुकामारी खेल्दै आउने र जाने सूर्य, तारा र जुनहरुको दर्शन गर्न पनि हजारौ रुपैया खर्च गर्न पर्ने भएर पनि होला यस्तो दर्शन गरिएन भन्दा पनि हुन्छ। हेर्नै गईहालियो भने पनि कता कता आफ्नो नलाग्ने। पहाडहरुले नै ब्यापार गरे जस्तो, पराई ठानेर जिस्काए जस्तो, समयको बन्धन, पैसाको बन्धन। यस्तै यस्तै कारणले कहिलै पनि मन शान्त हुन र रमाउन सकेन। तर मेरो देशको यो पहाड र यो आकाशले म संग कुनै कुरा मागेको छैन। जति हेर्नु छ हेर, जति मन शान्त पर्नु छ पार भने जस्तो लागि रहने। किनकि यो मेरो हो। बिलकुल मेरो। कसैको रोक छैन यसलाई मैले मेरो भन्न।



आफ्नो मानेर पनि होला निकै बेर बसे। सूर्य नउदाउन्जेलसम्म बसिरहे र भित्र भित्रै अनुभव गरे..... हरेक दिन यसरी आरम्भ हुदो रहेछ समय!!!....... सबेलाई चेतना भया।।।।।।।।।।।।।।

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला