यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, August 28, 2009

सकरात्मक तर प्रगतिशील आत्मविश्वास

१ युद्धको मैदानबाट फर्किएको कुनै लडाकुलाई मैले सोधेँ, के युद्ध राम्रो हो ?

२ कसै माथी प्रहार गरेर कसैलाई मारेर फर्किएको मान्छेलाई मैले सोधेँ, के हत्या गर्नु राम्रो हो?

३ चोरेर फर्किएको चोरलाई मैले सोधेँ, के चोर्नु राम्रो हो?

४ कसैसंग झगडा गरेर फर्किएको मान्छेलाई मैले सोधेँ, के झगडा गर्नु राम्रो हो?

५ बिधार्थीलाई गृहकार्य नगरेको निहुँमा बेस्करी कुटेर फर्किएका शिक्षकलाई सोधेँ, के बिधार्थी कुट्नु राम्रो हो?

६ चीट चोरेर पास भएको बिधार्थीलाई सोधेँ, के चीट चोरेर पास हुनु राम्रो हो?

७ भ्रष्टाचार गरेर पैसा कमाएको कर्मचारीलाई सोधेँ, भ्रष्टाचार गर्नु राम्रो हो?

८ अपराधीलाई बेस्करी कुटेर बसेको पुलिसलाई सोधेँ, के अपराधीलाई नियन्त्रणमा लिएर कुट्नु राम्रो हो?

९ राजनीतिको खराब खेलमा खप्पिस भएका नेतालाई सोधेँ, के राजनीति खराब खेल हो?

१० धर्म, भाषा र वर्णको लागि आन्दोलन गरेकाहरुलाई सोधेँ , के धर्म, भाषा र वर्णको आधारमा विभाजित हुनु राम्रो हो? ११ ............१२................१३..............


यस्ता थुप्रै र आम सरोकारका प्रश्नहरुलाई केलाएर हेर्ने हो र म मात्र हैन कसैले पनि यो उत्तर खोज्न चाह्यो भने सबै प्रश्नको एउटै उत्तर हुन्छ “राम्रो हैन”। आफैले गरेको काम वा कुकर्म आफैलाई राम्रो नलागेर पनि किन यस्तो काम भईरहेको छ? किन यस्तो काम गरिरहेका छन् त? स्वयं चोरलाई, भ्रष्टाचारीलाई, अपराधीलाई आफूले गरेको कामबाट सन्तुष्टि छैन। उनीहरु आफै यो कामलाई ठीक मानेका छैनन्। मन ले नगरौ भन्छ, नगरी छाड्दैनन् वा नगरी हुदैन।


आफू माथि अन्याय परेको छ, कसैले सुन्दैन, आफूमाथि आक्रमण भएको छ, बचाउको लागि पनि त युद्ध लड्नु पर्यो। नचोरेर के गर्नु ? सीप छैन, संगतले त्यही काममा राम्रो ज्ञान भयो, नचोरी खानै पुग्दैन। जती संझाए पनि मान्दैन, दिएको कामनै गर्दैन नकुटेर त हुदै हुदैन शिक्षकलाई।, पास हुनु छ, पास नभए जागिर पाईदैन, जसरी पनि पास हुनु छ, चीटनै चोरेर किन नहोस। तलबले खानै पुग्दैन, मंहगी बढेको छ, जहान केटाकेटी पाल्नको लागि आउने आम्दानीले पुग्दैन, भ्रष्टाचार नगरी नहुने। राम्रो मुखले संझाएर वा सोधेर अपराधी बोल्दैन। नकुटेर त हुदै नहुने र यसो नभए पारनै नलाग्ने पुलिसलाई। पेशानै राजनीति भए पछि उद्धेश्य पुरा गर्न वा कुर्चीमा बसिरहन, खराब किनबेच नगरी नहुने नेतालाई। यी र यस्तै उत्तर पाउछौ हामी यदि किन यो काम गरेको हो त भनेर सोध्यौ भने वा सोच्यौ भने।


नराम्रो काम छ, नराम्रो हो भन्नै थाह छ तर पनि किन यो सबै भईराखेको छ? सबैको जड तत्व भनेको “आत्मविश्वास” हो। नकरात्मक आत्मविश्वासको कारण यसो भइ रहेको छ। यदी सबैकुरालाई सकरात्मक आत्मविश्वासका साथ सोच्ने हो भने सबै कुरा ठीक हुने थियो। आफूलाई निन्तान्तै बाध्यात्मक परिस्थितिले यसो गर्न परेको छ भनेर जति भने पनि यो सबै कुरालाई एउटा सकरात्मक आत्मविश्वासले हेर्ने हो र आफूमा तद्अनुरुप परिवर्तन गर्ने हो भने सबै कुरामा नियन्त्रण सम्भव छ। नचोरी हुदैन भन्ने नकरात्मक आत्मविश्वासलाई, मेहनत गरेर पनि गुजारा गर्न सकिन्छ, सानै काम गरेर पनि संसारका करौडौ मानिसहरु खुसी छन् भन्ने सोच्ने हो भने चोर्न मन लाग्दैन। रक्सीको मातलाई आनन्दको प्रतिक मान्नेहरुले यसले गर्ने हजारौ खराबीलाई आत्मसाथ गर्ने हो भने, र रक्सी खाँदा मरिन्छ तर नखाँदा मरिदैन भन्ने कुरालाई सकरात्मक आत्मविश्वासकासाथ स्वीकार गर्ने हो भने सायद रक्सी खाएर बिताएका र गुमाएका हजारौ यथार्थताहरु प्रति आफैलाई धिक्कार लाग्ने छ।


खराब मान्छेसंग दुस्मनी गर्न एकदमै सजिलो हुन्छ तर एउटा असल मान्छेसंग दुस्मनी गर्नु पर्यो भने कति गाह्रो हुन्छ र कति ठूलो मूल्य चुकाउनु पर्छ भन्ने कुराको कुनै सीमानै छैन। यो आत्मविश्वासका साथ कुनै शिक्षकले बिधार्थी माथि राम्रो ब्यबहार गर्ने हो र सकरात्मक आत्मविश्वासका साथ सिकाउने हो भने, कुनै पनि बिधार्थीलाई असल शिक्षकको नजरमा तल झर्ने कुराको कल्पना पनि गर्न सक्दैन। भ्रष्टाचार गर्नु भनेको कुनै निरीह, सोझो र साधारण मानिसको पेट मार्नु हो। यसो गर्दा आफ्नो केटाकेटीको पेट त भरिएला तर पीडित मान्छेको केटाकेटीको गासँ खोसेर, उसका लालाबालाको अनुहारमा भोक र प्यासको नजानिदो अनुभूतिको उपहार दिनु सरह हो भन्नेकुरा सोच्ने हो र मैले राम्रो काम गरे भने र राम्रो सेवा गरिदिए भने, उसले मलाई कहिल्यै पनि भुल्ने छैन, उसको केटाकेटीहरुको हाँसो र खुसी खोसिने छैन भन्ने सोच्ने हो भने सायद भ्रष्टाचार गर्नु त के उसको दिमाखमै आउने छैन यस्तो सोचहरु।


त्यसैले हाम्रो समाजमा भईरहेको जती पनि खराब पक्षहरुको सामाधान माथिबाट कानुन बनाएर वा लादेर हुने छैन। तपाई हामीले जतिसुकै कराए पनि, जतिसुकै नराम्रो भयो भने पनि कुनै परिवर्तन हुनै छैन। त्यसलै एक पटक आखाँ बन्द गरेर सोचौँ, हामीसंग के के खराब कुराहरु छन् र के के असल।तर एउटा कुरा याद गर्न जरुरी छ, सकरात्मक सोच यथास्थितिवादी सोचको लागि भने कहिल्यै हुनु हुदैन। यस्ता कुराहरुको कुनै पनि दस्तावेज वा उदाहरणहरु सकरात्मक हुनै सक्दैन। छानेर, साँधेर वा केलाएर हेर्नु पर्ने हुन्छ हरेक यस्ता उदाहरणहरु। गर्न नसकेर वा भनु आफ्नो पछौटेपनलाई मन बुझाउने असल माध्यम सकरात्मक आत्मविश्वास भने हुनै सक्दैन। त्यसैले आफूबाट हुनु पर्छ परिवर्तन र प्रगतिशीलपनि हुनु पर्छ आत्मविश्वास। समयको सीमा र यथास्थितीवादमा रहने हो भने जतिसुकै सकरात्मक भए पनि पुरानो र कामनलाग्ने खालको हुने छ आत्मविश्वास, यसको साथमा आएका परिवर्तनहरु र सम्पुर्ण परिभाषाहरु।


त्यसैले यो खराब काम हो र यो गर्न हुदैन भन्ने सकरात्मक सोचले मात्र पुग्दैन। यसबाट मुक्ती पाउन सकरात्मक सोच सगै एउटा बलियो समय अनुकूल आत्मबिश्वासको खाचो हुन्छ; अर्थात “सकरात्मक तर प्रगतिशील आत्मबिश्वास”...सबैलाई चेतना भया.......


(प्रयोग गरिएका कुनै पनि शब्द बा भनाईहरु बिल्कुल निरपेक्ष छन्)

»»  पुरै पढ्नुहोस

Sunday, August 16, 2009

टेलिभिजनको भाषा किन यस्तो सस्तो? “ प्वाक्क मुखमा हानु जस्तो”

आजकल बच्चा वा केटाकेटीहरुको लागि टेलिभिजनका कार्यक्रमहरु नराम्रो नशा हुन पुगेका छन्। यो नशा बाल मनोविज्ञानको एउटा यस्तो पक्ष हो, जस्ले हरेक सवालमा निकै दु:खी बनाउने गर्छ अभिभावकहरुलाई। बिदाको दिनमा टेलिभिजनहरुको अगाडि बस्ने र रिमोट अनेकौ ठाउँमा लुकाएर निर्धक्कका साथ कार्यक्रमहरु हेर्ने बानी प्राय सबै घरका बच्चाहरुको भएको छ। स्कुलको गृहकार्य सकेर वा टेलिभिजन हेर्ने बहानामा चाडै र झारा टार्नेगरी गृहकार्य गरेरै भए पनि कार्यक्रमहरु हेर्ने सुर हरेक र प्राय जसो बच्चाहरुमा रहेको पाईन्छ।


केटाकेटीहरु स्वभावैले चल्ने, झगडा गर्ने र घरमै बसे पनि चलेर हैरान पार्ने स्वभाबका हुन्छन् र यो कार्यबाट पनि छुटकरा पाउन बाबु आमाहरु उनीहरुलाई टेलिभिजन देखाएर शान्त पार्ने र घरमै आफ्नो लागि समय निकाल्छन्। दिनभर काममा व्यस्त बाबु आमा घरमा हुने कामको लागि पनि आफ्ना बच्चा र केटाकेटीहरुलाई टिलिभिजन वा फिल्मको अगाडि थन्काएर आफ्नो काम निम्ट्याउछन् र कामै नभए पनि आफूलाई आराम गर्ने समय यसरी निकाल्छन् । एकातिर दिनभरी स्कुलमा गएर पढेर आएका आफ्ना बच्चाहरुलाई केही समय हास्न दिने र रमाईलो गर्न दिनैको लागि भए पनि हामी उनीहरुलाई यो अबसर दिन्छौ र उनीहरुलाई छोडिदिन्छौ। तर केटाकेटीहरुको यो तरिका र उनीहरुको टेलिभिजनसंगको झुकाबका बारेमा हामीले एक पटक राम्रो संग सोच्नै पर्छ।


केटाकेटीहरु सबै भन्दा बढी कुन कार्यक्रम हेर्छन् त भनेर कसैले सोध्यो भने वा जान्न चाह्यो भने सबै भन्दा बढी एउटै उत्तर आउछ, त्यो हो “कार्टुन”। कार्टुन हेर्दा जस्तो बच्चाहरुको अनुहारमा खुसी अरुमा सायदै हुदैन् तर कुन कार्टुन भन्ने चाहीँ ठ्याक्कै भन्न भने गाह्रो हुन्छ; कारण ठाउँ बिशेष र भाषा बिशेषमा भर पर्ने हुन सक्छ। त्यसो त केटाकेटीहरु कथा भन्दा पनि त्यसमा प्रयोग हुने हाउभाउमा बढी ध्यान दिएको पाईन्छ र कुनै फिल्म वा कुनै कार्टुनमा प्रयोग भएको दृष्यको नक्कल गर्नु र कथामा देखिए जस्तै कलाकार जस्तो बन्न खोज्नु र प्रयास गर्नु उनीहरुका लागि नौलो भने हैन। अझ प्रष्ट भन्नु पर्दा केटाकेटीहरुले कुनै पनि यस्ता दृष्यहरुले दिन खोजेका सन्देशलाई भन्दा त्यसमा देखाईएको हाउभाउलाई र पटक पटक एकनास संग प्रयोगहुने भाषा बा दृष्यको भने चाडै नै नक्कल गर्ने गर्छन्।


उदाहरणको लागि नेपाली टेलिभिजन कै कुरा गरौँ एक पटक। हाम्रो देशमा अहिले निस्केका र चलेका टेलिभिजन कार्यक्रमहरुमा हास्य ब्यङ्ग्यसंग सम्बन्धी कार्यक्रमहरु प्राय केटाकेटीहरुले कहिलै नछुटाईकन हेर्छन्। बाबु आमालाई थाह नहोला, आफ्नो स्कुलको कामको याद नहोला, खाना खाने बेलाको ज्ञान र सम्झना नहोला तर केटाकेटीहरुलाई कुन कार्यक्रम कतिबेला र कुन वार आउछ थाह हुन्छ र कार्यक्रम आउनु अगाडि रिमोट कब्जा गरेर बसिसेका हुन्छन। खुब मजा पनि लिएका हुन्छन् र खुब हास्छन् पनि यस्ता कार्यक्रमहरुबाट उनीहरु।


यस्ता कार्यक्रमहरुको राम्रो पक्षहरु थुप्रै होलान र यस्ता कार्यक्रमहरुमा देखाईएका ब्यङगहरु ठूला र बुझ्ने मानिसका लागि रमाईलो र यथार्थपरक होला तर कार्यक्रममा पटक पटक भनिने थेगो र उपमाहरुको असर केटाकेटीमा नराम्रै संग बढी परिरहेको हुन्छ।


तपाईहरु ख्याल गर्नु त कुनै कार्यक्रममा कलाकारले कुनै राजनैतिक कुरा भन्दा वा कुनै समाजको नराम्रो कुरामा प्रहार गर्दा नहाँसेको र कुनै पनि कुरा नबुझेको जस्तो गर्ने केटाकेटीको अनुहारमा “ प्वाक्क मुखमा हानु जस्तो” भन्ने दृष्य आयो भने एक प्रकारको नजानिदो हाँसो वा खुसी आउछ उनीहरुको अनुहारमा। त्यस्तै “लात्तीले ले हानेर बारीको पाटामा पुराईदिन्छु” “टीकी ट्यास ट्यास पारेर” “ ई कस्तेरी हास्छै म त मर्छुकि क्याहो” , “निष्चितरुपमा”, “ए राता मकै”, “हेर्दा देर्दै ........ खप्पराआ त लिएरै आएको रहेछ”, “म त छक्क पर्छु”, “परेको म बेहोरुला” आदि आदि।


“एक जना हुजुरबुबालाई उनको नातिले कुनै सन्दर्भमा कतै “प्वाक्क मुखमा हानु जस्तो” भनेर भनेछन्, कतै मैले सुनेको थिए साँचो कुरा होला वा नहोला तर यस्तो नहोला भनेर पनि भन्न सकिदैन।


कुनै पनि कार्यक्रममा प्रयोग हुने यस्ता भाषाहरुको नक्कल केटाकेटीले चाडै गरेका हुन्छन्। किनकि एउटै कार्यक्रममा पटक पटक भनिने, सुन्न र नक्कल गर्न सजिलो भएरै पनि होला, उनीहरु कार्यक्रम हेरीसके पछि पनि यसको प्रयोग लामो समय सम्म गर्ने गर्छन्। सबै त हैन तर कुनै कुनै यस्ता कार्यक्रममा प्रयोग हुने भाषाहरु, निश्चितरुपमा पनि नराम्रो असर पार्ने र सभ्य भाषाको श्रेणी भित्र पर्दैनन्।


आजकल कथा बस्तुमा ध्यान नदिएर कता कता उट्पट्याङ कुराहरुको संगालो जस्तो लाग्न थालेका छन् हाम्रा यस्ता कार्यक्रमहरु। सबै त हैन तर प्रायजसो कार्यक्रमहरु त्यस्तै प्रकारले बन्न थालेका छन् र हेरीसके पछि कथाले भन्न र दिन खोजेको राम्रो कुराको हेक्का कम हुने तर त्यसमा प्रयोगहुने भाषा र हाउभाउको नराम्रो असर भने केटाकटीमा लामो समय सम्म पनि परिरहेको हुन्छ र देखिन्छ। त्यसैले थेगो मात्र हैन, कथा भित्र बोलिने संबाद पनि उदेक र यस्तो धनी भाषालाई गरिब र कङ्गाल झै मानेर प्रयोग हुने गरेका संबादहरु सुन्दा कहिले काहिँ दिक्क लागेर पनि आउछ।


हामीले यस कुरामा हाम्रा केटाकेटीहरुलाई सहयोग गर्नै पर्छ। सहयोग गर्ने पर्छ भन्ने कुरा यो मानेमा कि, उनीहरुको लागि कुन कार्यक्रम ठिक र कुन बेठिक, कुन कुरा राम्रो र कुन कुरा नराम्रो भनेर छुट्याईदिनु पर्छ र यस्ता बौद्धिक बिकाश नहुने र बाल मष्तिष्कमा नराम्रो असर पर्ने खालका कुराहरुमा सरकारले नगरे पनि हामिले आफ्नै घरमा सेन्सर गर्नै पर्छ। आफुले समय निकालेर राम्रा र प्रेरणा दिने कार्यक्रमहरुलाई रेकर्ड गरेर वा किनेरै भए पनि दिनु पर्छ र टेलिभिजनमा हुने राम्रा र प्रेरणा दिने खालका कार्यक्रमहरुमा मात्र बढी जोड दिनु पर्छ।


यसो भनिरहदा टेलिभिजनका यी कार्यक्रमहरु र अन्य कार्यक्रमहरुमा भएका राम्रा पक्षहरु र अनेकौ सकरात्मक कुराहरुलाई भने भुल्नु हुदैन तर यो एउटा ठुलो समस्या भने पक्कै हो किनकि कसरी राम्रा कुरालाई मात्र छानेर दिने र बुझाउने भन्ने कुरा सजिलो र व्यावहारिक नहुन सक्छ। यसको लागि राज्यको सरोकार पक्ष र यस्ता कार्यक्रम बनाउने निर्माताहरुनै सजग भए सबैलाई सजिलो हुने थियो।


उदाहरणको रुपमा तलको भिडियो एक पटक हेर्नुस र बिचार गर्नुस। स्मरण रहोस मैले कुनै कार्यक्रम बिशेषलाई मात्र लक्ष गरको भने हैन है, सबैलाई चेतना भया......।

(यो कुरा भने सबै घरमा लागु नहुन पनि सक्छ)

»»  पुरै पढ्नुहोस

Wednesday, August 12, 2009

हामी पशु कहिल्यै हुन सकेनौ !!

कर्म गर्नु योग हो, यसमा दुबिधा कसैको पनि छैन। भगवान कृष्णको यो भनाई साह्रै मार्मिक छ र करौडौ मानिस यसलाई आफ्नो जीवनको आदर्श मान्छन्। समाजको परिवर्तित अवस्था यस्तो यान्त्रिक बन्दै गईरहेको छ, मात्र बाच्नकै लागि पनि हरेकलाई आफ्नो कर्म गर्नै पर्छ। चाहेँ असल कर्म होस चाहेँ खराब, गर्न त पर्छ नै। कर्म गरे पछि फलको आशा नगर्नु भन्नै भनाई पनि त्यतिकै प्रख्यात छ। तर पनि यो भौतिक जगत र यान्त्रिक जीवन कुनै पनि कुराको आशा नगरी वा कुनै फलको आशानै नगरी चल्दै चल्दैन; यो पनि वास्तबिकता नै हो। मानिस फगत कर्मको अनेकौ परिभाषामा अल्झेको छ, मुक्ति चाहन्छ तर पनि सक्दैन। मानिस धर्मलाई, कानुनलाई सामाजिक मूल्य र मान्यतालाई आफ्नो अनुकूल बनाउन चाहिरहेको हुन्छ र अनेकौ उपमा दिएर आफूले गर्ने कामलाई धार्मिक, कानुनी, सामजिक मूल्य र मान्यता अनुरुप ठान्दछ। हरेकले आफूले गरेको कामलाई सर्बश्रेष्ठ मान्ने गर्छन् र आफूलाई अब्बल दर्जामा उभ्याउछ। सबैले आफूले गरेको काम राम्रो मान्दा मान्दै र आफूले गरेको काम सबै भन्दा उत्तम हो भन्दा भन्दै पनि किन हामी आज मानिस हुन सकेका छैनौ त? मानिस भनेर कसले भन्यो हामीलाई? हाम्रो सभ्यताको इतिहास कसले लेख्यो? मानिसलाई सर्बश्रेष्ठ प्राणीको दर्जा कसले दियो? के के आधारमा हामी मानिस ब्रम्हमाण्डको सबै भन्दा चेतनशील प्राणी भनेर आफैलाई घोषणा गरेका हौ? कुन कुन परिवेशमा हामी चराचर जगतको सबै भन्दा अब्बल दर्जाको प्राणी भयौँ?


मानव जगतले गरेको काम, जसले बनाएको सीमना के का लागि र किन हो भन्ने पश्न मेरो मानसपटलमा आईरहेको छ। कसरी मिल्न सक्छ यो प्रश्नको उत्तर?


हामीले कम चेतनशील भनेका प्राणी वा भनौ जनवारहरुलाई किन कुनै धर्मको आवस्कता छैन? किन कानुनको सीमा छैन?, किन कुनै राज्य र सीमनाको मतलब छैन? किन शून्य भएर बाँचेका छन् उनीहरु? किन उनीहरु आफ्नो धर्मको लागि काटमार गर्दैनन्? किन उनीहरु राज्य र सीमनाको लागि शहिदको खेती गर्दैनन्? किन उनीहरु दाउपेच र छलकपट गर्दैनन्? किन उनीहरुका लागि भगबान कृष्ण, राम, जिसस वा अल्लाहहरुको जन्म हुदैन? किन गीता, बाइबल र कुरान लेखिदैनन् उनीहरुका लागि? किन कुनै स्वर्गको कल्पना र फलको आशा गरेका हुदैनन् उनीहरु? गीता, बाइबल बा कुरान कुनै धर्म ग्रन्थहरु छैनन् उनीहरुका लागि तर पनि उनीहरु भन्दा मानिस किन बढि हिंसात्मक र अराजक? प्रश्न कहाँ नेर अल्झिएको छ? यो कुनै र कसैलाई पनि सरोकारको बिषय भएको छैन आज।


पैसा बा कुनै कुराको लागि गरिने कर्म, कर्म हुन सक्छ तर योग हुन सक्दैन। मनको शुद्धीकरण पहिलो कर्म हो जसले योग र मानव योग्यताको परिभाषा गर्छ। मनलाई राम्रो बनाउनु, आफूलाई असल पात्रको रुपमा उभ्याउनु बास्तबमा पहिलो कर्म हो तर यहाँनेर सबै जना मानव भएर जन्मेकै आधारमा सभ्य र सर्बश्रेष्ठ प्राणीको उपाधि पाइरहेका छन्। जसरी राजाको छोरा राजा हुने गर्थ्यो। मानव हुनु र यो उपमा पाउनु कति सहज र पुर्खौली भएको छ आज। बस मानवको कोखमा जन्म लियो मानिस बन्यो। तर आचरण र व्यवहार भने कुनै पशुसंग पनि तुलाना गर्न नमिल्ने। काटमार, हिंसा, लुटपाट, बलत्कार, शोषण, अन्याय र अत्याचार यी सबै यस्ता मानव सभ्यातकाका गहना भएका छन्, जो मानिसको पुरै अंगलाई कपडाको जस्तै बेरेर बसेको छ। जब सम्म हामी आफ्नो शरिरको यो दुर्गन्धलाई हटाउदैनौ वास्तवमा कतै र कुनै पनि कोणबाट हामी मानिस हुन सक्दैनौ किनकि हामी पशु त कहिल्यै हुन सकेनौ।


जादा जादै एक जना महात्माको कथा यहाँनेर छोटकरीमा राखौ। एक जना मूर्तिको लागि ठूलो ढुंगा कुदिरहेका कारिगरको नजिकै पुगेर एक जना मानिस सोध्छन्; के गर्न लागेको हो तिमिले? कारिगरले जबाफ दिन्छन्: “मैले यो ढुंगाको बाहिर रहेको अनाबश्यक पत्रहरुलाई फाल्दै छु। जब नचाहिने ढुंगाको पत्रहरु फाल्दछु तब मूर्ति त आफै प्रकट भइहाल्छ नि।”


सबैले हाम्रो सभ्यता माथिको खराब दागहरुलाई यसरीनै फाल्न सके बल्ल मानिस हुन्थ्यौ होला।। सबैलाई चेतना भया !!!!

»»  पुरै पढ्नुहोस

Thursday, August 6, 2009

वाह!!!! ठुल्दाईको टिभी र “कसौटी जिन्दगी” ।

गाईजात्रा त के मनाउने खै, मनाउदै गयो, मान्दै गयो उस्ताको उस्तै। कति मात्रै मनाउने भन्दा पनि कसरी मनाउने भन्ने मै समय जाने भो । के बाट मनाउने, कसबाट सुरु गरेर मनाउने, कहाँबाट मनाउने नै समस्या। कुनै कतै ठाउँ बाँकी भए पो यहीबाट मनाउँ भन्न हुन्थ्यो। सबै तिर उस्तै भद्रगोल भएर होला गाईजात्रा सुरु गर्नै आएन। सोच्दा सोच्दै जानै लागिसक्यो यो चाड तर पनि मेरो मनमा हजारौ ठाउँहरु छन् गाईजात्रा मनाउने। मूल कुरो चाहिँ कुन कुराबाट सुरु गरौ पो भयो त। हास्दै पनि भन्दै पनि भयो भने गाईजात्राको मजा हुन्छ रे। भनिरह्यो भने पनि नहुने, हासिरह्यो भने पनि नहुने। दुबै एकै पटक हुनु पर्ने रे। सिधा कुरा पनि गर्न भएन फेरि। गर्‍यो भने कसैले नपत्याउने होला। गाईजात्रा न पर्‍यो। त्यस्तै भयो आज मलाई। तर म सुन्दै पनि थिए, पठ्दै पनि थिए र हास्दै पनि।


“रामे।।ए रामे..... कता मरेछ यो” सानदाई घाँटी सुक्ने गरि कराउदै थिए। पल्लो ठुल्दाईको घरमा कसौटी हेरेर बसिरहेको रामेलाई बाबुको बोलाईले जर्‍याकजुरुक बनायो। “हैन यो पानीमन्तरे कता मरेछ” सानदाई अझै कराउदै थिए।


“हजुर बा म यही छु” रामे हातमा चप्पल लिएरै उभियो। त्यसो त उसको बुबाले बोलाउने पालो पनि निकै दिन पछि आउने गर्थ्यो उस्को। “जा न तल पधेराबाट एक गाग्री पानी लिएर आइज, भित्र के के हुदैछ, पानी चाहिन्छ होला” सानदाई रामेलाई prignency photoरित्तो गाग्रो दिदै थिए। भित्र के के हुदै छ? पानी चाहिएला? रामेले कुरा बुझेन होला तर केही नबुझे पनि के गरोस, गाग्री बोक्दै थियो उ, भित्रबाट सुडेनी आमाको आवाज आयो। सुडेनी आमाको आवाज रामेलाई नौलो हैन, धेरै पटक सुनेको छ उसले त्यो घरमा त्यसै गरी। “ल बधाई छ सानदाई फेरि छोरा भयो” सानदाई खिस्स हासेँ, रामेले कुरा बुझ्यो। हैन बा हाम्रा यत्रो धेरै भाई र बहिनी किन भएका? रामेले सोधेरै छाड्यो। सानदाईले के भन्ने अब खै, तर पनि उनले भनिदिए “तैले यस्तोकुरा बुझ्दैनस जा पानी लिएर आईज” कुरा टार्न खज्दै थिए सानदाई तर रामेले छोड्नै मानेन। धेरै दिन पहिलैबाट सोध्न खोज्दै थियो होला ... भन न बा भन किन हो? “ईईईईई उता जा त, त्यती पनि बझ्दैन नाथे। तिमीहरु पल्लो घरमा टीभी हेर्न जान्छौ हाम्रो घरमा छैन।।। जा जा पानी लिएर आईज। सानदाईले भनिहाले। रामेले “भन न बा भन” भन्दै थियो अझै। खुब हाँसे म पनि……..बेकुफ मेरो पानीमन्तरे भतिजो र वाह ठुल्दाईको टिभी र “कसौटी जिन्दगी” ।


अरू बेला भन्दा के हो के हो गाईजात्रकै मौका छोपिहाले ।

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला