यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, July 25, 2009

जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू !!

देशलाई माया गरेकै हो। देशको सम्झना र शालीनतालाई मनमा सम्हालेर राखेकै हो। तर किन होला यो मनमा यति धेरै माया र सन्झना? किन आउछ मेरो देशको याद? किन होला मलाई जति नजिकबाट हेरे पनि र जति चोटि हेरे पनि नपुग्ने। वाह मेरो देश।


जतिसुकै सडकमा धुलोले कुइरी-मंडल भए पनि, जतिसुकै सडकमा खाल्टो परे पनि, जतिसुकै सडकमा पानी जमे पनि, जतिसुकै फोहोर सडक भए पनि, जतिसुकै ट्राफिक बढे पनि, जतिसुकै हर्न बजाए पनि, जतिसुकै बाटो मिच्दै गाडी हिडे पनि, जतिसुकै भिखारीको लाईन लागे पनि, जतिसुकै बालक सडकमा आए पनि, जतिसुकै बाटो बन्द भए पनि, जतिसुकै टायर बालिए पनि, जतिसुकै टियर ग्यास खाए पनि जतिसुकै तोडफोड गराए पनि।

नेताले जतिसुकै झुट बोले पनि, जति सुकै आश्वासन बाडे पनि, जति सुकै समाजलाई भड्काए पनि, जतिसुकै मान्छे मारे पनि, जतिसुकै भर्ष्टचार गरे पनि, जतिसुकै नातावाद र कृपावाद गरे पनि, जतिसुकै हस्तक्षेप गरे पनि, जतिसुकै कुर्सीको लागि मरे पनि, जतिसुकै नदी र सम्पदा बेचे पनि, जतिसुकै जालझेल गरे पनि, जतिसुकै उपयोगिताको खेल खेले पनि, जतिसुकै मान्छे मार्न लगाए पनि, जतिसुकै किनबेच गरे पनि, जतिसुकै राज्यको ढुकुटी हिनामिना पारे पनि, जतिसुकै तीन वटा “र”(रक्सी, रण्डी रमी) को पछाडि दौडिए पनि ।

सामाजमा जतिसुकै बलात्कार भए पनि, जतिसुकै छोरीहरु बेचिए पनि, जतिसुकै काटमार भए पनि, जतिसुकै अपहरण भए पनि, , जतिसुकै छुवाछुत भए पनि, जतिसुकै दाईजोको चलन बढे पनि, जतिसुकै जाड, चुरोट र अफिम बेचिए पनि, जतिसुकै सामन्त बढे पनि, जतिसुकै घर लुटिए पनि, जतिसुकै गरिबी बढे पनि, जतिसुकै रोग लागे पनि, जतिसुकै भोकमरी भए पनि, जतिसुकै अनिकाल परे पनि, जतिसुकै पानीको हाहकार भए पनि, जतिसुकै नदीहरु दुर्गन्धित भए पनि, जतिसुकै नदीहरु बेचिए पनि, जतिसुकै थिचोमिचो भए पनि, जतिसुकै बेरोजगारी बढे पनि, जतिसुकै पटक ठगिए पनि, जतिसुकै अन्याय परे पनि, जतिसुकै कानुनको धारा प्रयोग गरे पनि, जतिसुकै अशिक्षित भए पनि, जतिसुकै खुट्टा तानातान भए पनि, जतिसुकै बौद्धिक शोषण भए पनि, जतिसुकै बौद्धिक पलायन भए पनि, जतिसुकै व्यापार धाटा भए पनि, जतिसुकै व्यापारी लुटिए पनि, जतिसुकै आर्थिक मन्दी भए पनि, जतिसुकै कानुन तोडिए पनि, जतिसुकै स्कुल बन्द गरिए पनि, जतिसुकै स्कुलमा राजनीति गरे पनि, जतिसुकै शिक्षक कुटिए पनि, जतिसुकै बच्चा टुहुरा भए पनि, जतिसुकै छोराहरु मरे पनि, जतिसुकै छोरीहरु विधवा भए पनि, जतिसुकै काम ढिलाइ भए पनि, जतिसुकै घुस दिन परे पनि, जतिसुकै आलटाल गरिए पनि, जतिसुकै हन्डर खान परे पनि, जतिसुकै दुःख झेल्नु परे पनि।

छिमेकीले जतिसुकै सिमाना अतिक्रमण गरे पनि, जतिसुकै नेपाली धपाईए पनि, जतिसुकै सम्पत्ति लुटिए पनि, जतिसुकै चेलीबेटी बलात्कार गरिए पनि, जतिसुकै आर्थिक शोषण गरिए पनि, जतिसुकै हस्तक्षेप गरे पनि, जतिसुकै मिचाह निति लिए पनि, जतिसुकै हतियार पठाए पनि, जतिसुकै साधन र श्रोतमा गिद्धे आँखा लगाए पनि, जतिसुकै नेताहरुलाई कठपुतली बनाए पनि, जतिसुकै सामाजिक हस्तक्षेप गरेपनि, जतिसुकै सस्कृतीमा हस्तक्षेप सहित शक्ति प्रयोग गरे पनि आफ्नै लाग्ने हाम्रो देश। त्यसतै अफिसमा, स्कुलमा, कलेजमा, घरमा, गाँउमा, शहरमा, व्यापारमा, जागिरमा र समष्टिगत रुपमा भन्नु पर्दा आफैमा......ओहो कति हो कति।।।।

जे जतिसुकै भए पनि मेरो देशको माया नमर्ने रहेछ। किन होला यस्तो बिघ्न हुदा पनि मेरो देश रहेको छ? जतिसुकै जे होस मेरो देश रहिरहन्छ, किनहोला? हजारौ र करोडौ रोग, अराजकता र समस्या हुदा हुदै पनि देश रहिरहेको भान हुन्छ। केही बाँकी छैन नराम्रो हुनलाई, जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू, हरेक युवाहरु आफ्नो हातमा कानुन बोकेर हिडेका छन्। एक अर्का प्रति विस्वास छैन, माया छैन, सद्भाव छैन।


देश भनेको माटो र सिमाना मात्र हैन, देश भनेको समाज हो, त्यसको समुचित व्यवस्था हो र देश भनेको शालीनता हो। अराजकतामा देश; देश रहदैन। सामाजिक विखण्डनमा देश अखण्ड रहन सक्दैन। देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ। कुनै पनि देशले आफ्नोलागि रगत माग्दैन फगत आफ्ना छोरा र छोरीको बलि खोज्दैन। यदि कसैले भन्छ भने गलत हो त्यो र हामीलाई भड्काइ रहेको छ त्यो। कसैले भड्काउन खोजिरहेको छ त्यहाँ। शान्त र शालीन देशले के को लागि रगत माग्ने? रगत दिएर जानेहरुको खेती नहुनु नै देश हो। बिसौ हजारको बलिदानबाट मात्र नबन्ने रहेछ देश। मेहनत, पसिना, शालीनता, माया, विश्वास, सद्भाव, कानुनी व्यवस्था, गरिबनै भए पनि र खानै नपाए पनि पेट थिचेर एक निन्द्रा गतिलोसंग सुत्न सकिने सुनसान र शान्त रात हो देश। सबै बिगारेर हामी कुन देशको कुरा गरिरहेका छौ आज? यस्तो अबस्थामा छ मेरो देश तर पनि मलाई सुन्दर शान्त र विशाल लागिरहेको छ, सही कुरा हो तर नमिठो लाग्नसक्छ र गाली खाईएला तर हाम्रो यथार्थता यही हो। बनाऔ कम्तिमा एक पटक यो देशलाई देश। हातेमालो गरेर खनौ र सुन फलाऔ यही देशमा, बाच्नु त भइगो तर कम्तिमा शान्तसंग मर्न त पाँउ।


मेरो देश आफैमा जड तत्व भएर निरपेक्ष अबस्थामा रहेको छ र सायद म पनि। अनि त देश बाँचेको देख्छु म। कस्तो विडम्बना, कस्तो नियति मेरो? र आफैमा प्रश्न गर्छु के प्रत्येक सूत्रबद्ध कुराहरू निरपेक्ष सत्य हुन सक्छन्? सबै कुराहरु बिर्सौ, आफैमा बिश्बास गरौ र आफैबाट परिबर्तनको सुरुवात गरौ। कसैले बनाई दिदैनन् हाम्रो लागि हाम्रो देश। हामीले बानाउनु पर्छ हाम्रो आफ्नो देश र समाज। हामीले मान्नु पर्छ कानुन, सामाजिक मूल्य र मान्यता, अनि मात्र बन्छ हाम्रो देश हाम्रै सापेक्ष.... सबैलाई चेतना भया.........

»»  पुरै पढ्नुहोस

Sunday, July 19, 2009

कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ।

पार्दापार्दैको तातो-तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को। सन्झना मात्रै रह्यो के गर्नु? रमेश हिजो दुःखेसो पोख्दै थिए। हैन के भयो रमेश दाई आज अचानक सबै कुराको याद किन आयो? मैले सोधे।


के गर्नु? हामीले याद मात्र गर्ने त हो नि, समयले कस्तो कोल्टे फेर्‍यो है? जन्मे हुर्केको ठाँउको याद त सधै आउछनै, कुनै बिशेष समय र परिस्थितिको आगमननै हुनै नपर्ने रहेछ, हैन र? मेलै सहमत जनाए। त्यसो त यादनै गर्नु पर्ने केही त होलानि? मैले सोधे।


के छैन भन्नु खै। कति दिन भयो मेरो मनमा एउटै कुराले जरा गाडेर बसेको छ। दिनमा नै किन? आफ्नो ठाँउको त हरेक समय याद आउदो रहेछ। हिजो मुस्किलले आमासंग कुरा गरेको थिए फोनमा। कैली गाई र काली भैँसी बेचिदिनु भएछ आमाले। कस्ले हेर्ने? कस्ले घस्याउने? “हैन यसो एक मुठ्ठी दूध खान हुन्थ्योनि आमा” मैले सोधे। “बूढी भए अब म; घासकाट्ने त कुरै नगर बाबु, भकारो सफा गर्न पनि नसक्ने भए। तेरो बाबुको त झन कुरै नगर। उहाँ हिजो देबीथान सम्म पनि जान सक्नु भएन। एउटा खुड्किलो चड्योकी स्याँ स्याँ भएर कस्तो गाह्रो, बीच बाटै फर्कनु भयो।“आमाले थप्नु भयो।


अनि के गरेर खाने दूध? फेरि बुबालाई दूध नभई भागै नबस्ने बानी छ। तपाईलाई पनि हर्पेमा टन्न ध्यू नदेखे सम्न निद्रानै आउदैन। हैन र? मैले जान्न खोजे।


“समय रहेछ बाबु, अब बूढाबूढी भइयो, काम गर्नै नसक्ने, गर्न पनि जागर नै नहुने। साह्रै गाह्रो हुदो रहेछ बाबु यो बुढेसकाल त। हामीले दूध त खान्छौ पीर नगर, घर नजिकैबाट अहिले मोटर बाटो खनेका छन्। हिउँद भरि जिप चल्छ। अबको बर्खा सम्म त ढुङगा पनि ओच्छ्याउछन् होला। माथि ठूल्कान्छाले डेरीको दूध राख्छ बेच्नलाई, यसो एउटा रातो पोका ल्यायो, बूढाबूढीलाई दुई छाक पुगिहाल्छनी। ध्यू पनि त्यही पाईन्छनि, नराम्रो चाँही छैन है त्यो ध्यू”, आमाले एकै सासमा भन्नु भयो।


“हुन त हो आमा, तपाईहरुले कति कष्ट गर्नु हुन्छ, जति गर्नुपर्ने हो गरिसक्नु भयो। अब मेरो पालो हो,” मैले सान्त्वना दिन खोजे।


अनि भाई खै त? मैले सोधे।


“भाईले पनि तल बजारमा बिजुलीको काम गर्‍थ्यो, अहिले घरमै छ। काम राम्रो भएन भनेर चिन्ता गरिराखेको छ। बरू मिल्छ भने त्यतै बोलाएर हेर्ने।”


“काम त यहाँ पनि गाह्रो छ तर पनि त्यसो भन्छ भने बिचार गर्नु पर्ला। फेरी तपाईहरू बिरामी हुनु भयो, यसो केही भए त हेर्ने मान्छे पनि त चाहियो नि।” मैले सोधे।


“हेर्न त बुहारी छ नि, यसो बेलामै कमाउन सक्यो भने त्यसलाई पनि काम लाग्ला नि त।” आमाले थप्नु भयो। मैले हस भने।


खेतीपाती के गर्नु भो यसपाली?


कस्ले हेर्ने? कान्छो विदेश जान्छु मात्र भन्छ। त्यती मेसो पाउदैन त्यसले, केटाकेटीनै छ अझै। काम गर्ने कोही नभए पछी के गर्ने, यसपाला देखि अधीमा दिए। गोडा १,२ मुरी आउला, एक दुई महिनालाई पुगिहाल्छ, बाँकी बेसाउनु पर्ला, के गर्ने त? बाटोखुलिहाल्यो, नुनतेल, चामल सबै किन्न पाईन्छ, के का लागि दु:ख गर्नु खै? भाईले पनि सक्दिन भन्यो। कमाउने तँ मात्र हो, कति पुर्‍याउछस् खै? यसो भाईलाई पनि त्यतै बोलाएर काम लगाईस भने, तलाई पनि सजिलो, हामीलाई पनि ढुक्क हुन्थ्यो।" मैले हुन्छ आमा म काम खोज्छु अनि खबर गरुला है त" भने। बिदा भए म त्यस पछि।

“मैले यहाँ काम राम्रो भएन, जतिसुकै मरिमेटेर काम गरे पनि आफूलाई ठिक्कै छ। सबै परिवारसंग सल्लाह मिल्यो भने घर फर्कन्छु। यहाँ गरेको जतिसुकै काम र दुःख गरे भने, गाँउमै पनि यति कमाउन सकिन्छ। खेत छ, बारी छ, खरबारी छ, टन्नै रुखबुट्यान छन्, जे गरे पनि हुन्छ। भैसी पालेर, बाख्रा पालेर, तरकारी लगाएर पनि त हुन्छ नि यहाँ जत्तिको त। मैले सल्लाह गर्न नै फोन गरेको थिए आमालाई। तर भन्नै सकीन।”


“आमाको कुरा पनि ठिकै हो, अब बुढेसकालमा कस्ले गर्छ त?” मैले भने।


“हैन म छु, मेरी श्रीमती छिन्, भाई, बुहारी छिन्। हामी चार जना काम गर्न सक्छौ नि त। भएका बच्चा बच्चीलाई आमाले र बुबाले घरमै बसेर हेर्न सक्नु हुन्छ। हामी चार जनाले एउटा एउटा काम हेर्यो भने पनि त राम्रै हुन्छ नि। फेरि बाटो खुलेको छ। बजार लान सकिन्छ उत्पादन भएका कुराहरु। बाटो खुल्यो भनेर सबै काम छोड्न त भएन नि। घर नजिकैको पसलमा हाम्रो सामान नै बेच्न पनि त सकिन्छ हैन र? हामी कहाँ भएको बस्तु घर नजिकै बेच्दा, ताजा पनि सस्तो पनि हुन्छ नि त। बिकासको त राम्रो फाईदा उठाउनु पर्यो नि।” रमेश भन्दै थियो। मलाई चित्त बुझ्यो उसको कुरा।


“हैन यहाँ, पाउरोटी र बासी तरकारीको के कुरा गर्नु र फेरि पार्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुननै राखेको किन नहोस; कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को हैन र?” मैले टाउको हल्लाए र सहमत जनाए। तर रमेश रोकिएको थिएन।


“हेर साथी म अब घर जान्छु, जसले जे सुकै भनोस। यहाँको बासी पाउरोटी भन्दा त मेरो तिक्ले खोल्साको मूलको पानी नै तागतिलो लाग्छ मलाई। यहाँको शहरी झ्याँउ झ्याँउ भन्दा, बासधारीकै झ्याँउकिरीको आवाज राम्रो। मैले जे गरे पनि मेरै गाँउ ठाँउको लागि गर्नु पर्छ। यत्रो समय परदेश बसेर के गरिस भनेर सोधे भने मैले परदेश बसेर गुन्द्रुक र कोदोको पिठोको मुल्य र महत्व जान्ने काम गरेँ भन्छु। गुन्द्रुक र फापरको मूल्य जाने भनेर भन्छु। मैले यत्रो दिन परदेश बसे तर मेरो सपनामा यो शहरी रमझम कहिल्यै आएन, सपना देख्छु मात्र घरको, त्यही पाखा र खरबारीको।“ रमेशको अनुहारमा चमक आएको थियो।


“बरु त पनि हिड”। रमेशले थप्यो।


“हैन रमेश, तेरो र मेरो परिस्थिति फरक छ। तेरो त नेपाल गए पनि दशनङ्ग्रा खिआएर खाने जमिन छ। पाखा छ, बन छ, खेत र बारी छन्। मेरो त केही पनि छैन। एक प्रकारले मेरो परिवारको एउटा मात्र कमाउने नै म हूँ। मेरो त केही पनि छैन। बूढाबूढी भएका बा आमा, बिबाह गर्ने बेला भएकी बहिनी, आफ्नै पनि त २ वटा छोरीहरु छन्। राम्रो खानेको त कुरै नगर रमेश,बेस्करी हुरी बतास आयो भने की त खाट मुनि पस्नु पर्छ की त नजिकैको स्कूलमा जानु पर्छ। मेरो यहाँ बस्नुको कुनै बिकल्प छैन।“ मैले जे हो त्यही भनिदिए। रमेशलाई नराम्रो लागेछ सायद मेरो नजिकै आयो र अनुहारमा हेरेर भन्यो, “सरी यार। तलाई मैले............................।“ रमेश बोल्नै सकेन


“हेर रमेश तिम्रो त गरेर खाने ठाँउ छ, आफ्नो भन्ने राम्रो घर छ। गर्ने हो भने तिमीले घरमै बसेर धेरै राम्रो गर्न सक्छौ तर मेरो केहि छैन। मैले यहाँ बसिन भने, साहूँको पैसा तिर्ने त कुरै छोड, बिहान बेलुका हात मुख जोड्ने उपाए पनि छैन। देशमै काम खोज्न गाह्रो छ। त्यसैले म अहिल्यै जान्न। तर तिमी जस्ता हुने र केही थलो भएकाहरू यहाँ बसेर हुदैन्, तिमीहरु फर्किएर केही गर। थलो हुनेले र एक छाक खान पुग्ने पनि यसरी यहाँ बसेर कसरी बिकास होला र गाँउ ठाँउको? बरु जाउ राम्रो गर र हामी जस्ता केही नहुनेलाई काममा लगाउन सक्ने बन्यौ भने मलाई पनि त बासी पाउरोटीमा बाच्न मन छैन। पर्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यूको स्बाद मलाई पनि त थाह पाउनु मन छ।" त्यस पछि मैले केही बोल्नै सकिन....। रमेश मेरो काधमा हात राखेर मलाईनै हेर्दै, मेरै अनुहार पढ्दै थियो र भन्दै थियो हुनत हो है कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ र।।।।।।।।

Picture 006

(यो एक सत्य घटना थियो, सात बर्ष पहिले दोहामा काम गरेका मेरा साथिहरुको बीचको बार्तलापको आधारमा लेखिदिए ,रमेश घर फर्किएर निकै राम्रो काम गरेको छ , उसले भने जस्तो गाई, भैसी त पालेन तर पाखा भरि सुन्तला,बास(तामाको लागि) र घर वरिपरी बारीमा तरकारी लगाएर निकै कमाउन थालेको रहेछ। मैले उनको दोहा बसाई र नेपाल फर्किनुको कारण सोधेको थिए धेरै पहिलै, त्यसै बेला उनले भनेको कुराहरूलाई फूलबुट्टा भरेर मैले राखेको हुँ, उनको साथी (म )फर्के वा फर्केनन् थाह भएन , उनको घरको र सुन्तला बारीको फोटो थिएन म संग तर मेरै मावली गाउँमा खुलेको नयाँ बाटोको नै भए पनि फोटो राखैको छु हैँ। यो लेख सबैको लागि लागू नहोला है)

»»  पुरै पढ्नुहोस

Wednesday, July 15, 2009

कसरी तिम्रो नयाँ पति खोजु म????

हुनै नसक्ने कल्पना र मेरो देशले नसोचेको बेदना र सोच। सधै स्वतन्त्र र सालिन मेरो देश कता कता अल्झिएको जस्तो लाग्छ। मैले सचेत गराउनै पर्छ मेरी आमालाई। बेदना र रोदन कति दिन सम्म चल्छ र? एकदिन त पक्कै पनि मेरी आमा हाँस्ने छिन। मैले चाहे झै , मनग्गे माया गर्न सकेको छैन, एक कोणबाट म कायर छु, नालायक छु तर पनि तिम्रो खुसी मेरो खुसी नै हो। कहिले काहीँ जबरजस्ती कसैले हस्तक्षेप गरे जस्तो लाग्छ, कता कता भिन्न प्रकारको चीत्कार सुन्छु। म कसरी मेरी आमा माथीको हस्तक्षेप सहन सक्छु र अझ भनौ कसरी तिमिलाई म हस्तक्षेप हुन दिउँ? मरेर जान्छु तर तिमिलाई कसैको हुन दिन्न, तिमीलाई हेर्ने र तिम्रो स्याहार गर्ने जिम्मेवारी मेरै त हो। जे सुन्ने गरे, जस्तो सुने र जस्तो अनुभव पाँए यहाँ राखेको छु।

“कसरी तिम्रो नयाँ पति खोजु म?”

तिम्रो रोदन कति दिन सम्म

स्थिर भएर चल्ने हो

तिम्रो पीडा कति बेर सम्म

बीच बाटो मै अल्झने हो

थाह नभईकन

रोएको चीत्कार सगै

आमा

तिम्रो म र मेरी तिमी

भक्कानो बाहेक केही छैन

सायदै समान

किन रुन्छौ तिमी

तिमी संग बढी भन्दा भढी

बेदनाको अनुभूति छ

मलाई जन्मायौ र भाई पनि

कयौं दिदीहरु जन्मदै गए

तर पनि किन यस्तो सानो कुरामा

किन आमा

बरू सक्दिनौ भने भन

कति छोराहरु मारिनु पर्छ

मैलेनै खोज्ने छु तिमीलाई

तर पनि किन अल्मलिन्छ्यौ आमा

सत्य थाह छ तिमीलाई

बाध्यता थाह छ तिमीलाई

तैपनि किन खोज्छ्यौ

सुकिलो बाउ र चिल्लो पति!!!!!!!

तिम्रा सबै सन्तान कायर भए

कायर जन्माउने तिमी

कायर भएर किन रुन्छ्यौ

पीडा त तिम्रो जन्मजात पेवा हो

सुख तिम्रो दुश्मन

तैपनि आमा के को आशा गरेकी छौ

तर मलाई थाह छ

किनकी म हेरी रहको छु

तिमी माथी लागेका आँखाहरु

देश प्रदेश र दूरदेशबाट

तिमी माथीको नजरहरु

म अन्यौलमा छु

कसरी

कसरी छान्छ्यौ नौलो बाउ

कसरी चिन्छौ आफूलाई माया गर्ने पति!!!!

कसरी जोगाउछ्यौ आफूलाई यहाँ

किनकी

नालायक र काम चोर छोराहरु

हेरिरहेका छन्

नौलो बाबु र ललिपप।।।।।

जन्मायौ किन म र मेरो भाईहरु

थाह छ मलाई पाप लाग्छ

तैपनि केहि गर्दिन म

हास्छु तर चुपचाप

देख्छु बन्द तर खुल्ला हस्तक्षेप

नाङ्गो दाउपेच र

गोप्य बलात्कार

तर पनि आमा आशा गर

कोही त होलान सुद्रिएका छोराहरु

तिम्रो कोखमा खोट छैन

तर

कसरी खोजु म अर्की आमा

बेदना मात्रै हुदा पनि बाचेकी तिमी

बिना बाबु जन्माईएको म

तर पनि

जन्माउदै र हुर्काउदै

आफ्नो बैँस फालेकी तिमीलाई

कसरी तिम्रो नयाँ पति खोजु म ???।।।

»»  पुरै पढ्नुहोस

Saturday, July 4, 2009

फुकोका टावर(Fukuoka Tower):

Fukuoka टावर: जपानका हरेक सहरले समान रुपमा बिकासको लेप लगाएका हुन्छन्, कम र बढी भन्ने हुदैन। जापानको प्राय जसो ठूला सहरहरु बिभिन्न बहानामा धुम्ने मौका मिलेको छ तर पनि Fukuoka सहर मेरो लागि बिशेष छ। त्यसको पछाडि बिभिन्न कारणहरु छन् तर म आज त्यो कुरा गर्दिन। मैले कुरा गर्ने खोजेको कुरा हो Fukuoka सहरमा रहेको Fukuoka टावर र त्यसबाट देखिने सहरको दृष्य।
जापानको ठूला सहर मध्य एक Fukuoka सहर म बसेको ठाउँ बाट लगभग ४५ मिनेटको रेल र १ धण्टाको ड्राईभ दूरीमा पर्छ। बास्तबमा २३४ मीटर अग्लो समुन्द्रिक तटमा रहेको जापानकै सबै भन्दा अग्लो Fukuoka टावर १९८९ मा १४ महिना लगाएर बनाईएको हो। यसको लागत मूल्य जापानी 6,000,000,000. यन लागेको थियो रे जुन मूल्य हालको लगभग 62,536,212 US डलर बताईएको छ। (यो मुल्य मैले बिभिन्न साईटमा खोजेको हो है जुन कुरा मैले भ्रमणको बेलामा पनि बुझ्न खोजेको थिए तर सकिन।)। ७ रेक्टरस्केलको भूइँचालो र ६५ मी.प्रति सेकेण्डको हावाको बहावलाई थेग्न सक्ने रहेछ।
यो टाबरको माथि तीन तहहरु रहेछन् जहाँबाट पूरै फुकोका सहर हेर्न सकिदो रहेछ। पहिलो ११६ मी. को उचाइमा, दोस्रो १२० मीटरमा आरम गर्न र जापानी परिकारको मजालिदै पूरा फुकोका सहर हेर्न मिल्ने रेष्टुरेण्ट, र तेस्रो १२३ मीटरको उचाइमा दूरबिनहरु राखिएका रहेछन्।
गत केही महिना अगाडि मेरो एक जना साथीलाई नेपालबाट मेरो विश्वविद्यालयमा निमन्त्रणा गर्ने मौका मिलेको थियो, त्यँही क्रममा उहाँलाई Fukuoka सहर घुमाउने मौका मिलेको थियो। आज त्यँही बेला खिचेका तस्बिरहरु राखेर अल्छी गरेको छु है।
हामी दिहुँसोको समयमा गएकोले रातिको समयमा कस्तो देखिन्छ आफैले अनुभब गर्न सकिएन तर ईन्टरनेटबाट एउटा रातिको समयमा लिएको फोटोपनि राखेको छु(http://adlpena.com/great_places.htm )। यी तस्बिरहरु लिन र हामीलाई त्यो ठाँउमा धुमाउन सहयोग गर्नु हुने डा. अर्जुन कुमार थापालाई बिशेष धन्यबाद!!!
तस्बिर १: मेरो साथीलाई Fukuoka सहर घुमाउदै, मेट्रो बाट झरेर हामी हिड्दै थियौ।।।

तस्बिर २:यो तस्बिर मैले माथि भनेको श्रोत बाट लिएको हो। हामी यो ठाउँमा पनि गएका थियौ तर क्यामेराको ब्याट्रीले साथ दिएको थिएन।।।।

तस्बिर ३: टावरको अगाडि मूल ढोका। तस्बिर ४:टावरको अगाडिबाट खिचेको फोटो

तस्बिर ५: यो टाबरको माथि बाट खिचेको फोटो हो। यो देखिएको समुन्द्र माथिको धर वास्तबमा विबाह गर्ने र भोज गर्नको लागि प्रयोग हुदो रहेछ।

तस्बिर ६: टाबरबाट देखिएको Fukuoka सहरको दृष्यहरु

तस्बिर ७: हामी बेलुका सम्म बस्न सकेनौ त्यही कारण यो सुन्दर दृष्य भने हेर्न पाईएन, त्यसैले अन्य श्रोतबाट राखे है।

तस्बिर ८: जादा जादै यो Fukuoka सहरको बाटो। निकै सफा हुदोरहेछ।

»»  पुरै पढ्नुहोस

Monday, June 29, 2009

कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो?

हामी सभ्यताको त्यो कालखण्डमा उभिएका छौ जो कुनै पनि मानब सभ्यताका लागि नहुने हैन तर यति भयानक शायदै हुन्छ होला। ईतिहासको हरेक पानामा हामीले हेर्दै जाने हो भने, संसारमा मानव ताको बिकासक्रममा दिनप्रतिदिन प्रगति र बिकासको दौड भईरहेको हुन्छ। कुनै पनि समाजको बिकासमा हरेक तप्काको आफ्नै योगदान र क्रमिक प्रगति देख्न पाईन्छ। हरेक देश वा समाजले आफूले पाएको हरेक समयलाई पूर्णरुपमा यसरी सदुपयोग गरेको हुन्छ कि हरपल ब्यबस्थित र अनुशाशित सभ्यताको बिकास होस। जुनसुकै पनि देश वा राष्ट्रको निर्माण सगै अनेकौ दुखद घटनाहरुले स्थान पाएको हुन्छ तर पनि अब्यबस्था बाट ब्यबस्थातिर, छरपष्ट समाजबाट समालिदो समाज, हत्या हिंसाबाट शान्त र मर्यादित समाज कुनै नौलो पद्वति हैन। हरेक राष्ट्रले यो सिलसिलालाई आत्मसाथ गरेको हुन्छ।

हाम्रो छिमेकी मुलुक भारत होस वा बिकासको चरम उचाईमा पुगेको भनिएको अमेरिका नै किन नहोस, हरेक पटक अशान्त, परनिर्भरता र असभ्य समाजको ईतिहासको सुरुवात सगै, क्रमस बिकाश हुदै आएको कुरा सबैलाई थाह भएकै कुरा हो। तर हाम्रो देश आज बिलकुल विपरीत बाटोबाट गुज्रिएको छ। गरिब तर केहि हदसम्म शान्त र व्यवस्थित समाजबाट हरेक दिन अव्यवस्थित, अशान्त र छरपष्ट समाजको बिकाशमा लागेका छौ। चाहेँ कानुनी ब्यस्था होस, चाहेँ राजनैतिक स्थिरता, चाहेँ सामाजिक सुरक्षा नै किन नहोस जताततै एकनासले लथालिङ्ग र काम्लोमा पोखिएको सातु जस्तो गोलमाल मात्रै भएको छ।

आज जो कोहि नेपालीलाई देशको माया छ र गर्छन, सानो भन्दा सानो घटनाक्रमले हरेक नेपालीलाई संवेदनशील बनाएको हुन्छ र देशको यो हालत प्रति निकै दु:खी हुने गर्छौ तर पनि हामी किन एक छैनौ?

विगत केही समय यता हाम्रो समाजमा घटेका सानातिना घटनाक्रमलाई हेरौ र आफैमा प्रश्न गरौ।

हामी कुनै शिक्षकलाई शरीर भरि रगत जम्नेगरि निलडाम बनाई मरणाशन्न हुनेगरि कुट्छौ, भोलि पल्ट दोषीहरुको अबिर जात्रा हुन्छ र समाजमा ईज्जतका साथ पुनर्आगमन हुन्छ। यस घटनाको दोषी को हो? वा को माथि अन्याय परेको छ? ब्यक्ती बिषेश द्वारा वा ब्यक्ती माथि परेको अन्याय भन्दा पनि हामीले मान्दै आएको कानुनी राज्यको अबधारणा माथिको प्रश्नचिन्ह हो यो। हामीले के आशा गर्ने यो पद्धतिबाट?

राज्यले एकै मुद्वाका तीन दोषीहरुलाई गिरफ्तार गर्छ। तीनै जनालाई एकै प्रमाण र एउटै अभियोगमा एकै कानुनी धाराको हबला दिएर कारबाही अगाडि बढाउछ। तर नाटकीय पराकाष्ठा यो हैन। त्यी मध्य एक जसको समाजिक पहुँच छ, जसको ठूला भनाउदाहरुसंग पहुँच छ, जसको राजनैतिक पहुँच छ, उसलाई राज्यको कानुनको सुबिधा फरक हुने गर्छ। अदालतमा तारीख बोक्ने दिन, उ कारबाट यसरी आउछ कि उसलाई कुनै हिनताबोध छैन। तारेख थामेर यसरी बाहिरिन्छ कि मानौ कुनै पुरुस्वार्थ गरेर फर्केको छ। तर त्यी मध्य दुई जना जसको कुनै पहुँच छैन उनिहरु प्रहरीको हातकडी सहित उपस्थित गराईन्छ। लागिरेछ कि कानुनले कुनै नाटक मञ्चन, गरिरहेको छ।

कुनै राजनैतिक कार्यकर्ताको हत्याको आवेगमा देशनै, समाजनै ठप्प हुनेगरी बन्द गरिन्छ। तोडफोड गराईन्छ। अस्पताल जान लागेका डाक्टर माथि दूरब्यवहार गरिन्छ, उनको वाहन जलाईन्छ। कुनै उमेर को हद हुदैन गलत ब्यबहार गर्न र आतङ्कित बनाउन। कयौ बिरामी बाटोमा अलपत्र पर्छन, हरेकले सास्ती भोग्नु पर्छ। तर दुर्भाग्य त्यसको भोलिपल्ट आत्महत्या हुन सक्नेगरी बिष सेबन गरेको आसयको पोष्टमार्टमको रिपोर्ट आउछ्। आन्दोलन बन्द हुन्छ। फेरि कसैमाथि कारबाहीको त कुरै छाडौ, आफूबाट गल्ति भयो भन्ने समेत कुराको कतै कुनै कुरा सुन्नमा आउदैन।

५-६ बर्ष अगाडि कुनै नेताले अदालतलाई दरबार भित्र लगे हुन्छ भन्ने बिषयलाई लिएर मानहानीको मुद्दा चल्छ। ५-६ बर्ष अगाडि भनेको कुरा तन्कालिन ब्यबस्था र परिस्थिति संग अहिले कुनै कुरा नमिल्ने भएकाले मानहानीको मुद्दाबाट सफाई दिईन्छ। अब प्रश्न उठ्छ, के अदालत त्यही हैन? त्यहि बेन्च, त्यही स्थान, त्यही कानुन मान्ने अदालत तर कसरी फरक हुन गयो आज? अदालतको मानहानी सम्बन्धित परिभाषा के फरक भएको हो? यसको मतलब अदालतले भन्नुपर्छकी, ५-६ बर्ष पहिला यसले सही र यथोचित न्याय संपादन गर्न सकेको थिएन। नत्र अदालतको मानहानी वा अदालतको अपमान स्बतन्त्र र निष्पक्ष रहेको अबश्थामा समय सापेक्ष कसरी परिवर्तन हुन पुग्यो?

ख्याती श्रेष्ठको हत्या प्रकरणसंगै उनलाई न त समाजले न त कानुनले, न त कानुनको रखवालाले बचाउन सक्यो। कानुन माथिको बिश्वासको कमि र अनुसन्धानको तरिकाको कमिले गर्दा श्रेष्ठ परिवारले एक असल छोरीमात्र हैन, समाजले विलक्षण प्रतिभाकी धनी, सुन्दर र सभ्य नागरिक गुमाउन पुग्यो। हत्याको अनुसन्धान वा तहकिकात कुन हद सम्म निम्न स्तरको छ भन्ने कुराको यथार्थता प्रष्ट हुन पुग्यो जब कानुकका अधिकारीद्बारा पैसा दिने कागज गरेर ख्यातीको शरीरका अंगहरु फेरी हत्याराबाटै किन्ने काम भयो। आशा छउन्जेल ख्यातीको परिवारबाट १० लाख लिएको हत्यारा, कानुनको दाएरा भित्र आउदा समेत कानुनका रखवालाहरुसंग ख्यातीको शरीरका अंगहरुको ब्यापार गर्दे छ। बैज्ञानिक अनुसन्धान गर्न छोडेर ईमोसनल ब्लायकमेल गर्न आतुर यी कानुनका रखवालाहरु फेरि कानुकमाथि बलात्कार गर्दै छन् । यी त केही चर्चामा आएका कुरा मात्र हुन् । मेरो प्रश्न त्यसता अनेकौ कुराहरुमा हुन् जहाँ, हरेक पटक एउटा न्यायको आशा गरिएको हुन्छ जो न्याय एक नेपाली मात्र भएर सम्पादन होस।

कुनै यस्तो स्थान छैन, जहाँ कसैको मन नदुखेको होस, तल्लो भन्दा तल्लो स्तर देखि सिंहदरबार सम्मको यो अराजकता कहिले सम्म चल्ने हो? के यो देशले अझै यो भन्दा पनि अराजक र अब्यबस्थाको नियती भोग्न बाँकी छ? कसले बिचार पुराउने यसकुरा मा खै? “कलियुग लागे पछि घर घरमा राजा हुने छन्” भन्ने धार्मिक अभिब्यक्ति के साचो हो त? कलियुग के नेपालमै मात्र हुने हो र? नारायणहिटीको एक श्रीपेचको अवसानसंगै हरेक गाँउको हरेक घरमा हजारौ र करोडौ नयाँ श्रीपेचको उदय के यसै भएर राजेन्द्र ज्ञवालीले भन्नु भएको हो त?

आज हाम्रो नियति यसरी बिग्रिएको छ कि, एक आम नागरिक आफूलाई परेको अन्यायबाट मुक्ति पाउन कहाँ जाओस। कुनै यस्तो संस्था वा ब्यत्ति छैन जहाँ एक नेपाल र एक नेपालीको भावना मिलोस, जहाँ राजनैतिक मुद्दा भन्दा माथि उठेर नेपाल र नेपालीको हितमा न्याय सम्पादन होस। अब त हाम्रो नियती यस्तो बन्दै छ, केही नभएसम्म देशमै बस, अन्याय भोग्नु पर्यो भने आफूमाथिको अत्याचार भुल्न बिदेशिनु बाहेक कुनै बिकल्प छैन् । कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो? यस्तो नहोस अब र हामी हाम्रो हरेक कुरामा नियन्त्रण आफैले गर्न सकौं नकि फेरी नियन्त्रण गुमाएर कुनै पराईको गुलाम हुन नपरोस। सबैलाई चेतना भया।।।।।।

»»  पुरै पढ्नुहोस

Thursday, June 18, 2009

मन र निदाएका बुध्द

जब मनहरु आतड.कित हुन्छन तब हरेक पटक नजानिदो तान्द्राको भरमा आफूलाई उभ्याउन र शान्त पार्न खोज्छ। अनेकौ पिडा र खुशीहरु फुकाउनै नमिल्नेगरी अल्झिएको गाठो होला सायद यो मन। जति तन्काए पनि तन्किन्छ, जति छोट्याए पनि छोट्टिन्छ तर फुकाउन खोज्यो मात्र निरर्थक।

कसरी हुन्छ शान्त?, के ले होला आफ्नो उद्धार? स्बयमको उद्धारमा लाग्ने बानि मै समय खेर गईरहेछ। सोच्ने बानि मै र आफै भित्रको द्धन्दले कता कता मन प्लवन हुन्छ अनि नजानिदो पाराले पलायन। जति तरल भएपनि आशाहरु र जिज्ञाशाहरु बग्नै मान्दैनन्, मानौ न्यून तापमानमा जमेको छ मन्। आगो लागेको छ, धुँवा निस्केको छ र मनको राप बाहिर सम्म निस्केको छ, त्यै पनि किन मन अनि आशाहरु जमिरहेका छन् ? सोच्न बाध्य भएर कयौ चोटी आफैलाई सोधेको छु वा भनु झड्कारेको पनि छु तर फगत अनुत्तरीत मनहरु।बिना सिमाना, बिना परिधि, त्यसै त्यसै निश्चित दाएरामा बाधेर मनहरुलाई घस्याउन खोज्छु ताकि शान्त होस र मनग्यै अघाएर बसिरहोस् । तर पनि ईच्छाहरु निश्चित आकारमा बस्नै मान्दैनन् । मन अब मनहरु भईसके सायद ‍भिन्न भिन्न परिधिमा छन् अब तै पनि निदाएका छैनन् ।

एकमात्र हैन, अनेकन रुपमा मनहरु रोएका छन् । अभाबले, अज्ञानताले, बन्दूकले, तातो गोलीले, दबाबले, मजबुरीले, पिडाले, बिछोडले, गुलामीले, बन्दले, हड्तालले, भ्रष्टचारले, अपराधले,हत्याले, बलत्कारले,।।।उफ!! कति हो कति। कयौ पटक मनहरु उत्तर पाउने आशामा यिनै बीच रुमलियो। तर अभाब देखी, गुलामी हुदै बलत्कार सम्म कतै छैन उत्तर। जिज्ञाशामै आफै रुमलिएर बसेको मन र नजानिदो पिडाहरुले कतै पाएको छैन यसको उत्तर तर पनि खोजिरहेको छ र बस् खोज्दै छ।

पिडा पछिको पिडा, रोग पछिको रोग, समस्या पछिको समस्या कत्तिको दर्दनाक हुन्छ सोच्नै सक्दिन तर पनि आशाहरु छन् मेरो मन भित्र। आशा र निराशा सगै यी मनहरु सोच्न थाल्छन र टोलाउछन्। कतिखेर निदाउछ थाहै पाउदैन र सपनाको रँगमञ्चमा आफूलाई दर्शक बनाएर हेर्न पुग्छ्। रँगमञ्चमा कलाकारहरु कथासगै अगाडि बढेका हुन्छन् र अन्तिममा बुध्द निदाएको दृष्य सगै रँगमञ्चको पर्दा बन्द हुन्छ। पर्दा बन्द हुदा नहुदै आँखाहरु खुल्छन फेरि उहि कथा !! उहि परिदृष्य !! उहि घटनाक्रम। सायद हामिले रोजेको र अन्त गर्न नचाहेको कथा हो यो।

तस्बिर श्रोत:www.flickr.com

»»  पुरै पढ्नुहोस

Saturday, June 13, 2009

विडम्बना (लघुकथा)-रिमिक्स

दिलिपजीका लघुकथाहरु आँफैमा अतीनै सुन्दर र यथार्थ परक हुन्छन। यसो हुँदा हुँदै पनि आज एउटा कथामा रिमिक्स गर्न मन लाग्यो। राम्रो होला वा नहोला तर मलाई लाग्योकी गोरखापत्रमा(२५-०२-२०५८)त्यो बेला यो कथा प्रकाशित हुँदा र अहिलेको परिस्थिती फरक छ। अनी केही थपेर यहाँ राखेको छु। लेखकको बिचारको उच्च कदर गर्दै; यसलाई साधरण रुपमा र रमाइलोको रुपमा लिनु होला।

उसले निकै मेहनत गरेर मात्रै आफ्नो पढाइ पूरा गरेको थियो । घर-गाउँ छाडी काठमाण्डौमा बसी पढ्दा आर्थिक समस्याले पनि उसलाई सधैं सताउँथ्यो, जे होस् निकै संघर्षपूर्ण तरिकाले उलसे कानुनमा स्नातक गर्‍यो ।

पढाइ सक्काउन त गाह्रो छँदैथियो, काम पाउन उसले झनै मुश्किल महसुस गर्‍यो । महिनौंको शीष्टाचार र अनेकौं पत्राचारले पनि काम नपाएपछि उसले आफ्ना अरु दुईजना साथीसंग मिलेर ‘ल फर्म’ खोल्ने निधो गर्‍यो ।

जसो-तसो २-३ महिनाको बहाल जम्मा गरी उसले पाएक पर्ने ठाउँमा यौटा अफिस खोल्यो । अनी कार्यालयको बाहिर यौटा बोर्ड झुण्यायो: “यहाँ कानुनी सल्लाह दिईन्छ”, कार्यालय भर्खरै खोलेको र कोठामा भएको फोनको पनि अधिकतम उपयोगिता लिन साईनबोर्ड मुनि सानो अक्षरमा थपियो “साथै टेलीफोन सेवा पनि उपलब्ध छ”

दिन बित्दै जाँदा, कानुनि सल्लाह लिन आउनेको भन्दा फोन गर्न आउनेको संख्या बढ्दै जान थाल्यो । शुरु शुरुमा भाडा उठाउन पनि मुश्किल हुनेमा बिस्तारै बहाल तिरी केहि मुनाफा समेत हुन थाल्यो ।

केही समयपछि एकदिन उनिहरुको बीचमा गम्भीर छलफल भयो। त्यसको भोलिपल्ट उनीहरुको साईनबोर्ड परवर्तन गरिएको थियो:- “यहाँ एस. टी. डी. र आई. एस. डी. सेबा उपलब्ध छ” अनी साईनबोर्डको अलि तलपट्टि सानो अक्षरमा लेखिएको थियो ‘साथै यहाँ कानुनी सल्लाह पनि दिईन्छ।’

तर समयले कोल्टे फेर्यो, देशको स्थिती र सामाजिक परिबेश निन्तान्त फरक हुँदै आयो। आर्थिक संकटको बाबजुत ,सबै को हातमा मोबाइल फोन भयो, र कानुनी उपचार गाँउ गाँउमा हुँन थाल्यो र राज्यको कानुन कसैको सरोकारको बिषय भएन शायद। यस पटक न पसल खुला थियो न त कुनै साईनबोर्ड। खियालागेर प्वाल परेको सटरको बिचमा साईनबोर्डको नाममा लेखिएको थियो "टु-लेट"। मलाई अचम्मै लाग्यो र पल्लो पसलमा सोधे अनी पत्ता लाग्यो कि उनीहरु त पासपोर्ट बनाउन जिल्ला तिर लागेका रहेछन् । सबैलाई चेतना भया..................

वास्तविक कथा पढ्न यहाँ क्लिक गर्नुहोला



»»  पुरै पढ्नुहोस

Wednesday, June 3, 2009

मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु

मनमा के के आयो आयो। के हो र के हैन? कस्तो भएको छ र कस्तो भएको छैन? किन र कसरी ? त्यस्तै त्यस्तै भयो यो मन। मनको नजानिदो चालले कता कता पुरानो घाऊ लाई दर्खरायो, पिडा त्यसैबाट बगेर आयो अनी थाम्न खोजे, समालिन खोजे र आफुलाई फगत थुम्थुमाएर राखे। अनेकौ रुपमा पिडाहरु बल्झिन्छन् बिना कारण र बिना रुपमा। कती त समालिन पनि सक्छन् तर कती समालिन खोज्दा खोज्दै पोखिन्छन्। जिबनमा हरेकको आफ्नो आफ्नो भोगाइ, आफ्नै अनुभबहरु र आफ्नै तरिका हुन्छ जिउने तर हरेकले आफुलाई पिडा भन्दा माथि राख्न खोज्छ। तर म अलिक निरपेक्ष भएको छु, पिडा र सुखको एक अतभुत चाहना भएको छ एकैसाथ। "माया नगरु तिमी रिसाउने पीर, गरुम तिमीलाई पिडा हुने पीर".............

त्यसैले
चाहेको छैन तैपनी सम्झेको छु
मन भरी पिडा छ तैपनी हाँसेको छु
समालिन खोज्छु तैपनी छरपस्ट भएको छु
नपिउन खोज्छु तैपनी मातेको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

रोएको छैन मन तैपनी आँसु झारेको छु
च्यातिएको छैन मन तैपनी टालेको छु
आत्तिएको छैन मन तैपनी समालेको छु
बिलाउन खोजेको छु तैपनी बाचेको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

थामिएको छ सास तैपनी फेरेकै छु
खुट्टाहरु बाधीएका छन् तैपनी हिंडेकै छु
सून्य भएको छ मन तैपनी भावहरु अंगालेकै छु
जोडिएको छैन मन तैपनी यान्त्रिक बनाएको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।

झिरले रोपेको छ मुटु तैपनी चलाएकै छु
सधै नउठ्न खोज्छु तैपनी बिहान उठेकै छु
नसम्झन खोज्छु तैपनी सम्झीराखेको छु
दौडिएको छैन मन तैपनी बिश्राम लिएको छु
किनकी
मानेको छैन मन तैपनी बिस्तारै भुल्दै छु ।
किनकी........................तिमी हाँस्दा मलाई बिर्सियौकी भन्ने पीर, तिमी निरास हुँदा मलाई सम्झेर दु:खी भयौकी भन्ने पीर..........ल हेर्नुस त कस्तो छ यो मन ।
»»  पुरै पढ्नुहोस

Monday, May 18, 2009

श्रीमती लुना र उनको लोग्ने पाउल

नयाँ ठाउँको परिबेश हरेक पक्षले सोचनिय हुन्छ। संसारको हरेकमुलुकसँग आफ्नै खालको चलन र संस्कार हुन्छ। त्यही संस्कारले मनिसलाई हरेक कुरामा अव्यस्त गराउदो रहेछ। त्यसैले होला हरेक समाज आफ्नै संस्कारले पोशित हुन्छ र आफ्नो संस्कारलाई प्राण भन्दा पनि ठूलो मान्ने कारण। मानिसको जन्म भएदेखि उसको संस्कार सुरु हुन्छ र आफुले जान्ने नहुँदा परिवारले र आफु जान्ने भए पछी आँफैले आफ्नो संस्कारलाई मान्दै अगाडि बढ्छ।
म अमेरिकाको भर्जिनिया स्टेटको फल्स चर्चको एउटा सानो बस्तीमा आफुलाई नौलो ठाउँको पारीबेशमा अव्यस्त गराउदै थिए। अमेरिका जानु अगाडि मेरो थुप्रै जिज्ञासाहरुको उतर बाँकी थियो। आफुलाई नौलो सामाजिक पारीबेशमा ढाल्न कत्तीको सक्छु, म त्यसको प्रयोगमै थिए। म जुन घरमा बस्थे त्यसैको छेउमा अर्को घर थियो। मेरो नयाँ ठाउँको, नयाँ समाजको बिल्कुल नयाँ छिमेकी। गएको पर्सी पल्ट मात्र मलाई थाह भयोकी त्यो घरमा पनि कोही बस्दो रहेछ। नत्र प्राय सुन्सान सडक,शान्त र बिना होहल्लाको बस्ती त्यो, रातको बेला झ्याउकिरीको आवाजले कता कता म अमेरिकामा हैन, नेपालको चारकोशे झाडीमा हराएको त छैन जस्तो हुन्थ्यो। केही समय निकै अत्यास लाग्यो मलाई त्यो बिना हल्लाको, बिना कोलाहलको बस्ती। शायद बिना हल्ला र बिना कोलाहाल मेरो संस्कार थिएन, निकै गाह्रो होला जस्तो भयो मलाई केही समय। तर नयाँ परेबेशमा आफुलाई ढाल्नै पर्ने थियो र केही समयमा त्यो नयाँ बातावरणपनि मेरो बानी पर्ला भनेर चित्त बुझाउनु बाहेक मेरो लागि कुनै उपाए सुझाएको थिइन।
म मेरी श्रीमती र छोरी घरमै बसेर दिनभरी जस्तो कोठाहरु मिलाउदैमा फुर्सद थिएन। न त कुनै छिमेकिसँग परिचयनै भएको थियो। के गर्नु, घरमै बसेर नयाँ नयाँ कुराहरुको बारेमा परिवारसँग छलफल गरेरै गयो २, ३ दिन त। कुनै नौलो मानिस घरको बहिरबाट हिंडेको देख्दा,हामी झ्यालबाट उस्लाई हेरेर बसिन्थ्यो।
हामी घरको काममा त्यो दिनपनि बिहानै लागेका थियौ, हाम्रो घरको ढोकाको बेल बज्यो। म त कल्लिङ बेलको आवाजले एक पटक अलमल्ल परे, के गरुम के गरुम जस्तो भयो। हामी तीन जनानै ढोका खोल्न गयौ। करण हामीलाई कस्ले चिन्छ र यहाँ? अनी को हुन सक्छ? यस्तै सोचेको थिए मैले। फेरी नयाँ मानिससँग बोल्न र उसको बारेमा जान्न हामीलाई निन्तान्तै नौलो थियो। मैले ढोका खोले।
"I think you guys are new here " एक जना बुढी, लगभग ८० बर्षकी सफा र हसिली आईमाई हामीलाई सोध्दै थिएन। मैले हो भने। उनीलाई भित्र आउन भने तर आउन मानिनन् । तिनीले आफू पल्लो घरमा बस्ने कुरा बताइन। हामीलाई खुशी लाग्यो तपाईंसँग भेट भएर भने मैले। धरै बेर कुरा गरिन त्यी बुदी आमाले। कुरै कुरामा थाह भयो, उनी लुना रहेछिन र उनी आफ्नो लोग्ने पाउलसंग पल्लो घरमा बस्दिरहेछिन। पाउल अमेरिकन कम्पनीका अबकाश प्राप्त कल्र्क रहेछन। श्रीमती लुना ८२ बर्ष र उनको पाउल उनी भन्दा ८ बर्ष जेठो रहेछन्। कुरै कुरामा थाह भयो उनी दमको रोगी र पाउल मुटुको रोगी रहेछन। पाउलको मुटुमा pacemaker राखेको पनि १४ बर्ष भएछ र हिजो आज उनी बाथको रोगले ग्रस्त रहेछन्। यही बिचमा मैले उनलाई धेरै पटक भित्र आउन आग्रह गरे तर उनले मानिनन् । उनले हामी नयाँ भएकोले, आफ्नो घरमा आउन र उनी सँग बोल्न कुनै आपत्ती नहुने र यसो गरेमा उनी र उनको लोग्ने पाउल समेत खुशी हुने कुरा बाताइन र बिदा भईन।
त्यो समय यता हामी काममा व्यथ रहयौ। छोरीको स्कूल, मेरो र श्रीमतीको जागिर निकै कुदाकुद भयो। हामी काममा जादा र कामबाट फर्किदा श्रीमती लुना र पाउलसँग उसको घर अगाडि भेट हुन्थ्यो र हामी उनीहरुसँग झ्याम्मिएका थियौ। मेरो छोरीलाई उनीहरु एकदमै माया गर्थे र छोरीपनि उनीहरुसँग खुब रमाउथिन। हरेक पटक भेटहुँदा छोरीलाई चक्लेट वा केही कुरा दिने भएर पनि होला, मेरो छोरी अनेक बहानामा उनको घरमा जान हुरुक्कै गर्थी। यही बिचमा हामीले त्यी जोडीलाई खाना खान बोलायौ र हामीपनि उनीहरुकोमा गयौ। राम्रो सम्बन्ध भयो उनको र हाम्रो परिवारको बिचमा। श्रीमती लुना अली बढी बोल्ने र बढी फरासिली लाग्थ्यो मलाई किनकी पाउल त्यती बढी नबोल्ने र धेरै जस्तो आफ्नो दुखेको धोडा थिचेर बस्ने गर्थे। जे होस उनीहरु यो समय काट्नलाई अनेकन उपाए गर्थे, बुढा बुढी बाहिर बसेर खुब गन्थन गरीरहेका हुन्थे।
एकदिन म बेलुका चाडै घर आएर घर अगाडिको लामो भएको घाँस काट्ने तर्खरमा थिए, श्रीमती लुना र पाउलको गाडी आयो। उनको घरको पार्ककिङमा गाडी रोकेर दुबै जना गाडीबाट ओर्लिए। श्रीमती लुना र पाउलको अनुहारमा नजानिदो मुस्कान थियो त्यो दिन। मलाई जिज्ञाशा लाग्यो त्यो खुशीको बारेमा बुझ्न तर सोध्न सकिन। श्रीमती लुना मेरो नजिकै आईन र भनिन्:
"You know!! we have good news today!!" मैले सुन्नमन लगेको कुरा बाताए।
"Today we bought cemetery land for us, it expansive but very nice" म त एकछिन अकमक्क परे। महंगो तर राम्रो चिहान किनेको कुरा? कता मैले श्रीमती लुनाको ईंग्लिश त बुझिन? आँफैलाई प्रश्न गरे। श्रीमती लुना भन्दै थिईन, उनीहरुलाई जिबन भरी सगै दु:ख सुख बाडेर, हासेर बिताएको समय, मरे पछी छुट्टीनु पर्ने पो होकी भने ठुलो पिर रहेछ। आजै उनीहरु आफु मरे पछी आफ्नो स्थान पक्का गरेर आफुलाई राख्ने चिहानको [cemetery (from Greek κοιμητήριον: sleeping place)]लागि जग्गा किनेर आएका रहेछन। श्रीमती लुना भन्दै थीइन अब भोली उनीहरु मरेपछी लगाउने नयाँ कपडा किन्न जाने रे। म केही पनि बोल्न सकिन। बिगत कयौ दिनबाट यि जोडी केही कुरामा हतार भए जस्तो, अझै केही गर्न बाँकी भए जस्तो लग्थ्यो। म चुपचाप उनको कुरालाई सुन्दै गए, हो मा हो मात्र मिलाउदै गए। श्रीमती लुनाको कुरा सुन्दै पाउल गाडीको ढोकामा बसेर मन्द मुस्कानको साथ टाउको हल्लाउदै थिए। मैले यो भन्दा अगाडि पाउलको अनुहारमा यस्तो मुस्कान कहिल्यैपनि देखेको थिएन।
मैले त्यो बेलुका खानापनि खान सकिन, धेरै बेर श्रीमती लुना र पाउलको अनुहार मेरो अगाडि आयो, उनीहरुको अनुहारको मुस्कानले कता कता मलाई पिडा भयो। कस्तो सहजसँग मृत्‍युलाई लिएका छन् यिनीहरु, कस्तो मृत्‍युको पूर्व तयारी। सायद संस्कार। सहज जिबन र सहज मृत्‍युको कारण हुनसन्छ यिनीहरु मृत्‍युको यो तयारीमा अव्यस्त । बेलुका मेरी श्रीमतीलाई यो कुरा भने , निकै बेर उनी पनि केही बोल्न सकिनन्। हामी चुपचाप सोच्दै थियौ मृत्‍युलाई स्वीकार गर्न कती गाह्रो काम हो तर श्रीमती लुना र पाउल............छोरी भोली आइतबार श्रीमती लुनाकोमा जान्छु है भन्दै थीईन ...............
»»  पुरै पढ्नुहोस

रिमिक्स: सिहँ र खरायोको कथा- मुर्ख खरायो

एउटा कथा सुन्नु भएको छ? हामी सानो हुँदा खुब मज्जा लिएर पढियो नि, कक्षा ३ मा हो कि ४ मा याद भएन मलाई। सिहँ र खरायोको कथा।
खुब आतंक थियो त्यो जङलमा,सिहँको तनाशाही खुब चलेको थियो। हरेक दिनमा एक जना सिहँको आहरा बन्न जानु पर्ने। जान पनि ठीक समयमा जानु पर्ने,ढिलो भयो भने राजा रिसाउने र गाह्रो हुने रहेछ। यो क्रम लामो समय सम्म चल्यो। खुब दु:ख पाए जङलका जनवारहरुले। सुत्नु भन्दा पहिला आफ्नो पालो कहिले पर्ने हो गन्नु पर्ने र पालो परेको दिनमा आफ्नो परिवारसँग बिदा भएर, मन भरी अनेकौ पिडा लिएर मृत्‍युको मुखमा जानु पर्ने। एक एक गर्दै सबै जङलका प्राणीहरु सकिदै गए, हरेक जनवारको घरमा आफ्नो परिवारको सदस्य बिछोडको पिडाको रोदन थियो।
त्यस्तैमा एकदिन पालो आयो खरायोको। सदा झै त्यो दिन खरायोलाईपनि खुब पिडा भयो। आफ्नो परिवारसँग बिदा भयो र सिहँको आहारा बन्नको लागि निस्कियो। अब फेरी आफ्नो परिवारसँग कहिले पनि भेट हुँदैन, खुब रोए बिचरा खरायोहरु। तर नगैइकन सुख थिएन। खरायो बिस्तारै सिहँको दरबारतिर लाग्यो। उसको पाइला चल्न मानेको थिएन, बिस्तारै बिस्तारै हिंडेर गयो खरायो।
उता सिहँ भोकले खुब आत्तिएको थियो। समयमा खरायो नआएकोले खुब रिसाएर बसेको थियो। खरायो पनि टुप्लुक्क आईपुग्यो। खरायो ढिलो गरी आएको देखेर सिहँ गर्जेर खरायो माथि करायो। "तलाई नाथे खरायो.... तलाई थाहा छैन मलाई भोक लागेकोकुरा? चाडै आउनु पर्दैन? मुर्ख खरायो। अब म तलाई एकै गासमा खाइदिन्छु ल तयार भो।"
खरायो थर्थर्ती काप्यो बिचरा अनी बिस्तारै काप्दै भन्यो: " महाराज म त चाडै नै हिंडेको हो घरबाट तर बाटोमा तपाईं जस्तै अर्को सिहँ भेट भयो। उसले आफुलाई यो जङलको महाराज भएको कुरा गर्‍यो। मलाई धरै बेर सम्म बाटोमा रोकेर राख्यो र तपाईंलाई यो जङलको राजा नभएको कुरा गर्‍यो। म त बल्ल बल्ल उम्केर आए। एउटा जङलमा कसरी दुई जना राजा हुन सक्छ? म यो कुरा सोधेर आउछु भनेर उम्केर आएको हो महाराज।"
खरायोको कुरा सुनेर सिहँ बेस्करी रिसायो। को हो त्यो ? म हुँदाहुँदै कस्ले भन्यो त्यो राजा भनेर? ल हिड र मलाई देखा त्यो नाथे सिहँलाई म पहिला त्यसलाई खत्तम गर्छु अनी तलाई खान्छु। खरायोले हस् भन्यो र हिड्यो। खरायोको पछि पछि लाग्यो सिहँ। पर पुगे पछी,जङलको छेउमा रहेको ईनार तिर देखाउदै खरायोले भन्यो " महाराज तपाईं जस्तै अर्को सिहँ त्यो ईनार भित्र बसेको छ एकपटक आँफैले हेर्नुस् त" सिहँले बेस्करी गर्जदै, ईनार भित्र हेर्यो। बिल्कुल खरायोले भने जस्तो ईनार भित्र पानीमा लुकेर बसेको अर्को सिहँलाई देखेर महाराज सिहँ बेस्करी हास्यो।।।।।।।।।।। हा।। हा।। हा।। हा..... अनी खरायोको घाटी समातेर बेस्करी करायो। तलाई नाथे खरायो कक्षा तीनमा पढेको कथा सुनाएर मलाई झुक्काउने.......बिचरा खरायो फेरी मुर्ख भयो।
समय अनुसार आफुलाई परिमार्जन(अद्याबधिक) गर्न नजान्दा र आफ्नो दुस्मनलाई नजरअन्दाज गर्दा बिचरा खरायो सधै दु:खको चपेटामा पर्ने गरेको छ। सबै लाई चेतना भया...............

»»  पुरै पढ्नुहोस

Monday, May 4, 2009

तपाईंको काम छैन? ब्लगिङ गर्नुस

आज अलिक फरक कुरा गर्न मन लाग्यो तर आफै बाट सुरु गरुम है। ब्लगिङको क्षेत्रमा म पुरानो हैन,तर आज ब्लगिङ गर्ने साथीहरुको पेजमा जब म पुग्छु, म एउटा साझा ब्लगरहरुको जमात पाउछु। एकले अर्कालाई अनुसरण गर्ने अनी कुनै लेख वा कसैको बिचारमा आफ्नो बिचार दिने ठुलो जमात। आफ्नो कुनै बिचार राखिसकेपछी, आफ्नो विचारमा अरुको बिचार कस्तो छ, आएका कमेन्टहरु पढ्न मज्जा आउछ। कुनै पनि ब्लगमा भएको कमेन्टहरु आलिक बढी ध्यान दिएर हेरिन्छ, आफुले कमेन्ट लेक्नुपर्दा समेत अरुको कमेन्टहरुमा आँखा लगाएर, अरुको बिचारसँग सन्तुलित प्रकारको बिचार राखेको मैले पाएको छु। कमेन्टहरुको बिकल्पले वास्तवमा कुनै पनि ब्लगर वा ब्लगलाई जिबन्त राखेको हुन्छ। सोभाबिकरुपमा आफुले लेखेको र आफ्नो बिचारमा कस्को कस्तो बिचार छ, जान्न मन लाग्छ र आफ्नो बिचारमा अर्काको बिचार भुझ्दा,अझै बढी लेखु वा अझै राम्रो कुराको प्रस्तुती दिन मन लाग्नु सोभाबिक हुदो रहेछ। आफ्नो ब्लगको ढाचा र बनौट,रङ र बास्तुलाई सधैं अरुको भन्दा नराम्रो र कम परिमार्जित देखिनुले पनि सधैं राम्रो गरु र आफ्नो ब्लगलाई सुन्दर बनाउ जस्तो हुदो रहेछ। ब्लग वास्तवमा आफ्नो बिचार, आफ्नो साथी वा भनु आफ्नो सर्कलको सामुन्ने राख्ने सजिलो तरिका हो, यसमा कुनै दुई मत हुन सक्दैन, यसको मतलब के ब्लग आफ्नो लागि हैन त? सधैं कुनै समाचार, कुनै घटना क्रमलाई जान्न वा भनु आफुलाई एकै थालोबाट संसारलाई चिहाउने तरिका वा भनु आफुलाई दुरुस्त राख्ने माध्यम पनि त हो ब्लग।
हामी ईन्टरनेटमा बस्ने बित्तिकै सबै भन्दा पहिला कुन वेब साइट हेर्छौ? हामीले न्युनतम कुन कुन साइट एक पटक हेरेरै छोड्छौ? हाम्रो आन्तिम हेराइ कुन कुन साइडमा हुन्छ? यो प्रश्न म आफैलाई गर्ने गर्छु। यो सबै कुरा आफुसँग उप्लब्ध समयमा भर पर्छ। बढी समय छ भने हामी ईन्टरनेटको दुनियामा कता पुग्छौ आफैलाई थाह हुँदैन, हेर्दै जादा कता कता पुगिन्छ कि कहिलेकाँही आँफैले खोलेको पेज आँफैले झट्ट बन्द गर्नु पर्ने हुन्छ। तर तपाईसँग समय छैन वा भनु ब्यस्त हुनु हुन्छ भने के गर्नु हुन्छ? सोभबिक हो हामी कुनै सिमित साइट मात्र हेर्छौ, जस्तोकी इ-मैल, एकाद समाचार मूलक साइट अनी आफ्नो बिषय अनुसारको आफुलाई दुरुस्त राख्नु पर्ने जर्नलहरु बस। यि सबै कुराको एकै ठाँउमा लिन्क राखेर, आफ्नो साथीहरुको बिचार अनी आफ्नो बिचार साटासाटगर्ने ठाउँ पनि त होनी ब्लग र ब्लगिङ। बिचारको परिमार्जन र ज्ञानलाई अझ बढी मस्काउने र दुरुस्त राक्ने ठाउँ हैन र ब्लग ?
म आफन्तबाट टाढा रहेको बेला, निरास भएको बेला समेत साथीहरुको ब्लग चिहाउदा र आफ्नो ब्लगमा साथीहरुको उपस्थितीले मलाई आनन्दको अनुभूती हुन्छ। निरास भएको बेला म ब्लगमै कयौ चोटि हासेको पनि छु। के मुस्कान र सानो खित्का छोडेर हास्ने मौका हैन र ब्लग अनी ब्लगिङ?
प्रसँग गतहप्ताको हो। फेसबूक मार्फत मेरो एक जना मित्रले मेरो ईमेलमा पठाएको सन्देशको हो। मैले ब्लग लेखेको देखेर वा भनु मैले आफ्नो कुराहरु राखेको देखेर मलाई सुजाउदै हुनुहुन्थ्यो कि "ब्लग त काम नपाएका, अबकाश पाएका मान्छे, पत्रकारहरुले मात्र गर्ने कुरा हो। तिमी किन गर्दै छौ थाह भएन।" म एक चोटि झसँग भए। तर मलाई थाहा छ,यो कामबाट मलाई कतिको आनन्द मिलेको छ। मेरो परिवारबाट टाढा भएको बेला, मेरो मनको कुरा सँगालेर राख्ने जिबन्त दस्ताबेद भएको छ ब्लग। सबै भन्दा ठुलो कुरा म बौद्दिक जमातको घेरामा छु, म बिचार र भाबनाको कदर गर्ने यस्तो समाजमा पसेको छु जो बिरलै पाईन्छ। म सधैं रेस्टूरेन्टमा गएर, प्रयोगशालामा लागेर वा बियरको चुस्कीमा रमेर नपाउने आनन्द र एक्लो पनको साथी पाएको छु ब्लग र ब्लगिङ मार्फत ।।।मेरो साथीलाई चेतना भया ................

»»  पुरै पढ्नुहोस

Saturday, May 2, 2009

एक पटक सुन्नुस त यो। मलाई त राम्रो लाग्यो है

जापानमा आजबाट गोल्डेन वीक सुरु भयो। लगभग १ हप्ताको बिदा हुन्छ यो बेलामा। बर्खरै मात्र जापानमा पनि swine फ्लु देखा परेको हल्लाले बजार तातेको छ। यो गोल्डेन वीकको सुरुवात, किन नहोस घरबाटै सुरु गरुम जस्तो लाग्यो। अनी आज यसो you tube तिर लागे। यो गोल्डेन वीकको समय म , मेरो ठाउँ भन्दा बाहिर बिदा मनाउन जाने तयारीमा छु तर हेरौ के हुन्छ, कसो हुन्छ, यो Swine फ्लु ले के गर्छ। यसो बिचार गर्दा त्यती जागर चाँही लागेको छैन। फेरी मेरो गृह मन्त्रालयको मन्जुरी लिन गाह्रो भएको छ।
त्यसो त मलाई पाश्चतय संगीत त्यती मन पर्दैन। एकदमै कम सुन्छु। प्रस्ट भन्नु पर्दा, एकदमै हल्ला गरे जस्तो, नोइज भए जस्तो लाग्ने। तर धेरै कर्ण प्रीय गीतहरु पनि छन् है छनत। जेहोस म कम मात्र English गीतहरु सुन्ने मान्छे आज भने बडो मज्जा लिए यो गीतबाट।मलाई त शब्द पनि राम्रो लाग्यो । हेर्नुस् त तपाईंलाई कस्तो लाग्छ? अनी आफ्नो बिचार लेख्न नभुल्नुस है।
»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला