यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, January 23, 2010

चौगिर्दा पर्खाल भित्र मन र झञ्झावात आकाश!!

 

लामो समय पछि आज एउटा सानो मन र ठूलो आकाश http://larissam.tumblr.com/page/5एउटै लाग्न थाल्यो। किन किन समय र मनलाई जोड्दै एउटा नयाँ बिचार आईरह्यो। म गलत हुनसक्छु तर पनि कता कता एक म भित्र अनेकौ भावलाई कुटनपिँधन गर्दै बसिरहेँ, चौगिर्दा पर्खाल भित्र मनलाई जति बाधेर राखे पनि यसको सीमालाई रोक्न कस्ले सक्ने? मनको विष, भावानाको विषलाई कस्ले रोक्न सक्ला? न त यस्को कुनै झारमौरो पाईने न त कुनै झारफुकले नै काम हुने। मात्रै भावलाई पोख्नु र सुनाउनुनै सबै भन्दा उत्तम उपाय हुन सक्छ।

 

काम र समयको सिमितताले तोबातोबा बनाईरहेको जीवनहरुका हरेक पीडालाई; अन्तर्मनमै अन्तर्निहित दिग्यन्त्रको खोजी सबैको महत्वको विषय हुन सक्छ। तर सोच र ईच्छाहरुको बढिरहने परिताप पनि त पोख्‍नु पर्‍यो। कतै कसै पेन्डुलम भईरहेन यी बिचारहरुको प्रतिबिम्ब बुडिनु पनि त पर्‍यो। कि कसो?? मनलाई आकाश जस्तै ठूलो भनु वा आकाशलाई मन जस्तो सानो, सानो कुन र ठूलो कुन, निकै घोत्लिए यसपटक ।।। लौ है यसपटक यसमै चित्त बुझाउनु पर्ने भयो....

 

तृप्‍त,दीप्‍त र खुसी मन

भाग्दै, खोज्दै दोडिएको आकाश

बिशालतामा रुमलिदै

आफूभित्र थुप्रै ताराहरु हुदा पनि

अतृप्‍त र अदीप्‍त आकाश!

 

भावुक, पल्वन र किस्मती मन

गुन्ठिदै, जुजुधौ जस्तै जमेको आकाश,

बिशालताको उपमा लिदै

आफू भित्र थुप्रै आशाहरु हुदा पनि

अशान्त र झञ्झावात आकाश!!

 

दु:खी पिडित र झारातिराई मन

रुमलिदै, छिमलिदै साघुरिएको आकाश

बिशालताको दम्भ लिदै

आफू भित्रै अथाह पिण्डहरु हुदा पनि

अघोरी र अपाकभोगी आकाश!!!

 

पापी, अहङ्‍कारी र छिद्रान्वेषी मन

चर्कदै, पोखिदै टुक्रिरहेको आकाश

बिशालताको अहं लिदै

आफूमुनि अथाह वादल हुदा पनि

चुहेत्रो र पोखिरहने आकाश!!!!

 

वाह!!! मन र आकाश अनि आकाश र मन!!!

»»  पुरै पढ्नुहोस

Sunday, January 10, 2010

बिहान उठ्ने बित्तिकै !! ३!!

बेलुका अबेरै सुते त्यस दिन। आफन्त सँगको भेटघाट र निकै अबेर सम्मको भलाकुसारीले निद्रा कचमचियको थियो सायद। दु:ख सुखका कुरा केही हदसम्म र केही हदसम्म मेरो विदेश बसाइको गफ सँग सँगै चलिरहेको थियो त्यस रात सबै परिवारजन एक साथ बसेका बेला। आफ्नो प्रोजेक्टको सानो रिपोर्ट बुझाउनु पर्ने काम बाँकी राखेर हतारमै हिडेकोले त्यस दिन, कलेजबाट प्रोजेक्टको रिपोर्ट बुझाउनु भन्ने ईमेल आएको रहेछ। सुत्ने कोठामै सिरानीको आड लिएरै, काखेलाई काखी च्याप्दै त्यो रिपोर्ट बुझाउदा खेरनै रातीको १:३० बजिसकेको थियो।

 

बिहान भने बाहिरबाट आईरहेको परिवर्तित प्रकाशका किरणहरुले पर्दाको चरबाटै मेरो आँखाको तन्द्रालाई जगाईदियो। त्यति उज्यालो पनि हैन तर निन्द्रा खुलाउन करिब करिब काफी थियो सायद, त्यसै भयो र म पनि उठे। सुत्‍न मन थियो तर अझै, झ्यालको सानो चरबाट नजानिदो चिसो हावाले कोठानै चिसो पनि बनाईरहेको रहेछ। पर्दा बन्द गर्न म उठे। तर पर्दा बन्द हुनै सकेन। मेरो मस्तिष्कमा एक प्रकारको तरङ्गनै पैदा गरिदियो त्यस बेला, जसबेला मैले पर्दाबाट बाहिर हेरे। मैले के देखेँ र मेरो मनमा कस्तो अनुभव गरे त्यसको कुनै लेखाजोखानै छैन। तर मलाई नजानिदो तबरले स्वर्गको दर्शन भईरहेको अनुभव भयो। म नतमस्तक भईरहेँ र यो समयलाई सधैको लागि स्मरणीय बनाउन मन लाग्यो। कति बनाउन सके कति बनाउन सकिन, तर मेरो पहुँच र समयले साथ दिउन्जेल सम्म मैले त्यो आनन्द लिईरहेँ। मन शान्त हुदै थियो, केही समय पछि माईक्रोबसमा माईक लगाएर माईकिनङ गर्दै आईरहेको ठूलो ठुलो आवाजले भने सबै भताभुङ्ग बनाईदियो।

 

”भोलीको नेपाल बन्द सफल पारौँ, समयमा संबिधान बनाउन नदिने......... मुर्दावाद.. जिन्दावाद... यस्तै यस्तै.......उफ मैले त सबै बिर्सिएको रहेछु मेरो देशको हालत। जुन कुराको अगाडि मेरो सबै आनन्द गौण भएरहेका छन्।

 

प्राकृतिक यो सुन्दरताले भरिएको मेरो देश र मेरो ठाउँले मात्र खोजेको केही छ भने त्यो हो, बन्द हटताल र अराजकता माथिको बिजय र स्थिर शान्तिको स्थापना। बिग्रेर नचलेको घडीले त दिनको दुई पटक सही समय दिन्छ भने, कसो हाम्रो देशमा शान्ति र स्थिरता नआउला र? लड्ने र भिड्ने सबै बिषय कसो नसकिएला र एक पटक। मलाई लाग्यो त्यस दिन अझै आनन्द हुने छ मन, तन र त्यसले सृजित सबै विचारहरु पनि। जे होस एकै छिन भए पनि बिर्साईदियो यो सब यी दृष्यहरुले।

 

PB070104 PB070092 PB070093 PB070094 PB070095 PB070096 PB070097 PB070098 PB070099 PB070101 PB070103

मनमा यो गीत भने कता कता याद आईरह्यो “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस”!!!! सबैलाई चेतना भया............

»»  पुरै पढ्नुहोस

Thursday, December 31, 2009

नव वर्ष: अन्तिम परीक्षाको वर्ष

सम्पूर्ण मेरा पाठक, शुभचिन्तकहरु र मेरो देशलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।

नयाँ वर्ष सुरु हुदै छ। यो क्रम रोकिने पनि हैन तर हरेक समय जसो शुभकामनाको बहार पनि चलिनै रहन्छ। सधै जसो सबैको राम्रो होस, सबैको शुभ होस भनेर भनिरहदा; कयौ नराम्रा र नराम्रा दुबै कामहरु भएका छन्। तर मलाई यो वर्षको सुरुवात सगै नयाँ आशा पलाएको छ। केही त हुन्छ यो वर्ष। मुल्याङ्कनको दुबै दर्जामा बसेर हेर्दा केही नौलो त पक्कै हुन्छ जस्तो लाग्छ। शुभ वा अशुभ के हुने हो तर पनि शुभकै कामना गर्दा राम्रो र शान्ति होला मन र तन सबैलाई। कुरा प्रष्ट रुपमा देशकै गर्न खोजिरहेछु म आज पनि। निकै आशा छ हामीलाई यो वर्ष। हामीले नयाँ समाज र नयाँ दिनको कामना गरिरेहेका छौ। निकै लामो यात्रा तय गरिरहदा लाग्नु स्बभाबिक हो कि, हामीले निकै र अनेकौ हुने नहुने कुराहरुको आशा गरिरहेका छौ। शान्ति सुव्यवस्था र सभ्य समाजको कल्पना गरे अनुरुप काम गर्न यो वर्षले हैसियत राख्छ जस्तो लागिरहेको छ। यो वर्ष बास्तबमै हाम्रो लागि सहज छैन। हामीले सोचे जस्तो सरल र हेरेक वर्ष आदन प्रदान गर्ने शुभकामना भन्दा फरक नतिजा दिनु पर्ने छ यो वर्षले।


यो वर्षले हामीलाई नयाँ पहिचान दिने छ। हामी आशा गरौं सकरात्मक होस तर नकरात्मक हुन पनि सक्छ। हामी समयको यो बेग सगै कि त टाउको ठाडो गरेर बाच्ने नेपाली भएर वा शीर निहुराएर बाच्नु पर्ने युद्ध र द्वन्द्वका पारखी हुने कुराको निर्धारण गर्ने छ। हामी कि त मेलमिलाप र शान्तिको एक पृथक पहिचानको देश र हाम्रो सर्बब्यापी एउटै जात नेपाली र एउटै धर्म नेपाल राष्ट्रियता लिएर बाच्न पाउने छौ, कि त हजारौ टुक्रामा बाँडिएर, आफू सग भएको पनि गुमाएर निर्वस्त्र नाग्गो रुपमा विश्व सामु उभिन बाध्य हुने छौ।


यो वर्षले हामीलाई निकै शंकाको घेरामा उभाउने छ। हामीलाई ठूलो परिक्षा दिनु पर्ने छ यो वर्ष। साना साना त्रैमासिक परीक्षाको अन्तिम, ठूलो बार्षिक परिक्षाको समय हुने छ यो वर्ष। भईरहेको पुराना त्रैमासिक परीक्षाहरु बिगारेर तितो अनुभव गरिरहेका हामीलाई अन्तिम वार्षिक परीक्षाको लागि निकै काम गर्नु पर्ने पनि छ। तर निर्विकल्प रुपमा हामीलाई उत्तीर्ण बन्नु पर्ने यो वर्षले थप रक्तपात, युद्ध र द्वन्द्वको घेरामा हामीले जान नपरोस। यो बर्ष शान्ति-बालकको जन्मको लागि प्रसव वेदनाको बर्ष हुने छ हाम्री आमाको लागि। आशा गरौ, यो प्रसव वेदनाले नेपाल आमाको र शान्ति बालक कसैले पनि ज्यान गुमाउन नपरोस। जे भए पनि गर्नु पर्ने चाहिँ हामीले नै हो।


त्यसैले.........

यहाँ न त

कुनै मानवको पुन:जन्म हुन्छ,

न त यहाँ नौलो सृष्टि आउँछ,

धीप्प धीप्प बलेको बत्ति जस्तो

आशा नभएको जीवन बनाईसके पछि

को नै पुन: लिन आउछ!!

यहाँ न त

कुनै ईश्बरको पुन: जन्म हुन्छ,

न त यहाँ नौलो ब्रम्हानै आउछ,

त्वाप्प त्वाप्प चुहेको पानी जस्तो,

आशा नभएको धारा भईसके पछि

को नै पुन: खोल्न आउछ!!!

यहाँ न त

कुनै आशाको पुन:जन्म हुन्छ,

न त यहाँ कुनै मधु र मालती नै आउछन्,

ढलमल ढलमल भएको हाँगा जस्तो

आशा नभएको शाखा भईसके पछि

को नै पुन: जोड्न आउँछ!!


त्यसैले जे गर्नु छ हामी आफैले गर्नु छ। हामी आफैले पार लगाउनु छ हाम्रो आशाहरुलाई। बिशेष यो नयाँ वर्षले हामीलाई यस्ता एक र अनकौ निराशाहरु माथि विजय गरेर नयाँ आशाका दिनहरुको सुरुवात गरेको देख्‍न पाईयोस.... सबैलाई चेतना भया!!!!!

»»  पुरै पढ्नुहोस

Saturday, December 26, 2009

९०% नेपाली बल्गहरु spyware को खतरामा ?

हिजो अबेला सम्म डा. थापा संग निकै बेर कुरा गरियो। ब्यक्तीगत भेटधाटनै थियो। निकै बेर कुरा भईरहे पछि नेपाली बल्गको प्रसङ्ग उठ्यो। कुरा सुरु हुदै थियो, उहाँले एउटा कुरा उठाईहाल्नु भयो कि ९०% नेपाली बल्गहरु खोल्नै डर लाग्छ रे। खोल्यो भने “you have attempted to open a dangerous website” भनेर आउछ र “यो पेज बन्द गर्ननै राम्रो” भनेर सल्लाह दिन्छ। मैले त पहिला ठट्टा नै होला भने तर जव उहाँकै कम्प्युटरमा खोलेर हेरियो तब मेरो बल्ग खोल्ने बित्तिकै “Trend Micro PC- cillin Internet Security” ले यस्तो जानकारी दियो।


त्यस पछि मैले धेरै जसो नेपाली मित्रहरुको बल्गहरु हेरे र प्राय जसो सबैमा यस्तै समस्या देखे। हामीले बल्गमा आउने आगन्तुको लागि राखिने WWW. Feedjit.com का recent visitors र live traffic feed जस्ता widgets को ठेगना देखाउदै यस्तो जानकारी दियो। त्यस पछि मैले मेरो बल्गवाट यो हटाएरै पनि हेरेँ। त्यस पछि यस्तो संकेत देखा परेन। मलाई यस सम्बन्धि मूल प्राबिधिक कुरा छीचोल्न गाह्रो हुने भएकाले मलाई बीचमा फुत्त आउन मन लाग्यो र मैले यो जानकारी राखे। जानकारीकै लागि मैले मेरो र केही साथिहरुको स्क्रीनसट पनि राखेको छु। spyware सम्बन्धी जानकारी राख्न हुने मित्रहरुले यथाचित छलफल गरिदिनु होला।


यस्तो wedgets प्रयोग नगर्नु भएका दौतरी, आकारजी , दिपेन्द्रजी र कृष्णजीहरुकोमा भने यस्तो देखा परेन। खतरा होस वा नहोस तर पेज खोल्ने बित्तिकै यस्तो आउन थाले पछि कसैले पनि किन पेज खोलोस र यो खतरा किन मोलोस?


कृपया!! उदाहरणको रुपमा तलका फोटोहरु हेर्नुहोला र यस सम्बन्धी आफ्नो बिचार राखिदिनु होला ।

pohto3photo1hamro nepal sikaru basanta cafe manga dilipkailash

dautariakar

kirshana dipendra

आफ्नो स्क्रिनसट नराखिदिएको भए हुन्थ्यो भन्ने लागेमा कृपया जानकारी दिनुहोला म यसलाई निकाल्ने छु

»»  पुरै पढ्नुहोस

Wednesday, December 23, 2009

यसरी आरम्भ हुदो रहेछ जीवन !!२!!

 

यसरी आरम्भ हुदो रहेछ समय !!१!!  ……नितान्तै मोहित हुदै थिए समयको सुरुवात भईरहेको देखेर। सुनसान समय थियो, तर पनि समयले एउटा तरङ्ग निम्ताउदै थियो सदा झै सायद। मैले आफ्ना आखाँहरुलाई रोक्न सकिन र हेरिरहे। मलाई यो आनन्दको अनुभूती पहिले कहिलै भएन। हुन सक्छ मैले यस अगाडि समयलाई चिनेको थिईन। समयको यो रसलाई मैले कहिल्यै पनि ग्रहण गर्न सकेको थिईन। सायद यसै भएर होला, मैले आज यो समयको आफ्नो पन र यसले दिनसक्ने सुखको बयानै गर्न सक्दिन। पर क्षितिजमा सुनौला रेखाहरु देखिन थालेका थिए, म हातमा चियाको कप बोकेर घरबाट बाहिर निस्किए। घर सगै जोडिएको सानो ढिस्को र शीतका नजानिदा थोपाहरुको मलिनो चिसोपनको महसुस भईरहेको थियो। समयले आफ्नो नियमिता दर्शाउदै थियो जसलाई मैले रोकेर पनि रोक्न सक्दिन थिए। चलयमान समयसगै चल्नु पर्ने म र मेरा सबै। मलाई आखाँ बन्दनै गर्न मन लागेन, हेरिरहे मात्र हेरिरहे।

 

यो समयको साक्षी हामी दुई जना थियौ। यो समयको सुरुवातको दर्शन मैले पहिलेनै गरे मेरै परिभाषामा तर हुन सक्छ म भन्दा पनि पहिले उसले सुरुवात गरेको होस। मैले ख्याल गरिन तर पनि यो पछिल्लो समयको दर्शनको शुरूवात म पछि पक्कै उसैले गरेको हुनु पर्छ। मैले भन्नै पर्छ; जब म चियाको कपलाई ढुङ्‍गाको आडमा भुईमा राखेर यीनै आदमारा बस्ती, पहाड र यसको क्षितिजमा चड्दै गएको तर कुनै कलाकारले रंग पोत्न सुरु गरेको क्यानभासको भान पर्ने सुनौला रेखाहरुमा नजर पुराईरहेको थिए। यसै बीच ऊ मेरो अगाडि आएको थियो। मैले जसरी जुन तवरले नजरलाई नघुमाईकन हेरिरहेको थिए, मेरो त्यो समयको सहयात्री पनि त्यसरीनै आखाँनै बन्द नगरिकन हेरिरहेको थियो सायद। म अलिक पर थिए तर उसको स्थिरताले मलाई त्यही भान परिरहेको थियो।

 

हामीले यो समयको सुन्दरताको अनुभव गर्यौ एक अर्काको साक्षी भएर। त्यो ठाँउको लागि म त केही दिनको पाहुना थिए। म भोलि जान सक्छु तर ‍ऊ त्यहीको रैथाने हुनु पर्छ तथापि त्यो दिन म भन्दा केही समय पछि आयो र केही समय चाडैनै गयो। हुन सक्छ धेरै दिनबाट सबै भन्दा बढी म आफै भोकाएको थिए। म नै पहिले आएँ र अबेर सम्म म नै बसेँ त्यँहा। यो कुनै नौलो कुरा हैन कारण म त आफ्नै बीच र आफ्न्तहरुकै बीच पराई भईरहेको थिए; जसलाई मैले आफ्नो भाग्य भनेर पनि भ्रम पालेको छु। मेरो हो तर पनि मैले कसैको रीस गरे जस्तो र फेरि कहिल्यै देख्न नपाईने पो हो कि भने जस्तो गरेर हेरिरहेको थिए।

 

मलाई उसले देख्यो वा देखेन, ख्याल गर्यो वा गरेन; त्यो भन्दा हामी त्यस दिनका लागि एक दैनिकी सुरुवात गर्दै थियौ; एक साथ एक अर्काको साक्ष्य भएर। ऊ हतार भए जस्तो अलिक चाडै फर्कियो। मलाई लाग्यो नन्दन समयको त्यो सुरुवातको नमनको लागि नै आएको होला ऊ यहाँ। सहज दैनिकीको रुपमा लियो सायद उसले तर मेरो लागि यो उत्सव थियो र सुन्दर मौका। त्यसैले म भुईमा बसेर यो सबै दृष्यको अनुभव गरिरहेँ।

 

1(म भन्दा पछि नै आईपुग्यो ऊ )2 3 4 5 6( म भन्दा अगाडिनै गयो ऊ)7 8 910

समयको यो चालसगै मैले पनि चल्नु थियो, दैनिकीनै भन्छौ सायद हामी तर जब म फर्किनको लागि भुईबाट चियाको कप उचाल्दै थिए तब मेरो मनमा आईरहेको थियो, समयको ब्यापार गर्ने म र मेरो परिवेश, नास्तिक नभए पनि नास्तिकतामा बाचेको बुदुनो, भौतिकता र भौतिक सुबिधामा जीवन खोज्ने म;  मलाई के थाह.... हरेक दिन यसरी आरम्भ हुदो रहेछ नन्दन समय र जीवन तर म त फगत.......... सबैलाई चेतना भया।।

»»  पुरै पढ्नुहोस

Saturday, December 12, 2009

घर भित्र दुम लुकाउने नेताहरु र कोपनहेगन

सिरक भित्र मुठ्ठी कस्नेहरु कहिलै पनि बाहिर मुठ्ठी कस्न सक्दैन्। जीवन अनकौ मोडमा सहज रुपमा उपस्थित हुन जान्ने जीवन बाँचेको मान्नु पर्छ। पर्दा पछाडिको सुख जीवनले कसैलाई प्रेरणा दिन सक्दैन। आफैमा रमाउने स्वार्थी तरिका भन्दा अरु केही हुदैन त्यो। त्यसैले जीवन आफू बाच्नको लागि भन्दा पनि अरुलाइ बचाउनका लागि प्रयोग भयो भने मात्र जीवन बाचेको अर्थ हुने छ। कुनै मिथ्या दर्शनको भरमा सहज र उपमा वाच्नेहरुको लागि जीवन जान्ने र बाच्ने भन्दा केही हैन। न त कसैले यो जीवनको मया गर्छ र न त सार्थक जीवननै हुने छ। कसैका लागि बाँच र अनि मात्र आफू बाचेका हुन्छौ।


संसारको अनेकौ युग पुरुषहरु कहिलै आफू बाचेनन्। बाच्नको लागि कहिलै संघर्ष पनि गरेनन् तर पनि हामीमा त्यो बोध कहिलै भएन। डार्बिनको सिद्धान्त नै सही बाच्नको लागि कुनै कृष्ण वा कुनै क्राईष्टनै चाहिने हैन न त कुनै अल्लाह। बाच्नु तिम्रो जन्मसिद्ध अधिकार हो र तिमी कसैलाई नमाने पनि, कुनै माथि आस्था नराखे पनि र कसैलाई आफ्नो जन्मको श्रेय नदिए पनि बाँचेका हुन्छौ र बाच्ने नै छौ। तिमी सास फेरि रहन्छौ, मिथ्या ईन्द्रियहरुको प्रयोग गरेकै हुन्छौ र बाचेको नाटक गर्दै छौ। यहाँ माटो र ढुंगाहरु पनि बाचेकै छन्। कसै न कसै, कसै गरि उनिहरुको जन्म भएकै हो र अन्त्य पनि अनकौ रुपमा हुने नै छ । जन्मनुलाई बाच्नुको अर्थमा बुझ्नेहरु यँहा तिमी सजीव मात्र हैन, निर्जीवहरु पनि छन्। फगत सजीव भएर निर्जीव झै बाच्ने तिमी मात्र हुन सक्छ, भन्न सकिन्न तर पनि निर्जीव जीवन त पक्कै बाचैकै हौ।


के को लागि र कसका लागि बाच्ने तयारी हुदैछ जीवन। किन मरेको नाटक गर्छौ तिमी अन्त्यमा। जीवन बाच्ने नाटक र बाँचेको नाटक अनि मरे पछि मरेको नाटक गर्ने तिमिलाई कुन उपमाले सम्बोधन गर्नु पर्छ थाह छैन तर पनि त्यो अद्‍भुत नाटक भने हो। किनकि तिम्रो जन्मनै मृत्य तुल्य छ। तिमी मृत्यु तुल्य जीवनको दर्शन बोकेर हिडेका छौ । न त तिमी कहिलै जन्मियौ न त तिमी कहिलै मर्ने नै छौ। तिम्रो बिकास र तिम्रो हरेक चाल यही निर्जिवताबाट साँधिएर, संगालिएर र पोषित भएर चलाएमान भएको हो भन्ने कुरा किन बिर्सिन्छौ? के लिएर आएका छौ तिमी र के लिएर जान्छौ। न ल्याउन सक्छौ न त लिएर जान सक्छौ तै पनि किन मेरो भन्छौ र मेरो लागि र म लागि अरुलाई मार्छौ? यदि तिमीले बाच्नु नै बाच्न हो भने तिमीले किन अरुलाई बाच्न दिदैनो। हजारौ भुर्णहरुको जीवनलाई किन स्वीकार गर्दैनौ? किन उनीहरुको अस्तित्वलाई स्वीकार गर्दौनौ? हैन भने तिमीले स्वीकार गर्नु पर्छ मैले भबिष्यमा जन्मने जीवनको हत्या गर्दै छु। मेरो र म जस्ताको मात्र हैन अन्य र अनेकौ सम्भावनाहरुको घाँटी काटेका छौ तिमीले। हैन भने बन्द गर यो सबै। केही नगरे पनि राम्रो संग बाचँ र भबिश्षको लागि पनि केही तर स्बस्थ समाज छोडेर जाउ।


आफैमा भुल्ने तिमी किन अरुलाई भुलाउन खोज्दै छौ। भबिश्यको कुनै प्रतिनिधि छैन सायद त्यसैले तिमिहरुले उसको अस्त्बलाई स्वीकार गरेका छैनौ। भविश्य तिम्रो हो भन्ने कुरा तिम्रो सन्तान र पुस्ताहरुलाई सम्झ नभए कल्पना गर। तिमीले यो समस्या बोकेका छौ भने तिम्रो भबिष्यले के पाउला। भबिष्यमा तिमी वाच्न चाहन्नौ सायद। किन कि भौतिक उपस्थिती भन्दा बाहेकको तिमिले जीवनलाई स्वीकार गरेका छैनौ। त्यो तिम्रो भूल हो। तिमिले आफ्ना सन्तान र भविष्यमा आफ्नो जीवन खोज्नु पर्छ र त्यसलाई स्वीकार गर्नु पर्छ। त्यसैले म सोध्छु तिमिलाई कोपनहेगन के हो ?


तिमीले भित्र केही हेर्नु पर्दैन। सभा र नाटक गरेर मात्र देश समाज बन्ने राम्रो हुनै हैन। आफ्नो देशमा टेबल ठोकेर मात्र र जनताको अगाडि केही गरेको नाटक गरेर मात्र हुदैन। तिमी भित्र र तिम्रो भुमीमा बाह्रय बलत्कार भएकै हो र भई रहेको छ। देशको हरेक सीमा र क्षेत्रमा मानव सभ्यताको कालदोष भईरहेको छ। घर भित्र दुम लुकाउनेहरुको फुर्ती घर वाहिर बढीनै हुन्छ। घर भित्र श्रीमातीको लात्ती सहनेहरु घर बाहिर अलि बढी टेवल ठोकेर कुरा गर्छन। तर यहाँ कुरा फरक छ। फरक छ त, आत्म सम्मान र उनै लात्ती हान्ने श्रीमतीको अगाडि घर वाहिर देखाउनु पर्ने पुरुषार्थ। सबाल श्रीमतीको हैन; हो त परिवेष र नियतको। तिम्रो व्यवहारले त्यही भन्छ, तिम्रो घर, समाजको हालतले यही भन्छ र लात्ती हान्नेहरु र सगै नहान्न भन्नेहरु लात्तीको बिरोधमा बकालत गर्छन। यो त मात्र परिवेश हो र नाटक। त्यसैले आफ्नो घर बनाउ पहिला अनि तिम्रो समाज बन्छ र तिमीसंग अरुले गर्ने ब्यवाहार राम्रो हुन्छ। तिमीले बाहिर गुहार मागेर हुदैन। बाटोको प्रदुषण र धुलो र यहाँ भईरहेको अब्यबस्था माथी नजर गर, मिलाउ र मात्र जाऊ बाहिर। घर मिलाउ बाहिर आफै मिल्छ। हैन भने जीवन र मृत्युको खेल तिमी पनि खेलिरहेका छौ। तिम्रो पेशालाई तिमी नोकरी नठान त्यो संग सबै जीबनको अस्तित्व गासिएको छ। अन्यथा के त ? मित्था बोध वा मात्र बोध??? …….सबैलाई चेतना भया।

»»  पुरै पढ्नुहोस

Thursday, December 10, 2009

तिमीले कसम खाने, जनताले दु:ख पाउने?

ठूली माइली र सानी कान्छीको बीचमा झगडा चलिरहेको थियो कचौरा हराएको बिषयमा। हिजो पधेरामा डोको भरी जुठा भाडा बोकेर माज्नको लागि गएका थिए दुबै जना। ठूली माइलीको काँसको कचौरा हराएको रहेछ। सानी कान्छीले चोरेर लुकाईस भन्ने आरोपको प्रतिउत्तरमा भनाभन भईरहेको थियो।

“लौ तेरो छोरा छोरीको टाउकोमा हात राखेर भन त तैले कचौरा लगेको छैन भेनेर” माइलीले कसम खुवाउन लागि। “मैले यसबेला पनि भन्न नपाऊ, यी यो छोराको कसम खाएर भन्न सक्छु कि मेले तेरो कचौरा लगेको छैन।“ कान्छीले सफाई दिई।

यदी कान्छीले कचौरा चोरेकै भए के हुन्थ्यो? उसले कसम खाईसके कि छ। यदि उसले चोरेको खष्डमा उ आफै र आफ्नो सानो छोरालाई जे पनि हुन सक्ने भयो। एकातिर यदि उसले चोरेको भए यसबेला पनि भन्न नपाउँ भनेकै छ अर्थात मरिहालु भनेकि छ भने अर्को तिर आफूसंग आफ्नो छोरा पनि मरिहालोस भनेर भन्न पनि भ्याईसकेकी छ।

ईश्ब रको नाममा कसम खाए, ईश्बरले मेरो नष्ट गरुन भन्ने अर्थ त लाग्छ नि, हैन र? त्यस्तै यदि कसैले आमाकै कसम खाएमा के होला? पक्कै पनि आमाले नष्ट त गर्ने हैन होला। नष्ट गर्ने नसक्ने आमाको कसम खानुको मतलब के होला तभन्दा, यदि उस्ले झुट्टा बोलेको छ वा ढाटेको छ भने, उसको आमा मरिहालोस बा उनलाई अनिष्ट होस नै

भन्ने हैन र?गल्ति गर्ने आफू दु;खको कामना गर्नु अर्काको। कत्तिको न्याय संगत कुरा हो यो? यो सबै कुराहरुको जड र कसम ख्वाएर सत्य बकाउने चलन हाम्रोमा ब्यापक छ। बिषेशरुपमा अशिक्षाको कारण ईश्बर र अदृष्य शक्तिमाथि विश्वास गर्नेहरु। तर यहाँ डर त पढे लेखेका, जान्नेहरु र नेताहरुको कसमको हो। कसम खानुलाई के रुपमा बुझ्ने र कसरी यो परिपाटीलाई बुझ्ने? ईश्बरको नामको कसम होस वा जनताको नाममा वा आमाको नाममा होस कि छोरा छोरीको नाममा; कसम खाने भनेको चाहिँ यदि उसले झुट बोलेको रहेछ वा झुटको सहारा लिएको रहेछ भने, तद्अनुरुप उ माथि ईश्बरले कारबाही गरुन वा आमा वा छोरा छोरी मरेर उसलाई सजाय होस वा नेताले जनताको नाममा खाएका रहेछन् भने अर्को पल्ट (वा फेरि एक पल्ट) चुनावमा हराइदिउन् भन्ने अर्थ भन्दा अरु केहिलाग्छ जस्तो मलाई लाग्दैन।


नेपाली भाषा बोल्दा साह्रै राम्रो सुनिनेमान्छेहरुको जमघट भएको ठाउँ, जसको भाषा र उच्चारण अरुका लागि रिफ्रेष्स हुने ठाउँ, तर्क त प्रमाणले झुटो बोल्ने मानिसलाई झुट्टा साबित गर्ने ठाउँ, समाचार तथा समसामयिक बिषयको व्याख्या, समालोचना बा टिप्पणीको लागि निकै मानिदै आएको ठाउँमा पनि यसको प्रयोग यसरी राम्रै संग भईरहेको छ। सुन्नुस है त रबिन्द्र मिश्रको: आमाको कसम।



मूल कुरा: समस्याको समाधान कसम लिने र खाने हो त? हैन!! मात्र एक झुटको लागि अर्को झुटको सहारा लिनु वाहेक केही हैन कसम खानु र लिनु। मन सफा हुनु पर्यो, ईमान्दार हुनु पर्‍यो। कसम खाएरै हुने भए देशमा धेरै ठूला गन्यमान्यहरुले हरेक पटक कसम खाएकै हुन र कसम खुबाएकै हुन्। कहिले ईश्बरको नाममा त कहिले जनताको नाममा। ईश्बर, जनता, आमा, छोरा छोरी बा कुनै पनि कुराको कसम यदि साछीको लागि मात्र हो भने बोल्दै नबोल्ने वा सजाय दिनै नसक्नेको कसम के का लागि। यदि कसम प्रतिबद्धता हो भने किन आमाको कसम , किन ईश्बरको कसम वा किन जनताको कसम? आफै ईमान्दार रुपमा प्रतिबद्ध भए कस्ले रोकेको छ? जनताले सजाय दिईसकेकाहरुले जनताको कसम खानुको मतलब के होला? ईश्बरले सजाय दिईसकेकाहरुले ईश्बरको नाममा कसम खानुको अर्थ के हुन्छ? सिधै कुरा छ, जनताले नष्ट गरुन हैन बरु, मैले काम गर्न सकिन, मैले ईमान्दारीका साथ काम गरिन भने जनतानै नष्ट हुन्। यही कामना हैन? राम्रो होस सबैको कसमले। कहिलै काम गरेको छैन फेरि पनि काम नगरोस कसमले र मैले लेखे जस्तो जनताको नष्ट हुने काम नहोस। कसैले गरेको कुर्कमको फल जनताले भोग्न नपरोस ..हा हा.. सबैलाई चेतना भया।।।।।

»»  पुरै पढ्नुहोस

Thursday, December 3, 2009

यसरी आरम्भ हुदो रहेछ समय !!१!!

बिहानको चार वा साढे चार बज्दै थियो, निन्द्रा राम्रो संग लागेन। अनेकौ कुराहरु मनमा एकनासले आईरहेको थियो सायद तन्द्रामा थिए म, त्यसै आखाँ खुल्यो। सपना पनि त्यस्तो केही थिएन बिउँझाईदिने र बिपनामा पनि कोही थिएन बिउँझाईदिने, तर पनि बिउँझिँए। जाडो त्यति बढेको पनि हैन तर सिरक चाहिँ ओड्नु पर्ने भईसकेको थियो।

लामो समय पछि नेपाल गएकोले पनि होला, वास्तवमा घर आएको दिन देखि निन्द्रा परिराखेको थिएन। बिस्तरा नै परिवर्तन भएर चाहिँ नभनु होला। समय थोरै थियो। जीवनको लगभग पच्चीस वसन्त पार गरिसकेको ठाउँ भएर पनि किन हो किन एकदमै नौलो लागि रहेको थियो। साह्रै मन आत्तिएको रहेछ बाहिर बस्दा बस्दै। त्यसै बीचमा समय थोरै थियो र अनेकौ कामहरु पनि सक्नु थियो। काम भनिहाल्नु भन्दा पनि भेटघाटनै बाँकी थियो। समयलाई जसरी सकिन्छ त्यसरीनै बिभाजन गर्दै थिए।


बिहानको खान खाए पछि जानु थियो कतै र सायद निन्द्रा लागिरहेको थिएन। टेलिभिजन पनि खोलेर हेरेँ तर खासै केही लागेन। कम्प्युटरको ब्याट्री सकिएकोले खोल्ने कुरै भएन। बेलुका हेर्दै थिए ब्याट्री पनि सकिने र लोडसेडिङ पनि। हुन त कुनै निर्धारित समय हैन रे तैपनि गईरहेन बिजुलीले धोका दियो। पर कतै कुखुरा बासेको पनि सुनियो। म लागे त्यही घरको छत तिर। पूर्व फर्किएको घर। सूर्यको पहिलो दर्शन गर्न पाईने ठाउँ, सधै जिज्ञासा भइरहने रहेछ कि आज बादल छ कि छैन, पानी परिरह्यो भने देख्न्न नपाईने हो कि यस्तै यस्तै। कोठाबाट कुर्सी बोकेर छतमा लागेँ। पूर्व तिर फर्किएर सुनसान पहाडहरुलाई हेरिरहेँ। कस्तो सुन्दर सुनसान र शान्त पहाड अनि पहाडले चुमिरहेका धमिलो, निलो र सुनौलो आकाश। निकै बेर टोलाएर बसे र हेरिरहेँ।


भोलि जानु छ कतै र केही समय पछि फेरि बिदेश फर्कनु छ। मनमा कता कता पीडा थियो। यसै बिच मेरो मनमा लाग्यो किन नहोसकी यो सुनसान पहाड र यसै बीच मैले लिईरहेको आन्नद कैद गरुँ क्यामरामा। सानो आठ मेघा- पिक्सलको क्यामरा थियो साथमा। मैले जोड लागाएर वा भनु अनेकौ पोजमा यो ठाउँको फोटोहरु लिएँ। कहिले नजिकबाट त कहिले टाडा बनाएर। केही राम्रा पनि आएका छन् त केही धमिला। रातीको समय, कमसल क्यामरा र अव्यवसायिक कार्य क्षमताको बीचमा केही प्रयास गरे आफै भित्र रमाउन।


बिदेश रहदा बिहानै काममा जान हतार; फेरि सबै सहरहरु समतल भूभागमा बसेकोले पनि पहाड हेर्न र पहाडबाट लुकामारी खेल्दै आउने र जाने सूर्य, तारा र जुनहरुको दर्शन गर्न पनि हजारौ रुपैया खर्च गर्न पर्ने भएर पनि होला यस्तो दर्शन गरिएन भन्दा पनि हुन्छ। हेर्नै गईहालियो भने पनि कता कता आफ्नो नलाग्ने। पहाडहरुले नै ब्यापार गरे जस्तो, पराई ठानेर जिस्काए जस्तो, समयको बन्धन, पैसाको बन्धन। यस्तै यस्तै कारणले कहिलै पनि मन शान्त हुन र रमाउन सकेन। तर मेरो देशको यो पहाड र यो आकाशले म संग कुनै कुरा मागेको छैन। जति हेर्नु छ हेर, जति मन शान्त पर्नु छ पार भने जस्तो लागि रहने। किनकि यो मेरो हो। बिलकुल मेरो। कसैको रोक छैन यसलाई मैले मेरो भन्न।



आफ्नो मानेर पनि होला निकै बेर बसे। सूर्य नउदाउन्जेलसम्म बसिरहे र भित्र भित्रै अनुभव गरे..... हरेक दिन यसरी आरम्भ हुदो रहेछ समय!!!....... सबेलाई चेतना भया।।।।।।।।।।।।।।

»»  पुरै पढ्नुहोस

Wednesday, November 25, 2009

एउटै रेखाका हजारौं बिन्दुहरु

भावनात्मक परिवेश!!!!!! कस्तो निस्तब्धता छाएर यी दिन र रातहरु बित्दै छन्। वास्तबमा नमानेरै भए पनि हरेकले आफ्नै पक्षमा गन्तब्य र झुप्रोको खोजी लगातार गरिरहेको छ। नौलो अयाम र नैराष्यको पराकाष्ठामा समेत कषाय रातको अनुभूति औशीको रातमा पनि हुन पाईराखेको छैन। हुन सक्छ आंशिक सुखमै कालो रातमा पनि कता कता ताराको प्रकाश खोजिरहेको होस। आफ्नै परिबेशमा, संसारको यावत मानबिय कर्मका उदाहरणहरुका रेखा-रेखामा कतै न कतै आशाका बिन्दुहरुको समावेश नभएको हैन। वास्तवमा समयलाई निस्पट्ट, कहालीलाग्दो रात सगै लैजाने र डोराउने काममा अभ्यस्त भएर बितिरहेछ दिनचर्या।


सन्नाटामा कोही रोहेको र कराएको आवाज, कसैले ऐया र आत्था गरेको आवाज, नेपथ्यबाट कोही सल्लाह गरेको आवाज साथै कोही मस्त निन्द्रामा सुतिरहेको आवाज कानमा एकपछि अर्को क्रमश: र एकै साथ मिश्रण भएर तरङ्गित भएर आईरहेको छ। यहाँ वास्तवमा हरेक पक्षमा शान्तिको रेखा कोर्ने प्रयास भईरहेको छ। हरेकले शान्तिको आभास पाउने आशामा सजीव शरिरलाई निर्जीव यन्त्रको माझमा खडा गरिएको छ। वास्तवमा भ्रामक अथवा सन्दिग्ध सद्‍वृत्ति थियो यो। चाहेर पनि मानिसहरु नआउन खोज्ने, जिवनको कुनै पनि क्षणमा आफ्नो उपस्थिति नहोस भनेर चाहने, यस स्थानमा मानिसहरु विवशै भएर धकेलिन्छन्। जोड जोडले हरेक पक्षमा रातहरु काट्ने तयारिमा वारपार गर्दै छन्। मानिसहरु यहाँ आउन चाहदैनन्, तैपनि बाच्नको लागि एक अर्को आयाम: आफ्नो पुर्जाहरुमा ईन्धनले मात्र नपुगि त्यसको सुरक्षा र एकै साथ थाहनै नपाई संहारका लागि यहाँ आऊछन्। त्यसो त क्रियामा प्रतिक्रिया जीवित हुदा हुदै, स्वस्थ ब्यक्ति आफ्नो हरेक चाहतमा यहाँ नआउने हैन। शान्तिका लागि कुद्‍ने मानिस यहाँ आफैमा अशान्त छ। त्यसकै पछि लागेर होला कृतिम शान्त-ब्यक्ति यहाँ नदौडिएको हैन। दौडदै, तात्दै र साधिँदै मानिस आफैमा सर्वाङ्ग नाङ्गो भएर निर्जिव यन्त्रहरुको अगाडि प्रश्तुत गराउन मानिसहरुको घुईचो यहाँ नभएको हैन्। आफैमा निष्काम कोही छैन, तैपनि सामाजिक, आर्थिक परिस्थितिको अल्झ्याईलाई सम्हाल्दै सबैको घुइँचो यहाँ लाग्छ। त्यस्तै निश्चित पराकाष्ठामा ब्यक्ति सर्वाधिक उचाईबाट पछारिन्छ र जब धाईते बन्छ, तब फेरि उ यही धकेलिन्छ। सडकको माझबाट एम्बुलेन्सको धुन सगै, स्टेचर र ह्युईलचियर सगै फेरि पुन नाङ्गो बनाईन्छ। निर्जिव यन्त्रहरुको माझमा उसको शरिरको हरेक चालको लेखाजोखा गरिन्छ त्यो पनि कानमा स्टेथेस्कोप भिरेका सजीव भनाउदा निर्जिवहरुद्वारा। उसको आमपरिक्षण हुन्छ र हेरक चालहरु माथि सर्वाधिक नियन्त्रण गर्न खोजिन्छ र गरिन्छ पनि। फेरि क्रम सुरु हुन्छ; स्टेचरमा त्यही ब्यक्ति कसैको नियन्त्रणमा नै दौडन पुग्छ, दौडाईन्छ र निश्चित स्थानमा पुराईन्छ। भाव बिभोर भएर आफूलाई भाग्यमानि ठान्छ र नजिकैको अङ्‍कुशबाट आएको बिभिन्न ट्रेडमार्कको स्लाईन पानिको बोतल देख्छ तैपनि खिस्स हास्छ। समस्या अनुसार हरेकको विभिन्न फाईलहरु तयार हुन्छन् र सुरु हुन्छ फेरि ऐया र आत्था। हरेक दिन र रात जब सम्म उ यहाँ रहन्छ तब सम्म घोच्ने, थिच्ने र दवाउने कामको क्रम भईनै रहन्छ; बि.पी सेट, थर्मोमिटर र सुईहरुको चिसो र तीखो सियो सगै।


यो घोचाइ, थिचाइ र निलाइ सगै केही क्षण शान्ति पाएको अनुभूति गर्छन, वास्तबमा भौतिक अशान्तिमा बाच्नेहरु। शान्त पार्ने योगफल सगै यहाँ सधै घोचेर थिचेर शान्त सगं गुणा गराईन्छ। घोचाइ र थिचाइको प्रयास र त्यसको बराबर उसले पाएको शान्तको अनुभूतिहरुको दिनहुँ जसो मुल्याङ्कन गर्छन त्यही चुच्चा सुईहरुवाट। समय बित्छ; उ मानिरहेको हुदैन जान तर पनि उसलाई कुम्लो पोको पार्न लगाईन्छ। उ कुम्लो पोको पार्छ र कृत्रिम हासोँ सगै बिदा हुन्छ। साथमा पीडा नभएको अनुभव गर्छ तर हजारौ नियम र बन्धन बोकेर फर्किरहेको थाहनै पाउदैन। विचरा मानिस !! आफैले आफ्नो घरलाई अस्पताल बनाए पछि कहाँनै जानु छ र। गएको नाटकमात्र गरेर जस्तो भौतारिन्छ फेरि कुनै न कुनै निहुँमा फेरि त्यही आईपुग्छ । मानौ कुनै विकल्प छाडेको छैन उसले यो परिस्थिति श्रृजना गर्न। आफू दिनहुँ सुईको घोचाइ सहन्छ तर पनि कुनै विकल्प देख्दैन। विचरा मानिस। बास्तबमा अन्धो मानब जाति र यो मानव सृष्टि । सबै अगँहरु हुदाहुदै सापे जीवन बाँच्न अभ्यस्त मानिस।


त्यसो त कर्म क्षेत्रको यावत कठिन जीवन सगै कसैले यस्ता शय्याहरुमा आरामको महसुस नगर्ने हैन। तैपनि पहिलेको भन्दा पृथक शान्ति र चैन बोकिरहेको देखिन्छ र जान्छ, फेरि कहिलै नआउने सर्तमा। नवीनतम सद्प्रयासको जोड सगै यहाँ कयौं रेखाहरु कोरिएका छन्। मानिस आफ्नो घरलाई कहिले घर बनाउछ, कहिले अस्पताल त कहिले जेल। प्रचलित मान्यतालाई नभत्काईकन कुनै पनि काम नहुने ठान्ने उ किन निर्जीवहरुको बीचमा सजीवताको आनुभूति लिएर बाँच्न खोजिरहेको छ। हरेक कामलाई अधोरेखा राख्न मनपराउने उ अधोरेखाङ्कित बन्न भने मन नपराउने बनेको छ। वास्तवमै उ बाँच्न, चलाउन र हाक्नको अनभ्यासले गर्दा आफै सङ्कीर्णताले ग्रसित छ। हुन सक्छ उसले आफ्नो जीवनलाई एकाङ्की बनाएको छ। गलत हैन होला तर पनि यहाँ हजारौले खेल्नु, भोग्नु र चलाउनु छ एकाङ्की। आफैमा स्वार्थी बनिरहेको उ किन आफूमात्र नाटक मञ्चन गर्न खोजिरहेको छ। सघै बिर्सिएको छ; उसको जीवन एक्लो मात्र हैन बरु यहाँ त थुप्रै कबिला(हरु) छन् जो सबै बाँच्न चान्छन्। कूपमष्डूक भएको थाहनै नपाउने मान्छे बाहिर हेर्दैन, बुझ्दैन र थाहपाउन पनि चाहदैन तर मात्र आफ्नो लागि आउछ यहाँ। बेजोड संग घोचाइ र थिचाइमा आनन्द मानेर फर्किन्छ र त्यसै गरि फर्केने क्रम चलिरहन्छ। मायायुद्धमा खप्पिस मानिस आफ्नै मायाबी जालोमा बेस्करी जकडिदै जान्छ । समस्या र मात्र समस्याको थुप्रोहरुले बनाएका हजारौ बिन्दुको लेखा जोखामा जीवन खोज्ने प्रयास गरको छ र त्यही एउटै रेखाका हजारौ बिन्दुहरुको माझमा अल्झिएको छ यो मान्छे। उ कहाँ र कता अल्झिएको छ थाह छैन तर पनि रेखा थाहनै नपाई हजारौ बिन्दुहरुलाई समाहित गर्दै लम्बिदै छ एक अनन्त यात्रामा। सबैलाई चेतना भया।।।।।।।।।।।।।।।।।।।।।।

»»  पुरै पढ्नुहोस

Saturday, October 17, 2009

राज्य पुनर्संरचना: सम्भावित बहसको बिषय

राज्य पुनर्संरचना आज एउटा ठूलो सवाल भएको छ। हामी राज्यको सीमा र रेखाङ्कन वरिपरि नै अलमलको स्थितिमा छौ। देशका सिमानाहरू विभिन्न राज्यमा बाँड्दै मा राज्यको हरेक प्रान्त वा भनुँ क्षेत्रले विकास गर्ने हैन। हामी आज सभ्यताको त्यो कालखण्डमा आएका छौं, जहाँ समाजले अनेकौँ फड्को मारिसक्नु पर्ने थियो। संसारका बिकसित राष्ट्रहरूको तुलनामा हामी अहिलेको पुनर् संरचनाको ढाँचाले कहिले सम्ममा त्यी बिकसित राष्ट्रको दाँजोमा पुग्न सक्ने छौ ? यो प्रश्नको कतै कहिलै पनि बहस भएको छैन। जनताको आधारभूत कुराहरू माथिको पहुँच कहिले सम्म र उनीहरूको जीवनस्तर कुन दिनमा आई पुग्दा सहज र सोचे जस्तो हुने छ ? यो कुराको कतै कसै सँग जबाफ छैन। यो निन्तान्तै दु: ख लाग्दो कुरा हो। दु: ख लाग्दो कुरा यस अर्थमा पनि हो की हामीसँग राज्यको विकास र यससँग उत्पन्न विषयहरूमा यथेष्ट संवादको सम्भावना नै गौण बनेको छ। हामीसँग भएका र चलिरहेका नेतृत्व वर्गले यो विषयमा बहसको त कुरै छाडौं सोच्न पनि भ्याएका छैनन्। देशको मूल मुद्दा बाहेकको अनेकौँ अन्य गौण सवालहरूमा समय खेर फालेको अवस्थामा एउटा सशक्त सोच र दिशानिर्देशको खाँचो महसुस भइरहेको छ।

 

मैले आज कुरा गर्ने खोजिरहेको विषय संसारका बिकसित र सम्पन्न देशको लागि नौलो हैन तर हाम्रो परिवेशमा भने नौलो होला र आवश्यक पनि। सर्वप्रथम हाम्रो देशको दुर्गम जिल्ला वा कुनै गाउँको कुरा गरौं र यो परिवेशको पृष्ठभूमिमा केही कुराको मनन गरौं। हाम्रा कति प्रतिशत भूभाग अति दुर्गम स्थानको रूपमा छन् त? कति जनसङ्ख्या त्यी स्थानमा नारकीय जीवन बिताइरहेका छन्? यसको पहिला पहिचान गरौं। न बाटो छ, न बिजुली, न स्कूल छ, न अस्पताल, न राज्यको पहुँच। भात खानैको लागि बर्ष दिन कुर्नु पर्ने अवस्थामा चाहेको बेलामा किनेर खान सकिने बजार छैन। उत्पादित बस्तुहरूको बेच्ने बजार छैन। लगाउने कपडा छैन। तातो गरि बस्ने कुनै आधार छैन। अझै त्यो भन्दा पनि पहिलो र मूल कुरा त राज्यको पहुँच छैन, सुरक्षा छैन। कुनै अपराध भयो भने राज्यको प्रहरी पुग्न कहयौ दिन लाग्ने ठाउँहरू छन्। राज्यको पहुँच नहुने ठाउँमा गाउँ वा बस्ती राख्न ठीक हुन्छ वा हुँदैन? राम्रो सगँ सोचौ त। जीवनजल जस्तो साधारण औषधीको पहुँच छैन। चेतनाको कुरा गर्ने हो भने त कहाली लाग्ने अवस्था छ। नुहाउँदा साबुनको प्रयोग गर्नु पर्छ भनिरहँदा, रिठ्ठा भन्दा अरूले नुहाउन हुन्छ र? भन्नेहरूको संख्या गन्न नसकिने अवस्थामा छ। राम्रोसँग सोचौं त; के यो मानव सभ्यताले सयौं दशक अगाडि जितिसकेको कुरा हो कि हैन? हामी अझै सहरी ठूला कुरा गरिरहेका छौ। मोटर बाटोको त कुरै नगरे हुन्छ, गोरेटो बाटोको कुरा गर्ने हो भने पनि, एक गाउँबाट अर्को गाउँमा जानको लागि भिरालो रखवारीको वा पहराको बाटो, भित्तामा भइरहेको ढुंगाहरुलाई समातेर जाने कहयौ ठाउँ र गाउँहरू छन्।

 

ल मानौँ देशमा शान्ति भयो र देश विकासको क्रममा अगाडि बढ्यो भने पनि कति वर्षमा त्यी सबै कुराको पहुँच पुग्ला त्यी गाउँ सम्म? फेरी विकासको बढ्ने क्रम हेर्ने हो भने, सहरी क्षेत्र जब सम्म पुर्ण हुँदैन तब सम्म विकासले सहरको बाहिर सिमाना पनि छुँदैन। काठमान्डौ बीचमा भएको विकासको पहुँच त्यही काठमान्डौ बाहिर क्षेत्रमा पुग्न सकेको छैन। तपाई हामीले काठमान्डौबाट सुरु गरेको विकासको क्रम, रोल्पा रुकुम सम्म कहिले पुग्ला? कहिले रोल्पा वा रुकुमका जनताले आधारभूत अधिकार पाउलान्? यो सबै कुरा सम्झने वा कल्पना गर्न पनि नसकिने अवस्थामा रहेको छ।

 

फेरि सबै ठीक अवस्थामा रहेको समय र परिवेशमा पनि यदि राज्यले विकासको क्रमलाई काठमान्डौबाट नगरीकन यीनै ठाउँ वा गाउँबाट सुरु गर्यो भने पनि के यसो गर्न सक्ला? लागतको हिसाबले काठमान्डौ र कुनै तराइको समतल भू-भागको तुलनामा हजारौं गुना बढी लाग्ने छ र हजारौं गुना महँगो हुने छ त्यो ठाउँको विकास। तराईको भू-भागमा ५० किलोमिटर राजमार्ग वा पक्की बाटो बनाईरहदा यी ठाउँहरूमा १ किलोमिटर बाटो खन्न गाह्रो हुने भौगोलिक परिवेश छ। यो सत्य हो कि हैन? अब सोचौं देशले गर्न चाहयो भने के लागत र बजेटको हिसाबले यो सबै गर्न सम्भव छ? के देशले यस्ता सयौं क्षेत्र वा गाउँमा यो लगानी गर्न सक्छ? पैसानै भए पनि यो ठाउँमा विकास गर्न र चाहिने आधारभूत कुराहरू पुर्‍याउन समेत कति समय लाग्ने हो, कसैसँग यसको लेखाजोखा छैन।

 

हामी यो यथार्थताको परिवेशमा रहेर आज राज्यको पुर्न संरचनाको कुरा गरिरहेका छौं र अझ आज हामीले राज्यको यो कल्पना देशको विकास र भू-राजनैतिक जटिलतालाई मनन नगरीकन, मात्र राजनैतिक चलखेलको सहग बाटो खोजेको हो कि हैन? देशमा कसैबाट राज्यको माग भईरहदा तराई मात्र किन चाहिन्छ र त्यसै हुनु पर्छ भनिएको छ। किन तराईलाई छुट्टै राज्यको माग गर्नेहरु उनीहरूले कल्पना गरिरहेको राज्यमा पहाडी वा हिमाली भू-भागको उपस्थितिलाई स्वीकार गरेका छैनन् ? के देश उनीहरूको हैन? नेपाली भईसके पछि तराईका अधिकांश भू-भाग जस्तै पहाडी वा हिमाली भेकको विकासको जिम्मा उनीहरूको हो कि हैन? किन सहज भू-भागको माग भइरहेको छ त? यो त उदाहरण मात्र हो कि हामी कथित राजनैतिक खेलको दाउपेच भन्दा कहिलै पनि माथि उठ्न सकेनौ।

 

समस्या जताततै छ तर यसको यथार्थ समाधानमा पहल नहुनु दु: ख लाग्ने कुरा हो; तर अब ठोस रूपमा सोच्नु पर्ने बेला आएको छ।

पुनर्सरचना भूगोलमा हैन बाच्ने जीवन शैलीमा हुनु पर्छ

व्यवस्थित सहरीकरण र सुविधाको हिसाबले तराई वा समतल भू-भाग सजिलो हुने गदर्छ। लागत र लगानीको हिसाबले समतल भू-भागहरुको व्यवस्था सहज हुने गर्छ। त्यसैले अब रुकुम र रोल्पा जस्ता हजारौं अनकन्टार गाउँमा रहेका लाखौँ मानिसलाई बाटो खनिदिने, स्कूल बनाइदिने, अस्पताल र डाक्टरको व्यवस्था गरि दिने जस्ता कहिलै समाधान नहुने कुरामा झुट्टा आश्वासन दिनु भन्दा त्यस क्षेत्रमा लाग्ने लगानीलाई उनीहरूको जीवनस्तर उकास्ने र रोजगारीका अवसरहरूमा लगानी गरेर, सहज विकास गर्न सम्भव स्थानहरूमा पुनर्स्थापित गराउनु वा बसाइ सार्नु पर्छ र यसरी खाली भएका ठाउँलाई राज्यले अन्य प्रयोजनको लागि, जस्तै विदेशी वा आन्तरिक पर्यटकको लागि व्यवस्थित र सुरक्षित गन्तव्य स्थानको बाटो खोल्नु पर्छ वा राज्यको प्रत्यक्ष निगरानीमा सजिलो र सम्भावित आम्दानीको बाटोहरू खोजिनु पर्छ । चाहे वनको विकास होस चाहे जडीबुटीको खेती होस; यी स्थानहरूमा राज्यले कम लगानीमा उच्च आमदानीको बाटो खोज्नु पर्छ । उता पुनर्स्थापित स्थानहरूमा वैज्ञानिक खेती र औधोगिकरण मा जोड दिएर जनताको जीवन स्तरलाई उकास्ने काममा लगानी गर्नु पर्छ। हामी थोरै छौ, नेपाली जन संख्या धान्न नसकिने अवस्थामा छैन, देशलाई औधोगिकरणमा लैजाने हो र विकासको अनेकौँ सम्भावनालाई खोल्ने हो भने, हाम्रो जनशक्तिले हामीलाई नै पुग्दैन। हामीले काम गरेर नसकिने अवस्थामा हुने छन् हाम्रै देशमा रोजगारी वा भनौं कामहरु। यो यथार्थता तत्कालले कसैले लागू नगर्ला वा यस विषयमा कसैले नसोच्ला तर समाधानको बाटोको लागि मलाई लाग्छ यो बहसको विषय पक्कै हुनेछ कुनै एक दिन। पुनर्सरचना भूगोलमा हैन बाच्ने जीवन शैलीमा हुनु पर्छ.......सबैलाई चेतना भया............

»»  पुरै पढ्नुहोस

Saturday, September 19, 2009

तपाईको नजरमा दूर्जेय चेतना!!

सर्बप्रथम त विजया दशमी तथा दीपावलीको शुखद उपलक्षयमा मेरा सबै मित्र, शुभचिन्तक तथा पाठक गण प्रति मेरो हार्दिक मंगलमय शुभकामना। यो सुखद चाड कसैको पेवा नभई, सुरु देखि जसरी सबै समुदाय, धर्म र वर्गको बीच सुमधुर सम्बन्ध कायम गर्ने चाडको रुपमा मनाउदै आईएको छ त्यसरी नै मनाउन पाईयोस।


मेरा पाठक वर्गमा मैले आज नौलो जिज्ञासा लिएर आएको छु। मेरो यो लगभग ६ महिनाको ब्लग यात्रामा मलाई धेरै अनुभबहरु गर्ने मौका मिल्यो। धेरै कुराहरु जान्ने र धेरै असल मित्रहरु संग सङ्गत गर्ने मौका मिल्यो।

आज मैले तपाईहरुसंग मेरो ब्लगको राम्रो र नराम्रो पाटोलाई खुला मनले राखिदिनु हुन अनुरोध गरेको छु।

भाषाको शुद्धता एकदमै ठूलो कुरा हो तर ब्लगको सुरुको समयमा अनलाइन युनिकोडबाट यहाँहरु बीच आईरहदा भाषामा लाज लाग्ने गरिनै गल्तिहरु भएका छन्। जो मैले फेरि फुर्सदको समयमा पुन लेख्ने छु वा सचाउने नै छु। मेरो भाषाको शुद्धतामा धेरै प्रश्नहरु उठ्ने कुरालाई यसबेला सोचेको छु। यसको अलावा मेरो राम्रो नराम्रो पक्षको बारेमा कृपया मन खुलाएर कमेन्ट गरिदिनु होला।


यो दसैंको शुभ अबसरमा मेरा कमीकमजोरीलाई शुद्ध बनाउने प्रयासको रुपमा उपयोग गर्न मन लागेर यहाँहरुको बिचमा यो प्रस्ताव राखेको हुँ। तपाईहरुको सुझाव ले मलाई अझै राम्रो गर्ने हौसाउने छ। त्यसैले मलाई जान्न मनलाग्यो “ तपाईको नजरमा दूर्जेय चेतना”।।।

»»  पुरै पढ्नुहोस

Sunday, September 6, 2009

शाश्वत सत्य: पृथक पृथक सोचमा

चेतना भनेर हुने मात्र कुरा हैन सायद, यो त गरेर र प्रयोगबाट सिद्ध हुने कुराहो। सोच एउटा हुन सक्छ तर परिवेशले अर्कै रुप लिन सक्छ। साह्रै कठिन र टाढा हुन सक्छ गन्तव्य तर राम्रो र ब्यस्थित बाटोले सहज हुन सक्छ यात्रा। कुनै पनि घटनाक्रम वा वस्तुस्थितिको व्याख्या गर्ने तरिका फरक हुन सक्छ तर यथार्थता कहीँ जादैन। हामी कयौँ मामलामा थाहँ नपाई आफ्नो अनुकूल घटनाक्रमलाई व्याख्या वा परिभाषित गरेका हुन्छौ। चुरो कहीँ जादैन तर पनि हजार मानिसको हजारौ बुझाई हुने गर्छ। ब्यक्तिगत बुझाई र बिश्लेषणले कुनै पनि घटनाक्रम कयौँ पटक सीमित दायरा भित्र त कयौँ पटक विशाल दायरामा जान पुग्छ। हामीले हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार फरक छ र त हामी फरक मान्छेहरु हौ र फरक हुनका लागि पनि हामी हाम्रो दृष्टिकोणलाई, व्यवहारलाई पृथक पृथक रुपमा प्रस्तुत गर्ने गर्छौ। यो क्रममा हामी कयौँ पटक यथार्थताको धरातल नाघेँर वा मिचेर अगाडि बढ्छौ। थाह पाएर वा थाहनै नपाई कयौँ पटक गल्ती गर्छौ। नजानेका कुरामा आफ्नो मत राख्छौ र जानेका कुरामा कसैले जान्नेहोकि भन्ने पीरले मौन बस्छौ। मानिस मानिस बीचको यो पृथकता सगै यसको समष्टिगत रुपले समाजको पहिचान गर्ने गर्छ। यही जड ब्यबहारले सम्पूर्ण रुपमा समाज र राष्ट्रकै प्रतिनिधित्व हुने गर्छ। असल सोच र असल व्यबहारको कुन हद सम्म प्रयोग गरिएको छ, र कुन हद सम्म यसलाई सामाजिक मान्यता प्रदान गरिएको छ, त्यसले निर्धारण गर्ने गर्छ समाज आफै र देश पनि। कयौँ मूर्ख मानिसहरुको बीचमा विद्वान, विद्वानै भएको कारण मूर्ख बनाइने गर्छ। बिस्तारै बिस्तारै आफ्नो अनुकूल बनाईने क्रममा जस्तो सुकै बुझ्ने वा असल चरित्रको उदारहण पनि धमिलो हुदै जान्छ र अन्तयमा त्यही विलय हुन्छ।


फरक के हो त? सजिलो छ, हामीले असल पात्रलाई कहिलै पनि समेट्ने कोसिस गरेका छैनौ। हामीले कहिलै पनि असल जमातलाई एकै ठाउँमा राखेर फल्न र फूल्ने मौका दिएका छैनौ फगत काम्लोमा पोखिएको सातु जस्तो अबस्थाले गर्दा कहिलै पनि असल सोचको एकरुपमा बिकास हुन सकेको छैन।


article-1091402-02A9F082000005DC-571_468x446

एउटा प्रसङ्ग राख्न मन लाग्यो यहाँ नेर: आफ्नो ढाडमा लामो डोरीले बाँधेर धरहराको बीचमा रंग लगाउन तुर्लुङ्गै झुन्डिएको एउटा मजदूरको निकै चर्चा भइरहेको बेला, भोलिपल्ट पत्रिकामा उस्को फोटो छापिन्छ र फोटोको तल लेखिएको हुन्छ” पापी पेट”। यही क्रममा टोकियो टावरको बीचमा डोरीले बाँधेर झुन्डिएको मजदूरको हकमा यसरीनै फोटो आउछ पत्रिकामा तर तल लेखिएको हुन्छ: बहादुर जापानी छोरा”। कुरा सिधा छ। त्यो हो सोच र हेर्ने दृष्टिकोणको फरक। एउटै घटनाक्रमलाई ठाउँ अनुसार फरक मात्र हैन माथि भनिए अनुसार निश्चित र एकै परिवेशमा पनि पृथक पृथक सोच र हेराईले प्रस्तुत गर्ने गरिन्छ। तर प्रस्तुति जे भए पनि, जसरी व्याख्या र उपमा दिए पनि यथार्थता एउटै हुन्छ। जतिसुकै नमिठो लागे पनि सत्य एउटै हुन्छ। फरक छ त हेराई र बुझाईको। बहादुर छोरा भनोस वा मूर्ख, जो जुनसुकै टावरमा झुन्डियोस यो प्रसङ्गमा त्यो पापी पेटनै हो झुन्ड्याउने । फरक छ त सुन्दा र भन्दा कुन राम्रो हुन्छ भन्ने मात्रको। यो नै सत्य हो र सत्य शाश्वतनै हुन्छ। मानब जीवनमा यथार्थ परिस्थितिको पहिचान र त्यस सत्यकुराको आत्मसाथनै सबैभन्दा ठूलो आबश्यकता भएको छ अहिले।..... सबै लाई चेतना भया…………..

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला