यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, September 19, 2009

तपाईको नजरमा दूर्जेय चेतना!!

सर्बप्रथम त विजया दशमी तथा दीपावलीको शुखद उपलक्षयमा मेरा सबै मित्र, शुभचिन्तक तथा पाठक गण प्रति मेरो हार्दिक मंगलमय शुभकामना। यो सुखद चाड कसैको पेवा नभई, सुरु देखि जसरी सबै समुदाय, धर्म र वर्गको बीच सुमधुर सम्बन्ध कायम गर्ने चाडको रुपमा मनाउदै आईएको छ त्यसरी नै मनाउन पाईयोस।


मेरा पाठक वर्गमा मैले आज नौलो जिज्ञासा लिएर आएको छु। मेरो यो लगभग ६ महिनाको ब्लग यात्रामा मलाई धेरै अनुभबहरु गर्ने मौका मिल्यो। धेरै कुराहरु जान्ने र धेरै असल मित्रहरु संग सङ्गत गर्ने मौका मिल्यो।

आज मैले तपाईहरुसंग मेरो ब्लगको राम्रो र नराम्रो पाटोलाई खुला मनले राखिदिनु हुन अनुरोध गरेको छु।

भाषाको शुद्धता एकदमै ठूलो कुरा हो तर ब्लगको सुरुको समयमा अनलाइन युनिकोडबाट यहाँहरु बीच आईरहदा भाषामा लाज लाग्ने गरिनै गल्तिहरु भएका छन्। जो मैले फेरि फुर्सदको समयमा पुन लेख्ने छु वा सचाउने नै छु। मेरो भाषाको शुद्धतामा धेरै प्रश्नहरु उठ्ने कुरालाई यसबेला सोचेको छु। यसको अलावा मेरो राम्रो नराम्रो पक्षको बारेमा कृपया मन खुलाएर कमेन्ट गरिदिनु होला।


यो दसैंको शुभ अबसरमा मेरा कमीकमजोरीलाई शुद्ध बनाउने प्रयासको रुपमा उपयोग गर्न मन लागेर यहाँहरुको बिचमा यो प्रस्ताव राखेको हुँ। तपाईहरुको सुझाव ले मलाई अझै राम्रो गर्ने हौसाउने छ। त्यसैले मलाई जान्न मनलाग्यो “ तपाईको नजरमा दूर्जेय चेतना”।।।

»»  पुरै पढ्नुहोस

Sunday, September 6, 2009

शाश्वत सत्य: पृथक पृथक सोचमा

चेतना भनेर हुने मात्र कुरा हैन सायद, यो त गरेर र प्रयोगबाट सिद्ध हुने कुराहो। सोच एउटा हुन सक्छ तर परिवेशले अर्कै रुप लिन सक्छ। साह्रै कठिन र टाढा हुन सक्छ गन्तव्य तर राम्रो र ब्यस्थित बाटोले सहज हुन सक्छ यात्रा। कुनै पनि घटनाक्रम वा वस्तुस्थितिको व्याख्या गर्ने तरिका फरक हुन सक्छ तर यथार्थता कहीँ जादैन। हामी कयौँ मामलामा थाहँ नपाई आफ्नो अनुकूल घटनाक्रमलाई व्याख्या वा परिभाषित गरेका हुन्छौ। चुरो कहीँ जादैन तर पनि हजार मानिसको हजारौ बुझाई हुने गर्छ। ब्यक्तिगत बुझाई र बिश्लेषणले कुनै पनि घटनाक्रम कयौँ पटक सीमित दायरा भित्र त कयौँ पटक विशाल दायरामा जान पुग्छ। हामीले हेर्ने दृष्टिकोण र गर्ने ब्यबहार फरक छ र त हामी फरक मान्छेहरु हौ र फरक हुनका लागि पनि हामी हाम्रो दृष्टिकोणलाई, व्यवहारलाई पृथक पृथक रुपमा प्रस्तुत गर्ने गर्छौ। यो क्रममा हामी कयौँ पटक यथार्थताको धरातल नाघेँर वा मिचेर अगाडि बढ्छौ। थाह पाएर वा थाहनै नपाई कयौँ पटक गल्ती गर्छौ। नजानेका कुरामा आफ्नो मत राख्छौ र जानेका कुरामा कसैले जान्नेहोकि भन्ने पीरले मौन बस्छौ। मानिस मानिस बीचको यो पृथकता सगै यसको समष्टिगत रुपले समाजको पहिचान गर्ने गर्छ। यही जड ब्यबहारले सम्पूर्ण रुपमा समाज र राष्ट्रकै प्रतिनिधित्व हुने गर्छ। असल सोच र असल व्यबहारको कुन हद सम्म प्रयोग गरिएको छ, र कुन हद सम्म यसलाई सामाजिक मान्यता प्रदान गरिएको छ, त्यसले निर्धारण गर्ने गर्छ समाज आफै र देश पनि। कयौँ मूर्ख मानिसहरुको बीचमा विद्वान, विद्वानै भएको कारण मूर्ख बनाइने गर्छ। बिस्तारै बिस्तारै आफ्नो अनुकूल बनाईने क्रममा जस्तो सुकै बुझ्ने वा असल चरित्रको उदारहण पनि धमिलो हुदै जान्छ र अन्तयमा त्यही विलय हुन्छ।


फरक के हो त? सजिलो छ, हामीले असल पात्रलाई कहिलै पनि समेट्ने कोसिस गरेका छैनौ। हामीले कहिलै पनि असल जमातलाई एकै ठाउँमा राखेर फल्न र फूल्ने मौका दिएका छैनौ फगत काम्लोमा पोखिएको सातु जस्तो अबस्थाले गर्दा कहिलै पनि असल सोचको एकरुपमा बिकास हुन सकेको छैन।


article-1091402-02A9F082000005DC-571_468x446

एउटा प्रसङ्ग राख्न मन लाग्यो यहाँ नेर: आफ्नो ढाडमा लामो डोरीले बाँधेर धरहराको बीचमा रंग लगाउन तुर्लुङ्गै झुन्डिएको एउटा मजदूरको निकै चर्चा भइरहेको बेला, भोलिपल्ट पत्रिकामा उस्को फोटो छापिन्छ र फोटोको तल लेखिएको हुन्छ” पापी पेट”। यही क्रममा टोकियो टावरको बीचमा डोरीले बाँधेर झुन्डिएको मजदूरको हकमा यसरीनै फोटो आउछ पत्रिकामा तर तल लेखिएको हुन्छ: बहादुर जापानी छोरा”। कुरा सिधा छ। त्यो हो सोच र हेर्ने दृष्टिकोणको फरक। एउटै घटनाक्रमलाई ठाउँ अनुसार फरक मात्र हैन माथि भनिए अनुसार निश्चित र एकै परिवेशमा पनि पृथक पृथक सोच र हेराईले प्रस्तुत गर्ने गरिन्छ। तर प्रस्तुति जे भए पनि, जसरी व्याख्या र उपमा दिए पनि यथार्थता एउटै हुन्छ। जतिसुकै नमिठो लागे पनि सत्य एउटै हुन्छ। फरक छ त हेराई र बुझाईको। बहादुर छोरा भनोस वा मूर्ख, जो जुनसुकै टावरमा झुन्डियोस यो प्रसङ्गमा त्यो पापी पेटनै हो झुन्ड्याउने । फरक छ त सुन्दा र भन्दा कुन राम्रो हुन्छ भन्ने मात्रको। यो नै सत्य हो र सत्य शाश्वतनै हुन्छ। मानब जीवनमा यथार्थ परिस्थितिको पहिचान र त्यस सत्यकुराको आत्मसाथनै सबैभन्दा ठूलो आबश्यकता भएको छ अहिले।..... सबै लाई चेतना भया…………..

»»  पुरै पढ्नुहोस

Friday, August 28, 2009

सकरात्मक तर प्रगतिशील आत्मविश्वास

१ युद्धको मैदानबाट फर्किएको कुनै लडाकुलाई मैले सोधेँ, के युद्ध राम्रो हो ?

२ कसै माथी प्रहार गरेर कसैलाई मारेर फर्किएको मान्छेलाई मैले सोधेँ, के हत्या गर्नु राम्रो हो?

३ चोरेर फर्किएको चोरलाई मैले सोधेँ, के चोर्नु राम्रो हो?

४ कसैसंग झगडा गरेर फर्किएको मान्छेलाई मैले सोधेँ, के झगडा गर्नु राम्रो हो?

५ बिधार्थीलाई गृहकार्य नगरेको निहुँमा बेस्करी कुटेर फर्किएका शिक्षकलाई सोधेँ, के बिधार्थी कुट्नु राम्रो हो?

६ चीट चोरेर पास भएको बिधार्थीलाई सोधेँ, के चीट चोरेर पास हुनु राम्रो हो?

७ भ्रष्टाचार गरेर पैसा कमाएको कर्मचारीलाई सोधेँ, भ्रष्टाचार गर्नु राम्रो हो?

८ अपराधीलाई बेस्करी कुटेर बसेको पुलिसलाई सोधेँ, के अपराधीलाई नियन्त्रणमा लिएर कुट्नु राम्रो हो?

९ राजनीतिको खराब खेलमा खप्पिस भएका नेतालाई सोधेँ, के राजनीति खराब खेल हो?

१० धर्म, भाषा र वर्णको लागि आन्दोलन गरेकाहरुलाई सोधेँ , के धर्म, भाषा र वर्णको आधारमा विभाजित हुनु राम्रो हो? ११ ............१२................१३..............


यस्ता थुप्रै र आम सरोकारका प्रश्नहरुलाई केलाएर हेर्ने हो र म मात्र हैन कसैले पनि यो उत्तर खोज्न चाह्यो भने सबै प्रश्नको एउटै उत्तर हुन्छ “राम्रो हैन”। आफैले गरेको काम वा कुकर्म आफैलाई राम्रो नलागेर पनि किन यस्तो काम भईरहेको छ? किन यस्तो काम गरिरहेका छन् त? स्वयं चोरलाई, भ्रष्टाचारीलाई, अपराधीलाई आफूले गरेको कामबाट सन्तुष्टि छैन। उनीहरु आफै यो कामलाई ठीक मानेका छैनन्। मन ले नगरौ भन्छ, नगरी छाड्दैनन् वा नगरी हुदैन।


आफू माथि अन्याय परेको छ, कसैले सुन्दैन, आफूमाथि आक्रमण भएको छ, बचाउको लागि पनि त युद्ध लड्नु पर्यो। नचोरेर के गर्नु ? सीप छैन, संगतले त्यही काममा राम्रो ज्ञान भयो, नचोरी खानै पुग्दैन। जती संझाए पनि मान्दैन, दिएको कामनै गर्दैन नकुटेर त हुदै हुदैन शिक्षकलाई।, पास हुनु छ, पास नभए जागिर पाईदैन, जसरी पनि पास हुनु छ, चीटनै चोरेर किन नहोस। तलबले खानै पुग्दैन, मंहगी बढेको छ, जहान केटाकेटी पाल्नको लागि आउने आम्दानीले पुग्दैन, भ्रष्टाचार नगरी नहुने। राम्रो मुखले संझाएर वा सोधेर अपराधी बोल्दैन। नकुटेर त हुदै नहुने र यसो नभए पारनै नलाग्ने पुलिसलाई। पेशानै राजनीति भए पछि उद्धेश्य पुरा गर्न वा कुर्चीमा बसिरहन, खराब किनबेच नगरी नहुने नेतालाई। यी र यस्तै उत्तर पाउछौ हामी यदि किन यो काम गरेको हो त भनेर सोध्यौ भने वा सोच्यौ भने।


नराम्रो काम छ, नराम्रो हो भन्नै थाह छ तर पनि किन यो सबै भईराखेको छ? सबैको जड तत्व भनेको “आत्मविश्वास” हो। नकरात्मक आत्मविश्वासको कारण यसो भइ रहेको छ। यदी सबैकुरालाई सकरात्मक आत्मविश्वासका साथ सोच्ने हो भने सबै कुरा ठीक हुने थियो। आफूलाई निन्तान्तै बाध्यात्मक परिस्थितिले यसो गर्न परेको छ भनेर जति भने पनि यो सबै कुरालाई एउटा सकरात्मक आत्मविश्वासले हेर्ने हो र आफूमा तद्अनुरुप परिवर्तन गर्ने हो भने सबै कुरामा नियन्त्रण सम्भव छ। नचोरी हुदैन भन्ने नकरात्मक आत्मविश्वासलाई, मेहनत गरेर पनि गुजारा गर्न सकिन्छ, सानै काम गरेर पनि संसारका करौडौ मानिसहरु खुसी छन् भन्ने सोच्ने हो भने चोर्न मन लाग्दैन। रक्सीको मातलाई आनन्दको प्रतिक मान्नेहरुले यसले गर्ने हजारौ खराबीलाई आत्मसाथ गर्ने हो भने, र रक्सी खाँदा मरिन्छ तर नखाँदा मरिदैन भन्ने कुरालाई सकरात्मक आत्मविश्वासकासाथ स्वीकार गर्ने हो भने सायद रक्सी खाएर बिताएका र गुमाएका हजारौ यथार्थताहरु प्रति आफैलाई धिक्कार लाग्ने छ।


खराब मान्छेसंग दुस्मनी गर्न एकदमै सजिलो हुन्छ तर एउटा असल मान्छेसंग दुस्मनी गर्नु पर्यो भने कति गाह्रो हुन्छ र कति ठूलो मूल्य चुकाउनु पर्छ भन्ने कुराको कुनै सीमानै छैन। यो आत्मविश्वासका साथ कुनै शिक्षकले बिधार्थी माथि राम्रो ब्यबहार गर्ने हो र सकरात्मक आत्मविश्वासका साथ सिकाउने हो भने, कुनै पनि बिधार्थीलाई असल शिक्षकको नजरमा तल झर्ने कुराको कल्पना पनि गर्न सक्दैन। भ्रष्टाचार गर्नु भनेको कुनै निरीह, सोझो र साधारण मानिसको पेट मार्नु हो। यसो गर्दा आफ्नो केटाकेटीको पेट त भरिएला तर पीडित मान्छेको केटाकेटीको गासँ खोसेर, उसका लालाबालाको अनुहारमा भोक र प्यासको नजानिदो अनुभूतिको उपहार दिनु सरह हो भन्नेकुरा सोच्ने हो र मैले राम्रो काम गरे भने र राम्रो सेवा गरिदिए भने, उसले मलाई कहिल्यै पनि भुल्ने छैन, उसको केटाकेटीहरुको हाँसो र खुसी खोसिने छैन भन्ने सोच्ने हो भने सायद भ्रष्टाचार गर्नु त के उसको दिमाखमै आउने छैन यस्तो सोचहरु।


त्यसैले हाम्रो समाजमा भईरहेको जती पनि खराब पक्षहरुको सामाधान माथिबाट कानुन बनाएर वा लादेर हुने छैन। तपाई हामीले जतिसुकै कराए पनि, जतिसुकै नराम्रो भयो भने पनि कुनै परिवर्तन हुनै छैन। त्यसलै एक पटक आखाँ बन्द गरेर सोचौँ, हामीसंग के के खराब कुराहरु छन् र के के असल।तर एउटा कुरा याद गर्न जरुरी छ, सकरात्मक सोच यथास्थितिवादी सोचको लागि भने कहिल्यै हुनु हुदैन। यस्ता कुराहरुको कुनै पनि दस्तावेज वा उदाहरणहरु सकरात्मक हुनै सक्दैन। छानेर, साँधेर वा केलाएर हेर्नु पर्ने हुन्छ हरेक यस्ता उदाहरणहरु। गर्न नसकेर वा भनु आफ्नो पछौटेपनलाई मन बुझाउने असल माध्यम सकरात्मक आत्मविश्वास भने हुनै सक्दैन। त्यसैले आफूबाट हुनु पर्छ परिवर्तन र प्रगतिशीलपनि हुनु पर्छ आत्मविश्वास। समयको सीमा र यथास्थितीवादमा रहने हो भने जतिसुकै सकरात्मक भए पनि पुरानो र कामनलाग्ने खालको हुने छ आत्मविश्वास, यसको साथमा आएका परिवर्तनहरु र सम्पुर्ण परिभाषाहरु।


त्यसैले यो खराब काम हो र यो गर्न हुदैन भन्ने सकरात्मक सोचले मात्र पुग्दैन। यसबाट मुक्ती पाउन सकरात्मक सोच सगै एउटा बलियो समय अनुकूल आत्मबिश्वासको खाचो हुन्छ; अर्थात “सकरात्मक तर प्रगतिशील आत्मबिश्वास”...सबैलाई चेतना भया.......


(प्रयोग गरिएका कुनै पनि शब्द बा भनाईहरु बिल्कुल निरपेक्ष छन्)

»»  पुरै पढ्नुहोस

Sunday, August 16, 2009

टेलिभिजनको भाषा किन यस्तो सस्तो? “ प्वाक्क मुखमा हानु जस्तो”

आजकल बच्चा वा केटाकेटीहरुको लागि टेलिभिजनका कार्यक्रमहरु नराम्रो नशा हुन पुगेका छन्। यो नशा बाल मनोविज्ञानको एउटा यस्तो पक्ष हो, जस्ले हरेक सवालमा निकै दु:खी बनाउने गर्छ अभिभावकहरुलाई। बिदाको दिनमा टेलिभिजनहरुको अगाडि बस्ने र रिमोट अनेकौ ठाउँमा लुकाएर निर्धक्कका साथ कार्यक्रमहरु हेर्ने बानी प्राय सबै घरका बच्चाहरुको भएको छ। स्कुलको गृहकार्य सकेर वा टेलिभिजन हेर्ने बहानामा चाडै र झारा टार्नेगरी गृहकार्य गरेरै भए पनि कार्यक्रमहरु हेर्ने सुर हरेक र प्राय जसो बच्चाहरुमा रहेको पाईन्छ।


केटाकेटीहरु स्वभावैले चल्ने, झगडा गर्ने र घरमै बसे पनि चलेर हैरान पार्ने स्वभाबका हुन्छन् र यो कार्यबाट पनि छुटकरा पाउन बाबु आमाहरु उनीहरुलाई टेलिभिजन देखाएर शान्त पार्ने र घरमै आफ्नो लागि समय निकाल्छन्। दिनभर काममा व्यस्त बाबु आमा घरमा हुने कामको लागि पनि आफ्ना बच्चा र केटाकेटीहरुलाई टिलिभिजन वा फिल्मको अगाडि थन्काएर आफ्नो काम निम्ट्याउछन् र कामै नभए पनि आफूलाई आराम गर्ने समय यसरी निकाल्छन् । एकातिर दिनभरी स्कुलमा गएर पढेर आएका आफ्ना बच्चाहरुलाई केही समय हास्न दिने र रमाईलो गर्न दिनैको लागि भए पनि हामी उनीहरुलाई यो अबसर दिन्छौ र उनीहरुलाई छोडिदिन्छौ। तर केटाकेटीहरुको यो तरिका र उनीहरुको टेलिभिजनसंगको झुकाबका बारेमा हामीले एक पटक राम्रो संग सोच्नै पर्छ।


केटाकेटीहरु सबै भन्दा बढी कुन कार्यक्रम हेर्छन् त भनेर कसैले सोध्यो भने वा जान्न चाह्यो भने सबै भन्दा बढी एउटै उत्तर आउछ, त्यो हो “कार्टुन”। कार्टुन हेर्दा जस्तो बच्चाहरुको अनुहारमा खुसी अरुमा सायदै हुदैन् तर कुन कार्टुन भन्ने चाहीँ ठ्याक्कै भन्न भने गाह्रो हुन्छ; कारण ठाउँ बिशेष र भाषा बिशेषमा भर पर्ने हुन सक्छ। त्यसो त केटाकेटीहरु कथा भन्दा पनि त्यसमा प्रयोग हुने हाउभाउमा बढी ध्यान दिएको पाईन्छ र कुनै फिल्म वा कुनै कार्टुनमा प्रयोग भएको दृष्यको नक्कल गर्नु र कथामा देखिए जस्तै कलाकार जस्तो बन्न खोज्नु र प्रयास गर्नु उनीहरुका लागि नौलो भने हैन। अझ प्रष्ट भन्नु पर्दा केटाकेटीहरुले कुनै पनि यस्ता दृष्यहरुले दिन खोजेका सन्देशलाई भन्दा त्यसमा देखाईएको हाउभाउलाई र पटक पटक एकनास संग प्रयोगहुने भाषा बा दृष्यको भने चाडै नै नक्कल गर्ने गर्छन्।


उदाहरणको लागि नेपाली टेलिभिजन कै कुरा गरौँ एक पटक। हाम्रो देशमा अहिले निस्केका र चलेका टेलिभिजन कार्यक्रमहरुमा हास्य ब्यङ्ग्यसंग सम्बन्धी कार्यक्रमहरु प्राय केटाकेटीहरुले कहिलै नछुटाईकन हेर्छन्। बाबु आमालाई थाह नहोला, आफ्नो स्कुलको कामको याद नहोला, खाना खाने बेलाको ज्ञान र सम्झना नहोला तर केटाकेटीहरुलाई कुन कार्यक्रम कतिबेला र कुन वार आउछ थाह हुन्छ र कार्यक्रम आउनु अगाडि रिमोट कब्जा गरेर बसिसेका हुन्छन। खुब मजा पनि लिएका हुन्छन् र खुब हास्छन् पनि यस्ता कार्यक्रमहरुबाट उनीहरु।


यस्ता कार्यक्रमहरुको राम्रो पक्षहरु थुप्रै होलान र यस्ता कार्यक्रमहरुमा देखाईएका ब्यङगहरु ठूला र बुझ्ने मानिसका लागि रमाईलो र यथार्थपरक होला तर कार्यक्रममा पटक पटक भनिने थेगो र उपमाहरुको असर केटाकेटीमा नराम्रै संग बढी परिरहेको हुन्छ।


तपाईहरु ख्याल गर्नु त कुनै कार्यक्रममा कलाकारले कुनै राजनैतिक कुरा भन्दा वा कुनै समाजको नराम्रो कुरामा प्रहार गर्दा नहाँसेको र कुनै पनि कुरा नबुझेको जस्तो गर्ने केटाकेटीको अनुहारमा “ प्वाक्क मुखमा हानु जस्तो” भन्ने दृष्य आयो भने एक प्रकारको नजानिदो हाँसो वा खुसी आउछ उनीहरुको अनुहारमा। त्यस्तै “लात्तीले ले हानेर बारीको पाटामा पुराईदिन्छु” “टीकी ट्यास ट्यास पारेर” “ ई कस्तेरी हास्छै म त मर्छुकि क्याहो” , “निष्चितरुपमा”, “ए राता मकै”, “हेर्दा देर्दै ........ खप्पराआ त लिएरै आएको रहेछ”, “म त छक्क पर्छु”, “परेको म बेहोरुला” आदि आदि।


“एक जना हुजुरबुबालाई उनको नातिले कुनै सन्दर्भमा कतै “प्वाक्क मुखमा हानु जस्तो” भनेर भनेछन्, कतै मैले सुनेको थिए साँचो कुरा होला वा नहोला तर यस्तो नहोला भनेर पनि भन्न सकिदैन।


कुनै पनि कार्यक्रममा प्रयोग हुने यस्ता भाषाहरुको नक्कल केटाकेटीले चाडै गरेका हुन्छन्। किनकि एउटै कार्यक्रममा पटक पटक भनिने, सुन्न र नक्कल गर्न सजिलो भएरै पनि होला, उनीहरु कार्यक्रम हेरीसके पछि पनि यसको प्रयोग लामो समय सम्म गर्ने गर्छन्। सबै त हैन तर कुनै कुनै यस्ता कार्यक्रममा प्रयोग हुने भाषाहरु, निश्चितरुपमा पनि नराम्रो असर पार्ने र सभ्य भाषाको श्रेणी भित्र पर्दैनन्।


आजकल कथा बस्तुमा ध्यान नदिएर कता कता उट्पट्याङ कुराहरुको संगालो जस्तो लाग्न थालेका छन् हाम्रा यस्ता कार्यक्रमहरु। सबै त हैन तर प्रायजसो कार्यक्रमहरु त्यस्तै प्रकारले बन्न थालेका छन् र हेरीसके पछि कथाले भन्न र दिन खोजेको राम्रो कुराको हेक्का कम हुने तर त्यसमा प्रयोगहुने भाषा र हाउभाउको नराम्रो असर भने केटाकटीमा लामो समय सम्म पनि परिरहेको हुन्छ र देखिन्छ। त्यसैले थेगो मात्र हैन, कथा भित्र बोलिने संबाद पनि उदेक र यस्तो धनी भाषालाई गरिब र कङ्गाल झै मानेर प्रयोग हुने गरेका संबादहरु सुन्दा कहिले काहिँ दिक्क लागेर पनि आउछ।


हामीले यस कुरामा हाम्रा केटाकेटीहरुलाई सहयोग गर्नै पर्छ। सहयोग गर्ने पर्छ भन्ने कुरा यो मानेमा कि, उनीहरुको लागि कुन कार्यक्रम ठिक र कुन बेठिक, कुन कुरा राम्रो र कुन कुरा नराम्रो भनेर छुट्याईदिनु पर्छ र यस्ता बौद्धिक बिकाश नहुने र बाल मष्तिष्कमा नराम्रो असर पर्ने खालका कुराहरुमा सरकारले नगरे पनि हामिले आफ्नै घरमा सेन्सर गर्नै पर्छ। आफुले समय निकालेर राम्रा र प्रेरणा दिने कार्यक्रमहरुलाई रेकर्ड गरेर वा किनेरै भए पनि दिनु पर्छ र टेलिभिजनमा हुने राम्रा र प्रेरणा दिने खालका कार्यक्रमहरुमा मात्र बढी जोड दिनु पर्छ।


यसो भनिरहदा टेलिभिजनका यी कार्यक्रमहरु र अन्य कार्यक्रमहरुमा भएका राम्रा पक्षहरु र अनेकौ सकरात्मक कुराहरुलाई भने भुल्नु हुदैन तर यो एउटा ठुलो समस्या भने पक्कै हो किनकि कसरी राम्रा कुरालाई मात्र छानेर दिने र बुझाउने भन्ने कुरा सजिलो र व्यावहारिक नहुन सक्छ। यसको लागि राज्यको सरोकार पक्ष र यस्ता कार्यक्रम बनाउने निर्माताहरुनै सजग भए सबैलाई सजिलो हुने थियो।


उदाहरणको रुपमा तलको भिडियो एक पटक हेर्नुस र बिचार गर्नुस। स्मरण रहोस मैले कुनै कार्यक्रम बिशेषलाई मात्र लक्ष गरको भने हैन है, सबैलाई चेतना भया......।

(यो कुरा भने सबै घरमा लागु नहुन पनि सक्छ)

»»  पुरै पढ्नुहोस

Wednesday, August 12, 2009

हामी पशु कहिल्यै हुन सकेनौ !!

कर्म गर्नु योग हो, यसमा दुबिधा कसैको पनि छैन। भगवान कृष्णको यो भनाई साह्रै मार्मिक छ र करौडौ मानिस यसलाई आफ्नो जीवनको आदर्श मान्छन्। समाजको परिवर्तित अवस्था यस्तो यान्त्रिक बन्दै गईरहेको छ, मात्र बाच्नकै लागि पनि हरेकलाई आफ्नो कर्म गर्नै पर्छ। चाहेँ असल कर्म होस चाहेँ खराब, गर्न त पर्छ नै। कर्म गरे पछि फलको आशा नगर्नु भन्नै भनाई पनि त्यतिकै प्रख्यात छ। तर पनि यो भौतिक जगत र यान्त्रिक जीवन कुनै पनि कुराको आशा नगरी वा कुनै फलको आशानै नगरी चल्दै चल्दैन; यो पनि वास्तबिकता नै हो। मानिस फगत कर्मको अनेकौ परिभाषामा अल्झेको छ, मुक्ति चाहन्छ तर पनि सक्दैन। मानिस धर्मलाई, कानुनलाई सामाजिक मूल्य र मान्यतालाई आफ्नो अनुकूल बनाउन चाहिरहेको हुन्छ र अनेकौ उपमा दिएर आफूले गर्ने कामलाई धार्मिक, कानुनी, सामजिक मूल्य र मान्यता अनुरुप ठान्दछ। हरेकले आफूले गरेको कामलाई सर्बश्रेष्ठ मान्ने गर्छन् र आफूलाई अब्बल दर्जामा उभ्याउछ। सबैले आफूले गरेको काम राम्रो मान्दा मान्दै र आफूले गरेको काम सबै भन्दा उत्तम हो भन्दा भन्दै पनि किन हामी आज मानिस हुन सकेका छैनौ त? मानिस भनेर कसले भन्यो हामीलाई? हाम्रो सभ्यताको इतिहास कसले लेख्यो? मानिसलाई सर्बश्रेष्ठ प्राणीको दर्जा कसले दियो? के के आधारमा हामी मानिस ब्रम्हमाण्डको सबै भन्दा चेतनशील प्राणी भनेर आफैलाई घोषणा गरेका हौ? कुन कुन परिवेशमा हामी चराचर जगतको सबै भन्दा अब्बल दर्जाको प्राणी भयौँ?


मानव जगतले गरेको काम, जसले बनाएको सीमना के का लागि र किन हो भन्ने पश्न मेरो मानसपटलमा आईरहेको छ। कसरी मिल्न सक्छ यो प्रश्नको उत्तर?


हामीले कम चेतनशील भनेका प्राणी वा भनौ जनवारहरुलाई किन कुनै धर्मको आवस्कता छैन? किन कानुनको सीमा छैन?, किन कुनै राज्य र सीमनाको मतलब छैन? किन शून्य भएर बाँचेका छन् उनीहरु? किन उनीहरु आफ्नो धर्मको लागि काटमार गर्दैनन्? किन उनीहरु राज्य र सीमनाको लागि शहिदको खेती गर्दैनन्? किन उनीहरु दाउपेच र छलकपट गर्दैनन्? किन उनीहरुका लागि भगबान कृष्ण, राम, जिसस वा अल्लाहहरुको जन्म हुदैन? किन गीता, बाइबल र कुरान लेखिदैनन् उनीहरुका लागि? किन कुनै स्वर्गको कल्पना र फलको आशा गरेका हुदैनन् उनीहरु? गीता, बाइबल बा कुरान कुनै धर्म ग्रन्थहरु छैनन् उनीहरुका लागि तर पनि उनीहरु भन्दा मानिस किन बढि हिंसात्मक र अराजक? प्रश्न कहाँ नेर अल्झिएको छ? यो कुनै र कसैलाई पनि सरोकारको बिषय भएको छैन आज।


पैसा बा कुनै कुराको लागि गरिने कर्म, कर्म हुन सक्छ तर योग हुन सक्दैन। मनको शुद्धीकरण पहिलो कर्म हो जसले योग र मानव योग्यताको परिभाषा गर्छ। मनलाई राम्रो बनाउनु, आफूलाई असल पात्रको रुपमा उभ्याउनु बास्तबमा पहिलो कर्म हो तर यहाँनेर सबै जना मानव भएर जन्मेकै आधारमा सभ्य र सर्बश्रेष्ठ प्राणीको उपाधि पाइरहेका छन्। जसरी राजाको छोरा राजा हुने गर्थ्यो। मानव हुनु र यो उपमा पाउनु कति सहज र पुर्खौली भएको छ आज। बस मानवको कोखमा जन्म लियो मानिस बन्यो। तर आचरण र व्यवहार भने कुनै पशुसंग पनि तुलाना गर्न नमिल्ने। काटमार, हिंसा, लुटपाट, बलत्कार, शोषण, अन्याय र अत्याचार यी सबै यस्ता मानव सभ्यातकाका गहना भएका छन्, जो मानिसको पुरै अंगलाई कपडाको जस्तै बेरेर बसेको छ। जब सम्म हामी आफ्नो शरिरको यो दुर्गन्धलाई हटाउदैनौ वास्तवमा कतै र कुनै पनि कोणबाट हामी मानिस हुन सक्दैनौ किनकि हामी पशु त कहिल्यै हुन सकेनौ।


जादा जादै एक जना महात्माको कथा यहाँनेर छोटकरीमा राखौ। एक जना मूर्तिको लागि ठूलो ढुंगा कुदिरहेका कारिगरको नजिकै पुगेर एक जना मानिस सोध्छन्; के गर्न लागेको हो तिमिले? कारिगरले जबाफ दिन्छन्: “मैले यो ढुंगाको बाहिर रहेको अनाबश्यक पत्रहरुलाई फाल्दै छु। जब नचाहिने ढुंगाको पत्रहरु फाल्दछु तब मूर्ति त आफै प्रकट भइहाल्छ नि।”


सबैले हाम्रो सभ्यता माथिको खराब दागहरुलाई यसरीनै फाल्न सके बल्ल मानिस हुन्थ्यौ होला।। सबैलाई चेतना भया !!!!

»»  पुरै पढ्नुहोस

Thursday, August 6, 2009

वाह!!!! ठुल्दाईको टिभी र “कसौटी जिन्दगी” ।

गाईजात्रा त के मनाउने खै, मनाउदै गयो, मान्दै गयो उस्ताको उस्तै। कति मात्रै मनाउने भन्दा पनि कसरी मनाउने भन्ने मै समय जाने भो । के बाट मनाउने, कसबाट सुरु गरेर मनाउने, कहाँबाट मनाउने नै समस्या। कुनै कतै ठाउँ बाँकी भए पो यहीबाट मनाउँ भन्न हुन्थ्यो। सबै तिर उस्तै भद्रगोल भएर होला गाईजात्रा सुरु गर्नै आएन। सोच्दा सोच्दै जानै लागिसक्यो यो चाड तर पनि मेरो मनमा हजारौ ठाउँहरु छन् गाईजात्रा मनाउने। मूल कुरो चाहिँ कुन कुराबाट सुरु गरौ पो भयो त। हास्दै पनि भन्दै पनि भयो भने गाईजात्राको मजा हुन्छ रे। भनिरह्यो भने पनि नहुने, हासिरह्यो भने पनि नहुने। दुबै एकै पटक हुनु पर्ने रे। सिधा कुरा पनि गर्न भएन फेरि। गर्‍यो भने कसैले नपत्याउने होला। गाईजात्रा न पर्‍यो। त्यस्तै भयो आज मलाई। तर म सुन्दै पनि थिए, पठ्दै पनि थिए र हास्दै पनि।


“रामे।।ए रामे..... कता मरेछ यो” सानदाई घाँटी सुक्ने गरि कराउदै थिए। पल्लो ठुल्दाईको घरमा कसौटी हेरेर बसिरहेको रामेलाई बाबुको बोलाईले जर्‍याकजुरुक बनायो। “हैन यो पानीमन्तरे कता मरेछ” सानदाई अझै कराउदै थिए।


“हजुर बा म यही छु” रामे हातमा चप्पल लिएरै उभियो। त्यसो त उसको बुबाले बोलाउने पालो पनि निकै दिन पछि आउने गर्थ्यो उस्को। “जा न तल पधेराबाट एक गाग्री पानी लिएर आइज, भित्र के के हुदैछ, पानी चाहिन्छ होला” सानदाई रामेलाई prignency photoरित्तो गाग्रो दिदै थिए। भित्र के के हुदै छ? पानी चाहिएला? रामेले कुरा बुझेन होला तर केही नबुझे पनि के गरोस, गाग्री बोक्दै थियो उ, भित्रबाट सुडेनी आमाको आवाज आयो। सुडेनी आमाको आवाज रामेलाई नौलो हैन, धेरै पटक सुनेको छ उसले त्यो घरमा त्यसै गरी। “ल बधाई छ सानदाई फेरि छोरा भयो” सानदाई खिस्स हासेँ, रामेले कुरा बुझ्यो। हैन बा हाम्रा यत्रो धेरै भाई र बहिनी किन भएका? रामेले सोधेरै छाड्यो। सानदाईले के भन्ने अब खै, तर पनि उनले भनिदिए “तैले यस्तोकुरा बुझ्दैनस जा पानी लिएर आईज” कुरा टार्न खज्दै थिए सानदाई तर रामेले छोड्नै मानेन। धेरै दिन पहिलैबाट सोध्न खोज्दै थियो होला ... भन न बा भन किन हो? “ईईईईई उता जा त, त्यती पनि बझ्दैन नाथे। तिमीहरु पल्लो घरमा टीभी हेर्न जान्छौ हाम्रो घरमा छैन।।। जा जा पानी लिएर आईज। सानदाईले भनिहाले। रामेले “भन न बा भन” भन्दै थियो अझै। खुब हाँसे म पनि……..बेकुफ मेरो पानीमन्तरे भतिजो र वाह ठुल्दाईको टिभी र “कसौटी जिन्दगी” ।


अरू बेला भन्दा के हो के हो गाईजात्रकै मौका छोपिहाले ।

»»  पुरै पढ्नुहोस

Saturday, July 25, 2009

जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू !!

देशलाई माया गरेकै हो। देशको सम्झना र शालीनतालाई मनमा सम्हालेर राखेकै हो। तर किन होला यो मनमा यति धेरै माया र सन्झना? किन आउछ मेरो देशको याद? किन होला मलाई जति नजिकबाट हेरे पनि र जति चोटि हेरे पनि नपुग्ने। वाह मेरो देश।


जतिसुकै सडकमा धुलोले कुइरी-मंडल भए पनि, जतिसुकै सडकमा खाल्टो परे पनि, जतिसुकै सडकमा पानी जमे पनि, जतिसुकै फोहोर सडक भए पनि, जतिसुकै ट्राफिक बढे पनि, जतिसुकै हर्न बजाए पनि, जतिसुकै बाटो मिच्दै गाडी हिडे पनि, जतिसुकै भिखारीको लाईन लागे पनि, जतिसुकै बालक सडकमा आए पनि, जतिसुकै बाटो बन्द भए पनि, जतिसुकै टायर बालिए पनि, जतिसुकै टियर ग्यास खाए पनि जतिसुकै तोडफोड गराए पनि।

नेताले जतिसुकै झुट बोले पनि, जति सुकै आश्वासन बाडे पनि, जति सुकै समाजलाई भड्काए पनि, जतिसुकै मान्छे मारे पनि, जतिसुकै भर्ष्टचार गरे पनि, जतिसुकै नातावाद र कृपावाद गरे पनि, जतिसुकै हस्तक्षेप गरे पनि, जतिसुकै कुर्सीको लागि मरे पनि, जतिसुकै नदी र सम्पदा बेचे पनि, जतिसुकै जालझेल गरे पनि, जतिसुकै उपयोगिताको खेल खेले पनि, जतिसुकै मान्छे मार्न लगाए पनि, जतिसुकै किनबेच गरे पनि, जतिसुकै राज्यको ढुकुटी हिनामिना पारे पनि, जतिसुकै तीन वटा “र”(रक्सी, रण्डी रमी) को पछाडि दौडिए पनि ।

सामाजमा जतिसुकै बलात्कार भए पनि, जतिसुकै छोरीहरु बेचिए पनि, जतिसुकै काटमार भए पनि, जतिसुकै अपहरण भए पनि, , जतिसुकै छुवाछुत भए पनि, जतिसुकै दाईजोको चलन बढे पनि, जतिसुकै जाड, चुरोट र अफिम बेचिए पनि, जतिसुकै सामन्त बढे पनि, जतिसुकै घर लुटिए पनि, जतिसुकै गरिबी बढे पनि, जतिसुकै रोग लागे पनि, जतिसुकै भोकमरी भए पनि, जतिसुकै अनिकाल परे पनि, जतिसुकै पानीको हाहकार भए पनि, जतिसुकै नदीहरु दुर्गन्धित भए पनि, जतिसुकै नदीहरु बेचिए पनि, जतिसुकै थिचोमिचो भए पनि, जतिसुकै बेरोजगारी बढे पनि, जतिसुकै पटक ठगिए पनि, जतिसुकै अन्याय परे पनि, जतिसुकै कानुनको धारा प्रयोग गरे पनि, जतिसुकै अशिक्षित भए पनि, जतिसुकै खुट्टा तानातान भए पनि, जतिसुकै बौद्धिक शोषण भए पनि, जतिसुकै बौद्धिक पलायन भए पनि, जतिसुकै व्यापार धाटा भए पनि, जतिसुकै व्यापारी लुटिए पनि, जतिसुकै आर्थिक मन्दी भए पनि, जतिसुकै कानुन तोडिए पनि, जतिसुकै स्कुल बन्द गरिए पनि, जतिसुकै स्कुलमा राजनीति गरे पनि, जतिसुकै शिक्षक कुटिए पनि, जतिसुकै बच्चा टुहुरा भए पनि, जतिसुकै छोराहरु मरे पनि, जतिसुकै छोरीहरु विधवा भए पनि, जतिसुकै काम ढिलाइ भए पनि, जतिसुकै घुस दिन परे पनि, जतिसुकै आलटाल गरिए पनि, जतिसुकै हन्डर खान परे पनि, जतिसुकै दुःख झेल्नु परे पनि।

छिमेकीले जतिसुकै सिमाना अतिक्रमण गरे पनि, जतिसुकै नेपाली धपाईए पनि, जतिसुकै सम्पत्ति लुटिए पनि, जतिसुकै चेलीबेटी बलात्कार गरिए पनि, जतिसुकै आर्थिक शोषण गरिए पनि, जतिसुकै हस्तक्षेप गरे पनि, जतिसुकै मिचाह निति लिए पनि, जतिसुकै हतियार पठाए पनि, जतिसुकै साधन र श्रोतमा गिद्धे आँखा लगाए पनि, जतिसुकै नेताहरुलाई कठपुतली बनाए पनि, जतिसुकै सामाजिक हस्तक्षेप गरेपनि, जतिसुकै सस्कृतीमा हस्तक्षेप सहित शक्ति प्रयोग गरे पनि आफ्नै लाग्ने हाम्रो देश। त्यसतै अफिसमा, स्कुलमा, कलेजमा, घरमा, गाँउमा, शहरमा, व्यापारमा, जागिरमा र समष्टिगत रुपमा भन्नु पर्दा आफैमा......ओहो कति हो कति।।।।

जे जतिसुकै भए पनि मेरो देशको माया नमर्ने रहेछ। किन होला यस्तो बिघ्न हुदा पनि मेरो देश रहेको छ? जतिसुकै जे होस मेरो देश रहिरहन्छ, किनहोला? हजारौ र करोडौ रोग, अराजकता र समस्या हुदा हुदै पनि देश रहिरहेको भान हुन्छ। केही बाँकी छैन नराम्रो हुनलाई, जतिसुकै राम्रो भए पनि ओझेलमा परेका छन् राम्रा कुराहरू, हरेक युवाहरु आफ्नो हातमा कानुन बोकेर हिडेका छन्। एक अर्का प्रति विस्वास छैन, माया छैन, सद्भाव छैन।


देश भनेको माटो र सिमाना मात्र हैन, देश भनेको समाज हो, त्यसको समुचित व्यवस्था हो र देश भनेको शालीनता हो। अराजकतामा देश; देश रहदैन। सामाजिक विखण्डनमा देश अखण्ड रहन सक्दैन। देशले रगत हैन, बास्तबमा पसिना मागेको हुन्छ। कुनै पनि देशले आफ्नोलागि रगत माग्दैन फगत आफ्ना छोरा र छोरीको बलि खोज्दैन। यदि कसैले भन्छ भने गलत हो त्यो र हामीलाई भड्काइ रहेको छ त्यो। कसैले भड्काउन खोजिरहेको छ त्यहाँ। शान्त र शालीन देशले के को लागि रगत माग्ने? रगत दिएर जानेहरुको खेती नहुनु नै देश हो। बिसौ हजारको बलिदानबाट मात्र नबन्ने रहेछ देश। मेहनत, पसिना, शालीनता, माया, विश्वास, सद्भाव, कानुनी व्यवस्था, गरिबनै भए पनि र खानै नपाए पनि पेट थिचेर एक निन्द्रा गतिलोसंग सुत्न सकिने सुनसान र शान्त रात हो देश। सबै बिगारेर हामी कुन देशको कुरा गरिरहेका छौ आज? यस्तो अबस्थामा छ मेरो देश तर पनि मलाई सुन्दर शान्त र विशाल लागिरहेको छ, सही कुरा हो तर नमिठो लाग्नसक्छ र गाली खाईएला तर हाम्रो यथार्थता यही हो। बनाऔ कम्तिमा एक पटक यो देशलाई देश। हातेमालो गरेर खनौ र सुन फलाऔ यही देशमा, बाच्नु त भइगो तर कम्तिमा शान्तसंग मर्न त पाँउ।


मेरो देश आफैमा जड तत्व भएर निरपेक्ष अबस्थामा रहेको छ र सायद म पनि। अनि त देश बाँचेको देख्छु म। कस्तो विडम्बना, कस्तो नियति मेरो? र आफैमा प्रश्न गर्छु के प्रत्येक सूत्रबद्ध कुराहरू निरपेक्ष सत्य हुन सक्छन्? सबै कुराहरु बिर्सौ, आफैमा बिश्बास गरौ र आफैबाट परिबर्तनको सुरुवात गरौ। कसैले बनाई दिदैनन् हाम्रो लागि हाम्रो देश। हामीले बानाउनु पर्छ हाम्रो आफ्नो देश र समाज। हामीले मान्नु पर्छ कानुन, सामाजिक मूल्य र मान्यता, अनि मात्र बन्छ हाम्रो देश हाम्रै सापेक्ष.... सबैलाई चेतना भया.........

»»  पुरै पढ्नुहोस

Sunday, July 19, 2009

कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ।

पार्दापार्दैको तातो-तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को। सन्झना मात्रै रह्यो के गर्नु? रमेश हिजो दुःखेसो पोख्दै थिए। हैन के भयो रमेश दाई आज अचानक सबै कुराको याद किन आयो? मैले सोधे।


के गर्नु? हामीले याद मात्र गर्ने त हो नि, समयले कस्तो कोल्टे फेर्‍यो है? जन्मे हुर्केको ठाँउको याद त सधै आउछनै, कुनै बिशेष समय र परिस्थितिको आगमननै हुनै नपर्ने रहेछ, हैन र? मेलै सहमत जनाए। त्यसो त यादनै गर्नु पर्ने केही त होलानि? मैले सोधे।


के छैन भन्नु खै। कति दिन भयो मेरो मनमा एउटै कुराले जरा गाडेर बसेको छ। दिनमा नै किन? आफ्नो ठाँउको त हरेक समय याद आउदो रहेछ। हिजो मुस्किलले आमासंग कुरा गरेको थिए फोनमा। कैली गाई र काली भैँसी बेचिदिनु भएछ आमाले। कस्ले हेर्ने? कस्ले घस्याउने? “हैन यसो एक मुठ्ठी दूध खान हुन्थ्योनि आमा” मैले सोधे। “बूढी भए अब म; घासकाट्ने त कुरै नगर बाबु, भकारो सफा गर्न पनि नसक्ने भए। तेरो बाबुको त झन कुरै नगर। उहाँ हिजो देबीथान सम्म पनि जान सक्नु भएन। एउटा खुड्किलो चड्योकी स्याँ स्याँ भएर कस्तो गाह्रो, बीच बाटै फर्कनु भयो।“आमाले थप्नु भयो।


अनि के गरेर खाने दूध? फेरि बुबालाई दूध नभई भागै नबस्ने बानी छ। तपाईलाई पनि हर्पेमा टन्न ध्यू नदेखे सम्न निद्रानै आउदैन। हैन र? मैले जान्न खोजे।


“समय रहेछ बाबु, अब बूढाबूढी भइयो, काम गर्नै नसक्ने, गर्न पनि जागर नै नहुने। साह्रै गाह्रो हुदो रहेछ बाबु यो बुढेसकाल त। हामीले दूध त खान्छौ पीर नगर, घर नजिकैबाट अहिले मोटर बाटो खनेका छन्। हिउँद भरि जिप चल्छ। अबको बर्खा सम्म त ढुङगा पनि ओच्छ्याउछन् होला। माथि ठूल्कान्छाले डेरीको दूध राख्छ बेच्नलाई, यसो एउटा रातो पोका ल्यायो, बूढाबूढीलाई दुई छाक पुगिहाल्छनी। ध्यू पनि त्यही पाईन्छनि, नराम्रो चाँही छैन है त्यो ध्यू”, आमाले एकै सासमा भन्नु भयो।


“हुन त हो आमा, तपाईहरुले कति कष्ट गर्नु हुन्छ, जति गर्नुपर्ने हो गरिसक्नु भयो। अब मेरो पालो हो,” मैले सान्त्वना दिन खोजे।


अनि भाई खै त? मैले सोधे।


“भाईले पनि तल बजारमा बिजुलीको काम गर्‍थ्यो, अहिले घरमै छ। काम राम्रो भएन भनेर चिन्ता गरिराखेको छ। बरू मिल्छ भने त्यतै बोलाएर हेर्ने।”


“काम त यहाँ पनि गाह्रो छ तर पनि त्यसो भन्छ भने बिचार गर्नु पर्ला। फेरी तपाईहरू बिरामी हुनु भयो, यसो केही भए त हेर्ने मान्छे पनि त चाहियो नि।” मैले सोधे।


“हेर्न त बुहारी छ नि, यसो बेलामै कमाउन सक्यो भने त्यसलाई पनि काम लाग्ला नि त।” आमाले थप्नु भयो। मैले हस भने।


खेतीपाती के गर्नु भो यसपाली?


कस्ले हेर्ने? कान्छो विदेश जान्छु मात्र भन्छ। त्यती मेसो पाउदैन त्यसले, केटाकेटीनै छ अझै। काम गर्ने कोही नभए पछी के गर्ने, यसपाला देखि अधीमा दिए। गोडा १,२ मुरी आउला, एक दुई महिनालाई पुगिहाल्छ, बाँकी बेसाउनु पर्ला, के गर्ने त? बाटोखुलिहाल्यो, नुनतेल, चामल सबै किन्न पाईन्छ, के का लागि दु:ख गर्नु खै? भाईले पनि सक्दिन भन्यो। कमाउने तँ मात्र हो, कति पुर्‍याउछस् खै? यसो भाईलाई पनि त्यतै बोलाएर काम लगाईस भने, तलाई पनि सजिलो, हामीलाई पनि ढुक्क हुन्थ्यो।" मैले हुन्छ आमा म काम खोज्छु अनि खबर गरुला है त" भने। बिदा भए म त्यस पछि।

“मैले यहाँ काम राम्रो भएन, जतिसुकै मरिमेटेर काम गरे पनि आफूलाई ठिक्कै छ। सबै परिवारसंग सल्लाह मिल्यो भने घर फर्कन्छु। यहाँ गरेको जतिसुकै काम र दुःख गरे भने, गाँउमै पनि यति कमाउन सकिन्छ। खेत छ, बारी छ, खरबारी छ, टन्नै रुखबुट्यान छन्, जे गरे पनि हुन्छ। भैसी पालेर, बाख्रा पालेर, तरकारी लगाएर पनि त हुन्छ नि यहाँ जत्तिको त। मैले सल्लाह गर्न नै फोन गरेको थिए आमालाई। तर भन्नै सकीन।”


“आमाको कुरा पनि ठिकै हो, अब बुढेसकालमा कस्ले गर्छ त?” मैले भने।


“हैन म छु, मेरी श्रीमती छिन्, भाई, बुहारी छिन्। हामी चार जना काम गर्न सक्छौ नि त। भएका बच्चा बच्चीलाई आमाले र बुबाले घरमै बसेर हेर्न सक्नु हुन्छ। हामी चार जनाले एउटा एउटा काम हेर्यो भने पनि त राम्रै हुन्छ नि। फेरि बाटो खुलेको छ। बजार लान सकिन्छ उत्पादन भएका कुराहरु। बाटो खुल्यो भनेर सबै काम छोड्न त भएन नि। घर नजिकैको पसलमा हाम्रो सामान नै बेच्न पनि त सकिन्छ हैन र? हामी कहाँ भएको बस्तु घर नजिकै बेच्दा, ताजा पनि सस्तो पनि हुन्छ नि त। बिकासको त राम्रो फाईदा उठाउनु पर्यो नि।” रमेश भन्दै थियो। मलाई चित्त बुझ्यो उसको कुरा।


“हैन यहाँ, पाउरोटी र बासी तरकारीको के कुरा गर्नु र फेरि पार्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुननै राखेको किन नहोस; कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यू बुत्त्याउनुको मजानै अर्को हैन र?” मैले टाउको हल्लाए र सहमत जनाए। तर रमेश रोकिएको थिएन।


“हेर साथी म अब घर जान्छु, जसले जे सुकै भनोस। यहाँको बासी पाउरोटी भन्दा त मेरो तिक्ले खोल्साको मूलको पानी नै तागतिलो लाग्छ मलाई। यहाँको शहरी झ्याँउ झ्याँउ भन्दा, बासधारीकै झ्याँउकिरीको आवाज राम्रो। मैले जे गरे पनि मेरै गाँउ ठाँउको लागि गर्नु पर्छ। यत्रो समय परदेश बसेर के गरिस भनेर सोधे भने मैले परदेश बसेर गुन्द्रुक र कोदोको पिठोको मुल्य र महत्व जान्ने काम गरेँ भन्छु। गुन्द्रुक र फापरको मूल्य जाने भनेर भन्छु। मैले यत्रो दिन परदेश बसे तर मेरो सपनामा यो शहरी रमझम कहिल्यै आएन, सपना देख्छु मात्र घरको, त्यही पाखा र खरबारीको।“ रमेशको अनुहारमा चमक आएको थियो।


“बरु त पनि हिड”। रमेशले थप्यो।


“हैन रमेश, तेरो र मेरो परिस्थिति फरक छ। तेरो त नेपाल गए पनि दशनङ्ग्रा खिआएर खाने जमिन छ। पाखा छ, बन छ, खेत र बारी छन्। मेरो त केही पनि छैन। एक प्रकारले मेरो परिवारको एउटा मात्र कमाउने नै म हूँ। मेरो त केही पनि छैन। बूढाबूढी भएका बा आमा, बिबाह गर्ने बेला भएकी बहिनी, आफ्नै पनि त २ वटा छोरीहरु छन्। राम्रो खानेको त कुरै नगर रमेश,बेस्करी हुरी बतास आयो भने की त खाट मुनि पस्नु पर्छ की त नजिकैको स्कूलमा जानु पर्छ। मेरो यहाँ बस्नुको कुनै बिकल्प छैन।“ मैले जे हो त्यही भनिदिए। रमेशलाई नराम्रो लागेछ सायद मेरो नजिकै आयो र अनुहारमा हेरेर भन्यो, “सरी यार। तलाई मैले............................।“ रमेश बोल्नै सकेन


“हेर रमेश तिम्रो त गरेर खाने ठाँउ छ, आफ्नो भन्ने राम्रो घर छ। गर्ने हो भने तिमीले घरमै बसेर धेरै राम्रो गर्न सक्छौ तर मेरो केहि छैन। मैले यहाँ बसिन भने, साहूँको पैसा तिर्ने त कुरै छोड, बिहान बेलुका हात मुख जोड्ने उपाए पनि छैन। देशमै काम खोज्न गाह्रो छ। त्यसैले म अहिल्यै जान्न। तर तिमी जस्ता हुने र केही थलो भएकाहरू यहाँ बसेर हुदैन्, तिमीहरु फर्किएर केही गर। थलो हुनेले र एक छाक खान पुग्ने पनि यसरी यहाँ बसेर कसरी बिकास होला र गाँउ ठाँउको? बरु जाउ राम्रो गर र हामी जस्ता केही नहुनेलाई काममा लगाउन सक्ने बन्यौ भने मलाई पनि त बासी पाउरोटीमा बाच्न मन छैन। पर्दा पार्दैको तातो तातो मही, पिरो खुर्सानी र नुन राखेकै भए पनि कोदोको रोटी, हर्पेमा जमेको हल्का बिलाउनी सहितको घ्यूको स्बाद मलाई पनि त थाह पाउनु मन छ।" त्यस पछि मैले केही बोल्नै सकिन....। रमेश मेरो काधमा हात राखेर मलाईनै हेर्दै, मेरै अनुहार पढ्दै थियो र भन्दै थियो हुनत हो है कहाँ सबैलाई भने जस्तो सजिलो हुन्छ र।।।।।।।।

Picture 006

(यो एक सत्य घटना थियो, सात बर्ष पहिले दोहामा काम गरेका मेरा साथिहरुको बीचको बार्तलापको आधारमा लेखिदिए ,रमेश घर फर्किएर निकै राम्रो काम गरेको छ , उसले भने जस्तो गाई, भैसी त पालेन तर पाखा भरि सुन्तला,बास(तामाको लागि) र घर वरिपरी बारीमा तरकारी लगाएर निकै कमाउन थालेको रहेछ। मैले उनको दोहा बसाई र नेपाल फर्किनुको कारण सोधेको थिए धेरै पहिलै, त्यसै बेला उनले भनेको कुराहरूलाई फूलबुट्टा भरेर मैले राखेको हुँ, उनको साथी (म )फर्के वा फर्केनन् थाह भएन , उनको घरको र सुन्तला बारीको फोटो थिएन म संग तर मेरै मावली गाउँमा खुलेको नयाँ बाटोको नै भए पनि फोटो राखैको छु हैँ। यो लेख सबैको लागि लागू नहोला है)

»»  पुरै पढ्नुहोस

Wednesday, July 15, 2009

कसरी तिम्रो नयाँ पति खोजु म????

हुनै नसक्ने कल्पना र मेरो देशले नसोचेको बेदना र सोच। सधै स्वतन्त्र र सालिन मेरो देश कता कता अल्झिएको जस्तो लाग्छ। मैले सचेत गराउनै पर्छ मेरी आमालाई। बेदना र रोदन कति दिन सम्म चल्छ र? एकदिन त पक्कै पनि मेरी आमा हाँस्ने छिन। मैले चाहे झै , मनग्गे माया गर्न सकेको छैन, एक कोणबाट म कायर छु, नालायक छु तर पनि तिम्रो खुसी मेरो खुसी नै हो। कहिले काहीँ जबरजस्ती कसैले हस्तक्षेप गरे जस्तो लाग्छ, कता कता भिन्न प्रकारको चीत्कार सुन्छु। म कसरी मेरी आमा माथीको हस्तक्षेप सहन सक्छु र अझ भनौ कसरी तिमिलाई म हस्तक्षेप हुन दिउँ? मरेर जान्छु तर तिमिलाई कसैको हुन दिन्न, तिमीलाई हेर्ने र तिम्रो स्याहार गर्ने जिम्मेवारी मेरै त हो। जे सुन्ने गरे, जस्तो सुने र जस्तो अनुभव पाँए यहाँ राखेको छु।

“कसरी तिम्रो नयाँ पति खोजु म?”

तिम्रो रोदन कति दिन सम्म

स्थिर भएर चल्ने हो

तिम्रो पीडा कति बेर सम्म

बीच बाटो मै अल्झने हो

थाह नभईकन

रोएको चीत्कार सगै

आमा

तिम्रो म र मेरी तिमी

भक्कानो बाहेक केही छैन

सायदै समान

किन रुन्छौ तिमी

तिमी संग बढी भन्दा भढी

बेदनाको अनुभूति छ

मलाई जन्मायौ र भाई पनि

कयौं दिदीहरु जन्मदै गए

तर पनि किन यस्तो सानो कुरामा

किन आमा

बरू सक्दिनौ भने भन

कति छोराहरु मारिनु पर्छ

मैलेनै खोज्ने छु तिमीलाई

तर पनि किन अल्मलिन्छ्यौ आमा

सत्य थाह छ तिमीलाई

बाध्यता थाह छ तिमीलाई

तैपनि किन खोज्छ्यौ

सुकिलो बाउ र चिल्लो पति!!!!!!!

तिम्रा सबै सन्तान कायर भए

कायर जन्माउने तिमी

कायर भएर किन रुन्छ्यौ

पीडा त तिम्रो जन्मजात पेवा हो

सुख तिम्रो दुश्मन

तैपनि आमा के को आशा गरेकी छौ

तर मलाई थाह छ

किनकी म हेरी रहको छु

तिमी माथी लागेका आँखाहरु

देश प्रदेश र दूरदेशबाट

तिमी माथीको नजरहरु

म अन्यौलमा छु

कसरी

कसरी छान्छ्यौ नौलो बाउ

कसरी चिन्छौ आफूलाई माया गर्ने पति!!!!

कसरी जोगाउछ्यौ आफूलाई यहाँ

किनकी

नालायक र काम चोर छोराहरु

हेरिरहेका छन्

नौलो बाबु र ललिपप।।।।।

जन्मायौ किन म र मेरो भाईहरु

थाह छ मलाई पाप लाग्छ

तैपनि केहि गर्दिन म

हास्छु तर चुपचाप

देख्छु बन्द तर खुल्ला हस्तक्षेप

नाङ्गो दाउपेच र

गोप्य बलात्कार

तर पनि आमा आशा गर

कोही त होलान सुद्रिएका छोराहरु

तिम्रो कोखमा खोट छैन

तर

कसरी खोजु म अर्की आमा

बेदना मात्रै हुदा पनि बाचेकी तिमी

बिना बाबु जन्माईएको म

तर पनि

जन्माउदै र हुर्काउदै

आफ्नो बैँस फालेकी तिमीलाई

कसरी तिम्रो नयाँ पति खोजु म ???।।।

»»  पुरै पढ्नुहोस

Saturday, July 4, 2009

फुकोका टावर(Fukuoka Tower):

Fukuoka टावर: जपानका हरेक सहरले समान रुपमा बिकासको लेप लगाएका हुन्छन्, कम र बढी भन्ने हुदैन। जापानको प्राय जसो ठूला सहरहरु बिभिन्न बहानामा धुम्ने मौका मिलेको छ तर पनि Fukuoka सहर मेरो लागि बिशेष छ। त्यसको पछाडि बिभिन्न कारणहरु छन् तर म आज त्यो कुरा गर्दिन। मैले कुरा गर्ने खोजेको कुरा हो Fukuoka सहरमा रहेको Fukuoka टावर र त्यसबाट देखिने सहरको दृष्य।
जापानको ठूला सहर मध्य एक Fukuoka सहर म बसेको ठाउँ बाट लगभग ४५ मिनेटको रेल र १ धण्टाको ड्राईभ दूरीमा पर्छ। बास्तबमा २३४ मीटर अग्लो समुन्द्रिक तटमा रहेको जापानकै सबै भन्दा अग्लो Fukuoka टावर १९८९ मा १४ महिना लगाएर बनाईएको हो। यसको लागत मूल्य जापानी 6,000,000,000. यन लागेको थियो रे जुन मूल्य हालको लगभग 62,536,212 US डलर बताईएको छ। (यो मुल्य मैले बिभिन्न साईटमा खोजेको हो है जुन कुरा मैले भ्रमणको बेलामा पनि बुझ्न खोजेको थिए तर सकिन।)। ७ रेक्टरस्केलको भूइँचालो र ६५ मी.प्रति सेकेण्डको हावाको बहावलाई थेग्न सक्ने रहेछ।
यो टाबरको माथि तीन तहहरु रहेछन् जहाँबाट पूरै फुकोका सहर हेर्न सकिदो रहेछ। पहिलो ११६ मी. को उचाइमा, दोस्रो १२० मीटरमा आरम गर्न र जापानी परिकारको मजालिदै पूरा फुकोका सहर हेर्न मिल्ने रेष्टुरेण्ट, र तेस्रो १२३ मीटरको उचाइमा दूरबिनहरु राखिएका रहेछन्।
गत केही महिना अगाडि मेरो एक जना साथीलाई नेपालबाट मेरो विश्वविद्यालयमा निमन्त्रणा गर्ने मौका मिलेको थियो, त्यँही क्रममा उहाँलाई Fukuoka सहर घुमाउने मौका मिलेको थियो। आज त्यँही बेला खिचेका तस्बिरहरु राखेर अल्छी गरेको छु है।
हामी दिहुँसोको समयमा गएकोले रातिको समयमा कस्तो देखिन्छ आफैले अनुभब गर्न सकिएन तर ईन्टरनेटबाट एउटा रातिको समयमा लिएको फोटोपनि राखेको छु(http://adlpena.com/great_places.htm )। यी तस्बिरहरु लिन र हामीलाई त्यो ठाँउमा धुमाउन सहयोग गर्नु हुने डा. अर्जुन कुमार थापालाई बिशेष धन्यबाद!!!
तस्बिर १: मेरो साथीलाई Fukuoka सहर घुमाउदै, मेट्रो बाट झरेर हामी हिड्दै थियौ।।।

तस्बिर २:यो तस्बिर मैले माथि भनेको श्रोत बाट लिएको हो। हामी यो ठाउँमा पनि गएका थियौ तर क्यामेराको ब्याट्रीले साथ दिएको थिएन।।।।

तस्बिर ३: टावरको अगाडि मूल ढोका। तस्बिर ४:टावरको अगाडिबाट खिचेको फोटो

तस्बिर ५: यो टाबरको माथि बाट खिचेको फोटो हो। यो देखिएको समुन्द्र माथिको धर वास्तबमा विबाह गर्ने र भोज गर्नको लागि प्रयोग हुदो रहेछ।

तस्बिर ६: टाबरबाट देखिएको Fukuoka सहरको दृष्यहरु

तस्बिर ७: हामी बेलुका सम्म बस्न सकेनौ त्यही कारण यो सुन्दर दृष्य भने हेर्न पाईएन, त्यसैले अन्य श्रोतबाट राखे है।

तस्बिर ८: जादा जादै यो Fukuoka सहरको बाटो। निकै सफा हुदोरहेछ।

»»  पुरै पढ्नुहोस

Monday, June 29, 2009

कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो?

हामी सभ्यताको त्यो कालखण्डमा उभिएका छौ जो कुनै पनि मानब सभ्यताका लागि नहुने हैन तर यति भयानक शायदै हुन्छ होला। ईतिहासको हरेक पानामा हामीले हेर्दै जाने हो भने, संसारमा मानव ताको बिकासक्रममा दिनप्रतिदिन प्रगति र बिकासको दौड भईरहेको हुन्छ। कुनै पनि समाजको बिकासमा हरेक तप्काको आफ्नै योगदान र क्रमिक प्रगति देख्न पाईन्छ। हरेक देश वा समाजले आफूले पाएको हरेक समयलाई पूर्णरुपमा यसरी सदुपयोग गरेको हुन्छ कि हरपल ब्यबस्थित र अनुशाशित सभ्यताको बिकास होस। जुनसुकै पनि देश वा राष्ट्रको निर्माण सगै अनेकौ दुखद घटनाहरुले स्थान पाएको हुन्छ तर पनि अब्यबस्था बाट ब्यबस्थातिर, छरपष्ट समाजबाट समालिदो समाज, हत्या हिंसाबाट शान्त र मर्यादित समाज कुनै नौलो पद्वति हैन। हरेक राष्ट्रले यो सिलसिलालाई आत्मसाथ गरेको हुन्छ।

हाम्रो छिमेकी मुलुक भारत होस वा बिकासको चरम उचाईमा पुगेको भनिएको अमेरिका नै किन नहोस, हरेक पटक अशान्त, परनिर्भरता र असभ्य समाजको ईतिहासको सुरुवात सगै, क्रमस बिकाश हुदै आएको कुरा सबैलाई थाह भएकै कुरा हो। तर हाम्रो देश आज बिलकुल विपरीत बाटोबाट गुज्रिएको छ। गरिब तर केहि हदसम्म शान्त र व्यवस्थित समाजबाट हरेक दिन अव्यवस्थित, अशान्त र छरपष्ट समाजको बिकाशमा लागेका छौ। चाहेँ कानुनी ब्यस्था होस, चाहेँ राजनैतिक स्थिरता, चाहेँ सामाजिक सुरक्षा नै किन नहोस जताततै एकनासले लथालिङ्ग र काम्लोमा पोखिएको सातु जस्तो गोलमाल मात्रै भएको छ।

आज जो कोहि नेपालीलाई देशको माया छ र गर्छन, सानो भन्दा सानो घटनाक्रमले हरेक नेपालीलाई संवेदनशील बनाएको हुन्छ र देशको यो हालत प्रति निकै दु:खी हुने गर्छौ तर पनि हामी किन एक छैनौ?

विगत केही समय यता हाम्रो समाजमा घटेका सानातिना घटनाक्रमलाई हेरौ र आफैमा प्रश्न गरौ।

हामी कुनै शिक्षकलाई शरीर भरि रगत जम्नेगरि निलडाम बनाई मरणाशन्न हुनेगरि कुट्छौ, भोलि पल्ट दोषीहरुको अबिर जात्रा हुन्छ र समाजमा ईज्जतका साथ पुनर्आगमन हुन्छ। यस घटनाको दोषी को हो? वा को माथि अन्याय परेको छ? ब्यक्ती बिषेश द्वारा वा ब्यक्ती माथि परेको अन्याय भन्दा पनि हामीले मान्दै आएको कानुनी राज्यको अबधारणा माथिको प्रश्नचिन्ह हो यो। हामीले के आशा गर्ने यो पद्धतिबाट?

राज्यले एकै मुद्वाका तीन दोषीहरुलाई गिरफ्तार गर्छ। तीनै जनालाई एकै प्रमाण र एउटै अभियोगमा एकै कानुनी धाराको हबला दिएर कारबाही अगाडि बढाउछ। तर नाटकीय पराकाष्ठा यो हैन। त्यी मध्य एक जसको समाजिक पहुँच छ, जसको ठूला भनाउदाहरुसंग पहुँच छ, जसको राजनैतिक पहुँच छ, उसलाई राज्यको कानुनको सुबिधा फरक हुने गर्छ। अदालतमा तारीख बोक्ने दिन, उ कारबाट यसरी आउछ कि उसलाई कुनै हिनताबोध छैन। तारेख थामेर यसरी बाहिरिन्छ कि मानौ कुनै पुरुस्वार्थ गरेर फर्केको छ। तर त्यी मध्य दुई जना जसको कुनै पहुँच छैन उनिहरु प्रहरीको हातकडी सहित उपस्थित गराईन्छ। लागिरेछ कि कानुनले कुनै नाटक मञ्चन, गरिरहेको छ।

कुनै राजनैतिक कार्यकर्ताको हत्याको आवेगमा देशनै, समाजनै ठप्प हुनेगरी बन्द गरिन्छ। तोडफोड गराईन्छ। अस्पताल जान लागेका डाक्टर माथि दूरब्यवहार गरिन्छ, उनको वाहन जलाईन्छ। कुनै उमेर को हद हुदैन गलत ब्यबहार गर्न र आतङ्कित बनाउन। कयौ बिरामी बाटोमा अलपत्र पर्छन, हरेकले सास्ती भोग्नु पर्छ। तर दुर्भाग्य त्यसको भोलिपल्ट आत्महत्या हुन सक्नेगरी बिष सेबन गरेको आसयको पोष्टमार्टमको रिपोर्ट आउछ्। आन्दोलन बन्द हुन्छ। फेरि कसैमाथि कारबाहीको त कुरै छाडौ, आफूबाट गल्ति भयो भन्ने समेत कुराको कतै कुनै कुरा सुन्नमा आउदैन।

५-६ बर्ष अगाडि कुनै नेताले अदालतलाई दरबार भित्र लगे हुन्छ भन्ने बिषयलाई लिएर मानहानीको मुद्दा चल्छ। ५-६ बर्ष अगाडि भनेको कुरा तन्कालिन ब्यबस्था र परिस्थिति संग अहिले कुनै कुरा नमिल्ने भएकाले मानहानीको मुद्दाबाट सफाई दिईन्छ। अब प्रश्न उठ्छ, के अदालत त्यही हैन? त्यहि बेन्च, त्यही स्थान, त्यही कानुन मान्ने अदालत तर कसरी फरक हुन गयो आज? अदालतको मानहानी सम्बन्धित परिभाषा के फरक भएको हो? यसको मतलब अदालतले भन्नुपर्छकी, ५-६ बर्ष पहिला यसले सही र यथोचित न्याय संपादन गर्न सकेको थिएन। नत्र अदालतको मानहानी वा अदालतको अपमान स्बतन्त्र र निष्पक्ष रहेको अबश्थामा समय सापेक्ष कसरी परिवर्तन हुन पुग्यो?

ख्याती श्रेष्ठको हत्या प्रकरणसंगै उनलाई न त समाजले न त कानुनले, न त कानुनको रखवालाले बचाउन सक्यो। कानुन माथिको बिश्वासको कमि र अनुसन्धानको तरिकाको कमिले गर्दा श्रेष्ठ परिवारले एक असल छोरीमात्र हैन, समाजले विलक्षण प्रतिभाकी धनी, सुन्दर र सभ्य नागरिक गुमाउन पुग्यो। हत्याको अनुसन्धान वा तहकिकात कुन हद सम्म निम्न स्तरको छ भन्ने कुराको यथार्थता प्रष्ट हुन पुग्यो जब कानुकका अधिकारीद्बारा पैसा दिने कागज गरेर ख्यातीको शरीरका अंगहरु फेरी हत्याराबाटै किन्ने काम भयो। आशा छउन्जेल ख्यातीको परिवारबाट १० लाख लिएको हत्यारा, कानुनको दाएरा भित्र आउदा समेत कानुनका रखवालाहरुसंग ख्यातीको शरीरका अंगहरुको ब्यापार गर्दे छ। बैज्ञानिक अनुसन्धान गर्न छोडेर ईमोसनल ब्लायकमेल गर्न आतुर यी कानुनका रखवालाहरु फेरि कानुकमाथि बलात्कार गर्दै छन् । यी त केही चर्चामा आएका कुरा मात्र हुन् । मेरो प्रश्न त्यसता अनेकौ कुराहरुमा हुन् जहाँ, हरेक पटक एउटा न्यायको आशा गरिएको हुन्छ जो न्याय एक नेपाली मात्र भएर सम्पादन होस।

कुनै यस्तो स्थान छैन, जहाँ कसैको मन नदुखेको होस, तल्लो भन्दा तल्लो स्तर देखि सिंहदरबार सम्मको यो अराजकता कहिले सम्म चल्ने हो? के यो देशले अझै यो भन्दा पनि अराजक र अब्यबस्थाको नियती भोग्न बाँकी छ? कसले बिचार पुराउने यसकुरा मा खै? “कलियुग लागे पछि घर घरमा राजा हुने छन्” भन्ने धार्मिक अभिब्यक्ति के साचो हो त? कलियुग के नेपालमै मात्र हुने हो र? नारायणहिटीको एक श्रीपेचको अवसानसंगै हरेक गाँउको हरेक घरमा हजारौ र करोडौ नयाँ श्रीपेचको उदय के यसै भएर राजेन्द्र ज्ञवालीले भन्नु भएको हो त?

आज हाम्रो नियति यसरी बिग्रिएको छ कि, एक आम नागरिक आफूलाई परेको अन्यायबाट मुक्ति पाउन कहाँ जाओस। कुनै यस्तो संस्था वा ब्यत्ति छैन जहाँ एक नेपाल र एक नेपालीको भावना मिलोस, जहाँ राजनैतिक मुद्दा भन्दा माथि उठेर नेपाल र नेपालीको हितमा न्याय सम्पादन होस। अब त हाम्रो नियती यस्तो बन्दै छ, केही नभएसम्म देशमै बस, अन्याय भोग्नु पर्यो भने आफूमाथिको अत्याचार भुल्न बिदेशिनु बाहेक कुनै बिकल्प छैन् । कुन दिन सम्म, कुन हद सम्म यो सिलसिला चल्ने हो? यस्तो नहोस अब र हामी हाम्रो हरेक कुरामा नियन्त्रण आफैले गर्न सकौं नकि फेरी नियन्त्रण गुमाएर कुनै पराईको गुलाम हुन नपरोस। सबैलाई चेतना भया।।।।।।

»»  पुरै पढ्नुहोस

Thursday, June 18, 2009

मन र निदाएका बुध्द

जब मनहरु आतड.कित हुन्छन तब हरेक पटक नजानिदो तान्द्राको भरमा आफूलाई उभ्याउन र शान्त पार्न खोज्छ। अनेकौ पिडा र खुशीहरु फुकाउनै नमिल्नेगरी अल्झिएको गाठो होला सायद यो मन। जति तन्काए पनि तन्किन्छ, जति छोट्याए पनि छोट्टिन्छ तर फुकाउन खोज्यो मात्र निरर्थक।

कसरी हुन्छ शान्त?, के ले होला आफ्नो उद्धार? स्बयमको उद्धारमा लाग्ने बानि मै समय खेर गईरहेछ। सोच्ने बानि मै र आफै भित्रको द्धन्दले कता कता मन प्लवन हुन्छ अनि नजानिदो पाराले पलायन। जति तरल भएपनि आशाहरु र जिज्ञाशाहरु बग्नै मान्दैनन्, मानौ न्यून तापमानमा जमेको छ मन्। आगो लागेको छ, धुँवा निस्केको छ र मनको राप बाहिर सम्म निस्केको छ, त्यै पनि किन मन अनि आशाहरु जमिरहेका छन् ? सोच्न बाध्य भएर कयौ चोटी आफैलाई सोधेको छु वा भनु झड्कारेको पनि छु तर फगत अनुत्तरीत मनहरु।बिना सिमाना, बिना परिधि, त्यसै त्यसै निश्चित दाएरामा बाधेर मनहरुलाई घस्याउन खोज्छु ताकि शान्त होस र मनग्यै अघाएर बसिरहोस् । तर पनि ईच्छाहरु निश्चित आकारमा बस्नै मान्दैनन् । मन अब मनहरु भईसके सायद ‍भिन्न भिन्न परिधिमा छन् अब तै पनि निदाएका छैनन् ।

एकमात्र हैन, अनेकन रुपमा मनहरु रोएका छन् । अभाबले, अज्ञानताले, बन्दूकले, तातो गोलीले, दबाबले, मजबुरीले, पिडाले, बिछोडले, गुलामीले, बन्दले, हड्तालले, भ्रष्टचारले, अपराधले,हत्याले, बलत्कारले,।।।उफ!! कति हो कति। कयौ पटक मनहरु उत्तर पाउने आशामा यिनै बीच रुमलियो। तर अभाब देखी, गुलामी हुदै बलत्कार सम्म कतै छैन उत्तर। जिज्ञाशामै आफै रुमलिएर बसेको मन र नजानिदो पिडाहरुले कतै पाएको छैन यसको उत्तर तर पनि खोजिरहेको छ र बस् खोज्दै छ।

पिडा पछिको पिडा, रोग पछिको रोग, समस्या पछिको समस्या कत्तिको दर्दनाक हुन्छ सोच्नै सक्दिन तर पनि आशाहरु छन् मेरो मन भित्र। आशा र निराशा सगै यी मनहरु सोच्न थाल्छन र टोलाउछन्। कतिखेर निदाउछ थाहै पाउदैन र सपनाको रँगमञ्चमा आफूलाई दर्शक बनाएर हेर्न पुग्छ्। रँगमञ्चमा कलाकारहरु कथासगै अगाडि बढेका हुन्छन् र अन्तिममा बुध्द निदाएको दृष्य सगै रँगमञ्चको पर्दा बन्द हुन्छ। पर्दा बन्द हुदा नहुदै आँखाहरु खुल्छन फेरि उहि कथा !! उहि परिदृष्य !! उहि घटनाक्रम। सायद हामिले रोजेको र अन्त गर्न नचाहेको कथा हो यो।

तस्बिर श्रोत:www.flickr.com

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला